विकासन्युज

एनएमबि बैंकको सञ्चालकमा ५ जना निर्वाचित

काठमाडौं । एनएमबि बैंकको सञ्चालक समितिमा ५ जना निर्वाचित भएका छन् । बिहीबार सम्पन्न बैंकको २८औं वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीबाट दुई जना र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना गरी कूल ५ जना निर्वाचित भएका हुन् । बैंकको संस्थापक सेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवनकुमार कट्वाल निर्वाचित भएका छन् । यसैगरी, सर्वसाधारण सेयरधनीहरुको समुहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् । त्यस्तै, एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाइएको बैंकले जानकारी गराएको छ । बैंकको २८औं वार्षिक साधारण सभा पुस २६ गते काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सम्पन्न भएको हो । बैंकले २०८० असारसम्ममा ३ अर्ब २२ करोड रुपैयाँ खुद नाफा, २ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन र एक खर्ब ९७ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ । बैंकले हाल देशभरी २०१ शखा, १७१ एटीएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।

शोधनान्तर स्थिति २ खर्ब १० अर्ब र चालु खाता डेढ खर्बले बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा शोधनान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोड रुपैयाँले बचतमा रहेको छ । चालु आर्थिक वर्षको ५ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो जनाएको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५८ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता १ खर्ब ४० अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४१ अर्ब २१ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड २२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई २ अर्ब ८७ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ९२ करोड रुपैयाँले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ४७ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाख रुपैयाँले धनात्मक रहेको थियो ।

५ महिनामा नेपालीले पढ्न भन्दै विदेश लगे ४७ अर्ब ३५ करोड

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा नेपालीले विदेशमा पढ्न भन्दै ४७ अर्ब ३५ करोड रुपैयाँ लगेका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालीहरुले अघिल्लो वर्षको सोही अवधिको तुलनामा झण्डै दोब्बर रकम शिक्षाको नाममा बाहिर लगेका हुन् । अघिल्लो वर्षको सोही अवधिमा नेपालीहरुले विदेशमा अध्ययन गर्नको लागि भन्दै २८ अर्ब ८१ करोड रुपैयाँ बाहिर लगेका थिए ।

४.९५ प्रतिशतमा झर्यो मूल्यवृद्धि, काठमाडौं उपत्यकामा कति ?

काठमाडौं । चालु वर्षको मंसिर महिनामा मुद्रास्फीति ४.९५ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पाँच महिनाको तथ्यांकअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४.९५ प्रतिशतमा झरेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत रहेको थियो । त्यस्तै, खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.१० प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । बिन्दुगत आधारमा यस महिनामा आयात मूल्य सूचकांक ३.३ प्रतिशतले घटेको छ भने तलब तथा ज्यालादर र थोक मूल्य वृद्धिदरमा कमी आएको छ । मंसिर महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४२ प्रतिशत, तराईको ४.२६ प्रतिशत, पहाडको ५.४२ प्रतिशत र हिमालको ७.४६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ६.५६ प्रतिशत, ८.०० प्रतिशत, ७.३२ प्रतिशत र ६.४८ प्रतिशत रहेको थियो ।

पाँच महिनामा २७.६ प्रतिशतले बढ्यो रेमिट्यान्स, पौने दुई लाखले लिए श्रम स्वीकृति

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ बराबरको रेमिट्यान्स अर्थात विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकअनुसार गत साउनदेखि मंसिरसम्ममा सो रकम बराबरको रेमिट्यान्स नेपाल भित्रिएको हो । जुन २७.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । त्यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या एक लाख ७३ हजार ५५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख चार हजार ३७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २३६,७७९ र ११५,९४८ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २६.३ प्रतिशतले वृद्धि भई ६ खर्ब ६९ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.६ प्रतिशतले बढेको थियो ।

विदेशी मुद्रा सञ्चिति साढे १७ खर्बभन्दा बढी, १४.१ महिनाको वस्तु आयात धान्ने

काठमाडौं । विदेशी मुद्राको सञ्चिति साढे १७ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मंसिरसम्म विदेशी मुद्राको सञ्चिति १७ खर्ब ६७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । २०८० असारसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर विदेशी विनिमय सञ्चिति थियो । तर, ५ महिनामा १४.८ प्रतिशत वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा १३.६ प्रतिशत वृद्धि भई १३ अर्ब ३१ करोड पुगेको छ । राष्ट्र बैंकमा १५ खर्ब ५६ अर्ब २५ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग २ खर्ब १० अर्ब ७९ करोड रुपैयाँ विदेशी मुद्रा रहेको राष्ट्र बैंकले जनाएको छ । मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको छ । मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ९८.३ प्रतिशत र २७.५ प्रतिशत रहेका छन् ।

वैदेशिक व्यापार थप खुम्चियो, आयात ३.४ र निर्यात ६.१ प्रतिशतले कमि

काठमाडौं । चालु आर्थिक वर्षमा वैदेशिक व्यापार खुम्चिदै गएको छ । बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले मुलुकको आयात निर्यात दुवै खुम्चिएको देखाएको हो । आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा कुल वस्तु निर्यात ६.१ प्रतिशतले कमी आई ६३ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३४.६ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ११.३ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३२२.३ प्रतिशत र २.३ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा कुल वस्तु आयात ३.४ प्रतिशतले कमी आई  ६४२ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २०.७ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः १.३ प्रतिशत र २८.४ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३२.८ प्रतिशतले बढेको छ ।

राजस्व संकलनमा आयल निगमको ३५ प्रतिशत योगदान

काठमाडौं । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले सरकारको राजस्व संकलनमा निगमको ३० देखि ३५ प्रतिशत हिस्सा ओगटेको बताएका छन् । आयल निगमको ५४औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै साहले सरकारको बजेटमा समेत निगमको ठूलो योगदान रहेको बताए । ‘आर्थिक वर्ष २०७९/८० मा ३ खर्ब ८३ अर्ब रुपैयाँ कारोबार गरेको छ, जसबाट सरकारलाई १ खर्ब १५ अर्ब रुपैयाँ राजस्व तिरेका छौं, यसले सरकारको बजेटमा ३० देखि ३५ प्रतिशत योगदान पुर्याएको छ,’ उनले भने । उनका अनुसार भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म १०५ किलोमिटर दुरीको पाइपलाइनबाट डिजेल आयात भइरहेको छ । चालु आर्थिक वर्षभित्रै पाइपलाइनको माध्यमबाट पेट्रोल पनि आयात गर्ने तयारी रहेको उनले बताए । ‘अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ मूल्य बढेका कारण नेपाललाई पनि असर गर्याे,जसले गर्दा दायित्व बढेर ४६ अर्ब रुपैयाँ पुग्यो तर, निगमले चालेको कदमले ऋणमुक्त हुन पुगेको छ,’ उनले भने । निगमको आन्तरिक दायित्वको व्यवस्थापनमा विभिन्न प्रयास भइरहेको उनले बताए । निगमले सातै प्रदेशमा आफ्नो कार्यालय सञ्चालन गरी सेवा दिइरहेको उनले बताए । चालु आर्थिक वर्षमा निगमले ५ पटक पेट्रोल र डिजेलको मूल्य घटाएको छ । यसले उपभोक्तालाई सहुलियत दिनुका साथै निगमको वित्तीय अवस्थामा सुधार आएको उनको भनाइ छ । निगमले इन्डियन आयल निगमबाट वार्षिक ३० लाख किलोलिटर पेट्रोल आयात गर्दै आएको छ भने हाल निगमसँग ८० हजार किलो लिटर प्रेटोल भण्डारण छ । अहिलेको माग र खपत हेर्दा १३ दिनसम्म पुग्ने पेट्रोलियम पदार्थ निगमसँग रहेको उनले बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आयल निगममा देखिएका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए । आमउपभोक्ताले गुणस्तरीय पेट्रोलियम पदार्थ उपलब्ध गराउन सरकार तत्पर रहेको उनको भनाइ छ । पेट्रोलियम पदार्थको आयातलाई कम गर्ने उद्देश्यले नेपालमै उत्खनन कार्यको तयारी भइरहेको मन्त्री रिजालले जानकारी दिए । निगमका अध्यक्ष नारायण प्रसाद शर्माले निजी क्षेत्रको महत्वपुर्ण योगदानले निगम नाफामा गएको बताए । निगम ऋणमुक्त भयो भनेर खुसी हुनु पर्ने अवस्था नरहेको उनको भनाइ छ । ‘सरकारले इन्धनको आयत गरी बिक्री गर्नु रहर हैन बाध्यता हो, अहिले हामी ऋणमुक्त भयौं भनेर सन्तुष्ट हुने बेला भएको छैन, यसलाई कसरी कायम राख्न सकिन्छ भनेर पनि ध्यान पुर्याउन आवश्यक छ,’ उनले भने ।