काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा शोधनान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोड रुपैयाँले बचतमा रहेको छ । चालु आर्थिक वर्षको ५ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो जनाएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५८ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा चालु खाता १ खर्ब ४० अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४१ अर्ब २१ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड २२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई २ अर्ब ८७ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ९२ करोड रुपैयाँले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ४७ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाख रुपैयाँले धनात्मक रहेको थियो ।