काठमाडौं । विदेशी मुद्राको सञ्चिति साढे १७ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मंसिरसम्म विदेशी मुद्राको सञ्चिति १७ खर्ब ६७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । २०८० असारसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर विदेशी विनिमय सञ्चिति थियो । तर, ५ महिनामा १४.८ प्रतिशत वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा १३.६ प्रतिशत वृद्धि भई १३ अर्ब ३१ करोड पुगेको छ ।
राष्ट्र बैंकमा १५ खर्ब ५६ अर्ब २५ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग २ खर्ब १० अर्ब ७९ करोड रुपैयाँ विदेशी मुद्रा रहेको राष्ट्र बैंकले जनाएको छ । मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको छ ।
मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ९८.३ प्रतिशत र २७.५ प्रतिशत रहेका छन् ।