विकासन्युज

चिसो बढेपछि सोलुखुम्बुका विद्यालय बन्द

सोलुखुम्बु । सोलुखुम्बुमा अत्यधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द भएका छन् । अत्यधिक चिसोका कारण जिल्लाको २ सय ६७ सामुदायिक विद्यालयमध्ये १ सय १ विद्यालयको पठनपाठन बन्द भएको छ । जिल्ला शिक्षा तथा समन्वय एकाइका प्राविधिक सहायक विरमाकुमारी खड्काका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये सात स्थानीय तहका विद्यालय हालसम्म बन्द भइसकेका छन् । केहीले बिदा दिने तयारी गरिरहेका छन् । सोलु दूधकुण्ड नगरपालिकामा ६२ सामुदायिक विद्यालयमध्ये ५८, खुम्बु पासाङल्हामु गाउँपालिकाका १७ विद्यालयमध्ये १४ र थुलुङ दूधकोशी गाउँपालिकामा ५१ विद्यालयमध्ये सात विद्यालय बन्द भइसकेका छन् । यस्तै महाकुलुङ गाउँपालिकामा १९ मध्ये आठ, लिखुपिके गाउँपालिकामा २२ विद्यालयमध्ये छ, नेचासल्यान गाउँपालिकामा ३६ विद्यालयमध्ये चार तथा माप्यदूधकोशी गाउँपालिकामा ३९ विद्यालयमध्ये चार विद्यालय बन्द भएको कार्यालयले जनाएको छ । हिमाली भेगमा चिसो अत्यधिक हुने भएकाले धेरैजसो विद्यालयले प्रत्येक वर्ष पुस÷माघमा जाडो बिदा दिने गरेका छन् । यहाँ चिसोका कारण शिक्षक बस्न नसक्ने तथा विद्यार्थीलाई समेत कठिन हुने भएकाले पुस दोस्रो साताबाटै विद्यालय बन्द गरिएको पिके माध्यमिक विद्यालय लोदिङका प्रधानाध्याक चेतबहादुर मगरले बताए । उनले भने, ‘बालबालिका चिसोका कारण विद्यालयमा कम आउन थालेपछि बाध्य भएर जाडो बिदा दिनुपरेको हो ।’ यस्तै जिल्लाको माथिल्लो खुम्बु क्षेत्रको विद्यालय पुस लाग्दै बन्द गरिएका छन् । उच्च हिमाली क्षेत्रमा मङ्सिर दोस्रो साताबाटै पानी जम्न थालेपछि जाडो बिदा दिइएको खुम्जुङ माध्यमिक विद्यालय खुम्जुङका शिक्षक तिलक रसाइलीले बताए। ‘यतिखेर खुम्जुङ पुरै सुनसान छ, त्यहाँ स्थानीय समेत जाडो छल्न अन्यत्र जान थालेपछि हामीले विद्यालयमा जाडो बिदा दिएका हौं, यतिखेर बस्न सक्ने अवस्था नै छैन,’ उनले भने । सोताङ गाउँपालिका क्षेत्रका कुनै पनि विद्यालयले जाडो बिदा दिएका छैनन् । सोताङ न्यानो ठाउँ भएकाले त्यहाँको कुनै पनि विद्यालय बन्द नगरिएको गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले बताए ।

बर्सेनि घट्दै धान बालीको क्षेत्रफल

गण्डकी । गत वर्ष गण्डकी प्रदेशमा १ लाख ४ हजार १ सय ८४ हेक्टरमा धान खेती गरिएको थियो । यस वर्ष घटेर धान बालीको क्षेत्रफल ९६ हजार ५३ हेक्टरमा सीमित भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका कृषि प्रसार अधिकृत विनोद शर्माका अनुसार दुई वर्षअघि धान खेतीको क्षेत्रफल १ लाख १२ हजार २ सय २७ हेक्टर थियो । पछिल्ला वर्ष धान बालीको क्षेत्रफल घट्दै गएको उनले बताए । धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष उत्पादकत्व भने बढेको उनले बताए । ‘गत वर्ष १ लाख ४ हजार १ सय ८४ हेक्टरमा ३ लाख ७५ हजार ३ सय ३२ मेट्रिक टन धान उत्पादन भएको थियो,’ कृषि प्रसार अधिकृत शर्माले भने, ‘यस वर्ष ९६ हजार ५३ हेक्टरमा धान खेती गरिएकामा ३ लाख ६८ हजार ७ सय ८९ मेट्रिक टन उत्पादन भएको हो ।’ गत वर्ष प्रतिहेक्टर तीन दशमलव ६ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष बढेर प्रतिहेक्टर तीन दशमलव ७३ मेट्रिक टन धान उत्पादन भएको उनको भनाइ छ । समयमै वर्षात् र रासयनिक मलको उपलब्धता, धानमा प्रकोपजन्य रोग नलाग्नु, सिँचाइ सुविधा, उन्न बीउबिजन आदि कारणले धानको उत्पादकत्व वृद्धि भएको कृषि प्रसार अधिकृत शर्माले बताए। गण्डकीमा बर्सेनि धानको उत्पादकत्वमा घटबढ भइरहेको निर्देशनालयको तथ्यांकले देखाउँछ । आव २०७८÷७९ मा प्रतिहेक्टर तीन दशमलव ४३ मेट्रिक टन धान उत्पादन भएको थियो भने त्यसको अघिल्लो वर्ष तीन दशमलव पाँच मेट्रिक धन धान उत्पादन भएको थियो । प्रतिकुल मौसम, मल अभाव, कमसल बीउबिजनजस्ता कारणले धानको उत्पादकत्वमा ह्रास आउने गरेको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताए। प्रमुख रेग्मीले यस वर्ष धानको उत्पादकत्व वृद्धि भए पनि क्षेत्रफल घटेकाले समग्र धानको उत्पादन भने घटेको बताए । धान खेतीको क्षेत्रफल घट्नुमा घरघडेरीका नाममा धानको उब्जाउ क्षेत्र नासिनु पहिलो कारण रहेको उनले बताए । ‘खेतीयोग्य जग्गामा बजारीकरण तीव्र छ, हेर्दाहेर्दै ठूल्ठूला फाँट बस्तीले ढाकिए, जग्गा बाँझिने क्रम पनि उस्तै छ, उत्पादन घट्नुको मुख्य कारण यही हो,’ प्रमुख रेग्मीले भन्नुभयो । सिँचाइ, खेती प्रणालीमा सुधार, रोक किरा नियन्त्रण, उन्नत बीउ, प्रविधि र मल व्यवस्थापन बेलैमा हुन सके किसानले अझ धेरै धान फलाउन सक्ने उनको भनाइ छ । गण्डकीमा बागलुङको गलकोट, बलेवा, गोरखाको पालुङटार, कास्कीको लेखनाथ, स्याङ्जाको आँधीखोला किनार, वालिङ, तनहुँको भिमाद, नवलपपुरको त्रिवेणी, मध्यविन्दु, पर्वतको फलेवासलगायत बढी धान उत्पादन हुने क्षेत्र हुन् । हिमालपारिको जिल्ला मुस्ताङ र म्याग्दीबाहेक गण्डकीका नौ वटै जिल्लामा धान खेती हुँदै आएको छ । किसानले राम, सुनौलोसुगन्धा, लोकतन्त्र, खुमल, सुधारिएको जेठोबुढोलगायत स्थानीय जातको धान खेती गर्दै आएका छन् । यहाँ बर्खे र चैते गरी दुई याममा धान खेती हुने गरेको छ ।

लाइन काटिएका २३ उद्योगमा बिजुली जोडियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड लाइनको बक्यौता नतिरेको भन्दै काटिएका २३ वटै उद्योगको लाइन जोडेको छ । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार शुक्रबार बेलुका जगदम्बा स्टिलबाट लाइन जोड्न सुरु गरिएको र राति सबै उद्योगको लाइन जोडिसकिएको छ । शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषद्को निर्णय बमोजिम काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको थियो । ट्रंक लाइन र डेडिकेटेड लाइन लिएका ६१ वटा उद्योगले शुल्क तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

अत्यधिक चिसोले मधेसको जनजीवन प्रभावित

धनुषा । विगत केही दिनदेखि तराई मधेसका जिल्लामा शीतलहर चलेर बाक्लो कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ । मधेस प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहा जिल्लामा अत्यधिक मात्रा बाक्लो कुहिरोसँगै चिसो बढेको छ । शीतलहरका कारणले बालबालिका, वृद्ध वृद्धा, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा मजदुर वर्ग बढी मात्रामा प्रभावित बनेका छन् । चिसोका कारणले दम तथा रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । उपचारका लागि स्वास्थ्य संस्था आउने सङ्ख्यामा समेत वृद्धि भएको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ । प्रादेशिक अस्पताल जनकपुरधामका वरिष्ठ बालरोग विशेषज्ञ डा. जामुनप्रसाद सिंहले अत्यधिक चिसो बढेसँगै बालबालिकामा रुघाखोकी, निमोनियाजस्ता स्वास्थ्य समस्या अत्यधिक मात्रामा देखिन थालेको जानकारी दिए । चिसो अत्यधिक मात्रामा बढेपछि विद्यालयमा विद्यार्थीको उपस्थिति घट्न थालेको छ । धेरैजसो विद्यालयमा जाडो बिदा दिइएको छ । शीतलहरका कारणले सानासाना विद्यार्थी प्रभावित हुन थालेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीद्वारा जारी सूचनामा यही पुस २९ गतेदेखि माघ ९ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण विद्यालयमा जाडो बिदा दिने निर्णय गरिएको उल्लेख छ । शीतलहरसँगै चिसो हावाको कारणले जाडो अत्यधिक मात्रामा बढेसँगै प्रमुख बजार र ग्रामीण भेगमा चहलपहल घटेको छ । यस क्षेत्रमा लाग्ने बाक्लो कुहिरोका कारणले ग्रामीण क्षेत्रमा यातायातका साधन चलेका छैनन् । ग्रामीण भेगमा दाउरा नहुँदा स्थानीय गोबरको गुइँठा, परालको जोहो गर्न लागेका छन् । बाक्लो कुहिरोका कारणले तेलहन, दलहन, आलु खेतीलगायतमा नकारात्मक असर पर्नुका साथै पशु चौपायाह पनि प्रभावित हुन थालेका छन् । आइतबारदेखि हुस्सु लाग्ने क्रम बढेको छ । घाम लाग्न छोडेको छ । लगातारको चिसो सिरेटोले गाईवस्तुको आहार जुटाउन र स्याहारसम्भार गर्न कठिन भएको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयाका रामविलास यादवले बताए ।

बागलुङमा १५ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा

ढोरपाटन । बागलुङमा पछिल्लो समय खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन् । दुरदराजका किसानले सिँचाइको सुविधा नपाउँदा वर्षौंदेखि गर्दै आएका जमिनमा अहिले वनमारा पलाउन थालेका छन् । बर्सेनि सरकारले सिँचाइका लागि करोडौँ बजेट विनियोजन गरे पनि किसानले सुविधा पाउन नसकेको गुनासो बढेको छ । यस वर्ष पनि बागलुङमा गण्डकी प्रदेश र सङ्घीय सरकारका २२ करोड २४ लाख रुपैयाँको योजना परेका छन् । प्रदेशका एक सय चार र सङ्घीय सरकारका २० गरी एक २४ योजना चालु आर्थिक वर्षमा कार्यान्वयनका चरणमा छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका अनुसार जिल्लामा खेतीयोग्य जमिनको १५ दशमलव १५ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइको सुविधा पुगेको छ । जिल्लामा एक लाख ७८ हजार चार सय हेक्टर जमिन रहे पनि हाल ४६ हजार एक सय ४८ हेक्टरमा खेती गरिँदै आएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार ३० हजार ५ सय २३ मध्ये हालसम्म ६ हजार ७ सय ९० हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुगेको छ भने बाह्रै महिना सिँचाइ हुने क्षेत्रफल भने दुई हजार आठ सय १५ हेक्टर रहेको छ । प्रमुख पौडेलले बागलुङमा भौगोलिक कठिनाइका कारण सबै ठाउँमा एकै पटक सिँचाइ सुविधा पुर्याउन ठूलो बजेट चाहिने बताउँछन्। अहिले न्यून बजेटमा पनि धेरै खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने गरी काम गरिरहेको उनको भनाइ छ । कार्यालयबाट सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी काम हुँदै आएको प्रमुख पौडेलले बताए । सिँचाइ योजनाको माग निकै बढेको र कार्यालयले सबै क्षेत्रमा सिँचाइको पहुँच पु¥याउने लक्ष्य भए पनि पछिल्लो समय धान तथा गहुँ खेती हुने खेतबारीमा सिँचाइका योजना पर्ने गरेको उनले बताए । सिँचाइको पहुँच पुगेपछि धान फल्ने क्षेत्रफल पनि बढेको छ । जिल्लाको १० वटै पालिकामा योजना परेको प्रमुख पौडेलले बताए । प्रदेश सरकारले कृषि उत्पादकत्व, लाभान्वित जनसङ्ख्या र जमिन हेरेर योजना बनाउँदै आएको उनी बताउँछन् प्रमुख पौडेल भन्छन्, ‘प्रदेश सरकारले पठाएको योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गरी काम गरेका छौँ, बागलुङ भौगोलिक कारणदेखि विभिन्न हिसाबले सिँचाइको व्यवस्थापन गर्न सजिलो छैन, यद्यपि सिँचाइ अभाव भएका ठाउँलाई मुख्य प्राथमिकतामा राखेर काम भइरहेको छ, चालु आर्थिक वर्षमा विनियोजित बजेट पनि कार्यान्वयन गर्ने चरणमा छौँ, अहिले पनि धेरै ठाउँका किसाना आकाशे पानीको भरमा खेती गर्दै आएका छन् ।’ बागलुङ अहिलेसम्म खाद्यान्नमा आत्मनिर्भर बन्न सकेको छैन । यहाँका रहेक किसान आयातित खाद्यान्नमै निर्भर बन्नुपरेको छ । जिल्लामा खेतीयोग्य जमिन नभएर होइन । बागलुङ भौगोलिक हिसाबले केही क्षेत्र समथर भए पनि अधिकांश भू–भाग भिरालो छ । यी क्षेत्रमा अहिलेसम्म सिँचाइको सुविधा पुग्न नसक्दा कृषक परनिर्भर पर्नुपरेको निसीखोला बडिगाड गाउँपालिका–८ का तिलबहादुर घर्ती मगरले बताए । ग्रामीण क्षेत्र भिराले भए पनि गहुँ खेती राम्रो हुने गरेको भन्दै हिउँदमा लामो समय खडेरी परे उत्पादनमा ह्रास आउने उनको भनाइ छ । सिँचाइको सुविधा भए वर्षभरि खान पुग्ने बाली बारीमै उत्पादन गर्न सकिने भए पनि सामान्य कुलोसमेत नहुँदा आयातित खाद्यान्नमा भर पर्नुपरेको गुनासो पोखे । ‘हामी सधैँ बाहिरबाट चामल, मिठो लिएर जीविका चलाउनुपरेको छ, बारी प्रसस्तै छन्, के गर्नु पानी छैन, पानी नभए पनि उत्पादन पनि थोरै हुन्छ, पचासौँ रोपनीमा लगाएको मकै, गहुँले वर्षभरि खान पुग्दैन, बारीमा उब्जेकोले नपुगेपछि किन्ने उही विदेशी चामलनै हो,’ उनले भने, ‘गाउँका बारी भारोलो छन्, भिरालोमा धान त फल्दैन तर राम्रो कुलो हुन्थ्यो बने मुहानबाट पानी लिएर लगाउन त सकिन्थ्यो, अहिलेसम्म यो ठाउँमा सिँचाइका लागि कुलोको योजना पर्न सकेको छैन ।’ निसीखोला गाउँपालिका–५ का बलिभद्र घर्तीले बालीनालीमा सिँचाइको अभाव हुँदा उत्पादनमा कमी आएको बताए । कारीखोलाबाट करिब एक किलोमिटरको दुरीमा कच्ची कुलोमार्फत पानी लिएर खेतबारीमा लगाउने गरे पनि बर्खामा भत्किँदा लाखौँको क्षति हुने गरेको गुनासो पोखे । सरकारले बजेट विनियोजन गरेर पक्की कुलो निर्माण गरि दिए गाउँले आत्मनिर्भर भन्न सक्ने उनको भनाइ छ । सयौँ रोपनी खेत भएको ठाउँमा एउटा मात्रै साँघुरो कुलो रहेको भन्दै पानीका लागि छिमेकीसँग बेला–बेला झगडासमेत पर्ने गरेको घर्तीले सुनाए । घर्तीले भने, ‘समयमै वर्षा हुँदाको वर्ष २० मुरी धान र १५ मुरी गहुँ उत्पादन गर्नु हुन्छ, हिउँदमा लामो समय खडेरी पर्यो भने उत्पादन निकै कम हुन्छ, हिउँदमा आकाशे पानीको भर पर्नुपर्छ, बर्खामा बेसीको सबै सकियो भने बल्ल गाउँका खेतमा रोपाइँ गर्नुपर्ने अवस्था छ, यो सिजनमा पानी परेन भने गहुँ जौँ सबै सुकेर मर्छन् ।’ बागलुङमा सबैभन्दा बढी मकै बाली उत्पादन हुने गरेको छ । जिल्लाभरि मकै २० हजार हेक्टर क्षेत्रफल बढीमा उत्पादन हुन्छ । कोदो १८ हजार हेक्टर र गहुँ सात बढी हजार हेक्टर बढी क्षेत्रफलमा उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार गत वर्ष छ हजार बढी हेक्टर क्षेत्रफलमा रोपाइँ भए पनि १८ हजार ६ सय ९० मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो । यस वर्ष पाँच हजार सात सय १७ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिएकामा २० हजार पाँच सय ५१ मेट्रिक टन उत्पादन भएको छ । रासस

व्यक्तित्वका ती पक्ष के हुन्, जुन ‘लुक्स’ भन्दा बढी आकर्षक हुन्छन्

काठमाडौं । अंग्रेजीमा एउटा भनाइ छ– ‘फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन।’ यसको मतलब यो हो, तपाईंले पहिलोपटक भेट्दा कुनै व्यक्तिमा जुन छाप वा प्रभाव छाड्नुहुन्छ, त्यो उसले लामो समयसम्म सम्झिन्छ। पहिलो भेटमा तपाईं कस्तो देखिनुहुन्छ भन्ने कुराले फरक पर्न सक्छ, तर व्यक्तिको व्यक्तित्वका ती अन्य पक्ष के के हुन्, जसले मानिसहरूको मन छुन्छ। साधारण बुझाइमा कुनै पनि रोमान्टिक सम्बन्धको सुरुवात तपाईंले पहिलो नजरमा कसरी प्रस्तुत हुनुहुन्छ भन्ने हो । तर, शारीरिक आकर्षण व्यक्तिको अन्य धेरै गुणहरूका कारणले पनि हुन सक्छ । तपाईं पहुँचयोग्य हुनुहुन्छ ? तपाईं कसरी कुरा गर्नुहुन्छ ? तपाईंको व्यवहार कस्तो छ ? अमेरिकामा गरिएको एक सर्वेक्षणमा जोडीहरूलाई लुक्सबाहेक अरू कुन गुणहरू मनपर्छ भनेर सोधिएको थियो । सर्वेमा सोधिएको प्रश्नहरूको जवाफमा उनीहरूले भौतिक सफलता, जस्तै आर्थिक सुरक्षा र राम्रो घर, तिनीहरूका लागि आकर्षक गुणहरूमध्ये सबैभन्दा कम स्थानमा पर्ने बताएका थिए । दोस्रो, तिनीहरूले आफ्नो पार्टनरसँग सहमत हुने, बहिर्मुखी हुने र बौद्धिकतालाई शारीरिक आकर्षणभन्दा धेरै माथि राख्ने बताएका थिए । ‘लुक्स’ कति महत्वपूर्ण ? यस सर्वेक्षणमा अमेरिकाको फ्लोरिडा विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक ग्रेग वेबस्टरले यस्ता सर्वेक्षणहरूमा मानिसहरूले अरूको नजरमा आफूलाई राम्रो राख्ने जवाफ दिने बताए । उनले भने, ‘यस्तो सर्वेक्षण डाटाले पूर्णरूपमा स्पष्ट चित्र प्रस्तुत नगर्न सक्छ ।’ तर प्रश्न यो छ, जब हामी वास्तविक जीवनको बारेमा कुरा गर्छौं, तब एक व्यक्तिको लुक्सले भन्दा बढी ध्यान व्यक्तित्वले पाउँछ ? यस प्रश्नमा मनोवैज्ञानिक डा। पूजा शिवम जेटली भन्छिन्, ‘सुरुवाती आकर्षण लुक्समा आधारित हुन्छ। तर, यो व्यक्तिमा पनि भर पर्छ।’ उनी थप्छिन्, ‘तिमी कस्तो देखिन्छौ भन्ने कुरा महत्त्वपूर्ण छ र यो सुरुवाती बिन्दु पनि हो । तर, कसैको सौन्दर्य वा रूपले लामो समयसम्म कसैलाई आकर्षित गर्न सक्दैन ।’ यदि तपाईंले लामो समयको सम्बन्ध, व्यक्तित्व, आवश्यकता र संसारलाई कसरी हेर्नुहुन्छ भन्नेबारे सोध्नुभयो भने यी सबै कुराले पनि मानिसलाई आकर्षित गर्ने डा। जेटली बताउँछिन् । उनका अनुसार धेरैजसो सम्बन्धमा यी पक्षहरू छलफल नगर्दा भविष्यमा भिन्नता आउन सक्छ । आफ्नो पार्टनरको कुरा सुन्नु र आपसी सहमति कायम राख्नु कुनै पनि सम्बन्धका लागि धेरै महत्त्वपूर्ण हुन्छ । कुनै पनि व्यक्तिको व्यक्तित्व मापन गर्नु गाह्रो काम हो । दशकौंदेखि मानिसहरूलाई साइकोमेट्रिक परीक्षणहरूमा धेरै प्रश्नहरू सोधिएको छ ताकि तिनीहरूको व्यक्तित्वको बारेमा थप जानकारी प्राप्त गर्न सकियोस्। कसैको व्यक्तित्व कसरी मूल्यांकन गर्ने ? सामान्य जीवनमा मानिसको व्यक्तित्वलाई कसरी मूल्यांकन गर्न सकिन्छ भन्ने प्रश्नमा बिहेबियर एक्सपर्ट तथा जीवन प्रशिक्षक आस्था दिवान भन्छिन्, ‘एउटा व्यक्तिको व्यक्तित्व धेरै कुराले बनेको हुन्छ । तपाईसँग सजिलै कुरा गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा धेरै महत्त्वपूर्ण हुन्छ।’ उनी थप्छिन्, ‘के तपाई कुरा गर्दा अरूलाई बोल्ने मौका दिनुहुन्छ रु प्राथमिकता के हो रु विचार के हो रु तपाईंको जीवन मूल्य के हो, तपाईंको आत्मविश्वास कस्तो छ रु यी सबै कुरा तपाईंको व्यक्तित्वको एक महत्वपूर्ण भाग हो ।’ साथै, तपाईंले ‘विपरीत आकर्षण’ बारे सुन्नुभएको होला । यसको मतलब हो, दुई व्यक्ति जो एकअर्काबाट पूर्णतया भिन्न छन् र एकअर्काप्रति आकर्षित हुन्छन् किनभने व्यक्तित्वमा भिन्नताले पनि मानिसहरूलाई आकर्षित गर्दछ । युनिभर्सिटी अफ रोचेस्टर, संयुक्त राज्य अमेरिकाका ह्यारी रीड र मिनेसोटा विश्वविद्यालयका एलन बर्शार्ड जो व्यक्ति पहिले नै चिनेको साथी खोज्छ, जसको व्यक्तित्व, जीवनशैली र सामाजिक समूह मेल खान्छ, यो आकर्षणको आधारभूत सिद्धान्त भएको बताउँछन् । यसबारे डा। आस्था दिवान भन्छिन्, ‘कतिपय मानिस आपसमा समानता खोज्छन्, कहिलेकाहीँ आफूभन्दा फरक व्यक्ति पनि रोज्छन् । समानता खोज्नु मानवीय स्वभाव हो,’ डा। आस्था दिवान भन्छिन्, ‘यो कुराले मानिसलाई धेरै सुरक्षित महसुस गराउँछ । जब तपाईंको विचार, गुण र मनपर्नेमा समानता हुन्छ, त्यहाँ तुरुन्त एक स्पार्क हुन्छ, बन्डिङ हुन्छ।’ कुनै पनि सम्बन्धलाई लामो समयसम्म कायम राख्न सँगै बसेर पनि छुट्टै जीवनमा अगाडि बढ्ने अवसर हुनु जरुरी भएको उनको भनाइ छ । ‘मानिसहरू सधैं समानता खोज्छन् भन्ने होइन,’ उनी भन्छिन्, ‘तर, कहिलेकाहीँ आफूभन्दा पूर्णतया फरक भएका व्यक्तिहरूलाई मन पराउन सकिन्छ, जसले एकअर्काको आधारभूत आवश्यकताहरू पूरा गरिरहेका हुन्छन् ।’ डा। आस्था दिवानका अनुसार मित्रताभन्दा पनि आकर्षण धेरैजसो विपरीत व्यक्तिसँग हुने गर्छ । मित्रता पनि दुई पूर्णतया फरक व्यक्तिबीच छिट्टै हुन्छ। बीबीसी

विदेशी मुद्राको सटही रोकिँदा जटिल मोडमा इन्टरनेट सेवा उद्योग

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ)ले विदेशी मुद्राको सटही रोकिँदा नेपालको इन्टरनेट सेवा उद्योग जटिल मोडमा आएको बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै महासंघले सो बताएको हो । भुक्तानीका लागि अपस्ट्रिम प्रदायकबाट बारम्बार ताकेता भएपनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटहीमा सिफारिस नगरिदिँदा इन्टरनेट सेवा सम्बद्ध व्यवसायी मारमा परेका महासंघले बताएको छ । नेपालमा अन्तर्राष्ट्रिय ब्यान्डविथ भित्र्याएबापत भारतीय अपस्ट्रिम प्रदायकलाई करिब १० महिनायता इन्टरनेट सेवा प्रदायकले भुक्तानी गर्न नपाएको महासंघको गुनासो छ । यसको प्रत्यक्ष असर आमउपभोक्तामा र देशको समग्र अर्थतन्त्रमै पर्ने बताइएको छ । मन्त्रालय र इन्टरनेट सेवाप्रदायकबीच अहिले चलिरहेको मर्मत सम्भारको शुल्कमा रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) दस्तुर विवाद आपसी छलफलबाटै टुङ्ग्याउनु उचित हुने समेत महासंघको भनाई छ । ‘सरकार र इन्टरनेट व्यवसायीबीच यसअघि भएका सहमतिहरू अदालतको निर्णय, संशोधित दूरसञ्चार नियमावली र ऐनले गरेका व्यवस्थालाई आधार मानी सरकारलेनै निकासमा दिनुपर्छ,’ क्यान महासंघका अध्यक्ष रणजीत कुमार पोदारले भने । ‘नेपालमा सञ्चालित इन्टरनेट र सूचना सञ्चार प्रविधि (आईसीटी) व्यवसायलाई अनावश्यक दुःख र दबाब दिने कार्यले डिजिटल नेपालको आकांक्षा पूरा हुन सक्दैन,’ क्यान महासंघका महासचिव चिरन्जिबी अधिकारी भने । नेपालको इन्टरनेट सेवा उद्योगमा उचित व्यवसायिक वातावरण सिर्जना गर्ने र हाल देखिएका जटिलताको अन्त्य गर्ने दायित्व सरकारकै रहेको बताउँदै क्यान महासंघले सरकारलाई लचिलो भएर समस्या समाधानका लागि पहल गर्न अनुरोध गरेको छ ।

रेटिङबाट धमाधम बाहिरिँदै कम्पनी, वित्तीय संकट कि सूचना लुकाउने चलखेल ?

काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा तीन वटा रेटिङ एजेन्सीले पाँच दर्जन बढी कम्पनीको रेटिङ विथड्र गर्ने सूचना सार्वजनिक गरेका छन् । रेटिङ एजेन्सी इक्रा नेपाल, केयर रेटिङ नेपाल र इन्फोमेरिक्स नेपालले एक महिनाको अवधिमा सो संख्यामा रेटिङ विथड्र गरेको सूचना सार्वजनिक गरेका हुन् । रेटिङको प्रक्रियामा गएर आर्थिक पारदर्शिता अपनाइरहेका कम्पनीहरू एकाएक रेटिङ प्रक्रियाबाट बाहिरिएपछि यतिखेर निजी क्षेत्रमा एक किसिमको तरंग सिर्जना भएको छ । एकै पटक यति धेरै कम्पनीहरू रेटिङबाट बाहिरिनुलाई धेरैले रेटिङ कम्पनीको विश्वसनियतामाथि मात्रै प्रश्न गरेका छैनन् ती कम्पनीहरूको आर्थिक पारदर्शितामाथि पनि आशंका पैदा गरेका छन् । कतिपयले यसलाई वर्तमान अर्थतन्त्रको कारकका रूपमा बुझेका छन् । पछिल्लो एक महिनाको अवधिमा इक्रा नेपालबाट २८ वटा कम्पनीको विथड्रका लागि सूचना सार्वजनिक भएको छ भने १६ वटा कम्पनीको रेटिङ खस्किएको छ । १६ वटा कम्पनीले पहिलेकै रेटिङ प्राप्त गरेका छन् । यस्तै, अर्को रेटिङ एजेन्सी केयर रेटिङ नेपालबाट एक महिनाको अवधिमा २७ वटा कम्पनी बाहिरिएका छन् भने इन्फोमेरिक्स नेपालबाट तीन वटा कम्पनी बाहिरिएका छन् । तीन वटा रेटिङ एजेन्सीबाट पाँच दर्जन कम्पनी बाहिरिँदा यसलाई तिनीहरूले पनि असामान्य रूपमा हेरेका छन् । कम्पनी बाहिरिनु उनीहरूका लागि मात्रै होइन रेटिङ गर्ने कम्पनीहरूको बिजनेस पनि घट्नु हो । विथड्र भएका अधिकांश कम्पनीको विवरणमा रेटिङ एजेन्सीहरूले सूचनामा सहजीकरण नगरेको तथा सूचना नै नदिएको भन्दै हटाएको उल्लेख गरेका छन् । इक्रा नेपालकी कार्यकारी प्रमुख अर्थात् बिजनेस हेड वर्षा श्रेष्ठले कम्पनीहरूले सम्झौता गरेअनुसार सूचना उपलब्ध नगराउँदा ती कम्पनीहरूलाई विथ ड्र गर्नु परेको बताइन् । सुरुमा ऋण लिनका लागि रेटिङ गराउने र कर्जा लिइसकेपछि रेटिङ नगरे पनि हुने गलत बुझाइका कारण कम्पनीहरूले सूचना दिन नमानेको उनको भनाइ छ । उनका अनुसार कम्पनीको वित्तीय विवरण पनि स्वस्थ नहुँदा सम्पूर्ण विवरण दिन अटेर गर्ने गरेका छन् । वर्षा श्रेष्ठ, बिजनेस हेड, इक्रा नेपाल । ‘कम्पनीहरूलाई रेटिङ गराउनुपर्छ भन्ने ज्ञान पनि हुँदैन, नीति पनि रेटिङ गर्नैपर्छ भन्ने बनेन, कतिपयलाई आफ्नो कम्पनीको वित्तीय विवरण दिन पनि गाह्रो लाग्छ, सुरुमा कर्जा लिनैका लागि सूचना दिए पनि पछि दिन मान्दैनन्, हामीले कम्पनीको यथार्थता देखाइदिँदा धेरैले गुनासो गर्ने गरेका छन्,’ उनी भन्छिन्, ‘कम्पनीलाई रेटिङको विषयमा बुझाउन नसक्दा पनि यो समस्या भएको हुनुपर्छ ।’ कम्पनीहरूले आवश्यकता परेको बेला रेटिङ गराउने र पछि कर्जा लिइसकेपछि शुल्क तिरिराख्नु पर्ने कारणले धेरैले रेटिङ गराउन छोड्ने गरेका छन् । सूचना उपलब्ध नगराउँदा एजेन्सीहरूले बाध्य भएर विथड्र गर्ने गरेका छन् । नेपाल राष्ट्र बैंकले ५० करोडसम्मको कर्जाका लागि अनिवार्य रेटिङ गराउनु पर्ने व्यवस्था गरेको छ । सो अनुसार कम्पनीहरूले कर्जा लिनका लागि रेटिङ गराउने गरेका छन् । एक पटक लिएको रेटिङको अवधि ६ महिनाको हुन्छ । उक्त समयावधि सकिएपछि रेटिङ एजेन्सीले पुनः रेटिङ गर्छ । तर, कम्पनीहरूको रेटिङ पुनःपुष्टिका लागि रेटिङ एजेन्सीहरूले सम्पर्क गर्न खोज्दा समेत कम्पनीहरू सम्पर्कमा आउन मान्दैनन् । त्यसपछि ती कम्पनीहरूलाई एजेन्सीले विथड्रको सूचीमा राख्ने र त्यो अवधिमा पनि सम्पर्कमा नआएमा विथड्र नै गर्ने प्रावधान छ । केयर रेटिङ नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अचित निर्वानीले पनि कम्पनीले सूचना नदिँदा विथड्र गर्ने गरेको जानकारी दिए । उनले नेपाल धितोपत्र बोर्डको गाइडलाइनअनुसार नै कम्पनीहरूलाई विथड्र गरेको बताए । उनले कम्पनीले सूचना नदिनुमा दुइटा कारण हुन सक्ने धारणा राखे । अचित निर्वानी, सीईओ, केयर रेटिङ नेपाल । ‘एउटा त हाम्रो सेवा मन नपराएर अर्को कम्पनीमा पनि गएका हुन सक्छन्, अर्को ती कम्पनीहरू आर्थिकरूपमा नाजुक भएर सूचना दिन नमानेका हुन सक्छन् । तर, उनीहरूले के कारणले हामीलाई सूचना दिएनन् भने विषय बुझ्न सकिएको छैन,’ उनले भने । रेटिङ गराउने कम्पनीहरूले आफ्नो वास्तविक वित्तीय अवस्था बाहिर आउने डरले पनि सूचना नदिएको हुन सक्ने बुझाइ धेरैको छ । आफ्नो दयनीय वित्तीय अवस्थालाई लुकाउनका लागि रेटिङका लागि सूचना नदिएको हुन सक्ने बुझाइ एक रेटिङ एजेन्सीका कर्मचारीको छ । रेटिङले कम्पनीको पारदर्शिता बढाउनुका साथै कर्जा दिने वित्तीय तथा गैर वित्तीय संस्थाहरूमा विश्वास पनि बढाउँछ । तर, कम्पनीहरुले नियमित रूपमा सूचना उपलब्ध नगराउँदा रेटिङलाई निरन्तरता समस्या भइरहेको धारणा रेटिङ एजेन्सीको छ । रेटिङ एजेन्सीबाट शाखः स्टील पनि बाहिरिएको छ । शाखः स्टीलका सञ्चालक किरण शाखः अहिले रेटिङ गर्न आवश्यक नभएको तर्क दिन्छन् । ‘जरूरी भएको बेला कम्पनीहरूले रेटिङ गरेका थिए होलान्, अहिले कम्पनी नै बिरामी परेको बेला के को रेटिङ गराउनु,’ उनी भन्छन्, ‘आवश्यक नपरेको बेला किन शुल्क तिरिराख्नु, अहिले ऋण पनि लिनु परेको छैन, त्यसैले सूचना नदिएका होलान् ।’ शाखःले अहिले कम्पनीहरूको आर्थिक अवस्था सन्तोषजनक नभएको कारण कम्पनीहरूले सूचना नदिएको हुन सक्ने संकेत गरे । नेपाल धितोपत्र बोर्डका अनुसार बैंक वा वित्तीय संस्थाबाट ऋण सुविधा लिन चाहनेले क्रेडिट रेटिङ गराउनु पर्ने हुन्छ । नेपाल राष्ट्र बैंकले पनि ५० करोडभन्दा बढीको कर्जा लिएमा रेटिङ गराउनु पर्ने व्यवस्था गरेको छ । बोर्डको क्रेडिट रेटिङ निर्देशिकाका अनुसार ग्राहकले रेटिङ संस्थालाई अनुगमन गर्ने दायित्व पूरा गर्न सहयोग नगरेमा क्रेडिट रेटिङ संस्थाले प्राप्त गर्न सकेको अधिकतम जानकारीको आधारमा रेटिङ पुनरावलोकन गर्नु पर्नेछ । त्यसरी सहयोग प्राप्त गर्न नसकेकोले प्राप्त हुन सकेका अधिकतम जानकारीको आधारमा रेटिङ अनुगमन गरिएको जानकारी सार्वजनिक रूपमा प्रवाहित गराउनु पर्ने व्यवस्था छ । ग्राहकले सहयोग नगरेमा र त्यस्तो सहयोग बिना रेटिङ अर्थहीन हुने कुरामा रेटिङ संस्था विश्वस्त भएमा रेटिङ फिर्ता लिन सक्ने व्यवस्था निर्देशिकामा छ । त्यस्तो अवस्था परेर रेटिङ फिर्ता लिने भएमा प्राप्त अधिकतम सूचनाको आधारमा एक पटक अनुगमन गरी रेटिङ फिर्ता लिने सम्बन्धमा बोर्ड तथा सार्वजनिक जानकारीको लागि सूचना प्रकाशित गरी कम्तीमा ६ महिना सम्म रेटिङ निगरानीमा राख्नु पर्नेछ र सो पश्चात् अर्को एक पटक अनुगमन गर्दा सुधार नभएमा क्रेडिट रेटिङ संस्थाले रेटिङ फिर्ता लिन सक्ने व्यवस्था पनि बोर्डले गरेको छ । पछिल्लो समय अर्थतन्त्रमा समस्या हुँदा त्यसको प्रत्यक्ष असर निजी क्षेत्रमा पनि परेको छ । निजी क्षेत्रको बिजनेस सन्तोषजनक रूपमा सञ्चालन नहुँदा तिनीहरू आफ्नो वित्तीय अवस्था लुकाउने अवस्थामा पुगेको बुझाइ धेरैको छ । तर, वित्तीय अवस्था राम्रो भएर राम्रो रेटिङ पाएका ऋणीहरुलाई बैंक तथा वित्तीय संस्थाले चाँडो कर्जा प्रवाह गर्न सक्छन् । ती कम्पनीहरू वित्तीय संस्थाको पहिलो रोजाइमा पनि पर्छन् । तर, अहिले रेटिङ एजेन्सीहरूले रेटिङका लागि बाराम्बार सूचना माग गर्दा पनि कम्पनीले सूचना उपलब्ध गराउन सहयोग नगर्नुलाई ती कम्पनीहरूको वित्तीय अवस्था र आर्थिक पारदर्शितामाथि प्रश्न उठेको हो ।