श्री एयरलाइन्सले २० प्रतिशतले बढायो आम्दानी, ३ अर्ब ८५ करोड ऋण लिँदै
काठमाडौं । श्री एयरलाइन्स प्रा. लि. ले २० प्रतिशतले आम्दानी बढाउन सफल भएको छ । आर्थिक वर्ष २०२२ को तुलनामा श्री एयरको आम्दानी २०२३ मा १९.७२ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०२३ को अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ४ अर्ब १४ करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ । जबकी २०२२ मा यस्तो आम्दानी ३ अर्ब ४५ करोड रुपैयाँ थियो भने २०२१ मा एक अर्ब ३८ करोड रुपैयाँ थियो । सन् १९९९मा स्थापित कम्पनी २०२३ जुलाईबाट सार्वजनिक संस्थामा परिणत भएको हो । काठमाडौंमा आन्तरिक उडान गर्दै आएको कम्पनीले अहिले १८ वटा उडान भर्दै आएको छ । साथै, कम्पनीले हेलिकप्टर चार्टर सेवाहरु पनि दिँदै आएको छ । कम्पनीको प्रमुख सेयरधनी सुधीर मित्तल हुन्, जसको ९९.९९ प्रतिशत सेयर हिस्सा छ । श्री एयरले कूल ३ अर्ब ८५ करोड ५६ लाख रुपैयाँ कर्जाको लागि रेटिङ्ग कम्पनी इन्फोमेरिक्स् क्रेडिट रेटिङ्ग नेपालमा रेटिङ्ग गराएको छ । कम्पनीले २ अर्ब ५५ करोड १७ लाख रुपैयाँ बराबरको दीर्घकालीन कर्जा र एक अर्ब ३० करोड ३८ लाख रुपैयाँ बराबरको अल्पकालीन कर्जाको लागि रेटिङ्ग गराएको हो । जसमा इन्फोमेरिक्स् क्रेडिट रेटिङ्गले दीर्घकालीन कर्जाको लागि आईआरएन बीबी र अल्पकालीन कर्जाको लागि आईआरएन एफोर रेटिङ्ग दिएको छ ।
मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा पाँच जना निर्वाचित, सीताराम काफ्ले बने अध्यक्ष
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा ५ जना निर्वाचित भएका छन् । पुस २५ गते सम्पन्न कम्पनीको पाँचौं वार्षिक साधारण सभाले सञ्चालक समितिमा ५ जना निर्वाचित गरेको हो । नयाँ सञ्चालकहरुमा संस्थापक तर्फबाट भरतराज ढकाल, सीताराम काफ्ले र तुलसीराम ढकाल रहेका छन् । त्यस्तै, संस्थापक संस्थागत कम्पनी मुक्तिनाथ विकास बैंकको तर्फबाट गोविन्द बहादुर राउत र सर्वसाधारणको तर्फबाट चिरन्जीवी अर्याल निर्वाचित भएका छन् । यससँगै पुस २६ गते बसेको नव निर्वाचित सञ्चालकहरुको बैठकबाट सीताराम काफ्ले अध्यक्षमा चयन भएका छन् । त्यस्तै, सञ्चालक भरतराज ढकाललाई ४ वर्षे कार्यकालका लागि प्रबन्ध सञ्चालकमा चयन गरेको हो । मुक्तिनाथ बिकास बैंकको प्रमुख लगानी सहित नेपालका विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरु मिलि स्थापना भएको कृषि क्षेत्रकै नेपालको पहिलो पब्लिक लिमिटेड कम्पनि हो । कम्पनीले सर्वसाधारण सेयरको निष्कासन समेत गरिसकेको छ । कृषि उत्पादन, उत्पादकत्व वृद्धि तथा उपभोक्ता हितका क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आइरहेको यस कम्पनीले कृषि उत्पादनका क्षेत्रमा आवश्यक पर्ने ४५० भन्दा बढी वस्तु तथा सेवा उपलब्ध गराउँदै आइरहेको छ । कम्पनीले समग्र कृषि अर्थतन्त्रको विकासको लागि संस्थागत कृषि संरचनाको विकासको लागि सहकारीमा आधारित कृषि श्रोत केन्द्रमा जोड दिँदै आइरहेको छ ।
आहारा खोज्दै घोडाघोडी ताल आइपुगे आगन्तुक चरा
घोडाघोडी । झन्डै पाँच हजार किलोमिटरको यात्रा तय गरेर कैलालीको घोडाघोडी तालमा साइबेरियन र मङ्गोलियन चरा पुगिसकेका छन् । सन् २००३ अगस्तमा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी क्षेत्र चराको बासस्थलका लागि उपयुक्त गन्तव्य मानिन्छ । पर्याप्त आहारा र सन्तुलित तापक्रमका कारण प्रत्येक वर्ष यहाँ हजारौँ आगन्तुक चरा आउने गरेका छन् । यस वर्ष पनि आगन्तुक चराको चिरविराहट र चहलपहलले घोडाघोडी ताल क्षेत्र थप रमणीय र मनमोहक भएको छ । सेप्टेम्बरदेखि फेब्रुअरीसम्म करिब छ महिना उत्तर ध्रुवका साइबेरिया, मङ्गोलिया, उत्तरी चीन, रसिया, कोरिया, जापान, युरोपलगायत क्षेत्रमा तापक्रम शून्य डिग्री सेल्सियसभन्दा न्यून रहने भएकाले तालतलैया तथा पोखरीमा बरफ जम्ने भएकाले चराहरू उचित तापक्रम र वातावरणको खोजी गर्दै यहाँ आउने चराविद् डा हेमसागर बरालले जानकारी दिए । अत्यधिक चिसो अनुकूलन हुन नसक्दा र आहारको कमीका कारण चिसो छल्न आहारको खोजी गर्न नेपाललगायतका दक्षिण क्षेत्रतर्फ बसाइँसराइ गर्ने चराहरूको सङ्ख्या ठूलो रहेको उनको भनाइ थियो । ‘अत्यधिक चिसो भएपछि तालतलैया बरफमा परिणत हुन्छन् । चराको आहारा नोक्सान हुने भएकाले आहारको खोजीमा नेपाललगायतका दक्षिण क्षेत्र आउँछन्’, चराविद् बरालले भने, ‘यहाँको मौसम यो बेला अनुकूल हुने र आहार पनि पर्याप्त पाइने भएकाले चराहरू आउँछन् ।’ उनका अनुसार दशकौँदेखि कैलालीको घोडाघोडीका साथै महादेवा, लौकाहा–भौकाहा, चिरैयाँ, नकरोड, कोइलही, सोनियाँ–रुपियाँ, जम्नेह्टा, घोड्ताललगायत कर्णालीको तल्लो तटीय क्षेत्रमा विभिन्न प्रजातिका हिउँदे आगन्तुक चरा आउने गर्दछन् । सेप्टेम्बरको अन्तिम सातादेखि घोडाघोडी क्षेत्रमा एक हजार बढीको सङ्ख्यामा चराहरू आउने गरेका पन्छी संरक्षण सङ्घका सहजकर्ता हिरुलाल डङ्गौराले जानकारी दिए । ‘यो बेला ठूलो सङ्ख्यामा विभिन्न देशबाट हजारौँ किलोमिटरको यात्रा तय गरेर यहाँ चराहरू आउने गरेका छन्’, उनले भने, ‘यी चरा छ महिनासम्म यहाँ बसोबास गर्छन् ।’ उनका अनुसार डिसेम्बरसम्म यहाँ आइपुगेका चरा मार्चमा फेरि आएकै ठाउँतिर फर्किन्छन् । ‘संसारमा चराका नौ वटा उडान मार्ग रहेको बताइन्छ । आगन्तुक चराको नेपालमा दुई उडान मार्ग पर्दछन् । मध्य एसिया उडान मार्ग हुँदै चराहरू घोडाघोडी पुग्छन् । त्यसमा फिस्टे तथा हाँस प्रजातिका चराहरूका साथै सामुद्रिक चराहरू पर्छन् । कहिलेकाहीँ खोया हाँस पनि यहाँ देखिने गरेका छन्’, चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले भने । उनका अनुसार घोडाघोडीमा अहिले आगन्तुक चराका रूपमा सुनजुरे, खडखडे, मालक, बेल्चाठुडे, कालीजुरे, कैलो टाउके, सिन्दुरे, हरियो टाउकेलगायत हाँस प्रजातिका जलपन्छी आएका छन् । चौधरीले भने, ‘साइबेरिया, मङ्गोलिया, उत्तरी चीनलगायतका देशबाट अहिले घोडाघोडीमा आगन्तुक चराहरू आइपुगेका छन् । जाडो यामभरि यहाँका सिमसार क्षेत्रका साना ठूला तालमा ती चराहरू रमाउँछन् । फेरि यता गर्मी बढेपछि उतै फकिन्छन् ।’ कस्तो छ घोडाघोडी ताल ? एक सय ३८ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताल औँला भएको हत्केला आकारको छ । यस आसपासमा रहेका अन्य १३ वटा तालसमेत गरेर उक्त सिमसार क्षेत्रमा तालैतालले ओगटेको क्षेत्रफल दुई सय ४८ हेक्टर रहेको छ । एउटा तालको सीमा टुङ्गिन नपाउँदै अर्को ताल सुरु हुने घोडाघोडी क्षेत्र तालैतालको मालाजस्तै देखिन्छ । जङ्गलबीच तालैतालको लस्करसहित जैविक विविधताले भरिएको यस क्षेत्र तराई र चुरे जोड्ने जैविक मार्गका रुपमा रहेको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष चौधरीले बताए । पूर्व–पश्चिम राजमार्गको छेउमा रहेको ताल क्षेत्र दुर्लभ चराचुरुङ्गीले विचरण गर्ने शान्त र सुरक्षित बासस्थान हो । विश्व जलचर इतिहासमा सङ्कटापन्न दर्जनौँ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ चराचुरुङ्गीको संरक्षणका कारण यो ताल सन् २००३ मा विश्व रामसार सूचीमा सूचिकृत भएको उनको भनाइ थियो । ‘विश्वभरका एक हजार तीन सय १४ रामसार क्षेत्रमध्ये केही विशेष स्थानीय प्रजातिका माछा र पुतली यस ताल क्षेत्रमा मात्र पाइन्छन् । त्यसैले पनि विश्वका सङ्कटापन्न जलचर, स्थलचर तथा जैविक विविधताका दृष्टिले घोडाघोडी ताल महत्त्वपूर्ण छ’, पन्छी संरक्षण सङ्घका सहजकर्ता डङ्गौराले भने । उनका अनुसार यहाँ चार सय ५० प्रजातिका वनस्पति पाइन्छन् । यहाँका जङ्गलमा बहुमूल्य र औषधिका रूपमा प्रयोगमा आउने सतिसाल, साज, खयरलगायत वनस्पति पाइने बताइएको छ । रामसारको प्रावधानअनुसार विश्वका आठ मध्ये दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय चराहरूको सूचक यस तालमा उपलब्ध छन् । हरिहाँस, बगाले सिमकुखुरा तथा नादुन हाँसले घोडाघोडी ताल क्षेत्रमा मात्रै प्रजनन गर्ने गरेका घोडाघोडी बृहत् तथा पर्यटन विकास बोर्डका उपाध्यक्षसमेत रहेका चराविद् डिआर चौधरीले बताए । यहाँ हरिहाँस, मगर गोही र वनधान सूचक प्रजातिको रूपमा छन् । उनका अनुसार विश्वव्यापी रूपमा लोप हुँदै गएका भुडिफोड गरुण, सेतो गिद्ध, सानो खैरे गिद्ध, हाज हलाचे, राज धनेसलगायत प्रजातिका चराहरू यहाँ बसोबास गर्दछन् । चराहरूको महत्वपूर्ण बासस्थल भएकाले २८ फागुन २०७८ मा घोडाघोडी क्षेत्रलाई नेपालको पहिलो ‘बर्ड सेन्चुरी चरा अभय आरक्षण क्षेत्र’ घोषणा गरिएको थियो । त्यसपश्चात् यस क्षेत्रमा पर्यटकको चहलपहल बढेको स्थानीय बताउँछन् । चराविद् डिआर चौधरीले भने, ‘नेपालकै पहिलो बर्ड सेन्चुरी घोषणा गरेपछि यहाँ पर्यटकको सङ्ख्या बढेको छ । सयौँ प्रजातिका चराचुरुङ्गीका साथै विश्वकै दुर्लभ प्रजातिका अजिङ्गर, सालक, पानी ओत, कछुवासमेत यहाँ पाइन्छ । साथै चितुवा, रतुवा, घोलर, बँदेल, चित्तल, खरायो, बाँदर, मुसा, सुन गोहोरो, सर्प, नीलगाईलगायत जनावरले यहाँको जैविक महत्व विश्वव्यापी बनाएका छन् ।’ यहाँ एक हजार छ सय ७० हेक्टरमा फैलिएको सिमसार क्षेत्रमा २४ वटा ताल छन् भने दुई हजार पाँच सय ६३ हेक्टर क्षेत्रफल रामसार क्षेत्रले ओगटेको छ । छ सय ४७ प्रजातिका बोटबिरुवा, ३१ प्रजातिका माछा, तीन सय ८० प्रजातिका चरा, ३२ प्रजातिका पुतली र ११ प्रजातिका शङ्केकिरा पाइने यस ठाउँ संरक्षण तथा जैविक विविधताको क्षेत्रमा खोज गर्नेका लागि विश्वविख्यात अध्ययन केन्द्र सावित भएको चराविद् चौधरीले बताए । उनका अनुसार यहाँ ३४ प्रजातिका स्तनधारी जनावर र सात प्रजातिका घिस्रेर हिँड्ने जनावर पाइन्छन् । घोडाघोडी ताल छेउमा भगवान् शिवको प्रसिद्ध मन्दिर रहेकाले यस क्षेत्र धार्मिक दृष्टिकोणले समेत आस्थाको केन्द्रका रूपमा स्थापित भएको घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले बताए । ‘यो ताल प्रदेशको मात्रै नभई देशकै गहन हो । हामीले यहाँ देश विदेशबाट पर्यटन भित्र्याउने गरी काम गरिरहेका छौँ’, उनले भने, ‘अहिले गुरुयोजनाअनुसार ताल क्षेत्र व्यवस्थित गर्दैछौँ । यसले पनि ताल क्षेत्र अझै मनमोहक र रमणीय देखिनेछ ।’ रासस
एक लाख रुपैयाँ असुल्ने विकृति बढेपछि बोर्डको चलाखी, अब बिरामीले १० प्रतिशत शुल्क तिर्नुपर्ने
काठमाडौं । स्वास्थ्य बीमा मार्फत पाइने सेवा लक्षित वर्गले नपाएको गुनासो बढेपछि स्वास्थ्य बीमा बोर्डले नयाँ प्रणाली लागू गर्ने भएको छ । स्वास्थ्य बीमाको मर्म अनुसार कार्यक्रम कार्यान्वयन नभएपछि बोर्डले अब स्वास्थ्य बीमा कार्यक्रममा सह-भुक्तानी (को-पेमेन्ट) प्रणाली लागू गर्ने भएको हो । जसमा अब १० प्रतिशत रकम बिरामी आफैंले बेहोर्नु पर्नेछ । यो प्रणाली माघ १ गतेदेखि लागू हुनेछ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ७ मा भएको व्यवस्था अनुसार सह-भुक्तानी (को-पेमेन्ट) प्रणाली लागू गर्ने भएको हो । अब बीमित नागरीकले अस्पतालबाट प्रदान गरिने बहिरंग, अन्तरंग, निदानात्मक, उपचारात्मक, शल्यक्रिया, फिजियोथेरापी र पुर्नस्थापना सेवा लिँदा सह-भुक्तानी प्रणालीको व्यवस्था लागू हुने भएको हो । सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बीमित सेवाग्राहीबाट लिएको १० प्रतिशत रकमको बिल वा भर्पाइ अनिवार्य रूपमा उपलब्ध गराउनु पर्नेछ । बाँकी ९० प्रतिशत रकम भुक्तानीका लागि नियमानुसार स्वास्थ्य बीमा बोर्डमा दावी गर्नु पर्नेछ । बोर्डका अनुसार लक्षित वर्गको बीमितलाई यो प्रर्णाली लागू हुँदैन । प्राथमिक स्वास्थ्य केन्द्र र २५ शैय्यासम्मका सरकारी अस्पतालमा यो प्रर्णाली लागू हुँदैन भने आकस्मिक अवस्थामा स्वास्थ्य सेवा लिँदा पनि यो व्यवस्था लागू हुँदैन । बोर्डले नेपाल सरकारद्धारा निःशुल्क प्रदान गर्नका लागि तोकिएका सेवाहरूमा पनि यो व्यवस्था नहुने बताएको छ । किन आवश्यक पर्यो सह-भुक्तानी प्रणाली ? स्वास्थ्य बीमा भनेको हुनेले नहुने तथा अस्वस्थ व्यक्तिलाई सहयोग गर्ने सामाजिक उत्तरदायित्वको एउटा कार्यक्रम हो । सबै व्यक्तिले एउटै ठाउँमा पैसा जम्मा पार्ने र त्यसबाट जसलाई आवश्यक पर्छ, जो गरिब छ, जो अस्वस्थ छ उनीहरूलाई त्यहाँबाट सहयोग गर्ने यसको अवधारणा हो । तर, नेपालमा त्यसो नभइ मैले ३ हजार ५ सय तिरेको छु, अब मैले १ लाख रुपैयाँ उठाउनुपर्छ भन्ने बुझाइ र भावना जागृत भएको हुँदा केही समस्या भइरहेको बोर्ड सदस्य जुनु श्रेष्ठ बताउँछिन् । बोर्डका अध्यक्ष डाक्टर गुणराज लोहोनीले को-पेमेन्ट रहर नभइ बाध्यताले लागू गर्न खोजेको बताए । उपचारमा १ लाख रुपैयाँ खर्च भएमा अब बिरामीले १० हजार रुपैयाँ आफैं तिर्नुपर्ने व्यवस्था गरिएको हो। बोर्डका सदस्य डा.मुक्तिराम श्रेष्ठ सामान्य बिरामी भएकाहरू बिमाको कार्ड देखाउँदै महँगो उपचार लिने भएकाले केही समस्या भएको बताउँछन् । ‘एक हजारको समस्यामा पनि १२/१३ हजारको उपचार लिने खोज्छन्, औषधी लिँदा पनि आवश्यकमात्र नभइ थप औषधीको लागि डाक्टरलाई प्रेसर दिन्छन्, यस्ता विभिन्न समस्या भएर नै सह-भुक्तानी (को-पेमेन्ट) प्रणाीली लागू गर्न खोजिएको हो,’ उनले भने । स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयनमा आएको भनेपनि यसभित्र पनि टाठाबाठाको रजाइँ रहेको बुझाइ धेरैको छ । जो मान्छेलाई स्वास्थ्य बीमाको आवश्यक छ, उनीहरू यसको पहुँचमा नआएको र जो सँग शक्ति र स्रोतसाधन छ ती व्यक्तिले जसरी भएपनि यो बाटा बेनिफिट लिइरहेको बुझाइ बोर्डको पनि छ । यस्ता गतिबिधीलाई रोक्न यो प्रणाली लागू गरिएको बोर्डको भनाइ छ । निजी अस्पताललाई पनि समेटिँदै स्वास्थ्य बीमा बोर्डले निजी अस्पताललाई फेरि सेवा प्रदायक संस्थाको रूपमा समेट्ने भएको छ । यसअघि बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने भन्दै सरकारी र सामुदायिक अस्पतालमा मात्र स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको थियो । तर, अब निजी अस्पताललाई पनि सेवा प्रदायक संस्थाको रुपमा समेट्ने बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष डा. गुणराज लोहोनीले बीमितको उपचारबापत समान मूल्य तिरेमा निजी र सामुदायिक भनेर छुट्याउन नहुने धारणा राखे । उनले निजी अस्पताललाई दिहाल्ने भन्ने भन्दा पनि यदि सरकारी सेवा र निजी सेवा एकै मुल्यमा लागू हुने हो भने निजीबाट पनि सेवा लिँदा के फरक पर्छ ? उनले प्रश्न गरे । ‘बीर अस्पतालमा एउटा अप्रेसनको १८ हजार लाग्छ र त्यो अप्रेसन ग्रान्डीले पनि १८ हजारमा गर्छ भने यो सरकारी हो यो नीजि भन्नुको तुक छैन, हामीले सेवा खरिद गर्ने हो र बिमितलाई त्यो सेवा दिने हो,’ डा. लोहनीले भने । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला अरु बीमा र स्वास्थ्य बिमामा फरक रहेको धारणा राख्छन् । ‘यहाँ बुझाइमा धेरै ग्याप रह्यो, जीवन बीमा कुनै घटना भोलि हुनेछ वा कोही वृद्ध मान्छे मर्न लागेको छ भने उसको बीमा हुँदैन,’ उनी भन्छन्, ‘स्वास्थ्य बीमामा भोलि मृत्यु हुन्छ, ७० वर्ष बृद्ध छ , क्यान्सर लागेको छ, किड्नीमा समस्या छ वा जस्तोसुकै रोग देखिएको छ भनेपनि हामी आजै खोजेर बिमा गर्छौं, त्यसैले अरु बीमा र यो कार्यक्रम फरक हो ।’ २०७२ साल चैत २५ गते कैलालीबाट सुरु भएको वास्थ्य बीमा कार्यक्रम देशका ७ सय ५१ पालिकामा लागू छ । काठमाडौँ महानगरपालिका र बुढानिलकण्ठ नगरपालिका बीमामा आवद्ध हुन बाँकी छन् । जनसंख्याका हिसाबले यो कार्यक्रममा २५ प्रतिशतको आवद्धता छ भने ६९ प्रतिशतले बीमा नवीकरण गरेका छन् ।
गरिमा क्यापिटलको आठौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । गरिमा क्यापिटलको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरी आ.व. २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ । क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डेयको अध्यक्षतामा सम्पन्न आठौं वार्षिक साधारण सभामा आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन उपर सहभागी सेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष पाण्डेय एवं प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले स्पष्ट पारेका थिए । गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरोसेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएकोमा निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरु क्रमश: दर्ता तथा सञ्चालन गर्दै अगाडी बढ्ने जानकारी समेत गराएको छ । क्यापिटलका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पुर्याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको छ । यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
मेलम्चीको पानी चार दिनपछि काठमाडौं आउने
काठमाडौं । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनःकाठमाडौंमा पथान्तरण गरिएको छ । पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने सहमति भएअनुसार बुधबार साँझदेखि काठमाडौंका लागि पानी पथान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए । उनले भने, ‘निर्माण व्यवसायीको माग सम्बोधन गरेर मेलम्चीको पानी काठमाडौं पथान्तरण गरिएको छ, २७ किलोमिटर लामो सुरुङमा आधाजति पानी रहेकाले अबको चार दिनमा मेलम्ची खोलाको पानी काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पुग्नेछ । करिब २८ दिनको कार्ययोजनासहित पानी पथान्तरणको काम सुरु गरिएको भए पनि २१ दिनमा हेलम्बुदेखि सुन्दरीजल पानी पथान्तरण गरिएको उनले बताए । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आगामी माघ १ गतेदेखि काठमाडौं उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको जनाइएको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिए । आयोजनाले अम्बाथानको २१ नम्बर गेट, पानी पथान्तरण गर्ने ९ नम्बर गेट र १ नम्बर गेटको मर्मत गरेर बुधबार साँझदेखि काठमाडौंका लागि पानी पठाइएको सिनियर डिभिजनल इञ्जिनियर कुँवरले बताए । उनका अनुसार बाढीले क्षति बनाएको संरचना निर्माण गर्न निर्माण व्यवसायीले दैनिक ४५ जनाभन्दा बढी कामदार र आवश्यक मेसिन परिचालन गरेको थियो । खानेपानीमन्त्री महिन्द्रराय यादवले पुस अन्तिमसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणासमेत गरेका थिए । मेलम्चीको पानी तत्काल काठमाडौँ ल्याउन मन्त्री यादवले तीन पटक स्थलगतरुपमा अनुगमनसमेत गरे । बाढीका कारण रोकिएको पानी काठमाडौं ल्याउन मन्त्री यादवसहित खानेपानी सचिव सुरेश आचार्य र मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक अन्सारी सक्रियरुपमा लागेका मन्त्री यादवका स्वकीय सचिव टङ्क धमलाले जानकारी दिए । रासस
कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले फागुनबाट केएमसीमा स्वास्थ्य सेवा लिन पाउने
काठमाडौं । कर्मचारी सञ्चय कोषमा आबद्ध सञ्चयकर्ताहरुले काठमाडौं मेडिकल कलेज (केएमसी)मा स्वास्थ्य सेवा लिन पाउने भएका छन् । सञ्चयकर्तालाई कोषले सामाजिक सुरक्षा सुविधा अनुसार साधारण तथा घातक रोगको उपचार गर्न काठमाडौं मेडिकल कलेजलाई पनि समावेश गरेको हो । कोषले एक सूचना प्रकाशित गरी आगामी फागुन १ गतेदेखि लागू हुनेगरी विभिन्न अस्पतालहरुको छनौट गरेको छ । छनौट गरिएका अस्पतालहरुमा पछिल्लो समय स्वास्थ्य क्षेत्रमा अत्याधुनिक उपकरण र स्वास्थ्य सेवा भित्र्याएको काठमाडौं मेडिकल कलेज समेत परेको हो । केएमसीका जनरल मेनेजर नारायण दाहालले कर्मचारी सञ्चय कोषमा आबद्ध सञ्चयकर्ताहरुले केएमसीमा सहज रुपमा स्वास्थ्य सेवा लिन सक्ने बताए । कोषले जनाए अनुसारको कागजात लिएर केएमसीमा उपलब्ध जुनसुकै स्वास्थ्य सेवाको लाभ लिन सकिन्छ । कोषले २०७६ सालदेखि सञ्चयकर्तालाई अस्पताल भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष रु १ लाख तथा घातक रोगको हकमा सेवा अवधिभर रु १० लाखसम्म स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएकोमा फागुन १ गतेदेखि लागूहुने गरी उपचार गराउने अस्पतालको सूची तयार पारेको छ । कोषले हाल साविकमा सञ्चयकर्तालाई मात्र स्वास्थ्य उपचार सुविधा दिएकोमा फागुन १ गतेदेखि लागू हुनेगरी पति÷पत्नीलाई समेत समावेश गरेको छ । सूची अनुसार कोषको स्वास्थ्य उपचार योजना अन्तरगतको सेवा पाउने अस्पतालहरुमा केएमसीसँगै बागमती प्रदेशमा ६० वटा, कोशी प्रदेशमा नोबेल मेडिकल कलेज सहित १६ वटा, मधेश प्रदेशमा नेशनल मेडिकल कलेज सहित ९ वटा, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित १५ वटा, लुम्विनी प्रदेशमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित ८ वटा कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक अस्पताल सुर्खेत, सुदुरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताल सहित ३ वटा रहेका छन् ।
बागलुङका किसानले फलाए २० करोडको सुन्तला
गलकोट । बागलुङमा यस वर्ष २० करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । कूल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाका बोटबाट बागलुङमा २० करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको हो । कृषि ज्ञानकेन्द्रले हालै गरेको सर्वेक्षणअनुसार बागलुङमा यस वर्ष तीन हजार नौ सय २० मेट्रिकटन सुन्तला उत्पादन भएको जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष समग्र बागलुङभर ६५ मेट्रिकटन सुन्तला कम फलेको सर्वेक्षणले देखाएको छ । कृषि ज्ञानकेन्द्र र स्थानीय पालिकाका कृषि शाखाबाट सुन्तला उत्पादन हुने क्षेत्रमा गरिएको सर्वेक्षणले जिल्लामा अहिले २० करोड रुपैयाँ मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्रका बाली विकास अधिकृत कुमार पुनले जानकारी र्दिए । ‘गत वर्षको तुलनामा बागलुङमा सुन्तला उत्पादनमा कमी आएको तथ्याङ्क निकालेका छौँ, नमुनाकारुपमा सङ्कलन गरिएको तथ्याङ्कमा औँसा किरा र सुन्तलाको जरा कुहिने समस्याले सुन्तला उत्पादन घटेको छ, यद्यपि सुन्तला गाउँका रुपमा रहेको सिगानामा सुन्तला उत्पादन वृद्धि भएको छ, बिहुँ, सर्कुवालगायतका गाउँमा सुन्तला उत्पादनमा कमी आएको हो’, पुनले भने, ‘उत्पादनको ७५ प्रतिशत सुन्तला किसानले बिक्री गर्ने गरेका छन्, सिगानामा क्षेत्रगत औँसा किसान नियन्त्रण कार्यक्रम सञ्चालित छ, यो कार्यक्रम जिल्लाभर पु¥याउने ज्ञानकेन्द्रको लक्ष्य रहेको छ ।’ बागलुङको बिहुँ, सिगाना, सकुर्वा, बिनामारे, हरिचौर, बिरकोट, भकुण्डे र तित्याङ लगायतका स्थानमा बढी मात्रामा सुन्तला फल्ने गरेको पाइएको छ । उत्पादितमध्ये ६० प्रतिशत सुन्तला बिक्री भइसकेको छ भने अन्य सुन्तला बिक्रि हुँन बाँकी रहेको ज्ञान केन्द्रको तथ्याङ्कले जनाइएको छ । सुन्तला उत्पालनमा कमी आउनुमा व्यवस्थापकीय कमजोरी, मल नपुगेको र औशा किरा व्यवस्थापन गर्न नसकिएको अध्ययनका क्रममा पाइएको पुनले बताए । ‘खेतमा लगाइएका सुन्तलाका बोटका जरा कुहिएका छन्, अन्य स्थानमा औशा किराको प्रकोप देखिएको छ, सुन्तला किसानलाई अभिमुखीकरणको खाँचो हामीले देखेका छौं’, पुनले भने, ‘सुन्तलाको जरामा पानी जम्न दिएमा जरा कुहिन्छ, किसानले सजकता अपनाउन आवश्यक छ ।’ पछिल्लो समय कृषक सुन्तला खेतीप्रति आकर्षित हुँदै गएको उनी बताउँछन् । यहाँको वातावरण पनि अमिलो प्रजातिका फलफूलका लागि अनुकूल खालको रहेको जनाउँदै पुनले रोगसँग सजग भएमा क्रमशः सुन्तला उत्पादन बढ्ने बताए । बागलुङको सुन्तला चितवन, काठमाडौं, पोखरा, धादिङलगायत ठाउँसम्म पुग्ने गरेको सुन्तला किसान शिवकुमार खड्काले बताए । बागलुङको सिगानाका अगुवा किसानले सुन्तलाको मूल्य दोब्बर बनाउन भण्डारण गर्दै आएका छन् । खड्काका अनुसार पछिल्लो पाँच वर्षयता सिगानामा ३० हजार सुन्तलाका नयाँ बोट थपिएका छन् । पाँच वर्षपछि सिगाना गाउँबाट मात्रै पाँच करोड रुपैयाँको सुन्तला बिक्री हुने उनले बताए । ‘सिगानाको सुन्तलाको माग बढेको छ, जिल्लामा सुन्तलाको उत्पादनमा २५ प्रतिशत योगदान सिगानाको मात्रै छ’, खड्काले भने, ‘पहिला डोकोमा बोकेर सुन्तला बिक्रीका लागि बागलुङ बजार पुग्नुपर्ने थियो, अहिले सिधै पोखरा र काठमाडौंका व्यापारी सुन्तला बगानमै खरिद गर्न आउँछन्, किसानलाई निकै सहज भएको छ ।’ रासस