एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले गत वर्षको नाफाबाट ५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार रुपैयाँको ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२९ प्रतिशत नगद गरी कूल ५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव मनोज श्रेष्ठले जानकारी दिए ।
चार विषयमा इन्जिनियरिङ गरेका विद्यार्थीको बिदाइ
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङका चार वटा विषयमा स्नातक पुरा गरेका विद्यार्थीहरुलाई विदाई गरिएको छ । शनिबार कलेजले एक कार्यक्रमका विच कम्प्युटर इन्जिनियरिङ, आर्किटेक्ट, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनका विद्यार्थीहरुको विदाई गरेको हो । विदाई कार्यक्रमका प्रमुख अतिथी नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्रा.डा. पदमबहादुर शाहीले व्यवसायीक क्षेत्रमा प्रवेश गर्न तयार नवइन्जिनियरहरुलाई पेशागत मर्यादामा रहेर काम गर्न सुझाब दिए । नेपालमा दक्ष इन्जिनियरहरुको खाँचो रहेको औल्याउँदै अध्यक्ष शाहीले इथिक्समा बसेर काम गर्दा सफलता प्राप्त हुने बताए । ‘तपाईहरुले जसरी कलेजमा माया पाउनु भएको थियो, ब्यवसायिक जीवनमा त्यो वातावरण पाउन पनि सक्नुहुन्छ नसक्नु पनि हुन्छ । इन्जिनियरिङ पेशामा अपडेट भएर इथिक्समा रहेर काम गर्नु होला ।’ ब्यवसायिक जीवनमा प्रवेश गरेपछि प्रत्येक दिन परीक्षा दिइरहनु पर्ने भन्दै अध्यक्ष शाहीले इन्जिनियरिङमा अनुभव र सीप नै महत्वपूर्ण भएकोले अरुभन्दा अब्बल हुन अनुशासित, मेहनती बन्न जरुरी रहेको उल्लेख गरे । पोखरा विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डीन प्रा।डा। राजेश ठकुराठीले उच्च शिक्षा पुरा गरेका विद्यार्थीहरुले प्राप्त गर्ने सफलता नै पोखरा विश्वविद्यालय र नेपाल इन्जिनियरिङ कलेजको ब्राण्ड एम्बेष्डर रहेको उल्लेख गर्दै विश्वविद्यालय र कलेजको नाम रहने गरी काम गर्न सुझाए । ‘तपाईहरु पोखरा विश्वविद्यालयको एम्बेष्डर हो, तपाईहरु नेपाल इन्जिनियरिङ कलेजको एम्बेष्डर हो । तपाईहरुले जे गति गतिविधि गर्नुहुन्छ त्यसमा विश्वविद्यालय र कलेजको भविष्य गाँसिएको हुन्छ । तपाईहरुले कलेजको, विश्वविद्यालयको र अभिभावकको नाम उँचो राखेर काम गर्नुहोला ।’ ब्यवसायिक क्षेत्रमा लागेपछि समय ब्यवस्थापन र मर्यादा कायम गर्नु अपरिहार्य रहेको भन्दै उनले भने । कलेजका कार्यवाहक प्राचार्य दुर्गा प्रसाद भण्डारीले कलेजमा ४–५ वर्ष अध्ययन गरेर हासिल गरेको ज्ञान र सीपलाई ब्यवसायिक जीवनमा प्रयोग गर्न सुझाउँदै विद्यार्थीले हासिल गर्ने सफलता नै कलेज र फ्याकल्टीहरुको सफलता रहेको बताए । ब्यवसायिक क्षेत्रमा सफलता पाउन समय र अनुशासन महत्वपूर्ण पाटो रहेको औल्याउँदै कार्यवाहक प्राचार्य भण्डारीले व्यवसायिक मर्यादा कायम गरी काम गर्न सुझाब दिए । ‘करियर सुरु गर्न निकै गाह्रो छ तर, हामीले तपाईहरुले राम्रो करियर बनाउनु हुन्छ भन्नेमा हामी विस्वस्त छौं ।’ कलेजको पढाई पुरा गरेर गएपनि कलेजसँग सदैव जोडिन आग्रह गर्दै उनले भने । कलेजका आर्किटेक्ट डिपार्टमेन्टका प्रमुख अनिल कुमार रेग्मीले ब्यवसायिक जीवनमा एकैपटक सफलता प्राप्त गर्न नसकिने भन्दै अफ्ट्रयाक आएपनि आफुले पढाएका शिक्षक फ्याकल्टीहरुलाई सम्झेर अगाडी बढ्न सल्लाह दिए । ‘काम गर्ने सिलसिलामा ब्यवसायिक मर्यादा कहिल्लै नविर्सनु, आफुभित्र रहेको क्षमता र दक्षतालाई समातेर अगाडी बढ्नु ।’ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ डिपार्टमेन्टका प्रमुख यमकृष्ण पौडेलले चार वर्षको दौरानमा हासिल गरेका ज्ञान, सीपलाई व्यवसायिक क्षेत्रमा प्रयोग गर्दै कलेजको नाम उच्च राख्न सल्लाह दिए । साथै, उनले विद्यार्थीहरुलाई कलेजको अल्मुनाईमा जोडिन पनि आग्रह गरे । यस्तै, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन डिपार्टमेन्टका प्रमुख अमित साहले विश्वका सबै मानिसले आफ्नो सफलता नै चाहिरहने भएपनि शिक्षकहरुले मात्र विद्यार्थीले हासिल गरेको सफलतालाई आफ्नो सफलता ठान्ने गरेको बताए । पढाएका विद्यार्थीले जीवनमा प्राप्त गरेका सफलता देखेर नै शिक्षकहरु आफु सफल भएको ठान्ने बताउँदै उनले विद्यार्थीलाई व्यवसायिक सफलताको शुभकामना दिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलेजका कम्प्युटर साइन्स डिपार्टमेन्टमा असिस्टेन्ट प्रोफेसर जितबहादुर बोहराले कलेजबाट ग्राजुएट भएका विद्यार्थीहरुको सफलतामा कलेजले गर्व गर्ने बताए । विदाई कार्यक्रममा विद्यार्थीहरुले अध्ययनका क्रममा विताएका पलहरुको सम्झना गर्दै नेपाल इन्जिनियरिङ कलेजका फुलटाइम शिक्षक, मित्रवत व्यवहार गर्ने कर्मचारी, कलेजको ल्याब, पुस्तकालय, रिसर्चका माध्यमहरुका कारण आफुहरु इन्जिनियर बन्न सफल भएको बताए । उनीहरुले कलेजमा हासिल गरेको ज्ञान, सीपलाई व्यवहारमै उतार्ने प्रतिबद्धता जनाउँदै स्वदेशमै रहेर देशको सेवा गर्ने भने । विद्यार्थीहरुलाई विषयगत अवार्ड सो अवसरमा ग्राजुएट विद्यार्थीहरु निलिमा थापा, लक्ष्मी चालिसे, दशुनाथ कंडेल, अनिलकुमार यादवलाई प्रोगाम टपर अवार्ड दिइएको थियो भने, विषयगत अवार्ड जयप्रकाश महतो, सुरज कार्कीले प्राप्त गरे । आर्किटेक्चरका आकांक्षा सिंह, गीतिका श्रेष्ठ, हिमाल रोकाया, छविलाल गुप्ताले बेसिक डिजाइन अवार्ड पाउँदा निलिमा थापाले बेसिक डिजाइन सँगै विल्डिङ कन्ट्रक्सन अवार्ड प्राप्त गरिन् । सुरज कार्कीले इलेक्ट्रिकल र कम्प्युटर साइन्स अवार्ड प्राप्त गरे । अनिल कुमार यादवले कम्युनिकेशन अवार्ड पनि पाउँदा सरोज महर्जनले पावर इलेक्ट्रिकल अवार्ड हासिल गरे । कार्यक्रममा आर्किटेक्चरका हिमाल रोकाया र छविलाल गुप्तालाई डब्लूएएमडिइओ अवार्ड पनि दिइएको छ ।
समृद्धि फाइनान्सको सञ्चालकमा बर्तौला नियुक्त
काठमाडौं । । समृद्धि फाइनान्स कम्पनीले २२औँ साधारणसभा सम्पन्न गरेको छ । मकवानपुरको हेटौँडामा सम्पन्न साधारणसभाले रिक्त रहेको सञ्चालक पदमा रामकुमार बर्तौलालाई नियुक्त गरेको छ । उनी पद्मोदय प्रालिको प्रतिनिधित्व गर्दै संस्थापक समूहबाट निर्वाचित भएका हुन् । सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अघिल्लो आ.व.को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै वासलात, नाफा नोक्सान र नगद प्रवाह विवरण माथि छलफल गर्नुका साथै आ.व.२०८०/८१ लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने लगायतका एजेन्डाहरूमा छलफलसहित पारित गरेको छ । साधारण सभामा अध्यक्षले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमाथि सहभागी भएका सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरूलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए ।
महालक्ष्मी विकास बैंकका सीईओ देवकोटाले दिए राजीनामा
काठमाडौं । महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बोधराज देवकोटालो राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पुरा नगरी उनी बैंकको सीईओबाट बाहिरिएका हुन् । वि.सं.२०७७ चैत २ गते बैंकको सीईओमा नियुक्त भएका उनले १४ महिना अगाडि नै राजीनामा दिएका हुन् । व्यक्तिगत कारणले बैंकको सीईओ पदबाट राजीनामा दिएको देवकोटाले विकासन्युजसँग बताए । साढे दुई दशक बढी बैंकिङ क्षेत्रको अनुभव भएका देवकोटा महालक्ष्मीमा प्रवेश गर्नुअघि सिटिजन्स बैंकको नायव प्रमुख अधिकृतका रुपमा कार्यरत थिए । उनले सिटिजन्स बैंकमा १४ वर्ष र नेपाल बैंकमा १० वर्ष काम गरेका थिए । साथै, सिटिजन्स बैंकमा हुँदा उनी सिटिजन्स क्यापिटलको अध्यक्ष समेत भएका थिए ।
मुक्तिनाथ विकास बैंकको १० प्रतिशत लाभांश पारित
काठमाडौं । मुक्तिनाथ विकास बैंकको १०.२६ प्रतिशत लाभांश पारित भएको छ । बैंकको सत्रौं वार्षिक साधारण सभाले १०.२६ प्रतिशत लाभांश पारित गरेको हो । उक्त लाभांश मध्ये ९.७५ प्रतिशत बोनस सेयर र बाँकी ०.५१ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश रहेको छ । यसै सभा बाट आ.व. २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन उपर विभिन्न सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए । सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पारेका थिए । सोही समारोहमा बैंकका पूर्व अध्यक्ष मीन प्रसाद गुरुङ्गले शुभकामना मन्तव्य राखेका थिए । वार्षिक साधारण सभाले बैंकको नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, नारायण कुमार श्रेष्ठ, भरत प्रसाद लम्साल , विनोद कुमार शर्मा र सरोजा श्रेष्ठ (कोइराला) सर्वसम्मत चयन भएको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिए ।
ईपीएससँगै ई-७ भिसामा पनि कोरिया जान पाइने, परिवार समेत लैजान मिल्ने सुविधा
काठमाडौं । कोरिया लामो समयदेखि नेपालीहरूको आकर्षक गन्तव्य बन्दै आएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) प्रणालीमार्फत् हजारौं नेपाली वर्षेनि कोरिया जाने गरेकोमा अब ई-७ भिसा (सिपयुक्त दक्ष श्रमिकले पाउने प्रवेशाज्ञा) मार्फत् पनि थप नेपाली कामदार कोरिया जान सक्नेछन् । कोरियाले ईपीएस प्रणालीमार्फत् कामदार लैजाने देशमार्फत् ई-७ भिसामा पनि कामदार लैजाने प्रस्ताव गरेकोमा नेपालले भने अहिलेसम्म उक्त विषयमा कुनै निर्णय दिएको छैन । तर, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने त्यसलाई कार्यान्वयन गर्ने गरी अगाडि बढाउन चाहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीका अनुसार कोरियाले गत आर्थिक वर्षमा नै ई-७ भिसामार्फत् कामदार लैजाने विषयमा नेपालसँग प्रस्ताव गरेको थियो । तर, स्वीकृति नभएका कारण झण्डै ४ हजार नेपालीले पाउन सक्ने रोजगारी गुमेको छ । कोरियाले १६ वटा देशमार्फत् ईपीएस भिसा प्रणालीमार्फत् अदक्ष कामदार लैजाने गरेकोमा तिनै देशबाट ई-७ भिसामा कामदार लैजाने प्रक्रिया अगाडि बढाएको छ । जसमध्ये केही देशहरूले गतवर्षदेखि नै कोरियामा कामदार पठाइरहेका छन् । के हो ई-७ भिसा ? ई-७ भिसा कोरियामा निश्चित क्षेत्रमा काम गर्न जाने अन्य देशका नागरिकका लागि लागू गरिएको एक प्रकारको भिसा हो । याे भिसा दक्ष व्यावसायिक कामदार आपूर्तिका लागि लक्षित गरेर ल्याइएको हो । यो भिसाको लागि म्यानपावरहरूले कोरियाका कम्पनीहरूबाट दक्ष कामदारहरुको माग ल्याउन सक्छन् । तर, ईपीएस प्रणालीमा जस्तो यो भिसा प्रणालीमा निश्चित सेवा खर्च भने तोकिएको हुँदैन । त्यसैले ई-७ भिसा ईपीएस प्रणालीजस्तो सुरक्षित नभएको केही व्यक्तिहरूले तर्क गर्ने गरेका छन् । ई-७ भिसा दक्ष कामदार लक्षित भएकाले सो भिसामार्फत कोरिया जानेले ईपीएस प्रणालीमार्फत् जानेको तुलनामा बढी ज्याला र सुविधा प्राप्त गर्न सक्ने बताएकाे छ । सो भिसामा कोरिया काममा जानेले अहिले २ हजार ५ सय देखि ४ हजार डलरसम्म मासिकरूपमा ज्याला बुझ्ने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । साथै सो भिसामा कोरिया जानेले आफ्नो श्रीमान वा श्रीमती र छोराछोरीलाई समेत एफ थ्री भिसामा लगेर कामको सिलसिलामा लामो समयसम्म कोरियामा बस्न सक्नेछन् । ईपीएस प्रणाली नै बन्द गराउन सक्ने ई–७ भिसा प्रणालीमार्फत् कोरियामा कामदार पठाउन थालिए ईपीएस प्रणालीमार्फत् नेपाली कामदारलाई कोरियाले प्रदान गर्ने गरेको ई-९ भिसा बन्द हुनसक्ने राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डीपी अर्यालले बताएका छन् । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पुस २४ गते लिखित पत्र पेस गर्दै उनले यस्ताे चिन्ता व्यक्त गरेका हुन् । ‘ई–७ लाई हचुवाको भरमा प्रमाणिकरण गर्न थालिए ईपिएस मार्फत हुने ई ९ भिसा बन्द हुन सक्छ, ई–९ लाई विस्थापन गरेर ई–७ लागू गर्न विदेशी कम्पनी र नेपालका दलालहरुले चलखेलको तयारी गरेको बुझिन आएको छ,’ अर्यालले समितिलाई लेखेको पत्रमा उल्लेख छ । उपसभापति अर्यालले संसदको समितिमा पत्र दर्ता गराइसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि लिखितरूपमा कोरियाको ई ७ भिसालाई पनि ईपीएस प्रणालीभित्र ल्याउने प्रकृया अगाडि बढाउन भनेर मन्त्रालयलाई निर्देशन दिएका छन् । ‘दक्षिण कोरियाली मुलुकमा हाल ईपीएस प्रणालीबाट मात्र नेपाली श्रमिक पठाउने व्यवस्था भएकोमा ई–७ प्रणालीलाई समेत सोही प्रणालीमा आबद्ध गराउन कोरिया सरकारसँग भएका श्रम सम्झौता नवीकरणको कार्य प्रारम्भ गर्नुहोला’, प्रधानमन्त्रीले मन्त्रालयलाई दिएको लिखित निर्देशनमा उल्लेख गरेका छन् । त्यसपश्चात संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रममन्त्रालयमाथि उठेका विषयहरुमा बिहीबार छलफल पनि गराएको छ । सो छलफलमा मन्त्री र सचिव दुवैले आफ्ना तर्फबाट भएका भूमिकाको बचाउ गर्दै धारणा समेत सार्वजनिक गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले भने ई ७ भिसामार्फत पनि कोरियामा कामदार जान सकेमा ईपिएसमा अहिलेको तहमा भार नपर्ने बैठकमा आफ्नो धारणा राख्ने क्रममा बताएका थिए । ईपीएस प्रणालीमार्फत कोरिया जान खोज्ने कामदारहरुको संख्या ठूलो भएकाले कोरियाले ईपीएसको सफ्टवेयर नै फेर्नुपरेको उनकाे भनाइ थियाे । ‘कोरियाले ईपीएस को सफ्टवेयर नै परिवर्तन गर्नुपर्यो, उसले ईपीएसमा एक लाख बढी कामदार सहभागी हुन्छन् भन्ने सोचेकै थिएन’, उनले भने, ‘ई ७ मार्फत पनि कामदार गएमा ईपीएसमा भार कम पर्छ ।’ ‘हामी कामदार पठाउन तयार छौं’ वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले ई-७ भिसामार्फत कोरियामा कामदार अन्य देशहरूले पनि पठाएकाले नेपालले पनि सो विषयमा निर्णय गर्नुपर्ने बताएका छन् । उनले ई-७ भिसामार्फत् कोरियामा कामदार पठाउँदा त्यसले ईपीएस प्रणालीमा समस्या नपार्ने समेत बताए । साथै मेनपावर व्यवसायीहरूले सरकारले लिएबराबरको सेवा शुल्क लिएर नै आफूहरू कामदार पठाउन तयार रहेको उनको भनाइ छ । ‘ई-७ भिसामार्फत् अन्य देशहरुले पनि कोरियामा कामदार पठाइरहेका छन्, नेपालले पनि सो विषयमा निर्णय गर्नुपर्छ भनेर हामीले सरकारलाई भनेका छौं, हामी पनि सरकारले लिए बरारबरको सेवा शुल्क लिएर नै कामदार पठाउन तयार र्छौं,’ भण्डारीले भने ।
गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको २२औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको २२औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । गुहेश्वरी भवन, पुल्चोक ललितपुरमा सम्पन्न साधारण सभामा फाइनान्स संचालक समितिका अध्यक्ष युवराज भण्डारीले आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन पेश गरेका थिए । अध्यक्षद्वारा पेश गरिएको प्रतिबेदनलाई छलफल गरि पारित गरिएको थियो । हाल फाइनान्सको मिति २०८० पौष २७ गते सम्ममा कुल निक्षेप ८ अर्व १८ करोड र कुल कर्जा लगानी ६ अर्ब रहेको बताइएको छ । राष्ट्रियस्तरको यस फाइनान्सले हाल देशभर २३ वटा शाखा कार्यालयहरु र ४ वटा विस्तारित काउन्टरबाट ग्राहकहरु माझ आफ्नो वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ । कारोबार विस्तारको लागि निकट भविष्यमा विभिन्न संभावित स्थानमा थप शाखा विस्तार गर्ने योजना रहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताएका छन् ।
फरवार्ड माइक्रोफाइनान्सको ११औं वार्षिक साधारण सभा सम्पन्न
सुनसरी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको मुख्य कार्यालय सुनसरीको दुहवीमा आयोजित वार्षिक साधारण सभाको प्रमुख अतिथी सांसद भगबती चौधरी रहेकी थिइन् । साधारण सभा उद्घाटन गर्दै प्रमुख अतिथि चौधरीले वर्तमान विश्व नै आर्थिक मन्दीको चपेटामा परेको बेलामा पनि नेपालका लघुवित्त संस्थाहरुले ५९ लाख विपन्न सदस्यहरुलाई वित्तीय सेवा पुर्याएर मुलुकको आर्थिक सुधारमा टेवा दिएको बताइन् । गाउँघरमा छरिएर रहेका स–साना पुँजीहरुलाई एकीकृत गरि लघुवित्त संस्थाहरुले ऋण प्रवाह गरिरहेकाले कसैले चाहँदैमा ऋण मिनाहा हुन नसक्ने पनि बताइन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएकाहरुलाई विभिन्न अफवाहहरु फैलाउँदै ऋण नतिर्न उक्साउनेहरुले नियम कानुन विपरित समाजमा अराजकता फैलाइरहेको भन्दै पूर्वमन्त्री समेत रहेकी सांसद चौधरीले लघुवित्त संस्थाहरुले पनि बचतकर्ता र ठूला बैंकहरुबाट कर्जा लिएरै ऋण प्रवाह गरेकाले कसैले ऋण तिर्नु पर्दैन भन्दैमा त्यस्तो भ्रममा पर्न नहुने जिकीर गरिन् । ‘ऋण लिएपछि त्यसको सहि सदुपयोग गर्नुपर्छ । एउटा विषयमा ऋण लिने खर्च अन्यत्र गर्दा समस्या हुन्छ । र, ऋण लिएपछि कसैले भन्दैमा तिर्दिन भन्न पाइन्न । यस्तो गर्दा मुलुककै अर्थतन्त्र ध्वस्त हुन्छ ।’ चौधरीले भनिन् । विशिष्ट अतिथि गढी गाउँपालिकाका अध्यक्ष तथा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका पूर्व प्रमुख कार्यकारी प्रमुख आशनारायण चौधरीले यस लघुुवित्त संस्थाले विपन्न ग्राहक सदस्यहरुको जीवनस्तर उकास्ने र युवाहरुलाई रोजगारी दिइरहेकोमा सन्तोष व्यक्त गर्दै वर्तमान समयमा नेपालकै लघुवित्त क्षेत्रमा देखिएका विषम अवस्थालाई चिर्न सबै पक्षले आ–आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताए । प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशीले लघुवित्तको क्षेत्रमा देखिएको वित्तीय जटिलताहरु विस्तारै सामान्यतर्फ उन्मुख रहेको बताउँदै नेपाल सरकार, नेपाल राष्ट्र बैंक, तथा ग्राहक सदस्यहरुको संयुक्त प्रयासबाट लघुवित्त संस्थालाई नकारात्मक प्रभाव पार्न खोज्ने तत्व निस्तेज हुँदै गएको बताए । सो क्रममा उनले साधारण सभामा प्रस्तुत सुझावहरुलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । सभामा सञ्चालक सदस्यद्वय बलराम चौधरी, प्रा।डा।श्यामकुमार महतो र संस्थापक शेयरधनी पुरुषोत्तम चौधरीले मन्तव्य राखेका थिए । साधारण सभाले वित्तीय संस्थाका अध्यक्ष केशवराज पौडेलले सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रतिवेदन पारित गरेको छ । भने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७९र८० को नाफारनोक्सान हिसाब तथा नगदप्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू, लेखापरीक्षण समितिले सिफारिस गरेबमोजिम वित्तीय संस्थाको आर्थिक वर्ष २०८०र८१ को कारोबारको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने विषयलाई समेत पारित गरेको थियो । सभामा वित्तीय संस्थाले २०८० मंसिर मसान्तसम्म ४० जिल्ला अन्तर्गत ३८२ गाउँपालिकारनगरपालिकाका २ लाख ८५ हजार २१९ ग्राहक सदस्यहरुलाई १९ अर्ब ९८ करोड ६९ लाख २० हजार कर्जा प्रवाह गरेको जानकारी दिइएको थियो । सभामा ग्रामीण महिला उत्सुकता मञ्चका महासचिव कलावती थरुनी, एभरेष्ट बैंक लि।का प्रदेश प्रमुख जनक हुमागाईँ, राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका शाखा प्रबन्धक रेणुका राजवंशी लगायत सर्वसाधारण सेयर धनीहरुको उपस्थिति रहेको थियो ।