काठमाडौं । लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्थाको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा पुस २९ गते आइतबार सम्पन्न भएको हो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद श्रेष्ठले वर्तमान अवस्थामा लघुवित्तमा देखिएका समस्या र चुनौतिहरुको समिक्षा गर्दै आगामी दिनमा थप सबल बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत भएको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ । कम्पनीको २०८० आषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजी ४४ करोड १६ लाख रुपैयाँ छ ।
आर्थिक मन्दी तथा लघुवित्त संस्थाविरुद्ध सञ्चालित कारोबारलाई प्रभाव पार्ने विभिन्न गतिविधिहरुको कारण आर्थिक वर्ष २०७९/८० मा संस्थाको वित्तीय अवस्थामा प्रतिकुल प्रभाव पर्न गै नोक्सान व्यहोर्नु परेको कारण कायम नाफालाई सञ्चित गरी लाभांश वितरण नगर्ने गरी वित्तीय विवरण पारित गरेको छ ।
सभाबाट अन्य ईजाजतपत्र प्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेका व्यक्तिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्तावलाई समेत निरन्तरता प्रदान गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट २०६८ फागुन २३ गते वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त यस संस्थाले २०६९ जेठ २२ गते नुवाकोटको बट्टारबाट लघुवित्त कारोबार शुरु गरेको थियो । हाल आएर देशभर ५६ जिल्लाहरुमा ९० वटा शाखा कार्यालयहरु मार्फत १ लाख ८ हजार भन्दा बढी ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पुर्याएको छ । विभिन्न प्रदेशमा ५ वटा प्रादेशिक कार्यालयहरु समेत स्थापना गरिएको छ । त्यसैगरी संस्थाले २०८० मंसिर मसान्तसम्म ७ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने आफ्ना ग्राहक सदस्यहरुबाट २ अर्ब १९ करोड रुपैयाँ बचत संकलन गरेको छ ।