रोसी खोलाको बाढीमा फसेका ८९ यात्रुको सकुशल उद्धार

काठमाडौं । रोसी खोलामा आएको बाढीका कारण फसेका ८९ जना यात्रुको सकुशल उद्धार गरिएको छ । 

सोमबार राति एक्कासी आएको बाढीका कारण काभ्रेपलाञ्चोक क्षेत्रमा बीच खोलामै माइक्रोबस अड्किँदा यात्रुहरू फसेका थिए । ती यात्रु तथा सवारी साधनलाई नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार डोरी र र्याफ्टिङ बोटको प्रयोग गरी सबै यात्रुलाई सुरक्षित रूपमा उद्धार गरी गन्तव्यतर्फ पठाइएको छ । यसैबीच, अविरल वर्षासँगै आएको बाढीले बीपी राजमार्गका विभिन्न खण्ड क्षतिग्रस्त बनाउँदा सवारी आवागमन प्रभावित भएको छ ।

यता, काभ्रेपलाञ्चोककै श्रीखण्डपुर क्षेत्रमा फसेको एक स्कुल बसबाट ३५ जना विद्यार्थीलाई पनि सशस्त्र प्रहरी बलको टोलीले सुरक्षित रूपमा उद्धार गरेको प्रहरीले जनाएको छ ।

Share News