
काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरले ६ महिनामा करिब ४ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा ३ अर्ब ८३ करोड रुपैयाँको कारोबार गरेको हो ।
आन्तरिक यात्रु संख्या बढेकाले ६ महिनामा कारोबार वृद्धि भएको कम्पनीले बताएकाे छ । कम्पनीले सन् २०२३ मा १२ अर्ब १६ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२२ मा १० अर्ब ९ करोड ८० लाख रुपैयाँ, सन् २०२१ मा ३ अर्ब ३३ करोड ६० लाख रुपैयाँ र सन् २०२० मा ४ अर्ब ९४ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।
२६ वर्षअघि सुरेन्द्रबहादुर बस्नेत (हाल स्वर्गीय) ले स्थापना गरेको बुद्ध एयर हाल उनका छोरा वीरेन्द्रबहादुर बस्नेतले हाँकिरहेका छन् । कम्पनी सुरु हुँदाको पाँच वर्ष घाटा भए पनि त्यसपछि भने बुद्धले निरन्तर नाफा गरिरहेको छ । तर, एक्कासि कोरोना महामारी आइलाग्दाको आठ महिना शून्य आम्दानीमा बुद्ध चलेको थियो ।
बुद्धले भद्रपुर, विराटनगर, तुम्लिङटार, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगन्ज, सुर्खेत र धनगढी तथा पर्वतीय उडान गर्दै आएको छ । त्यसबाहेक बुद्धले काठमाडौंबाट भारतको बनारसका लागि हप्तामा दुई उडान गर्दै आएको छ ।
कम्पनीले सन् २०२४ को ६ महिनाको अवधिमा १८ प्रतिशत नाफा कमाएको छ । कोभिडपछि विदेशी पर्यटनको आगमन बढ्दा व्यापारमा उछाल आएको जनाएको छ । जसमा कोभिड अघिको तुलनामा कोभिडपछि २५ प्रतिशतले पर्यटक बढेको छ ।
कम्पनीले अहिले नेपाली हवाई बजारको ६७ प्रतिशत हिस्सा ओगटेको छ । सन् २०२२ मा ५६ प्रतिशत बजार ओगटेको थियो ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । कम्पनीले १ अर्ब ६० करोड २३ लाख रुपैयाँ र २ करोड ५५ लाख अमेरिकी डलरको रेटिङ गराएको छ ।