अमेरिकी, चिनियाँ र भारतीय पर्यटक बढ्दै, पूर्वाधारको अभाव
काठमाडौं । सन् २०२४ को पहिलो दुई महिना मुलुकको पर्यटन उद्योगका लागि सुखद संकेत लिएर आएका छन् । दुई महिनामा पौने २ लाख पर्यटक आउनु एक हिसाबले सुखद संकेत नै मान्नुपर्छ । विश्वव्यापी कोरोना महामारीपछि पर्यटक आगमन ह्वात्तै ओरालो लागेर पर्यटन उद्योग लगभग धराशायी हुने अवस्थाबाट बल्ल त्राण मिलेका बेला पछिल्लो दुई महिनाको पर्यटक आगमनले उत्साह थप्नु स्वाभाविक हो । कुल पर्यटक आगमनमा प्रमुख पर्यटन बजार छिमेकी भारत, उत्तरी छिमेकी चीन र अमेरिकाबाट नेपाल घुम्न आउने पर्यटक संख्या आशातित हिसाबमा बढेको तथ्यांक नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको छ । तर, मुलुकको पर्यटन उद्योगले भारत, चीन र अमेरिकाबाट जति पर्यटक आश गरेको छ, के त्यति पाउन पर्याप्त पूर्वाधार छ त ? यसमा सम्बद्ध निकाय र निजी क्षेत्रका पर्यटन व्यवसायी के भन्छन् ? के उनीहरूले सोचे झैं वा भने झैं पर्यटन पूर्वाधार छन् ? अहिले भारत, चीन र अमेरिकाबाट पर्यटक किन बढे होलान् ? र, अझै तिनको संख्या बढाउन के गर्नुपर्ला ? सन् २०२४ को जनवरी र फेब्रुअरीमा हवाई मार्ग हुँदै आएका १ लाख ७६ हजार ५ सय २६ पर्यटकले नेपाल घुमे । जनवरीमा ७९ हजार १ सय र फेब्रुअरीमा ९७ हजार ४ सय २६ पर्यटकले नेपालको आतिथ्यको स्वाद लिए । राष्ट्रिय पर्यटन संस्था नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार २०२३ जनवरी र फेब्रुअरीमा भने १ लाख २८ हजार ३ सय २९ पर्यटक नेपाल घुम्न आएका थिए । त्यस वर्ष जनवरीमा ५५ हजार ७४ र फेब्रुअरीमा ७३ हजार २ सय ५५ विदेशी पाहुना आएका थिए । यो संख्या २०२४ जनवरी र फेब्रुअरीको दाँजोमा ४८ हजार १ सय ९७ ले बढी हो । तथ्यांक केलाउँदा यो वर्ष दुई महिनामा सबैभन्दा बढी पर्यटक भारत, चीन र अमेरिकाबाट आएका छन् । दुई महिनामा ४९ हजार ७ सय ७ भारतीय पर्यटकले नेपाल भ्रमण गरे । त्यस्तै १६ हजार ४ सय ४७ चिनियाँ र १६ हजार १ सय ३६ अमेरिकी पर्यटक नेपालको पाहुना बने । २०२३ को दुई महिनामा भारतबाट ३४ हजार ८ सय ३७, चीनबाट ३ हजार ७ सय २ र अमेरिकाबाट आएका १४ हजार ४ सय ४८ पर्यटकले नेपाल घुमेका थिए । अघिल्लो वर्षको तुलनामा यो वर्षको दुई महिनामा भारतीय र चिनियाँ पर्यटक संख्यामा उल्लेख्य वृद्धि भएको छ । सन् २०१९ देखि लगातार संकटमा रहेको पर्यटन क्षेत्रमा २०२३ देखि क्रमिक सुधार हुँदै आएको छ । स्थलमार्गबाट आउने पर्यटक संख्या भने समावेश गरिएको छैन । संख्याका हिसाबमा नेपाल घुम्न आउने विदेशी पर्यटकमा भारत पहिलो स्थानमा छ । करिब ५० हजार हाराहारी नेपाल आएका भारतीय अधिकांश धार्मिक पर्यटक हुन् । उनीहरू पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथ, पोखरालगायत धार्मिकस्थल दर्शन गर्न आउँछन् । यसबाहेक नेपालका पहाडी र हिमाली क्षेत्र घुम्ने भारतीयको संख्या पनि उल्लेख्य छ । कोरोनापछि नेपालमा चिनियाँ पर्यटक आगमन पनि वृद्धि हुँदै गएको छ । यो दुई महिनामा केही संख्यामा उनीहरूको आगमन वृद्धि भए पनि अपेक्षित भने हुन सकेको छैन । चिनियाँ पर्यक नेपालमा ४/५ देखि ९/१० दिनसम्म बिताउने गरी आउने गरको पर्यटन व्यवसायी बताउँछन् । उनीहरू ट्रेकिङ, ¥याफ्टिङ, जंगल सफारी, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, साइक्लिङ, क्यानोइङ, कायाकिङ आदि गर्ने भएकाले चिनियाँ पर्यटकबाट टुर अपरेटरहरूलाई आर्थिक रूपमा भारतीय र अन्य देशका पर्यटकबाट भन्दा धेरै फाइदा हुने गरेको देखिन्छ । सरकारले आगामी १० वर्षमा ३५ लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य राखेर सन् २०२३–२०३३ लाई ‘भ्रमण दशक’ घोषणा गरिसकेको छ । पर्यटन बोर्ड के भन्छ ? पर्यटन बोर्डका निर्देशक मणि लामिछाने भारतको अर्थतन्त्र बढेका कारण भारतीय पर्यटक संख्या वृद्धि भएको बताउँछन् । ‘भारतले जापान र जर्मनीलाई पनि उछिनेको छ । जीडीपी (कुल गार्हस्थ उत्पादन) ग्रोथको हिसाबमा,’ उनी भन्छन्, ‘यसले गर्दा पनि भारतीयहरू धमाधम घुम्न निस्किरहेका देखिन्छन् ।’ नेपालमा भारतीय पर्यटक संख्या बढ्नुको अर्को कारण माल्दिभ्सँग भारतको तिक्तता हुनु पनि रहेको निर्देशक लामिछाने बताउँछन् । ‘माल्दिभ्ससँग अनबन भएपछि भारतका परराष्ट्रमन्त्री जयशंकरले पनि घुम्नका लागि समुद्र मात्रै भनिरहनु पर्दैन, हाम्रा वरिपरि हिमाल, पहाड पनि छन् त्यतातिर पनि घुम्न जान सक्छौं भनेर नेपालतिर इंगित गरेका थिए,’ लामिछाने भन्छन्, ‘उनको त्यो भनाइको छाप पनि भारतीयहरूमा परेको छ ।’ पछिल्लो समय माल्दिभ्समा भारतीय पर्यटक संख्या निकै घटेको छ । यसको कारण माल्दिभ्सका तीन उपमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप भ्रमणको तस्बिरलाई लिएर अपमानजनक टिप्पणी गरेपछि दुई देशबीच कूटनीतिक विवाद उत्पन्न भएको थियो । भारतीय प्रधानमन्त्री मोदीले भारतीय टापु समूहलाई समुद्र तट पर्यटन र आन्तरिक पर्यटन प्रवर्द्धनका लागि गन्तव्यका रूपमा विकास गर्न आह्वान गरेका थिए । निर्देशक लामिछाने यो आर्थिक वर्ष सरकारका तर्फबाट कुनै प्रचारप्रसार नभएको बताउँछन् । ‘सरकारका तर्फबाट अहिलेको समय प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका कुनै काम भएका छैनन्,’ उनी भन्छन्, ‘तर, निजी क्षेत्रले भने खुबै प्रचारप्रसार गरिरहेका छन्, त्यसले पनि उल्लेख्य पर्यटक भित्र्याउन सहयोग पुगिराखेको छ ।’ चिनियाँ पर्यटक संख्या पनि गत वर्षको तुलनामा यो वर्ष बढेको छ । चिनियाँ पर्यटक जुन हिसाबले बढ्नुपर्ने हो त्यो हिसाबले भने नबढेको लामिछाने स्वीकार्छन् । ‘चीनमा कोरोनायता कुनै पनि प्रवर्द्धनको काम गर्न सकिएको छैन,’ उनले भने, ‘अन्तर्राष्ट्रिय प्रवर्द्धनमा लगानी गर्न नसक्दा अपेक्षा गरिएअनुसार संख्या बढ्न सकेन ।’ चिनियाँ पर्यटक किन बढेनन् भन्ने सन्दर्भमा अर्को कारण चीनको अर्थतन्त्रको स्थिति खराब हुनु पनि एक रहेको लामिछाने बताउँछन् । ‘चीनको अर्थतन्त्र जुन हिसाबमा बढ्नुपर्ने हो, त्यसरी बढेको छैन,’ उनी भन्छन्, ‘त्यहाँको अर्थतन्त्र नबढ्दा पनि चिनियाँ पर्यटक घटेका हुन् ।’ लामिछानेका अनुसार अहिले चीनमा धेरैजसो उडान नियमितभन्दा पनि ‘चार्टर बेस’ मा भएका छन् । यस्तो उडान महँगो हुने उनी बताउँछन् । अर्कातर्फ, नेपालबाट उडान गरिरहेका चिनियाँ एयरलाइन्सले चीन हुँदै तेस्रो मुलुक जाने नेपाली र युरोप तथा अमेरिकी पर्यटकलाई नेपालमा सेवा दिइरहेका छन् । नेपालबाट युरोपको सिधा उडान टर्किस एयरलाइन्सले मात्र गर्छ । अन्य युरोपेली र अमेरिकी देशमा नेपालबाट सिधा उडान नहुँदा चीन वा खाडी राष्ट्र ‘ट्रान्जिट’ गरी जानुपर्छ । अमेरिकाको सन्दर्भमा पनि पर्यटक आगमन त्यहाँबाट बढिरहेको छ । उनीहरूको अर्थतन्त्र राम्रो भएका कारण त्यसमा कुनै समस्या नभएको उनी बताउँछन् । निजी क्षेत्रको आफ्नै गुनासो सरकारले चिनियाँ पर्यटककै लागि भनेर कुनै पनि कार्यक्रम र प्याकेज ल्याउन नसक्दा चीनबाट अपेक्षित पर्यटक आउन नसकेको निजी क्षेत्रको गुनासो छ । चीनले सन् २००३-०४ मा आफ्ना नागरिकले घुम्न जान मिल्ने देशको सूचीमा नेपाललाई राखेको थियो । त्यसपछि मात्रै चिनियाँ पर्यटक काठमाडौं आउन थालेका हुन् । अहिले तिनै पर्यटक लक्षित गरेर सरकारले कुनै पनि कार्यक्रम ल्याउन सकिरहेको छैन । पर्यटन व्यवसायी प्रकाश श्रेष्ठ राम्रो संख्यामा पर्यटक भित्र्याउन सबैभन्दा पहिले पूर्वाधार नै ठिक हुनुपर्ने बताउँछन् । नेपालका पूर्वाधार निकै कमजोर अवस्थामा रहेको उनको भनाइ छ । उनका अनुसार सबैभन्दा पहिले सडक एकदमै राम्रा हुनपर्छ । अहिले विस्तार हुँदै गरेको पूर्वपश्चिम राजमार्गले पर्यटक भित्र्याउन एकदम महत्वपूर्ण भूमिका खेल्छ । त्यो राजमार्ग निर्माणले अझै गति लिन सकेको छैन । पर्यटन भनेको धेरै संवेदनशील क्षेत्र हो । विमानस्थलकै कुरा गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भद्रगोल अवस्था देखेर पनि पर्यटकलाई त्यति रुचि नभएको पनि श्रेष्ठ बताउँछन् । ‘सरकारले सन् २०३३ सम्म ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ, त्यो अहिलेको अवस्थामा सम्भव छैन,’ उनी भन्छन्, ‘अब हाम्रोमा ईयू (युरोपियन युनियन) ले एयरलाइन्स नै ब्यान्ड गरेको छ, सबैभन्दा पहिले त त्यो खुल्नुपर्यो, धेरैजसो पर्यटक नेपाली र युरोपियन ट्राभल एजेन्सीबाट हाम्रो जहाज चढ्दैनन् समस्या यही त छ ।’ पर्यटकका लागि काठमाडौं मात्रै राम्रो भएर नहुने श्रेष्ठ बताउँछन् । ‘त्यसका लागि जति पनि हाम्रा प्रसिद्ध पर्यटकीय स्थल छन्, ती सबै राम्रो हुनुपर्यो,’ उनी भन्छन्, ‘पर्यटक सबैतिर जानुपर्यो, वास्तविक पर्यटक ओभरअल नेपालभरि छरिनुपर्छ ।’ नेपालमा चिनियाँ पर्यटक नबढ्नुमा चीनको अर्थतन्त्रले प्रभाव पारेको भन्ने लामिछानेको भनाइसँग व्यवसायी श्रेष्ठ भने सहमत छैनन् । चिनियाँ पर्यटकको नेपालबाहेक अरू गन्तव्य पनि रहेको उनी बताउँछन् । ‘अब भियतनामकै कुरा गर्दा त्यहाँ टुरिस्टको धेरै राम्रो फ्लो छ,’ उनी भन्छन्, ‘त्यता पनि चिनियाँ लगायत अन्य देशका पर्यटक डाइभर्ट भएका छन्, किनभने त्यहाँका पर्यटकीय पूर्वाधार धेरै राम्रा छन्, साथै टुरिस्टलाई दिने सर्भिस पनि धेरै राम्रो छ ।’ धेरै चिनियाँ नेपाल ल्याउने सी एन्ड के ट्राभल्सको अनुभव साढे दुई दशकदेखि नेपालमा चिनियाँ पर्यटकको उल्लेख्य संख्या भित्र्यारहेको सी एन्ड के नेपाल ट्राभल्सका कार्यकारी निर्देशक विश्वेश श्रेष्ठ अझै उल्लेख्य मात्रामा चिनियाँ भित्र्याउन नेपालको पर्यटन क्षेत्रबारे प्रचारप्रसार, मार्केटिङ र सेल्स नभएको बताउँछन् । पोखरा जाने बाटो, लुम्बिनी जाने बाटो, नारायणगढबाट बुटवल जाने बाटोले पनि पर्यटकलाई नकारात्मक सन्देश दिइरहेको उनको भनाइ छ । ‘चिनियाँ पर्यटकका लागि नजिकको गन्तव्य नेपाल हो, तर, सबैभन्दा महत्वपूर्ण कुरा हामीले मार्केटिङ र सेल्स नै गर्न सकेका छैनौं,’ उनी भन्छन्, ‘प्रचारप्रसार नहुँदा चिनियाँले नेपाललाई भुल्ने नै अवस्था आइसक्यो, हामीले त्यहाँ व्यापार प्रवर्द्धन गर्नका लागि जुन गतिविधि गर्नुपर्ने हो, त्यो गर्नै सकेका छैनौं ।’ पर्यटन प्रवर्द्धन र प्रचार–प्रसारमा सरकारले साह्रै नै चासो नदिएको उनी बताउँछन् । सरकारले पर्यटनलाई प्राथमिकतामै नराखेको उनी बताउँछन् । ‘पर्यटन बोर्ड पनि अहिले नेतृत्वविहीन अवस्थामा छ,’ उनी भन्छन्, ‘पर्यटनमा नेतृव पनि परिवर्तन भइरहन्छ, यसले यो क्षेत्रमा निकै असर पुर्याएको छ ।’ साँच्चिकै पर्यटन विकास गर्ने हो र यसबाट लाभ लिने हो भने यो क्षेत्रमा पनि अर्थ मन्त्रालयमा जस्तै पर्यटन मन्त्रालयमा पनि विज्ञ मन्त्री चाहिने श्रेष्ठ बताउँछन् । ‘अर्थमा हामी विज्ञलाई मन्त्री राख्छौं, त्यस्तै पर्यटनलाई पनि जान्ने र विज्ञ मन्त्री चाहिन्छ,’ उनी भन्छन्, ‘यदि विज्ञ हुने हो भने पर्यटन बोर्डले गर्न नसकेका कामहरू मन्त्रालयले गर्न सक्थ्यो, यस्ता कुरा नहुँदा निजी क्षेत्रलाई नैराश्यता नै छ ।’ विगतका वर्षमा निजी क्षेत्रले वर्षको २ लाख पर्यटक भित्र्याएको पनि तथ्यांक छ । विगतमा जस्तै पर्यटक भित्र्याउने हो भने सरकारले पाँच कुरामा ध्यान दिनुपर्ने श्रेष्ठ बताउँछन् । उनका अनुसार निजी क्षेत्रलाई उत्साहित गर्ने खालका कार्यक्रम ल्याउनुपर्छ । ‘निजी क्षेत्रको लगानीमा पाँचतारे होटलहरू बनिरहेका छन्, धेरै लगानी निजी क्षेत्रकै छ,’ उनी भन्छन्, ‘उनीहरूलाई अलिकति उत्साहित हुने खालका कार्यक्रम आवश्यक छन्, चाहे त्यो करमा होस् वा पर्यटकीय बस ल्याएर होस् ।’ दोस्रो, पर्यटन बोर्डलाई सक्रिय (एक्टिभ) बनाउने काम गर्नुपर्ने उनी बताउँछन् । अरू सबै काम छाडेर व्यापार प्रवर्द्धनमा मात्रै लगाउने निर्देशन र त्यही अनुसार कार्यविधि बनाउनुपर्ने उनको भनाइ छ । भर्खरै सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको छ । पर्यटकीय राजधानी कुनै पनि गृहकार्य विना नै घोषणा गरिएको उनी बताउँछन् । त्यसैगरी नयाँ पर्यटकीय गन्तव्य पनि पत्ता लगाउनुपर्ने उनी बताउँछन् । ‘पचासौं वर्षदेखि हामीले पोखरा, काठमाडौं, चितवन र लुम्बिनीभन्दा बाहेक अरू कुनै नयाँ प्रडक्ट दिन सकेका छैनौं,’ उनी भन्छन्, ‘पहिले ट्रेकिङ जाने सबै गन्तव्यमा अहिले पक्की बाटो पुगे, नयाँ ट्रेकिङ रुट हामीले दिन सकेका छैनौं ।’ नेपाल एक भूपरिवेष्ठित राष्ट्र भएकाले बोर्डर सिटी (सीमा सहर) मा भारतीय मात्रै आउँछन् । हवाई मार्गबाट आउनेलाई अलिकति वातावरण अनुकूल बनाउनुपर्ने उनी बताउँछन् । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णसञ्चालनमा ल्याउन त्यही किसिमको प्याकेजसँगै आमन्त्रण गर्न सक्नुपर्ने उनको भनाइ छ । चार्टर गरेर आउनेका लागि पनि वातावरण बनाउनुपर्ने उनी बताउँछन् ।
सुनका गहना लगाएर गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग (फोटो फिचर)
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ । काठमाडौंको प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पसबाट निकालिएको जुलुसमा उनीहरूले गृहमन्त्री सहकारी ठगी र अर्थमन्त्री सुन तस्करीमा संलग्न रहेको भन्दै राजीनामा र छानबिनको माग गर्दै प्रदर्शन गरेको हो । उनीहरू सुनको प्रतिमा बनाएर र नक्कली सुनको गहना लगाएर सडकमा उत्रिएका थिए ।
बंगलादेशको चालु खाता सञ्चिति ३ अर्ब अमेरिकी डलरभन्दा बढी
बंगलादेश । बंगलादेशको चालु खाता सञ्चिति सन् २०२३ जुलाईदेखि सन् २०२४ जनवरीसम्ममा तीन अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ । बङ्गलादेश बैङ्कद्वारा प्रकाशित पछिल्लो तथ्याङ्कअनुसार चालु खाता पुँजीले अघिल्लो आर्थिक वर्ष २०२२/२३ को सोही अवधिमा चार अर्ब ६४ करोड ८० लाख डलरको घाटाको तुलनामा आर्थिक वर्षको पहिलो सात महिनामा तीन अर्ब १४ करोड ८० डलरको जम्मा पुँजी देखाएको छ । बङ्गलादेशले आर्थिक वर्ष २०२२/२३ मा निर्यात र विप्रेषणमा कमजोर वृद्धिको कारण २.६७ अर्ब डलरको चालु खाता घाटा व्यहोरेको थियो । अधिकारीहरूले केन्द्रीय बैङ्कको चालु खाताको रकम तथा भुक्तानीको समग्र पुँजीले जुलाई–जनवरी अवधिमा सकारात्मक प्रवृत्ति कायम राखेको बताएका छन् । हालका महिनाहरूमा आयात बिलमा गिरावटको बीचमा निर्यात आय र विप्रेषणकोे आगमन बढेको कारण यो सम्भव भएको उनीहरूको भनाइ छ । बङ्गलादेशले आर्थिक वर्षको पहिलो सात महिनामा १२.८९ अर्ब डलर विपे्रषण प्राप्त गरेको केन्द्रीय बैङकको तथ्याङ्कले देखाएको छ । रासस
पाण्डे महँगो सीईओ, खालिङको तलबमा उच्च वृद्धि
काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूको तलब तथा पारिश्रमिक साढे ५ प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा बैंकका सीईओहरूको तलब ५.६३ प्रतिशत अर्थात् २ करोड २९ लाख रुपैयाँ घटेको हो । गत वर्ष वाणिज्य बैंकका सीईओहरूले ३८ करोड ३४ लाख ८६ हजार रुपैयाँ तलब भत्ता बुझेका छन् । जबकी अघिल्लो वर्षमा ४० करोड ६३ लाख ८७ हजार रुपैयाँ तलब तथा पारिश्रमिक बुझेका थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष एभरेष्ट बैंकका सीईओ सुदेश खालिङको तलब सबैभन्दा धेरै बढेको छ । यस बैंकले सीईओ खालिङको तलब ८९ प्रतिशत अर्थात् ९० लाख ५४ हजार रुपैयाँ बढाएर १ करोड ९२ लाख रुपैयाँ भुक्तानी गरेको हो । अघिल्लो वर्ष १ करोड १६ लाख रुपैयाँ मात्रै भुक्तानी गरेको थियो । यस्तै, एनआईसी एशिया बैंकले सीईओ रोशन कुमार न्यौपानलाई गत वर्ष ३ करोड तलब भुक्तानी गरेको छ । बैंकका अनुसार उनको तलब २७.६० प्रतिशत अर्थात् ६४ लाख ६० हजार रुपैयाँ बढेर २ करोड ९८ लाख रुपैयाँ बुझेका हुन् । अघिल्लो वर्ष बैंकका सीईओले २ करोड ३४ लाख रुपैयाँ बुझेका थिए । स्ट्याण्डर्ड चार्टर्ड बैंकले सीईओ अनिर्वाण घोष दास्तिदारलाई गत वर्ष ३ करोड ६८ लाख रुपैयाँ तलब भुक्तानी गरेको छ । अघिल्लो वर्ष बैंकले ३ करेड २१ लाख रुपैयाँ तलब भत्ता भुक्तानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस बैंकका सीईओको तलब १४.३४ प्रतिशत अर्थात् ४६ लाख १९ हजार रुपैयाँ वृद्धि भएको हो । सिटिजन्स बैंकले सीईओ गणेशराज पोखरेललाई गत वर्ष १ करोड ९७ लाख रुपैयाँ तलब प्रदान गरेको छ । अघिल्लो वर्ष बैंकले सीईओ पोखरेललाई १ करोड ७६ लाख रुपैयाँ तलब भुक्तानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा सीईओको तलब १२ प्रतिशत अर्थात् २१ लाख २८ हजार रुपैयाँ बढेको हो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डेले ५ करोड ३७ लाख रुपैयाँ तलब बुझेका छन् । साविक नेपाल इन्भेष्टमेन्ट बैंक हुँदा सीईओ पाण्डेले ४ करोड ८१ लाख रुपैयाँ तलब बुझेका थिए । मेगा बैंकसँग मर्जरपश्चात् उनको तलब ११.६३ प्रतिशत अर्थात् ५५ लाख ९८ हजार रुपैयाँ बढेको हो । नेपाल एसबिआई बैंकको सीईओ दिपक कुमार देलाई गत वर्ष १ करोड ६४ लाख रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ । अघिल्लो वर्षको तुलनामा उनको तलब ६.९४ प्रतिशत अर्थात् १० लाख ७० हजार रुपैयाँ बढेको देखिन्छ । अघिल्लो वर्ष उनले १ करोड ५४ लाख रुपैयाँ तलबभत्ता बुझेका थिए । एनएमबि बैंकको सीईओ सुनिल केसीको तलब ५.६७ प्रतिशत अर्थात् १३ लाख ३३ हजार रुपैयाँ बढेर २ करोड ४८ लाख रुपैयाँ तलब भत्ता बुझेका छन् । अघिल्लो वर्ष सीईओ केसीले २ करोड ३४ लाख रुपैयाँ तलब भत्ता बुझेका थिए । लक्ष्मी सनराइज बैंकले सीईओ अजय विक्रम शाहको तलब गत वर्ष ४.७९ प्रतिशत अर्थात् ६ लाख ६४ हजार रुपैयाँ बढेर १ करोड ४५ लाख रुपैयाँ तलब भुक्तानी गरेको छ । अघिल्लो वर्ष बैंकले सीईओ शाहलाई १ करोड ३८ लाख रुपैयाँ तलब भुक्तानी गरेको थियो । ग्लोबल आइएमई बैंकले गत वर्ष सीईओ रत्नराज बज्राचार्यको तलबमा २.९९ प्रतिशत अर्थात् ७ लाख ६१ हजार रुपैयाँ बढाएर २ करोड ६१ लाख रुपैयाँ भुक्तानी गरेको छ । अघिल्लो वर्ष उनलाई बैंकले २ करोड ५४ लाख रुपैयाँ तलब प्रदान गरेको थियो । प्राइम कमर्सियल बैंकका सीईओ तलब ०.२८ प्रतिशत अर्थात् ६० हजार रुपैयाँ बढेर २ करोड १० लाख ७५ हजार रुपैयाँ भुक्तानी गरेको छ । उक्त तलब पूर्व सीईओ नारायणदाश मानन्धरले बुझेका हुन् । अघिल्लो वर्ष उनले २ करोड १० लाख १५ हजार रुपैयाँ तलब बुझेका थिए । हाल बैंकको सीईओमा सञ्जीव मानन्धर कार्यरत छन् । राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणले श्रेष्ठले गत वर्ष आफूले काम गरेवापत ६६ लाख ४ हजार रुपैयाँ तलब लिएका छन् । उनले अघिल्लो वर्ष पनि सोही रकम बराबरको तलब बुझेका थिए । हिमालयन बैंकका सीईओ अशोक राणाको तलब भत्ता ०.२२ प्रतिशत अर्थात् ४८ हजार रुपैयाँ घटेर गत असारसम्म २ करोड १४ लाख रुपैयाँ बुझेका छन् । अघिल्लो वर्ष उनले २ करोड १५ लाख रुपैयाँ तलब भत्ता बुझेका थिए । सिद्धार्थ बैंकका सीईओ सुन्दरप्रसाद कँडेलको तलब ९.८२ प्रतिशत अर्थात् २२ लाख ९२ हजार रुपैयाँ घटेर गत वर्ष २ करोड १० लाख रुपैयाँ भत्ता भुक्तानी गरेको छ । अघिल्लो वर्ष उनले २ करोड ३३ लाख रुपैयाँ तलब भत्ता बुझेका थिए । माछापुच्छ्रे बैंकले सीईओ सन्तोष कोइरालालाई गत वर्ष १ करोड ५४ लाख रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १३.४८ प्रतिशत अर्थात् २४ लाख ८७ हजार रुपैयाँ कम हो । अघिल्लो वर्ष बैंकले सीईओ कोइरालालाई १ करोड ७९ लाख रुपैयाँ तलब बुझेका थिए । नेपाल बैंकका सीईओ तिलकराज पाण्डेय हुन् । नेपाल बैंकले सीईओलाई ५४ लाख ८० हजार रुपैयाँ तलब भत्ता वापत भुक्तानी गरेको छ । अघिल्लो वर्ष ६४ लाख ५२ हजार रुपैयाँ तलब भुक्तानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत गर्ष १५ प्रतिशतले तलब भत्ता घटेको हो । तर, उक्त रकम पूर्व सीईओ कृष्ण बहादुर अधिकारीले बुझेका हुन् । कृषि विकास बैंकले सीईओलाई ४६ लाख रुपैयाँ तलब भुक्तान गरेको छ । अघिल्लो वर्ष बैंकले ६१ लाख ३२ हजार रुपैयाँ तलब भुक्तान गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष २५ प्रतिशत घटेको हो । उक्त तलब पूर्व सीईओ अनिल कुमार उपाध्यायले बुझेका हुन् । हाल बैंकको सीईओमा गोविन्द गुरुङ कार्यरत छन् । नबिल बैंकले सीईओ ज्ञानेन्द्र प्रसाद ढुंगानालाई गत वर्ष १ करोड ५९ लाख रुपैयाँ तलबभत्ता भुक्तानी गरेको छ । अघिल्लो वर्ष बैंकले सीईओलाई २ करोड ८३ लाख रुपैयाँ तलब भुक्तानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकले सीईओको तलब ४३.८३ प्रतिशत अर्थात् १ करोड २४ लाख रुपैयाँ घटाएको हो । सानिमा बैंकको सीईओ निश्चलराज पाण्डेको तलब ४६.४८ प्रतिशत अर्थात् ९९ करोड ५० लाख रुपैयाँ घटेर गत वर्ष १ करोड १४ लाख रुपैयाँ भुक्तानी गरेको छ । अघिल्लो वर्ष उनले २ करोड १४ लाख रुपैयाँ तलब बुझेका थिए । कुमारी बैंकले सीईओलाई १ करोड ९० लाख रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ । उक्त रकम सीईओ खनाल र पूर्व सीईओ रमेशराज अर्यालले बुझेका हुन् । अघिल्लो वर्ष बैंकले सीईओलाई ३ करोड ९९ लाख रुपैयाँ तलब भत्ता भुक्तानी गरेको थियो । प्रभु बैंकले सीईओ अशोक शेरचनलाई अघिल्लो वर्ष ४ करोड ३ लाख रुपैयाँ भुक्तानी गरेको हो । उनले गत वर्ष पनि अघिल्लो वर्षको हाराहारीमा तलबभत्ता बुझेको बैंक स्रोतले विकासन्युजलाई जानकारी दिएको छ ।
सिंहदरबार परिसरमा डिडिसीले स्थापना गर्यो सहुलियत बिक्री केन्द्र, उपभोक्तालाई सहज
DDC Istapana insinghadurbar काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले सिंहदरबारभित्र सहुलियत बिक्री केन्द्र स्थापना गरेको छ । बुधबार सिंहदरबार परिसरमा मुख्यसचिव डा.वैकुण्ठ अर्यालले सहुलियत बिक्री केन्द्रको उद्घाटन गरेका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेलले विगतका वर्षको भन्दा पछिल्लो ६ महिनामा डिडिसी नाफा गएको बताए । उनले पछिल्लो समय दुग्धजन्य वस्तुहरु बिक्रीमा आएको कमीलाई सिंहदरबारको सहुलियत केन्द्रले थप सहयोग पुग्ने बताए । डिडिसीले धेरै जनधन्त्व भएका क्षेत्रमा बिक्री केन्द्रहरुलाई अभियानकै रुपमा अगाडि बढाउन आग्रह गरे । सिंहदरबारमा २ हजार ५ सय भन्दा बढी कर्मचारी भएकाले उनीहरुको सहजताको लागि बिक्री केन्द्र स्थापना गरिएको बताए । सचिव पौडेलले डिडिसीको मुख्य उद्देश्य भनेको डिडिसीको उत्पादनलाई उपभोक्ता माझ पु¥याउनु रहेको बताए । मुख्य सचिव डा.वैकुण्ठ अर्यालले डिडिसीको बिक्री केन्द्र बढ्दै जाँदा उपभोक्तालाई सहजता आउने देखिएको बताए । सिंहदरबार भित्र डिडिसीको बिक्री केन्द्र हुँदा डिडिसीको उत्पादन प्रयोगमा सहज हुने विश्वास लिएको बताए । दुग्धजन्य वस्तुहरु बिक्री नभएको विषय सिंहदरबार बिक्री केन्द्रले थप सहज हुने जानकारी दिए । DDC Istapana in singa durbar 1 उनले डिडिसीले काठमाडौंको सिंहदरबारभित्र बिक्री केन्द्र खोलेर भन्दा पनि मुलुकभर बिक्री बिस्तार गर्न आवश्यक रहेको बताए । डिडिसी रिङरोड भन्दा बाहिर गएपछि हराउने गरेकाले बिक्री केन्द्र नपुगेको ठाउँमा पुग्न आग्रह गरे । डिडिसीले आफ्ना उत्पादनलाई मुलुकभर पु¥याउन सक्नुपर्ने आवश्यकता रहेको जानकारी दिए ।
मुग्लिन-पोखरा सडकको पश्चिम खण्डमा ७० मठमन्दिर भत्किने
तनहुँ । मुग्लिन-पोखरा सडक बिस्तार आयोजना अन्तर्गत तनहुँको पश्चिम खण्डमा करिब ७० वटा मठमन्दिर भत्किने भएका छन् । राजमार्गको सडक मापदण्डभित्र निर्माण गरिएका मठमन्दिरहरु भत्किने भएका आयोजनाले जनाएको छ । तनहुँ खण्डमा मात्रै बाह्र मन्दिर र दुई पार्क भत्किने छन् । प्रमुख जिल्ला अधिकारीको संयोकत्वमा गठित मुआब्जा निर्धारण समितिको हालै बसेको बैठकले मन्दिरको क्षतिपूर्तिका लागि मुआब्जा निर्धारण गरिसकेको छ । तनहुँ खण्डका लागि मात्रै रु ३४ लाख मुआब्जा वितरण गर्नुपर्ने देखिएको छ भने कोत्रेदेखि कास्कीको सेतीपुलसम्मको लगत लिने काम भैरहेको रेना आरडिइटी–एस कन्सल्टटेन्सीका परामर्शदाता कुमार श्रेष्ठले जानकारी दिए । मन्दिरको मुआब्जाका लागि मूल्याङ्कन भैसकेकाले सम्बन्धित समुहले वडाको सिफारिस, समुहको माइन्युटर र निवेदनलगायतका आवश्यक कागजपत्र आयोजना समक्ष पेश गर्नुपर्ने छ । पश्चिम सडकखण्ड अन्र्तगत दुई लेनको छ किलोमिटर दूरीमा अस्पाल्ट प्रविधिको कालोपत्र सम्पन्न भएको छ । ‘तनहुँ र कास्की खण्डमा गरी उक्त दुरीमा कालोपत्र गरिएको हो’, उनले भने, ‘पछिल्लो समय निर्माण कम्पनीले निर्माणको गति बढाएपछि अहिले भौतिक प्रगति १८ प्रतिशत पुगेको छ ।’ उक्त सडकखण्ड अन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर दुरीमा पर्दछ । उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति चीनको यनहुइै काइयुन हाइवे एन्डब्रिज कम्पनीले ठेक्का पाएको छ । आयोजनाले निर्माण कम्पनीलाई लक्ष्यअनुरुप कामको गति बढाउन निर्देशन दिएपछि निर्माणले गति लिएको मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) का इञ्जिनियर नारायण पौड्यालले बताए । पश्चिम खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको थियो । विसं २०७८ भदौबाट काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता छ । पृथ्वीराजमार्ग सडक बिस्तार पूर्वी र पश्चिम गरी दुई खण्डमा निर्माण भैरहेको छ । त्यसैगरी पूर्वी खण्डमा ५१ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ । अहिले सडकको डिजाइन अनुरुप सडक केन्द्रबाट दायाँबायाँ २३/२३ मिटर सडक बिस्तार भैरहेको छ । दमौली र डुम्रे बजार क्षेत्रमा छ लेनको सडक बन्नेछ । राजमार्गको अन्य क्षेत्रमा भने चार लेनको सडक हुनेछ । आयोजनाको पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटर दूरीमा कालोपत्र गरिएको मुग्लिन–पोखराको पूर्वी खण्डका इञ्जिनियर बिष्णु पाण्डेले जानकारी दिनुभयो । पूर्वी खण्डमा ४१ दशमलव सात किलोमिटर छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डका लागि रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो । उक्त खण्डको सम्पन्न गर्नुपर्ने म्याद विसं २०८१ वैशाखसम्म छ । कोभिडको समयमा निर्माण स्थगित भएकाले नेपाल सरकारबाट छ महिना म्याद थप गर्ने प्रक्रियामा रहेको सो आयोजनाले जनाएको छ । रासस
कामना सेवा विकास बैंकले गर्यो वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । विश्व वित्तीय सप्ताहको अवसरमा कामना सेवा विकास बैंकले बुधबार वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने ‘अर्गनाइजेसन अफ इकोनोमिक्स कर्पोरेसन एण्ड डेभलपमेन्ट’ को संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । उक्त सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गदैंछ । विश्व वित्तीय सप्ताह अन्तर्गत कामना सेवा विकास बैंकले गोलबजार नगरपालिका, सप्तरीका सरकारी कर्मचारीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकका मधेश प्रदेशको प्रमुख दिमश अमात्यको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गोलबजार नगरपालिकाका उपमेयर मान्ती शाह, नगरपालिकाका १३ वडा कार्यालयका अध्यक्ष प्रतिनिधिहरु, वडाध्यक्षहरु, विभिन्न पदाधिकारीहरु तथा सरकारी कर्मचारीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा बैंकको लहान शाखा प्रमुख श्री प्रकाश घिमिरेले प्रस्तुतिकरण दिएका थिए । जनप्रतिनिधि तथा कर्मचारीहरुलाई बैंकङ्ग सुविधा, बचत, ऋण तथा विभिन्न किसिमका डिजिटल कारोवारको जानकारी होस् भन्ने हेतुले उक्त कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा गोलबजार नगरपालिकासँग सम्बन्धित ६० जना भन्दा बढी महानुभावहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा वोल्दै नगरपालिकाका उपमेयर शाहले बैंकहरुले यस्ता वित्तीय साक्षरता कार्यक्रम गर्नाले बचत, ऋण तथा बैंकिङ कारोवारको बारेमा थप जानकारी प्राप्त गर्न सकेकोले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।
काठमाडौं उपत्यका बिहानैदेखि धुम्म, बढ्यो चिसो (फोटो फिचर)
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको महाशाखाले जानकारी दिएको छ । कोशी, मधेश प्रदेशका थोरै स्थानमा चट्याङसहित छिटपुटदेखि हल्का वर्षा तथा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको महाशाखाले बताएको छ। बुधबार दिउँसो कोशी,मधेस, बागमती र गण्डकी प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानहरूमा साथै बाँकी देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । यसको असर उपत्यकामा पनि बिहानैदेखि प्रभाव परेको छ ।