नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्ष बने मल्ल, यस्तो बन्यो नयाँ कार्यसमिति
काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुका लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा ब्यवसायी संघको बुधबार सम्पन्न आठौं बार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको हो । सभाले आगामी दुई वर्षको लागी नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो । जसमा प्रभु इन्स्योरेन्सका सञ्चालक राजेन्द्र मल्ल सर्वसम्मतले अध्यक्षमा निर्वाचित भएका छन् । मल्ल नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष समेत हुन् । यस्तै, कार्यसमितिको उपाध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका मनोहर दास, महासचिवमा हिमालयन एभरेष्ट इन्स्योरेन्सका महेन्द्र कृष्ण श्रेष्ठ, कोषाध्यक्षमा नेको इन्स्योरेन्सका रमेश कुमार निरौला निर्वाचित भएका छन् । त्यस्तै कार्यसमिति समिति सदस्यमा युनाइटेड अजोड़ इन्स्योरेन्सका आजाद श्रेष्ठ, सिद्दार्थ प्रिमियर इन्स्योरेन्सका पवन अग्रवाल र सानिमा जनरल इन्स्योरेन्सका कुनाल क्याल निर्वाचित भएका छन् ।
विकास बैंकहरू पनि पुँजी कोषको दबाबमा, वित्त कम्पनी सहज अवस्थामा
काठमाडौं । आधा दर्जन विकास बैंकको प्राथमिक पुँजी कोष टाइट हुँदा चालु आर्थिक वर्षको नाफाबाट आगामी लाभांश बाँड्न नसक्ने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आधा दर्जन विकास बैंकको पुँजी कोष टाइट अवस्थामा रहेको छ । प्राथमिक पुँजी कोष कायम गर्न नसकेका बैंकहरूले सेयरधनीलाई लाभांश विपतरण गर्न पाउँदैनन् । राष्ट्र बैंकका अनुसार हाल प्राथमिक पुँजी कोषको सीमा साढे ८ प्रतिशत कायम गर्नु पर्ने प्रवाधान छ । सो व्यवस्था कायम गर्न नसक्ने बैंकले आगामी वर्ष लाभांश बाँड्न नपाउने व्यवस्था छ । राष्ट्र बैंकले ९ प्रतिशतभन्दा कम प्राथमिक पुँजी कोष भएका विकास बैंकलाई वाच गरेर हेरिरहेको हुन्छ । जसअनुसार गत पुस मसान्तसम्म मुक्तिनाथ विकास बैंकको पुँजी कोष ८.२६ प्रतिशतमा झरेको छ । यस आधारमा बैंकले नियामकको प्रावधान अनुसार पुँजी कोष पुर्याउन नसक्दा आगामी वर्ष लाभांश वितरण गर्न नपाउने भएको हो । पुस मसान्तसम्मको तथ्याङ्क अनुसार मुक्तिनाथले आगामी वर्ष लाभांश वितरण गर्न नपाउने भएपनि अन्य बैंक पनि सीमा नजिक रहेकाले सकस अवस्था देखिन्छ । महालक्ष्मी विकास बैंकको पुँजी कोष ९.७० प्रतिशत र लुम्बिनी विकास बैंकको ९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, ज्योति विकास बैंकको ५.५९ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ८.७४ प्रतिशत, कामना सेवा विकास बैंकको ८.८९ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंकको ८.७१ प्रतिशत पुँजी कोष रहेको छ । यस्तै, अधिकांश वित्त कम्पनीहरू सहज अवस्था रहेपनि गुडविल फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र आइसीएफसी फाइनान्स कम्पनीलाई भने सकस अवस्था देखिन्छ । राष्ट्र बैंकको पुस मसान्तसम्मको तथ्याङ्क अनुसार गुडविल फाइनान्सको ८.६७ प्रतिशत, प्रोग्रेसिभ फाइनान्सको ९.४६ प्रतिशत र आइसीएफसी फाइनान्सको ९.७८ प्रतिशत पुँजी कोष रहेको छ ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुन र चाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । गत फागुन २७ गते सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । उक्त रेकर्ड ब्रेक गर्दै बिहीबार सुनको मूल्यले नयाँ इतिहास कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला २६ सय रुपैयाँले बढेर १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य बढेर प्रतितोला १ लाख २७ हजार २ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर १ हजार ५५५ रुपैयाँमा कारोबार भएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
पिपुल्स हाइड्रोले ५० प्रतिशत हकप्रद जारी गर्ने, पारित गर्न डाक्यो साधारण सभा
काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । चैत ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जारी पुँजीको दुई बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो । हकप्रद सेयरबाट उठेको रकम कम्पनीले आफूले प्रवर्द्धन गरेको सुपर दोर्दी जलविद्युत आयोजना ख मा बैंकबाट लिएको ऋण तिर्ने बताएको छ । साथै, कम्पनीबाट प्रवर्द्धन गरिएको हिमचुली दोर्दी जलविद्युत आयोजना ५७ मेगावाटको निर्माणमा लगानी हाइड्रोले जानकारी गराएको छ । उक्त हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्ने छ । कम्पनीले १६औं अर्थात आर्थिक वर्ष २०७९/८० को वार्षिक साधारण सभा आगामी चैत ३० गते शुक्रबार हुँदै छ । सभा सो दिन बिहान ११ बजे काठमाडौंको बुद्धनगर क्वालिटी बैंकेटमा हुने कम्पनीले जानकारी गराएको छ । त्यस्तै, उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी चैत १५ गते बुक क्लोज गर्दै छ । यससँगै चैत १४ गतेसम्म कायम सेयरधनी मात्रै कम्पनीले जारी गर्ने हकप्रद सेयरमा आवेदन दिन योग्य हुने छन् । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँ छ । ५० प्रतिशत हकप्रद सेयरपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८० करोड रुपैयाँ नाघ्ने छ । साथै, सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने लगायत संस्थापक सेयरधनीतर्फका ५ जना सञ्चालकको निर्वाचन गर्दै छ ।
आईएमई र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेजबीच रेमिट स्विचको डिजिटाइजेशन सम्झौता
काठमाडौं । आईएमई लिमिटेड र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेजबीच रेमिट स्विचको डिजिटाइजेशन सम्झौता भएको छ । आईएमई लिमिटेड र बैंक तथा वित्तीय संस्थालाई एपी आई म्यानेजमेन्ट सिस्टम-एपीआईएमएसु उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच रेमिटेन्स सम्बन्धी सेवालाई थप स्वचालित बनाउन रेमिट स्विच समझदारी भएको छ । समझदारी पत्रमा आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र वान प्वाइन्टका प्रमुख कार्यकारी अधिकृत श्रीप्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन् । सो सम्झौता अनुसार आईएमई लिमिटेडलाई वान प्वाइन्टले रेमिट स्विच प्रदान गर्नेछ, अन्तर्राष्ट्रिय स्तरमा भइरहेको अभ्यास अनुसार, सबै आन्तरिक र बाह्य प्रणालीको एकीकरणलाई सरल बनाउन सोही रेमिट स्विच मार्फत ओपन एपिआइ स्ट्याण्डर्ड फलो गरिने छ । आईएमई लिमिटेड मार्फत प्रदान गरिने एपिआइको परीक्षण तथा एकीकरण गर्न आन्तरिक र बाह्य साझेदारहरूको लागि खुला परीक्षणको वातावरण समेत पनि प्रदान हुने छ । कम्पनीका अनुसार अन्तर्राष्ट्रिय बजारमा मात्र अभ्यासमा आएको ओपन एपिआइ स्ट्याण्डर्ड प्रणालीलाई नेपालमा पहिलो पटक आईएमई वान प्वाइन्टसँगको सहकार्यमा सुरु गरेको हो । यस मार्फत एपिआइ इण्टिग्रेसनमा जान चाहने आन्तरिक र बाह्य साझेदारहरू आफै सिस्टम इन्टिग्रेशन प्रक्रियामा अगाडी बढ्न सक्ने छन् । रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध आईएमई परम्परागत रेमिटेन्स सेवालाई अझै सहज तथा परिष्कृत गर्दै लैजान नयाँ-नयाँ प्रविधि लाई पछ्यादै आफूलाई फिनटेक क्षेत्रमा पनि अब्बल साबित गरेको छ । आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) खिलेन्द्र पौडेलले वित्तीय सेवाको तीव्र डिजिटलाइजेसन अवस्थालाई आत्मसाथ गर्दै थप परिष्कृत प्रणालीको प्रयोगले रेमिटेन्स सेवालाई थप चुस्त तथा भरपर्दो बनाउन यो साझेदारी महत्त्वपूर्ण हुने विश्वास लिएको बताएका छ । बैंक तथा वित्तीय संस्थाको डिजिटल भुक्तानी पूर्वाधारलाई सबल र सक्षम बनाउन सहयोग गर्दै आएको वान प्वाइन्टले सुरक्षित र विश्वसनीय डिजिटल प्रणाली तथा प्लेटफर्म उपलब्ध गराउँदै आएको छ ।
बाँसवारी जग्गा प्रकरणमा बयान दिएर निस्किए चौधरी (तस्विरहरु)
काठमाडौं । उद्योगी विनोद चौधरीले बाँसवारी जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयमा बयान दिएर निस्किएका छन् । बयान दिएर निस्किँदै चौधरीले आफूमाथि राजनीति भइरहेको बताए । एउटा जिम्मेवार राजनीतिकर्मी भएको हिसाबले आफू बयानका लागि उपस्थित भएको उनले बताए ।
ग्लोबल मनी विक : कामना सेवा विकास बैंकले गर्यो वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । विश्व वित्तीय सप्ताहको अवसरमा कामना सेवा विकास बैंकले बिहीबार वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने ‘अर्गनाइजेसन अफ इकोनोमिक्स कर्पोरेसन एण्ड डेभलपमेन्ट’ को संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । उक्त सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गदैंछ । ग्लोबल मनी विक २०२४ अन्तर्गत कामना सेवा विकास बैंकले विभिन्न स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई बैंकको कार्यालय तथा शाखा कार्यालयहरु भ्रमण गराएको छ । बैंकका विभिन्न शाखा तथा विभागहरु र त्यहाँबाट गरिने कार्यहरुको बारेमा विद्यार्थीहरुलाई जानकारी गराईएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।
ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी गरिएको छ । सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी भने जिल्ला प्रशासन कार्यालय काठमाडौंले गर्ने गरी उक्त क्षेत्र चौबिसै घण्टा खुलाउन लागिएको गृह मन्त्रालयले जनाएको छ । ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः चौबिसै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ । सोही अनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ । गृहको निर्देशनअनुसार आवश्यक तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । ‘आन्तरिक तयारी सुरु भइसक्यो । ढिलोमा नयाँ वर्ष (वैशाख १) भित्रै खुला हुन्छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ । बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौं ।’ हाल दुवै क्षेत्रमा प्रकृतिअनुसार चार समूहमा व्यवसाय गर्ने गरी समय निर्धारण गरिएको पनि काठमाडौं प्रशासनले जनाएको छ ।