ग्लोबल मनी विकको अवसरमा पूँजीबजार सम्बन्धी वित्तीय सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । सानिमा क्यापिटल र सानिमा सेक्युरिटीजको संयुक्त आयोजना वित्तीय शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल मनी विक २०२४ को अवसरमा विद्यार्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोबृत्ति विकास गराउने उद्धेश्यका साथ सानिमा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सानिमा क्यापिटल लिमिटेड तथा सानिमा सेक्युरिटीज लिमिटेडको संयुक्त आयोजना र नेपाल धितोपत्र बोर्डको प्रत्यक्ष सहभागितामा धापासी, काठमाडौं माण्डौ स्थित काठमाण्डौ इन्स्टिच्युट अफ टेक्नोलोजी क्याम्पसका इन्जिनियरिङ्ग बिधामा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु बिच उक्त कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका सहायक निर्देशक भुवन देशारका साथै सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र सानिमा सेक्युरिटीज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्जिव पौडेल लगायतका कर्मचारीहरुको प्रत्यक्ष सहभागितामा नेपालको पूँजीबजार क्षेत्रको विभिन्न आयामहरुको बारे छलफल तथा प्रस्तुति गरिएको थियो । अन्त्यमा सहभागि विद्यार्थीहरुका साथै क्याम्पस व्यवस्थापनलाई आवश्यक सहयोगका लागी धन्यवाद ज्ञापन गरि कार्यक्रम समापन गरियो । उक्त कार्यक्रम मार्फत युवा तथा विद्यार्थीहरुले नेपालको पूँजीबजार सम्बन्धी शिक्षा प्राप्त गरी सो ज्ञानलाई आगामी दिनहरुमा व्यवहारमा लागु गरी आफ्नो आम्दानीलाई बचत तथा लगानी गर्ने बानीको विकास हुने अपेक्षा समेत गरिएको छ ।
सिबिआईएल सेक्युरिटिजले सम्पन्न गर्यो वित्तिय साक्षरता कार्यक्रम
काठमाडौं । सिबिआईएल सेक्युरिटिज लिमिटेडले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको संस्था सिबिआईएल सेक्युरिटिज लिमिटेडले विश्व वित्तिय सप्ताह २०२४ को अवसरमा युवा लक्षित वित्तिय साक्षरता कार्यक्रम अन्र्तगत दुई दिने पुँजिबजार सम्बन्धी तालिम प्रदान गरेको छ । पुँजिबजारमा युवाहरुको सहभागिता बढाउने उद्देश्यका साथ कम्पनीले हिमालयन ह्वाईट हाउस कलेज, पुतलीसडकमा बिबिए प्रथम वर्ष र तेस्रो वर्षमा अध्यनरत विद्यार्थीहरुलाई २०८० चैत्र ६ र ७ गतेका दिन पुँजिबजारको आधारभुत ज्ञान सम्बन्धी तालिम प्रदान गरेको हो । नेपाल धितोपत्र बोर्ड बाट अनुमतिपत्र प्राप्त धितोपत्र दलाल (ब्रोकर नं. ९१) सिबिआईएल सेक्युरिटिज लिमिटेडले आफ्नो मुख्य कार्यालय ललितपुर–१०, कुपण्डोल बाट आफ्ना ग्राहकहरुलाई धितोपत्र कारोवार सेवा दिदै आईरहेको छ । साथै यस कम्पनीले आफ्नो मुख्य कम्पनी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सम्पुर्ण शाखाहरु मार्फत ब्रोकर खाता खोल्न सकिने सेवा समेत प्रदान गर्दै आईरहेको कम्पनीले जनाएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठले लिए सपथ
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेश लाल श्रेष्ठले सपथ लिएका छन् । इन्स्योरेन्सका अध्यक्ष सुरेश लाल श्रेष्ठले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ लिएका छन । सो सपथ ग्रहण समारोहमा प्राधिकरणका उच्च पदाधिकारी तथा कम्पनीको सञ्चालकहरुको उपस्थिति रहेको थियो । गत सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सञ्चालक समितको अध्यक्षमा चयन गरेको थियो ।
चैतभित्र विद्यालयमा पुस्तक पुर्याउन मन्त्रालयको निर्देशन
भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनक शिक्षा सामाग्री केन्द्रलाई चैत मसान्तभित्र स्थानीय तहहरुमा विद्यालय तहको पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएको छ । कक्षा ५ देखि १० सम्मको एक करोड ७५ लाख थान पुस्तक छपाइको जिम्मेवारी पाएको केन्द्रलाई मन्त्रालयले वि.सं २०८१ वैशाख २ गतेदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्नेगरि व्यवस्था गर्न निर्देशन दिएको हो । कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको निजी क्षेत्रलाई पनि सोहीअनुरुप गर्न निर्देशन दिइएको छ । जनक शिक्षाका प्रबन्ध निर्देशक अनिलकुमार झाले केन्द्रले १६ लाख थान पाठ्यपुस्तक मात्र छपाइ गर्न बाँकी रहेको भन्दै छपाइ भएका पुस्तकको ढुवानी सुरु गरिसकेको जानकारी दिए । मन्त्रालयको निर्देशन आउनु अघिनै पाठ्यपुस्तक छपाइ अन्तिम चरणमा पुगेको उनले बताए । छपाइ सकिएका पुस्तकहरु उपत्यका बाहेक सातवटै प्रदेशमा रहेका वितरण केन्द्र एवं कार्यालयमा दैनिक ढुवानी गर्ने कार्य भइरहेको झाले बताए । उनले मन्त्रालयको निर्देशन कार्यान्वयन हुने, पुस्तक अभाव हुन नदिने भन्दै चैत १५ गतेदेखि पाठ्यपुस्तक पालिकामा ढुवानी गरिने बताए । पहिलो चरणमा हिमाली, दोस्रो चरणमा पहाडी, तेस्रो चरणमा तराई र अन्तिम चरणमा उपत्यकाका जिल्लाहरुमा पुस्तक पुर्याउने गरी जनक शिक्षाले कार्य गरिरहेको प्रबन्ध निर्देशक झाले जानकारी दिए । उनले मन्त्रालयको निर्देशन अनुसार चैत्र मसान्तसम्म सबै स्थानीय तहहरुमा पुस्तक पुर्याउने गरी केन्द्रले काम गरिरहेको बताए । मन्त्रालयले पाठ्यपुस्तक छपाइ, ढुवानीलगायत कामको प्रगति विवरण दैनिक रुपमा साँझ ७ बजे भित्र मन्त्रालयमा पेस गर्न पनि केन्द्रलाई निर्देशन दिएको छ । यसअघि चैत १ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले केन्द्रको अनुगमन गर्दै पुस्तक छपाइको अवस्थाबारे जानकारी लिएकी थिइन् । उनले भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएकी थिइन् । रासस
समता घरेलु लघुवित्तको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट नियुक्त
काठमाडौं । समता घरेलु लघुवित्त वित्तिय संस्थाको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त गरिएको छ । चैत ६ गते बसेको संस्था सञ्चालक समितिको बैंठकले आरविवि मर्चेन्ट बैकिङ लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । यससँगै, अब यस संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु आरविवि मर्चेन्ट बैकिङ लिमिटेड मार्फत हुने छ ।
काठमाडौंसहित धेरै स्थानमा वर्षा, सबैभन्दा बढी सर्लाहीको चुरेमाईमा
काठमाडौं । देशका धेरै भू–भागमा आज वर्षा भएको छ । बागमती प्रदेशको काठमाडौं उपत्यकासहित सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली तथा मधेस प्रदेश र कोशी प्रदेशमा पनि अहिले मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनले जानकारी दिए । उनका अनुसार पछिल्लो १२ घण्टामा मकवानपुरको राजरैयाँमा १४ दशमलव छ तथा सर्लाहीको चुरेमाईमा ३१ दशमलव आठ र सिन्धुलीमा ३० दशमलव दुई मिलिमिटर वर्षा भएको छ । ललितपुरको लेलेमा १३ दशमलव छ, काठमाडौंको ढापड्याममा १० दशमलव चार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सात दशमलव चार मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा अहिले हल्का हिमपात भइरहेको मौसमविद् पुडासैनीले बताए । उनले भने, ‘काठमाडौंमा पानी पर्दा चिसो बढेको छ, हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भइरहेको छ । शुक्रबारदेखि मौसम खुल्दै जानेछ ।’ काठमाडौंमा बुधबार दिनभरी जसो मौसम बदली रहने र पानी केही समय पर्ने र रोकिनेक्रम दिनभर चलिरहनेछ । अहिले काठमाडौंको वायुको तापक्रम १२ सेन्डिग्रेड, पारदर्शिता पाँच किलोमिटर मापन गरिएको छ भने अधिकतम तापक्रम २१ देखि २३ सेन्डिग्रेडबीच रहने अनुमान गरिएको छ । रासस
आवश्यकताका आधारमा बजेटको सिद्धान्त र प्राथमिकता संशोधन हुन्छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका राम्रा नीतिलाई निरन्तरता दिँदै वर्तमान सत्ता गठबन्धनले लिएका न्युनतम साझा सङ्कल्पसमेतलाई हेरेर आवश्यकताका आधारमा संशोधन गरिने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजनका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले सो बताएका हुन् । ‘निवर्तमान अर्थमन्त्रीले सरकारको तर्फबाट पेस गर्नुभएको विनियोजन विधेयक २०८१ को सिद्धान्त र प्राथमिकतामा कतिपय माननीयले परिवर्तित परिस्थितिमा पुनर्लेखन हुनुपर्ने विषय उठाएका थिए । यो परिस्थितिमा सरकारका नीतिहरुमा स्थीरता कायम गर्नुपर्ने, राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र परिवर्तित सन्दर्भ अनुसारको आवश्यकता, संभावना र सोचलाई सम्बोधन गर्नेगरी सन्तुलन मिलाएर आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता कायम गरिनेछ’, उनले भने । आगामी आर्थिक वर्षको बजेट सोह्रौँ योजनाको सोचअनुसार नीति कार्यान्वयनको पहिलो वर्ष रहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पुनले सुशासन, सामाजिक न्याय र समृद्धिको सोच सहित नयाँ आवधिक योजना र बजेट ल्याइने बताए । ‘आगामी आवको बजेट गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाको व्यवस्थाद्वारा सामाजिक न्याय कायम गर्ने र प्रमुख रणनीतिक महत्वको आधारभूत सेवा प्रदान गर्ने क्षेत्रमा राज्यको भूमिका बढाउनेतर्फ लक्षित हुनेछ’, उनले भने, ‘स्रोत साधनको दक्षतापूर्ण प्रयोग, उत्पादन तथा रोजगारी वृद्धिमा निजी क्षेत्र र सहकारीको क्षमताको पूर्ण उपयोग गर्ने वातावरण निर्माण गरिनेछ । सामाजिक न्याय सहितको समृद्धिमा हाम्रो जोड रहने भएकाले बजेटमा सामाजिक न्यायको पाटो उपेक्षामा पर्दैन ।’ सरकारमा सहभागी पाँच दलकातर्फबाट मङ्गलबार साझा न्यूनतम कार्यक्रम तथा साझा सङ्कल्प जारी भएको बताउँदै अर्थमन्त्री पुनले उक्त साझा सङ्कल्पको प्रमुख जोड नै शिथिल रहेको अर्थतन्त्रलाई चलायमान बनाउने र अर्थतन्त्रमा देखापरेका विभिन्न चुनौतीलाई समाधान गर्ने रहेको बताए । मिटरब्याजी, सहकारी तथा लघुवित्तको समस्या समाधान गर्न सरकारले तत्काल कदम चाल्ने उनको भनाइ छ । उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिई हाल व्याप्त बेरोजगारी तथा युवाहरुको बढ्दो पलायनलाई रोक्ने योजना सरकारको रहेको अर्थमन्त्री पुनले स्पष्ट पारे । ‘अर्थतन्त्रमा देखा परेका विभिन्न समस्याको प्रमुख जरो मुलुकभित्र उत्पादन र रोजगारी पर्याप्त मात्रामा नबढ्नु हो । यसको फलस्वरुप ठूलो मात्रामा वस्तु आयात गर्नुपरेको र युवाहरु रोजगारीका लागि विदेश पलायन हुनुपरेको छ’, उनले भने, ‘यो कुरालाई मनन गरी आगामी आवमा उत्पादन र रोजगारी बढाउने साथै ठूलो मात्रामा युवालाई स्वदेशमै परिचालन गर्ने कार्यक्रमह कार्यान्वयनमा ल्याइने छ । यसका लागि कार्यक्रमको योजना बनाउन सुरु भइसकेको छ ।’ विगतमा बजेटका सिद्धान्त र प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलका लागि पर्याप्त समय उपलब्ध नहुने अवस्थालाई यसवर्षबाट अन्त्य गर्न लागिएको अर्थमन्त्री पुनले दावी गरे । ‘कानूनमा संशोधन गरी संसद्मा छलफलका लागि पर्याप्त समय हुने व्यवस्थासहित ‘बजेट क्यालेण्डर’ निर्माण गरिएको छ । त्यसैअनुरुप गत फागुन १४ गते संसद्मा आगामी वर्षको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता पेस भइसकेको छ । यो हाम्रो बजेट निर्माणको इतिहासमा निकै ठूलो परिवर्तन हो’, अर्थमन्त्री पुनले राष्ट्रिय सभामा भने । अहिले अर्थतन्त्र शिथिल बन्नुका विभिन्न कारणमध्ये पुँजीगत खर्चतर्फ कम रकम विनियोजन हुनु र विनियोजन गरिएको सीमित बजेट पनि खर्च नहुनु रहेको उनले दावी पनि गरे । पुँजीगत खर्च क्षमता बढाउन सरकारले केही विधिगत र संरचनात्मक सुधारका काम अघि बढाएकाले आगामी वर्ष पुँजीगत खर्च उल्लेख्य रुपमा बढ्ने अर्थमन्त्री पुनले विश्वास व्यक्त गरे । रासस https://youtu.be/PJU7IGCTn_g
जलविद्युत् र मल कारखानामा लगानी गर्न रुसलाई आग्रह
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले ठूला जलविद्युत् आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरेका छन् । नवनियुक्त अर्थमन्त्री पुनलाई बधाई ज्ञापन गर्न बुधबार अर्थ मन्त्रालय पुगेका नेपालका लागि रुसी राजदूत अलेक्सेई नोभिकोभसँग अर्थमन्त्री पुनले यस्तो आग्रह गरेको उनको सचिवालयले जनाएको छ । ‘हामीले विद्युत् खपतका लागि अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गरिसकेका छौँ । अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपालमा जलविद्युत् उपयुक्त क्षेत्र हो’, अर्थमन्त्री पुनले भने, ‘सरकारले स्वदेशमै रासायनिक मल कारखाना खोल्ने नीति लिएको छ । यसमा लगानी गर्न रुस इच्छुक भएमा त्यसको वातावरण बनाउन हामी तयार छौँ ।’ नेपालले आगामी वैशाखमा आयोजना गर्न लागेको लगानी सम्मेलनमा बढीभन्दा बढी रुसी लगानीकर्ता आउने वातावरण बनाउन पनि अर्थमन्त्री पुनले राजदूत नोभिकोभलाई आग्रह गरे । जवाफमा राजदूत नोभिकोभले अर्थमन्त्री पुनको प्रस्ताव सकारात्मक रहेको बताउँदै रुसी लगानीकर्तासँग कुरा गर्ने प्रतिवद्धता जनाए । भू–राजनीतिक कारणले पनि नेपालमा रुसी लगानीका लागि अत्यन्तै सकारात्मक वातावरण रहेको उनको भनाइ थियो । नेपालका दुवै छिमेकीमूलुक चीन र भारतसँग रुसको राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै उनले नेपाल–भारत सीमा क्षेत्रमा दुवै मुलुकलाई लक्षित गरी मल कारखाना खोल्ने वा उत्पादित सामग्री ल्याएर बेच्न सकिने सम्भावना औंल्याए । राजदूत नोभिकोभका अनुसार रुसको उद्योग वाणिज्य सङ्घको नेतृत्वमा लगानी सम्मेलनमार्फत् लगानी गर्न सकिने क्षेत्रको पहिचानका लागि बिहीबार एक प्रतिनिधिमण्डल नेपाल आउँदैछ । प्रतिनिधि मण्डलले सरकारी अधिकारी, लगानी बोर्ड र निजी क्षेत्रसँग साक्षात्कार गर्ने उनको भनाइ छ । द्विपक्षीय सम्झौताबिनै रुसी सेनामा नेपाली युवा भर्ती भएको विषयमा पनि अर्थमन्त्री पुनले चासो राखेका छन् । रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फिर्तीको वातावरण बनाउनसमेत उनले रादजूत नोभिकोभलाई आग्रह गरे । रुस–युक्रेन युद्धमा परी मृत्यु भएका नेपालीको शव फर्काउने वातावरण बनाउन, घाइतेको उपचार तथा मृतक परिवारलाई राहत एवं क्षतिपूर्तिको व्यवस्था गर्न पनि अर्थमन्त्री पुनले रुसको ध्यानाकर्षण गराए । ‘रुसी सेनामा आफ्ना नागरिक भर्ती गराउने हाम्रो नीति नभएको विषयमा परराष्ट्र मन्त्रालयले यसअघि नै स्पष्ट गरिसकेको छ । तर, पनि विभिन्न बाटो भएर गएका नेपाली रुसी सेनामा भर्ती भएका छन्’, उनले भने, ‘यसमा नेपाल सरकारसँगै आम जनताको गम्भीर चासो र चिन्ता छ । म यहाँमार्फत् रुस सरकारलाई रुसी सेनामा कार्यरत नेपालीको घर फिर्तीको वातावरणका लागि आग्रह गर्दछु ।’ जवाफमा राजदूत नोभिकोभले नेपालीलाई सेनामा भर्ती गर्ने कार्यमा नेपाल सरकार दोषी नभएको स्पष्ट पार्दै रुसले पनि नेपालीलाई बोलाएर सेनामा भर्ती नगरेको तर्क गरे । भारत र दुबईसहित विभिन्न मुलुकबाट अवैध रुपमा गएका नेपाली स्वेच्छाले सेनामा भर्ती भएको उनले उल्लेख गरे । रुसले फिर्ता पठाउन चाहे पनि सबै नेपाली स्वदेश फर्कन इच्छुक नभएको खबर आफूले पाएको दाबी पनि उनले गरे । ‘नेपालले पठाएर वा हामीले आह्वान गरेर उनीहरु सेनामा भर्ती भएका होइनन् । स्वेच्छाले भर्ती भएकाले स्वदेश फर्कभन्दा पनि धेरै नेपाली नफर्कने मनस्थितिमा रहेको खबर हामीले पाएका छौंँ’, राजदूत नोभिकोभले भने । युक्रेनी सेनाले बन्धक बनाएका नेपालीलाई युद्धबन्दी साटासाट गरेर मुक्त गराउने तयारी भइरहेको जानकारी पनि राजदूत नोभिकोभले अर्थमन्त्री पुनलाई दिए । ‘हाम्रो सेनाको नियन्त्रणमा रहेका युक्रेनी फौजका सदस्यसँग साटेर भए पनि नेपालीहरुलाई युक्रेनबाट मुक्त गर्ने तयारी छ’, उनले भने । रासस