होलीको दिन ट्राफिक चेकिङमा कडाइ (फोटो फिचर)
काठमाडौं । होलीलाई लक्षित गरेर बिहानैदेखि उपत्यकाका विभिन्न ठाउँका चोकचोकमा प्रहरीले चेकिङ सुरु गरेको छ । अवाञ्छित र उच्छृङ्खल गतिविधि हुन नदिन काठमाडौंमा बिहानैदेखि चेकजाँचको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
वसन्तपुरमा होलीको चहलपहल शुरु, चीर पूजा गर्नेको भीड
काठमाडौं । वसन्तपुरमा होलीको चहलपहल शुरु भएको छ । आईतबार नेपालको हिमाली र पहाडी जिल्लाहरुमा होली हर्षोल्लासपूर्वक मनाइन्छ । आज काठमाडौंसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन शुरु भएको छ । वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरुको उल्लेख्य उपस्थिति रहेको छ । एक अर्कामा रङ दलेर खुशीयाली साटासाट गरेर होली मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचिन परम्परा छ । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । नेपाल प्रहरीले संयमित भएर होली खेल्न पनि आग्रह गरेको छ ।
युरोपेली युनियनको टोलीद्वारा चिलिमे-त्रिशूली २२० केभी प्रसारण आयोजनाको अनुगमन
काठमाडौं । जर्मनी तथा युरोपेली युनियनको टोलीले निर्माणाधीन चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत अनुगमन गरेको छ । जर्मनीको आर्थिक सहायता तथा विकास मन्त्रालयकी एसिया निर्देशक गिजेला ह्याममरस्मिटको नेतृत्वमा युरोपेली युनियन, जर्मन विकास बैक (केएफडब्लू)का प्रतिनिधि सम्मिलित टोलीले शनिबार आयोजनाअन्तर्गत निर्माणाधीन प्रसारण लाइन र सबस्टेसनको अनुगमन गरी निर्माण प्रगतिको जानकारी लिएको छ । आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा २२०/१३२/३३ केभीको क्रमश : चिलिमे हव र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण अन्तिम चरणमा छन् । साथै, चिलिमे हबदेखि त्रिसूली थ्री बी हब सबस्टेसनसम्म २८ किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र चिलिमे तथा त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण गरिएको हो । अनुमानित लागत तीन करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैक (केएफडब्लू)को अनुदान रहेको छ । युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैक (इआइबी)को आयोजनामा सहुलितपूर्ण ऋण रहेको छ । त्रिशूली थ्री बी हब सबस्टेसन र प्रसारण लाइन निर्माणको अनुगमन गरी टोलीले नेपाल विद्युत प्राधिकरण र आयोजना व्यवस्थापनसँग आयोजनाको प्रगति, समस्या, निर्माण सम्पन्न हुने मिति, ऊर्जा क्षेत्रमा थप लगानीको सम्भावना लगायतका विषयमा छलफल गरेको थियो । टोली प्रमुख गिजेला ह्याममरस्मिटले जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा पर्ने आयोजना निर्माण सम्पन्न हुने चरणमा पुग्नु ज्यादै खुशीको कुरा भएको बताए । नेपालको ऊर्जा क्षेत्रको विकासमा थप अनुदान दिन तयार रहेको प्रतिबद्धा जनाउँदै लगानी आवश्यक पर्ने क्षेत्र पहिचान गरी प्रस्ताव गर्न प्राधिकरणलाई आग्रह गरे । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन र प्रसारण लाइन आगामी वैशाखको दोस्रो हप्ता भित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी अन्तिम चरणका कामहरु भइरहेको टोलीलाई जानकारी गराएका थिए । भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुङ्गागिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानु पर्ने, बाढीपहिरो, ठेकेदारको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९लगायतका कारणले आयोजनाको निर्माण प्रभावित हुँदै आएको छ । प्रसारण लाइन समुद्री सतहबाट ६८० देखि २६०० मि.सम्म पर्ने भूभागमा निर्माण गरिएको छ । ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नु पर्ने अवस्था थियो । उक्त स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको छ । ‘निर्माणमा केही ढिलाइ भएकोमा लगानीकर्ताहरुबाट विगतमा बारम्बार चासो र चिन्ता व्यक्त भइरहेको थियो, तर निरीक्षण भ्रमणका क्रममा कामले गति लिई उल्लेख्य प्रगति हासिल गरेको र भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा आयोजनाको काम भइरहेको देखेर टोलीले खुसी व्यक्त गर्दै यसको प्रशंसा गरेको छ’, कार्यकारी निर्देशक घिसिङले भने । आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी निर्माण कार्यमा ढिलाइ नगर्न, कामदार थपेर कामलाई तिब्रता दिन निर्देशन दिंदै कार्यकारी निर्देशक घिसिङले पछिल्लो पटक निर्माण सम्पन्न गर्न तय गरिएको समयसीमाबाट कोही पनि उम्किन नपाउने बताए । ‘आयोजना निर्माण सम्पन्न हुने समयसीमा दातृ निकायहरुको पनि ठूलो चासो र चिन्ता छ, यही लाइनमा जोडिने ११० मेगावाटको रसुवागढी जलविद्युत आयोजना तयारी अवस्थामा छ, लाइन बनाउन सकेनौं भने विद्युत् खेर फाल्नु पर्ने अवस्था छ,’ घिसिङले भन्नुभयो । ‘यो या त्यो बहाना बनाएर अब कोही उम्किन पाउँदैन, सबै जिम्मेबार भएर अन्तिम प्रयास गरौं, हाम्रोतर्फबाट आवश्यक सहयोग र सहजीकरण गर्ने छौं ।’ कूल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७५ वटा टावरहरुमध्ये ६५ वटाको जग हालिएको छ । बाँकी रहेका १० टावरको जग हाल्ने काम भइरहेको छ । ५९ वटा टावर खडा गरिएको छ भने तीनवटाको काम भइरहेको छ ।११ किलोमिटर तार तानिएको छ भने खडा गरिएका टावरमा तार तान्ने काम भइरहेको छ । चिलिमे –त्रिशूली थ्री बी हब प्रसारण लाइन अन्तर्गत चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ । कोरियन कम्पनीहरुको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको विद्युत जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको हो । माथिल्लो त्रिशूली–१ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्ने छ । प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४को पुसमा कार्यान्वयनमा आएको थियो ।
रियलमी सी-५५ मा भारी छुट
काठमाडौं । रियलमीको रियलमी सी–५५ अब छुट मुल्यमा उपलब्ध हुने भएको छ । पहिला २१ हजार ९९९ मा उपलब्ध रहेको ६ जिबी प्लस ६४ जिबी स्टोरेज भेरियन्टको मूल्य अहिले १५ हजार ४९९ हुने भएको छ । रियलमी सी–५५ मा भएको सबैभन्दा मुख्य फिचर यसमा भएको ६४ एमपीको क्यामरा हो । त्यस्तै यसमा सेल्फी क्यामराको कुरा गर्नुपर्दा ८ एमपिको लेन्स छ जसले १०८० पि को भिडियो रेकर्ड गर्न सक्छ । रियलमी सी–५५ मा ५ हजार एमएचको ब्याट्री राखिएको छ जसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्छ । जम्मा २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने क्षमताको ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ । रियलमी सी–५५ मा भएको मेडियाटेक हेलियो जि ८८ चिपसेटले प्रयोगकर्ताहरुलाई सिमलेस युजर एक्स्पिरियन्स प्रदान गर्छ । त्यस्तै यसको अक्टाकोर प्रोसेसरले पावरफुल र प्रभावकारी पर्फर्मेन्स दिन्छ । ६४ बिटको सिपियु र १२ एनएमको चिपसेट भएको हुँदा रियलमी सी ५५ मा पावर इफिसियन्सी हुनुको साथै हिट जेनेरेसन पनि कम हुन्छ, भन्नाले मोबाइल तातिने समस्या कम हुन्छ ।
ग्लोबल मनी वीक : कृषि विकास बैंकले सम्पन्न गर्यो वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । कृषि विकास बैंकको प्रदेश कार्यालय वीरगञ्जले ग्लोबल मनी वीकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ‘प्रोटेक्ट योर मनी सेक्युर योर मनी’ भन्ने नारा लिई विश्वब्यापी रुपमा मार्च १८ देखि २४ मार्च सम्म मनाउदै गरिएको ग्लोबल मनी वीक २०२४ नेपालमा समेत विभिन्न संघ संस्थाहरुले देश भरि नै विभिन्न कार्यक्रमहरु गरि मनाउने क्रम जारी रहेको छ । ग्लोबल मनी वीक २०२४ सन् २०१२ देखि प्रत्येक बर्षको मार्च महिनामा यूवा तथा बालबालिकाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्न तथा वित्तीय सचेतना जगाउने उद्देश्यले मनाउने गरिन्छ । ग्लोबल मनी वीक २०२४ को अवसरमा कृषि विकास बैंक प्रदेश कार्यालय बीरगञ्जले बिहीबार बीरगञ्ज स्थित बीरगञ्ज पब्लिक कलेजमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । बैंकको उच्च व्यवस्थापनबाट उप–महाप्रबन्धक डा. बाबूकाजी थापाको उपस्थितीमा भएको कार्यक्रमको अध्यक्षता कृषि विकास बैंक प्रदेश कार्यालय वीरगञ्जका प्रदेश निर्देशक राम प्रसाद गजुरेलले गरेका थिए । कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति तथा वीरगञ्ज पब्लिक कलेजका संस्थापक डा. दिपक शाक्य, प्रिन्सिपल डा. विनय श्रेष्ठ, कृषि विकास बैंक लि. शाखा कार्यालय बीरगञ्जका शाखा प्रबन्धक दिपक बाराकोटी तथा प्रदेश कार्यालय बीरगञ्जका शाखा प्रमुख प्रबिन श्रेष्ठ लगायतका ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो भने उक्त कलेजमा अध्यनरत स्नातक एवं स्नाकोत्तर तहका विद्यार्थीहरु कार्यक्रममा सहभागी भएका थिए । कृषि विकास बैंक लि. प्रदेश कार्यालय वीरगञ्जका शाखा प्रमुख प्रबिन श्रेष्ठले उद्घोषण गर्नु भएको उक्त कार्यक्रमको शुरुवातमा कृषि विकास बैंक लि. शाखा कार्यालय वीरगञ्जका शाखा प्रबन्धक दिपक बाराकोटीले स्वागत मन्तव्य राख्नु हुँदै ग्लोबल मनी वीक २०२४ को शुरुवात सन् २०१२ मा भएको र हालसम्म आइपुग्दा विश्वका १७६ भन्दा बढी देशहरुमा विभिन्न कार्यक्रमहरु गरि मनाउने गरिएको उल्लेख गर्दै कार्यक्रमको महत्वको विषयमा चर्चा गरे । कार्यक्रमको मुख्य श्रोतब्यक्तिको रुपमा रहनु भई उप–महाप्रबन्धक डा.बाबूकाजी थापाले ग्लोबल मनी वीक को अवधारणा, महत्व एवं कृषि विकास बैंककले वित्तीय साक्षरता अभिबृद्धिको लागी गरि रहेको कार्यक्रमहरु साथै बैंकका सेवाहरु बारे समेत संक्षेपमा जानकारी गराए । विभिन्न श्रब्यदृष्यहरुको माध्यमबाट सहभागी विद्यार्थीहरु समक्ष ग्लोबल मनी वीक को उद्देश्य प्रष्ट पार्नुका साथै कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुसंग अन्र्तक्रिया गरिएको थियो । कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति तथा वीरगञ्ज पब्लिक कलेजका संस्थापक डा. दिपक शाक्यले बैंकिङ्ग सेवाहरुमा आएको आधुनिकताले बैंकिङ्ग सरल र सहज हुदै गएको उल्लेख गर्दै बैंकबाट लिएको कर्जाको पूर्ण सदुपयोग तथा वित्तीय अनुशासनको पूर्ण पालना गर्नु पर्ने धारण राखे ।
कम्प्युटर डिजाइनिङमा सफलता चुमेकी शाहिना गरिब केटीहरूलाई पढाउन सहयोग गर्दै
काठमाडौं । शाहिना अत्तरवालाको कथा जति प्रेरणादायी छ त्यति नै मार्मिक पनि छ । उनका आँखामा ठूला सपना थिए, तर घरको परिस्थिति यस्तो थियो कि यी सपना कहिल्यै विपनामा परिणत हुन पाउने छैनन् । शाहिना १४ वर्षकी हुँदा उनका बुबा घरघरमा चुरा बेचेर त्यही पैसाबाट परिवारको गुजारा चलाउँथे । तर, यतिबेला उनका बुवा रोगले थला परे । र, यतिसम्मको अवस्था आयो कि पैसाको अभावमा उनको परिवार फुटपाथमा पुग्याे । यसअघिसम्म शाहिनाका बुबाले उनलाई कम्प्युटर कोर्स गराएका थिए । तर, आर्थिक अभावका कारण उनले पढाइ पनि बीचमै छाड्नुपरेको थियो । तर, भनिन्छ जोश भए कुनै पनि काम गाह्रो हुदैन ! बस भाडा जोगाउन शाहिना पैदलै स्कुल जान थालिन् । यस अवधिमा अलिकति पैसा बचत गरेपछि उनले फेरि कम्प्युटर क्लासलाई निरन्तरता दिइन् । आर्थिक अवस्था सुध्रिएपछि उनका बुबाले केही पैसा आफैं लगानी गरेर अरूबाट ऋण लिएर शाहिनाका लागि सेकेन्ड ह्यान्ड कम्प्युटर किनेका थिए । शाहिना एक प्रतिभाशाली विद्यार्थी थिइन् र मुम्बई विश्वविद्यालयमा आफैं भर्ना भएकी थिइन् । यहाँबाट उनले स्नातक गरिन् र त्यसपछि एनआईआईटीबाट भिजुअल कम्युनिकेसन र डिजाइनमा कोर्स गरिन् । शाहिनाको मिहिनेतले सार्थकता पायो । उनका अनुसार उनले सानैदेखि गरिबी देखे पनि यी सबै संघर्षका बीचमा पनि आफ्नो सिर्जनात्मकतालाई अन्त्य हुन दिइनन् । उनी स्कुलमा धेरै प्रकारका उत्पादनहरू बनाउने गर्थिन् । पछि डिजाइनिङ कोर्सले उनको रचनात्मकतालाई अझ बढायो । यसै आधारमा उनले मुम्बईमा भएको कार एक्सपोमा भाग लिएकी थिइन् । उनले स्कुटरको डिजाइन पनि गरेकी थिइन्, जुन बेंगलुरुमा जुमकारको लन्चको बेला मन पराइएको थियो । जसका कारण उनको बिस्तारै पहिचान बन्न थाल्यो । भाग्य बदलियो र उनले शादी डट कम, बुक माइ शो, विन्जो, इन्स्टाक्रेड र स्टाइलनुकजस्ता ठूला कम्पनीहरूमा उत्पादन डिजाइन गर्ने काम पाउन थालिन् । पछि उनले आफ्नो बुबा बस्ने सडकको छेउमा एउटा घर किनिन् र आफ्ना आमाबाबुको सपना पूरा गरिन् । यी सफलताहरू पछि शाहिनाले अझै मिहिनेत गर्दै निरन्तर अघि बढिरहिन् । संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय कानुन अध्ययन गरेकी शाहिना धेरै पुरस्कारबाट सम्मानित छिन् । उनले देशका धेरै प्रख्यात शैक्षिक संस्थाहरूमा विद्यार्थीहरूलाई उत्पादन डिजाइनबारे लेक्चर दिन्छिन् । यति मात्र होइन, उनले एउटा फाउन्डेसन पनि चलाउँछिन् जसमार्फत उनले बाध्यताका कारण शिक्षा छाडेका झुपडीका केटीहरूका लागि काम गर्छिन् । उनी आफ्नो बस्ती र गाउँका केटीहरूसँग पनि जोडिएकी छिन्, उनीहरूलाई मद्दत गर्दै र केटीहरूको शिक्षाको बारेमा चेतना जगाउने काम गर्छिन् । शाहिनाले बेंगलुरुमा एक जना केटीको शिक्षाका लागि क्राउड फन्डमा पनि मद्दत गरिन्, जो अहिले फरेन्सिक विज्ञान पढिरहेकी छिन् । शाहिनाका लागि उनको सबैभन्दा ठूलो जीत भनेको उनको आमाबाबुले उनलाई उनीजस्तै अन्य केटीहरूलाई सशक्त बनाउन मद्दत गरिरहेका छन् । एजेन्सी
पोखरा अल्ट्रालाइटको फागु पूर्णिमा लक्षित योजना, मंगलबारसम्म १५ प्रतिशतसम्म छुट
काठमाडौं । पोखरास्थित पोखरा अल्ट्रालाइटले फागु पूर्णिमा लक्षित योजना सार्वजनिक गरेको छ । कम्पनीले आउँदो आइतबार अल्ट्रालाइट उडान सेवा लिने पर्यटकका लागि अधिकतम १५ प्रतिशतसम्म छुटको योजना सार्वजनिक गरेको हो । जसअनुसार कम्पनीले ३०, ६० र ९० मिनेटको उडान सेवामा लागू हुँदै आएको शुल्कमा क्रमशः १०, १३ र १५ प्रतिशत छुट दिने भएको छ । छुट मंगलबारसम्म लागू हुनेछ । अल्ट्रालाइट अन्तर्गत सामान्यतया नेपाली पर्यटकका लागि १५, ३०, ६० र ९० मिनेटको प्याकेज दर क्रमश १७ हजार ६ सय, २५ हजार ६ सय, ३८ हजार ४ सय, ५३ हजार एक सय बिस रुपैयाँ निर्धारण हुँदै आएको छ । साहसिक पर्यटकीय गतिविधि अन्तर्गत रहेको पोखरा अल्ट्रा लाइटमार्फत यात्रुले पोखरा शहर, माछापुछ्रे, कपुचे ताल, अन्नपुर्ण हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सक्छन् । पोखरा विमानस्थलबाट उडान र अवतरण हुने उडानमा पाइलट र यात्रु गरी दुई जनाको मात्र सहभागिता हुन्छ । १०० किलोग्राम सम्म वजन भएका यात्रुले यो सेवा लिन सक्ने प्रावधान रहेको छ । पोखरामा सन् १९९७ बाट अल्ट्रा लाइट उडान सेवा सुरू भएको हो । आन्तरिक र बाह्य पर्यटकको विशेष रोजाइमा परेको यो सेवा दक्षिण एसियामै पहिलोपटक नेपालमा सुरू भएको हो ।
बीमा क्षेत्रको निर्वस्त्रपन
गत साता नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई १८ बुँदे निर्देशन जारी गरेको छ । बीमकका प्रदेश, शाखा तथा उपशाखा कार्यालयहरूको न्यूनतम भौतिक पूर्वाधार बनाउनु पर्ने पहिलो निर्देशन छ । कर्मचारीहरूका लागि टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, दराज, बैठक कक्ष, सेवाग्राही कक्ष तथा कार्यालयको समग्र व्यवस्थापनको काम दुई महिनाभित्र गर्न भनिएको छ । यति गर्दा पनि कम्पनीको खर्च बढ्ने भएकाले प्राधिकरणको निर्देशन पालना गर्न महँगो र कठिन हुने बीमकको प्रारम्भिक प्रक्रियाका समाचार बनेका छन् । ‘कर्मचारीहरूका लागि टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, दराज, बैठक कक्ष, सेवाग्राही कक्ष’ नियामकले निर्देशन जारी गर्नु पर्ने र बीमकले यति गर्न पनि कठिन हुने बताउनुले बीमा क्षेत्रको औकात देखिएको छ । यस क्षेत्र ज्यादै नै कमजोर भएको पुष्टि गरेको छ । खुला र प्रस्तिपर्धात्मक बजारमा सेवा प्रदायकले यत्तिका पूर्वाधारलाई आधारभूत मान्नु पर्ने थियो । कर्मचारीको लागि एसीयुक्त वातावरण अनुकूलित कार्यकक्ष, ग्राहकका लागि रुचीअनुसार चियाकफी पिउन पाउने सुविधा, ठूलो स्क्रीनको टिभी, वाईफाईसहितको प्रतिक्षालय, अलि बढी समय बस्नु पर्ने ग्राहकलाई स्वास्थ्यलाभ हुने थेरापीयुक्त सोफा/कुर्सी समयको माग हो, बजारमा भएको अभ्यास र विकास हो । विदेशमा होइन, नेपालमा नै कर्पोरेट क्षेत्रमा ग्राहक कर्मचारीको लागि यस्तो सुविधा पाइन्छ । अर्ब लगानी भएको बैंक वा ठूला कर्पोरेट अफिसमा मात्र होइन, करोडमा चुक्ता पुँजी भएका कलेज, अस्पताल, सूचना प्रविधि लगायत सेवा प्रदायक कम्पनीहरूमा यस्तो सुविधा पाइन्छ । पुर्नबीमा कम्पनीको लागि २० अर्ब, जीवन बीमाको लागि ५ अर्ब र निर्जीवन बीमा कम्पनीको लागि साढे दुई अर्ब रुपैयाँ न्यूनतम पुँजी तोकिएका बीमा कम्पनीहरुले अहिले पनि कर्मचारीलाई बस्ने कुर्सी राख, ग्राहक सेवाको लागि सेवा कक्ष राख, शाखा कार्यालयमा कम्यूटर र प्रिन्टर राख भनेर निर्देशन दिनु नियामक आफैको लज्जाको विषय हो भने त्यति पनि गर्न सकिँदैन भनेर बीमकले भन्छन् भने यो त निर्वस्त्रपन भयो । अर्को व्यवस्था नभएसम्म प्रदेश कार्यालयमा ५ जना, शाखामा ४ जना र उपशाखा २ जना कर्मचारी अनिवार्य रहनुपर्ने प्राधिकरणले भनेको छ । बीमकका शाखा कार्यालयहरूमा अनिवार्य रूपमा अधिकृत स्तरका कर्मचारी कार्यालय प्रमुख हुनुपर्ने भनिएको छ । यति कर्मचारी पनि नराख्दा पनि हुने प्रदेश कार्यालय, शाखा र उपशाखा खोल्न बीमा प्राधिकरणले स्वीकृति कसरी दिएको थियो ? उल्लेखित जनशक्ति विना ती संस्थाहरूले कसरी सेवा प्रदान गर्दै आएका थिए ? भन्ने अर्को महत्वपूर्ण प्रश्न रहेको छ । बीमाशुल्क दाखिला पश्चात बीमालेख जारी गर्न, चेकमार्फत बीमाशुल्क भुक्तानी भएमा बीमितलाई रकम प्राप्त भएपछि रक्षावरण हुने गरी जानकारी गराउन निर्देशनमा भनेको छ । यी सबै पुराना कुरा हुन् । मात्र कार्यान्वयनको अभाव देखियो । मातहतका कार्यालयलाई प्रशासनिक, आर्थिक, दाबी भुक्तानीलगायतका क्षेत्रमा अधिकार प्रत्यायोजन गर्न प्राधिकरणले भनेको छ । कृषि तथा पशुपन्छी बीमामा ५० हजारसम्म एवं मोटर र सम्पत्ति बीमामा २ लाखसम्मको दाबी भुक्तानीलाई प्रदेश एवं शाखा कार्यालयबाट समेत फर्छ्यौट गर्ने गरी अधिकार प्रत्यायोजन गर्न भनिएको छ । यस्तो काम बीमा कम्पनी आफैले गर्नुपर्ने हो । प्राधिकरणले निर्देशन दिएको छ । यसको कार्यान्वयनले बीमा कम्पनीमा कार्यरत कर्मचारीको क्षमता विकास, अधिकार विकेन्द्रीकरण र सेवास्तर सुधारमा मद्दत नै गर्नेछ । प्राधिकरणले बीमकहरूको स्थलगत निरीक्षणमा भेटिएका कैफियतका आधारमा जारी गरिएका १८ बुँदे निर्देशन पालना गर्दा नै कम्पनीहरू सबल बन्ने देखिन्छ । यसले बीमकको सेवास्तरमा पनि सुधार ल्याउने छ ।