टेलिकमले ल्यायो आइसीटी डे अफर, ४९ रुपैयाँमा दिनभरी डाटा र भ्वाईस सेवा
काठमाडौं । नेपाल टेलिकमले ‘आईसीटी डे अफर’ सार्वजनिक गरेको छ । बैशाख २० गते आयोजना हुन लागेको संचार प्रविधि दिवस (आइसीटी डे)का अवसरमा नेपाल टेलिकमले ‘आइसीटी डे’ अफर सार्वजनिक गरेको छ । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी बैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि उक्त अफर सार्वजनिक गरेको हो । यो बैशाख १९ देखि प्रारम्भ हुनेछ र आगामी २०८१ बैशाख २१ सम्म लागु हुनेछ । यस अन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ । कम्पनीका अनुसार यसैगरी डाटा प्याकेज अन्तर्गत १ सय ११ रुपैयाँमा ५ दिन चलाउन सकिने ६ जीबी डाटा, १ सय ९९ रुपैयाँमा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, २ सय ९९ रुपैयाँमा १२ दिन चलाउन सकिने २० जीबी डाटा र ३ सय ९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ । कम्पनीका अनुसार यही अफर अन्तर्गत ७ सय ८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६ सय मिनेट अल नेट भ्वाइस सुविधा र २ सय अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।
कागबेनीमा कलेज बस दुर्घटना, २१ घाइते
म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । काठमाडौंबाट कलेजका विद्यार्थी लिएर मुक्तिनाथ दर्शन गर्न मुस्ताङ आएको प्रदेश-३-०१-००६ ख ६२२ नम्बरको यात्रुबाहक बस मुक्तिनाथबाट जोमसोम फर्किन क्रममा आज बिहान करिब ९ बजे कागबेनीमा दुर्घटना भएको थियो । सडकको घुम्तीको ओरालोमा दुर्घटनामा परेको बसमा सवारमध्ये १४ जना पुरुष र सात महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । बसमा चालकसहित ३० जना सवार रहेका थिए । दुर्घटनामा परेर घाइते भएकालाई स्थानीयबासी, जनप्रतिनिधि र प्रहरीले उद्धार गरी मुस्ताङ जिल्ला अस्पताल पुर्याएका छन् । अहिले घाइतेहरुको उपचार भइरहेको र अवस्था सबैको सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए । प्रारम्भिक अनुसन्धानको क्रममा बसको ब्रेकफेल भएपछि बिच सडकमा नै बस पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बस पल्टिएपछि करिब तीन घण्टा कागबेनी-मुक्तिनाथ सडक अवरुद्ध भएको थियो । जनप्रतिनधि, प्रहरी र प्रशासनको समन्वयमा डोजरको सहायताले दुर्घटनाग्रस्त बसलाई सडक किनारामा पन्छ्याइपछि अवरुद्ध सडक सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।
छानबिन नगरी समाचार हटाउने सर्वोच्चको आदेश संविधानको भावनासँग बाझियो : पत्रकार महासंघ
काठमाडौं । ‘सिधाकुरा डट कम’ का नाममा सर्वोच्च अदालतबाट जारी भएको आदेशबारे नेपाल पत्रकार महासंघले चासो देखाएको छ । मंगलबार महासंघले एक विज्ञप्ती प्रकाशन गर्दै ‘द डार्क फाइल’ श्रृंखलाअन्तर्गत प्रकाशित सामग्री तथा त्यस सन्दर्भमा सर्वोच्च अदालतले लिएको कदम र त्यस सन्दर्भमा दिएको पछिल्लो आदेशलाई गम्भीरताका साथ हेरिएको बताएको छ । ‘नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गर्दै कुनै पनि सामग्री प्रकाशनपूर्व प्रतिबन्ध लगाउन नपाइने व्यवस्था गरेको छ, यो संवैधानिक व्यवस्थाका आधारमा नेपालको प्रेस तथा सम्पादकीय स्वतन्त्रताको फराकिलो परिधिलाई कुनै पनि निकायको आदेश तथा निर्देशनले सीमित गर्न सक्दैन र गर्न पनि हुँदैन भन्ने कुरामा नेपाल पत्रकार महासंघ प्रष्ट छ,’ महासंघका महासचिव रोसन पुरीले जारी गरेको उल्लेख छ, ‘यस सन्दर्भमा सम्मानित सर्वोच्च अदालतको आदेशमा उल्लख भएको ‘यस विषयसँग सम्बन्धित अन्य कार्यक्रम प्रस्तुत निवेदनको अन्तिम निर्णय नभएसम्म उत्पादन, प्रसारण, पुनः प्रसारणलगायत सार्वजनिक गर्ने कुनै कार्य नगर्नुरनगराउनु’ भन्ने विषय र छानबिन बिना सामग्री हटाउने आदेश संविधानको त्यो भावनासँग बाझिने हाम्रो ठम्याइ छ ।’ सञ्चार सामग्री प्रवाह गरेकै विषयलाई फौजदारी कानुन आकर्षित गरी त्यस आधारमा मनाशाय जोकोहीबाट पनि प्रकट हुनु सर्वथा गलत भएको र अदालतको यो कदमले प्रेस स्वतन्त्रतामाथि निरन्तर हमला गर्ने गम्भीर खतरा निम्त्याउन सक्नेतर्फ सचेत हुन जरुरी रहेको महासंघले जनाएको छ । सिधाकुराको विषय अदालत प्रवेश गरेको भए पनि नेपालको संविधानको मर्म, प्रेस स्वतन्त्रताको प्रचलित मान्यता र अभ्यास तथा सम्पादकीय स्वतन्त्रताको प्रवर्द्धनमा कुनै पनि आँच नआउने गरी यो विषयको निरुपण हुनुपर्ने कुरामा पत्रकार महासंघ दृढ रहेको विज्ञप्तिमा छ । त्यस्तै सञ्चारमाध्यममा प्रकाशित र प्रशारित सामग्रीको नियमनको दायित्व प्रेस काउन्सिलको रहेको र त्यो दायित्व काउन्सिलले जस्तोसुकै अवस्थामा पनि गम्भीरतापूर्वक निर्वाह गर्ने महासंघको भनाइ छ ।
नौ महिनामा एक अर्ब ७८ करोड राजस्व सकंलन
अत्तरिया । आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ महिनामा एक अर्ब ७८ करोड ९८ लाख रुपैयाँ राजस्व सकंलन गरेको छ । कार्यालयले चालु आव २०८०/८१ को साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त राजस्व सकंलन गरेको हो । आयकरबाट एक अर्ब एक करोड ६७ लाख रुपैयाँ, मूल्य अभिवृद्धि करबाट ६२ करोड १० लाख रुपैयाँ, अन्तःशुल्कबाट १० करोड ५६ लाख रुपैयाँ, ब्याजबापत तीन करोड ७० लाख रुपैयाँ, बहाल करबाट ९१ लाख रुपैयाँ र स्वास्थ्य सेवा करबाट एक लाख रुपैयाँ राजस्व सकंलन भएको आन्तरिक राजस्व कार्यालय धनगढीका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार कार्यालयको चालु आवका नौ महिनामा दुई अर्ब १० करोड ९६ लाख रुपैयाँ राजस्व सकंलनको लक्ष्य रहेकामा लक्ष्यको ८४ दशमलव ८४ प्रतिशतमात्रै राजस्व सकंलन भएको छ । चालु आवमा तीन अर्ब आठ करोड ४१ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य रहेकामा नौ महिनामा सकंलन भएको राजस्व वार्षिक लक्ष्यको ५७ दशमलव ८० प्रतिशत रहेको सूचना अधिकारी पौडेलले जानकारी दिए । ‘करदाताको कारोबारमा गिरावट आएको छ, बहाल करको दायरा घटेको छ, पूँजीगत खर्च कम छ’, उनले भने, ‘आर्थिक क्रियाकलाप घटेको छ, जसले गर्दा राजस्व सकंलनमा कमी आएको छ ।’ कार्यालयको आव २०७९/८० मा तीन अर्ब ३६ करोड रुपैयाँ राजस्व सकंलनको वार्षिक लक्ष्य रहेकामा दुई अर्ब ५७ करोड ९८ लाख रुपैयाँ मात्रै राजस्व सकंलन भएको सूचना अधिकारी पौडेलले जानकारी दिए । जुन वार्षिक लक्ष्यको ७६ दशमलव ७८ प्रतिशतमात्रै थियो । रासस
बगंलादेशद्वारा हतियार प्रणालीमा एआई लागु नगर्न आह्वान
बगंलादेश । बगंलादेशका विदेशमन्त्री हसन महमुदले हतियार प्रणालीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लागु नगर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । उनले कृषि, चिकित्सा विज्ञान, अन्तरिक्ष अन्वेषण, जलवायु परिवर्तन र रोजगारी सृजनाका क्षेत्रमा एआई प्रयोग गर्न आग्रह गरे । हसनले सोमबार भियनामा आयोजित ‘ह्युम्यानिटी एट द क्रसरोड : अटोनोमस वेपन्स सिस्टम्स एन्ड द च्यालेन्ज अफ रेगुलेसन’ शीर्षकको अन्तर्राष्ट्रिय सम्मेलनमा उक्त धारणा राखेको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विदेशमन्त्रीले स्वायत्त हतियार प्रणालीलाई प्रभावकारीरूपमा नियमन गर्न विश्वव्यापी मापदण्डहरू तय गर्न पनि सुझाव दिए । साथै मानवताको हितका लागि स्वायत्त हतियारलगायत कुनै पनि नयाँ हतियार त्याग्न सबैलाई आग्रह गरे । गाजाको अनिश्चित अवस्थामाथि प्रकाश पार्दै उनले अन्तर्राष्ट्रिय समुदायलाई द्वन्द्व र तनावको नयाँ मोर्चा खोल्न चेतावनी पनि दिए । रासस
सेयर बजारमा १२५ कम्पनीको मूल्य बढ्दा २६ को घट्यो, कारोबार रकममा वृद्धि
काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सेयर बजार नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६ अंकमा कायम भएको छ । त्यस्तै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा दोब्बर बढेको छ । अघिल्लो दिन २ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८० करोडको कारोबार भयो । आज २१५ कम्पनीको सेयर मूल्य बढेको छ भने २६ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ को स्थिर रह्यो । आज सबैभन्दा धेरै शाइन रेसुङगा डेभलपमेन्ट बैंकको १८ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । पोखरा फाइनान्सको १७ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको १६ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कमाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ता अगाडि रहे । आज यस बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । इन्फिनीटि लघुवित्त वित्तीय संथाका लगानीकर्ताले ९.९९ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८.२९ प्रतिशत र बोटलर्स नेपाल तराईका लगानीकर्ताले ७.६२ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै पोखरा फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७.१८ प्रतिशतका दरले गुमाएका छन् ।
कंगारु एजुकेशन १९औं वर्षमा प्रवेश, १५ हजार विद्यार्थीले लिए सेवा
काठमाडौं । कंगारु एजुकेशन फाउण्डेशन १८ वर्ष पूरा गरी १९ वर्षमा प्रवेश गरेको छ । आफ्नो १८औं वार्षिकोत्सवलाई कंगारुले सामाजिक कार्यमा समर्पित गर्दै मनाएको छ । १८ वर्ष अगाडि अप्रिल ३० मा कम्पनीको स्थापना भएको हो । कँगारुले युएसए, न्युजिल्याण्ड, क्यानडा, युके र अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई लक्षित गरी परामर्श लगायतका सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । पछिल्लो समय प्लस टु पछि प्राय विद्यार्थीको रोजाईमा वैदेशिक अध्ययन प्राथमिकतामा पर्ने गरेको छ । कंगारुले काठमाडौंसहित देशका अन्य मुख्य शहरमा पनि शाखा स्थापना गरी सेवा प्रदान गरिरहेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले सम्पूर्ण विद्यार्थी, अभिभावक, कर्मचारी, विदेशस्थित विभिन्न कलेज तथा युनिभर्सिटी, सरोकारवाला लगायत सम्पूर्णप्रति आभार तथा कृतज्ञता ज्ञापन गरेका छन् । ‘विद्यार्थी र अभिभावकको विश्वास र मायाकै कारण हामीले १८ वर्षसम्मको यो अवधिमा परामर्श सेवा क्षेत्रमा उत्कृष्ट पहिचानसहित कम्पनीलाई उभ्याउन सफल भएका छौं,’ तिमिल्सिनाले भने, ‘आगामी दिनमा पनि अझै बढी विश्वास जित्नेमा विश्वस्त छौं ।’ विद्यार्थीको चाहना अनुसारको सेवा प्रदान गरिरहेकाले पनि कम्पनी धेरैको रोजाईमा पर्न सफल भएको उनले बताए । कँगारुबाट १५ हजार भन्दा बढी विद्यार्थीले सेवा लिइसकेको बताएका छन् । यसैबीच, कम्पनीले वार्षिकोत्सवको अवसरमा वर्षेनी सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम गर्ने गरेको छ । यो वर्ष वार्षिकोत्सवको अवसरमा कम्पनीले सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा रक्तदाताहरुको उत्साहजनक सहभागिता रहेको बताइएको छ ।
नवनिर्वाचित सांसद नेम्वाङले भने : बुबाले देखाएको मार्गलाई समाएर इमानका साथ काम गर्छु
काठमाडौं । इलाम क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधि सभाका सांसद सुहाङ नेम्वाङले आफूले इमान्दार र निष्ठापूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलबार इलाममा आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उहाँले इलामेली जनताको शीर झुक्न नदिने गरी इमान्दार र निष्ठापूर्वक जनताको सेवा गर्ने बताएका हुन् । नवनिर्वाचित सांसद नेम्वाङले आफ्नो बुबाले देखाउनुभएको बाटो र उज्यालोलाई समाएर आम मतदाताको एक एक मतको मूल्यांकन हुनेगरी काम गर्ने बताए । त्यस अवसरमा उनले आफूलाई विश्वास गरेर मत दिएको भन्दै आम मतदाताप्रति आभार पनि व्यक्त गरेका थिए । नवनिर्वाचित सांसद नेम्वाङले भने, ‘म एकदमै हर्षित पनि छु । अलिअलि भावुक पनि भएको छ । यो हर्ष र भावुकको एउटा जुन अहिलेको समय छ । म के बाचा गर्न चाहन्छु भने तपाईहरुले संघर्ष गरेर सुरक्षित राखेर ल्याउनुभएको एकएक मत, सुरक्षित राख्नुभएको एक एक मतको मूल्यांकन हुने गरेर, तपाईहरुलाई कुनै पनि संकोच हुन नदिने गरेर म काम गर्नेछु । मैले बुबाले देखाउनु भएको त्यही बाटो र उज्यालोलाई समाएर प्रतिवद्ध हिसावले इमान्दार र निष्ठापूर्वक काम गर्नेछु । तपाईहरुको शीर कहिल्यै पनि झुक्न दिने छैन ।’ नेम्वाङले नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खडकालाई ५ हजार ८३० मतको फराकिलो अन्तरले पराजित गरेका थिए । संविधान सभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको सो क्षेत्रमा एमालेले उनका कनिष्ठ सुपुत्र सुहाङलाई उम्मदवार बनाएको थियो ।