विकासन्युज

यातायात व्यवस्था विभागका कर्मचारीलाई प्रधानमन्त्रीले भने- सवारी लाइसेन्समा उठेका प्रश्नहरू समाधान गर्नुस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याहरूको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरू बोलाएर छलफल गरेका छन् । सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था, विभागको सिष्टम देखिएका समस्या, जनतास्तरमा उठेका विषयहरू र विभागले निर्वाह गर्नुपर्ने भूमिका लगायतका विषयमा केन्द्रित रहेर विभागसँग छलफल गरेका हुन् । छलफलमा प्रधानमन्त्रीले लाइसेन्सका सम्बन्धमा जनस्तरमा असन्तुष्टि र आक्रोश देखिएको बताउँदै त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिए । प्रधानमन्त्रीले भने, ‘सवारी चालक अनुमतिपत्रका बारे बाहिर गम्भीर प्रश्नहरू उठेका छन्, यसमा जनताले गम्भीर आलोचना, असन्तुष्टि, आक्रोश देखिन्छ, खासगरी युवाहरूले समयमै सेवा नपाएको लगायतका गुनासो राख्ने गरेका छन्, लाइसेन्स जसरी बितरण हुनुपथ्र्यो, त्यस्तो भएको छैन, नक्कली लाइसेन्स बितरणको कुरा पनि मैले सुनेको छु, यो समस्यालाई मैले गम्भीरतापूर्वक लिएको छु, यो समस्या तत्काल समाधान गर्नुस् ।’ छलफलमा उनले लाइसेन्सको डिजिटल सिष्टमलाई व्यवस्थित गर्नसमेत निर्देशन दिए । ‘यो नीतिगत समस्या हो कि संरचनागत हो वा हाम्रो नियतमा समस्या हो ? यसको गम्भीरता हेरी सोहीअनुरूप निरूपण गर्नुपर्छ,’ प्रधानमन्त्रीले भने, ‘तसर्थ, जनतास्तरमा उठेका जिज्ञासा र प्रश्नहरूको गम्भीरतापूर्वक समाधान गर्नुस्, भइरहेको सिष्टमलाई अपडेट र अपग्रेड गर्दै नयाँ सिष्टममा अगाडि जाने तयारी गर्नुस् ।’ उक्त क्रममा प्रधानमन्त्रीले नीति तथा कार्यक्रम र बजेटको समय भएकाले कस्तो नीति र उपायहरू अपनाउँदा यस क्षेत्रको समस्या समाधान हुन्छ, त्यसबारे ठोस सुझाव प्रस्तुत गर्नसमेत निर्देशन दिएका छन् । छलफलमा मुख्यसचिव डा. बैकुण्ठ अर्याल, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजाल लगायतका अधिकारीहरूको उपस्थिति थियो ।

नाकाका हेल्थ डेस्कका स्वास्थ्यकर्मीले पाएनन् १० महिनादेखि तलब

दोधारा चाँदनी । कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखिको तलब पाएका छैनन् । नाकामा जोखिम मोलेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मी लामो समयदेखि पारिश्रमिक नपाउँदा निराश छन् । गड्डाचौकीस्थित हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन लक्ष्मी रिमाल धामीले साउनयता तलब नपाउँदा घर खर्च चलाउनै मुस्किल परिरहेको गुनासो गरे । ‘साउनदेखि तलब पाएका छैनौँ, अब त खर्च चलाउनसमेत गाह्रो भइसक्यो’, धामीले भने, ‘तबलको कुरा गर्दा बजेट पास भएको छैन, काम गर्दै गर्नुस् भनेको १० महिना भइसक्यो ।’ गड्डाचौकी हेल्थ डेस्कमा ११ स्वास्थ्यकर्मी कार्यरत छन् । लामो समयदेखि तलब नपाएपछि स्वास्थ्यकर्मी आइतबारदेखि हातमा कालोपट्टि बाँधेर काम गरिरहेका छन् । ‘हामीले पटकपटक माथिल्लो निकायमा जाहेर गर्दा पनि हाम्रो समस्या समाधान हुन नसकेपछि बाध्य भएर हातमा कालोपट्टि बाँधेर काम गरिरहेका छौँ’, उनले भने, ‘अब पनि हाम्रो पारिश्रमिक आएन भने आउँदो जेठ १ गतेदेखि सेवा नै बन्द गर्छौं ।’ उनले स्वास्थ्य कार्यालय र जिल्ल्ला प्रशासन कार्यालयमा आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको बताए । हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट विशाल भट्टले पारिश्रमिक मात्रै होइन करार पनि थप नभएको बताए । ‘काम गर्दै गर्नुस् करार थपिन्छ भन्छन्, न करार थपिन्छ, न पारिश्रमिक आउँछ’, भट्टले भने, ‘महिनौँदेखि तलब नपाउँदा दैनिकी चलाउन समस्या भइसक्यो ।’ गड्डाचौकीस्थित हेल्थ डेस्कका इञ्चार्ज प्रेमसिंह भण्डारीले बजेट अभाव देखाएर स्वास्थ्यकर्मीको तलब नआएको बताए । ‘माथिल्लो निकायमा जाहेर गर्दा बजेट निकासा भएको छैन भन्ने जवाफ आउँछ’, भण्डारीले भने, ‘स्वास्थ्यकर्मीले तलब नपाएपछि सेवा नै बन्द हुने अवस्थामा पुगेको छ ।’ उनले स्वास्थ्यकर्मीले एक साता हातमा कालोपट्टि बाँधेर काम गर्ने र त्यसपछि पनि सुनुवाइ नभए सेवा नै बन्द गर्ने चेतावनी दिएका छन् । सुदूरपश्चिमको गौरीफन्टा र गड्डाचौकीसँगै बैतडीको झुलाघाट र दार्चुलामा गरी चार स्थानामा हेल्थ डेस्क स्थापना गरिएको छ । हेल्थ डेस्क स्थानीय तहहरुले स्थापना गरे पनि कर्मचारीको व्यवस्थापन स्वास्थ्य सेवा विभागले गर्दै आएको छ । विभागबाटै बजेट निकासा नभएका कारण सुदूरपश्चिमका चार वटै हेल्थ डेस्कमा करारमा कार्यरत स्वास्थ्यकर्मी २७ जना छन् । स्वास्थ्यकर्मीले साउनयता तलब नपाएको प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड स्थानीय स्रोत व्यक्ति हेमराज जोशीले बताए । ‘सङ्घीय सरकारबाट बजेट निकासा नहुँदा साउनयता तलब दिन सकिएको छैन’, जोशीले भने, ‘बजेट निकासाका लागि अर्थ मन्त्रालयमा फाइल अगाडि बढाएका छौँ ।’ रासस

कुवेत लगेर मानव बेचबिखन गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पुर्याएर मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउपर्नेमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बस्ने ४७ वर्षीय श्यामबाबु बराकोटी रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार निजलाई जिल्ला प्रहरी कार्यालय धादिङको समन्वयमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको टोलीले धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बाट पक्राउ गरेको हो । पक्राउ परेका बराकोटीले पीडितलाई सरकारबाट श्रम स्वीकृति लिन लगाएपछि वैदेशिक रोजगारीका लागि कुवेत पठाइदिने भनी झुक्याएर विसं २०७९ माघ २५ गते भिजिट भिसामा कुवेत पु¥याएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कुवेतको विमानस्थलमा देखाउने कागजात फरक बनाइ पठाएको, कुवेतको विमानस्थलमा पुगेपश्चात् जाहेरवालाको सक्कल नेपाली राहदानीलगायत कागजात नियन्त्रणमा लिई श्रीलङ्कन मूलको एजेन्टलाई जिम्मा लगाएको र कुवेती नागरिकको घरमा पुर्याइ बेचविखन गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रवक्ता ढकालले जानकारी दिए । उनले भने, ‘पीडितले कुवेतमा काम नगर्ने नेपाल फिर्ता गरिदिन भनी आग्रह गर्दा रु पाँच लाख रकम माग गरेको र नेपालमा रहेका आफन्तलाई सम्पर्क गरी बराकोटीले उपलब्ध गराएको खातामा रु तीन लाख रकम जम्मा गरेपश्चात् पीडित कुवेतबाट विसं २०७९ फागुन २१ गते स्वदेश फर्कन सफल भएको बुझिएको छ । अन्य अनुसन्धान भइरहेको छ ।’ पक्राउ परेका बराकोटी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप भई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरुकोसमेत प्रहरीले खोजी गरिरहेको प्रवक्ता ढकालले जानकारी दिए । रासस

औपचारिक रूपमा सुरु भयो इनड्राइभ

काठमाडौं । ग्रालोबल मोबिलिटी र अबर्न सर्भिस प्लेटफर्म इनड्राइभले आजदेखि औपचारिक रूपमा नेपालमा सेवा सुरु गरेको छ । इनड्राइभले सोमबार पत्रकार सम्मेलन गर्दै औपचारिक रूपमा कम्पनीमा दर्ता भएर सेवा दिन थालेको जानकारी दिएको छ । इनड्राइभले दर्ता बिना करिब ३ वर्ष सेवा दिइसकेको छ । कम्पनीले औपचारिक सेवा दिन थालेसँगै चालकबाट कमिसन लिन थालेको छ । यसअघि चालकबाट कमिसन नलिने कम्पनीले आजदेखि १० प्रतिशत कमिसन लिने पनि बताएको छ । पत्रकार सम्मेलनमा इन्ड्राइभको एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले भनिन्, ‘एउटा ब्राण्डको रूपमा इन्ड्राइभको मिशन भनेको अन्यायलाई चुनौती दिँदै १ अर्बभन्दा बढी मानिसहरूका लागि विश्वमा राम्रो ठाउँ बनाउनु हो, इन्ड्राइभ अब आधिकारिक रूपमा नेपालमा सुरु भएको घोषणा गर्न पाउँदा हामी उत्साहित छौं, इन्ड्राइभले संसारभरका मानिसहरूलाई छनोटको स्वतन्त्रता दिन्छ, हाम्रो लागि नेपालको बजार अत्यन्तै महत्तवपूर्ण छ र हाम्रा सेवाहरूले नेपाली बजारमा नवीनता ल्याउने र रोजगारी प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।’ कम्पनीले काठमाडौंका साथै पोखरा र धरानमा पनि आफ्नो सेवा सुरु गरेको छ । कम्पनीका अनुसार छिट्टै अन्य सहरमा सेवा सुरु गर्नुका साथै कुरियर र कार्गो सेवा पनि थाल्ने जानकारी दिएको छ । ‘नेपालमा इन्ड्राइभको आधिकारिक सुरुवातले यहाँको राइड–हेलिङ उद्योगमा नयाँ अध्यायको सुरुवात गरेको छ । हाम्रा प्रयोगकर्ताहरूलाई निर्वाध र सुरक्षित भुक्तानी गर्न सजिलो होस् भनेर हाम्रो पेमेन्ट पार्नरको रूपमा हामीले आइएमईसँग साझेदारी गरेका छौं,’ इन्ड्राइभ नेपालकी डाइरेक्टर रीता पोखरेलले भनिन् । पछिल्लो समय ट्राफिक प्रहरीले दर्ता बिना चलेको भन्दै इनड्राइभका राइडरहरूलाई रोक्ने र कारबाही गर्ने गरेको थियो ।

प्राधिकरणले रोक्यो सिटिजन लाइफको अन्तरिम लाभांश

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सिटिजन लाइफ इन्योरेन्सको अन्तरिम लाभांश रोकेको छ । कम्पनीले सेयरधनीका लागि अन्तरिम लाभांश घोषणा गरेपनि नियामक प्राधिकरणले भने सो लाभांश वितरण नगर्ने अडान राख्दै प्रक्रिया रोकेको हो । सिटिजन लाइफले सोमबार २८.४  प्रतिशतसम्म लाभांश वितरण गर्ने घोषणा गरेको थियो । बैशाख २३ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजी ३ अर्ब ९३ करोड रुपैयाँको २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश गरी कुल २८.४ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने घोषणा थियो । तर, प्रक्रिया  नअपनाएको भन्दै प्राधिकरणले सो लाभांश रोकेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणले रोकेसँगै अब सेयरधनीले लाभांश पाउने छैनन् । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल कम्पनीले प्राधिकरणको स्वीकृति नलिई लाभांश घोषणा गरेपछि लाभांश वितरण गर्न नदिने निर्णय गरेको बताउँछन् । प्राधिकरणले पत्र काटेर लाभांश वितरण नगर्न निर्देशन दिएको उनको भनाइ छ । ‘प्राधिकरणको स्वीकृति नलिई कम्पनीले लाभांश वितरण गर्न पाउँदैन,  बीमा ऐनअनुसार नियामकबाट स्वीकृति लिएर लाभांश घोषणा गर्नुपर्छ । तर, कम्पनीले पहिला लाभांश घोषणा गरेपछि मात्रै स्वीकृतिका लागि प्राधिकरणमा पत्र पठाएको छ,’ उनले भने, ‘पहिला प्रस्ताव गरेर बीमा प्राधिकरणको स्वीकृति पाएपछि मात्रै घोषणा गर्नुपर्छ । तर, कम्पनीले उल्टो प्रक्रिया अपनायो ।’ कम्पनीले लाभांश प्रस्ताव गरेर प्राधिकरणको स्वीकृतिका लागि आउँदा दिने हो भन्ने प्रश्नमा पौडेलले भने, ‘यो वर्ष कम्पनीले लाभांश बाँड्न पाउँदैन, यस वर्षका लागि ‘च्याप्टर क्लोज’ भयो । अब अर्को आर्थिक वर्ष मात्रै बाँड्न पाउँछ ।’ सिटिजन लाइफले सेयर प्रिमियमबाट प्राप्त रकमबाट बाेनस सेयर वितरण गरी पुँजी ५ अर्ब रूपैयाँ पुर्याउने लागेको थियो । यसअघि कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरि कुल ५.२६३२ प्रतिशत वितरण गरिसकेको छ । कम्पनीले वार्षिक साधारणसभा पनि गत माघमा नै सम्पन्न गरेको थियो ।

जनकपुरमा पेस्तोल देखाएर सहकारीका कर्मचारीबाट ८० लाख लुटियो

काठमाडौं । जनकपुरधाममा हतियारधारीले सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेका छन् । शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटेको प्रहरीले जनाएको छ । महतोले मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका १९ बाट आफ्नो साथमा भएको रकम लुटेको जनाएका छन् । महतो बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै गरेको बताइएको छ । धनुषा प्रहरीले घटनाका विषयमा अनुसन्धान भईरहेको जनाएको छ ।

फ्लाईओभर निर्माण लापरबाहीले सर्वसाधारणलाई सास्ती (तस्बिरहरू)

ललितपुर । इमाडोलका सुमन तामाङ दैनिक कार्यालय जान ग्वार्को हुँदै सातदोबाटोको बाटो प्रयोग गर्छन् । उनि सधै त्यहीँबाटो भएर आफ्नो दैनिक कार्यालय जानेआउने गर्छन् । काममा जाँदा आउँदा सधै उनलाई एउटा पीरले सताउँछ। ग्वार्को चोकमा निर्माणधीन फ्लाइओभरको अव्यवस्थित निमार्ण सामग्री र सवारीजामले उनलाई सधै पीरोल्ने गरेको उनी बताउँछन् । दैनिकी ग्वार्को चोकबाट सातदोबाटो तर्फ करिब सय मिटर सडकमा जोगिएर हिड्नुपर्ने हुन्छ । फ्लाइ ओभर निर्माण भइरहेको स्थलको भित्रबाट निस्किएको फलामको रडहरूले गर्दा निकै जोखिम मोलेर हिड्नु पर्ने बाध्यता रहेको उनि बताउँछन् । जाम खुल्दा सार्वजनिक सवारीहरु पेलिएर आउँदा निकै डराउदै हिड्नु पर्ने उनी बताउँछन् । उनि जस्तै साना सवारि होस या ठुलो सवारि त्यसरि नै जोगिदै हिड्नु पर्ने बाध्यता छ । रड मात्र नभैइ फ्लाइ ओभर निर्माण स्थल ढाकिएका जस्ताबाट निस्किएका निर्माण सामग्रीले गर्दा जोगिएर हिड्नु पर्ने बाध्यता रहेको सवारी चालकहरुको गुनासो रहेको छ । निर्माण स्थलमा फलाम र जस्ताले ढाकिएको छ । निर्माण स्थल ढाकिएका ठुला डिभाइडर भित्रबाट रड निस्किएको छ । निर्माण कम्पनीले पहिलो प्राथमिकता सडकमा ओहोर दोहोर गर्ने सवारीसाधनलाई सम्भावित दुर्घटनाबाट जोगाउनु नै हो । तर, ग्वार्कोबाट सातदोबाटो जाने तर्फको करिब सय मीटर क्षेत्रमा डिभाइडरबाट ठुला–ठुला रड निस्किएका छन् । सडकमै निस्किएको उक्त रडले ठुलै दुर्घटना निम्तयाउन सक्ने र जोगिएर हिड्नु पर्ने बाध्यता रहेको सवारि चालकहरुको गुनासो छ । कतै भने ढाकिएका पुराना जस्ता फुत्किएका र भित्रका निर्माण सामग्री बाहिर सडकमा निस्किएका दृश्य समेत देख्न पाइन्छ । निर्माण क्रममा सडकबाट निकालिएका फलामेबारहरु पनि बेबारिसे अवस्थामा फालिएको छ । काठमाडौं चक्रपथमा सवारी आवागमनको चापलाई व्यवस्थापन गर्न सरकारले ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभर निर्माण कार्य गरिरहेको छ । फ्लाइ ओभर निर्माणका लागि नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयक सडक विभाग गुणस्तर अनुसन्धान र विकास केन्द्र विभागले जिम्मा लिएको छ र ठेक्का सम्झौता अनुसार आशिष समानान्तर रेलिगेर जेभी निर्माण कम्पनीले काम गरिरहेको छ । निर्माण कार्य भई राख्दा अहिले ग्वार्को क्षेत्रमा सवारी जाम उच्च छ र वैकल्पिक बाटो सानो र जामले निर्माण स्थल हुदै हिड्नु पर्ने बाध्यता छ ।