
काठमाडौं । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको एक वर्ष म्याद थप गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको एक वर्ष म्याद थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति रक्षा मन्त्रालय अन्तर्गत रहेको बताइन् । समितिले पूर्वाधारका कामहरु गरिरहेको पनि बताइन् । यसअघि चार वर्षको लागि समय तोकिएको र सो समयावधि वैशाख २६ गते सकिने भएकाले आजको बैठकबाट एक वर्ष म्याद थप गर्ने निर्णय भएको जानकारी दिइन् ।
उनले भनिन्, ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति भन्ने हाम्रो रक्षा मन्त्रालय अन्तर्गत विकास समिति गठन आदेशबाट सञ्चालित भइरहेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय छ । अहिले नयाँ विधेयक बनि नसकेको, कानून बनि नसकेको र गठन आदेशको समय पनि पूरा हुँदै गइरहेको हुनाले हाम्रो आउने नियमित क्याबिनेटको बैठकसम्म गठन आदेश पनि खारेज हुने अवस्थामा पुग्ने भएकाले एक वर्ष म्याद थप गर्ने निर्णय गरिएको छ ।’
सरकारले सरकारको नियमित मन्त्रीपरिषद्को बैठक बस्ने दिनसम्म समितिको म्याद सकिसकेको हुने भएकाले आज नै बैठक बस्नुपरेको पनि स्पष्ट पारिन् ।