विकासन्युज

दैलेख बजारमा भीषण आगलागी

काठमाडौं । दैलेख बजारमा भीषण आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट आगो सल्किएको थियो । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको र त्यसका लागि दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय परिचालित गरिएको दैलेख प्रहरीले जनाएको छ ।

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम गर्न नजान निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई निर्देशन जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले जुन उद्देश्यका लागि बिदा लिएको हो सोही उद्देश्यअनुसार त्यसको सदुपयोग गर्न आग्रह गरेका छन् । उनले चिकित्सक, स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई अध्ययन, असाधारण, घर बिदा, बिरामी बिदा, भैपरी आउने र पर्व बिदा जस्ता बिदा लिई निजी संस्था तथा गैरसरकारी संस्थामा गई कार्य गर्नेलाई प्रचलित कानुन अनुसार कारबाही गर्ने बताए । ‘केही चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीले जुन उद्देश्यका लागि बिदा लिएका हुन् सोही अनुसार बिदा उपयोग नगरी निजी स्वास्थ्य संस्थामा, विदेशी स्वास्थ्य संस्था एवम् गैरसरकारी सङ्घ संस्थामा गई कार्य गरेको जानकारी प्राप्त हुन आएकाले त्यस्ता कार्य नगर्नु, नगराउनु हुन अनुरोध गर्दै आ–आफ्नो पदीय मर्यादा, व्यक्तिगत आचरण एवम् पेसागत अनुशासनमा रही कार्य गर्नुहोला’, सचिव बुर्लाकोटीद्वारा जारी निर्देशनमा उल्लेख छ । केहीले विदेशमा समेत गई कार्य गरी आफू जिम्मेवार रहेको निकायमा चिकित्सकीय तथा स्वास्थ्य सेवा प्रवाह नगरी गैर जिम्मेवारीपूर्ण कार्य गरेकाले प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही गरी स्वीकृत गरेको बिदा रद्द गर्न विभिन्न निकाय तथा सेवाग्राहीबाट गुनासो प्राप्त भएको सचिव बुर्लाकोटीले उल्लेख गरेका छन् । नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ र स्वास्थ्य सेवा नियमावली, २०५५ मा सबै सरकारी कर्मचारीको समय नेपाल सरकारको अधिनमा हुने र बिदा अधिकारको कुरा होइन सहुलियत मात्र हो भन्ने स्पष्ट कानूनी व्यवस्था रहेको उल्लेख गर्दै कर्मचारीले नियमावली अनुसार बिदा लिन पाउने भए पनि जुन उद्देश्यले बिदा लिएको हो सोही प्रयोजनमा उपयोग गर्न उनले आग्रह गरे । बिदाको उद्देश्यविपरीत निजी स्वास्थ्य संस्थामा काम गरेको पाइएमा सम्बन्धित निकायले स्वीकृत गरेको बिदा रद्द हुनुको साथै नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ र नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ तथा सेवा सञ्चालन सम्बन्धि प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुने र सोको लागि सम्बन्धित व्यक्ति स्वयम् जिम्मेवार हुनुपर्ने सचिव बुर्लाकोटीले बताए । यस्तै स्वदेशी तथा विदेशी निजी संस्थाले सरकारी चिकित्सक, स्वास्थ्यकर्मी एवम् कर्मचारीले त्यस्तो कार्य भए गरेको देखिएमा मन्त्रालयमा जानकारी गराउनसमेत आग्रह गरिएको छ । रासस

तराईभन्दा पहाडमा फैलिँदै डेंगी

काठमाडौं । गर्मीसमय सुरु भएसँगै देशका विभिन्न जिल्लामा डेंगीको संक्रमण फैलिन थालेको छ । अहिले दैनिक ६ देखि ७ जनामा डेंगी संक्रमण फैलिने गरेको एइपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभरिका स्वास्थ्य संस्थाहरूबाट संकलन गरिएको विवरणअनुसार दैनिक ६ देखि ७ जनामा डेगी संक्रमण देखिएकाे छ । देशभरि संक्रमितको संख्या हेर्दा तराईभन्दा पहाडमा  बढी भएकाे महाशाखाले जनाएको छ । पछिल्लो समय लामखुट्टे पहाड चढेकाले संक्रमणदर पनि बढ्दै गएको छ । सन २०२४ को जनवरीदेखि मे ५ तारिखसम्मको तथ्यांकअनुसार ८ सय जनामा डेंगी संक्रमण पुष्टी भएको छ । झापा, धादिङ,पाल्पा, संखुवासभा लगायतका विभिन्न जिल्लामा संक्रमण देखिएको महाशाखाले जनाएको छ । अहिले डेंगी संक्रमण फैलिरहेकाले सर्तकता अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन् । डेंगी लामखुट्टेकाे टाेकाइबाट मानिसमा सर्ने रोग हो । यो सरुवा रोग नभए पनि लामखुट्टेको टोकाइबाट अर्को व्यक्तिमा सर्ने र फैलने गर्छ । एडिज प्रजातिको लामखुट्टेले टोक्दा डेंगी लाग्ने गर्दछ । यो लामखुट्टे पानीमा जन्मने र हुर्केने गर्छ । यो रोगबाट बच्नु लामखुट्टेको टोकाइबाट बच्नु हो । डेंगी संक्रमण भएको व्यक्तिमा टाउको दुख्ने, उच्च ज्वरो आउने, मांशेपसी र जोर्नी दुख्ने गर्छ । गत वर्ष धरानमा मनसुनअघि नै डेंगी संक्रमण फैलिएको थियो । त्योभन्दा पहिलेका वर्षमा काठमाडौं र चितवनमा डेंगी महामारीका रूपमा फैलिएको थियो । पहिले महामारी फैलिएको ठाउँमा फेरि पनि जोखिम हुन्छ तर, अन्य ठाउँमा पनि यसको जोखिम हुन्छ । महाशाखाले महामारी नियन्त्रणका लागि अहिले फाट्टफुट्ट लामखुट्टे देखा परेका स्थानीय तहहरूलाई नियन्त्रणका लागि निर्देशनपत्र पठाइसकेको छ । संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन लामखुट्टेको टोकाइबाट बच्न घरवरिपरी सरसफाइ गर्नुपर्ने बताउँछन् । यसका लागि घर आसपास पानी जम्न नदिने, पानी राखिएको भाँडा पनि खुल्ला राख्न नहुने र लामखुट्टेको टाकाइबाट बच्नु नै रोग लाग्न नदिने उत्तम उपाय हो । घरको झ्यालमा जाली लगाउने, राति सुत्दा झुलको प्रयोग गर्ने, भान्सा र शौचालय सफा राख्नु पनि यसबाट बच्ने उपाय हो । डेंगी सार्ने लामखुट्टे दिउँसोको समयमात्र सक्रिय हुने भएकाले शारीर छोप्ने लुगा लगाउनुपर्छ। डेंगीको उपचार के हो भन्ने विषयमा स्वंय चिकित्सक पनि अलमालमा छन् । डा. पुन यसको औषधी अहिलेसम्म नबनेको बताउँछन् । उनी रोगसँग लड्नसक्ने क्षमता अथवा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै यसको उपचार रहेको बताउँछन् । डेंगी लागेको शंका लाग्नेबित्तिकै स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ । यो संक्रमणले रगतको प्लेटलेट्सको संख्या घट्छ । यस्तो बेलामा खानपानमा ध्यानदिनुपर्ने उनको भनाइ छ ।

इआईए प्रक्रियामा अल्झियो मझगाउँ विमानस्थल पुनर्निर्माण

महेन्द्रनगर । कञ्चनपुरको मझगाउँ विमानस्थल पुनर्निर्माणका लागि ठेक्का दिइएको दुई वर्ष बितिसक्दा पनि प्रक्रियागत अल्झन्का कारण प्रभावित बनेको छ । विमानस्थल पुनः सञ्चालन गर्न पुनर्निर्माण गर्न लागिएको हो । जग्गाको स्वामित्व प्राप्त गर्नुअघि यहाँ वातावरणीय प्रभाव मूल्यांकन (इआईए) का लागि पहल थालिएको लामो समय बितिसक्दा पनि काम हुन सकेको छैन । यहाँस्थित महेन्द्रनगर विमानस्थल कार्यालयका प्रमुख मीनराज ओझाले ईआइए गर्न सहमति पत्रका लागि राष्ट्रिय निुकञ्ज तथा वन्यजन्तु विभागमा पत्राचार गरेको १० महिना बितिसकेको बताए । ‘विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई रायसहित प्रतिवेदन पढाउन भनेको र सोही अनुसार राय पठाएको पनि चार महिना भइसक्यो,’ उनले भने, ‘तर, विभागबाट ईआइएका लागि सहमतिपत्र नआउँदा निर्माण प्रभावित बन्यो ।’ विमानस्थलको दक्षिणतर्फ रहेको रत्नवाटिका र नेपाली सेनाको केही भू-भाग विमानस्थल स्तरोन्नतिमा मासिन जान्छ । सोही जग्गा प्राप्तिका लागि विमानस्थल प्रयासरत भए पनि इआईए लगायतका प्रक्रियागत ढिलाइले पुनःनिर्माणमा ढिलाइ भइरहेको छ । ‘इआईएका लागि इञ्जिनियरिङ कन्सल्टेन्सी नियुक्त गरिसकेका छा,’ उनले भने, ‘इआईएको सहमतिपत्र नआएसम्म काम ढिलाइ हुँदै जाने अवस्था छ ।’ पहिलो चरणको निर्माणअन्तर्गत रत्न वाटिकासम्म धावन मार्ग लगायतका संरचना बनाउन विमानस्थल कार्यालय सक्रिय छ । ‘धावन मार्ग रत्न वाटिकासम्म काम गर्न पाए एक हजार पाँच सय २५ मिटर लम्बाइको बन्छ,’ कार्यालय प्रमुख ओझाले भने, ‘सेनाको समेत जग्गा प्राप्ति भए धावन मार्गको लम्बाइ एक हजार आठ सय मिटर पुग्छ ।’ उनले एक हजार आठ सय मिटर धावन मार्गसहितको विमानस्थल पुनःनिर्माण दोस्रो चरणमा पूरा हुने बताए । पहिलो चरणको निर्माणका लागि ४५ करोड रुपैयाँको ठेक्का दिइएको र हाल ३६ प्रतिशत काम सकिसकेको छ । ‘रत्न वाटिका क्षेत्रसम्म काम गर्न पाए ९० निर्माण सकिन्थ्यो,’ उनले भने, ‘माथिल्लो निकायमा पहल गरिदिने मान्छे भइदिए हुन्थ्यो ।’ उता विमानस्थलको क्षेत्र पढाउँदा आफ्नो जमिन परे पनि सेनाले सहजीकरण गरिरहेको छ । सेनाको निकुञ्ज सुरक्षार्थ खटिएको युनिटको खेल मैदानलगायत केही संरचना पर्ने देखिन्छ । ‘सेनाले खेल मैदानका लागि अन्यत्र जग्गा र परेका भौतिक सरंचना निर्माण गरिदिने आशय व्यक्त गरेको छ,’ उनले भन सेनाबाट सहजीकरण नै छ ।’ ओझाका अनुसार अहिले पनि जग्गाको स्वामित्व प्रक्रियामै रहेको र मन्त्रिपरिषद्को निर्णय हुन बाँकी छ । भीमदत्त नगरपालिकाको १५, दोधारा चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशत गरी तीनै तहको साझेदारीमा विमानस्थल निर्माण भइरहेको हो । तीन वर्षभित्र निर्माण सक्ने गरी कान्छाराम/केएस/उमा एण्ड कम्पनीसँग ४५ करोड ६६ लाख रुपैयाँमा सम्झौता भएको छ । निर्माणको समयावधि आगामी पुस महिनासम्म छ । पहिलो चरणमा धावनमार्गसँगै ट्याक्सी वे र एप्रोनलगायत काम हुनेछ । दोस्रो चरणमा टर्मिनल भवनदेखि पहुँचमार्ग निर्माण गरिने आयोजनाले जनाएको छ । विसं २०३४ देखि २०५७ सम्म सञ्चालनमा रहेको उक्त विमानस्थल संकटकालका बेला सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो ।

कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान

नवलपुर । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्डमा कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान गरिएको छ । सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सडक विस्तारको काम चाँडै सम्पन्न गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान गरेको जनाएको हो । कम्पनीका ठेक्का सहव्यवस्थापक राकेश झाले नारायणगढ–बुटवल सडकको कालोपत्र गर्ने काम चाँडो सम्पन्न गर्न प्रतिघण्टा चार सय मेट्रिक टन क्षमताको ‘हटमिक्स प्लान्ट’ जडान गरिएको बताए । प्लान्टमा बालुवा, ढुङ्गा, गिट्टी र अलकत्र हालेपछि मेसिनले आफैँ अलकत्रलाई पगालेर अस्फाल्ट (कालोपत्र गर्ने तयारी कच्चा पदार्थ) बनाएर पठाउने उनले बताए । यस प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सकेको खण्डमा जडित क्षमताको ८० प्रतिशतसम्म कार्य क्षमता हुने भन्दै उनले दैनिक दुई किलोमिटरसम्म कालोपत्र गर्न सकिने बताए । प्लान्ट कावासोती–१६ स्थित सुक्खा खोलाको किनारमा जडान गरिएको छ । यहाँबाट उत्पादन भएको अस्फाल्टले एकैपटक तीन/चार स्थानमा कालोपत्र गर्न सक्ने अवस्था रहेको झाको भनाइ छ । ‘अहिले सडकमा सब बेस र बेस तयार भएको ठाउँमा कालोपत्र गरिरहेका छौँ’, उनले भने, ‘विभिन्न कारणले गर्दा हाम्रो हटमिक्स प्लान्ट पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन ।’ दैनिक आठ घण्टामात्र प्लान्ट सञ्चालन हुने हो भने पनि १० दशमलव ५० मिटर चौडाइ र ६० मिलिमिटर मोटाइमा दैनिक दुई किलोमिटर कालोपत्रको कार्य सजिलै गर्न सकिने उनले बताए । नारायणगढ–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले यस सडक विस्तारका लागि जडान गरिएको प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा आउन नसक्दा आयोजनालाई केही फाइदा नभएको बताए । ‘सडक विस्तारका लागि आवश्यक पर्ने जनशक्ति तथा उपकरण पनि न्यून परिचालन भएको छ’, उनले भने, ‘यो लामो दिनमा पनि दैनिक ८/९ घण्टाभन्दा बढी काम हुन सकेको छैन, जसले गर्दा काममा ढिलाइ भएको छ ।’ बाटो सम्याउने ग्रेडर आवश्यकताभन्दा आधा कम भएको भन्दै उनले १५ वटा ग्रेडरले सम्याएर बेस बनाउँदा समय लाग्ने र कालोपत्रको काम ढिला हुने बताए । ‘प्लान्टलाई पूर्ण क्षमतामा चलाउन सकेको खण्डमा प्रतिघण्टा करिब १६ वटा गाडीमा अस्फाल्ट भरेर कालोपत्र गर्ने ठाउँमा पठाउँदै कामलाई तीव्रता दिन सकिन्थ्यो’, उनले भने, ‘निर्माण कम्पनीलाई जनशक्ति र उपकरण बढाउन पत्राचार गर्दा पैसाको अभाव भएको सुनाउँछ ।’ निर्माण कम्पनीले एक प्रतिशत काम गरेपछि भुक्तानी पाउने गरी सम्झौता भएको र सोही अनुसार भुक्तानी भइरहेको खनालले बताए । ‘यो पूर्वीखण्डको ठेक्का रकम रु नौ अर्ब ३८ करोड रहेको छ, यसको एक प्रतिशत काम भएपछि निर्माण कम्पनीले भुक्तानी दाबी गर्ने र योजनाले भुक्तानी गर्ने सम्झौतामा उल्लेख भएको छ’, उनले भने, ‘निर्माण कम्पनीले यहाँबाट पाएको पैसाले मात्रै काम गरिरहेको छ, उसले थप पैसा लगानी गरेर काम गर्ने चासो नदेखाउँदा काममा ढिलासुस्ती भएको हो ।’ निर्माण सुरु भएको ४२ महिनामा सडक विस्तारको काम सक्नेगरी विसं २०७५ माघमा निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सरकारसँग सम्झौता गरेर काम सुरु गरेको थियो । दुई पटकसम्म म्याद थप भइसकेको योजनाको हालसम्म भौतिक प्रगति ५० दशमलव ६२ प्रतिशत मात्रै पुगेको इन्जिनियर खनालले बताए । दोस्रोपटक थप भएको म्याद आगामी साउन ८ गते सकिने यस खण्डमा हालसम्म एकतर्फी गणना गर्दा ३७ किलोमिटर कालोपत्र, २१ साना पुल निर्माण, एक सय ६३ कल्भर्ट निर्माण भएको तथा आठ ठूला पुलको निर्माण अन्तिम चरणमा रहेको खनालले बताए । विस्तार सुरु भएको पाँच वर्ष नाघ्दासमेत आधा मात्रै काम सकिएको सडकमा उड्ने धूलोका कारण स्थानीय र यात्रुहरुले सास्ती खेप्नुपर्ने बाध्यता छ । कालोपत्र नभएको ठाउँमा उड्ने धुलोका कारण सडक देख्नै समस्या हुने तथा खाल्डाखुल्डीका कारण दुर्घटनासमेत हुने गरेको छ । रासस

सरकारले विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने

काठमाडौं । सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ । केन्द्रका निर्देशक केशवराज पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई विद्युतीय चुरोटको उपभोग गर्न नपाउने व्यवस्था कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन् । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को दफा २८ को उपदफा ४ मा ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्री वितरण, सार्वजनिकस्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चारमाध्यमबाट प्रवद्र्धन तथा विज्ञापन गर्न पाइने छैन’ भन्ने व्यवस्था रहेकाले सोही कार्यान्वयन गर्नका लागि पत्राचार गरिएको उनले बताए । केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसीले अर्थ र सञ्चारमन्त्रायले निर्देशिकामा भएको कुरालाई कार्यान्वयन गर्नसाथ विद्युतीय चुरोटको नेपालबाट प्रतिबन्ध हुने बताए । उनले कतिपयले चुरोटको सेवन छाड्नका लागि विद्युतीय चुरोटको सेवन गर्ने गरेको भन्दै चुरोट जतिकै विद्युतीय चुरोटले पनि स्वास्थ्यमा हानी गर्ने बताए । उनले सुर्ती सेवनको गेट-वेका रूपमा विद्युतीय चुरोट रहेको समेत बताए । ‘विद्युतीय चुरोटको सेवनले चुरोट खान सिकाउँछ । यसले निकोटिनको लत बसाउने काम गर्दछ’, उनले भने, ‘त्यसैले विद्युतीय चुरोट सुर्तीजन्य पदार्थ सेवनको गेट–वेका रुपमा रहेको छ ।’ विद्युतीय चुरोटले मानिसको मुटु र फोक्सोमा सिधैँ असर गर्नुको साथै मुख जल्ने जस्ता पनि समस्या गराउनुको साथै सेवन गरिरहेको मानिससँगै बसिरहेको अर्को मानिसलाई पनि यसले हानी गर्ने उनको भनाइ छ । नेपालमा विद्युतीय चुरोट विभिन्न फ्लेवरमा आउने गरेको छ । ब्लाकवेरी, ब्लुवेरी, मेलन, पाइनापल, गाभा, म्याङ्गो जस्ता फ्लेवरमा आउने गरेको छ । भन्सार विभागको तथ्याङ्कमा गत आर्थिक वर्षमा वार्षिक ३२ लाख २३ हजार छ सय ८७ थान विद्युतीय चुरोटका डिभाइस नेपाल आउने गरेको बताए । तीमध्ये ३१ लाख ७५ हजार आठ सय १५ थान ती विद्युतीय चुरोट चीनबाट मात्र आउने गरेको छ । यस्तै अमेरिकाबाट दुई लाख ६५ हजार ६४०, सयुक्त अरब इमिरेट्सबाट १२ हजार नौ सय ६७ थान आउने गरेका छन् । भारत, बेलायतलगायत देशबाट पनि विद्युतीय चुरोट आउने गरेको छ । केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा केसीका अनुसार नेपालमा वार्षिक रु ३२ अर्ब बराबरको विद्युतीय चुरोटको व्यापार हुने गरेको छ । उनले नेपालमा विगत पाँच वर्षमा दुई सय गुणाले आयात बढेको बताए । एउटा विद्युतीय चुरोट रु १० हजारदेखि १३ हजारसम्म पर्छ । रासस

सहकारीको छवि जोगाउन लेखा समितिको भूमिका महत्वपूर्ण : सीईओ सापकोटा

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सहकारी क्षेत्रको छवि जोगाउन र संस्थागत सुशासन कायम गर्न लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वपुर्ण रहेको बताएका छन् । मंगलबारदेखि काठमाडांैमा सुरु लेखा सुपरिवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै सापकोटाले सहकारी संस्थाको दिगो विकासमा लेखा सुपरिवेक्षण समिति केन्द्रीकृत हुन जरुरी रहेको बताए । लेखा सुपरिवेक्षण समितिले सदस्यमा आधारित छ की छैन ? सदस्य संस्थाको स्रोत र जग हो भन्ने बुझाइ सञ्चालकहरुमा रहे नरहेको भन्ने बिषयमा ख्याल गर्नु पर्ने बताए । सहकारीमा लेखा समितिको भूमिका प्रभावकारी नभएको उल्लेख गर्दै सापकोटाले संस्थाको सुशासन र व्यवस्थापनमा खबरदारी गर्न आवश्यक रहेको बताए । संस्थामा रोजागारी सिर्जना उद्यमशिलताको विकास र व्यावसायिक प्रवद्र्धनतर्फ सञ्चालक समिति उन्मुख छ की छैन भन्ने बिषयलाई सुक्ष्म तरिकाले निगरानी राख्नुपर्ने लेखा समितिको मुल जिम्मेवारी रहेको बताए । कर्मचारी भर्ती, अनावश्यक भ्रमण, ऋण लगानी लगायतका कुरामा निगरानी राखेर काम गर्न आवश्यक रहेको उल्लेख गरे । समुदाय केन्द्रीत कारोबार, दैनिक र नियमित भन्दा आवधिक बचतमा जोड र एकीकरणमा प्रथमिकता दिइनु पर्ने उनको भनाई थियो । ऐन कानून निमार्णमा सहजकर्ताको भूमिका, संस्थाको सम्पूर्ण खर्चको विवरण र बचत ऋणको अनुपात मिले÷नमिलेको पनि हेर्ने आवश्यक रहेको सापकोटाले बताए । लेखा समितिको मुख्य भूमिका भनेकै नीति विधि निर्माण र कार्यान्वयनको सहजकर्ताको भूमिकामा काम गर्ने रहेको बताउँदै सापकोटाले पटक पटक नीति बनेन भनेर मात्र टिपणी लेखेर मात्र संस्था सुधार हुन नसक्ने भएकाले हरेक काममा कार्यान्वयनमा लैजान लाग्नु पर्ने बताए । सञ्चालक समितिको स्वेच्छाचारी नियन्त्रण जरुरी कार्यपत्र माथी टिपणी गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले लेखा समितिको मुल कार्य सञ्चालकहरुको स्वच्छाचारी क्रियाकलाप नियन्त्रण गर्ने रहेको बताएका छन् । संस्थागत सुशासन, प्रर्वद्धन र सुद्धिकरण अहिलेको मुल आवश्यकता रहेको उल्लेख गर्दै बचत र शेयरको अनुपात नमिल्नु लाभांश र ब्याजको लोभमा सदस्य केन्द्रीत हुनु, संस्थाका नीति कार्यविधिहरु नहुनु, संस्थामा राजनितिकरण लगायतका गतिविधिहरुलाई नियन्त्रण गर्नु लेखा समितिको दायित्व रहेको बताए । ऐन कानूनको पालना, सामुदाय तथा सदस्य केन्द्रीत कारोबार नहुनु र सञ्चालक समितिको एकाधिकार माथी निगरानी आवश्यक रहेको बताए । ‘लेखा समितिले चनाखो भएर काम नगर्दा सञ्चालकहरुका काम कारबाहीहरु प्रभावकारी भएका छैनन्’, सचिव दवाडीले भने । घाटमा गए पनि लाभांश बाड्ने प्रवृति बढेको छ, यो गलत कार्यलाई रोक्न लेखा समिति प्रभावकारी बन्नु पर्ने आवश्यकता रहेको उनले औल्याए । कार्यक्रममा सहभागिहरुले सहकारीको नियमन र अनुगमन स्थानिय तहमा हस्तान्तरण हुँदा प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए । उनिहरुले लेखा समितिले उठाएका कुराहरुमा सञ्चालक समिति गम्भिर नहँुदा संस्थागत सुशासनमा समस्या आएको उल्लेख गरे । लेखा समिति संस्थाको मेरुदण्ड भए पनि यसको प्रभावकारी बनाउन बजेटको व्यवस्थापन नहुँदा पदिय दायित्व अनुसार काम हुन नसकेको बताए । सेसनको अध्यक्षता नेफ्स्कूनका पुर्व अध्यक्ष डिबी बस्नेतले गरेका थिए भने कार्यक्रमको सहजिकरण नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेश तिमल्सिनाले गरेका थिए ।

स्वस्तिक हेल्थ केयर सेन्टरमा प्रभु बैंकका ग्राहकले छुट पाउने

काठमाडौं । स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच छुट सम्झौता भएको छ । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई ताल्छिखेल, सातदोबाटो, ललितपुर स्थित स्वस्तिक हेल्थ केयर सेन्टरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका स्वास्थ सेवाहरूमा छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको हो । एक समारोहकाबीच स्वस्तिक हेल्थ केयर सेन्टरका अध्यक्ष डा.अमृश थापा र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक स्वस्तिक हेल्थ केयर सेन्टरमा पेस गर्नुपर्ने छ । नेपालको निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक स्वस्तिक हेल्थ केयर सेन्टरले निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ र छिट्टै नै आकस्मिक उपचार देखि सघन उपचार लगायतका स्वास्थ सेवाहरू उपलब्ध गराउने छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरूकालागि स्वस्तिक हेल्थ केयर सेन्टरमा विभिन्न स्वास्थ्य परिक्षणका प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरुमा १० प्रतिशत देखि २५ प्रतिशतसम्मको छुट व्यवस्था रहेको छ ।