लोमस फर्मास्युटिकल्स र ह्याम्स अस्पतालबीच व्यापारिक-सामाजिक कार्य सम्झौता
काठमाडाैं । लोमस फर्मास्युटिकल्स र ह्याम्स अस्पतालबीच व्यापारिक र सामाजिक कार्यका लागि सम्झौता भएकाे छ । स्वास्थ्य शिविर तथा औषधी खरिदका लागि उक्त सम्झौता भएको हो । सम्झौतामा लोमस फर्मास्युटिकल्सका तर्फबाट निर्देशक प्रनवजंग पाण्डे र ह्याम्स अस्पतालका तर्फबाट वरिष्ठ निर्देशक सची रेग्मीले हस्ताक्षर गरेका छन् ।
आफूखुसी औषधि सेवन स्वास्थ्यका लागि घातक
काठमाडौं । काठमाडौंकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले सताएको थियो । विभिन्न अस्पताल धाउँदै कैयौँ पटक औषधि सेवन गर्दा पनि पीडाले पछ्याउन छाडेन । जति उपचार गर्दा पनि समस्या ज्यूँका त्यूँ भएपछि उनले आफन्तको सल्लाहमा सडकमा बिक्रीका लागि राखिएका जडीबुटीको सेवन सुरु गरिन् । जडीबुटी सेवनपछि उनको दुखाइ अझ बढ्यो । जडीबुटी सेवन गरेको छ महिनापछि जीउ सुन्निने, पेट दुख्ने, दिसामा कालो देखिने समस्या थपियो । अस्पतालमा चेकजाँच गराउँदा आन्द्रामा घाउ भएर अल्सर भइसकेको पत्ता लाग्यो । चिकित्सकले उनलाई जथाभावी औषधिको प्रयोगले शरीरको हार्मोन असन्तुलन बनाउँदा उक्त समस्या देखिएको बताएका थिए । औषधिको असन्तुलित सेवनले सुगर र प्रेसरसमेत बढेको पाइएको थियो । जथाभावी औषधि सेवनबाट पीडित हुनेमा शिक्षण पेसामा आबद्ध ५० वर्षीय पुरुष पनि छन् । पेट दुख्ने बित्तिकै दुखाइ कम गर्ने औषधि सेवन गर्ने बानीले उनलाई कालान्तरमा ठूलो समस्या थपिदियो । उनी पेट दुख्दा कारण पत्ता लगाउनुको साटो मनलाग्दी औषधि सेवन गर्थे । कालान्तरमा शरीरमा थकाइ लाग्ने, छाला चिलाउने, कमजोरी महसुसजस्ता लक्षण देखिन थाल्यो । जाँच गर्दा मिर्गौलाको समस्या देखियो । अवस्था कतिसम्म पुग्यो भने मिर्गौला प्रत्यारोपण नै गर्नुपर्ने अवस्था आइलाग्यो । उनीहरु त प्रतिनिधि पात्र मात्रै हुन् । चिकित्सकका अनुसार उनी जस्ता कैयन बिरामी आफूखुसी वा गैरचिकित्सकको सल्लाहबिना औषधि सेवन गर्दा पछुताउने धेरै छन् । सही ढङ्गले औषधि सेवन गर्न नजान्दा बिरामीले थप पीडा भोग्नु परेका कैयन उदाहरण भएको चिकित्सकहरुको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठनका (डब्लुएचओ) अनुसार औषधिको गलत भण्डारण, वितरण र सिफारिसले गम्भीर हानि निम्त्याउने गरेको छ । साथै औषधिको अपर्याप्त अनुगमन नगरिएको खण्डमा पनि समस्या बढाउने गरेको छ । कसैले भनेकै भरमा आफूखुसी औषधि सेवनले कालान्तरमा गम्भीर स्वास्थ्य अवस्थामा ल्याउन सक्ने विज्ञहरुको भनाइ छ । यसप्रकारको हेलचेक्य्राइँले थप समस्या निम्त्याउनाका साथै बिरामी अपाङ्ग हुने तथा मृत्युसम्म हुने गरेको देखिन्छ । फिजिसियन डा पुष्पमणि खरालले उच्च रक्तचाप, सुगर, मानसिक रोग, कोलेस्ट्रोललगायत समस्या समाधानका लागि सेवन गरिने औषधि चिकित्सकले जाँचपड्ताल गरेपछि मात्र खानुपर्ने सुझाव दिन्छन् । उनी भन्छन्, ‘प्यारासिटामोल, झाडापखालाका औषधिहरु विश्वव्यापी रुपमा नै औषधि पसलमा गएर सिधै नै किन्न सकिन्छ । त्यो ठूलो कुरा भएन तर त्यसबाहेकका औषधिहरु चिकित्सकको सिफारिसबिना सेवन गर्नु हुँदैन । कतिपय अवस्थामा मात्रा मिल्दैन भने कतिपय अवस्थामा गलत औषधि पनि सेवन हुनसक्छ ।’ बिरामीले सेवन गर्ने औषधिको मात्रा नमिल्दा मात्रै पनि धेरै समस्या निम्तन सक्ने उनी बताउँछन् । ‘कुनै औषधि हामीले आठ घण्टाको अन्तरमा सेवन गर्न दिनुको अर्थ त्यो औषधिले त्यति समय मात्र काम गर्छ भन्नु हो’, उनले भने, ‘यो हचुवाका भरमा दिइएको हुँदैन यसका लागि लामो अध्ययन र अनुसन्धान भएको हुन्छ र सोहीअनुसार औषधि उत्पादन गरिएको हुन्छ ।’ औषधिको गलत प्रयोगले शरीरका अङ्गहरुमा दीर्घकालीन असर पनि पर्ने अवस्था आउनसक्ने उनको भनाइ छ । औषधिविज्ञ डा राजकुमार थापा औषधि खान जाने अमृत नभए विष समान हो भन्छन् । उनले भने, ‘औषधि होसियारीपूर्वक सेवन गर्नुपर्छ । आफूखुसी औषधि सेवनले शरीरमा विभिन्न प्रकारका जटिलता निम्त्याउन सक्छ । जटिल प्रकारका लक्षण देखिँदा चिकित्सकको परामर्श, निगरानी र सिफारिसमा मात्रै सेवन गर्नुपर्छ ।’ औषधिको उपयोग राम्रो नभए शरीरमा ‘एन्टिबायोटिक रेसिसटेन्स’ निम्त्याउने भएकाले साधारण दुखाइमा पनि ‘पेन किलर’ खाने बानी लाग्न सक्ने उनको भनाइ छ । चिकित्सकका अनुसार औषधिको मात्रा नमिलाएर खाँदा प्रभावकारी हुँदैन र कीटाणुको सङ्ख्या वृद्धि भई रोगलाई थप जटिल बनाउँछ । ती कीटाणुले एन्टिबायोटिकलाई जित्न सक्छ र पछि सोही परिणाममा सेवन गर्दा काम नगर्ने अवस्था आउँछ ।डा खराल भन्छन्, ‘एन्टिबायोटिक बढी मात्रामा सेवन गरियो भने यसले नकारात्मक असर पार्न सक्छ । तोकिएभन्दा बढी मात्रामा खाँदा कतिपय औषधिले सामान्यता ग्यास्ट्रिक बढाउनेदेखि कलेजो र मिर्गौलामा असर गर्छन् ।’ उनले एक–दुईपटक औषधिको मात्रा बिर्सने बानीले पनि समस्या निम्तने भएकाले चिकित्सकको सिफारिसअनुसार नै नियमित औषधि सेवन गर्नु आवश्यक रहेको बताउँछन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ‘नेपालमा एन्टिबायोटिकको प्रयोग र यसको प्रतिरोधको अवस्थागत मूल्याङ्कन’ शीर्षकको अध्ययनमा २८ प्रतिशतले आफूखुसी औषधि खरिद गर्ने पाइएको थियो । त्यसैगरी, २२ प्रतिशत बिरामीले औषधिको पूरा मात्रा नखाई बीचमै छाड्ने गरेको पनि भेटिएको थियो । औषधिको राम्ररी सेवन नगर्दा पूरा रुपमा रोग निको नहुने र तोकिएको मात्रा सेवन नगर्दा जीवाणुले एएमआर (एन्टिबायोटिकविरुद्ध लड्ने क्षमता/प्रतिरोध) को विकास गर्ने अवस्था आउँछ । जसकारण अर्को पटक सोही औषधि सोही परिणाममा सेवन गर्दा रोग निको नहुने विज्ञको भनाइ छ । सन् २०५० सम्म डब्लुएचओले वार्षिक एक करोड मानिस एएमआरको सिकार हुने अनुमान गरेको छ । डा खराल भन्छन्, ‘दीर्घकालीन रोगको औषधि दीर्घकालीन रुपमा नै खानुपर्ने हुन्छ । कहिलेकाहीँ एक वा दुईवटा डोज बिर्सिंदैमा कुनै आपत्कालीन अवस्था आउँदैन तर सम्झने बित्तिकै खाने र सकेसम्म नियमित रुपमा खानुपर्ने हुन्छ । जस्तै नियमित खान भनिएको प्रेसरको औषधि खान बिर्सिंदा प्रेसर बढिराख्न सम्भावना हुन्छ ।’ उनले नियमित खान भनिएका प्रेसर र सुगरको औषधिलाई तोकिएअनुसार नखाँदा कालान्तरमा पक्षघात, हृदयाघात हुने सम्भावना बढ्छ भने मिर्गौलाले काम नगर्ने तथा आँखामा असर हुनसक्छ । सुगर बढेको अवस्थामा मान्छे बेहोस नै हुने, आइसियुमा नै भर्ना गर्नुपर्ने अवस्था आउनसक्ने उनको भनाइ छ । धेरैले सुगर र प्रेसरको औषधिहरु आफैँ खान छोड्दिने प्रवृत्ति रहेकाले चिकित्सकले खानुपर्छ भनेका औषधिहरु आफूखुसी छोड्नु नहुने चिकित्सकको भनाइ छ । जनरल फिजिसियन डा सुमना बज्राचार्य भन्छिन्, ‘कडा खालका दुखाइ कम गर्ने औषधि चिकित्सकको निगरानीमा मात्र खानुपर्छ । आफूखुसी खाँदा ती औषधिहरुले ग्यास्ट्रिक बढाउने हुन्छन् जसले पछि गएर मिर्गौला समेतलाई असर पुर्याउन सक्दछ ।’ औषधि खानैपर्ने अवस्था छैन भने पनि मान्छेले किनेर खाइरहेको पाइएको डा बज्राचार्यको अनुभव छ । उनी भन्छिन्, ‘दुई/तीन दिन ज्वरो आएको छभने त्यो भाइरल ज्वरो हुनसक्छ जसमा एन्टिबायोटिक जरुरी पनि हुँदैन । हप्ता दिनमा निको भएर जान्छ । डरलाग्दो लक्षण देखिएमा जँचाउनुपर्छ । चिकित्सकले जरुरी भएको खण्डमा सङ्क्रमणअनुसार एन्टिबायोटिक दिन सक्छन् । पखाला लाग्ने बित्तिकै मेट्रोनिडाजोल खाइहाल्ने र घाँटी दुखेमा एजिथ्रोमाइसिन धेरैले खाने गरेको पाइन्छ । त्यस्तो गर्नु हुँदैन ।’ बिरामीले औषधि लिनुअघि औषधि सेवन गर्ने तरिका, मात्रा र समय तालिका जस्ता कुरा राम्रोसँग बुझ्नुपर्छ । केही कुरामा द्विविधा भए तत्काल सोध्नुपर्छ । चिकित्सकको सल्लाहअनुसार मात्र औषधि सेवन गर्नुपर्छ । चिकित्सकले पनि बिरामीलाई औषधिको ‘साइड इफेक्ट’बारे जानकारी दिनुपर्छ । औषधिविज्ञ प्रदीप लम्सालले जनमानसमा स्वास्थ्य साक्षरता तुलनात्मकरुपमा बढेको भए पनि पर्याप्त नभएको बताउँछन् ‘चिकित्सकको सिफारिसबिना औषधि सेवन गर्दा भविष्यमा असर गर्न सक्छ । यसबारे सचेतना र औषधिको गुणस्तरबारेमा पनि अनुगमन हुन जरुरी छ ।’ रासस
चिनीको मूल्यमा स्थिरता कायम गर्न माग
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको उद्योग तथा वाणिज्य विभागले चिनीको मूल्यमा स्थिरता कायम तथा आपूर्तिमा सहज व्यवस्थापन गर्न ध्यानाकर्षण गराएको छ । मन्त्री भण्डारीलाई सो विभागका प्रमुख एवं प्रतिनिधिसभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य गणेश पराजुलीले आज सिंहदरबारमा भेटी सो माग गरेका हुन् । नेपालका उपभोक्ता तथा औद्योगिक क्षेत्रमा चिनीको माग धान्न र चिनी उत्पादनमा आत्मनिर्भर हुँदै निर्यात गर्नसक्ने पर्याप्त सम्भावना हुँदाहुँदै पनि राष्ट्रिय मागको करिब ६० प्रतिशत चिनी मात्र आन्तरिक उत्पादनले धान्न सकेको स्मरण पार्टीले गराएको छ । सरकारले चिनी आपूर्तिमा देखिने अभावलाई व्यवस्थापन गर्न समयमै आयात तथा भण्डारण गर्न उचित निर्णय लिएर चिनीमा हुने कालोबजारी नियन्त्रण गर्न, चिनीको मूल्यमा स्थिरता कायम गर्न, आपूर्ति व्यवस्था सहज गर्न र औपचारिक आयातबाट प्राप्त हुने करको सुनिश्चितता गर्न ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।
एलएस क्यापिटलले सनराइज होल्डिङ्सलाई कर्पाेरेट एडभाइजरी सेवा दिने
काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेडबीच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । कमलादीस्थित सनराइज होल्डिङ्गस् प्राइभेट लिमिटेडको कर्पोरेट कार्यालयमा एक कार्यक्रमबीच एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र सनराइज होल्डिङ्गस् प्राइभेट लिमिटेडका कार्यकारी अध्यक्ष सुभाष अमात्यले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार एलएस क्यापिटलले सनराइज होल्डिङ्गस् प्राइभेट लिमिटेडलाई कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने र प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) तर्फ लैजान आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नेछ । सन् २०१४ मा स्थापना भएको सनराइज होल्डिङ्गस् प्राइभेट लिमिटेडको मुख्य उद्देश्य जलविद्युत, यातायात, कृषि र पर्यटन जस्ता आवश्यकीय सरकारका प्राथमिक क्षेत्रहरूमा रणनीतिक रूपमा लगानी गर्नु हो । कम्पनीको चुक्ता पुँजी ४२ करोड रूपैयाँ रहेको छ । लगानी कम्पनीको रूपमा हाल स्टक एक्सचेन्जमा सुचिकृत धितोपत्र कारोवार, पोर्टफोलियो ब्यवस्थापन, लगानी र परामर्श सेवाहरू मार्फत पूँजी बजारमा सक्रिय रूपमा सहभागी भई कम्पनीले दिर्घकालीन तथा अल्पकालीन जस्ता विभिन्न लगानी योग्य क्षेत्रहरूको पहिचान गरी लगानीलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने लक्ष्य राखेको छ । लक्ष्मी सनराइज बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एलएस क्यापिटलले मर्चेन्ट बैंकिङ क्षेत्रमा बलियो उपस्थिती देखाएको छ । इजाजत प्राप्त मर्चेन्ट बैंकरको रूपमा, क्यापिटलले मर्चेन्ट बैंकिङ सम्बन्धी बृहत सेवाहरू प्रदान गर्दछ ।
महिला र बालबालिकाको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी छ : मन्त्री चौधरी
काठमाडौंं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले पछिल्लो दशकमा महिला तथा बालबालिकाको अवस्थामा सुधार आए पनि यस क्षेत्रमा अझै काम गर्न बाँकी रहेको बताएका छिन् । मन्त्रालयले प्रकाशन गरेको ‘नेपालमा लैङ्गिक समानता तथ्य र तथ्याङ्क’ शीर्षकको पुस्तक विमोचन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् । विभिन्न अध्ययनहरूले निकालेको निष्कर्षलाई समेट्दै प्रकाशन गरिएको पुस्तक सबैका लागि काम बताउँदै उनले यसलाई अझ सात सय ५३ वटै पालिकालाई समेट्ने गरी तथ्याङ्क विश्लेषण गर्न सकेको भए अझ राम्रो हुने बताइन् । आगामी दिनमा त्यस कार्यका लागि अग्रसर हुन समेत मन्त्रालयलाई निर्देशन दिँदै मन्त्री चौधरीले विकास साझेदारहरूलाई सहकार्यका लागि तयार रहेको बताइन् । महिला मन्त्रालयको कार्य क्षेत्र धेरै रहेको भन्दै उहाँले ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरूको क्षेत्र, सम्मानित महिनावारी लगायतका विषयमा पनि अझ काम गर्न सकिने बताइन् । ‘विकास साझेदारहरूले सहयोग गर्नुभयो भने अझ धेरै क्षेत्र हामी काम गर्न सक्छौँ । र विषयवस्तु बृहत्तर बनाउन पनि सहज हुनेछ’, मन्त्री चौधरीले भनिन् । एउटा महिलाले जीवनकालमा एक न एकचोटी हिंसामा पर्ने गरेको उल्लेख गरिएको भन्दै उनले अझै पनि ७९.८ प्रतिशत महिला हिंसामा पर्ने गरेको तथ्याङ्क दुखद रहेको बताइन् । बलात्कार जस्ता जघन्य घटना तथा अन्य प्रकारको हिंसामा महिलाहरू अझै पनि परिरहेको उनले बताइन् । सन् २०१९ मा ब्राजिल भ्रमणमा गएको प्रसङ्ग उल्लेख गर्दै मन्त्री चौधरीले त्यहाँ युरोपियनहरूले प्रस्तुत गरेको तथ्याङ्कमा बलात्कारका घटना २८ प्रतिशत देखाइएको बताइन् । मन्त्री चौधरीले मन्त्रालयले लक्षित वर्गमा पनि गरिबीको रेखामुनि रहेका व्यक्तिहरूका लागि केन्द्रित भएर काम गर्न आवश्यक रहेको बताइन् । ‘राजनीतिक रूपमा महिलाको सहभागिता ३३ प्रतिशत भए पनि निर्वाचितको सङ्ख्या भने ५.५ प्रतिशत मात्रै छ । आरक्षित सिट दिँदा सङ्ख्या धेरै छ तर प्रतिस्पर्धामा आउँदा हाम्रो सहभागिता न्यून नै छ’, मन्त्री चौधरीले भनिन्, ‘अझै पनि सीमान्तकृत, वर्ग, क्षेत्र समुदाय कहाँ छ त्यसको खोजी गरेर थप पुस्तकहरू निकाल्ने नै छौँ । हाम्रो प्राथमिकता गरिबीको रेखामुनि रहेका सीमान्तकृत वर्ग नै हो ।’ कुल जनसङ्ख्याको ५१.८७ प्रतिशत जनसङ्ख्या महिलाको रहेको भन्दै मन्त्री चौधरीले महिलाको उच्च औसत आयु ७१.३ प्रतिशत रहेको बताइन् । ज्येष्ठ नागरिकमा पनि महिलाको सङ्ख्या बढी रहेको भन्दै मन्त्री चौधरीले २०५२ सालमा प्रति लाखमा ५३९ रहेको मातृ मृत्युदर हाल १५१ रहेको बताइन् । मातृ मृत्युदर घटेको भन्दै उनले यसलाई अझ न्यून गर्दै लैजानुपर्ने उल्लेख गरिन् । त्यस्तै बाल मृत्युदर ३८ बाट घटेर २८ मा पुगेको भन्दै मन्त्री चौधरीले यो सङ्ख्या अझ न्यून बनाउनका निम्ति सरकार, निजी क्षेत्र, गैरसरकारी संस्था, विदेशी डोनर एजेन्सीहरूबिच सहकार्य हुनुपर्ने बताइन् । महिलाको साक्षरता अवस्था भने कमजोर रहेको भन्दै उनले अझै पनि पुरुषको तुलनामा १७.७ प्रतिशतले महिलाको साक्षरता दर कम रहेको बताइन् । मधेस प्रदेशमा महिला साक्षरता प्रतिशत सबैभन्दा कमजोर रहेको बताइन् । श्रम बजारमा महिलाको सहभागिता निकै कम रहेको भन्दै उनले अझै पनि महिलाहरू घरेलु तथा यौनजन्य हिंसा, बलात्कार जस्ता जघन्य अपराधको सिकार हुनुपरेको विडम्बनापूर्ण अवस्था रहेको बताइन् । त्यस अवसरमा पुस्तकमा समेटिएको सारांश प्रस्तुत गर्दै मन्त्रालयको तथ्याङ्क शाखा प्रमुख रामहरि गैरेले पुस्तकमा लैङ्गिक समानता सम्बन्धी विविध पक्षहरू समेटिएको बताइन् । पुस्तकमा नीतिगत विषयको पनि व्याख्या गरिएको भन्दै उनले केही दशकमा लैङ्गिक समानता, महिला स्वास्थ्यमा धेरै सुधार भएको बताइन् । त्यस अवसरमा मन्त्रालयका सचिव दिनेश भट्टराईले केही ठाउँहरूमा अझै पनि थुप्रै काम गर्नुपर्ने तथ्याङ्कले देखाएको बताइन् । सरकारले महिला तथा बालबालिकाको क्षेत्रमा आगामी दिनहरूमा काम गर्नका निम्ति यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उनले अपेक्षित उपलब्धि हासिल गर्न हामीले अझै केही समय पर्खनुपर्ने समेत बताइन् । त्यस अवसरमा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, राष्ट्रिय योजना आयोगका सदस्य प्रो.डा.संगिता सिंह, नर्वेजियन राजदूतावासका राजदूत टोरुण ड्रमडाल, राष्ट्रिय तथ्याङ्क कार्यालयका तथ्याङ्क अधिकारी मुनीकुमारी चौधरी, मन्त्रालयका सहसचिव आभा श्रेष्ठ कर्णलगायतले धेरै कुरामा सुधार आए पनि अझै केही कुरामा उल्लेख्य काम गर्नुपर्ने अवस्था रहेको बताइन् । महिलाको आयु वृद्धि हुँदा साक्षरता भने न्यून २०७८ सम्म आइपुग्दा पुरुषभन्दा महिलाको औसत आयु २ वर्षले बढी रहेको छ । महिलाको आयुमा वृद्धि हुनुमा मातृ स्वास्थ्य र महिला तथा बालबालिकाहरूको स्वास्थ्य सेवामा सुधार हुँदा महिलाको आयु वृद्धि भएको पुस्तकमा उल्लेख गरिएको छ । पछिल्ला दशकमा महिला तथा बालबालिकाको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको पुस्तकमा उल्लेख गरिएको छ । जसअनुसार २०५२ सालमा प्रतिलाख जीवित जन्ममा मातृ मृत्यु अनुपात ५३९ बाट घटेर २०७८ सालसम्म आइपुग्दा १५१ पुगेको छ । प्रदेशहरूबिच मातृ मृत्यु अनुपातमा भने भिन्नता रहेको छ । जसअनुसार मातृ मृत्युदर लुम्बिनी प्रदेशमा सबैभन्दा बढी २०९ रहेको छ भने बागमती प्रदेशमा सबैभन्दा कम ९८ रहेको छ । नेपाल सरकारले सन् २०३० सम्ममा मातृ मृत्युलाई घटाएर ७० मा पुर्याउने प्रतिबद्धता जनाएको छ । यो लक्ष्यमा पुग्नका निम्ति नेपालले विविधतापूर्ण भौगोलिक क्षेत्रमा विद्यमान मातृ स्वास्थ्यको पहुँच, उपयोग र गुणस्तरमा रहेका असमानताहरू सम्बोधन गर्दै हालतको मातृ मृत्यु अनुपातलाई वार्षिक १० प्रतिशतले घटाउनुपर्ने देखिन्छ । त्यस्तै ५ वर्ष मुनिका बच्चाहरूको बाल मृत्युदरमा पनि कमी आएको छ । २०७१ मा प्रति १००० बालबालिकामा ३८ रहेको बाल मृत्युदर २०७६ मा घटेर २८ पुगेको छ ।
शैक्षिक क्षेत्रमा भएको सिन्डिकेट तोड्छौँ : मन्त्री श्रेष्ठ
सिन्धुली । बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले शैक्षिक क्षेत्रमा भएको सिन्डिकेट तोड्ने बताएका छन् । मंगलबार सिन्धुलीको मरिण गाउँपालिका–७ जयमंगलस्थित श्री गौरीशंकर माविको ६१औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रदेश सरकारले शैक्षिक क्षेत्रमा भएको सिन्डिकेट तोड्ने बताएका हुन् । उनले केही वर्षभित्रमै प्रदेश सरकारले अध्ययनका लागि विद्यार्थी विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने बताए । उनले विद्यार्थीहरू अध्ययनका लागि विदेश जाने कुराको अन्त्य गर्ने उद्देश्यका साथ बागमती प्रदेश सरकारले बागमती विश्वविद्यालय स्थापना गरेको पनि बताए । मन्त्री श्रेष्ठले गणतन्त्र प्राप्तिपछि पनि शैक्षिक क्षेत्रमा गुणात्मक परिवर्तन हुन नसकेको बताउँदै प्रदेश सरकारले स्वरोजगारमूलक प्राविधिक शिक्षामा जोड दिने बताए । उनले शिक्षाले ज्ञान, सिप र संस्कृति राम्रोसँग सिकाउन नसक्दा सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माण गर्न नसकेको बताए । मन्त्री श्रेष्ठले राज्यले शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत बजेट लगानी गर्न सकेमात्र जीवनोपयोगी र गुणस्तरीय शिक्षा दिन सकिने बताए । उनले विश्वमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति निर्माण गर्नुपर्नेमा जोड दिदैँ त्यस प्रकारको नीति बनाउन बागमती प्रदेश सरकार लागेको उल्लेख गरे । उनले सबैभन्दा प्रतिस्पर्धी जनशक्ति शैक्षिक क्षेत्रमा केन्द्रित गरेर शिक्षामा गुणस्तर वृद्धि गर्ने बताए । शैक्षिक गुणस्तरका लागि राज्य, शिक्षक, अभिभावक र विद्यार्थी सबै उत्तिकै जिम्मेवार हुनुपर्ने भन्दै उनले यी ४ पक्षलाई खाटको ४ खुट्टाको संज्ञा दिए । मन्त्री श्रेष्ठले गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधार अति आवश्यक भए पनि भौतिक पूर्वाधारले मात्रै शैक्षिक गुणस्तर नबढ्ने भएकाले राज्य, शिक्षक, अभिभावक र विद्यार्थी सबैले आ-आफ्नो भूमिका पूरा गर्नुपर्नेमा जोड दिए । उनले व्यक्तिलाई स्वरोजगार बनाउन नसक्ने शिक्षा नीति परिवर्तन गर्दै लगिने बताए ।
मध्यभोटेकोशी आयोजना निर्माणमा स्थानीयको अवरोध, एक महिनामा १२ करोड घाटा
चौतारा । सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीयले माग गरेको पैसा दिन नसकेपछि मध्यभोटेकोशी जलविद्युत आयोजनाको काम १० महिनादेखि रोकिएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताल, मोटरबाटोको लागि स्थानीयले १० करोड रकम आयोजनासँग माग गरेका छन् । आयोजनाले यति ठूलो रकम उपलब्ध गराउन नसक्ने बताउँदै आइरहेको छ । यही कारण प्रसारण लाइनको तार तान्ने काममा अवरोध भएपछि मध्यभोटेकोशी जलविद्युत आयोजनाको काम १० महिनादेखि रोकिएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाले बाह्रबिसे नगरपालिकालाई १ करोड १० लाख र भोटेकोशी गाउँपालिकालाई ७० लाख रकम प्रत्येक वर्ष उपलब्ध गराउँदै आएको छ । आयोजना कार्यालयबाट आर्थिक वर्ष २०७०/७१ देखि २०८०/८१ सम्म सामाजिक उत्तरदायित्व कार्यक्रममा ३२ करोड १८ लाख ९५ हजार १ सय ६५ रुपैयाँ खर्च भएको जनाइएको छ । १०२ मेगावाटको विद्युत् शक्ति राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने काम अन्तिम चरणमा पुगेका बेला जग्गाधनीबाट विभिन्न माग राखी तार तान्ने काममा अवरोध भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटी बताउँछन् । राष्ट्रिय आयोजनामा यसरी अवरोध हुँदा एक महिनामा १२ करोड बराबरको घाटा बेहोर्नु परेको सिवाकोटीको भनाइ छ । सामाजिक उत्तरदायित्वको कामका लागि बजेट नदिएपछि स्थानीयवासीले मुआब्जासमेत लिएका छैनन् । आयोजनाको टावरमुनिको जग्गाधनीलाई मुआब्जा वितरण नहुँदा पनि काममा ढिलाइ भएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले कानुनअनुसार मुआब्जा निर्धारण भएकाले प्रभावित जग्गा धनीले मुआब्जा रकम बुझ्नुको विकल्प नरहेको बताए । यदि प्रभावितले मुआब्जा रकम नबुझेमा स्वतः राज्य कोषमा रकम दाखिला हुने प्रचलित ऐनमा उल्लेख गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यको भनाइ छ । मध्यभोटेकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत सिवाकोटीले अब मुआब्जा बुझ्न अन्तिम सूचना प्रकाशनको तयारीमा आयोजना पुगेको बताउदै आवश्यक परेको अवस्थामा सुरक्षा स्रोत परिचालन गरेर भए पनि काम अघि बढ्ने दाबी गरे । विसं २०८० को चैत मसान्तसम्म मध्यभोटेकोशी जलविद्युत आयोजनाको निर्माण अवधिको ब्याजसहित १९ अर्ब ७५ करोड १९ लाख ५३ हजार रुपैयाँ खर्च भएको छ । हाल आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ ।
सानिमा बैंकका ग्राहकलाई स्काईवाक टावरमा छुट
काठमाडौं । सानिमा बैंकका ग्राहकहरुलाई वन्डर्स नेपालमा छुट हुने भएको छ । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न वन्डर्स नेपालमा छुटको व्यवस्था गरेको हो । उक्त व्यवस्था अन्तर्गत सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा स्काईवाक टावरको टिकटमा १० प्रतिशत छुट पाउने भएका छन् । उक्त समझदारी पत्रमा वन्डर्स नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र प्रसाद श्रेष्ठले तथा सानिमा बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ बिक्रम श्रेष्ठले हस्ताक्षर गरे । बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटिएमहरु सञ्चालनमा रहेका छन् ।