विकासन्युज

विद्युत नियमन आयोगमा अध्यक्ष र तीन सदस्यका लागि दरखास्त आह्वान

काठमाडौं । सरकारले विद्युत नियमन आयोगको अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान गरेको छ । अध्यक्ष, तीन सदस्य (एक महिलासहित) का लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गरेर दरखास्त माग गरेको हो। आवश्यक न्यूनतम योग्यता र अनुभव पूरा भएका इच्छुक उम्मेदवारहरूलाई उक्त ऐनको दफा ७ को उपदफा (१) बमोजिम यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र अर्थात् आगामी जेठ ९ गते कार्यालय समयभित्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रशासन महाशाखामा आवेदन पेस गर्न आग्रह गरिएको छ । सूचनाअनुसार आवेदकले रणनीति तथा कार्ययोजना समेत पेस गर्नुपर्ने सूचनामा पेस गनुपर्ने छ । रणनीति तथा कार्ययोजनाको ढाँचा र यस सम्बन्धी थप जानकारी सिफारिस समितिको सचिवालयबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ ।

आमाको मुख हेर्ने दिनको अवसरमा धुलिखेल जिपलाइनमा ५० प्रतिशत छुट

काठमाडौं । धुलिखेल जिपलाइनले मातातीर्थ औंशीको अवसरमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । आमाको मुख हेर्ने दिनको अवसरमा जिपलाइनले आमासँगै जाने छोराछोरी र आमालाई जिपलाइनमा ५० प्रतिशत छुट दिने भएको हो । छुट आमाले मात्रै खेल्दासम्म पनि पाइने कम्पनीले जनाएको छ । छुट अफर बुधबारदेखि तीन दिनसम्म रहनेछ । वर्ल्ड–वाइड एडभेन्चर प्रालिले धुलिखेलमा सञ्चालित जिपलाइनमा क्लासिक जिपलाइन, उडेझैं खेल्न मिल्ने सुपरम्यान जिपलाइन र टेण्डम (दुई जनासँगै खेल्न मिल्ने) जिपलाइन सञ्चालन गरिरहेको छ । सुपरम्यान र टेण्डम जिपलाइन भने नेपालमै पहिलोपटक धुलिखेलमा सुरु गरिएको हो । धुलिखेल पुगेर जिपलाइनमा रमाउन चाहने आमा तथा छोराछोरीले छुटको अवसर प्राप्त गर्ने छन् ।

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा अभियान’ सुरु गरेको छ । १५ वडा रहेको यो नगरपालिकाले हरेक मंगलबार नगरपालिका क्षेत्रमा सञ्चालित सबै सामुदायिक विद्यालयमा अभियान सुरु गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमाध्यमिक विद्यालयले यही वैशाख १८ गते मंगलबारदेखि जीवनोपयोगी शिक्षा अभियान सुरु गरे तापनि दिक्तेलको सरस्वती माविबाट वैशाख २५ गतेदेखि औपचारिक रूपमा अभियान सुरु भएको छ । मंगलबार सरस्वती माविमा स्वास्थ्य शिक्षाका बारेमा स्वास्थ्यकर्मीले कक्षा लिएका दिक्तेल नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए । पञ्च माविमा भवन सरसफाइ र जनजागृति माविमा कृषि गतिविधिका साथ अभियान सुरु गरिएको जानकारी उनले दिए । नगरपालिकाले शैक्षिक अभियन्ता सूर्यबहादुर राईको संयोजकत्वमा गठन गरेको शैक्षिक सुधार कार्यदलको सुझावका आधारमा हरेक सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान सुरु गरिएको जनाइएको छ । सामुदायिक विद्यालयको गुणस्तर उकास्न सोही कार्यदलले दिएको सुझावका आधारमा नगर कार्यपालिकाले हरेक मंगलबार विद्यार्थीलाई पाठ्यपुस्तकका अतिरिक्त परियोजना कार्य (प्रजेक्ट वर्क) गराउने गरी अभियान लागु गर्ने निर्णय गरेको थियो । अभियानअन्तर्गत नगरपालिकाका सबै सामुदायिक विद्यालयले वार्षिक कार्ययोजना तयार पार्ने र सो कार्ययोजनामा ३० भन्दा बढी मंगलबार विद्यार्थीलाई व्यवस्थित तरिकाले परियोजना कार्य तयार गरेर कार्यान्वयन गराउने योजना रहेको संयोजक राईले बताए । अभियानका क्रममा नगरपालिकाले हरेक महिनाको मंगलबार विद्यालयको परियोजना कार्यको उपलब्धि प्रदर्शन गराउने र प्रोत्साहन गर्ने जनाएको छ । नगरपालिकाले वैशाख १९ गते नगरका ९३ विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई सहभागी गराएर विद्यालयको वार्षिक कार्ययोजना निर्माण कार्यशाला आयोजना गरेको थियो ।

कुमारी बैंकको १ लाख ११ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै १ लाख ११ हजार १६० कित्ता सेयर बिक्रीमा राखेको हो । कुल कित्ता मध्ये १ लाख ८ हजार ४४ कित्ता बैंकका विद्यमान संस्थापक सेयरधनीहरूका लागि र ३ हजार ११६ कित्ता अन्य व्यक्ति तथा कम्पनीका लागि बिक्रीमा राखिएको बैंकले जनाएको थियो । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ । त्यस्तै आम सर्वसाधारणका लागि सेयर खरिद चाहने इच्छुक लगानीकर्ताले पनि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले उल्लेख गरेको छ । निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

पहाडी र तराई क्षेत्रका केही स्थानमा वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले देशभर आंशिक बदली रहेको तथा गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा कतै हल्का त कतै मध्यम वर्षा भइरहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ । देशका पहाडी भेगका केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्का वर्षाको सम्भावना छ । साथै तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । आज राति देशभर आंशिक बदली हुनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा देशका पहाडी भागको केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरेको छ । साथै, देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

म्याग्दीको विकट खतेन गाउँमा विद्युतीकरण

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा विद्युत सेवा विस्तार भएको छ । नेपाल विद्युत प्राधिकरणले विकट खतेन गाउँमा सेवा विस्तार गरेको हो । प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालका अनुसार खतेन गाउँका ६० घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । ‘घरघरमा मिटरबक्स जडान भएपछि खतेन गाउँमा विद्युत् वितरण थालिएको हो,’ उनले भने, ‘खतेनका छिमेकी बस्तीका करिब चार सय घरमा पनि मिटरबक्स वितरणको तयारी गरेका छौँ ।’ मालिका गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका चार सय घरमा विद्युतीकरणका लागि जडान गरिएको ‘ट्रान्सफर्मर’ र मुख्य लाइनको गत चैत अन्तिम साता परीक्षण गरिएको थियो । ‘मालिकाको वडा नं २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नं ३ को लुप्सीपार, पात्ले र ४ नं वडाको ओखरबोटको मुख्य र शाखा लाइनको पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडान र परीक्षण सफल भएको छ,’ उनले भने, ‘विद्युत प्राधिकरणले मिटर बक्स वितरण, हाउस वायरिङ गरेपछि चार सय घरधुरीमा केन्द्रीय लाइनको बिजुली बल्छ ।’ नेपाल विद्युत प्राधिकरणको पूर्ण विद्युतीकरण कार्यक्रमअन्तर्गत पहिलो चरणमा मालिकाका तीनवटा वडामा बिजुली बाल्ने तयारी भएको हो । मालिकाको २, ३ र ४ नं वडाको घ्याङलेपानीबाहेकका बस्तीका बासिन्दाले हाल उज्यालोका लागि लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दै आएका छन् । विद्युतको कुनै स्रोत नभएको घ्याङलेपानीका बासिन्दा ‘सोलार’ बत्ती र टुकी प्रयोग गर्छन् । वर्षौँको प्रयासपछि बिजुली बाल्ने तयारी भएको मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले बताए । रुम गाउँमा चार वर्षअघि तार तानेर पोल गाडिएको थियो । म्याग्दीका १४ स्थानका दुई हजार एक सय ८३ घरमा राष्ट्रिय प्रसारणको विद्युत् सुविधा विस्तार गर्न गत वर्ष २० करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । यो योजनामार्फत म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिकाको गुर्जाबाहेक सबै बस्तीमा केन्द्रीय लाइनको विद्युत सेवा पुग्ने प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए । एक वर्षभित्र विद्युतीकरणसम्बन्धी सम्पूर्ण काम सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ । प्राधिकरणको म्याग्दी वितरण केन्द्रअन्तर्गत २२ हजार ग्राहक छन् । गत आर्थिक वर्षमा एक हजार दुई सय ३८ उपभोक्ता थपिएका थिए ।

कोका-कोला युथ डायलगको तेश्रो संस्करण : १३६ विद्यार्थीसँग दिगो समाधान खोज्दै

काठमाडौं । एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा आयोजित कोका–कोला युथ डायलगको तेस्रो संस्करणको पहिलो एपिसोडमा १३६ विद्यार्थीहरूले ‘एक्स्प्लोरिंग सोल्युशन्स फोर ए सस्टेनेबल फ्युचर’ अर्थात दिगो भविष्यका उपायरूको बारेमा छलफल गरेका छन् । ग्लोकल प्राईभेट लिमिटेडसँगको सहकार्यमा आयोजित कार्यक्रममा मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठको पनि उपस्थिति रहेको थियो भने सहभागीहरूले पृथ्वीको हरियालीको संरक्षणका लागि अपनाउन सकिने नवीन रणनीतिहरूको बारेमा छलफल गरेका थिए । उद्योग विज्ञ इके ह्याङ, मनु कार्की र रुबिना कार्कीको नेतृत्वमा भएको छलफलमा दिगो र उज्जवल भविष्यको लागि युवाहरूको सामूहिक र व्यवहारिक कदमहरूको बारेमा छलफल भएको थियो ।

मनाङको छिम्बु र कोतो भीरमा ‘रक क्लाइम्बिङ’ गराइने

गण्डकी । अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङको चामे गाउँपालिकास्थित छिम्बु र कोतो भिरलाई चट्टान आरोहण (रक क्लाइम्बिङ) गन्तव्यका रूपमा विकास गरिने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आर्थिक सहयोग, नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशको संयोजन र  फ्रान्सेली नागरिकद्वय लुडोभिक ज्याम्वेसी र ल्याभिनको विशेष प्राविधिक सहयोगमा रक क्लाइम्बिङका लागि परीक्षण गरिएको हो । मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाटमा नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष शेषकान्त शर्माले यही वैशाख ९ गतेदेखि २१ गतेसम्म फ्रान्सेली नागरिकद्वयले रक क्लाइम्बिङ निर्माणका लागि गरेको र प्राविधिक सहयोग एवं काममा स्थानीय पञ्चमाया तामाङ र लक्मी तामाङले सहयोग गरेको जानकारी दिए । उनले यी दुुवै भीरमा रक क्लाइम्बिङ गराइ पर्यटकीय रूपमा उपयोग गर्न सकिने सम्भावना देखिएकाले हिमाल आरोहणको पूर्वाभ्यासका लागि उपयुक्त गन्तव्य बन्ने विश्वास व्यक्त गरे । गण्डकी प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङले रक क्लाइम्बिङको नयाँ गन्तव्यको रूपमा यी दुई स्थान विकास गरिने बताए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नवीन पोख्रेलले रक क्लाइम्बिङ सञ्चालन गर्न सके पर्यटकको बसाई लम्ब्याउन सहयोग पुुग्ने विश्वास व्यक्त गरे । फ्रान्सेली नागरिकद्वय लुडोभिक ज्याम्वेसी र ल्याभिनले रक क्लाइम्बिङको विश्वव्यापी अवस्थाका साथै ती दुवै भीरको स्थलगत सम्भावनाबारे प्रकाश पारेका थिए । कार्यक्रममा नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका अध्यक्ष विकास गुरुङ, सचिव मनशान्त घिमिरे, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठलगायतले नेपालमा रक क्लाइम्बिङको सम्भावनालगायतका विषयमा आ–आफ्ना धारणा राखे ।