विकासन्युज

सानिमा बैंकको फोनपे क्यूआरबाट अन्तरदेशीय भुक्तानी गर्न सकिने

काठमाडौं । भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्युआर मार्फत अन्तरदेशीय भुक्तानी गर्न सक्ने भएका छन् । सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रा.लि.सँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका लागि सहकार्य गरेको हाे । बैंकका अनुसार यस सहकार्य अन्तर्गत, भारतीय नागरिकहरूले अब फोनपे, भीम एप र युपीआई मार्फत फोनपे नेटवर्क अन्तर्गतका क्युआर कोड स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । यस सहकार्यबाट नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुले नेपालमा सुरक्षित र सुनिश्चित डिजिटल माध्यमबाट झन्झटमुक्त भुक्तानीको अनुभव प्राप्त गर्न सकिने छ । सानिमा बैंकका देशका सातै प्रदेशमा १३३ कार्यालयहरु तथा १२४ वटा एटिएम सञ्जाल रहेका छन् ।

सांसद सुहाङ नेम्वाङले लिए शपथ

काठमाडौं ।  प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिएका हुन् । सभामुख घिमिरेले नेम्वाङलाई सांसदको प्रतिक चिन्ह प्रदान गरे । सो अवसरमा सचिवालयका कर्मचारीहरुले सांसद नेम्वाङलाई नेपालको संविधान/ऐन/नियमका सामग्री प्रदान गरेका थिए । कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत  उपस्थित थियो । यही वैशाख १५ गते सम्पन्न इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार नेम्वाङ प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री

काठमाडौंं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुलीको सुनकोशी गाउँसमितिद्वारा बुधबार मूलकोटमा आयोजित कार्यकर्ता भेटमा उनले सरकारको नेतृत्व लिएपछि अर्थतन्त्रमा निकै सुधार भएको बताए । प्रधानमन्त्री दाहालले भने, ‘म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ । आर्थिक सूचकाङ्कमा पछि परेका क्षेत्र र वर्गलाई लक्षित गरेर नीति कार्यक्रम र बजेट निर्माण गरिने जानकारी गराउँदै उनले समाजवादको आधार तयार गर्ने बताए । नीति कार्यक्रमलाई जनपक्षीय बनाउन विभिन्न पक्षसँग सुझाव लिने तयारी गरिएको जानकारी दिँदै उनले नीति कार्यक्रम र बजेटले समाजवादको आधार तयार गर्ने विश्वास दिलाए । सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै अध्यक्ष दाहालले सुशासनको अभियानमा सरकारले नयाँ कीर्तिमान कायम गरेको बताए । वर्तमान सरकारले ललितानिवास जग्गा प्रकरण, अवैध सुन तस्करी नियन्त्रण, मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रियामा ठूलो मेहनत गरेको उनको भनाइ छ । माओवादी नेतृत्वको सरकारले थालेका सुधारका काम एकाथरी व्यक्तिलाई मन नपरेकाले जनपक्षीय कामलाई सरकारले निरन्तर अघि बढाउने उनले स्पष्ट पारे । वर्तमान सरकारले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढङ्गबाट अघि बढाएको उल्लेख गर्दै पछिल्ला समयमा भएका उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट कूटनीतिक सम्बन्ध प्रगाढ बन्दै गएको बताए । कार्यकर्ता भेटघाटमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं माओवादी उपमहासचिव शक्तिबहादुर बस्नेत, सिन्धुलीका सांसद लेखनाथ दाहाल, माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री हरिबोल गजुरेल, बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईंलगायत सहभागी थिए ।

लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरु स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नं. १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वडा नं.१६ स्थित खरिबोट, बनस्थलिमा स्थानान्तरण गरिएको छ । त्यसैगरी, काठमाडौं महानगरपालिकाको वडा नं. २६ स्थित गोंगबु शाखा सोही नगरपालिकाको नयाँ बस पार्क नजिकै ल्होत्से मलमा स्थानान्तरण भएको छ । स्थानान्तरण गरिएका साविकका खुसिबु र गोंगबु शाखाका ग्राहकहरुले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ । स्थानान्तरण भए सँगै बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ । हाल बैंकको सञ्जालमा ५९ जिल्लामा २५८ शाखा, ३२१ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३१ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।

घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गरिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररतबाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता गर्ने निर्णय गरेको छ । सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेकाबाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएका थिए । मन्त्रालयले शिक्षकलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिइसकेको छ । रासस

भैँसी पाल्ने किसानलाई पर्वतको पैयुँ गाउँपालिकाले ५० हजार अनुदान दिने

पर्वत । जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई ५० हजार रुपैयाँ अनुदान दिने भएको छ । किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउन प्रतिभैसी ५० हजार रुपैयाँका दरले अनुदानको व्यवस्था गरिएको हो । यसअघि राँगा पालेका प्रत्येक किसानलाई २० हजार रुपैयाँ अनुदान दिएको पालिकाले भैँसीपालन गर्ने किसानलाई पनि अनुदान दिन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले बताए । सातवटा वडा रहेको पैयुँका प्रत्येक वडाका किसानले तीनदेखि चार वटासम्म राँगा पालेका छन् । गाउँपालिकाले यसपटक २० वटा राँगा पाल्ने किसानलाई चार लाख रुपैयाँ अनुदान वितरण गरेको छ । गाउँपालिकाले वार्षिक स्वीकृत कार्यक्रमअनुसार भैँसीपालन गरेका गाउँपालिकाका १६ जना किसानलाई प्रतिभैँसी ५० हजार रुपैयाँका दरले अनुदान प्रदान गर्न लागेको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले बताए । यसअघि राँगापालक किसानको प्रोत्साहनका लागि पैयुँ पालिकाले अनुदान रकम घोषणा गरेको थियो । पालिकामा किसानले एउटा भैँसीलाई राँगो लगाएको एक हजार ५०० रुपैयाँ खर्च तिर्दै आएका छन् । अब राँगापालकको गोठदेखि भैँसीपालकको गोठसम्मको दूरीका आधारमा मूल्य निर्धारणको लागि काम थाल्ने गाउँपालिकाले बताएको छ । राँगापालक किसानलाई चार लाख रुपैयाँ वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत रिमालले बताए । रासस

मातातिर्थ कुण्डमा स्नान गर्न बिहानै देखि घुइँचो (तस्बिरहरू)

काठमाडौं । बुधबार मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन परेको छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर देशैभरी मातातिर्थ औंसी मनाइँदै छ । बिहानै उठी नुहाईधुवाई गरी आफ्नी आमालाई उपहार दिई तथा मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन्, दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्नका लागि काठमाडौंको चन्द्रगिरिमा रहेको मातातिर्थमा मेला लाग्ने गर्छ । मातातिर्थ मन्दिरमा बिहानै देखि मातातिर्थ कुण्डमा स्नान गर्नेहरुको भीड छ । मेलामा सहभागी भई कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रहेको छ ।  

मुग्लिन-पोखरा सडक विस्तार : १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम खण्डमा पुल निर्माण धमाधम भइरहेको छ । पूर्वी खण्डमा १३ वटा पक्की पुल निर्माण भइसकेका छन् भने पश्चिममा ११ वटा निर्माणको चरणमा छन् । तनहुँको पूर्वी खण्डमा पर्ने आँबुखैरेनीबाट म्याग्देको जामुनेसम्मको १३ पुल सम्पन्न भएका छन् भने पश्चिम खण्डको जामुनेबाट पोखरा सेतीपुलसम्म १२ पुलमध्ये ११ पुल निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ । पूर्वी खण्डमा ४१ दशमलव सात किलोमिटर र पश्चिम खण्डको ३८ दशमलव ८८ किलोमिटर सडकमा निर्माण भइरहेको आयोजना पूर्वी खण्डका प्रमुख श्यामकुमार यादवले जानकारी दिए । उनका अनुसार पूर्वी सडकअन्तर्गत दमौली, डुम्रे र आँबुखैरेनी क्षेत्रमा तीनवटा ठूला पुल निर्माण भइरहेको छ । यस खण्डमा हालसम्म ५७ प्रतिशत कार्यप्रगति भएको छ । उक्त खण्डमा हालसम्म १८ किमी चार लेन र नौ किमी दुई लेन सडक कालोपत्र भइसकेको छ । त्यसैगरी पश्चिम खण्डमा करिब दुई हजार दुई सय विद्युत् पोल हटाउनुपर्नेमध्ये करिब ५० प्रतिशत हटाइएको छ । यो खण्डमा ११ किमी सडक कालोपत्र गरिसकिएको छ । यस खण्डमा हालसम्म करिब २३ प्रतिशत कार्यप्रगति भइसकेको पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिए । राजमार्गका दायाँ बायाँका विद्युत् पोल हटाउने कार्यलाई तीव्रता दिइएको छ, तनहुँको खैरेनीटारबाट कोत्रेवारिसम्म र कास्कीको कोत्रेपारिदेखि तल्लो गगनगौडासम्म पोल हटाउन बाँकी रहेको इन्जिनियर पौडेल जानकारी दिए । रासस