विकासन्युज

पर्यटकमाथि लगाइएको विलासिता कर हटाउन माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन क्षेत्रमा देखिएका समस्यामा समाधान गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलाई आग्रह गरेका छन् । महासंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा महासंघ अन्तर्गतकै हवाई तथा पर्यटन समितिका सभापति संयोजकत्वमा गएको उक्त टोलीले मन्त्री तामाङलाई भेटेर पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरी उत्पादनमूलक उद्योग सरहको सुविधा सम्बन्धन दिनुपर्ने माग राखेका थिए । यसैगरी समितिका सभापति देशबन्धु बस्नेतले अहिले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ का कारण पर्यटन क्षेत्रमा विदेशी लगानी भित्रिन नसक्ने भन्दै त्यसलाई तत्काल समयसापेक्ष बनाई परिमार्जन गर्नुपर्ने बताएका छन् । उनले चालू आर्थिक वर्षको बजेतमार्फत हवाई टिकटमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउँदा त्यसले नेपालको हवाई क्षेत्र धराशायी हुने अवस्था सिर्जना भएको बताए । ‘अहिले सरकारले हवाई टिकटमा भ्याट लगाउँदा कतिपय नेपाली कम्पनीहरू नै विदेशमा कम्पनी खोल्न पुगेका छन् भने नेपालबाट हवाई टिकट नकाट्दा विदेशी मुद्रासमेत बाहिरिएको छ,’ उनले भने, ‘सरकारले लिएका यस्ता अव्यवहारिक नीतिका कारण नेपालको पर्यटन क्षेत्र दैनिकरूपमा धराशायी हुँदै गएको छ ।’ सरकारले तारे होटल तथा लक्जरी रिसोर्टहरूमा पर्यटकसँग अतिरिक्त थप दुई प्रतिशत विलासिता कर लगाउँदा त्यसले विश्वमै नकारात्मक सन्देश गएको भन्दै त्यसलाई हटाउनुपर्ने बताएका छन् । यसैगरी उनले भारतीय पर्यटकलाई आकर्षित गर्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरूपमा सञ्चालनमा ल्याइनुपर्ने माग अघि सारेका छन् । कार्यक्रममा मन्त्री तामाङले महासंघको तर्फबाट सभापति बस्नेतले राखेका मागलाई आफूले सरोकारवाला मान्त्रालयसँग सहकार्य गरी बजेटमार्फत समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिएका छन् । ‘तपाईंहरूले जुन माग अघि सार्नुभएको छ त्यो राष्ट्र र व्यावसायिक हितमा छ,’ उनले भने, ‘सरकारले व्यवसायी र उपभोक्तालाई असर पर्ने काम गर्दैन तसर्थ सरोकारवाला मन्त्रालयसँग छलफल गरी उक्त समस्या समाधान गर्नेछु ।’ उक्त कार्यक्रममा महासंघको तर्फबाट उपाध्यक्ष ढकाल, सभापति बस्नेतसहित उद्योगपति शशिकान्त अग्रवाल, समितिका सदस्य शिव अधिकारी, पर्यटन सचिव डा. गणेशप्रसाद पाण्डेयलगायतको उपस्थिति रहेको थियो । यस्ता छन् मन्त्रीसमक्ष पेस गरिएका सुझाव राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण सम्बन्धमा : अर्थतन्त्र र गन्तव्य विकासमा विशेष योगदान पुर्याउने होटल क्षेत्र देशको गरिमा समेत रहेको हुनाले यस महत्वपूर्ण क्षेत्रलाई ‘औद्योगिक व्यवसाय ऐन २०७६’ मा पर्यटनमा मात्र वर्गीकरण गरिएको छ । तसर्थ यस क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग क्षेत्रमा समावेश गराउन आवश्यक पहलको लागि अनुरोध गर्दछु । २. उत्पादनमूलक उद्योग सरहको सुविधा सम्बन्धमा : यस क्षेत्रले पर्यटकीय वस्तु तथा सेवाको उत्पादनमार्फत अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको कुरा माननीय मन्त्रीज्यूलाई अवगत नै छ । दिगो पर्यटन र हरित पर्यटन सम्बन्धमा विशेष योगदान पुर्याउनको लागि यस क्षेत्रको महत्वपूर्ण भूमिका रहने हुनाले यस क्षेत्रलाई विद्युतको सहुलियत दर रेट, करमा विशेष छुट, विद्युत खपत नियमावलीमा समेत होटल उद्योगलाई विशेष विद्युत महसुल कायम गराई यस क्षेत्रलाई उद्योग सरहको सुविधा उपलव्ध गराउन आवश्यक पहलको लागि हार्दिक अनुरोध गर्दछु । ३.विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ परिमार्जन गर्ने सम्बन्धमा : उपरोक्त ऐनमा व्यवस्था भए अनुसार कुल बिक्रीको ५ प्रतिशतभन्दा बढी रोयल्टी शुल्क बढी नहुने गरी पठाउन मात्र पाउने प्रावधानले मुलुकमा अन्तर्राष्ट्रिय होटल रिसोर्टको सञ्चालन हुन कठिन रहने देखिन्छ । किनकि अन्तर्राष्ट्रिय ब्राण्डका होटलहरूले ५ प्रतिशतभन्दा कम मूल्यमा सञ्चालन गर्न नचाहने हुँदा विदेशी लगानी नेपाल भित्रिन तयार नरहने हुँदा विदेशी लगानी आकर्षित गर्नका निमित्त ऐनमा परिमार्जन गरी सहज बनाउन आवश्यक पहलको लागि माननीय मन्त्रीज्यूमा अनुरोध गर्दछु । ४.विदेशी भ्रमणका लागि हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर लगाउने व्यवस्थाले, अन्तर्राष्ट्रिय यात्रा भाडा अहिले महंगो भएको हुँदा भाडा अझै महंगो हुन जाने भएकोले नेपालमा यात्रा तथा समस्या पर्यटन व्यवसायमा नकारात्मक असर पार्न सक्ने चुनौतीपूर्ण अवस्था सिर्जना भएको छ । नेपाल सरकारले आगामी जुलाई १७ (श्रावण २ गते) देखि उच्च वर्गका होटल तथा रिसोर्ट (चार र पाँच तारे) हरूमा बस्ने वा सेवा लिने ग्राहक पाहुनाहरूबाट थप दुई प्रतिशत विलासिता कर असुल गर्ने भएको छ । यसबाट पर्यटन उद्योगमा नकारात्मक असर पारी देशको पर्यटकीय प्रतिस्पर्धात्मक क्षमता समेत नकारात्मक असर पार्ने अवस्था भएको छ । वायुसेवा सञ्चालकहरुलाई १३ प्रतिशत अतिरिक्त कर लगाउने व्यवस्थाले नेपाललाई महंगो गन्तव्य बनाउने छ, जसले गर्दा विदेशीहरूलाई नेपाल भ्रमण गर्न निरुत्साहित गर्न सक्छ । ५. धेरै भारतीय पर्यटकहरु नेपाल प्रवेश गर्ने सबै खुल्ला नाकाहरुलाई व्यवस्थित रूपमा सञ्चालन गरी आगमन प्रक्रियालाई झन्झटरहित एवं सुलभ बनाउनु पर्दछ । भारतीय पर्यटकहरुले अनलाइन भुक्तानी गर्न सक्ने व्यवस्था विस्तार गरि सहज बनाउनुपर्ने देखिन्छ । भारतीयहरूको नेपाल पहिलो रोजाई भए पनि विवाहका लागि गहना र नगद ल्याउन पाउने सिमित व्यवस्थाका कारण अन्य मुलुक गैरहेको सन्दर्भमा निर्वाध रूपमा नगद र गरगहना ल्याउन पाउने व्यवस्था गरि भारतीय र गैर आवासीय भारतीयहरूलाई आकर्षित गर्नुपर्छ । यसैगरी अध्यागमन पनि सहज बनाउनुपर्छ । भारत सीमा नजिक हिलस्टेसन विकास गर्न पूर्वाधार विकास गर्नु आवश्यक रहेको छ । यी क्षेत्रहरूमा शिक्षा र स्वास्थ्य पर्यटन पनि प्रवर्द्ध गर्न सकिन्छ । ६.पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा संचालन गर्नका लागि माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छौं ।

सुनकोशी-मरिण डाइभर्सन कार्यान्वयनमा आएसँगै अर्थतन्त्रमा योगदान पुग्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएसँगै राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने  बताएका छन् । सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको आज सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा सुरूङ ‘ब्रेक–थ्रु’ गर्दै  प्रधानमन्त्री दाहालले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बृद्धि हुने विश्वास व्यक्त गरे । ‘यस आयोजनाले मधेस प्रदेशका पाँच जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ, राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्नुका साथै बिजुली  उत्पादन हुनेछ,’ प्रधानमन्त्री दाहालले भने, ‘आज सुरूङको ‘ब्रेक–थ्रु’ भएको छ, यस आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न हुनेछ ।’ सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजना रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आयोजनाहरू सम्पन्न हुँदा उत्पादकत्व अभिवृद्धि र समृद्धिको लक्ष्यमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘सुरूङमार्गको ब्रेक–थ्रु सम्पन्न हुँदा हामी सबैमा नयाँ ऊर्जा र प्रेरणा मिलेको छ । ठूला पूर्वाधार निर्माणमा उत्साह थपेको छ ।’ कृषि क्षेत्र नेपालको आर्थिक विकासको मुख्य मेरूदण्ड हुनुका साथै कुल ग्राहस्थ उत्पादनमा झन्डै एकतिहाइ योगदान रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले देशका लागि आवश्यकपर्ने खाद्यान्न आपूर्तिमा आत्मनिर्भर हुन, खाद्य सुरक्षाको सुनिश्चित गर्न, जनताको आर्थिक उत्थान र समृद्धिका साथै गरिवी न्यूनीकरण गर्न कृषि उत्पादन तथा उत्पादकत्व बृद्धि अपरिहार्य रहेको बताए । नेपालको ६० प्रतिशत कृषियोग्य भूमि तराई मधेश तथा भित्री मधेशभित्र नै पर्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तराई–मधेश क्षेत्रमा विकास भई सञ्चालन भइरहेका सिँचाइ आयोजनाहरू नदी बहाव प्रणालीमा आधारित रहेका बताए । हिमनदीहरूको पानी कृषि उत्पादनका लागि प्रयोग गरिनुपर्ने बताउँदै उनले सोही पानीको स्रोतलाई जलविद्युत् उत्पादन, खानेपानीलगायत अन्य प्रयोजनमा प्रयोग गरी राष्ट्रको समग्र विकास गरिने उल्लेख गरे । प्रधानमन्त्री दाहालले ठूला पूर्वाधारहरूको सफल निर्माणबाट नै नेपालमा सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल हुने भएकाले आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिए । उनले देशको रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजनालाई प्रभावकारी रूपमा सम्पन्न गर्ने कार्यमा आ–आफ्नो ठाउँबाट समन्वय र सहयोग गर्न अपील गरे । यस आयोजनाको सफल कार्यान्वयनबाट जलस्रोत तथा सिँचाइ क्षेत्रमा कार्यरत प्राविधिकहरूको नयाँ प्रविधिको उपयोग गर्दै प्राविधिक दक्षता हासिल गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जलस्रोतको संयोजनात्मक रूपमा उपयोग गरी उर्वर भूमिबाट कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गरी आयातको असन्तुलन कम गर्न मद्दत पुग्ने बताए । आयोजना सञ्चालनपश्चात् सुनकोशी र तामाकोशी क्षेत्रमा बसोवास गर्ने जनसङ्ख्याको बहुआयामिक विकास हुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस क्षेत्रमा माछापालनदेखि आन्तरिक तथा बाह्य पर्यटनको उल्लेख्य वृद्धि एवं मनोरञ्जन तथा ताल/जलासयमा पर्यटन व्यवसाय फस्टाउने बताए । सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना सिन्धुली र रामेछाप जिल्लाको सीमानाबाट सुनकोशी नदीको पानीलाई १३ दशमलव ३ किलोमिटर लामो सुरूङमार्फत मरिन नदीमा खसाली बागमती नदी हुँदै बागमती सिँचाइ आयोजनामा पुर्याउने छ । हाल सिँचाइ भइरहेको ४५ हजार ६०० हेक्टर जमीनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभरि सिँचाइ सुविधा पु¥याउने आयोजनाको प्रमुख उद्देश्य रहेको छ । रासस

घरविहीन भएकालाई नेपाल लाइफले दियो राहत सामग्री

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आगलागीका कारण घरविहीन भएकालाई राहत सामग्री प्रदान गरेको छ । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा आगलागीका कारण घरविहीन भएका पीडित परिवारहरूलाई राहत सामग्री सहयोग स्वरूप प्रदान गरेको हो । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, वडा अध्यक्ष कलिम राईन, यस कम्पनीका कर्मचारीहरू तथा स्थानीय नागरिक अगुवाहरूको समुपस्थितिमा पीडितहरुलाई प्रत्येक घर एक थान साडी वितरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले कम्पनीले गरेको सहयोगका निम्ति धन्यवाद ज्ञापन गरेका छन् । यस प्रकारको सहयोगले भीषण आगलागीबाट प्रभावित घर परिवारलाई सहज हुने विश्वास समेत व्यक्त गरे । वडा अध्यक्ष कलिम राईनले आगलागीबाट लत्ता कपडा नष्ट भएका कारण प्रभावित परिवारले अत्यन्तै कष्टकर जीवन बाँच्नुपरेको अवस्थामा कम्पनीले प्रदान गरेको सहयोगले जीवनयापन सहज हुने कुरा बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस कम्पनीले विभिन्न सामाजिक आर्थिक रूपान्तरणका क्रियाकलापहरु गर्दै आएको कुरा बताए । प्रभावित परिवारलाई हरसम्भव सहयोग गर्न कम्पनी सदैव तत्पर रहेको र आगामी दिनमा पनि कुनै किसिमको सहयोग चाहिएको खण्डमा कम्पनी अग्रपंक्तिमा रहेर सहयोग गर्न तयार रहेको कुरा समेत बताए । कम्पनीले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, बीमा सचेतना, पूर्वाधार निर्माण तथा गरिब निमुखा, सीमान्तकृत वर्गको जीवन उत्थानका निम्ति संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको कुरा समेत बताए । यस भीषण आगलागीबाट प्रभावित भएका १५० घरपरिवारलाई कम्पनीले राहत सामग्री उपलब्ध गराएको हो । मटिहानी नगरपालिका वडा नम्बर ६ मा लागेको आगोले सय भन्दा बढी घर पूर्ण रुपमा नष्ट भएका छन् भने करिव पचास वटा जति घरमा क्षति भएको छ ।

बुबाको मार्गनिर्देश अनुसार अघि बढ्छु : सांसद नेम्वाङ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले इलामेली जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले त्यहाँका जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा बुधबार आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनियताको शपथ लिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा सांसद नेम्वाङले विकासका आधार कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्रवद्र्धन गर्न नीतिगत व्यवस्था गर्ने र भइरहेको नीति परिमार्जनको पक्षमा लाग्ने बताए । दिवङ्गत बुबा सुवासचन्द्र नेम्वाङले देखाएको मार्गदर्शन अनुसार आफू अघि बढ्ने उल्लेख गर्दै उनले इलामेली जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सांसद नेम्वाङले समग्र जिल्लाका समस्या र इलामको विकासलाई प्रभावकारी रुपमा उठाउने विश्वाससमेत दिलाए । ‘नेपालमा धेरै विकासका काम अघि बढेका छन् । धेरै नीति निर्माण भएका छन् । सुशासनमा कमजोरी देखिँदा नतिजा आउन सकेको छैन । एकअर्कासँग सहकार्य गरेर समन्वयकारी भूमिका खेलेर संविधानलाई कार्यान्वयन गर्न सकिन्छ भन्नेमा एकताबद्ध भएर लाग्नुपर्छ । बुबा (सुवास नेम्वाङ)ले देखाएको मार्गनिर्देश अनुसार थाँती रहेका जिम्मेवारी पूरा गर्नेछु’, सांसद नेम्वाङले भने । रासस

चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल

ललितपुर । ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानस्थित चक्रपथ छेउमा फुलेको बैजनी रङ्गको जाकाराण्डा फूलले त्यहाँ जाने हरेकलाई लोभ्याउने गरेको छ । यो वर्षमात्रै होइन हरेक वर्ष वसन्त ऋतुमा सातदोबाटोदेखि एकान्तकुनासम्मको सडक छेउमा जाकाराण्डा यसरी नै ढपक्कै फुलेको देखिन्छ । जसले चक्रपथ क्षेत्रको शोभासमेत बढाएको छ । महालक्ष्मीस्थान चोक, चापागाउँ दोबाटो चोक र थसीखेल चोकमा जाकाराण्डा फूलका ठूला रूखहरु छन् । अहिले हरेक दिन बेलुकापख फूललाई पृष्ठभूमिमा पारेर फोटो खिच्नेहरुको लामलाग्ने गरेको छ । बैजनी रङ्गमा फुलेको जाकाराण्डा फूलको सुन्दर दृश्यमा धेरै जना रमाइरहेका देखिन्छन् । थसीखेल चोकमा फुलेको जाकाराण्डा देखेर मनै प्रफुल्ल हुने गरेको बताउँछन् स्थानीय वीरेन्द्र तितुङ । उनी भन्छन्, ‘हरेक वर्षको एकपटक जाकाराण्डा फुलेको देख्दा मन आनन्द हुन्छ । जाकाराण्डाले चक्रपथको मात्र नभएर वरपरको बस्तीको पनि शोभा बढाएको छ ।’ सोही फूलको दृश्य नियालिरहेका सर्जु रिजाल पनि जाकाराण्डा फूलले वर्षको एकपटक भए पनि वसन्त ऋतुको सम्झना गराउने गरेको बताउँछिन् । विश्वका विभिन्न देशको भ्रमण गरिसकेको बताउने सर्जु अन्य देशमा फरक फरक रङ्गका जकाराण्डा देखिने भए पनि यहाँ एकै रङ्मा सजिएका दृश्य थप मनमोहक रहेका धारणा राख्छिन् । रिजाल भन्छिन्, ‘जर्मनलगायत अन्य देशमा जाकाराण्डा विभिन्न रङ्गको हुन्छ तर यो चक्रपथमा एकै रङ्गको छ । हुन त यो पनि राम्रै देखिएको छ तर फरक–फरक रङ्गको भयो भने झन् शोभनीय देखिन्थ्यो ।’ ललितपुर महानगरपालिकाले चक्रपथ छेउमा जाकाराण्डा फूलका बिरुवा रोपेका छन् । तिमध्ये केही फुल्न सुरूगरेका छन् भने केही भर्खर हुर्कंदैछन् । केही रूखहरु फुलेर सडक ढपक्कै ढाकेका छन् । अहिले ललितपुरको जावालाखेल, लगनखेल, कुपण्डोललगायत विभिन्न स्थानमा जाकाराण्डा फुलेका देख्न सकिन्छन् । रासस

सुनकोशी-मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’, एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ

कमलामाई । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् । प्रधानमन्त्री दाहालले टिबीएम स्विच थिचेपछि आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्न पसेको टिबीएम मेसिन सुनकोशी नदी किनार कानढुङ्ग्रीबाट बाहिर निस्किएको थियो । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत कमलामाई–२ कुसुमटारदेखि सुनकोशी–७ कानढुङ्ग्रीसम्म सुरुङ रहेको छ । यसको क्षेत्रफल १३ दशमलव ३ किलोमिटर छ । लक्ष्यभन्दा एक वर्षअघि  नै सुरुङ ब्रेक थ्रु गर्न सफल भएको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए । खन्न सुरु भएको १९ महिनामा सुरुङ ब्रेक थ्रु भएको छ । एकैदिन ७२ मिटरसम्म सुरुङ खनिएको आयोजनाले जनाएको छ । विसं २०७९ असोज २८ गतेदेखि सुरुङ खन्ने काम आरम्भ भएकामा यसबीचमा ६ पटक अवरोध भएको प्रमुख बरालले बताए । सुरुङभित्र सुक्खा पहिरो खस्ने, लेदोसहित पाखो नै खस्ने हुँदा सुरुङ खन्ने टिबीएम मेसिन अगाडि बढ्न नसक्दा काम रोकिएको थियो । उच्च प्रविधिबाट ५.५ डायमिटरको सुरुङ मार्गमा गुणस्तरीय सेगमेन्ट प्रयोग भएको आयोजनामा कानढुङ्ग्रीस्थित सुनकोशी नदीमा ३० मिटर उचाइ र एक सय ५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङमार्फत पानी कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यहाँ ६६ मिटर उचाइबाट पानी झारेर ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिनेछ । सुरुङ निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनीयरिङ (कोभेक) ले पाएको हो । यस कम्पनीले यसअघि भेरी बबई डाइभर्सनमा सुरुङ निर्माणको काम गरिसकेको छ । सुनकोशी मरिणमा सुरुङ खन्न मात्र कोभेकले १० अर्ब पाँच करोड ६८ लाख रुपैयाँमा ठेक्का लिएको प्रमुख बरालले जानकारी दिए । नदीमा बाँध बाँधेर सुनकोशीको पानी मरिण खोलामा खसाली मधेसका पाँच जिल्लामा वर्षैभरि सिँचाइ तथा विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार काम सुरु भएको हो । आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको आयोजनाले जनाएको छ ।

फुटसल प्रतियोगिता एक्सन स्पोर्ट एचडी च्यानलले प्रत्यक्ष प्रशारण गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघको आयोजनामा वैशाख २६ गते देखि जेठ ९ गते सम्म अन्तर कलेज फुटसल प्रतियोगिता एक्सन स्पोर्ट एचडी १ च्यानल आयोजना हुँदैछ । उक्त प्रतियोगिताको प्रत्यक्ष प्रसारण भने डिस मिडिया नेटवर्कले एक्सन स्पोर्ट एचडी १ च्यानलेबाट गर्ने भएको छ । उक्त सम्झौतामा प्याराडाइम ग्रुपको तर्फबाट सिसन बानिया र डिश मिडिया नेटवर्कका तर्फबाट विजिनेस डेभलमेन्ट हेड भूपाल सिंह बस्नेतले हस्ताक्षर गरेका थिए । प्रतियोगितामा प्लस टु र व्याचलर तहमा अध्ययनरत विद्यार्थी सम्मिलित कुल १६ वटा टिमको सहभागिता रहनेछ । सहभागी टिमहरुलाई ४ समुहमा विभाजन गरि लिग कम नकआउट आधारमा खेलहरु खेलाईने छ । प्रतियोगिताको सम्पूर्ण खेलहरु लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको कभर्डहलमा हुनेछ ।

बैंक समस्यामा पर्दा ढुकुटी खोल्ने राष्ट्र बैंक सहकारी सुन्दा किन तर्सिन्छ ?

काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकले बैंकहरु समस्यामा पर्दा ढुकुटी खोलेर तरलता बजारमा पुर्याउने काम गर्दै आएको भए पनि सहकारीको समस्या समाधानमा मुकदर्शक बनेको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा विहिबारदेखि सुरु भएको दोस्रो लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा बोल्दै उनले सहकारीको समस्या समाधानका लागि राष्ट्र बैंकले कुनै पहल नगरेको बताएका हुन् । ‘बैंकहरु समस्यामा पर्दा र तरलताको अभाव हुँदा ढुकुटी खोलेर बजारमा पैसा पठाउँछ, अहिले सहकारीहरु समस्यामा छन्, तर यसको समस्या समाधानका लागि कुनै पनि निकायले वास्ता गर्दैनन्, राष्ट्र बैंक पनि तर्सिन्छ,’ उनले भने । यस्तै, उनले बैंकको ब्याज खुला छोड्दा सहकारीको ब्याजमा सीमा तोक्ने विषयलाई पनि प्रश्न गरे । उनले सहकारीमा स्वायत्तता तथा स्वनियमन भनेर नै समस्या सिर्जना भएको र वर्तमान संकट देखिएको बताउँदै अब दोस्रो तहको नियामक अतिआवश्यक रहेको धारणा राखे । ‘हामीले आफैं काम गर्न नसकेपछि अर्काको नियन्त्रणमा बस्ने हो, स्वायत्ततासँगै जवाफदेहिताबाट हुनुपर्छ, अराजकताले संकट ल्याउँछ, स्वायत्त भन्दा संकट आएको हो, दोस्रो तहको नियामक अतिआवश्यक छ,’ उनले भने । उनले अहिले सहकारीमा विशेष प्रकारका चुनौतीहरु रहेको र केही जोखिम पनि कायम रहेकोले ती जोखिम कम गर्नका लागि कानुनको परिपालना आवश्यक रहेको धारणा राखे । यस्तै, उनले कम्पनीमा फेक कम्पनी दर्ता गरेर सहकारीबाट ऋण लिएर त्यसले सहकारीहरु समस्यामा परेको अभ्यास रहेको पनि सुनाए ।