ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, २० हजारको सहभागिता
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका १६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो । बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरुमा २० हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो । बैंकले कोशी प्रदेश आयोजना गरेको कार्यक्रममा २५००, मधेश प्रदेशमा २०००, बागमती प्रदेशमा ५०००, गण्डकी प्रदेशमा ४५००, लुम्बिनी प्रदेशमा ३५००, कर्णाली प्रदेशमा ५०० र सूदुरपश्चिम प्रदेशमा २५०० भन्दा बढि लक्षित वर्गको सहभागिता रहेको थियो । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मा मुलुकका ७७ जिल्लामा रहेका आफ्ना ३५४ शाखामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवद्र्धन कार्यक्रमहरुसञ्चालन गर्न गइरहेको छ । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन् । ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालमा प्रभु बैंकका ग्राहकलाई छुट
काठमाडौं । न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि र प्रभु बैंकबीच विशेष छुट सम्झौता सम्पन्न भएको छ । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–८,मोरङ्ग स्थित न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक टिस्क्यान, न्यूरोसर्जरी, न्यूरोआईसियू, अर्थोप्याडिकसर्जरी, एमआरआई, प्रसुतितथा स्त्री रोग, क्याथ प्रयोगशाला, ल्याप्रोस्कोपिक सर्जरी, न्यूरो नेभिगेसन स्टेल्थ लगायतका स्वास्थ तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको हो । एक समारोहबीच न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलका संचालन निर्देशक राजेश भट्टराई र प्रभु बैंक गोल्छा चोक, शाखा प्रमुख प्रशान्त कुमार झाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा क्यूआर प्रणालीबाट न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटललाई भुक्तानी गर्नुपर्ने हुन्छ ।
एनसेलले ल्यायो आमाहरूप्रति समर्पित भिडियो
काठमाडौं । आज आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थ औँसी । आफुलाई जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद ग्रहण गर्दै यो पर्व मनाइन्छ । आफ्ना सन्तानलाई जस्तो सुकै परिस्थितीमा पनि सधैं मायाको बन्धनले बाँधि राख्ने आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिने हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यो दिनलाई मातृऔंसी एवं मातृ दिवस पनि भनिन्छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने यस पर्वको अवसरमा एनसेलले एक विषेश भिडियो सार्वजनिक गरेको छ । संसार देखाउने आमाको ममताभन्दा गहिरो माया अनि सन्तानलाई हुर्काउने आमाको काखभन्दा प्यारो ठाउँ संसारमै कतै भेटिन्न, पर्व नै हाम्रो परम्परा हो र यसलाई मनैदेखि मनाऔं, सम्बन्ध सधैं विशेष बनाऔं भन्ने सन्देश यो भिडियोले बोकेको छ । आफुलाई प्राण दिने दिवङ्गत आमाहरुको सम्झनामा आजकै दिन तर्पण, सिदा दान र पिण्ड दान गरी श्राद्ध गरेर मातृत्वको स्मरण गर्ने गरिन्छ । आमाहरु प्रति समर्पित विशेष भिडियो
आर्थिक क्षेत्रकै ठुलो सम्मेलन हुँदै, राष्ट्रपति पौडेलले उद्घाटन गर्ने
काठमाडौं । नेपाली चार्टर्ड एकाउन्टेन्टहरूको छाता संगठन नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान)ले देशले भोगिरहेको आर्थिक सङ्कटको समाधानका विषयमा बहस गर्न राष्ट्रिय सम्मेलन गर्ने भएको छ । बिहीबार हुने ‘क्राइसीस टु राईज, अनलकिङ इकोनोमिक पोटेन्सीयल इन डिसगाईज’ विषय दिइएको सो सम्मेलनमा देशमा विद्यमान आर्थिक संकट र त्यसका समाधान विषयमा खास बहस हुने एक्यानले जनाएको छ । सो कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नेछन् । उद्घाटन सत्रमा अर्थमन्त्री वर्षमान पुन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, शिक्षामन्त्री सुमना श्रेष्ठ लगायतले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको एक्यानले जनाएको छ । कार्यक्रमको दोश्रो सत्रमा बैंकिङ क्षेत्र र समग्र अर्थतन्त्रलाई जोडेर विशेष बहस हुनेछ । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा कि नोट स्पिकरका रुपमा रहने सो सत्रमा नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश कुमार अग्रवाल, नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसी, नेपाल उद्योग वाणिज्य महासंघकि पूर्वअध्यक्ष भवानी राणा, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरीले विशेष बहस गर्नेछन् । सो कार्यक्रमलाई नबिल बैंक लिमिटेडका डेपुटी सीईओ मनोज ज्ञवालीले मध्यस्थतता गर्नेछन् । कार्यक्रमको तेश्रो सत्रमा नेपालको समृद्धिको र आर्थिक विकासका विषयमा खास बहस हुनेछ । पूर्वमन्त्री मिनेन्द्र रिजाल कि नोट स्पिकरका रुपमा रहने सो कार्यक्रममा पूर्वमन्त्री विमला राज पौड्याल, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीश चन्द्र पोखरेल र अर्थविद विश्वास गौचनले बहस गर्ने कार्यक्रम छ । सो कार्यक्रमलाई वरिष्ठ सञ्चारकर्मी दिल भुषण पाठकले मध्यस्थतता गर्नेछन् । कार्यक्रम नेपालले भोगिरहेको आर्थिक सङ्कटको समाधानको दिशा देखाउने काममा उल्लेखनीय हुने विश्वास एक्यानले जनाएको छ । सो कार्यक्रममा देशका विभिन्न बैंक तथा वित्तीय संस्थाका सीईओहरु, विभिन्न कर्पोरेट हाउसका प्रमुखहरू, बीमा कम्पनी तथा सरकारी निकायका प्रतिनिधिहरू तथा नेपालका चार्टर्ड एकाउन्टेन्टहरूको उल्लेखनीय सहभागिता हुनेछ ।
दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने
काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङले दक्षिण कोरिया र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वर्ष पूरा भएको अवसरमा दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि गर्दै जाने बताएका छन् । राजदूत पार्क ताई योङले बुधबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा नेपाललाई प्रदान गरिँदै आएका विविध सहयोगमा आगामी दिनमा वृद्धि हुँदै जाने बताए । गणतन्त्र कोरियाले नेपाललाई खासगरी स्वास्थ्य, क्षिक्षा, कृषि र सुशासनका क्षेत्रमा सहयोग गर्दै आएको छ । राजदूत पार्कले अन्य मुलुकको तुलनामा आफूहरूले नेपाललाई गरेको सहयोग नमूनाका रूपमा रहेको उल्लेख गर्दै सन् २००७ मा नेपालसँग रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता भएयता हालसम्म एक लाखभन्दा बढी नेपालीले दक्षिण कोरियामा रोजगारी प्राप्त गरिसकेका छन् । हाल दक्षिण कोरियामा इपिएसअन्तर्गत ४३ हजार नौ सय ६३ नेपाली विभिन्न क्षेत्रमा रोजगारीमा छन् । ‘कोरियामा हाल जन्मदर न्यून भएकाले श्रमिकको खाँचो छ, नेपालबाट श्रमिक कामदार लैजाने प्रक्रियाअन्तर्गत आगामी दिनमा अझ वृद्धि हुनेछ,’ राजदूत पार्कले भने । हाल दक्षिण कोरियाको उत्पादनमूलक, कृषि, पानीजहाजलगायत क्षेत्रमा नेपाली श्रमिक कार्यरत छन् । आगामी वर्ष दक्षिण कोरियाले वन्यजन्तु र वन क्षेत्रमा समेत नेपाली श्रमिक लैजाने योजना रहेको राजदूत पार्कले बताए । दक्षिण कोरियाले विभिन्न १६ देशबाट वार्षिक एक लाख श्रमिक माग गर्ने गरेको छ । त्यसमध्ये नेपाल पहिलो स्थानमा छ । यस अवसरमा कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) का नेपाल प्रमुख मोहन कोङले नेपालको विकास निर्माणमा कोइकाले गर्दै आएका सहयोगबारे जानकारी गराए । कोइकाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि, सुशासन, उद्यमशीलतालगायत क्षेत्रमा सहयोग गर्दै उनले बताए । कोइकाले गरिबी निवारण, दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्य राखेको छ । कोइकाअन्तर्गतको ‘के हामी’ परियोजनाका अधिकृत किम दोअले कोरियाबाट फर्केका नेपाली कामदारलाई यहीँ स्वरोजगार बनाउन सञ्चालन गरिएको उद्यमशीलताबारे जानकारी गराएका थिए । सन् १९९१ मा स्थापना भएको कोइकाले हाल ४७ देशमा विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । नेपाल र गणतन्त्र कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
फ्लाईओभरका अव्यवस्थित निर्माण सामग्री हटाइयो (तस्बिरहरू)
ललितपुर । ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरको अव्यवस्थित ढंगले राखिएका निर्माण सामग्री हटाइएको छ । केही दिनअघि नेपाल फोटो लाइब्रेरीले गरेको फोटो फिचरपछि यहाँको अव्यवस्थित निर्माण सामग्री हटाइएको हो । अव्यवस्थित निर्माण सामग्री राखिँदा सर्वसाधारणले हैरानी खेप्नुपर्ने बाध्यता थियो । निर्माण सामग्रीका कारण सवारीजामले सर्वसाधारण सास्ती खेप्नु परेको थियो । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रको निर्देशनमा निर्माण कम्पनी आशिष समानान्तर रेलिगेर जेभी निर्माण कम्पनीले अव्यवस्थित निर्माण सामग्री व्यवस्थित गरेको सिनियर डिभिजन इन्जिनियर राकेश महर्जनले जानकारी दिए । ‘निर्माण कम्पनीले पहिलो प्राथमिकता सडकमा ओहोर दोहोर गर्ने सवारीसाधनलाई सम्भावित दुर्घटनाबाट जोगाउनु नै हो,’ उनले भने, ‘निर्माण सामग्री व्यवस्थित गर्ने विषयमा तत्काल कार्यान्वयन गर्न लगाइएको छ ।’ अव्यवस्थित निर्माण सामग्री राखिदा ग्वार्को चोकबाट सातदोबाटोतर्फ करिब सय मिटर सडकमा जोगिएर हिड्नु पर्ने थियो । फ्लाइ ओभर निर्माण भइरहेको स्थलको भित्रबाट निस्किएको फलामको रडहरुले जोखिम मोलेर हिड्नु पर्ने बाध्यता थियो । जाम खुल्दा सार्वजनिक सवारीहरु पेलिएर आउँदा सर्वसाधारण डराउदै हिड्नु पर्ने हुन्थ्यो । साना सवारी साथै ठुला सवारी त्यसरि नै जोगिदै हिड्नु पर्ने बाध्यता थियो । रड मात्र नभैइ फ्लाइ ओभर निर्माण स्थल ढाकिएका जस्ताबाट निस्किएका निर्माण सामग्रीले गर्दा जोगिएर हिड्नु पर्ने बाध्यता रहेको सवारी चालकहरुको गुनासो रहेको थियो । निर्माण स्थलमा फलाम र जस्ताले ढाकिएको थियो । निर्माण स्थल ढाकिएका ठुला डिभाइडर भित्रबाट रड निस्किदा थप समस्या बेहोर्नु परेको सर्वसाधारण सुमन तामाङले बताए । सडकमै निस्किएको उक्त रडले ठुलै दुर्घटना निम्तयाउन सक्ने र जोगिएर हिड्नु पर्ने बाध्यता थियो । कतै भने ढाकिएका पुराना जस्ता फुत्किएका र भित्रका निर्माण सामग्री बाहिर सडकमा निस्किएका दृश्य समेत देख्न पाइन्थ्यो । निर्माण क्रममा सडकबाट निकालिएका फलामेबारहरु पनि बेबारिसे अवस्थामा फालिदा थप हैरानी खेप्नु परको सर्वसाधारण यात्रु तामाङले बताए । काठमाडौं चक्रपथमा सवारी आवागमनको चापलाई व्यवस्थापन गर्न सरकारले ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभर निर्माण कार्य गरिरहेको हो । फ्लाइ ओभर निर्माणको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग गुणस्तर अनुसन्धान र विकास केन्द्र विभागले जिम्मा लिएको छ ।
फाइनान्समा लगानीकर्ताको आकर्षण, नेप्से सामान्य घट्याे
काठमाडौं । बुधबार सेयर बजार ०.२१ अंकले घटेर १९६०.६० बिन्दुमा झरेको छ। आज ३०५ कम्पनीको ७४ लाख कित्ता सेयर ४१ हजार १३७ पटक खरिद बिक्री हुँदा २ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कारोबार रकम भने बढेको छ । मंगलबार २ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। आज वित्त ३.११, हाइड्राेपावर ०.०२, लघुवित्त २.७६ र ट्रेडिङ ०.१५ प्रतिशतले बढेको छ । त्यस बाहेकका सबै समूह नकारात्मक छन् । आज १२४ कम्पनीको सेयर घटेको । १०७ कम्पनीको बढेको छ भने १२ कम्पनीको स्थिर छ। आज सबैभन्दा धेरै फस्ट माइक्रो फाइनान्सको कारोबार भएको छ । कम्पनीको १० करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको हो। त्यस्तै आज सबैभन्दा धेरै कमाउनेमा इन्फिनिटि लघुवित्त रहेको छ । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । लघुवित्तको शेयरमूल्य आज १२७ रुपैयाँ ९० पैसा बढेर १ हजार ४०७ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ । आज सेन्सेटिभ इण्डेक्स ०.१७ अंक घटेको छ भने फ्लोट इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स दुबै ०.०९ अंक बढेको छ ।
संकलित पुँजीको उचित परिचालन नहुँदा सहकारीमा समस्या देखियो : रजिष्ट्रार घिमिरे
काठमाडौं । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीलाई पूँजी संकलन गर्ने साधनको रूपमा मात्र प्रयोग गरिएको बताएका छन् । बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा भएको गोष्ठीमा बोल्दै सदस्यबाट संकलित पुँजीको उचित परिचालन हुन नसक्दा सहकारीमा समस्या भएको उनले बताएका हुन । नियमाकीय दृष्टिकोणमाः ‘सहकारी क्षेत्रको विद्यमान समस्या, समाधानमा सदस्य र समितिको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै घिमिरेले लेखा सुपरिवेक्ष समिति भनेको सहकारी संस्थाको वाच डगको संज्ञा दिए । लेखा समितिले संस्थाको सुपरिवेक्षण प्रभावकारी रूपमा गर्नुपर्ने उनको भनाइ छ । सहकारी क्षेत्रलाई समाजवादउन्मुख अर्थतन्त्र निमार्णका लागि सशक्त आधारशिलाको रूपमा स्थापना गर्नका लागि संविधानले नै अंगिकार गरेको छ । तर, अहिले सहकारीमा धेरै समस्या छन् । नीतिगत तथा संस्थागत संरचनामा धेरै समस्या देखिएको उनको बुझाइ छ । ‘सहकारीमार्फत आर्थिक समृद्धिको सम्भावना प्रसस्तै छ, अर्र्थतन्त्रमा सहकारीको महत्वपूर्ण योगदान छ, मुलुकको कूल ग्राहस्थ्य उत्पादनमा करिब ४ प्रतिशत योगदान छ, ९३ हजार ७ सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको छ, दिगो विकास लक्ष्य प्राप्तिका लागि वार्षिक १४.८१ प्रतिशत लगानी यो क्षेत्रको छ, तर हाम्रो आफ्नै कारणले सहकारीमा समस्यामा छ,’ उनले भने । सहकारीमा आन्तरिक समस्या धेरै देखिएका छन् । लेखा समितिले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा वहन नगर्ने , बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने, कानुन कार्यान्वयनमा उदासिनता , संस्थागत संरचनामा समस्या, कार्यगत समस्या र प्रभावकारी नियमन नहुँदा सकारीलाई पिरोलिएको घिमिरेले उल्लेख गरे । कोभिड १९सँगै विश्वमा आएको महामारी, सहकारीमा भाखा नाघेका कर्जाका साथै असुलीमा समस्या, बिना धितो कर्जा प्रवाह, कर्जा वर्गीकरणमा प्रभावकारीता नहुँदा, ऋण जोखिमलाई ध्यान पुर्याउन नसक्दा र तरलता व्यवस्थापन गर्न नसक्दा सहकारीमा समस्या देखिएको उनले बताए । समस्या समाधानका लागि सैद्धान्तिक मूल्य मान्यताप्रति प्रतिबद्ध हुदै, सहकारी संस्थाका लेखा सुपरिवेक्षण समितिले प्रभावकारी रूपमा आन्तरिक नियन्त्रण गर्दै सहकारी संस्थाका जागरुक सदस्यहरूले खबरदारी गर्नुपर्नेमा घिमिरेको जोड छ । उक्त टिप्पणीकर्ताका रूपमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष काशिराज दाहालले संस्थाको अनुगमनको क्रममा एउटै सहकारीबाट बिनाधितो ५ अर्ब सम्मको कर्जा आफ्नै श्रीमतीलाई जमानी राखेर वितरण गरेको देखिएको बताए । अन्धाधुन्ध र खुद्रा पसल जस्तै सहकारी संस्थाको दर्ता प्रक्रिया रोक्नुपर्ने उनको भनाइ छ । यसरी दर्ता भएका सहकारी संस्थाहरूले राम्रा काम गर्ने सहकारी संस्थालाई विस्थापित गरेको दाहालले औंल्याए । सहकारी संस्थालाई तीन तहमा नियमन गर्ने व्यवस्था गरिएसँगै सहकारी क्षेत्रमा ठूलो समस्या आएको उनको भनाइ छ । त्यस्तै अधिकांश सहकारी संस्थाहरूको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिमा परिवारिक एकाधिकार भएका कारण पनि सहकारीमा समस्या देखिएको उनले बताए । उनले भने, ‘लेखा समितिले आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने ८० प्रतिशत समस्या समाधान हुन्छ । ’ कार्यक्रममा सहभागीबाट हरेक सहकारी प्रकृति फरक भए पनि मूख्यत कारोबार बचत ऋणको मात्र गरेका कारण सहकारीमा समस्या देखिएको उनको भनाइ छ । सात वर्ष पहिले ऐनमा गरको व्यस्था कर्जा असुली न्यायधिकण, कर्जा सूचना केन्द्र र बचत तथा ऋण सुरक्षण कोष स्थापना नहुनु नै समस्या देखिएको उनले औंल्याए । त्यसैगरी, उक्त प्रस्तुतिको सहजकर्ताका रूपमा राष्ट्रिय सहकारी महांसघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले गरेका थिए ।