योगलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्दैछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं। उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले योग तथा साधनालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्ने गरी तयारी भइरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित योग तथा उर्जा ध्यान शिविरको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले योग तथा ध्यानलाई आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा समेट्ने गरी तयारी गरिरहेको बताए । उनले योग, ध्यान र साधनाको अभ्यासको महत्वलाई विश्वले अहिले बुझिरहेको बताए । उनले योग तथा ध्यान रुढीवादी नभइ वैज्ञानिक विधि रहेको जिकिर गरे । ‘हामीले योग, ध्यान र साधनाको अभ्यासको महत्वलाई पूर्वीय चिन्तन, विशेषता, विशषेतः ऋषिमुनिहरुले योगीहरूले जे दिनुभयो, अहिले संसारले बल्ल त्यसको महत्व बुझिरहेको छ र अभ्यासको अभियान चलाइरहेको छ, यो रुढीको कुरा होइन, यो विज्ञानको कुरा हो, त्यसकारण यो वैज्ञानिक विधिलाई आत्मसाथ गर्यौँ भने हामीले आफू व्यक्तिलाई चिन्न, फेर्न र व्यक्तिलाई राम्रो बनाउनका निम्ति मद्दत गर्दछ र यसले स्वभाविक रुपमा मानव जातिलाई पनि राम्रो बनाउनका लागि अघि बढाउन मद्दत गर्दछ,’ उनले भने, ‘यसको अभ्यास सबैतिर गर्ने हामी अहिले सोचिरहेका छौँ, अहिलेको नीति तथा कार्यक्रममा पनि हामी यो ल्याउँदैछौँ, बजेटमा पनि ल्याउँदैछौँ, नेपाल त झन फेरि यो कोणबाट हेर्ने हो भने ध्यान गर्नका निम्ति सर्वाधिक उपयुक्त तपोभूमि हो, बुद्ध, शिवको तपोभूमि, व्यास, पतञ्जली, जनक, सीता, पद्यसम्भव, अष्टावक्र यहीँ, कसरी भयो त्यो सबै, ऋषिमुनिहरुले तपस्या गर्ने भनेको ध्यान गर्ने हो, ध्यानको अभ्यास गर्ने सबैभन्दा राम्रो भूमि भनेको नेपाल हो ।’
चुचुरोसम्मै गरियो ‘रोप फिक्सिङ’, सुरु भयो सगरमाथा आरोहण
काठमाडौं । यो वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको छ । दक्ष कामदार (आइसफल डाक्टर) ले शुक्रबार बेलुका सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँगेपछि) गरेपछि आरोहण सुरु भएको हो । सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार शुक्रबार बेलुका ८ बजेर १५ मिनेटमा सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै आरोहण खुलेको छ । ‘सगरमाथा हिमालचुलीको शिखरसम्म बाटो निर्माण (रोप फिक्सिङ) सम्पन्न भएको छ । यससँगै टोलीमा संलग्न १० जना आरोहीहरुबाट सर्वोच्च चुलीको यो यामको पहिलो आरोहण सम्पन्न भएको छ,’ विज्ञप्तिमा भनिएको छ । पर्वतारोही डेन्डी शेर्पाको नेतृत्वमा रोप फिक्सिङ टोलीमा संलग्न सदस्यले सगरमाथाको चुचुरोसम्म सफलतापूर्वक डोरी टाँगेका विभागले उल्लेख गरेको छ । यो आरोहणसँगै सगरमाथाका लागि अनुमतिप्राप्त स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि आरोहणको बाटो खुलेको विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङले बताए । ‘सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ भएसँगै आरोहणको बाटो खुलेको छ, मौसम अनुकूल रहेकाले अब धमाधम आरोही चुचुरोतर्फ लाग्नेछन्,’ उनले भने । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालको निर्णयअनुसार सन् २०२४ को वसन्त ऋतुमा सगरमाथा हिमालचुलीको दोस्रो शिविरदेखि चुचुरोसम्म हिमाली बाटो निर्माण गर्न पर्यटन विभागबाट पर्वतारोहण सञ्चालक सङ्घलाई जिम्मेवारी दिइएकामा उक्त सङ्घबाट छनोट भई सेभेनसमिट ट्रेकले दोस्रो शिविरदेखि चुचुरोसमम बाटो बनाउने जिम्मा पाएको थियो । सेभेन समिट ट्रेकका फिल्ड म्यानेजर टेण्डी शेर्पाले सगरमाथाको बाटो खोल्ने टोलीलाई आधार शिविरबाट संयोजना गरेका थिए । उक्त टोलीमा सोलुखुम्बुका पामदोर्जी शेर्पा र नामग्याल दोर्जे तामाङ तथा सङ्खुवासभाका डेन्डी शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, पेम्बा टासी शेर्पा, लाक्पा शेर्पा, दावा रिन्जे शेर्पा, दावा शेर्पा, सुकबहादुर तामाङ र लाक्पा रिन्जी शेर्पा रहेका छन् । विभागका अनुसार यो याममा सगरमाथा आरोहण गर्न ४१ समूहका ७५ महिला र तीनसय ३९ पुरुषसहित ४ सय १४ जनाले अनुमति लिएका छन् । अझै केही टोली बढ्नसक्ने विभागको अनुमान छ । यी आरोहीबाट सलामी रकम ५९ करोड २३ लाख ५ हजार ८ सय ४९ रुपैयाँ राज्यकोषमा दाखिल भएको छ ।
सानिमा रिलायन्सको जीवन बीमा कोष साढे १३ अर्ब
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्राे त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको सेयर पूँजी ४ अर्ब १८ करोड रहेको छ । चालु आर्थिक वर्षको तेस्राे त्रैमाससम्ममा गत आर्थिक वर्षको तुलनामा ९२.९४ प्रतिशतले नाफा वृद्धि गर्दै ३० करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा जम्मा १५ करोड ७९ लाख रुपैयाँ थियो । कम्पनीको महाविपत्ति कोषमा १२ करोड ६९ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ९९ करोड ७२ लाख रुपैयाँ रहेको छ । २०७९/८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ९१ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा चैत्र मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार २४.१४ प्रतिशतले वृद्धि भएर १३ अर्ब ५५ करोड पुगेको विवरणले देखाएको छ । चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ११८.९३ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष सोही अवधिमा १ अर्ब ९५ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । ४ अर्ब १ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ११७.०७ प्रतिशतले वृद्धि भएको पाइन्छ । समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २६ करोड १९ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३८ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो । प्रतिशेयर आम्दानी ९.७१ रुपैयाँ र प्रति शेयर नेटवर्थ १२६.९९ रुपैयाँ रहेको कम्पनीले ४३ करोड ३१ लाख रुपैयाँ अभिकर्ता कमिसनमार्फत खर्चिएको छ ।
वसन्तमय तिलोत्तमा (तस्बिरहरू)
रुपन्देही । तिलोत्तमा नगरपालिका नेपालकै एक नमुना नगरपालिका हो । यो देशकै उत्कृष्ट नगरपालिकाहरूमा छनोट पनि भएको थियो । तिलोत्तमा नगरपालिकाको भूभागमा पर्ने बुटवल–भैरहवा छ लेन सडक पनि नेपालकै नमुना सडकका रूपमा परिचित छ। हरियाली प्रवर्द्धनका कार्यक्रमले छ लेन सडकमा थप आकर्षण बढेको छ । सडकको दायाँ बायाँ एकनासका मझौला रुखको हरियाली, बिच डिभाइडरमा ढकमक्क फुलेको बेगनबेली फूलको सौन्दर्य । बुटवलको योगीकुटी पार गरेपछि तिलोत्तमा नगरपालिकामा प्रवेश गरेसँगै सडकको दायाँ र बायाँ दुबैतर्फ ६ मिटरको दूरीमा स्टोनिया जातका बिरुवाको हरियाली छाएको छ । मुख्य डिभाइडरमा तिलोत्तमा नगरपालिकाले नगरको फूल घोषणा गरेको बेगनबेली राताम्मे फुलेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको तिलोत्तमा सडक खण्डको १३ किलोमिटर सडकमा २५ सय बढी प्रजातिका विभिन्न फूलका बिरुवाहरू लगाइएका छन् ।
भगवान कोइरालाको नेतृत्वमा बन्ने बाल अस्पताललाई मीनबहादुर गुरुङको ४१ करोड सहयोग घोषणा
काठमाडौं । भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा गरेका छन् । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले सातै प्रदेशमा निर्माण गर्ने अस्पतालका लागि गुरुङले सो बराबरको रकम घोषणा गरेका हुन् । कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छन् । निर्माणाधीन अस्पताल क्षेत्रमै पुगेर गुरुङले कोइरालाको अभियानमा साथ दिने प्रतिवद्धता जनाएका हुन् । डा. कोइराला नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य र अलिक भिन्न तरिकाले बालबालिकाको सबै प्रकारका रोगको विशेषज्ञसहितको विशिष्टिकृत सेवा दिने उद्देश्यले अस्पताल निर्माणको अभियानमा जुटेका छन् ।
सरकारले विश्व वन्यजन्तु कोषमार्फत १ अर्ब २० करोड अनुदान लिने
काठमाडौं । सरकारले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने ९० लाख २४ हजार ३ सय १२ अमेरिकी डलर (करिब एक अर्ब २० करोड रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले इजरायल घटनामा परी निधन भएका ६ नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म पुर्याउँदा लागेको कुल खर्च २८ लाख ३६ हजार ८ सय ३४ रुपैयाँ सम्बन्धित पक्षलाई भुक्तानी गर्ने निर्णय भएको जानकारी दिइन् । यही वैशाख २९ देखि जेठ ४ गतेसम्म बङ्गलादेशमा आयोजना हुने सिकाइ आदान–प्रदान कार्यक्रममा सहभागिताका लागि राष्ट्रिय योजना आयोगका सदस्य प्राडा शिवराज अधिकारीलाई स्वीकृति दिने र दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यलाई मलेसियामा आयोजना हुने तालिम कार्यक्रमको अनुगमन गर्न तथा उक्त कार्यक्रमको समापन समारोहमा भाग लिन आगामी जेठ १४ देखि १८ गतेसम्म मलेसिया भ्रमण गर्न स्वीकृति दिने पनि सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद्ले इन्डोनेसियाको बालीमा आयोजना हुने दसौँ वल्र्ड वाटर फोरमअन्तर्गत यही जेठ ७ देखि ८ गतेसम्म आयोजना हुने मन्त्रिस्तरीय बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई सहभागी हुन स्वीकृति दिनेसमेत निर्णय गरेको सरकारका प्रवक्ता शर्माले जानकारी दिइन् । ‘कोहलपपुर–सुर्खेत–दैलेख एक सय ३२ केभी प्रसारण लाइन आयोजनाको टावर निर्माण गर्न सुर्खेत जिल्ला र दैलेख जिल्लामा करिब ५० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने र प्रहरी अतिरिक्त महानिरीक्षकहरु टेकप्रसाद राईलाई प्रशासन विभागमा सुदीप गिरीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गर्ने निर्णय भएको छ,’ प्रवक्ता शर्माले भनिन् । त्यसैगरी, मन्त्रिपरिषद्ले प्रहरी नायब महानिरीक्षकहरू उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने निर्णय गरेको छ । ट्रामाडोल (टपेन्टडोल औषधीहरूका एकल वा सम्मिश्रण औषधिहरुलाई लागुऔषध नियन्त्रण) ऐन, २०३३ को दफा ३ को खण्ड (क) को उपखण्ड ७ बमोजिम मनोदीपक औषधीको सूचीमा समावेश गर्ने सरकारको निर्णय छ ।
२१ करोड दस्तुर तिरेर टेलिकमले पायो ५ वर्षको मोबाइल लाइसेन्स
काठमाडौं । नेपाल टेलिकमलाई मोबाइल सेवाको नयाँ अनुमतिपत्र (लाइसेन्स) दिने निर्णय गरिएको छ । अनुमतिपत्र खारेज हुने अन्तिम दिन शुक्रबार नियामक नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई ५ वर्षका लागि नयाँ अनुमतिपत्र जारी भएको पत्र पठाएको छ । नयाँ लाइसेन्सको अवधि र दस्तुरका विषयमा नीतिगत अन्योल रहँदै आएकोमा प्राधिकरणले नेपाल टेलिकमलाई २१ करोड रुपैयाँ दस्तुरसहित हालका लागि लाइसेन्स उपलब्ध गराएको हो । प्राधिकरणका अनुसार बाँकी सर्त प्राधिकरणले तोकेअनुसार हुनेछ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमको लाइसेन्स अवधि एक वर्ष थप्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो । मन्त्रिपरिषद् बैठकले नेपाल टेलिकमको उक्त अनुमतिपत्रको २५ वर्षे अवधि शुक्रबार सकिने भएकाले नयाँ लाइसेन्स दिन प्राधिकरणलाई निर्देशन दिएको थियो । नेपाल टेलिकमले २०५६ वैशाख २९ गते जीएसएम सेलुलर मोबाइल सेवाको अनुमति लिएको थियो । दूरसञ्चार ऐन २०५३ को दफा २५ मा अनुमतिपत्रको अवधि बढीमा २५ वर्ष हुने उल्लेख छ । मन्त्रीपरिषद्ले दूरसञ्चार सेवालाई नियमित गर्ने प्रयोजनका लागि दूरसञ्चार ऐन, २०५३ को दफा २० को अधिकार प्रयोग गरी नेपाल टेलिकमलाई सोही ऐनको दफा ३३ (४) बमोजिम पुनः अनुमतिपत्र जारी गर्न प्राधिकरणलाई निर्देशन दिएको जनाएको छ । नयाँ लाइसेन्स लिन टेलिकमले गत माघ २८ गते नै प्राधिकरणमा आवेदनमा बुझाएको भए पनि कति दस्तुर लिएर कति अवधिका लागि पुनः अनुमतिपत्र जारी गर्ने भन्ने विषयमा अन्योल देखिएपछि प्राधिकरणले निकास दिन भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई अनुरोध गरेको थियो । नेपाल टेलिकमले मंगलबार मात्रै तेस्रो नवीकरण बापत बुझाउन बाँकी रहेको १९ अर्ब ८१ करोड १० लाख रुपैयाँ नियामक प्राधिकरणको खातामा जम्मा गरिदिएको छ ।
पर्यटन बोर्डलाई चलायमान बनाउन नीतिगत सुधार जरुरी : सचिव पाण्डेय
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले नेपाल पर्यटन बोर्डलाई चलायमान बनाउन नीतिगत सुधार जरुरी रहेको बताएका छन् । बोर्डका अध्यक्षसमेत रहेका सचिव पाण्डेयले बोर्डलाई चलायमान बनाउन आवश्यक नीतिगत निर्णय गर्न आफू सधै सकारात्मक रहेको जानकारी दिए । बोर्डले आज आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै सचिव पाण्डेयले पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी बजेटको तयारीमा लाग्न पनि बोर्डलाई निर्देशन दिए । पर्यटन बोर्ड सार्वजनिक निजी साझेदारीको उत्कृष्ट नमुना भएको उल्लेख गर्दै उनले बोर्ड गठन गर्दाको उद्देश्य अनुरूप काम गर्न सके नेपालको पर्यटन प्रवर्द्धन गर्न सकिने धारणा राखे । बोर्डका बोर्डका कार्यकारी सदस्य ऋषि भण्डारीले पर्यटन चलायमान बनाउन आवश्यक नीतिगत सहजिकरण तथा सरोकारवालाबीच सहकार्य आवश्यक भएको उल्लेख गरे । उनले बोर्डलाई चलायमान बनाउन सचिवले पहल गर्नुपर्ने र त्यसमा निजी क्षेत्रकोतर्फबाट सधैसाथ सहयोग रहने बताए । बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले बोर्डलाई प्रभावकारी ढंगले सञ्चालन गर्न आवश्यक नीतिगत सुधारको लागि मन्त्रालयबाट सहजीकरण हुने विश्वास व्यक्त गरिन् । त्यस अवसरमा बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले पर्यटन बोर्डको समग्र गतिविधिबारे प्रस्तुतिकरण दिएका थिए ।