विकासन्युज

चिया विकास निगमका चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा बिर्तामोडस्थित नेपाल चिया विकास निगम लिमिटेडका सिनियर एकाउन्टेन्ट सञ्जय बिलोटियासहित चारजनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले ३९ लाख ८९ हजार ६ सय ७७ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै मुद्दा दायर गरेको हो। बिलोटियासँगै तत्कालीन लेखापाल मनीषकुमार कर्ण, तत्कालीन अफिस कर्ल्क राजु भनिने गुणराज श्रेष्ठ र नेपाल विद्युत प्राधिकरण, भद्रपुर वितरण केन्द्रका तत्कालीन लेखापाल बेदबहादुर रानालाई पनि भ्रष्टाचारको अभियोग लगाइएको छ। विद्युत प्राधिकरणलाई विद्युत महसुल भुक्तानी गर्दा वास्तविक मूल्यभन्दा बढी रकम बुझाई भ्रष्टाचार गरेको उजुरीमा अख्तियारले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा निगमले आर्थिक वर्ष २०६९/७० देखि २०७२/७३ सम्म तिर्नुपर्ने विद्युत महसुल रकम १ करोड ९३ लाख ६५ हजार ६ सय ५१ रुपैयाँ रहेको तथ्य फेला परेको छ । तर, नक्कली बिल भरपाई पेस गरी २ करोड ३३ लाख ५५ हजार ३ सय २९ रुपैयाँ लिन लगाएको अनुसन्धानले देखाएको छ ।

सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति नबनेसम्म सदन चल्न दिँदैनौं : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति नबनेसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएका छन् । संसद बैठक चल्न नदिने कुरामा आफू नभई सरकार र यसको कामकारबाही जिम्मेवार रहेको उनको जिकिर थियो । शुक्रबार प्रतिनिधि सभा बैठकको शुभारम्भमा बोल्दै महामन्त्री थापाले काँग्रेसले लगाएको आरोप गलत सावित गर्न उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरण छानविन गर्न संसदीय समिति बनाउनुपर्ने आफूहरुको मागलाई इन्कार गरेर सरकार र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पनि आफूहरुलाई हेप्न खोजेको भन्दै आपत्ति पनि जनाए । उनले उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगी गरेको प्रमाण रुपेन्द्रेही प्रहरीले त्यहाँको जिल्ला अदालतमा बुझाएको अनुसन्धान प्रतिवेदनमा स्पष्ट उल्लेख गरिएको दाबी समेत गरे । उनले सरकार र सत्तारुढ दलहरुकै नेतृत्वमा छानविन समिति बनाउने भएकाले त्यसमा डराउनुपर्ने कुनै कारण नभएको पनि बताए । ‘नेपाली काँग्रेस सदन चल्नुपर्छ भन्ने कुरा गम्भिर छ । हाम्रो जम्मा एउटा कुरा थियो । यो संसदले छानविन समिति बनाउँदै गर्दा यो छानविन समितिमा नेकपा एमाले बस्ने होला, माओवादी बस्ने होला । रास्वपा बस्ने होला । सरकारकै कारणले गर्दा यो अप्ठयारो सृजना भएको हो । अब संसदको कुनै पनि काम कारबाही अगाडि बढ्ने कुरामा नेपाली काँग्रेसका साथ रहँदैन । जबसम्म संसदीय छानविन समित बन्दैन, उनले भने । महामन्त्री थापाले सो प्रकरण ढाकछोपका लागि सरकारले महान्यायाधिवक्ताको कार्यालयको समेत दुरुपयोग गरेको आरोप लगाए ।

उत्तरी म्यान्मामा ४ लाख बढी उत्तेजक ट्याब्लेट बरामद

याङ्गुन । म्यान्माका अधिकारीहरूले उत्तरी म्यान्माको काचिन राज्यमा ४ लाख ५४ हजार १ सय उत्तेजक ट्याब्लेट बरामद गरेको केन्द्रीय कमिटी फर ड्रग एब्युज कन्ट्रोल (सिसिडिएसी) ले शुक्रबार एक विज्ञप्तिमा जनाएको छ । सूचनाका आधारमा लागुऔषध विरुद्धको प्रहरीले गत मे ६ मा काचिन प्रदेशको मोहनिन नगरपालिकामा एउटा गाडीलाई रोकेर लागुऔषध र तीनवटा मोबाइल बरामद गरेको थियो । बरामद लागुऔषधको मूल्य ५८ करोड १० लाख क्याट्स (करिब तीन लाख २४ हजार दुई सय ८५ अमेरिकी डलर) रहेको छ । यस मुद्दामा तीन संदिग्धलाई पक्राउ गरिएको सिसिडिएसीले बताएको छ । उनीहरूलाई मुलुकको लागुऔषध र साइकोट्रोपिक पदार्थ कानुनअन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको बताइएको छ । एजेन्सी

‘नेपाली अब युरो कपमा’ योजनाको विजेता घोषणा कार्यक्रम सम्पन्न

काठमाडौं । साईमेक्स् इन्क प्रालिको नेपालका लागि आधिकारिक वितरक बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडले आयोजना गरेको ‘नेपाली अब युरो कपमा’ अन्तर्गत लक्की ड्र मार्फत विजेता घोषणा कार्यक्रम सम्पन्न भएको छ। विजेताहरूले जर्मनीमा हुने यूईएफए यूरो कप २०२४ खेल मैदानमा उपस्थित भई प्रत्यक्ष खेल हेर्ने मौका पाउने भएका छन् । यस आयोजना अत्यन्तै रोचक रहेको र विजेताहरूलाई अविस्मरणीय अवसर प्रदान गरेको कम्पनीले जनाएको छ। साईमेक्स् इन्कले यो अवसरका लागि २६ फेब्रुअरी २०२४ देखि मे ५ सम्म बिवाइडी गाडी बुकिङ गर्ने ग्राहकहरूबाट ११ जना भाग्यशाली ग्राहक लक्की ड्रबाट चयन गरी विजेता घोषित गरेको हो । बिवाइडी नेपालका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य र साईमेक्स् इन्कका अध्यक्ष अनिल श्रेष्ठले संयुक्त रूपमा लक्की ड्र कार्यक्रम गरेका थिए । दुई चरण गरी लक्की ड्रबाट निकालिएका विजेताहरूको नामावली अनुसार पहिलो चरणका विजेताहरूको नाम यस प्रकार रहेको छ ः बिवाइडी कस्टमर कार्निभल : जयराम न्यौपाने कोड नम्बर : ४०७ शास्वत गौतम कोड नम्बर : ०७४ श्याम सुन्दर श्रेष्ठ र सुदर्शन श्रेष्ठ कोड नम्बर : ०८८ विजेन्द्र शाक्य कोड नम्बर : ३७३ कविनराज श्रेष्ठ कोड नम्बर : ०२६ दिनेश प्याठा तथा दोस्रो चरणका विजेताहरूको नाम कोड नम्बर : ६६२ गणेश कँडेल कोड नम्बर : ६५३ डा. ममता क्षेत्री र डा जगदीश तिमिल्सिना कोड नम्बर : ६८२ प्रदीप पौडेल कोड नम्बर : १६२ सगरमाथा टेलिभिजन र बिमल गुरुङ कोड नम्बर : ६९१ जयप्रकाश दास कोड नम्बर : २०० सजिना पाण्डेय नेपाली अब यूरो कपमा योजनाको ११ भाग्यशाली विजेतालाई बधाई दिन पाउँदा हामी खुसी लागेको र यस किसिमका योजनाले ग्राहकलाई सन्तुष्टि प्रदान गर्ने कम्पनीका अध्यक्ष समीर श्रेष्ठले बताए । साथै, योजनालाई सफल बनाउने बिवाइडी र सम्पूर्ण यूईएफए यूरो कप २०२४ टिमलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आफू योजनाबाट अत्यन्तै उत्साहित भएको समेत बताएका छन् ।

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

काठमाडौं । नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार राजधानीमा विमोचन गरिएको छ । लक्ष्मणबाबु श्रेष्ठ स्मृति कोषले आयोजना गरेको कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाले ‘नेपालमा केबुलकारका स्रष्टा लक्ष्मणबाबु श्रेष्ठ’ नामको पुस्तक विमोचन गरेका हुन् । लक्ष्मणका गुरुसमेत रहेका थापाले चेलाका सम्बन्धमा भने, ‘केही मानिस स्पष्ट बाटो हिँड्छन् र गन्तव्यमा पनि पुग्छन् । लक्ष्मणबाबु यस्तै मानिस थिए । अगाडि बढ्नु छ भने उनीजस्तै उद्देश्य राखेर झुट नबोली अडानका साथ काम गर्नुपर्छ ।’ आफूलाई लक्ष्मणलाई जागीर लगाइदिन आग्रह गर्ने क्रममा भेट हुँदा पढ्न सुझाव दिएको उनले स्मरण गरे । उनले भने, ‘उसलाई नेपाली होइन, अंग्रेजी पढ्नु पर्यो रे भनेपछि मैले साँझतिर मेरामा पढ्न पठाइदिनू, उसलाई अंग्रेजी म पढाइदिन्छु भनें । पछि त उनी साथीजस्तै भए । पत्नीलाई दिदी मानेर भाइटिका लगाउन थालेपछि पारिवारिक सम्बन्ध गाँसियो ।’ उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले लक्ष्मणबाबुबाका तीन कुरा प्रेरणादायी रहेको बताए । ‘उनी साहस र संकल्प गर्ने व्यक्तित्व हुन् । दोस्रो, उनी सिर्जनात्मक व्यक्तित्व पनि हुन्’, उनले भने, ‘तेस्रो, कामप्रति निष्ठापूर्वक लाग्ने जुन समर्पणसहितको हुन्थ्यो ।’ राष्ट्र निर्माणमा कसरी योगदान दिने भनेर सधैं चिन्तित हुने कर्मवीर र निडर लक्ष्मणबाबुले धेरैलाई देश विकासमा योगदान गर्न प्रोत्साहित गरेको उनको भनाइ छ । उनले भने, ‘सामाजिक–आर्थिक रुपान्तरणमा दूरदृष्टि भएका उनी हाम्रा लागि आर्थिक समृद्धिमा प्रेरणा प्रदान गर्ने व्यक्ति पनि हुन् ।’ अनुसन्धानकर्ता, संकलक एवं लेखक प्रा. डा. जयराज आचार्यले असम्भव जस्तै लाग्ने केबुलकार नेपाल भित्र्याउनु चानचुने कुरो नभएको समय २०५५ सालमा हिम्मत बटुलेर मनकामना मन्दिरसम्म लाखौं भक्तजनलााई जोड्न लक्ष्मणबाबु सफल भएको बताए । उनले भने, ‘उहाँको यो साहस, चितवनमा एक अर्ब लगानी गरेर चितवन मिल्क खोलेको र जलविद्युत्का योजना सुरु गर्ने व्यक्तित्व भएकाले यो किताब लेख्ने काम गरें ।’ लक्ष्मणबाबुले पैसाभन्दा मित्र कमाउनु पर्छ भन्ने सन्देश दिएको सुनाउँदै उनले थपे, ‘धोका दिनेसँग पनि नरिसाई मुस्कुराउन सिकाउनु भएको छ । उहाँ कहिल्यै रिसाएको देखिनँ पनि ।’ पुस्तकका अर्को अनुसन्धानकर्ता, संकलक एवं लेखक विवेक गौतमले लक्ष्मणबाबु व्यवस्थापनका इन्साइक्लोपेडिया भएको बताए । उनले भने, ‘समस्याहरुसँग जुध्न सक्ने क्षमता लक्ष्मणबाबुमा अदुभूत पाएँ । व्यवस्थापनमा पनि आवश्यकता अनुसार परिमार्जन गर्दै व्यावहारिक ढंगबाट काम गर्ने खुबी प्रसंसनीय छ ।’ पूर्व राजदूत एवं सहपाठी सूर्यप्रसाद श्रेष्ठले नेपालमा प्रविधि भित्र्याउन लक्ष्मणबाबुको ठुलो हात रहेको बताए । ‘त्यो बेला जतिबेला संकट थियो, उनले केबुलकार जस्तो प्रविधि भित्र्याए । यस्ता उद्योगधन्दाले देश विकासमा टेवा पु¥याउँछ’, उनले भने, ‘उहाँले देखाएको परिवर्तनको बाटोले समाजलाई अगाडि बढाएको छ ।’ नयाँ नयाँ प्रविधि के, कुन, कसरी, कहिले ल्याउने र कसरी प्रयोग गर्ने विवेक लक्ष्मणबाबुमा भएको उनको भनाइ थियो । लक्ष्मणबाबुका ज्येष्ठ भतिज ध्रुवबाबु श्रेष्ठले तीन वर्ष लगाएर पुस्तक तयार पारेको बताउँदै भने, ‘काकाभन्दा म ६ वर्ष कान्छो छु । उहाँले व्यापार गर्न थालेदेखि नै सोच, जोश र आँट थियो । त्यसैले यी सबै काम गर्न सम्भव भयो । देशलाई धेरै दिनुभयो ।’ लक्ष्मणबाबुका कान्छो छोरा राजेशबाबु श्रेष्ठले पुस्तकमा बुबाको बाल्यकाल, विद्यार्थी काल, व्यवसायिक जिम्मेवारी र अन्तर्वार्ताहरु समेटिएको बताए । ‘लामो समयको अथक प्रयासपछि पुस्तक विमोचन गर्न पाउँदा परिवारजनमा हर्षको सीमा रहेन’, उनले भने, ‘यस पुस्तकले धेरैलाई उत्साह र ऊर्जा मिल्नेछ । जसबाट राम्रो संगत, लगनशील, मेहनत, इच्छाशक्ति र पेशाप्रति बफादार भएमा कुनै पनि कार्य गर्न कठिन नहुने पाठक किताबले दिनेछ ।’ उनले गोरखाली साहसले नेपालका अन्य थुप्रै क्षेत्रमा लुकेका साहसलाई थप प्रेरणा र उजागर गर्ने उनको विश्वास थियो । छोरी रोशनाले बुबाको घमण्ड नगर्ने स्वभावको प्रसंसा गर्दै भनिन्, ‘दीनदुःखीलई सहयोग गर्ने र हरेश नखाने बुबाको बानी मन पथ्र्यो । यो पुस्तकले धेरैलाई हौसला दिनेछ ।’ १० वर्षअघि दिवंगत लक्ष्मणबाबुबारेको यो पुस्तक न्यू नेपाल प्रेसले प्रकाशन गरेको हो भने किताब जात्रा अनलाइनबाट विश्वभर पुर्याउने व्यवस्था गरिएको कार्यक्रममा जानकारी दिइयो । किताब बिक्रीबाट हुने आम्दानी ट्रस्टमार्फत् समाजसेवामा खर्च गरिने कार्यक्रममा जानकारी दिइयो ।

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभाको आजको दोस्रो बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन गरिएको छ । सभाको पहिलो बैठकमा वर्षे अधिवेशन आरम्भ भएका अवसरमा दलीय आधारमा सांसदहरूले बोल्नेक्रम सकिएपछि प्रतिपक्षीले विरोध गर्ने चेतावनी दिएपछि अध्यक्ष नारायण दाहालले १५ मिटेनका लागि बैठक स्थगन गरेका थिए । दोस्रो बैठक आरम्भ हुनासाथ कांग्रेसका सांसदहरू आफ्नो स्थानबाट उठेपछि अध्यक्ष दाहालले सो दलका सांसद कृष्णबहादुर रोकायलाई बोल्न समय दिए । सांसद रोकायले विपक्षीले उठाउँदै आएको सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समिति गठन नगरेसम्म सदनका कार्यसूची अघि बढ्न नसक्ने स्पष्ट पारे । विपक्षी सांसदको अवरोध कायमै रहेपछि अध्यक्ष दाहालले यही जेठ १ गते मंगलबार अपरान्ह ५ः३० बजेसम्मका लागि बैठक स्थगन गरे ।

प्रतिनिधिसभा : बैठक सुरु हुनासाथ कांग्रेसको विरोध

काठमाडौं । संघीय संसद् बर्खे अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा एक घन्टा ढिलो सुरु भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत दलले सहकारी अनियमिताका विषयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको भन्दै संसदीय छानबिन समिति गठन नगरेसम्म चल्न नदिने अडान राखेपछि बैठक सुरु हुन विलम्ब भएको हो । उक्त विवादको झलक बैठकमा व्यक्त भएको छ । बैठकको सुरुमा सभामुख देवराज घिमिरेले सदन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको व्यहोरा पढेर सुनाएका थिए। उनले आजका समस्या र समाधानका लागि जिम्मेवार भई जनताका मुद्दामा केन्द्रित भई प्रस्तुत हुनुपर्नेमा जोड दिए । उनले सदनमा उठेका मुद्धाको समयमा सुनुवाइका लागि सरकारले दायित्व निर्वाह गर्नुपर्ने बताए । सभामुख घिमिरेले उपनिर्वाचनबाट निर्वाचित सुहाङ नेम्वाङ र समानुपातिक तर्फका जनता समाजवादी पार्टीका सांसद हसिना खातुनलाई बैठकमा स्वागत गरे।

एटिएस ब्राण्डको स्वदेशमा उत्पादित टाइल नेपाली बजारमा

काठमाडौं । पशुपती सेरामिक्स् प्रालीले आफ्नो उत्पादन एटिएस टाइल्स्को परिक्षण बिक्रीको सुरुवात गरेको छ । सिमरास्थित विशेष आर्थिक क्षेत्रभित्र अवस्थित उत्पादन केन्द्रको निर्माण लगायत अन्य सम्पूर्ण पूर्व तैयारीको कार्य सम्पन्न गरी कम्पनीले आफ्ना उत्पादनहरुलाई बजारमा सर्वसाधारणको लागि बिक्रीमा ल्याएको हो । नेपालमा पहिलो बहुराष्ट्रिय टाइल्स् कम्पनीको जोइन्ट भेन्चरको रुपमा स्थापीत यस कम्पनीले दुई हप्ताको छोटो अवधीमा बजारबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताइएको छ । कम्पनीले सुरुवाती चरणमा भुईँको लागि ४००-४०० मिमिको पार्किङ्ग टाइल र ६००-६०० मिमिको सेमी–भिट्रिफाइड टाइललाई बजारमा ल्याएको हो । भने तत्काल भविष्यमा कम्पनीले क्रमश ३००-४५० को वाल टाइल र ६००-१२०० को जिभिटी र पिजिभिटी टाइल उत्पादन गर्ने जनाएको छ । कम्पनीले यि सबै प्रकार र आकारको टाइल उत्पादनको लागि स्पेन, इटाली, चीन र भारतको मेसिनरीको प्रयोग गरी ६०००० वर्ग मिटर क्षेत्रफलमा इटालीयन प्रविधीमा आधारीत कारखनाको स्थापना गरेको छ । ‘अन्तराष्ट्रियरुपमा स्थापित एटिएस ब्राण्डको टाइललाई नेपालमै पहिलो बहुराष्ट्रिय जोइन्ट भेन्चरको रुपमा उत्पादन गरी बिक्रीबितरणमा ल्याउन पाउँदा हामी गौरवान्वित छौँ’, कम्पनीका कार्यकारी निर्देशक सरोज रौनीयारले जानकारी दिए, ‘यस कदमले नेपाली उपभोक्तालाई आफ्नै देशमा उत्पादित अन्तराष्ट्रिय ब्राण्डको टाइल सस्तो र सुपथ मूल्यमा हासिल गर्न सहज गराउनेछ ।’ साथै उनले कम्पनीको उत्पादन गुणस्तरीय, उत्कृष्ट डिजाइनका हुनुका साथै शतप्रतिशत वाटरप्रुफ भएको दाबी गरे । ‘उसोत अन्तराष्ट्रिय गुणस्तरको टाइल स्वदेशमै उत्पादन हुँदा वार्षिकरुपमा नेपालबाट बाहिरीरहेको करिब २० अर्ब रुपैँया देशभित्रै रहने, भविष्यमै हाम्रा उत्पादनहरु विदेशमा निर्यात हुँदा राष्ट्रको विदेशी मुद्रा आर्जन र संचितीमा बृद्धि हुने र रोजगारीको श्रृजनाद्धारा राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने हामीले विश्वास लिएका छौँ’, कार्यकारी निर्देशक रौनीयारले अगाडी जानकारी दिए । करिब डेढ अर्ब लगानीमा स्थापित यस कम्पनीको दैनिक १५ हजार वर्ग मिटर उत्पादन क्षमता रहेको छ भने आफ्ना उत्पादनले नेपाली बजारको करिब ४० प्रतिशत हिस्सा ओगट्ने कम्पनीको आँकलन रहेको छ । टाइल्स् फर यभ्री यज ट्यागलाइन सहित स्थापित यस कम्पनीले करिब २५० जनालाई रोजगारी दिएको बताएको छ । भने सोचअनुसारको डिजाइनमा टाइल उत्पादन गर्नसक्ने क्षमतायुक्त यस कम्पनीले नेपाललाई छिट्टै भविष्यमा टाइल निर्यात राष्ट्रको रुपमा विश्वब्यापी परिचय बनाउन मद्वत गर्ने कम्पनीले विश्वास लिएको छ ।