सर्लाहीमा पूर्व-पश्चिम रेलमार्ग निर्माण ९० प्रतिशत सकियो
सर्लाही । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेल मार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत सकिएको छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत सर्लाही खण्डमा ९० प्रतिशत काम सकिएको आयोजनाको लालबन्दी कार्यालयका सूचना अधिकारी इन्जिनियर भुवनेश्वर यादवले जानकारी दिए । यस खण्डअन्तर्गत पूर्वमा बाँके खोलादेखि पश्चिम बागमती नदीसम्म ३० किलोमिटर ट्र्याक निर्माणको काम भइरहेको हो । परियोजनाको जारी पहिलो चरणको कामअन्तर्गत रेल मार्गको ट्र्याकमा बेस हाल्नेसम्मको काम सम्पन्न हुने इन्जिनियर यादवले बताए । चालु आर्थिक वर्षको अन्तिमसम्ममा ठेक्का अवधिसमेत सकिने भएकाले ठेकेदार कम्पनीले कामको रफ्तार बढाएको उनको भनाइ छ । यस खण्डको केही स्थानमा भने ट्र्याक निर्माणको कामसमेत बाँकी रहेको छ । सागरनाथ वन परियोजना र मूर्तिया वन कार्यालयले रूख कटान नगर्दा काम रोकिएको छ । हरिवन नगरपालिका–५ घुर्कौली क्षेत्रका केही किसानले अझै मुआब्जा लिन नमानेका कारण काम अगाडि बढ्न सकेको छैन । किसानले जग्गाको मूल्याङ्कन बढाउन माग गर्दै काम गर्न अवरोध गरिरहँदा त्यस क्षेत्रमा कामको प्रगति शून्य छ । वन कार्यालयले समेत भर्खरै रूख कटानको ठेक्का लगाएको रेल्वे आयोजना कार्यालय लालबन्दीले जनाएको हो । ढिलो गरी रूख कटानको तयारी भएकाले समयमै काम सम्पन्न हुनेमा अझै शङ्का रहेको परियोजनाका सूचना अधिकारी यादवले बताए । आयोजना ठेक्का लागेको छ वर्षमा मात्र ९० प्रतिशत हाराहारीमा काम सकिएको हो । यस योजनाको आर्थिक वर्ष २०७४/७५ मा ठेक्का लागेको थियो । लगत्तै ठेकेदार कम्पनीले निर्माण आरम्भ गरेको थियो । पछिल्लो समय बजेट अभावले समेत कामको गति सुस्त बनेको उनको भनाइ छ । ठेकेदार कम्पनीले काम सम्पन्न गरिसक्दासमेत भुक्तानी पाउन बाँकी रहेको आयोजना कार्यालय लालबन्दीले जनाएको छ ।
२२ महिनामा पनि बनेन दुई किलोमिटर सडक
गण्डकी । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको दुवैतिर चार लेनको चिल्लो सडक छ । बीचको करिब दुई हजार दुई सय मिटर सडक भने अहिले पनि कच्ची छ । निर्माण कम्पनीको ढिलासुस्तीले सडक विस्तार र स्तरोन्नतिले गति लिन नसकेको पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । कार्यालय प्रमुख कल्पना अधिकारीका अनुसार दुई वर्षमा सक्ने गरी विसं २०७९ साउनमा काठमाडौँको मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिले सडक निर्माणको जिम्मा लिएको थियो । समयमा काम पूरा हुन नसक्ने देखिएपछि ठेक्का म्याद आउँदो चैतसम्म थप भएको उनले जानकारी दिइन् । विद्युतका खम्बा, खानेपानी व्यवस्थापन, भुक्तानी समस्या जस्ता कारणले पनि सडक निर्माणमा ढिलाइ भएको कार्यालय प्रमुख अधिकारीले बताइन् । ‘ठेक्का तोड्ने तयारीमा थियौं, पछि निर्माण कम्पनीबाट कामलाई तीव्रता दिने प्रतिबद्धता आएपछि म्याद थपिएको हो’, उनले भनिन्, ‘समयमा भुक्तानी दिन नसक्नेजस्ता कमजोरी आयोजना व्यवस्थापनबाट पनि भए, त्यसले पनि काम केही प्रभावित भयो ।’ आयोजना कार्यालयले समयमा काम सक्न निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्दै आएको थियो । सुरुको ठेक्का अवधि सकिन लाग्दा पनि कामको प्रगति न्यून रहेको प्रमुख अधिकारीले बताइन् । पोखरा महानगरपालिका–१ का अध्यक्ष सहारा प्रधानले प्रदेश राजधानी जोड्ने मुख्य सडक दुई वर्षदेखि नाजुक अवस्थामा रहेको बताए । ‘हामीले पटकपटक दबाबमूलक कार्यक्रम पनि गर्यौं तर निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै काममा ढिलासुस्ती गरिरहेको छ’, उनले भने, ‘पोखरा प्रवेश गर्ने मुख्य सडक मार्गको अवस्था साह्रै दयनीय छ, स्थानीय पनि धूलो र हिलोले हैरान छन् ।’ केही दिनअघि निर्माणका विषयमा प्रमुख जिल्ला अधिकारीसहित, स्थानीय जनप्रतिनिधि, आयोजनाका प्रतिनिधिलगायतको छलफलमा निर्माण कम्पनीका प्रतिनिधिले कामलाई गति दिने प्रतिबद्धता जनाएको वडाध्यक्ष प्रधानले बताए । ‘मौसमको प्रतिकूलता, भुक्तानी नपाएको जस्ता समस्या देखाएर निर्माण कम्पनीले काममा ढिलासुस्ती गरिरहेको छ’, उनले भने, ‘अहिले पनि भने जसरी काम भएको छैन ।’ पोखरा–बागलुङ चल्ने जिपका चालक लक्ष्मण क्षेत्रीले समयमा सडक नबन्दा यात्रामा सास्ती खेप्नुपरेको सुनाए । ‘एकातिर गाडीलाई मार अर्कातिर यात्रुलाई सकस’, उनले भने, ‘दुवैतर्फ चार लेन कालोपत्र सडक छ, बीचको बाटो किन बनेन अचम्म छ ।’ ग्राभेल हालेर खाल्डाखुल्डी पुर्ने र पानी तर्काउनेसम्मको काम पनि नभएकामा उनले दुःखेसो पोखे । सोही सडकका कारण पोखरासम्मको यात्रा झन्झटिलो र लामो बनेको यात्रुको गुनासो छ । पोखराको जिरो किमीदेखि हरिचोक र याम्दीदेखि फेदीसम्मको सडक दुई वर्षअघि नै कालोपत्र गरिएको थियो । प्रदेश राजधानी पोखरा जोड्ने मुख्य सडकको दूरवस्थाप्रति जनगुनासो पनि बढ्दै गएको छ । पश्चिमतर्फ पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाबाट लोकमार्ग हुँदै दैनिक सयौँ गाडी पोखरा आउजाउ गर्छन् । सडक जीर्ण र अस्तव्यस्त हुँदा सवारी जामको समस्या छ । दुर्घटनाको पनि जोखिम बढेको छ ।
विकासमा राजनीति नगरौं : उपप्रधानमन्त्री महासेठ
काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति गर्न नहुने बताएका छन् । शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति ५ वर्षमा ६ महिना जति गरे पुग्ने भन्दै अरु बेलामा विकास निर्माणमा लाग्नुपर्ने बताएका हुन् । उनले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनताका राजनीति गरेर अन्य सबै समयमा देश विकासमा लाग्न सबै राजनीतिक दल र नेताहरूलाई आग्रह गरे । उनले दलका नेताहरूले राजनीतिक कुरा र पार्टीका कुरा मात्रै गर्ने नभई दलको स्वार्थभन्दा माथि उठेर सोच्न आवश्यक रहेको बताए । उनले दलभन्दा माथि उठेर नसोचेसम्म देश अघि बढाउन नसकिने जिकिर गरे । वर्तमान सरकारले भौतिक प्रगतिको रूपमा राम्रो उपलब्धि पाउने उनको दाबी छ । उपप्रधानमन्त्री महासेठले देश विकासका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताउँदै नेपालमा विगतको भन्दा वर्तमानमा धेरै प्रगति भएको दाबी गरे ।
भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै
काठमाडौं । भारत सरकारको सहयोगमा बैतडीमा विद्यालय भवन निर्माण हुने भएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत रु तीन करोडको आर्थिक सहयोगमा पाटन नगरपालिका–४ मा रहेको भूमेश्वर माध्यमिक विद्यालयको भवन निर्माण हुन लागेको हो । भवनको पाटन नगरपालिकाका प्रमुख गौरी सिंहरावल र भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले शुक्रबार संयुक्त रूपमा शिलान्यास गरे । भारत र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइने यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ । भवन निर्माणका निम्ति पाटन नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ । त्यसअवसरमा नगरप्रमुख रावलले नेपाली जनताको उन्नतिका लागि भारत सरकारले निरन्तर सहयोग गरेकामा कृतज्ञता ज्ञापन गरे । ‘बैतडीको पाटन नगरपालिकास्थित भूमेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न नयाँ भवन उपयोगी हुनुका साथै यसले शिक्षणका लागि राम्रो वातावरण सिर्जना गर्नेछ । साथै यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुर्याउनेछ,’ भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिअनुसार सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनमा छन्भने चार सय ९० वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा ४० वटा परियोजना सञ्चालनमा छन् ।
किन बढ्यो भारतमा लक्जरी र प्रिमियम घरको माग ?
काठमाडौं । भारतमा लक्जरी र प्रिमियम घरहरूको मागमा पछिल्लो पाँच वर्षमा ठूलो परिमाणले वृद्धि भएको छ । सन् २०१९ को पहिलो त्रैमासिकमा बिक्री भएका घरहरूमध्ये विलासी घरको संख्या ७ प्रतिशत थियो, जुन २०२४ को पहिलो त्रैमासिकमा बढेर २१ प्रतिशत पुगेको छ । यस अवधिमा बजेट घर वा किफायती घरको बिक्रीमा २० प्रतिशतले कमी आएको छ । शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदनमा यो जानकारी आएको हो । तीन गुणा बढ्यो विलासी घरको माग भारतीय सम्पत्ति परामर्शदाता फर्म एनारकको प्रतिवेदनमा जनवरीदेखि मार्चसम्मको अवधिमा देशका सात ठूला सहरमा १ लाख ३० हजार घर बिक्री भएको थियो जसमध्ये २७ हजार ७० युनिट (२१ प्रतिशत) विलासी घर थिए । त्यसैगरी, २०१९ को पहिलो त्रैमासिकमा यो संख्या ७ प्रतिशत थियो अर्थात् पछिल्लो ५ वर्षमा ३ गुणाले बढेको छ । २०२४ को पहिलो त्रैमासिकमा २६ हजार ५ सय ४५ किफायती घर बिक्री भएका थिए, जुन कुल घर बिक्रीको २० प्रतिशत थियो । पाँच वर्षअघि यो संख्या ३७ प्रतिशत थियो । किन बढ्यो प्रिमियम अपार्टमेन्टको माग ? अन्तरिक्ष इन्डियाका सीएमडी राकेश यादवले कोरोना महामारीपछि ठूला आकारका घरहरू मानिसको पहिलो रोजाइ बनेको बताए । जसका कारण राम्रो सुविधा भएका ठूला अपार्टमेन्ट र प्रिमियम, लक्जरी घरको माग धेरै गुणा बढेको छ । घरको मूल्यको कुरा गर्ने हो भने १ करोड वा त्यसभन्दा बढी मूल्यका घरको बिक्री २० प्रतिशतबाट ३० प्रतिशत पुगेको छ । घर खरिदकर्ताको माग पूरा गर्न निर्माण व्यवसायीले ठूला घर निर्माण गरिरहेका छन् । जसका कारण देशका सात प्रमुख सहरमा फ्ल्याटको औसत आकार ११ प्रतिशतले बढेको छ । दिल्ली-एनसीआरमा लक्जरी घरहरूको बम्पर बिक्री पहिलो त्रैमासमा दिल्ली(एनसीआरमा कुल १५ हजार ६ सय ४५ घरहरू बिक्री भएका थिए, जसमध्ये ६ हजार ६० युनिट वा ३९ प्रतिशत लक्जरी घर थिए र जसको मूल्य १ करोड ५० लाख रुपैयाँभन्दा माथि थियो । पाँच वर्षअघि दिल्ली(एनसीआरमा कुल १३ हजार ७ सय ४० घरहरू बिक्री भएका थिए, जसमध्ये ४ प्रतिशत मात्र विलासी थिए । २०२४ को पहिलो तीन महिनामा मा बेंगलुरु, मुम्बई महानगर क्षेत्र, चेन्नई, पुणे र हैदरावादमा बेचिएका घरहरू मिडरेन्ज र प्रिमियम सेगमेन्टमा ४० लाखदेखि डेढ करोड रुपैयाँसम्मका थिए । एजेन्सी
निर्माण व्यवसायीहरूलाई राज्यबाटै कमजोर पारियो : अध्यक्ष सिंह
धनुषा । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूलाई राज्यबाटै कमजोर पारिएको आरोप लगाएका छन् । जनकपुरधाममा मधेस प्रदेश निर्माण व्यवसायी महासङ्घको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले राज्यको गलत नीतिका कारण निर्माण व्यवसाय कमजोर अवस्थामा पुगेको आरोप लगाए । कोरोना सङ्क्रमणको समयमा प्रत्येक क्षेत्र प्रभावित भएको तर सरकारले निर्माण व्यवसायलाई मध्यम प्रभावित क्षेत्रमा राखेर कुनै प्रकारको सहुलियत नदिँदा कतिपय निर्माण व्यवसायीहरूको अवस्था नाजुक भएको बताए । राज्यले उक्त समयमा ब्याजदरमा सहुलियत तथा समय सीमा थप गरेको भए निर्माण व्यवसाय धरासायी नहुने बताए । समृद्धिको संवाहक निर्माण व्यवसायी भएपनि सरकारका नीति,नियमहरू समायानुकुल नहुँदा थप जटिलता देखिएको बताए । पछिल्लो समयमा सार्वजनिक खरिद नियमावलीमा अझै त्रुटिहरू रहेको उनले गुनासो गरे । उनले निर्माण उद्योगहरूको मूल समस्या ‘लो बिड’ रहेको टिप्पणी गरे । समयमा काम नगर्ने र गुणस्तरीय काम नगर्ने निर्माण व्यवसायीको साथमा महासंघ नरहेको उनले स्पष्ट पारे । ठेक्का हाल्ने वैज्ञानिक विधि आवश्यक रहेको र प्रक्रिया नपुगेको ठेक्का रद्द गर्नुपर्ने बताए । उनले साना निर्माण व्यवसायीहरूलाई उपभोक्ता समितिको आडमा विस्थापित गर्ने काम भइरहेको अध्यक्ष सिंहले आरोप लगाए । निर्माण व्यवसायी सबल नभए मुलुकको अर्थतन्त्र सबल हुन नसक्ने भएकाले निर्माण व्यवसायीहरूको समस्या समाधान गर्न सरकारसँग आग्रह गरे ।
योगलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्दैछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं। उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले योग तथा साधनालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्ने गरी तयारी भइरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित योग तथा उर्जा ध्यान शिविरको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले योग तथा ध्यानलाई आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा समेट्ने गरी तयारी गरिरहेको बताए । उनले योग, ध्यान र साधनाको अभ्यासको महत्वलाई विश्वले अहिले बुझिरहेको बताए । उनले योग तथा ध्यान रुढीवादी नभइ वैज्ञानिक विधि रहेको जिकिर गरे । ‘हामीले योग, ध्यान र साधनाको अभ्यासको महत्वलाई पूर्वीय चिन्तन, विशेषता, विशषेतः ऋषिमुनिहरुले योगीहरूले जे दिनुभयो, अहिले संसारले बल्ल त्यसको महत्व बुझिरहेको छ र अभ्यासको अभियान चलाइरहेको छ, यो रुढीको कुरा होइन, यो विज्ञानको कुरा हो, त्यसकारण यो वैज्ञानिक विधिलाई आत्मसाथ गर्यौँ भने हामीले आफू व्यक्तिलाई चिन्न, फेर्न र व्यक्तिलाई राम्रो बनाउनका निम्ति मद्दत गर्दछ र यसले स्वभाविक रुपमा मानव जातिलाई पनि राम्रो बनाउनका लागि अघि बढाउन मद्दत गर्दछ,’ उनले भने, ‘यसको अभ्यास सबैतिर गर्ने हामी अहिले सोचिरहेका छौँ, अहिलेको नीति तथा कार्यक्रममा पनि हामी यो ल्याउँदैछौँ, बजेटमा पनि ल्याउँदैछौँ, नेपाल त झन फेरि यो कोणबाट हेर्ने हो भने ध्यान गर्नका निम्ति सर्वाधिक उपयुक्त तपोभूमि हो, बुद्ध, शिवको तपोभूमि, व्यास, पतञ्जली, जनक, सीता, पद्यसम्भव, अष्टावक्र यहीँ, कसरी भयो त्यो सबै, ऋषिमुनिहरुले तपस्या गर्ने भनेको ध्यान गर्ने हो, ध्यानको अभ्यास गर्ने सबैभन्दा राम्रो भूमि भनेको नेपाल हो ।’
चुचुरोसम्मै गरियो ‘रोप फिक्सिङ’, सुरु भयो सगरमाथा आरोहण
काठमाडौं । यो वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको छ । दक्ष कामदार (आइसफल डाक्टर) ले शुक्रबार बेलुका सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँगेपछि) गरेपछि आरोहण सुरु भएको हो । सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार शुक्रबार बेलुका ८ बजेर १५ मिनेटमा सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै आरोहण खुलेको छ । ‘सगरमाथा हिमालचुलीको शिखरसम्म बाटो निर्माण (रोप फिक्सिङ) सम्पन्न भएको छ । यससँगै टोलीमा संलग्न १० जना आरोहीहरुबाट सर्वोच्च चुलीको यो यामको पहिलो आरोहण सम्पन्न भएको छ,’ विज्ञप्तिमा भनिएको छ । पर्वतारोही डेन्डी शेर्पाको नेतृत्वमा रोप फिक्सिङ टोलीमा संलग्न सदस्यले सगरमाथाको चुचुरोसम्म सफलतापूर्वक डोरी टाँगेका विभागले उल्लेख गरेको छ । यो आरोहणसँगै सगरमाथाका लागि अनुमतिप्राप्त स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि आरोहणको बाटो खुलेको विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङले बताए । ‘सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ भएसँगै आरोहणको बाटो खुलेको छ, मौसम अनुकूल रहेकाले अब धमाधम आरोही चुचुरोतर्फ लाग्नेछन्,’ उनले भने । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालको निर्णयअनुसार सन् २०२४ को वसन्त ऋतुमा सगरमाथा हिमालचुलीको दोस्रो शिविरदेखि चुचुरोसम्म हिमाली बाटो निर्माण गर्न पर्यटन विभागबाट पर्वतारोहण सञ्चालक सङ्घलाई जिम्मेवारी दिइएकामा उक्त सङ्घबाट छनोट भई सेभेनसमिट ट्रेकले दोस्रो शिविरदेखि चुचुरोसमम बाटो बनाउने जिम्मा पाएको थियो । सेभेन समिट ट्रेकका फिल्ड म्यानेजर टेण्डी शेर्पाले सगरमाथाको बाटो खोल्ने टोलीलाई आधार शिविरबाट संयोजना गरेका थिए । उक्त टोलीमा सोलुखुम्बुका पामदोर्जी शेर्पा र नामग्याल दोर्जे तामाङ तथा सङ्खुवासभाका डेन्डी शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, पेम्बा टासी शेर्पा, लाक्पा शेर्पा, दावा रिन्जे शेर्पा, दावा शेर्पा, सुकबहादुर तामाङ र लाक्पा रिन्जी शेर्पा रहेका छन् । विभागका अनुसार यो याममा सगरमाथा आरोहण गर्न ४१ समूहका ७५ महिला र तीनसय ३९ पुरुषसहित ४ सय १४ जनाले अनुमति लिएका छन् । अझै केही टोली बढ्नसक्ने विभागको अनुमान छ । यी आरोहीबाट सलामी रकम ५९ करोड २३ लाख ५ हजार ८ सय ४९ रुपैयाँ राज्यकोषमा दाखिल भएको छ ।