विकासन्युज

पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकमा रहेका सांस्कृतिक र प्राकृतिक सुन्दरताको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–१० को नवनिर्मित वडा कार्यालय भवन उद्घाटनका लागि शनिबार आयोजित समारोहमा सभामुख घिमिरेले राजनीतिक परिवर्तनको आन्दोलन सम्पन्न भएको बताउँदै अब पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्नेतर्फ सबै एकजुट भएर लाग्नुपर्ने बताए । जनप्रतिनिधि र राजनीतिक दलमा इच्छाशक्ति भयो भने हरेक क्षेत्रको विकास सम्भव हुने भन्दै स्थानीय तहको विकास र आकर्षणका लागि जनप्रतिनिधि र राजनीतिक दलले योजना बनाएर लाग्नुपर्ने सभामुखको भनाइ थियो । ‘समृद्धिको आधार पर्यटन हो, हिजो सबैभन्दा अपहेलनामा रहेको ठाउँ अहिले आकर्षक बन्ने क्रममा छ, यहाँ गणेशमान पार्क र मनमोहन पार्क बनेका छन्, भएका प्राकृतिक र सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्दै नभएका कुराहरुको विकास गर्न सकियो भने राजधानी नजिकैको सुन्दर र रमणीय ठाउँ आकर्षणको केन्द्र बन्न सक्छ । गर्मीमा यो चिसो ठाउँमा आएर सुन्दरताको उपभोग गर्ने लालयीत हुन्छन्,’ सभामुख घिमिरेले भने । सभामुख घिमिरेले उद्घाटन भएको भवनबाट जनताको दैनिक सेवासुविधालाई सहज बनाउन गुणात्मक उपलब्धि हुने अपेक्षा गरेका थिए । स्थानीय जनताको प्रयत्न र लगनशीलताले मात्रै समृद्धि हासिल हुने बताउँदै आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । वडा कार्यालयको भवन निर्माणले जनतालाई छिटो र सहजरुपमा सेवा प्रदान गर्ने भन्दै यसले संघीयताको प्रभावकारिताका लागि सहयोग पुर्‍याएको बताए । प्रतिनिधिसभा सदस्य प्रेमबहादुर महर्जनले ग्वार्कोबाट पनौतीसम्म पुग्ने यहाँको सडकलाई स्तरोन्नति गरेर सहज बनाउने कार्यमा लाग्ने र यहाँको पर्यटन विकासमा क्रियाशील रहने बताए । उनले नगरकोट र धुलिखेल जस्तै पर्यटकीय क्षेत्र बनाउनका लागि संघीय सांसदका रूपमा भूमिका निर्वाह गर्ने बताए । सांसद महर्जनले स्थानीय उत्पादनलाई बजारीकरण गरेर समृद्धि हासिल गर्नतर्फ लाग्न आग्रह गर्दै त्यसका लागि आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए । महालक्ष्मी क्षेत्रको औद्योगिक, सांस्कृतिक र पर्यटकीय विकासमा सबैले हातेमालो गरेर लाग्नुपर्नेमा उनको जोड थियो । बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले पहिलो कार्यकालमा आफू नगरप्रमुख हुँदा स्वच्छ, सफा, समृद्ध र सुन्दर नगरपालिका बनाउने कार्ययोजना तय गरेको बताए । मन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा ६८ वटा ऐन, कानुन बनाएको जानकारी गराउँदै विभिन्न प्राविधिक कारणले नगरपालिका भवन निर्माण हुन नसकेको बताए । उनले प्रदेश तहबाट हरेक किसिमले महालक्ष्मी नगरपालिकाको समृद्धिका लागि क्रियाशील रहने प्रतिबद्धता जनाए ।

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नुपर्दैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता हुनु नपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलाको आज शुभारम्भ गर्दै पूर्वप्रधानमन्त्री ओलीले नेपालको संसद्ले पारित गरेको राजनीतिक नक्सा, नेपाल सरकारको निर्णय र नेपालकै लगानीमा मुद्रामा छापिँदा अरुले टाउको किन दुखाउनुपर्ने भनी प्रश्न गरे । उनले देशभक्ति र स्वाधीनताका लागि बुद्धिजीवीहरुको महत्वपूर्ण भूमिका रहनेमा जोड दिए । भेलालाई एमाले नेताहरू भानुभक्त ढकाल, रघुजी पन्त, विद्या भट्टराईलगायतले सम्बोधन गर्दै शुभकामना दिए । दुई सञ्चालन हुने भेलामा देशभरका बुद्धिजीवीहरूको सहभागिता रहेको परिषद्का महासचिव गजेन्द्र थपलियाले जानकारी दिए ।

वीरगञ्जमा चापाकल सुक्न थालेपछि खानेपानीको अभाव

वीरगञ्ज । वीरगञ्ज महानगर क्षेत्रमा सुक्खायामका कारण चापाकल सुक्न थालेपछि खानेपानीको चर्को अभाव देखिएको छ । घर–घरमा गाडिएको चापाकल सुकेर खानेपानीको अभाव भएसँगै नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जमा नयाँ धारा जडानका लागि सर्वसाधारण आउने क्रम बढेको छ । अहिले कार्यालयमा दैनिक सयौँको सङ्ख्यामा नयाँ धारा जडानको लागि निवेदन लिएर आउने गरेका छन् । खानेपानी संस्थान शाखा कार्यालयका वितरण प्रमुख सञ्जीवकुमार यादवले गत वर्षदेखि वीरगञ्ज बजार क्षेत्रका अधिकांश चापाकल सुकेसँगै सर्वसाधारण खानेपानीको लाइन जडान गर्न आउन थालेका बताए । ‘विगतमा घरमा गाडिएको चापाकलमा पर्याप्त पानी आउँदासम्म खानेपानीको धारा जडानमा स्थानीयवासीको खासै रुचि देखाउँदैन्थे । गत वर्षको हिउँदेयामदेखि चापाकल सुकेर पानीको सङ्कट महसुस गरेपछि अहिले खानेपानी संस्थानमा धारा जोड्नेको घुइँचो नै लाग्ने गरेको छ’, उनले भने । वितरण प्रमुख यादवले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा मात्रै दुई हजार चार सयभन्दा धेरै नयाँ धारा जडान भएको जानकारी दिए । ‘गत आवको अन्त्यसम्म महानगर क्षेत्रमा आठ हजार चार सय घरधुरी मात्रै ग्राहक थिए’, उनले भने, ‘खानेपानीको चर्को सङ्कट हुन थालेपछि अहिले कूल ग्राहक सङ्ख्या १० हजार आठ सयभन्दा धेरै पुगिसकेको छ ।’ वडा कार्यालयको सिफारिसमा संस्थानले ६ हजार तीन सय ७० रुपैयाँ लिएर नयाँ धारा जडान कार्य अघि बढाउँदै आइरहेको छ ।

बाँकेको जमुनाहा नाका बन्द

खजुरा  । बाँकेको नेपाल-भारत जमुनाहा नाका तीन दिनका लागि बन्द गरिएको छ । भारतको उत्तरप्रदेशस्थित बहराइच जिल्लामा यही वैशाख ३१ गते हुने लोकसभा निर्वाचनका लागि सीमा नाका शुक्रबार राति १० बजेदेखि तीन दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीका अनुसार खुला सीमाका कारण बढ्न सक्ने सुरक्षा चुनौतीका कारण नाका बन्द गरिएको हो । नाका बन्द रहेका बेला एम्बुलेन्सलगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा कुनै अवरोध नहुने उनले बताएका छन्। निर्वाचनलाई लक्षित गरेर दुई देशका सीमा क्षेत्रमा मदिराको बेचबिखन र सेवनमा समेत रोक लगाइएको छ । लोकसभा निर्वाचनलाई दशगजा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त रूपमा गस्ती गर्दै आएका छन् ।

मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ । आरोहण गरी फर्किने क्रममा पर्वतारोही सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका-४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए । मकालु हिमाल आरोहण गरी फर्कने क्रममा मकालु गाउँपालिका-२ र ३ को सिमानामा बेपत्ता भएका शेर्पाको शव शुक्रबार दिउँसो मकालु आधार शिविरमा फेला परेको प्रहरी निरीक्षक जबेगुले बताए । घटनास्थलबाट शेर्पाको शव मुचुल्कापश्चात् सोलुखुम्बु लगिएको उनको भनाइ छ । यातायात र सञ्चार सेवा नभएका कारण मकालुक्षेत्र भौगोलिकरूपमा विकट मानिन्छ । घटनास्थल सदरमुकाम खाँदबारीदेखि पाँच दिनको पैदल दूरीमा पर्दछ । पर्वतारोही शेर्पाको शव मुचुल्का पछि शनिबार नै सोलुखुम्बु लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै

रसुवा । चीनको आधार इलाकामा पर्ने मानसरोवर कैलाश तीर्थ र ल्हासा क्षेत्र घुम्न जाने यात्रु तथा पर्यटक आउन थालेपछि रसुवागढी नाकाको चहलपहल बढ्न थालेको छ । ल्हासा घुम्न हिँडेका पर्यटक हेलिकप्टरमा र मानसरोवर जाने तीर्थयात्रुहरू बसद्वारा रसुवागढी पुग्न थालेपछि सुनसान रहेको रसुवागढी तथा घट्टेखोला क्षेत्रमा क्रमशः चहलपहल बढ्दै गएको हो । व्यावसायिक क्षेत्रका व्यापारीको आवागमन कमी भइरहेको अवस्थामा मान सरोवरको यात्रा सुरुआतले स्थानीयको व्यापार–व्यवसायमा समेत केही अभिवृद्वि भएको छ । टिमुरेको घट्टेखोलामा रहेको अध्यागमन कार्यालयमा भिसाको अभिलेख राख्नका लागि घुइँचो लाग्न थालेपछि घट्टेखोलाबाट रसुवागढी मितेरी पुलसम्मको करिब एक किलोमिटर क्षेत्रमा चहलपहल बढेको स्थानीयले बताएका छन् । मानसरोवर यात्राका लागि २५ जना नेपाली त्यसतर्फ प्रस्थान गरिसकेका र ल्हासाको अवलोकन भ्रमणका लागि पाँच सय विदेशी पर्यटक भिसामार्फत रसुवागढी नाकाबाट चीन प्रस्थान गरिसकेका रसुवागढी अध्यागमन कार्यालयका कार्यालय प्रमुख मुरारी निरौलाले जानकारी दिए । उनका अनुसार ल्हासा भ्रमण गर्न जानेहरूमा भूटान, रसिया, युक्रेन, सर्विया, फेन्स, अमेरिकालगायत विभिन्न देशका नागरिक रहेका छन् । पर्यठकलाई हेलिअल्ट्रिच्युट तथा डानेष्ट्रीलगायत कम्पनीका हेलिकप्टरले रसुवागढीस्थित घट्टेखोला पुर्‍याएको अध्यागमन कार्यालयले जनाएको छ । धार्मिक तथा घुम्ने पर्यटकको यात्रा सहज पार्न भिसा प्राप्त यात्रु तथा पर्यटकलाई तत्काल अध्यागमन कार्यालयले गर्नुपर्ने सबै प्रक्रिया पूरा गरी अनुमति दिने गरेको प्रमुख निरौलाले जानकारी दिए । वसन्तऋतुको मध्यदेखि सुरु भएको मानसरोवर तीर्थयात्रा भने शरदऋतुको मध्यसम्म सञ्चालन हुने र भक्तजनको ओहोरदोहोर भइरहने स्थानीयले बताएका छन् ।

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी

धरान-धरान उपमहानगरपालिका-१४ का सन्तोष विश्वकर्माले रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गरिरहेका छन् । उनले धरान-१४ स्थित पिण्डेश्वरी मन्दिरमा रुद्राक्षको व्यापार गर्दै आएका छन्। विश्वकर्माले १३ वर्ष भारत बसेर नेपाल फर्किएपछि रुद्राक्षको माला बनाएर व्यापार गर्न सुरु गरेको बताए । विदेशमा दुःख गर्नुभन्दा यही रुद्राक्षको माला व्यापार गर्दा मनग्य आम्दानीसँगै सहज पनि भएको उनको भनाइ छ । उनले विगत ६ वर्षदेखि पिण्डेश्वरी मन्दिरको अगाडि रुद्राक्षको व्यापार गर्दै आएका छन्। अहिले उनका लागि यो ठाउँ रुद्राक्षको व्यापार गर्ने थलो नै बनेको छ । रुद्राक्ष धनकुटालगायत पहाडी भेगहरुबाट खरिद गरेर ल्याई माला, झोलार ढाकीलगायत सामग्री बनाएर बिक्री गर्दै आएको विश्वकर्माले बताए । रुद्राक्षको व्यापारबाट मासिक ३० देखि ४० हजारसम्म आम्दानी हुँदै आएको उनले जानकारी दिए । आफूले रद्राक्षबाट बनाएका सामान धरानमा मात्र नभई झापा, काठमाडौँ, काँकडभिट्टा र विशेष गरी विदेशी पर्यटक झोला धेरै मन पराएर लैजाने गरेको विश्वकर्माले बताए। माग अनुसार नै कतिपय सामान बनाउने गरेको उनको भनाइ छ । ‘रुद्राक्ष विशेषगरी हरियो केशरलामा–लामा हाँगाहरुमा सेता फूल हुने स्याउले एक सुरिलो ठूलो जातका रुखमा ओखर जस्तै फल्ने गर्छ । यो विशेषगरी २७ मुखीसम्म हुन्छ भन्ने छ तर खोजअनुसार संसारभरि अहिले ३८ मुखीसम्म रुद्राक्ष पाइएको सुनेको छु’, विश्वकर्माले भने, ‘सामान्यत एकदेखि १४ मुखीसम्म मात्र सर्वसुलभ उपलब्ध हुन्छ । एकमुखी र नौ मुखीदेखि १४ मुखीसम्मको रुद्राक्ष निकै दुर्लभ मानिन्छ ।’ धार्मिकरूपमा महादेवको प्रिय वस्तुका रूपमा वनस्पति रुद्राक्षको महिमा रहँदै आएको छ । रुद्राक्षलाई पहाडी भेगका गाउँघरमा ९दाना० भनेर चिनिन्छ ।

कसरी बनाउन सकिन्छ जिम्मेवार पर्यापर्यटन ?

काठमाडौं । नेपालको पर्यटन क्षेत्र तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका दृष्टिले आर्थिक विकासको प्रमुख आधार हो । नेपालका पर्यटकीय क्षेत्रमध्ये अधिकांश पर्यटकको रोजाइमा पर्नुको मुख्य कारण पर्यापर्यटन नै हो । यहाँ आउने विदेशी पर्यटकमध्ये ६० प्रतिशतले संरक्षित क्षेत्रको भ्रमण गर्ने गरेका छन् ।नेपालको पर्यटन नीतिले पर्यावरणीय, पर्वतारोहण, पदयात्रा, जलयात्रा, व्यावसायिक, साहसिक, सांस्कृतिक, धार्मिक, खेलकुद, क्यासिनो, चलचित्र, शैक्षिक, स्वास्थ्य, कृषिलगायत  विविध पर्यटन क्षेत्र निर्धारण गरेको छ ।नेपालमा संरक्षित क्षेत्रहरू आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख गन्तव्य स्थानका रूपमा रहेका छन् । अधिकांश पर्यटकको रोजाइमा पर्ने पर्यापर्यटन संरक्षण र व्यवस्थापनका दृष्टिले संवेदनशील छन् । यसको दिगो व्यवस्थापनका लागि सम्बद्ध पक्ष सबैले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नु आवश्यक छ । राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागका उपमहानिर्देशक एवं प्रवक्ता वेदकुमार ढकालले वातावरणीय र स्थानीय सामाजिक जीवनसँग रमाउने पर्यटकले पर्यापर्यटकीय क्षेत्रको भ्रमण गर्ने गरेको बताए । उनका अनुसार हाल भइरहेको वातावरण तथा समाजिक अवस्थामा पनि केही नबिगारी त्यसैमा रमाउने गरी पर्यापर्यटनको परिकल्पना गरिएको हो । यसमा घरबास ‘होमस्टे’ र साना लजलाई पनि लिन सकिन्छ ।‘पर्यापर्यटनलाई दिगो बनाउन सबैको जिम्मेवारी उत्तिकै महत्वपूर्ण हुन्छ । आवश्यक पर्ने ट्रेकिङ रुटलगायत न्यूनतम् सुविधा तथा पूर्वाधार सरकारले बनाई दिनुपर्छ, पर्यापर्यटनमा स्थानीय संस्कृति, जैविक विविधता, वन्यजन्तु, भौगोलिक बनावट, साहसिक यात्राका विषय जोड्नुपर्छ,’ प्रवक्ता ढकालले भने, ‘सम्बद्ध व्यावसायीले उचित सत्कार, व्यवहार तथा नियमकानुन र आचारसंहिताको पालना गर्नुपर्छ, पर्यटकले पनि आफूसँगको फोहर जथाभावी फाल्ने, जाँ पायो त्यहीँ गाडी रोक्ने, झर्ने गर्नुहुँदैन, तोकेकोभन्दा छुट्टै बाटो हिँड्नु हुँदैन ।’ पर्यापर्यटनलाई दिगो संरक्षण गर्न गुणस्तरीय पर्यटनलाई जोड दिनुपर्ने आचारसंहिता बनाएर लागु गर्नुपर्ने प्रवक्ता ढकालको भनाइ छ । पर्यटनलाई मुलुकको आर्थिक आधारका रूपमा ग्रामीण तहसम्म विकास र विस्तार गरी यसको प्रतिफल जनजीवनको तल्लो तहसम्म पुर्‍याउन पर्यटन क्षेत्रको विविधीकरण, विस्तार र प्रवर्द्धन गरिनु आवश्यक रहेको उनले बताए । नेपाल पर्यटन बोर्डका निर्देशक एवं प्रवक्ता मणि लामिछानेका अनुसार सन् २०२३ मा नेपालमा विभिन्न देशबाट कुल १० लाख १४ हजार आठ सय ८२ पर्यटक आएका थिए । त्यसमध्ये सबैभन्दा धेरै क्रमशः भारत, संयुक्त राज्य अमेरिका, चीन, संयुक्त अधिराज्य र अष्ट्रेलियाबाट आएका हुन् । विदेशी पर्यटकमध्ये ३ लाख ८ सय ७५ जनाले निकुञ्ज तथा संरक्षित क्षेत्रको भ्रमण गरेका उनले जानकारी दिए । त्यसबाहेक १ लाख १८ हजार ५ सय ३१ जनाले पशुपतिनाथको दर्शन गरेका थिए भने ८५ हजार दुई सय ३२ जनाले लुम्बिनीको भ्रमण गरेका बोर्डका निर्देशक लामिछानेले बताए । तीन हजार ९४ ले मनास्लु, एक हजार एक सय ९८ ले मुस्ताङ, एक सय ७८ ले हुम्ला, तीन सय ६५ ले तल्लो डोल्पा, चार सय पाँचले कञ्चनजङ्घा र एक सय ४५ जनाले माथिल्लो डोल्पाको पैदल यात्रा गरेका उनले जानकारी दिए । त्यसबाट सरकारलाई ५४ करोड ८२ लाख अमेरिकी डलर राजस्व आम्दानी भएको पर्यटन बोर्डले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा संरक्षित क्षेत्रमा भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या नौ लाख ३२ हजार पाँच सय ३२ रहेको थियो । त्यसमध्ये विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जमा मात्र दुई लाख ९२ हजार तीन सय ९२ पर्यटकले भ्रमण गरेका थिए । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख डिलबहादुर पुर्जा पुनले जिम्मेवार र दिगो पर्यापर्यटनका लागि स्थानीय र सम्बन्धित व्यवसायी पनि उत्तिकै उत्तरदायी हुनुपर्ने बताए । पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक क्रियाकलाप अभिवृद्धि र समग्र आर्थिक विकासमा टेवा पुर्‍याउँदै आएको उनको भनाइ छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि, पर्यटकको नेपाल बसाइ लम्ब्याउने, प्रतिपर्यटक प्रतिदिनको खर्चमा बढोत्तरी गर्ने तथा आन्तरिक पर्यटनको विकास गर्ने उद्देश्यका साथ काम गरिहेको जनाएको छ । मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी रामकृष्ण श्रेष्ठले भने, ‘मन्त्रालयको क्षेत्राधिकारमा रहेको जिम्मेवारी कुशलतापूर्वक एवं उत्तरदायी ढंगले सम्पादन हुँदै आएका छन् । पर्यटन नीतिले नै वातावरणमैत्री पर्यटन व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई प्रोत्साहितरपुरस्कृत गर्ने उल्लेख गरेको छ ।’ विद्यमान जैविक विविधता एवं वन्यजन्तु अवलोकनलाई पर्यटकीय उपजका रूपमा विकास, विस्तार र प्रवर्द्धन गरिने, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुतर्फ आकर्षित उच्च आय वर्गका पर्यटकलाई ग्रामीण पर्यटनतर्फ आकर्षित गरिने उपायको अवलम्बन गरिने सरकारको नीति छ । पदयात्रा मार्ग, आधार शिविर तथा हिमाललाई सफा र प्रदूषणमुक्त बनाउन सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट भएका प्रयासलाई प्रभावकारी र नियमित बनाइने नीतिगत व्यवस्था रहेको मन्त्रालयका सूचना अधिकारी श्रेष्ठले उल्लेख गरे । चितवनको सौराहास्थित रोयल लक्जरी रिसोर्टका प्रबन्ध निर्देशक राजकुमार अधिकारीले काम गर्ने अवसर खोजिरहेका व्यवसायीलाई सरकारी तहबाट वातावरण बनाइदिनुपर्ने बताए । ‘सरकारले नयाँ नयाँ गन्तव्य पहिचान गरी आवश्यक पूर्वाधार निर्माण गरिदिनुपर्ने, बिजुली, खानेपानी, सुरक्षा तथा कानुनी जस्ता अतिआवश्यक व्यवस्था गरिदिनुपर्छ । अनि सरकारले नियमन गर्ने हो, हामीजस्ता निजी क्षेत्रले लगानी गर्नुपर्छ,’ उनले भने । पर्यटनसँग सम्बन्धित सरोकारवाला तीनै तहका सरकार, व्यवसायी, स्थानीय जनता र पर्यटक सबै यसमा जिम्मेवार हुनु पनि त्यतिकै आवश्यक रहेको प्रबन्ध निर्देशक अधिकारीको भनाइ छ । पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनलाई व्यवस्थित ढंगले अगाडि बढाउन तथा दिगो बनाउन पनि जिम्मेवारी निर्वाह आवश्यक छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का महासचिव विनोद सापकोटाले पर्यापर्यटनलाई थप दिगो र जिम्मेवार बनाउन दीर्घकालीन योजनाका साथ यस बारेमा तथ्यांक र सूचनाका लागि सहज र प्रभावकारी संयत्र बनाउनुपर्नेमा जोड दिए । ‘स्थानीय पैदल यात्राका रुट मासिने क्रमलाई रोक्नुपर्छ, पर्यटन सन्तुष्ट हुने गरी आवश्यक तयारी गरेर नयाँ नयाँ गन्तव्य पहिचान गरी सार्वजनिक गर्नुपर्छ,’ उनले भने, ‘व्यवसायीका तर्फबाट नयाँ गन्तव्यमा लगानी तथा प्रचार गर्न काम गर्नुपर्छ । साथै स्थानीय जनताको अपनत्व हुने गरी सरकारले नयाँ गन्तव्य निर्धारण गर्नुपर्छ ।’ ट्रेकिङ रुटमा सडक पुग्दा र अगाडिको अवस्थाका बारेमा अध्ययन गर्नुपर्ने साथै वातावरणमैत्री सवारी साधन, चुलोलगायत सामग्री प्रयोगमा बढाउनुपर्ने महासचिव सापकोटाको सुझाव छ । रासस