
काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले ६.९१ प्रतिशतले नाफा वृद्धि गरेको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत नाफा बढेको जनाएको हो ।
वित्तीय विवरणअनुसार कालिन्चोक दर्शनले पछिल्लो नौ महिनामा २ लाख ४७ हजार रुपैयाँ खुद नाफा गरेको हो । गत वर्षको यसै अवधिमा कम्पनीले २ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । आम्दानी बढेसँगै यसको नाफा बढेको हो ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटन व्यवसायमा सुधार भएसँगै होटलको तृतीय त्रैमासिक अवधिमा अक्युपेन्सी दर अघिल्लो वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको उल्लेख गरिएको छ ।
एक वर्षको अवधिमा सञ्चालन आम्दानी ३०.४१ प्रतिशतले बढेर ६ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।
सञ्चालन नाफा ५८.२७ प्रतिशतले बढेर ३ करोड ५६ लाख रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले २ करोड ४३ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेर ४ रुपैयाँ २० पैसा कायम छ । गत वर्ष प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८६ पैसा रहेको थियो । कालिन्चोकको प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ०२ पैसा छ ।