
काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका निवर्तमान कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तेस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
केही साताअघि मात्रै अमेरिकाको स्थायी आवास अनुमति पत्र लिएर त्यसको विवरण लुकाइ नेपालमा नियुक्ति लिएको भनी विकल पौडेलविरुद्ध दोस्रो मुद्दा दायर भएको थियो ।
आइतबार फेरि अख्तियारले पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका मेकानिकल सीडीई नविनकुमार पोखरेलविरुद्ध सुरक्षण मुद्रण केन्द्रका लागि उपकरण खरिदमा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।
उनीहरूमाथि ४० करोड ८५ लाख रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।
यस्तै सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा र शाखा अधिकृत हरिवल्लभ घिमिरे, सुरक्षण मुद्रण केन्द्रको उपकरण खरिद गर्ने ठेक्का पाएको म्याक्स इन्टरनेशनल र त्यसका सञ्चालक अकबर हुसेनविरुद्ध पनि अख्तियारले मुद्दा चलाएको छ ।
गत वर्ष सुरक्षण मुद्रण केन्द्रको भवन र संरचना निर्माणमा अनियमितता भएको भनी मुद्दा दायर भएको थियो । त्यो मुद्दा अहिले विशेष अदालतमा विचाराधीन छ ।
आजै विशेष अदालतले अख्तियारको हिरासतमा रहेका पौडेललाई थप १० दिन थुनामा राख्न अनुमति दिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।