विकासन्युज

आन्दोलनमा घुसपैठ गर्नेलाई कारबाही नभए व्यवसायीसँगै आम नागरिकको मनोबल खस्किनेछ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले असल नियतका साथ जेनजी आन्दोलन भएपनि आन्दोलनमा घुसपैठ भएको भन्दै गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । राष्ट्रिय कर दिवसका आयोजित कार्यक्रममा ढकालले यस्तो माग गरेका हुन् ।  उनले सुशासन, भ्रष्टाचारको, ट्रान्सपरेन्सीको  कुरा निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले गत साधारण सभामा पनि  पारित गरेको स्मरण गराउँदै आन्दोलनमा घुसपैठ गर्नेहरुमाथि सरकारले कारबाही नगर्ने हो भने व्यवसायीसँगै आम नागरिकको मनोबल खस्किँदै जाने बताए । सरकारले निजी क्षेत्रको सम्पत्तिको सुरक्षण गर्न नसक्ने हो भने मुलुकमा थप लगानी हुन नसक्ने र लगानीकर्ता भड्कने स्थिति आउने उनको भनाइ छ ।  महासंघ अध्यक्ष ढकालले भने–‘जेनजीको जुन यो आन्दोलन एउटा असल नियतबाट भएको थियो । सुशासन, भ्रष्टाचारको, ट्रान्सपरेन्सीको  कुरा निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले गत साधारण सभामा पनि  पारितै गरेको अवस्था थयो । यस्तो पवित्र उद्देश्यबाट भएको आन्दोलनमा जुन हिसावबाट गलत घुसपैठ भयो । चोरी, आगजनी, लुटपाट, तोडफोडहरु भयो । वास्तवमा यसको यो गलत तत्वहरुको जुन घुसपैठ भएको छ ।’ अध्यक्ष ढकालले अर्थमन्त्रालयले फेसलेस हिसावले आफ्ना निकायहरुबाट अनलाइनबाट भन्सार मूल्यांकनदेखि करदाता प्रमाणपत्रको सुविधा ल्याएकोमा उनले प्रशंसा समेत गरे । ढकालले बैंकमा ११ खर्ब बढी रकम त्यत्तिकै थ्रुपेको भन्दै लगानीको वातावरण तयार गर्न माग गरे । उनकाअनुसार ११ खर्ब भन्दा बढी बैंकमा लगानीयोग्य रकम जम्मा भएको छ । अहिले बैंकमा प्रशस्त रकम भएको अवस्थामा कतिपय आयोजनाहरुमा लगानी नभएर बेबारिसे छन् । उनीहरुको लागत बढेको छ । धितोपत्र बोर्डले लामोसमय जलविद्युत आयोजनाहरुलाई आईपीओ जारी गर्न नदिएकोप्रति असन्तुष्टी समेत जनाए  । धितोपत्र बोडमा देखिएको समस्यालाई तत्काल हटाउन समेत अर्थमन्त्रीलाई आग्रह गरे । 

राजस्व संकलनमा चुक्दै सरकार, कार्त्तिकसम्म लक्ष्यको ७७.४९ प्रतिशत मात्र

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा सरकार राजस्व सङ्कलनमा अगाडि बढे पनि लक्ष्यप्रति भने प्रगति सुस्त देखिएको छ ।  राजस्व विभागका अनुसार कात्तिक ३० गतेसम्म कूल ३ खर्ब २९ अर्ब ५१ करोड राजस्व सङ्कलन भएको छ, जुन कार्त्तिकसम्मको ४ खर्ब २५ अर्ब २३ करोड लक्ष्यको ७७.४९ प्रतिशत मात्र हो । कार्त्तिक महिनामा मात्रै १ खर्ब ३ अर्ब ७० करोड लक्ष्य राखिए पनि प्राप्ति ७८ अर्ब ३३ करोडमा सीमित रह्यो । यो महिनाको प्राप्ति ७५.४९ प्रतिशत मात्रै रहेको विभागले जनाएको छ । कार्त्तिक ३० गते एक दिनमै ३ अर्ब ६८ करोड राजस्व उठेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा कार्त्तिकसम्म ३ खर्ब २९ अर्ब २ करोड राजस्व सङ्कलन भएको थियो । यस वर्ष उही अवधिमा सङ्कलन ३ खर्ब २९ अर्ब ५१ करोड पुगेको छ, जसले झिनो वृद्धि भएको देखाएको छ । त्यस वर्षको कात्तिक महिनामा ७६ अर्ब राजस्व उठेको थियो, जुन चालु वर्षको ७८ अर्ब ३३ करोडभन्दा केही बढी हो ।

हामी गम्भीर भएनौँ भने अर्को आन्दोलन हुन्छ, न भाटभटेनी रहन्छ न कसैको लगानी : व्यवसायी गुरुङ

काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङले सबै जिम्मेवार भएर अघि बढ्न जरुरी रहेको बताएका छन् । सोमबार कर दिवसको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट करदाताको तर्फबाट आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् ।  उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आफ्ना १२ वटा भाटभटेनी पूर्ण रुपमा नष्ट भएको र अन्य धेरै भाटभटेनीमा ठूलो क्षति पुगेको बताए । अझै पनि आफूले हिम्मत नहारेको र अझै अघि बढ्ने अठोट व्यक्त गरे । दशैँ, तिहार र छठका लागि स्टक गरिएका धेरै सामानहरू भाटभटेनीबाट आन्दोलनका क्रममा लुट्ने र जलाउने काम भएको बताए । आफूमाथि धेरै युवाहरूको जिम्मेवारी, बैंकहरुको लगानी रहेकाले व्यवसायबाटै अघि बढ्ने निचोड आफूले निकालेको बताए ।  नेपालमा विपन्नताकै कारण आन्दोलन भइरहेको भन्दै जिम्मेवार नहुनु पनि आन्दोलनको कारण रहेको बताए । भाटभटेनिमाथि कुनै एउटा पार्टीको भवन बनाइदिने कुराले भएको भन्दै राज्यलाई कर बुझाइसकेपछि कसलाई सहयोग गर्ने भन्ने कुरा आफ्नो इच्छाको कुरा भएको बताए । आफूले डा. भगवान कोइरालाको नेतृत्वमा बनेको बाल अस्पताल बनाइदिएको, विपन्न र जेहनदार विद्यार्थीलाई एमबिबिएस पढाएको जानकारी दिए ।  उनले भने, ‘गत भाद्र २३ र २४ गते जेनजी ठूलो आन्दोलन भयो । पहिला पहिला १५ देखि २० वर्ष लाग्थ्यो । अहिले जेनजीले २ दिनमै सत्ता उलटपलट गरिदिए । यसमा हामी सबै अलि गम्भीर हुनुपर्छ । हामी गम्भीर भएनौँ भने अर्को आन्दोलन हुन्छ, अर्को आन्दोलन भए न मेरो भाटभटेनी रहन्छ, न कसैको लगानी बाँकी रहन्छ । यो आन्दोलनमा घुसपैठ भएर होला, धेरै ठूलो क्षति भयो ।’ उनले व्यवसायीहरूले सानो मन गर्न नहुने बताए । आफूले खोटाङबाट आएर हजारौँलाई रोजगारी दिन सकेको बताउँदै अरूले पनि त्यसैगरी दिन सक्ने बताए । नेपालमा धेरै कुराको अवसर रहेको जानकारी दिए ।    

अमेरिकी शुल्क घटेपछि हुन्डाईको ठूलो उडान, कोरियामा‍ ८६ अर्ब डलर लगानी गर्ने

काठमाडौं । हुन्डाई मोटर समूहले २०२६ देखि २०३० सम्म दक्षिण कोरियामा १२५.२ ट्रिलियन वोन (८६.४७ अर्ब डलर) लगानी गर्ने भएको छ ।  अमेरिकी सरकारले दक्षिण कोरियाली सवारीसाधनमाथिको शुल्क २५ प्रतिशतबाट १५ प्रतिशतमा झारेको नयाँ व्यापार सम्झौतापश्चात आइतबार कम्पनीले यस्तो घोषणा गरेको हो । यसअघि हुन्डाई मोटर र समूहसम्बद्ध किआ कर्पले २०२१ देखि २०२५ सम्म ८९.१ ट्रिलियन वोन लगानी गरेका थिए । दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युंगले आइतबार हुन्डाई मोटर ग्रुपका अध्यक्ष उइसुन चुंग तथा अन्य व्यावसायिक प्रतिनिधिसँग भेटवार्ता गरे । यसअघि सार्वजनिक भएको व्यापार सम्झौतामा दक्षिण कोरियाले संयुक्त राज्य अमेरिकाका रणनीतिक क्षेत्रहरूमा ३५० अर्ब डलर लगानी गर्ने प्रतिवद्धता जनाएको छ । ‘अमेरिकी १५ प्रतिशत शुल्कका कारण निर्यात घट्ने र घरेलु उत्पादन संकुचित हुने चिन्ताबारे हामी राम्रोसँग जानकार छौं,’ बैठकपछि अध्यक्ष चुंगले भने । ‘हामी निर्यात बजार विविधीकरण गर्छौं, घरेलु कारखानाबाट निर्यात बढाउँछौं र २०३० सम्म नयाँ विद्युतीय सवारीसाधन कारखानामार्फत गाडी निर्यात दुईगुना बनाउँछौं,’ उनले थपे ।  साथै राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका शुल्कबाट प्रभावित भएका अटो पार्ट्स उत्पादकलाई पनि समूहले सहयोग गर्ने उनले बताए । हुन्डाई समूहका अनुसार कुल लगानीमध्ये ५०.५ ट्रिलियन वोन (करिब ३५ अर्ब डलर) एआई तथा अन्य भविष्यमुखी व्यवसायमा केन्द्रित हुने भएको छ।  त्यसपछि ३८.५ ट्रिलियन वोन अनुसन्धान तथा विकास (आरएन्डडी) मा खर्च गरिनेछ । साथै ३६.२ ट्रिलियन वोन उत्पादन पूर्वाधारको आधुनिकीकरण र गगनचुम्बी संरचना तथा अत्याधुनिक सुविधा निर्माणमा विनियोजित हुने समूहले जनाएको छ । घरेलु बजारमा दबाब बढेपछि बीवाईडीको नजर विदेशी बजारमा, २०२६ मा १६ लाख सवारी बिक्री लक्ष्य पोर्शेमा आएको संकटले शीर्ष सेयरधनीको नाफा धराशायी दक्षिणपूर्वी एसियामा होन्डाको वर्चस्व धरापमा, ठूलो चुनौती चीनका ईभी निर्माता  

लक्ष्मी सनराइज बैंकले १०.५३ प्रतिशत लाभांश दिने

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

सबैभन्दा बढी कर तिर्ने व्यक्ति बने राजबहादुर शाह, यी हुन् धेरै कर तिर्ने संस्था

काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा आन्तरिक राजस्व विभागले सबैभन्दा बढी आयकर तिर्ने राजबहादुर शाहलाई सम्मान गरेको हो । शाह व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर बुझाउने व्यक्ति बनेका छन् । विभागका अनुसार निकायतर्फ सबैभन्दा बढी कर बुझाउने नेपाल दूरसञ्चार प्राधिकरण छ भने एकल स्वामित्वतर्फको कम्पनीमा सबैभन्दा बढी थर्ड आई इन्टरनेशनले तिरेको छ ।  वस्तु निर्यातमा डाबर नेपाल प्रालिले गत वर्ष सबैभन्दा बढी कर तिरेको भन्दै विभागले सम्मान गरेको छ । यस्तै, सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गर्नेमा भेरिक्स नेपाल प्रालि, कृषि फार्मतर्फ पोषक ब्रिडर फार्म प्रालिले गत वर्ष सबैभन्दा बढी कर तिरेका छन् ।  बैंक तथा वित्तीय संस्थाबाट भने गत वर्ष नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले सबैभन्दा बढी कर तिरेको छ । स्वास्थ्य तथा शैक्षिक संस्थामा नोबेल मेडिकल कलेज तथा टिचिङ अस्पताल रहेको छ । पर्यटन व्यवसायमा सोल्टी होटेल लिमिटेडले सबैभन्दा बढी कर तिरेको विभागले जनाएको छ ।  यस्तै, वस्तु व्यापार गरेर सबैभन्दा बढी आयकर तिर्नेमा भाटभटेनी सुपरस्टोर रहेको छ । वार्षिक ५० देखि १०० करोडसम्म कारोबार गर्ने कम्पनीमा सिडिएस एण्ड क्लियरिङ लिमिटेड रहेको छ । त्यस्तै, उर्जातर्फ भोटेकोसी पावर कम्पनी लिमिटेड उत्कृष्ट करदाता रहेको छ । रेमिटेन्सतर्फ आइएमइ लिमिटेडले सबैभन्दा बढी कर तिरेको छ ।  विभागका अनुसार २०७६ देखि २०८२ असारसम्म नियमित समयमै सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तिर्नेमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड रहेको छ । विशेष उद्योगमा सबैभन्दा बढी कर तिर्ने युनिलिभर कम्पनी लिमिटेड रहेको छ । यस्तै, यस वर्ष बागलुङ कर कार्यालय उत्कृष्ट कर कार्यालय बनेको छ ।  यी हुन सबैभन्दा बढी कर तिर्ने व्यक्ति र संस्था  १.निकायहरूमध्ये नेपाल दूरसञ्चार प्राधिकरण  २.एकलौटी फर्ममध्ये थर्ड आई इण्टरनेशनल ३.वस्तु निर्यातको कारोबार गर्नेमध्ये डावर नेपाल प्रालि ४.सूचना प्रविधि सम्बन्धी सेवा निर्यातको कारोवबर गर्नेमध्ये भेरिक्स नेपाल प्रालि  ५.कृषि एवं पशुपंक्षीजन्य उद्योगमध्ये पोषक ब्रिडर फार्म प्रालि ६.बैंक, वित्तीय संस्था र बीमाको कारोबार गर्नेमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ७.स्वास्थ्य तथा शैक्षिक संस्थाहरूमध्ये नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल  ८.पर्यटन व्यवसाय गर्नेमध्ये सोल्टी होटल लिमिटेड ९.वस्तु व्यापारको कारोवार गर्ने मध्ये भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालि १०.वार्षिक कारोवार रकम ५० करोड रुपैयाँभन्दा बढी १०० करोड रुपैयाँसम्म कारोवार गर्ने सिडिएस एण्ड क्लियरिङ लिमिटेड  ११.उर्जामूलक उद्योगमध्ये भोटेकोशी पावर कम्पनी प्रालि १२.रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्ये आईएमई लिमिटेड  १३.ब्यक्तिगत आयमा सबैभन्दा बढी राज बहादुर शाह १४.विसं २०७६ साउनदेखि २०८२ असार मसान्तसम्मको कर अवधिमा विवरण र सो बमोजिमको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये नेपाल दूरसञ्चार लिमिटेड १५.वार्षिक कारोबार रकम ५० करोड रुपैयाँसम्म कारोबार गर्ने करदाताहरुमध्ये भिएफ सर्भिसेज (मोरिसस) प्रालि  १६.विशेष उद्योगहरूमध्ये यूनिलिभर नेपाल लिमिटेड

शिवम् सिमेन्ट्सको लाभांश घोषणा

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले साढे १२ प्रतिशत लाभांश दिने भएको छ ।  कम्पनी सचिव लेखनाथ अर्यालकाअनुसार शिवमले २०८१–८२ को वार्षिक साधारणसभा मंसिर २५ गते गर्ने र सो सभाले कम्पनीले प्रस्ताव गरेको लाभांश पारित गर्ने एजेन्डा रहेको छ ।    कम्पनीले चुक्ता पुँजी ५ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ बराबरको २.५० प्रतिशत अर्थात १३ करोड ६४ लाख रुपैयाँ बराबरको बोनस सेयर र १० प्रतिशत अर्थात् ५४ करोड ५६ लाख रुपैयाँ नगद लाभांश दिने भएको छ ।  कम्पनीले साधारणसभा प्रयोजनका लागि मंसिर ११ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको सचिव अर्यालले जानकारी दिएका छन् । मंसिर १० गतेसम्म कायम हरेका सेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको बोनस पाउनेछन् ।   

सिद्धार्थ बैंकको १०.५३ प्रतिशत लाभांश पारित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।   सभाले बैंकको हाल कायम रहेको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैँयाको ५ प्रतिशत बराबरको ७० करोड ४४ लाख ९९ हजार १० रुपैंया बोनस सेयर तथा ५.५३ प्रतिशत बराबरको ७७ करोड ९१ लाख ७५ हजार ९०५ रुपैँया नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।   साथै आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, सोही अवधीको नगद प्रवाह विवरण, स्वपूँजी (इक्विटी) मा भएको परिवर्तनको विवरण पारित गर्ने एवं बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।