दिउँसो पहाडमा साधारण र अन्य ठाउँमा आंशिक बदली,कोशी र बागमतीमा भारी वर्षा
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भू-भागका एक/दुई स्थानमा मध्यम वर्षाका सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा देशका बाँकी भू-भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
दसैँ अवधिभर मनसुनी वायुको प्रभाव रहने, अष्टमीदेखि दसैँसम्म यस्तो छ देशभर मौसम
मनसुनी वायुको प्रभाव कायमै रहने काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको दसैँका अवसरमा मनसुनको अवस्था समेटेर आज दसैँ विशेष मौसम बुलेटिन जारी गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल मनसुन वायुको प्रभाव केही कमजोर रहे पनि नेपालबाट बहिर्गमन भइसकेको छैन । हालको मौसम विश्लेषण अनुसार यस वर्षको दसैँ अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने आज साँझ जारी विशेष बुलेटिनमा उल्लेख छ । नेपालमा सरदरमा अक्टोबर २ तारिखमा मनुसन बहिर्गमन हुने भए पनि प्रत्येक वर्ष सो मिति भने फरक-फरक हुने विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए । यही असोज १४ (अष्टमी) का दिन बागमती र गण्डकी प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । असोज १५ (नवमी) का दिन कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कायस्थले जानकारी दिए । उनका अनुसार असोज १६ (दशमी) का दिन बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा साथै मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस वर्षको दसैँको अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने भएकाले मौसमको अद्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरिएको विभागका सूचना अधिकारी कायस्थले बताए । उनले विभागबाट जारी हुने सूचना अद्यावधिक गरी आवश्यक काम कारबाही गर्न अनुरोध गरे ।
२ हप्तामै मुस्ताङ भन्सारले उठायो डेढ अर्ब राजस्व, भित्रिए ७६९ वटा ईभी, ५ वटा कन्टेनर चीनतर्फ लागे
काठमाडौं । दुई हप्तामै मुस्ताङ भन्सारले डेढ अर्ब राजस्व संकलन गरेको छ । मुस्ताङको लोमान्थाङ-२ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले सञ्चालनमा आएको दुई हप्तामै १ अर्ब ३७ करोड ७० लाख ४५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत भदौमा रसुवागढी र तातोपानी नाका बाढी पहिरोका कारण नाका अवरुद्ध हुँदा भन्सार विभागले यहाँको कोरला नाकालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोगमा ल्याएको थियो । यो नाका भदौ ३० देखि पूर्ण रूपमा सञ्चालनमा आएको दुई हप्तामै राजस्व सङ्कलनमा निकै सुधार आएको कार्यालय प्रमुख रमेश खड्काले जानकारी दिए । उनले दुई हप्ताको अवधिमा ७९१ मध्ये ७६९ वटा विद्युतीय सवारी साधन (ईभी)को भन्सार जाँच पास सम्पन्न गरी गन्तव्यतर्फ पठाइसकेको बताए । यसैगरी यहाँबाट भित्रिएका ३११ वटा माल वाहक ढुवानी कन्टेनरमध्ये २४६ वटा माल वाहक कन्टेनरको भन्सार जाँच पास सम्पन्न भई गन्तव्यतर्फ प्रस्थान गरेको भन्सार प्रमुख खड्काले बताए । भन्सारमा चीनबाट मालवस्तु ढुवानी गरी नेपाल भित्रिएका ६५ वटा मालवाहक कन्टेनरको भन्सार जाँच पास हुन बाँकी रहेको छ । ठूलो परिमाणमा मालवस्तु आयात हुँदा यस नाकाबाट हालसम्म पाँचवटा मालवस्तु कन्टेनर मात्र चीनतर्फ निकासी भएका छन् । भन्सार प्रमुख खड्काले नेपालबाट हस्तकलाका सामग्री र स्थानीय उत्पादन चीनतर्फ निकासी भएको जानकारी दिए । चीनबाट मालसामान आउने क्रम जारी रहेकाले विभागले दसैँको टीकाको दिनबाहेक अन्य समयमा भन्सारको कार्यसम्पादन जारी रहने जनाइएको छ ।
शिक्षकले पाउँदैनन् नियमित तलब: आइतबारसम्म नदिए कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी
प्रकाश सिलवाल काठमाडौं । सामुदायिक विद्यालयका कतिपय शिक्षकहरूले समयमा तलब नपाएका बारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले चासो दिएपछि कुन स्थानीय तहका कुन विद्यालयका शिक्षकले तलब पाउन बाँकी छ भन्ने खोजी सुरु भएको छ । शिक्षामन्त्री पुनले केन्द्र सरकारबाट रकम निकासा भइसकेको अवस्थामा सामुदायिक विद्यालयका कतिपय शिक्षकहरूले दसैँ आए पनि तलब नपाएको गुनासो सुनिएको भन्दै आइतबारसम्म तलब दिन सम्बन्धित स्थानीय तह र प्रधानाध्यापकलाई ध्यानाकर्षण गराए । उनले बिना कारण शिक्षकको तलब नदिने स्थानीय तह र प्रधानाध्यापकलाई कारबाही गर्ने चेतावनी पनि दिए । केन्द्र सरकारले प्रचलित कानुन वा निर्देशन नमान्ने स्थानीय तहको सम्बन्धित शीर्षकको अनुदान रोक्का गर्न सक्छ तर जनप्रतिनिधिलाई सिधै कारबाही गर्न भने सक्दैन । प्रधानाध्यापकलाई पनि केन्द्र सरकारले आवश्यक कारबाही गर्न सक्नेछ । स्थानीय तहले हरेक तीन/तीन महिनाको रकम निकासा दिएपछि सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीले तीन महिनाको एकमुस्ट तलब पाउँछन् । आन्तरिक स्रोत हुने विद्यालयले मासिक तलब खुवाएर पालिकाबाट निकासा आएपछि शोधभर्ना गर्छन् । कतिपय स्थानीय तहमा प्रमुख र उपप्रमुखको विवादका कारण पनि समयमा तलब नपाउने समस्या हुने गरेको छ । निजी (संस्थागत) विद्यालयका शिक्षकको सेवा सुविधाबारे आफ्नै समस्या छ । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षकहरूले समयमा तलब खान पाऊन् भन्ने भावनाका साथ शिक्षामन्त्री पुनबाट ध्यानाकर्षण हुनुलाई सकारात्मक मान्दै नयाँ मन्त्री भएकाले प्रक्रियागत विषयमा केही अस्पष्टता हुन सक्ने बताए । उनले विद्यालयमा स्थानीय तहबाट रकम आइसकेपछि प्रधानाध्यापकले बिना कारण तलब नरोक्ने स्पष्ट गरे । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष हंस बहादुर शाहीले आफूहरूले मासिक रूपमा शिक्षक/कर्मचारीले तलब पाउनुपर्छ भन्ने आवाज उठाएपछि गत वर्ष केन्द्र सरकारबाट ‘सर्कुलर’ जारी भएको बताए । अहिले पनि कतिपय पालिकामा समस्या कायमै रहेको उनले गुनासो गरे । उनले सङ्खुवासभाको मादी नगरपालिका र अन्य केही स्थानीय तहले करार शिक्षकको अवधि थप नभएको भन्दै तलब रोक्का गरेको विषयमा आफूहरूले सरोकार भएका निकायको ध्यानाकर्षण गराउँदै आइएको जनाए । काठमाडौंको तारकेश्वर नगरपालिकाका उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले प्राविधिक कारणले कहिलेकाहीँ शिक्षक र स्वास्थ्यकर्मीको तलब निकासामा ढिलाइ हुने भए पनि क्रमशः समस्या समाधान हुँदै आएको बताइन् । सोही पालिकामा पर्ने नागार्जुन माध्यमिक विद्यालयका लेखापाल रामशरण फुँयालले आजसम्म पालिकाबाट रकम निकासा नआएको बताउँदै आइतबारसम्म आएमा तलब वितरण हुने अपेक्षा गरे । मकवानपुरको थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टले कोष तथा लेखा नियन्त्रण कार्यालयको निकासा प्रक्रिया र पालिकामा प्रशासकीय अधिकृत आउन समय लागेकाले चालु आर्थिक वर्षमा शिक्षकको तलब निकासमा ढिलाइ भएको बताए । उनका अनुसार अहिले भने दसैँ अगाडिसम्मको तलब निकासा भइसकेको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयको सर्भर डाउन हुँदा पनि तलब निकासामा समस्या हुने गरेको जनाइएको छ । काठमाडौंको विजय स्मारक माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्ली शर्माले सबै शिक्षकले समयमा तलब नपाएको भन्ने विषयमा शिक्षामन्त्री पुनले व्यक्त गरेको चिन्ताप्रति खुसी व्यक्त गर्दै स्रोत उपलब्ध भएका काठमाडौं महानगरपालिका जस्ता स्थानीय तहमा शिक्षकलाई तलब खुवाउन समस्या नरहे पनि केही स्थानीय तहमा भने समस्या रहेको प्रतिक्रिया दिए । कतिपय स्थानीय तहमा समयमा पालिका सभा/परिषदको बैठक भई बजेट पारित र योजना बाँडफाँड नहुँदा शिक्षकको तलब आउन समस्या पर्ने गरेको छ । देशभर के कति शिक्षक र विद्यालय कर्मचारीले समयमा तलब नपाएको भन्ने विवरण भने शिक्षा मन्त्रालय वा नेपाल शिक्षक महासङ्घ समेतसँग भएको देखिँदैन । सार्वजनिक भएका विवरणअनुसार सप्तरीको हरिपुरवा नगरपालिका, सर्लाहीको चन्द्रनगर गाउँपालिका, जाजरकोटको डोल्पोबुद्ध गाउँपालिका लगायत शिक्षकलाई समयमा तलब दिन नसकेको हो । गत वर्ष दसैँमा पर्साको बहुदरमाई नगरपालिका र कञ्चनपुरको शुक्लाफाँटा क्षेत्रका शिक्षकले तलब नपाएको गुनासो सार्वजनिक भएको थियो । हाल प्रारम्भिक बाल विकासमा ३० हजार, विद्यालय कर्मचारीमा ३० हजार, कक्षा १ देखि १० सम्म स्थायी दरबन्दीमा १ लाख ९ हजार ५०० शिक्षक दरबन्दी रहेको छ । स्थायी दरबन्दीमा करिब १५ हजार शिक्षक रिक्त छन् । यस्तै अस्थायी तथा राहतमा ४० हजार, उच्च मावि (अनुदान) मा ६ हजार, सिकाइ अनुदानका १० हजार र निजी स्रोतमा ३० हजार शिक्षक छन् । प्रारम्भिक बालविकास शिक्षक र विद्यालय कर्मचारीले आफूहरूलाई दरबन्दीमा कायम गरी हालको न्यून सुविधा पाउने अवस्था अन्त्य गर्न माग गर्दै आएका छन् । रासस
भगवती हाइड्रोको २० प्रतिशत लाभांश घोषणा, सेयरधनीले तिहार अघि नै पाउने
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज १० गते बसेको बैठकले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५९ करोड ४९ लाख ४७ हजार रुपैयाँको १४ प्रतिशतका दरले ८ करोड ३२ लाख ९२ हजार ६ सय रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशतका दरले ३ करोड ५६ लाख ९६ हजार ८३६ रुपैयाँ नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश सेयरधनीहरुले तिहार अघि नै पाउने भएका छन् । लाभांश पारित गर्न कात्तिक २ गते बिहान ११ बज पोखरामा २५औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले कम्पनीको जारी पुँजी वृद्धि गरी ६७ करोड ८२ लाख ३९ हजार रुपैयाँ पुर्याउने, सञ्चालक समतिको गठन र ७ जना (एक जना महिला समेत ६ जना र एक जना स्वतन्त्र) कायम गर्ने, सञ्चालकमा नियुक्ति हुनको १ सय कित्ता सेयर हुनुपर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, चालु आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
चाडपर्वलक्षित सुरक्षाका लागि देशभर ५० हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । नेपाल प्रहरीले चाडपर्व सुरक्षाका लागि देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा युनिटले विशेष चाडपर्व सुरक्षा योजना बनाई लागू गरिसकेको र सबै गरेर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । 'भयरहित वातावरणमा चाडपर्व मनाउनका लागि शान्तिसुरक्षा अमनचयन कायम गर्न अन्य सुरक्षा निकायसँग समन्वय र नागरिकसँग हातेमालो गर्दै सुरक्षाको प्रबन्ध गरेका छौँ । सम्भावित जोखिम क्षेत्रसमेत पहिचान गरी विशेष निगरानी बढाइएको छ,' उनले भने । प्रवक्ता घिमिरेका अनुसार आवश्यकताका आधारमा ड्रोन र तालिमप्राप्त कुकुरको प्रयोग गरिने छ भने सादा पोसाकमा प्रहरी परिचालन हुनेछन् । काठमाडौं उपत्यकामा मात्रै छ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने र आवश्यकताअनुसार थप जनशक्ति परिचालन हुने गरी तयारी गरिएको छ । मुख्यगरी सवारीसाधनको आवागमन सहज बनाउने तथा चाडपर्वमा हुने भेला, जमघटमा मदिरा खाएर होहल्ला, झगडा गर्ने तथा चोरी तस्करीलगायत आपराधिक घटना बढी हुने भएकाले त्यसतर्फ विशेष निगरानी गरिएको प्रहरीले जनाएको छ । यस्तै, कालोबजारी र तोकिएभन्दा बढी सावारी भाडा लिनेलगायत गतिविधिको पनि निगरानी भइरहेको प्रहरीले जनाएको छ ।
प्रदर्शनका घाइतेको उपचारका लागि ‘जेनजी क्लिनिक’ सञ्चालन गरिने
काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको उपचारका लागि काठमाडौं र उपत्यकाबाहिर ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने भएको छ । प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको पहिचान एवम् सहज र प्रभावकारी उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत अस्पताल तोकी क्लिनिक सञ्चालन गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले घाइते भएका व्यक्तिलाई तोकिएका अस्पतालमा सहजीकरण गर्न गृह र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सम्पर्क व्यक्ति तोक्नेछ । घाइतेको वर्गीकरण गर्न उपचारमा संलग्न अस्पतालको विषय विज्ञ चिकित्सकको संयोजकत्वमा कार्यदल गठन गरी सम्बन्धित अस्पतालमार्फत कार्य प्रारम्भ गरिने मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । घाइतेको पहिचान एवम् सहज र प्रभावकारी उपचार व्यवस्थाका लागि यही असोज १२ गतेदेखि गृह मन्त्रालयमा सहायता कक्ष स्थापना गरी घाइतेलाई परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको छ । यस्तै, घाइतेको उपचारमा स्वास्थ्य मन्त्रालयले सहजीकरण गर्ने जनाइएको छ । पुनः जाँच (फलो–अप)मा जानुपर्ने घाइतेलाई आवतजावतका लागि स्वास्थ्य मन्त्रालय र सम्बन्धित अस्पतालले एम्बुलेन्स तोक्ने र सोको सम्पर्क नम्बर सार्वजनिक गर्ने तयारी भइरहेको छ । त्यसरी तोकिएका एम्बुलेन्समार्फत घाइतेले परिचयपत्रका आधारमा निःशुल्क अस्पताल आवतजावत गर्न सक्नेछन् । गत भदौ २३ र २४ गते धेरै जना घाइते भएका थिए । घाइतेमध्ये अझै केहीको विभिन्न अस्पतालमा उपचार जारी छ ।
एमाले सचिवालय बैठक आइतबार
काठमाडौं । जेनजी समूहको आन्दोलन र नयाँ राजनीतिक परिस्थितिबारे छलफल गर्न आइबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक हुने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ः०० बजे गुण्डुस्थित आफ्नो निवासमा सचिवालय बैठक बोलाएको एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा देशको समसामयिक परिस्थिति, जेनजी आन्दोलनपछि पार्टीको अबको भूमिका, सङ्गठन सुदृढीकरण र भावी कार्यक्रमबारे निर्णय हुने उनले बताए । पछिल्लो जेनजी आन्दोलन र त्यसले उत्पन्न गरेको वर्तमान अवस्थामा एमालेको सचिवालय बैठकलाई राजनीतिक वृतमा महत्त्वका साथ हेरिएको छ । एमालेका एकजना पदाधिकारीका अनुसार आइतबारको बैठकमा पछिल्लो घटनाक्रम र पार्टीका आगामी कार्यभार बारे छलफल हुनेछ ।