कश्मीरमा बन्धक बनाइएका ३६ नेपाली मजदुरको उद्धार
भारत । भारतको कश्मीर पुर्याएर बन्धक बनाइएका ३६ जना नेपालीहरुको उद्धार गरिएको छ । सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मीर पुगेका उनीहरुलाई उद्धार गरी नेपाल फर्काउने काम भइरहेको हो । नेपालबाट मजदुरीका लागि भन्दै राम्रो पारिश्रमीक दिने प्रलोभनमा कश्मीर पुर्याइ बन्धक बनाइएका उनीहरुलाई उद्धार गरिएको हो । कश्मिर लगेपछि उनीहरुसँग भएको नगद, नागरिकता र मोबाइल खोसेर ठेकेदारले पारिश्रमीक समेत नदिइ कुटपिट गरेको, डर, धम्की देखाएर काममा लगाएको पीडितहरुको गुनासो छ । मंगलबार दिल्लीस्थित नेपाली दुतावास र सामाजिक संस्था किन इण्डियाको समन्वयमा सबै मजदुरलाई कश्मिरबाट उद्धार गरी दिल्ली लगिएको थियो । उद्धार गरिएका सर्लाहीका दिनेश पासवानले काम गर्नका लागि भनेर लगिएको तर काम गर्न भन्दा गएको दिन नै कुटपिट गरी मोबाइल, नगद सबै खोसेर काममा लगाउने गरेको जानकारी दिए । खाना पनि राम्रोसँग खान नदिने गरेको बताए । नालाको काम भनेर लगेकोमा छतको काम गर्न लगाएको बताए । त्यस्तै धनुषाका रञ्जित चौधरीले मोबाइल, नागरिकता, पैसाहरु सबै खोसेर राखेको जानकारी दिए । काम लगाउनेले मार्नेसम्मको धम्की दिएको बताए । काम भनेको नमाने आतंकवादी भनेर पक्राउ गर्न लगाउने धम्की दिने गरेको जानकारी दिए । झन्डै ३ महिना बन्धक बनाएपछि दिल्लीस्थित नेपाली दुतावास, जम्मुकश्मिर पुलि, क्राइम ब्रान्च, सिआरपिएफको सहयोगमा उनीहरुलाई उद्धार गरी दिल्ली पुर्याइएको हो । घटनामा आवद्ध दुई जना अभियुक्तलाई पनि पक्राउ गरिएको बताइएको छ । उनीहरुलाई २ वटा कोठामा ताला लगाएर राखिएको थियो । नेपाली कामदारलाई एउटै कोठामा थुनेर राखिएको थियो । बसेकै कोठामा दिसापिसाव गर्नुपर्ने, दुई समय खान पनि नदिने र कश्मीर पुगेको दिनदेखि नै नुहाउनसमेत नदिइएको उनीहरुले बताए । सोही समूहबाट भागेर नेपाल आएका पीडित युवकले नेपालमा कुनैपनि नेताले सहयोग नगरेको बताए । शुरुमा ४ जना नेपालीलाई लिएर गएको र पछि ७ जना भागेको बताए । ठेकेदारको बन्धकबाट भागैका ७ जनामध्ये एक जनाले आफले भोगेका यातनाहरुबारे आफ्नो आफन्तहरुको खबर गरेपछि सामाजिक अभियन्ता सरोज रायले उद्धारको लागि पहल सुरु गरेको जानकारी दिए । सो समूहमा तीन महिनाअघि ४३ जना नेपाली कामका लागि गएका थिए । उनीहरुलाई कानूनी प्रक्रिया पूरा गरी नेपाल फर्काउने काम भइरहेको छ । घटनामा संलग्न मुख्तकिम आलम र मो. साजादलाई पक्राउ गरिएको छ भने जमाल मन्सुरी र मलिम मन्सुरी फरार छन् । उनीहरुविरुद्ध मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।
नेप्सेसँगै घट्यो कारोबार रकम, उत्पादन समूहमा लगानीकर्ताको आकर्षण
काठमाडौं । निरन्तर दुई दिन दोहोरो अंकले बढेको सेयर बजार आज ९.५४ अंकले घटेको छ । आज नेप्से परिसूचक ९.५४ अंकले घटेर २०१७.९७ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३१५ कम्पनीको ८४ लाख ९० हजार ७२२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७० करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ८ करोडको कारोबार भएको थियो । आज ६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १७२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ८ कम्पनीको स्थीर रहेको छ । उत्पादन समूह सबैभन्दा धेरै १.४ प्रतिशत बढेको छ भने विकास बैंक समूह सबैभन्दा धेरै ०.९६ प्रतिशत घटेको छ । आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको ११ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै नेपाल फाइनान्स लिमिटेडको १० करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।
बिहीबारदेखि उपत्यकाका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने जनाएको छ । बिहीबार नयाँबजार, जेठ ५ गते नयाँबजार र क्षेत्रपाटी, ६ गते भीमसेनस्थानका साथै ८ गते भीमसेनस्थान र त्रिपुरेश्वर क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले आज एक सूचना प्रकाशित गरी रत्नपार्क वितरण केन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकाले उपत्यकाका विभिन्न स्थानमा विद्युत् आपूर्ति प्रभावित भइरहेको जनाएको हो । प्राधिकरणका अनुसार भोलि नयाँबजार फिडरअन्तर्गत खुसिबु, सोह्रखुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताल, ५ गते क्षेत्रपाटी फिडरअन्तर्गत टेकु, पुष्पलाल पार्क, ढल्कु, क्षेत्रपाटी धोविचौर, ठहिटी, पकानचोक, ज्याठा र कान्तिपथ, खुसिबु, सोह्रखुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताल क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ । त्यस्तै, जेठ ६ गते भीमसेन स्थान फिडरअन्तर्गत वडा नं १२ वडा कार्यालय, ह्युमत, जैसीदेवल चिँकमुगल, भीमसेनस्थान, काष्ठमाण्डप, जेठ ८ गते भीमसेनस्थान, त्रिपुरेश्वर फिडरअन्तर्गत टेकु, पचली भैरव मन्दिर, बम्सीघाट, सवलबहाल, त्रिपुरेश्वर, विश्वनिकेत स्कुल, वडा नं १२ वडा कार्यालयलगायत क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । माथि उल्लिखित फिडरअन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
एनसेलले ल्याएको ‘सधैँ अन’ प्लानमा के छ ?
काठमाडौं । एनसेलले फाइभजी भिजनमा आधारित हुँदै ‘सधैं अन’ योजना ल्याएको छ । ‘सधैँ अन’ नाम रहेको यस योजनाको मुख्य औचित्य ग्राहकहरूलाई आफ्नो ब्यालेन्स खतम हुने डर नराखी डेटा सधैँ अन राखेर सशक्त बनाउनु र डिजिटल भविष्यतिर डोर्याउनु रहेको एनसेलले बताएको छ । ‘उपभोक्ताका आवश्यकताहरू परिवर्तन हुँदैछन्, र धेरै मोबाइल फोन प्रयोगकर्ताहरूले आफ्ना दैनिक कार्यहरू जस्तै किनमेल, यात्रा, बैंकिङ कारोबार लगायतका कार्यहरू अनलाइनबाटै गर्ने भएकाले उनीहरूलाई ‘सधैँ अन’ अर्थात अनलाइन बस्न इन्टरनेट धेरै आवश्यक छ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशन जाब्बोर कायुमोभले भने । नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलुकहरू सरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पुर्याउनु यो योजनाको अवधारणा रहेको छ । हाल सेवा प्रदायकका प्लानहरू इन्टरनेटमा कनेक्टेड रहँदा ग्राहकहरूको जानकारी बिना स्मार्टफोनमा रहेका विभिन्न एप्सले डेटा उपयोगबापत ब्यालेन्स काटिरहेकाे हुन्छ । यही समस्यालाई एनसेलले तत्काल समाधान गर्न चाहेको बताएकाे छ । ‘सधैँ अन’ मार्फत ग्राहकका ब्यालेन्स खतम हुने समस्या समाधान गर्न प्रतिबद्ध रहेको र ग्राहकका सुझावलाई विषेश ध्यानमा राखेर डेटा प्याकलाई सरल बनाउँदै पाँच दर्जन बढी त्यस्ता डेटा प्याकलाई २० वटामा झारेको एनसेलकाे भनाइ छ । एनसेलका अनुसार यो योजनाको अझ ठूलो उद्देश्य भनेको ग्राहकहरूलाई फाइभजीका लागि तयार पार्नु रहेको छ । कायुमोभले भने, ‘फाइभजी ताररहित प्रविधिको भविष्य हो र यसले व्यवसाय र अर्थतन्त्रले कसरी काम गर्छ भनेर क्रान्तिकारी परिवर्तन गर्नेछ, ६० भन्दा बढी देशहरूमा यो प्रविधि पहिले नै आइसकेको छ, हामी चाहन्छौं भारतपछि नेपाल व्यावसायिक रूपमा फाइभजी सञ्चालनमा ल्याउने दक्षिण एसियाको दोस्रो मुलुक बनोस्, तर त्यसका लागि हामीले एउटा महत्वपूर्ण पहिलो कदम चाल्नुपर्छ, र त्यो हो, प्रत्येक नेपालीले आफ्नो मोबाइल फोन उत्पादक रूपमा प्रयोग गर्न थाल्नुपर्छ, यसको मतलब, तपाईंको डेटा ‘सधै अन’ हुनुपर्छ ।’ मोबाइल ब्रोडब्यान्ड स्पीडमा नेपाल अहिले विश्वको १०९ औं स्थानमा छ । सन् २०२६ सम्ममा नेपाल विश्वको शीर्ष ५० मा पर्न सफल होस् भन्ने चाहना एनसेलले राखेको छ । नेपाली मोबाइल फोन प्रयोगकर्ताहरूको आवश्यकता र माग बढ्दै गए पनि दैनिक डेटाको उपयोग एकदमै न्यून छ १० मध्ये २ जना मात्रै नेपालीले नियमित रूपमा मोबाइल डाटा प्रयोग गर्छन् । साथै, औसत प्रतिग्राहक प्रतिमहिना डाटा खपत मात्र ४ जीबी रहेको छ, जुन अन्य छिमेकी देशहरूको तुलनामा कम हो। ‘सधैँ अन’ मा के छ ? एनसेलको ‘सधैँ अन’ अन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरी ३ वटा समूहमा ८ वटा विभिन्न आकर्षक प्लानहरू सञ्चालनमा ल्याएको छ । यसमा ७ दिनको समयसिमा हरेक दिन रु ९८ बाट सुरु हुने प्याक देखि २८ दिन समयावधि रहेको रु १४९९ पर्नेसम्मको विभिन्न प्लानहरू रहेका छन् । हरेक प्लानमा डेटा, अल नेपाल कल टक टाइम र अल नेपाल एसएमएसको बण्डलिङ रहेको छ । यी प्लानहरू ग्राहकलाई विद्यमान शुल्कभन्दा दुई गुणा सस्तो शुल्कमा उपलब्ध हुन्छ । यसका साथै ‘सधैँ अन’ सुचारु गर्ने ग्राहकले सामाजिक सञ्जाल प्रयोगका लागि निःशुल्क डेटा पनि प्राप्त गर्दछन् । उदाहरणका लागि यदि कुनै ग्राहकले रु ९९ को बेसिक प्लान सुचारु गरेमा ग्राहकले २ जीबी डेटा, १ जीवी निःशुल्क सोसल मिडिया डेटा, ४९ मिनेट अल नेपाल कल टक टाइम र ४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो ७ दिनको लागि मान्य रहनेछ। त्यस्तैगरी रु ४९९ काे बेस्ट प्लान सुचारु गर्ने ग्राहकले १२ जीबी डेटा, ५ जीवी निःशुल्क सोसल मिडिया डेटा, ४४९ मिनेट अल नेपाल कल टक टाइम र ४४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो २८ दिनको लागि मान्य रहनेछ । आफ्नो आवश्यकताअनुसार धेरै डेटा तथा टक टाइम प्रयोग गर्ने ग्राहकका लागि एनसेलले ठूलो भोलुम भएको डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइम रहेको प्लानहरू पनि ल्याएको छ । उदाहरणका लागि यस प्लानअन्तर्गत रु १४९९ को प्याक सुचारु गर्ने ग्राहकले १०० जीबी डेटा, १५ जीबी निःशुल्क सोसल मिडिया डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइमको सुविधा लिन पाउँछन् । यो प्याकअन्तर्गतको सेवाहरू २८ दिनका लागि मान्य रहनेछ । ग्राहकले एष्ट्रिक्स१२३ह्यास डायल गरी सजिलै आफ्नो आवश्यकताअनुसार कुनै पनि ‘सधैँ अन’ प्लान लिन सक्छन् ।
युरोपीयन कमिसनका उपनिर्देशक फेरानले नेपाली वस्तुको बजार विस्तारमा सघाउने
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र युरोपीयन कमिसनका उपनिर्देशक मिरियाम फेरानसँग बुधबार विविध विषयमा कुराकानी भएको छ । काठमाडौंको सोल्टी होटलमा भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपालको आर्थिक–सामाजिक विकासका लागि युरोपियन युनियनले प्रदान गर्दै आएको निरन्तर सहयोग र सहायताको उच्च प्रसंशा गरे । उनले भने, ‘नेपाल र युरोपियन युनियन बीच सम्बन्धको पृष्ठभूमी, नेपाल र युरोपियन युनियनबीच विगत सन् १९७४ देखि घनिष्ठ सम्बन्ध रहिआएको छ, युरोपियन युनियनसँगको साथ र सहकार्यलाई नेपाल सरकारले उच्च प्राथमिकता दिने गरेको छ ।’ मन्त्री भण्डारीले लोकतन्त्र, स्वतन्त्रता र बहुपक्षीयताको आवश्यकता एवं औचित्यका विषयका बारे नेपाल र युरोपियन युनियनको साझा धारणा रहेको बताए । उनले साझा लक्ष्यका रुपमा रहेका दिगो विकासका लक्ष्य प्राप्त गर्न र विश्वव्यापी रहेका महामारी एवं जलवायु परिवर्तन जस्ता विभिन्न सङ्कटलाई सम्बोधन गर्नका निम्ति बहुक्षेत्रीय सहायताको बढ्दो आवश्यकता रहेको उल्लेख गरे । ‘नेपाल अल्पविकसित राष्ट्रको स्तरबाट विकासशील राष्ट्रको स्तरमा सन् २०२६ सम्ममा स्तरोन्नती हुने जमर्को गरिरहेको छ, यस ऐतिहासिक रुपान्तरणलाई दिगो बनाउन नेपाल सरकारलाई विभिन्न विकास साझेदारहरुका साथै युरोपियन युनियनबाट प्राविधिक र आर्थिक सहयोग आवश्यकता रहेको छ’, मन्त्री भण्डारीले भने । नेपाल र युरोपियन युनियनले सहयोग तथा पारस्परिक सम्मानमा आधारित सम्बन्ध र सहकार्य गर्दै आएको उनको भनाइ थियो । उनले भने, ‘यस दीर्घकालीन साझेदारीको क्रममा युरोपियन युनियन नेपाली वस्तु तथा सेवा निर्यातका लागि एक प्रमुख गन्तव्यका रूपमा विकसित भएको छ, हाम्रा निर्यातयोग्य वस्तुलाई सहज बजार पहुँच सुनिश्चित हुने व्यवस्थाका लागि गराउन हामी अनुरोध गर्न चाहन्छौं, व्यापार क्षमता अभिवृद्धि र मूल्य शृङ्खला विकासमा युरोपियन युनियनको महत्वपूर्ण योगदानले नेपालको आर्थिक उन्नतिलाई बढावा दिन महत्वपूर्ण भूमिका खेलेको छ ।’ मन्त्री भण्डारीले आगामी दिनमा नेपाल र युरोपियन युनियनबीचको सम्बन्ध अझै प्रगाढ हुँदै जाने उल्लेख गर्दै सहकार्यलाई अझै गहिरो बनाउँदै पारस्पारिक सम्बन्धलाई अगाडि बढाउने बताए । ‘हामी कोरोनापछिको आर्थिक पुनरूत्थान र विकासशील राष्ट्रको स्तरोन्नतीको प्रयासमा रहेको हुनाले विभिन्न विकास निर्माणका कार्यमा थप लगानीको आवश्यकता रहेको छ’, उनले भने । सो क्रममा उपनिर्देशक फेरानले नेपाली वस्तुको बजार विस्तारमा सघाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले उद्योगमन्त्री भण्डारीलाई नेपाली वस्तु युरेपियन मुलुकमा निर्यातको वातावरण बनाउन आग्रह गरिन् । उनले भनिन्, ‘हामी नेपाली वस्तुको युरोपमा व्यापार विस्तार होस् भन्ने चाहन्छौँ, त्यसका लागि हामीबाट गर्नुपर्ने पहलमा कमी हुने छैन ।’
कांग्रेस नेतृत्वको सरकारले ७० बिगाहा गिरीबन्धु टि-स्टेटको जग्गा कमिसन खाएर बेच्यो : ओली
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले गिरीबन्धु टि-स्टेटको जमिन कमिसनमा बेच्न दिएको आरोप लगाएका छन् । सरकारमा रहँदा ओलीले टि-स्टेटको जग्गामा नीतिगत भ्रष्टाचार गरेको आरोप कांग्रेसले लगाइरहेका बेला उनले सो आरोप लगाएका हुन् । बुधबार पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको तत्कालिन सरकारले १९ बिगाहा र ५१ बिगाहा टि स्टेटको जमिन कमिसन खाएर बेच्न लगाएको आरोप लगाउँदै छानविन गर्नुपर्ने माग समेत गरे । उनले कांग्रेसले गरेका बद्मासीबारे एमाले चुप लागेर बस्ने पक्षमा नरहेको पनि बताए । ओलीले तत्काल संसद बैठक सुचारु गराउन पनि कांग्रेसलाई दबाब दिए । काँग्रेसले गरिमामय संसद र देशको बहुमूल्य समय खेर फाल्ने गरी संसद अवरुद्ध गर्न नहुने ओलीको जिकिर थियो । ‘म भन्न चाहन्छु-५१ बिगाहा र १९ बिगाहा गरेर ७० बिगाहा जमिन त्यही गिरीबन्धु टि स्टेटको कमिसन खाएको बेच्न दिएको कुरा । यसमा छानविन हुनुपर्छ । अब हामी नेपाली कांग्रेसले बकवास बोलिरहने र हामी चुप लागेर सुनिरहने होइन । नेपाली कांग्रेसले गरिमामय संसदको यति बहुमूल्य समय, सांसदहरुको बहुमूल्य समय, यो देशको बहुमूल्य समय यस प्रकारले कुण्ठाग्रस्त भएर खेर फाल्न हुँदैन । कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाइ थाहा छ’, उनले भने । अध्यक्ष ओलीले एमालेमाथि लाञ्छना लगाउने प्रयास नगर्न पनि कांग्रेसलाई चेतावनी दिए ।
१३ प्रतिशत भ्याटलाई १० प्रतिशतमा झार्नुपर्छ : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई सम्बोधन गरेको बताएका छन् । आर्थिक वर्ष २०८१/८२ को पूर्वबजेट अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम निजी क्षेत्रलाई प्रत्साहन दिने भएकाले अब आउने बजेट हतोत्साहित हुने गरी आउन नहुने बताए । ‘नयाँ चरणको आर्थिक सुधार कार्यक्रम सञ्चालन गर्नुपर्ने छ, निजी क्षेत्रलाई हतोत्साहित हुने गरी बजेट आउनु हुँदैन,’ उनले भने । १४ निकाय एकल बिन्दु सेवामा बसेर मुलुकभरि व्यावसायिक वातावरण बनाउनुपर्ने उनको भनाइ छ । यस्तै उनले राजनीतिक स्थिरता नहुदा कर्माचा सरुवा हुने प्रचलन बढेको पनि बताए । उनले भने, ‘अब कम्तीमा २ वर्ष कर्मचारी सरुवा नहुने व्यवस्था गर्नुपर्छ, लगानीकर्ताको मनोबल बढाउन १ सयभन्दा बढी रोजगारी दिने गरी स्थापना भएका उद्योग व्यवसायलाई प्राथमिकता राख्नुपर्छ ।’ आयात प्रतिस्थापन र उत्पादनमुलुक उद्योगलाई ५ वर्ससम्म ५० प्रतिशत विद्युत महसुल छुट दिनुपर्ने उनको भनाइ छ । अध्यक्ष ढकालले मौद्रिक र वित्त नीतिबीच तालमेल हुनुपर्ने बताए । तिनै तहमा लाग्ने कर फरक भए पनि बुझाउनुपर्ने ठाउँ एउटै हुनुपर्ने उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा धेरै कर्जा गएको बताउँदै उनले बैंक र निजी क्षेत्रले व्यवसायीको मनोबल बढाउने काममा बढी जोड दिनुपर्ने बताए । सबै भन्सारमा एक्सरे मेसिन जडान गर्नुपर्ने उनको माग छ । यस्तै उनले जलविद्युत आयोजनामा ५० प्रतिशत छुटको व्यवस्थालाई निरन्तरता दिनुपर्ने, खनिज र नदिजन्य पदार्थ निर्यातको व्यवस्थालाई बजेटमा स्पष्ट पार्नुपर्ने, नेपाली सिमेन्ट उद्योगले सिमेन्ट निर्यात गर्न थालेकाले सडक बाटो पनि ढलान गर्ने व्यवस्था गर्नुपर्ने बताए । १३ प्रतिशत भ्याटलाई ३ वर्षमा क्रमशः घटाएर १० प्रतिशतमा झार्नुपर्ने उनको भनाइ छ । यस्ता छन् बजेटका लागि ढकालले दिएका सुझाव [pdf id=483798]
विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो
काठमाडौं । टोखा नगरपालिकाले विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काउन सुरुआत गरेको छ । टोखा–९ नयाँ बसपार्कस्थित विष्णुमति करिडोरमा निर्माण गरिएको सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको भवन नगरपालिकाले भत्काएको हो । टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले टोखाभित्र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका संरचना हटाउने क्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र नयाँबसपार्कको भवन भत्काइएको जानकारी दिए । नगरपालिकाले नयाँबसपार्क नजिक विष्णुमति करिडोरमा निर्माण गरिएका पसलसमेत हटाउन लागेको छ । नयाँबसपार्क पुल नजिक बाँसबाट निर्माण गरिएका ८२ पसल हटाउन लागिएको नगरपालिकाले जनाएको छ । यसअघि टोखाले मनोरथ तीर्थदेखि ग्राण्डी अस्पतालसम्म विष्णुमति किनारामा निर्माण गरिएका संरचना हटाएर करिडोर खोल्ने काम गरिसकेको छ । रासस