विकासन्युज

काठमाडौं उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित पहाडी भागमा आंशिक बदली रही बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी क्षेत्रका केही स्थानका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि छ । त्यसैगरी, आज राति कोशी, मधेस र प्रदेशलगायत कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षा हुनसक्ने छ । आगामी २४ घण्टामा कोशी प्रदेशका पहाडी भागका केही स्थानका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षाकोे सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । अहिले काठमाडौं उपत्यकाको तापक्रम १९ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियसकाबीच रहने विभागको पूर्वानुमान छ ।

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा । मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ । सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिक ६० वर्षीय जोनी सालिबाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार मकालु गाउँपालिका–२ मा ८ हजार ३ सय ५० को उचाइमा पुगेका फ्रान्सेली नागरिक सालिबा अचानक बिरामी परेका थिए । उनको उद्धार गरी ल्याउने क्रममा बोटोमै बुधबार बिहान ३ बजे मृत्यु भएको प्रहरी निरीक्षक लामिछानेले बताए । पर्वतारोही सालिबाको शव हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको स्नोवी होराइजन टे«क्स एक्स्पिडिसनका प्रबन्धक निर्देशक बोधराज भण्डारीले बताए। उनीसँगै गएका अन्य फ्रान्सेली नागरिक भने सकुशल रहेका छन् । घटनास्थल सदरमुकाम खाँदबारीबाट १२ दिनको पैदल दूरीमा पर्दछ । एक साताअघि मकालु हिमाल आरोहण गरी फर्किने क्रममा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ का ५४ वर्षीय ल्हाक्पा तेन्जे शेर्पाको मृत्यु भएको थियो ।

१० महिनामा १ लाख ७७ हजार पर्यटकले घुमे अन्नपूर्ण क्षेत्र

गण्डकी । पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन् । गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । उक्त अवधिमा दक्षिण एसियाली मुलुकका ७९ हजार दुई सय ३२ र अन्य मुलुकका ९७ हजार नौ सय ५० पर्यटकले सो क्षेत्र घुमेका आयोजना प्रमुख डा. रविन कडरियाले जानकारी दिए । यो भेगमा असोज–कात्तिक र चैत–वैशाख पदयात्राका लागि उत्तम मानिन्छ । मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सतहमार्ग प्रयोग गरेपनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका उनले बताए । ‘मुख्य पर्यटकीय याममा अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्छ,’ प्रमुख डा कडरियाले भने, ‘यस क्षेत्रको पर्यटन कोभिड–१९ अघिकै अवस्थामा फर्किदैँछ, पछिल्लो समय तेस्रो मुलुकका पर्यटक बढी आइरहेका छन् ।’ एक्यापले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र अभिलेख राख्ने गरेको छ । सतहमार्ग भएर मुस्ताङ र मुस्ताङलगायत अन्य स्थानबाट आउने आन्तरिक पर्यटकको सङ्ख्या यकिन नै गर्न नसकिने उनले बताए । अन्नपूर्ण चक्रीय पदमार्ग धेरै देशका पर्यटकको रोजाइमा पर्दै आएको छ । उनका अनुसार सन् २०२३ मा एक सय ७३ देशका एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । यो हालसम्मकै बढी हो । सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले यो क्षेत्रको भ्रमण थिए । अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, ल्वाङ, घान्द्रुक गाउँ, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायत पर्यटकीय गन्तव्यमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । हिमशृङ्खलासहितका आकर्षकस्थल, पर्यटनमैत्री पूर्वाधार, अनुकूल हावापानी, स्थानीयवासीको अतिथि सत्कार र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग विश्वका उत्कृष्ट गन्तव्यमध्येको एक भएको प्रमुख कडरियढा बताउँछन् । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो पदयात्रा गर्न सकिने ‘एक्याप’ले जनाएको छ । ७ हजार ६ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, विविध संस्कृतिले भरिपूर्ण भएकाले आन्तरिक तथा बाह्यक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

पेट्रोलको मूल्य ७ रुपैयाँ घट्यो, डिजेलमा ५ रुपैयाँ

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको बुधबार बसेको सञ्चालक समिति बैठकले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको निगमले जनाएको छ । निगमका अनुसार भारतबाट पेट्रोलमा प्रतिलिटर ६.७५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५.०९ रुपैयाँ घटेर आएको हो।

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरूलाई छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग प्रदान गरेको छ। ‘बालबालिकालाई शिक्षित गर्नुहोस् कार्यक्रम अन्तर्गत नेपालभरि ८० वटा विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको राउन्ड टेबल नेपालमार्फत बैंकले करिब एक हजार विद्यार्थीहरूका लागि प्रदान गर्न लागेको उक्त छात्रवृत्ति कार्यक्रमसँग सहकार्य गर्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरेको हो। बुधबार काठमाडौं, धनगढी, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ, जनकपुर, बुटवल र भैरहवा गरी आठ स्थानमा सम्पन्न कार्यक्रममा सहभागी हुँदै बैंकले शिक्षाको मुल धारमा आउन नसकेका, पिछडिएका तथा विभिन्न कारणले बन्दी जीवन बिताएका अभिभावकका बालबालिकाहरूलाई शिक्षाको अवसर प्रदान गर्न आवश्यक समन्वय गर्दै आइरहेको उक्त संस्थासँग मिलि एक कार्यक्रमका बीच विद्यार्थीहरूका लागि सहयोग प्रदान गरेको हो। बैंकले आगामी दिनहरुमा पनि सामाजिक, आर्थिक रूपान्तरणका लागि निरन्तर रूपमा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।

जसपा विभाजनको निर्णय यथास्थितिमा राख्न सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजनका विषयमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश जारी गरेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायााधीश विनोद शर्माको एकल इजलासले आयोगलाई अल्पकालीन अन्तरिम आदेश दिएको हो । आदेशमा आयोगले गरेको अर्को दल दर्तालगायतका निर्णय यथास्थितिमा राख्न भनिएको छ । अशोक राई नेतृत्वमा सात जना सांसदसहित नयाँ पार्टी जसपा दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ। राईको नेतृत्वमा आयोगले २४ वैशाखमा दल दर्ताको निर्णय गरेको थियो । सर्वोच्चले उक्त प्रकरणमा रिट निवेदक र विपक्षी आयोगलाई जेठ ८ गते छलफलमा बोलाएको छ । सर्वोच्चको आदेशमा भनिएको छ, ‘निर्वाचन आयोगको बैठक संख्या १२/२०८१ मिति २०८१/०१/२४ को बैठकको प्रस्ताव नं ३० मा भएका विभिन्न निर्णयहरूमध्ये कतिपय कार्यान्वयन भइसकेका र कतिपय कार्यान्वयनको प्रक्रियामा रहेका भन्ने देखिन आई उक्त विषयमा प्रत्यर्थी निर्वाचन आयोगसमेतसँग छलफल गरी निष्कर्षमा पुग्न मनासिव देखिएकाले उल्लिखित मिति २०८१/०१/२४ को बैठकबाट भएका निर्णयहरू र सोका आधारमा भएका कामकारबाहीहरू जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा यथास्थितिमा राखी मिति २०८१/०२/०८ मा छलफलका लागि उपस्थिति हुनु ।’

निजी क्षेत्रको अनुसार सबैमा कर छुट दिन सकिँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सबै क्षेत्रमा कर छुट दिन नसकिने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा सम्पन्न आर्थिक वर्ष २०८१/८२ को पूर्वबजेट अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारले राजस्व संकलन गरेर विकास निर्माणका कार्य गर्नुपर्ने बताउँदै उनले भने, ‘सबै क्षेत्रमा कर छुट दिन सकिँदैन, राजस्व संकलन नगरी विकास निर्माण हुँदैन, त्यसैले बजेटमा खुरुखुरु कर तिर भन्ने व्यवस्था कहाँनेर गर्ने हो ? निजी क्षेत्रले स्पस्ट भनिदिनु पर्यो ।’ सरकारको मनोबल उच्च रहेकाले नीजि क्षेत्रले पनि मनोबल बढाएर लगानी गर्न उनले आग्रह गरे । बजेटमा समेट्न सकिने विषय मात्र नीति कार्यक्रमा समेटिएका र नीति कार्यक्रमसँग मेल खाने गरी बजेट र बजेटसँग मेल खाने गरी मौद्रिक नीति आउने उनको दाबी छ । ‘बजेट र मौद्रिक नीतिबीच तालमेल मिलाउन अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच निरन्तर छलफल भइरहेको छ, राष्ट्र बैंकका तर्फबाट बजेटमा समेट्नुपर्ने विषयमा लिखित सुझाव प्राप्त भएको छ, मौद्रिक नीतिलाई सपोर्ट पुग्ने गरी वित्त नीती आउँछ,’ उनले भने, ‘बजेटलाई समर्थन गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्छ, बजेट र नीति कार्यक्रममा तादात्म्यता मिलाउन दुई निकायबीच सघन छलफल भइरहेको छ, एकातिर बजेटको आकार बढाउनपर्छ र अर्काेतिर बजेटको आकार बढाउँदा हाहाकार हुन्छ भन्ने सुझाव आएका छन्, तर सबै सुझावलाई मनन गरी सन्तुलित बजेट आउँछ ।’ नयाँ शीर्षक सिर्जना गरेर निर्माण व्यवसायी लगायत अन्य क्षेत्रको भुक्तानी सरकारले दिइरहेको उनको भनाइ छ । ६० प्रतिशत जनसंख्या कृषिमा आधारित भएकाले सरकारले प्राथमिकता राखेर बजेट ल्याउने उनले बताए । तर, परम्परागत नभई व्यावसायिक कृषि प्रणाली अबलम्बन गर्नुपर्ने उनको भनाइ छ । ‘आफू मन्त्रीको जिम्मेवारीमा आएपछि निर्माण व्यवसायीको भुक्तानी दिने प्रक्रिया थालिएको हो, तर गत आर्थिक वर्षभन्दा पहिल्यै ठेक्का लागेका छन्, चालु आर्थिक वर्षको कार्यक्रममा नसमेटिएका आयोजनाका कानुनी जटिलताका कारण भुक्तानी दिन नसकिएको हो, यद्यपि राज्य निरन्तरतामा चल्ने संस्था भएकाले यसअघि जसले सिर्जना गरेको दायित्व भए पनि त्यसबाट पछि हट्ने छुट हुँदैन, यसअघि नै काम सकिएका तर सम्बन्धित मन्त्रालयले चालु आर्थिक वर्षको कार्यक्रममा नसमेटेका निर्माण आयोजनाको बजेटमै व्यवस्था गरेर भुक्तानी दिइनेछ,’ उनले भने । अर्थतन्त्र शिथिल भए पनि केही क्षेत्रको व्यवसाय फस्टाएकाले मनोबल बढाएर काम गर्न निजीलाई अर्थमन्त्रीले आग्रह गरे । बैंकमा थुप्रिएको पैसा बजारमा परिचालन गर्न र मौद्रिक नीति ल्याउन राष्ट्र बैंकसँग छलफल भइरहेको उनले बताए । ‘तपाईंहरू कोही पनि निरुत्साहित नहुनुस्, बरु सरकारलाई सकारात्मक दबाब र प्रेरित गर्ने काम गर्नुस्,’ अर्थमन्त्री पुनले भने, ‘लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ, यो कुरा बजेटमार्फत देख्नुहुनेछ, यथार्थ धरातलमा टेकेर राम्रो बजेट ल्याउने कोसिस हुनेछ ।’

ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन इप्पानको माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर जलविद्युत लगायतका ऊर्जा आयोजनाको लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन माग गरेको छ । बुधबार गृहमन्त्रालयमा भएको भेटमा इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जा आयोजनामा धेरै खालका सुरक्षा जोखिम रहेको भन्दै यसको समाधानको लागि छुट्टै ऊर्जा सुरक्षा नीति बनाएर लागु गर्न माग गरेका हुन् । कार्कीले प्रसारणलाइन निर्माणको अवरोधले जलविद्युत आयोजनाहरू प्रत्यक्षरूपमा प्रभावित भइरहेको भन्दै प्रसारणलाइन निर्माणमा हुने अवरोध अन्त्य गर्न पनि गृहमन्त्री लामिछानेसँग आग्रह गरे । भेटमा उपप्रधान एवं गृहमन्त्री लामिछानेले ऊर्जा सुरक्षा नीति बनाएर ऊर्जा व्यवसायीलाई सुरक्षा दिने विषयमा आफू प्रतिबद्ध रहेको बताए । मन्त्री लामिछानेले ऊर्जा आयोजना निर्माण गर्दा जग्गा प्राप्ती र अधिग्रहणमा गृह मन्त्रालयको साथ चाहिएमा मन्त्रालयले सधै सहयोग गर्ने पनि बनाए । उनले ऊर्जा व्यवसायीमाथि चन्दा आतंक छ भने मन्त्रालयलाई गुहार्न पनि आग्रह गरे । गृह मन्त्रालयमा भएको उक्त भेटमा इप्पान अध्यक्ष गणेश कार्कीसहित उपाध्यक्ष रामप्रसाद आचार्य र महासचिव बलराम खतिवडा सहभागी थिए ।