काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले गिरीबन्धु टि-स्टेटको जमिन कमिसनमा बेच्न दिएको आरोप लगाएका छन् ।
सरकारमा रहँदा ओलीले टि-स्टेटको जग्गामा नीतिगत भ्रष्टाचार गरेको आरोप कांग्रेसले लगाइरहेका बेला उनले सो आरोप लगाएका हुन् । बुधबार पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको तत्कालिन सरकारले १९ बिगाहा र ५१ बिगाहा टि स्टेटको जमिन कमिसन खाएर बेच्न लगाएको आरोप लगाउँदै छानविन गर्नुपर्ने माग समेत गरे ।
उनले कांग्रेसले गरेका बद्मासीबारे एमाले चुप लागेर बस्ने पक्षमा नरहेको पनि बताए । ओलीले तत्काल संसद बैठक सुचारु गराउन पनि कांग्रेसलाई दबाब दिए । काँग्रेसले गरिमामय संसद र देशको बहुमूल्य समय खेर फाल्ने गरी संसद अवरुद्ध गर्न नहुने ओलीको जिकिर थियो ।
‘म भन्न चाहन्छु-५१ बिगाहा र १९ बिगाहा गरेर ७० बिगाहा जमिन त्यही गिरीबन्धु टि स्टेटको कमिसन खाएको बेच्न दिएको कुरा । यसमा छानविन हुनुपर्छ । अब हामी नेपाली कांग्रेसले बकवास बोलिरहने र हामी चुप लागेर सुनिरहने होइन । नेपाली कांग्रेसले गरिमामय संसदको यति बहुमूल्य समय, सांसदहरुको बहुमूल्य समय, यो देशको बहुमूल्य समय यस प्रकारले कुण्ठाग्रस्त भएर खेर फाल्न हुँदैन । कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाइ थाहा छ’, उनले भने ।
अध्यक्ष ओलीले एमालेमाथि लाञ्छना लगाउने प्रयास नगर्न पनि कांग्रेसलाई चेतावनी दिए ।