विकासन्युज

आज चौथो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चौथो पटक विश्वासको मत लिँदै छन् । समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । एकजना सांसदले समर्थन फिर्ता लिए पनि सरकारले विश्वासको मत लिनु पर्ने संविधानको धारा १०० को (२) मा व्यवस्था छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन चाहिन्छ । २०७९ साल पुस १० गते प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

चिरायु भण्डारीको अध्यक्षतामा नेपाल लघु बीमक संघ गठन

काठमाडौं । हालै सञ्चालनमा आएका लघु बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले नेपाल लघु बीमक संघ गठन गरेका छन् । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका सीईओ चिरायु भण्डारी अध्यक्षतामा लघु बीमक संघ गठन गरेका हुन् । भण्डारीका अनुसार जेठ ३ गते जिल्ला प्रशासन कार्यालय ललितपुरमा विधिवत रुपमा लघु बीमकको संगठन दर्ता भएको हो । भण्डारीको अध्यक्षतामा स्टार माइक्रो इन्स्योरेन्सका सीईओ विश्वराम तिमिला उपाध्यक्ष, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका सीईओ नरेशकुमार रोका सचिव र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका सीईओ रामकुमार यादव कोषाध्यक्ष रहेका छन् । कार्यसमिति सदस्यमा ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीका सीईओ उज्जल ढुंगाना, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका सीईओ मृगेन्द्रनाथ रिमाल र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका सीईओ प्रतापमान श्रेष्ठ रहेका छन् । देशको लघु बीमा क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशी संघ संस्थाहरूसँग समन्वय गरी लघु बीमा सेवालाइ स्तरीय तथा भरपर्दो बनाउँदै लैजाने अध्यक्ष भण्डारीले बताए । उनका अनुसार न्यून आय भएका वर्ग तथा दूरदराजका नागरिकहरूमा बीमाको पहुँच विस्तारको लागि नेपाल बीमा प्राधिकरण लगायत सम्बन्धित संघ सस्थाहरूसँग सहकार्य र समन्वय गरी समावेसी बीमाको अवधारणालाइ मूर्तरूप दिन काम गरिरहेका छन् । पहुँच बाहिर रहेका वर्ग समुदायलाइ बीमाको दायरामा समेटी आर्थिक भविष्यलाइ सुनिश्चित गर्ने, लघु बीमा सेवाको विकास तथा विस्तार गर्ने र पर्यावरण संरक्षण सम्बन्धि विभिन्न कार्यक्रमहरू संचालन गर्ने उद्देश्य संघको रहेको अध्यक्ष भण्डारीको भनँइ छ ।

विलिङ बिंगो इभी नेपालमा सार्वजनिक, कति छ मूल्य ?

काडमाडौं । प्यारामाउन्ट मोटर्सले विलिङको बिंगो इभी मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ । प्यारामाउन्ट मोटर्सले चिनियाँ लगानीको इन्डोनेसियाली ब्रान्ड विलिङको बिंगो नेपाली बजारमा बिक्री गर्ने भएको हो । कम्पनीले बिंगोको मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकेको छ । हचब्याग सेगमेन्टको बिंगोमा ३१.९ किलोवाट आवर ब्याट्री छ । एक पटकको चार्जमा ३३३ किलोमिटरसम्म गुड्ने कम्पनीको दाबी छ । यसको मोटर पावर ४९ किलोवाट छ भने गाडीको ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ। उत्पादन भएको ६ महिनामै डेढ लाख गाडी बिक्री भइसकेको कम्पनीले बताएकाे छ । बिंगोमा कम्पनीले ८ वर्ष वा १ लाख २० हजार किलोमिटरसम्म वारेन्टी दिएको छ ।

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा मन्त्रालयमा छड्के अनुगमन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि, गृह, उद्योग वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयका कर्मचारीले समय पालना गरे÷नगरेको, तोकिएका पोसाक लगाए÷नलगाएको लगायत विषयमा अनुगमन गरेको हो । सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माका अनुसार अनुगमनका क्रममा शिक्षा मन्त्रालयमा सात र गृह मन्त्रालयमा नौ गरी १६ जना कर्मचारी अनुपस्थित देखिएका छन् । त्यस्तै, अनुगमनका क्रममा तोकिएको कार्यालय समयभन्दा ढिला आउने कर्मचारीको संख्या ७४ जना भेटिएको थियो । सूचना अधिकारी शर्माका अनुसार शिक्षा मन्त्रालयका सात, गृह मन्त्रालयका ३४, उद्योग मन्त्रालयका दुई र परराष्ट्र मन्त्रालयका १० जना तोकिएको कार्यालय समयभन्दा ढिला कार्यालय आएको भेटिएको थियो । अनुगमनका क्रममा शिक्षा मन्त्रालयका चारजना कर्मचारी आफ्नो कार्यकक्षमा नभेटिएको पनि सतर्कता केन्द्रले जनाएको छ । अनुगमनका क्रममा ती मन्त्रालयहरूमा तोकिएको पोसाक नलगाउने कर्मचारीको संख्या पनि उल्लेख्य देखिएको छ । शिक्षा मन्त्रालयका नौ, उद्योग मन्त्रालयका दुई र परराष्ट्र मन्त्रालयका नौ गरी २० जना कर्मचारी तोकिएको पोसाक नलगाइकन कार्यालयमा उपस्थित भएको सतर्कता केन्द्रले जनाएको छ । अनुगमनका क्रममा शिक्षा मन्त्रालयमा सेवाग्राही सहायता कक्ष, अपाङ्गमैत्री कार्यस्थल, प्रतीक्षालय, चमेनागृहको सरसफाइ राम्रो नदेखिएको लगायत कैफियत सतर्कता केन्द्रले भेटाएको छ ।

काँग्रेसले डेढ वर्षका लागि प्रधानमन्त्री अफर गरेकाे हाे : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली काँग्रेसले आफूलाई डेढ वर्षका लागि प्रधानमन्त्रीको प्रस्ताव गरेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले गृहमन्त्री बन्नुभन्दा अघिल्लो रात आफूलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको र आफूले नमानेपछि भोलिपल्टदेखि संसद् बन्द गरेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति समेत रहेका लामिछानेले यो कुराको जवाफ यही सदनमा उभिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई दिन पनि चुनौती दिएका छन् ।

संसदमा जवाफ दिँदै गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामेछानेले प्रतिनिधि सभाको बैठकमा आफूमाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् । प्रमुख प्रतिपक्ष दलले यसअघि उनीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आएको थियो ।

नेशनल लाइफले गर्यो ८० जना अभिकर्तालाई सम्मान

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेशनल अवार्डअन्तर्गत नेशनल रत्न छनौट हुन सफल कोशी र मधेस प्रदेशका करिब ८० जना अभिकर्तालाई सम्मान गरेको छ । इटहरीस्थित होटल सोल्टीमा भएको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले नेशनल रत्न छनौट अभिकर्तालाई सम्मान गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत खत्रील समारोहमा नेशनल अवार्ड विजेता अभिकर्तालाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरे । उनले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यावसायिक बनाउन थप लगानी गरिएको र कम्पनीको व्यवसाय वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई प्राथमिकतामा राखी समय सापेक्ष प्रोत्साहन योजना ल्याइएको कारण नै नेपालभरिबाट नेशनल रत्नमा उत्साहजनक रूपमा अभिकर्ता छनौट हुन सफल भएको बताए । उनले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरुलाई प्रदेशस्तरीय रूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजनाअनुसार कोशी र मधेश प्रदेशका अभिकर्ताबाट सम्मान कार्यक्रम सुरु गरिएको र अन्य प्रदेशका बाँकी अभिकर्ताहरुलाई पनि छिट्टै नै सम्मान गरिने जानकारी गराए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीसहित केन्द्रिय कार्यालयका प्रबन्धक विवेक शर्मा, सहायक प्रबन्धक सुष्मिता शर्मा, कोशी प्रदेश प्रमुख नरेन्द्रकुमार बाच्छाना राई लगायत विभिन्न शाखा कार्यालयबाट शाखा प्रमुखको समेत सहभागिता रहेको थियो ।

कनेक्ट आइपीएसको लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानीमा अफर सार्वजनिक

काठमाडौं । लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा कनेक्ट आइपीएसले अफर सार्वजनिक गरेको छ । कनेक्ट आइसीएसले जेठ ६ गतेदेखि साउन ३२ गतेसम्म लागू हुने गरी कनेक्ट आइसीएस बाट भुक्तानी गर्दा लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीको पूरा रकम फिर्ता ( ४०,००० रुपैयाँसम्म) अफर सार्वजनिक गरेको छ । यस आकर्षक अफर अन्तर्गत कनेक्ट आइपीएसबाट लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले १,००० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । हरेक महिना एक जना भाग्यशाली विजेताले प्रिमियम भुक्तानीको पूरा रकम (४०,०००रुपैयाँ सम्म) फिर्ता पाउन सक्नेछन् । लक्की ड्र मार्फत छानिएका १० साप्ताहिक विजेताहरुको जानकारी हरेक हप्ताको सोमबार तथा मासिक १ जना भाग्यशाली बिजेताको जानकारी महिना सकिएपछी एनस्एिचएलको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिने छ । कनेक्ट आइपीएसको वेब, मोबाइल एप तथा इन्स्युरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आइपीएस गेटवे मार्फत गरिएको लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा मात्र सो अफर लागू हुनेछ । कनेक्ट आइपीएस बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक सजिलो माध्यम हो । कनेक्टआइपीएस को वेब मार्फत प्रति कारोबार  २० लाख रुपैयाँसम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ । यस मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, सेयर कारोबार, नेपाल पेक्युआर लगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिन्छ ।