कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी
विराटनगर । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र अधिकारी नियुक्त भएका छन् । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले झापा विर्तामोड निवासी डा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए । उनका अनुसार बैठकले मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने, कोशी प्रदेशसभा सदस्य भक्तिप्रसाद सिटौलालाई क्यानडा जान कूटनीतिक राहदानीका लागि प्रधानमन्त्री कार्यालयमा सिफारिस पठाउने निर्णय गरेको छ । साथै वित्तीय हस्तान्तरणको सम्बन्धमा सोलुखुम्बुको दूधकुण्ड नगरपालिका सोलु, खाँदबारी नगरपालिका सङ्खुवासभा र ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा आप्रवासन केन्द्र स्थापना तथा सञ्चालनका लागि पाँच लाख दुई हजार रुपैयाँका दरले रकम पठाउने निर्णय पनि आजको बैठकमा भएको उनले जानकारी दिए ।
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
काठमाडौं । सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भियुसिएल)ले झण्डै आठ खर्ब ५३ अर्ब ६२ करोड रुपैयाँ लगानीमा चार हजार एक सय १३ मेगावाट क्षमताका ठूला आयोजनाको काम अघि बढाएको छ । मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि सरकारले गरिरहेको योजनाबद्ध प्रयासलाई थप सार्थक बनाउने लक्ष्यका साथ कम्पनीले मझौला र ठूला क्षमताका आयोजना निर्माणका लागि आवश्यक प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ । कम्पनीले अर्ध जलाशयुयुक्त प्रकृतिको चार सय ८० मेगावाट क्षमताको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीसँग मिलेर अगाडि बढाउन लागेको छ । सो आयोजना अगाडि बढाउनेसम्बन्धी द्विपक्षीय सम्झौतामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को २०७९ जेठमा भएको भारत भ्रमणका क्रममा भएको हो । यसैगरी कम्पनीले चार सय ५४ मेगावाट क्षमताको किमाथाङ्का अरुण, एक हजार नौ सय दुई मेगावाट क्षमताको मुगु कर्णालीको विस्तृत अध्ययनको कामलाई अगाडि बढाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत बखतबहादुर शाहीका अनुसार, निकट भविष्यमा नै ती आयोजनाको आवश्यक अध्ययन प्रक्रिया पूरा हुनेछ । कम्पनीले ४० मेगावाट क्षमताको सौर्य परियोजनासमेत अगाडि बढाएको छ । ऊर्जा मिश्रणको अवधारणामा समेत काम गर्ने उद्देश्यका साथ सौर्य परियोजनाको कामसमेत कम्पनीले सुरु गरेको शाहीको भनाइ छ । नेपालको पानी जनताको लगानी अवधारणा सरकारले नेपालको पानी जनताको लगानी अवधारणामा अगाडि बढाएको कम्पनी हो, विद्युत् उत्पादन कम्पनी । यो कम्पनीले ठूला क्षमताका आयोजना अगाडि बढाउने लक्ष्यका साथ काम अगाडि बढाएको छ । सोही कम्पनीको सहायक कम्पनीको रुपमा रहेको जगदुल्ला हाइड्रोपावर कम्पनीले गत बुधबार मात्रै एक सय छ मेगावाट क्षमताको जगदुल्ला आयोजनाको वित्तीय व्यवस्थापन गरेको छ । चालु आवमा आवश्यक तयारी गरेर आगामी आवको सुरुदेखि नै निर्माणमा जाने तयारी गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले गर्दै आएको निर्माण, उत्पादन, वितरण र बिक्रीको चापलाई कम गर्ने लक्ष्यका साथ सो कम्पनी स्थापना गरेको हो । ऊर्जा क्षेत्रको समग्र सुधार गर्ने र व्यवस्थित रुपमा काम गर्ने लक्ष्यका साथ सरकारले २०७३ मङ्सिर ५ मा कम्पनी स्थापना गरिएको हो । ऊर्जा क्षेत्रको पुनःसंरचना गर्ने र कामलाई थप सहज रुपमा अगाडि बढाउने उद्देश्यले २०७२ सालमा कम्पनी स्थापना गर्ने निर्णय गरिएको थियो । सरकारले २०७२ फागुनमा ल्याएको ‘ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशक’ कार्ययोजनामा उत्पादनसहित ऊर्जा क्षेत्रमा आधा दर्जन कम्पनी स्थापना गर्ने उल्लेख थियो । सो अवधारणामा रहेर स्थापना गरिएको कम्पनीले देशको समग्र ऊर्जा क्षेत्रको विकासमा संस्थागत प्रयास थालेको छ । अघि बढ्दैछन् यी आयोजना प्राधिकरण र विद्युत् विकास विभागले अध्ययन गरिरहेका आयोजनालाई कम्पनी मातहत ल्याएर विस्तृत अध्ययन तथा आवश्यक काम गरिरहेको छ । सोही कम्पनी मातहतमा नै रहने गरी जाजरकोटामा आयोजनास्थल रहेको चार सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत् परियोजनासमेत निर्माणमा जाने तयारीमा छ । सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । सरकारकोे आगामी वर्षको नीति तथा कार्यक्रममा सो आयोजनाको निर्माण सुरु गर्ने उल्लेख गरेको छ । यस्तै सात दशमलव एक मेगावाट क्षमताको ताप्सुलाई निकट भविष्यमा नै निर्माणमा लैजादैछ । एक सय छ मेगावाट क्षमताको जगदुल्लाको वित्तीय व्यवस्थापन भइसकेको छ । एक सय २० मेगावाट क्षमताको जलदुल्ला ‘ए’को अध्ययन जारी छ । जगदुल्ला हाइड्रोपावर कम्पनीका अध्यक्षसमेत रहनुभएका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवका अनुसार आगामी असारभित्र आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार हुनेछ । कम्पनीले सेयर अगाडि बढाएको अर्को आयोजना हो सिम्बुवा खोला । सो आयोजनाको क्षमता ७० दशमलव तीन मेगावाट बराबर छ । त्यसलाई रेमिट हाइड्रोको अवधारणामा अगाडि बढाइएको छ । त्यस्तै, ७७ दशमलव पाँच मेगावाट क्षमताको घुन्सा खोला पनि विद्युत् उत्पादन कम्पनी मातहत नै रहेको छ । कर्मचारी सञ्चय कोषको सहायक कम्पनीले अगाडि बढाएको बेतन कर्णाली आयोजनाको व्यवस्थापन र शेयर लगानीमा समेत विद्युत् उत्पादन कम्पनी नै जोडिएको छ । बेतन कर्णालीमा कम्पनीको १० प्रतिशत बराबरको शेयर स्वामित्व छ । प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनियरिङमा समेत भियुसिएलले लगानी गरेको छ । त्यस्तै नेपाल पावर टेडिङ कम्पनीमा पनि स्वामित्वसहितको लगानी छ । मुलुकलाई ऊर्जामा पूर्णरुपमा सम्पन्न गराउने, लगानीका विभिन्न स्रोतहरुको खोजी गर्ने र सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्यलाई साकार पार्न कम्पनी लागिपरेको प्रमुख कार्यकारी अधिकृत शाहीको कथन छ । यस्तो छ कम्पनीको सेयर संरचना कम्पनीको अधिकृत पुँजी २० अर्ब रुपैयाँ र जारी पुँजी १० अर्ब रुपैयाँ बराबर रहेको छ । कम्पनीमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको दुई अर्ब रुपैयाँ, अर्थ मन्त्रालयको ५० करोड रुपैयाँ, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको ५० करोड रुपैयाँ बराबरको सेयर स्वामित्व छ । नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोष र नेपाल दूरसञ्चार कम्पनीको समान एक/एक अर्ब रुपैयाँ, नागरिक लगानी कोषको ५० करोड रुपैयाँ बराबरको सेयर छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ४० करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानको २० करोड रुपैयाँ बराबरको सेयर छ । हालसम्म सात अर्ब १० करोड रुपैयाँ बराबरको सेयर बाँडफाँट भएको छ । बाँकी सेयर भने निकट भविष्यमा नै आम नागरिकलाई बिक्री गर्ने कम्पनीको योजना छ । सेयरधनीले चार अर्ब १० करोड रुपैयाँ बराबरको रकम मात्रै चुक्ता गरेका छन् । दुई अर्ब ८१ करोड बराबरको रकम भने सेयरधनीले उपलब्ध गराउन बाँकी रहेको कम्पनीको विवरणमा उल्लेख छ । संस्थागत सेयरधनीलाई समूह ‘क’ र ‘ख’मा वर्गीकरण गरिएको छ । यो समूहको सेयर ७१ प्रतिशत बराबर छ भने सर्वसाधारण समूह जुन ‘ग’ समूहमा छन् । जुन सेयर स्वामित्व २९ प्रतिशत बराबर हुन आउँछ । श्रममार्फत विपन्न नागरिकलाई सेयर सर्वसाधारण नागरिकलाई १७ प्रतिशत, आयोजना प्रभावित जिल्लाका स्थानीय बासिन्दालाई १० प्रतिशत र अति विपन्न परिवारलाई पनि कम्पनीले सेयर उपलब्ध गराउनेछ । श्रम, रोजगारी वा अन्य कुनै विकल्पको प्रयोग गरेर अति विपन्न नागरिकले सेयर लगानी गर्न सक्ने प्रबन्ध गरिएको छ । पूर्वऊर्जामन्त्री जनार्दन शर्माका अनुसार अति विपन्न नागरिकले समेत अपनत्व महसुस गर्ने गरी कम्पनीमा सेयरको प्रबन्ध गरिएको हो । शर्मा नै ऊर्जामन्त्री हुँदा यो कम्पनी स्थापना गरिएको थियो । नेपालको पानी जनताको लगानी, हरेक नेपाली सेयरधनी बनाउने उद्देश्यका साथ आर्थिकरुपमा लगानी गर्न नसक्ने नागरिकलाई समेत श्रम, रोजगारी वा अन्य कुनै विकल्पमार्फत लगानीको अवसर प्रदान गरिएको उनको भनाइ छ । लगानीको स्रोत नै नागरिक हुन भन्ने उद्देश्यका साथ स्थापना भएको कम्पनीले अनेकन कारणले अपेक्षित कामलाई भने तीव्र गतिमा अगाडि बढाउन नसकेको गुनासो पनि बेला बेलामा आउने गरेको छ । तर, कम्पनीका प्रमुख कार्यकारी अधिकृत शाही, सरकारको सोच, राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर आफूहरु अगाडि बढिरहेको बताउँछन् । ‘हामीले निकट भविष्यमा नै देखिने गरी परिणाम दिन्छौँ । कामको सुरुआत जगदुल्लाबाट सुरु भएको छ । निकट भविष्यमा नै जगदुल्ला ‘ए’को पनि काम सुरु हुन्छ । अहिले लगानी गर्ने सम्झौता गरेका बैंक तथा वित्तीय संस्थाले नै लगानी गर्ने प्रतिबद्धता जनाएका छन्’, उनले भने । यी आयोजना छन् गतिमा फुकोट कर्णालीको पनि आवश्यक प्रक्रिया अगाडि बढाउन भारतीय कम्पनी एनएचपिसीसँग छलफल भइरहेको छ । सो आयोजना सुरु भएपछि कालीकोट जिल्लाको विकास निर्माणको कामले समेत गति लिने विश्वास गरिएको छ । कर्णाली नदीमा निर्माण हुने आयोजनाले वार्षिकरुपमा दुई हजार चार सय ४७ दशमलव ८८ गिगावाट घण्टा बराबरको ऊर्जा उत्पादन गर्नेछ । उत्पादित बिजुली चार सय केभी क्षमताको डबल सर्किट प्रसारण लायनमार्फत राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले खाडाचक्त नगरपालिकाको रेङ्गीलमा निर्माण गर्ने सवस्टेशनमा जोडिनेछ । पहुँचमार्ग र कर्मचारी आवास गृह तथा कार्यालय भवन निर्माण कार्य अन्तिम चरणमा छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ मा आयोजनास्थल रहेको किमाथाङ्का अरुण जलविद्युत् आयोजनाको पनि अध्ययन कार्य जारी छ । आयोजनाबाट वार्षिक दुई सय ५५ दशमलव ११ करोड युनिट बिजुली उत्पादन हुन्छ । उत्पादित बिजुली १८ दशमलव पाँच किलोमिटर लामो चार सय केभी क्षमताको डबल सर्किट प्रसारण लाइन मार्फत हाइटार सवस्टेसन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । मुगु कर्णालीको अध्ययन प्रक्रिया चलिरहेको छ । बाजुरा जिल्लाको जगन्नाथ र स्वामीकात्र्तिक खापर गाउँपालिकाको बीच भएर बहने कर्णाली नदीको पिलुचौर भन्ने स्थानमा दुई सय ८० मिटर अग्लो बाँध र अन्य संरचना निर्माण हुनेछ । आयोजनाको जलाशय कर्णाली प्रदेशको मुगु र हुम्ला जिल्लाको भूभाग गरी ४५ किलोमिटर उपल्लो तटीय क्षेत्रसम्म रहनेछ । एक हजार नौ सय दुई मेगावाट क्षमताको सो आयोजनाको विद्युत् गृहदेखि करिब ४६ किलोमिटर लामो चार सय केभी क्षमताको डबल सर्किट प्रसारण लाइनमार्फत कालिकोटको रेङ्गील सवस्टेशनमा जोडिनेछ । सो आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयारीको काम प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनियरिङ कम्पनीले गरिरहेको छ । आयोजनाको र्काालय भवन तथा कर्मचारी आवास गृह निर्माणको प्रारम्भिक प्रक्रिया अगाडि बढाइएको छ । विद्युत् प्रसारण लाइन आयोजनाको विद्युत् प्रसारणको सर्वेक्षण अनुमति प्राप्त भइसकेको छ । प्राधिकरणसँग विद्युत् खरिद सम्झौताका लागि २०८० कात्तिक २३ गते निवेदन समेत दिइसकिएको प्रमुख कार्यकारी अधिकृत शाहीले जानकारी दिए । कम्पनीले दैलेखमा सौर्य परियोजनाको समेत काम अगाडि बढाएकोे जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत शाहीले ऊर्जा मिश्रणको अवधारणाअनुसार पनि राष्ट्रिय लक्ष्य पूरा गर्ने दायित्व आफूहरुको पनि भएको बताए । विस्तृत अध्ययन र वातावरणी अध्यय भइरहेका आयोजनाको विद्युत् उत्पादनसम्बन्धमा अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति एवं व्यावसायिक योजना तय गरी कार्यान्वयनमा लैजाने कम्पनीको योजना छ । यस्तै, आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तथा वातावरण अध्ययनको कार्य समयमा सम्पन्न गराउन पनि कम्पनी लागिपरेको कार्यकारी अधिकृत शाहीले जानकारी दिए । विद्युत् विकास विभागमा उत्पादन अनुमतिपत्रका लागि आवश्यक कारबाही अगाडि बढाउने साथै नजिकैको सवस्टेसनसम्म विद्युत् प्रसारणको निम्ति प्रसारण अनुमतिको कार्यका साथै सम्भाव्यता तथा वातावरणीय अध्ययन कार्य अगाडि बढाइएको छ । आयोजनाको लागि पहुँचमार्ग, जग्गा खरिद र विस्तृत अध्ययन कार्य सम्पन्न भई बोलपत्रको प्रक्रिया अगाडि बढाउने, वित्तीय व्यवस्थापनको कार्य अगाडि बढाउने लक्ष्य राखिएको छ । लगानीका लागि नयाँ जलविद्युत् आयोजनाको पहिचान गरी अध्ययन तथा निर्माण कार्य अगाडि बढाउने र कम्पनीको उद्देश्यअनुरुप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग दुईपक्षीय एवं बहुपक्षीय रुपमा समन्वय गर्ने कम्पनीको योजना रहेको प्रमुख कार्यकारी अधिकृत शाहीको भनाइ छ । अध्ययन सम्पन्न भएका आयोजनाका लागि वित्तीय स्रोतको जोहो गर्ने र बोलपत्रमार्फत निर्माण व्यवसायी छनोट गरी निर्माणमा लैजान नै तत्कालको प्रमुख काम भएको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत शाहीले भने, “राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा वित्तीय स्रोत खोजिरहेका छौँ । आशा छ, हामी निकट भविष्यमा नै सफलता हासिल गर्छौँ ।” उनले कम्पनीले अन्य केही आकर्षक आयोजनाको समेत अध्ययन सुरु गर्ने तयारी गरेको बताए । कम्पनीको समेत लगानी रहेको एनइए इञ्जिनियरिङ कम्पनीमार्फत अध्ययन गराउँदा ठूलो धनराशी विदेशिनबाट जोगिएको छ । प्राविधिक कर्मचारीले कामसमेत पाएका छन् । नेपाली प्राविधिक क्रमशः दक्ष बन्दै गएका छन् । मानव स्रोतलाई दक्ष बनाउनु पनि कम्पनीको उद्देश्य रहेको जानकारी दिँदै उनले राष्ट्रिय लक्ष्य प्राप्तिका लागि समेत आफूहरु दत्तचित्त भएर लागेको बताए । एनइए इञ्जिनियरिङ कम्पनीले एक हजार पाँच सय मेगावाट बराबरका आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत इञ्जिनियरिङ र बोलपत्रको कागजात तयार पार्ने काम सम्पन्न गरेको छ । यस्तै, विभिन्न प्रसारण लाइन आयोजनाको अध्ययन, डिजाइन तथा सुपरिवेक्षण, वातावरणीय अध्ययन, मूल्याङ्कनसम्बन्धी कार्य, सौर्य आयोजनाको निर्माणमा सहजीकरण गरिरहेको छ । जलविद्युत् आयोजनाको निर्माण सुपरीवेक्षण कार्यमा पनि सहभागी भई आफ्नो दक्षता र क्षमतामा अभिवृद्धि गरेको छ । सरकारी संस्थाहरु सबल र सक्षम बनाउँदा मात्रै राज्यको अपेक्षालाई सम्बोधन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ कम्पनीले काम गरिरहेको जानकारी दिँदै उनले कम्पनीलाई थप व्यावसायिक र दक्ष बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे । रासस
सुन लुटपाट गर्ने दुई जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ नगरपालिका-२ विएमसी स्कुल र माथिल्लो भङ्गाल क्षेत्रमा महिलाले लगाएको गहना लुटपाटमा संलग्न दुई जनालाई आइतबार बूढालीनकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहट मौलापुर नगरपालिका–४ का १९ वर्षीय सरोजकुमार शाह र सोही स्थानका २० वर्षीय राधेश्याम शाह रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले विएमसी स्कुल नजिक ७५ वर्षीया शारदा थापाको एक तोला ९२ लाल सुन लुटपाटमा सरोजकुमार र माथिल्लो भङ्गालमा सुमित्रा श्रेष्ठको सुन लुटपाटमा संलग्न राधेश्यामलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले पक्राउ परेका दुवै जनालाई चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।
नार्कका कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम
पोखरा । राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानले प्राविधिक र वैज्ञानिक कर्मचारीहरूका लागि आयोजना गरेको ‘डिजिटलाइजेसन अफ रिसर्च डाटा’ विषयक तालिम मत्स्य अनुसन्धान केन्द्र, बेगनास, पोखरामा आइतबारदेखि सुरु भएको छ । तीन दिनसम्म चल्ने उक्त तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि नार्कका योजना तथा समन्वय निर्देशक डा. लुमानिधि पाण्डेले यो तालिमले कर्मचारीलाई अनुसन्धानका तथ्याङ्कहरू व्यवस्थित गर्न सहयोग पुग्ने बताए । उनले यस्ता तालिमबाट अनुसन्धानमा संलग्न कर्मचारीलाई छोटो समयमा अनुसन्धानका नतिजा पत्ता लगाउन सहयोग पुग्ने हुनाले क्रमशः सबै प्राविधिक र वैज्ञानिकहरूलाई दक्ष बनाउँदै लैजानुपर्ने कुरामा जोड दिए । कार्यक्रमका अध्यक्ष राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक बिनेशमान साखःले आगामी दिनमा पनि प्रतिष्ठानले यस्ता तालिमहरू सञ्चालन गर्दै जाने र कर्मचारीको क्षमता बढाउन कृषि विज्ञानका नयाँ प्रविधिबाट नार्कले लाभ लिने बनाउन प्रयत्नरत रहनुपर्ने बताए । प्रतिष्ठानका प्रशासकीय अधिकृत अञ्जली बज्राचार्यले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले सहभागी र प्रशिक्षकलाई स्वागत गर्दै प्रतिष्ठानले नार्कभित्रका कर्मचारीलाई समयानुकूल तालिम सञ्चालन गर्नु प्रशंसनीय रहेकोले यस्ता थप तालिम दिनुपर्नेमा जोड दिए । कार्यक्रममा बागवानी अनुसन्धान केन्द्र, मालेपाटनका प्रमुख डा. सुनिल अर्याल, कफी अनुसन्धान कार्यक्रम, गुल्मीका संयोजक जीतनारायण चौधरी, मत्स्य अनुसन्धान केन्द्र, बेगनासका प्रमुख डा. मोहम्मद इकबाल हुसेन, सिमिट नेपालबाट प्रशिक्षक सरल कार्की, नार्कबाट प्रशिक्षक डा. उज्ज्वलकुमार कुशवाह लगायतको उपस्थिति थियो । तालिममा नार्कका विभिन्न कार्यालयमा कार्यरत प्राविधिक, प्राविधिक अधिकृत र वैज्ञानिक गरी १६ जनाको सहभागिता छ । यस्तै तालिम थप कर्मचारीका लागि केही दिनमै राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रममा पनि आयोजना गरिने बताइएको छ ।
नयाँ उत्पादन र प्रविधिमा सवा ४ खर्ब लगानी थप्दै टाटा मोटर्स
काठमाडौं । भारतको प्रमुख अटोमोबाइल कम्पनी टाटा मोटर्सले चालु आर्थिक वर्ष २०२४-२५ मा नयाँ उत्पादन र प्रविधिहरू ल्याउन ४ खर्ब ३० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। टाटाले हालै ४ खर्ब १० अर्ब २० करोड बराबर लगानी पनि गरेको छ । चालु आर्थिक वर्षमा गर्ने भनिएको लगानी यसबाहेक हो । यो लगानीमा कम्पनीको बेलायती इकाई ज्यागुआर ल्यान्ड रोभर (जेएलआर) ले ठूलो हिस्सा पाउने छ । कम्पनीले जेएलआरमा करिब ३ खर्ब ५० अर्ब रुपैयाँ (३ अर्ब ५० करोड पाउन्ड) लगानी गर्ने छ । हालै टाटाले जेएलआरमा ३ खर्ब ३० अर्ब अर्थात करिब ३ अर्ब ३० करोड पाउन्ड लगानी गरेको थियो भने टाटा मोटर्समा करिब ८० अर्ब रुपैयाँ लगानी गरेको थियो । टाटा मोटर्स समूहका प्रमुख वित्त अधिकारी पीबी बालाजीले भने, ‘जेएलआरको लगानी सन् २०२५ मा करिब ६ प्रतिशतले बढिरहेको छ भने टाटा मोटर्सको लगानी स्थिर छ ।’ उनले जेएलआरमा उत्पादन योजनासँगै आउने भएकाले थप लगानी भइरहेको बताए । उनले जेएलआर र टाटा मोटर्सको लगानी सबै उत्पादन र प्रविधिहरूमा रहेको बताए । जेएलआरले यो वर्ष बजारमा रेन्ज रोभर बीईवी र डिफेन्डर ओक्टा ल्याउन लागेको छ । शेयरखानका एक विश्लेषकले भने, ‘आर्थिक वर्ष २०२५ मा पुँजीगत खर्च ३ अर्ब ५० करोड डलर (३ खर्ब ५० अर्ब रुपैयाँ) हुने अनुमान छ ।’ उनका अनुसार ३ खर्ब ३ अर्ब डलरको योजनाबद्ध पुँजीगत खर्चबीच हालको ७० अर्ब डलरको कुल ऋणको तुलनामा जेएलआर वित्त वर्ष २०२५ मा ऋणमुक्त हुने अपेक्षा गरिएको छ। कार्यरत पुँजी लाभको उल्टाइका कारण जेएलआरले २०२५ को तेस्रो महिनामा तरलता देख्न सक्ने ती विश्लेषको भनाइ छ । गत आर्थिक वर्ष अक्टोबर/डिसेम्बर त्रैमासिकमा जेएलआरको खुद ऋण १ अर्ब ५७ करोड डलरबाट घटेर ७३ करोड २० लाख डलरमा झरेको थियो । भारतमा सवारीसाधन सञ्चालक अब ऋणमुक्त छन् र २०२५ मा समेकित शुद्ध ऋण समानता हासिल गर्ने सम्भावना छ । मोतीलाल ओसवालका विश्लेषकहरूका अनुसार बढ्दो लागतको दबाब ध्यानमा राख्दै जेएलआरको मार्जिन २०२४ देखि २०२६ मा स्थिर रहने आशा गरिएको छ । माग उत्पादन र ईभीहरूको बढ्दो लोकप्रियताले मार्जिनलाई कमजोर बनाउने सम्भावना रहेको उनीहरूको भनाइ छ । विश्लेषकहरूले यस वर्षको अन्त्यसम्ममा कर्भ एसयूभी र अर्को वर्ष सिएरा जस्ता सवारीसाधनहरू सार्वजनिक गरेसँगै भारतको यात्रुवाहक सवारीको बजारमा उछाल आउने अपेक्षा गरेका छन् । एजेन्सी
काठमाडौंमा बिहानैदेखि हावाहुरीसहित वर्षा
काठमाडौंमा हावाहुरीसहित वर्षा भएको छ । आज बिहानैबाट काठमाडौंका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा भएको हो । काठमाडौंका धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनले भने, ‘अहिले काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, धापड्याम, शिवपुरीमा पानी परिरहेको र सबैभन्दा बढी सुन्दरीजलमा वर्षा भइरहेको छ ।’ उपत्यकाको उत्तरी भेगका अधिकांश ठाउँमा वर्षा भइरहेको तथा करिब दुई दिन घण्टा वर्षासहित मौसम बदली भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी आज बागमती, कोषी तथा मधेस प्रदेशका एक दुई स्थानमा राति भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् अर्यालले बताए । स्थानीय वायुको प्रभावले हावाहुरीसहित वर्षा भइरहेको तथा आज काठमाडौंमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने
वीरगञ्ज । भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले यही जेठ १० देखि १२ गते बेलुका ६ बजेसम्म भारतसँग जोडिएका पर्साको सीमानाका बन्द हुने जनाएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भारतको विहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुने लोकसभा निर्वाचनलाई लक्षित दुई देशबीचको सीमानाका बन्द हुने बताए । ‘दुवै मुलुकमा निर्वाचन हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार सीमानाका बन्द गर्ने सहमति भएको छ,’ उनले भने, ‘भारतको विहार राज्यको पश्चिम चम्पारण जिल्लामा हुन गरिरहेको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न शुक्रबार बसेको बिडिसिसी बैठकको निर्णयअनुसार निर्वाचन हुनु ४८ घण्टाअघिदेखि सीमानाका बन्द गर्ने निर्णय भएको छ ।’ पर्साको एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ । दुवै मुलुकको बिडिसिसी बैठकको निर्णय र समाहरणालय, पश्चिम चम्पारण, बेतिया (विहार) को पत्रांकको पत्रबाट समेत अनुरोध भएर आएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । नेपालमा निर्वाचन हुँदा पनि भारतको सीमानाका बन्द गर्ने परम्परा रहँदै आइरहेको छ ।
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबार बिहान बस्ने भएको छ । सोमबार नै बस्न लागेको संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको हो । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने छ । संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। कार्यसमितिको बैठक बिहान ८स्३० बजे र दलको बैठक बिहान ९ बजे बस्ने उनले बताए । गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिना प्रकणमा संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिनको माग गरिरहेको छ। गृहमन्त्रीलक्षित छानबिन समिति बनाउने विषयमा सरकारले चासो नदेखाउँदा कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने तयारी छ ।