नेपाली राजदूतावासको आयोजनामा क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम
काठमाडौं । आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ । ओटावास्थित नेपाली राजदूतावासले आयोजना गरेको उक्त कार्यक्रममा अलबेर्टाको प्रान्तीय सरकारका प्रमुख सचेतक एवं आर्थिक विकाससम्बन्धी संसदीय कार्यालयका सचिव साने गेत्सन र एडमन्टन सहरका प्रमुख, यात्रा व्यवस्थापन गर्ने कम्पनी, पत्रकार, पर्यटनमा मात्र केन्द्रित रहेर लेख्ने ‘ब्लगर’, गैरआवासीय नेपाली सङ्घका पदाधिकारीको उपस्थितिमा कार्यक्रम भएको थियो । त्यस अवसरमा क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले कला, संस्कृति, परम्परा, रहनसहन, प्राकृतिक सौन्दर्य, जैविक विविधता, विशाल हिमशृङ्खला र अतिथिको सधैँ सत्कारमा रमाउने नेपालीको देश हरेक उमेर समूहका लागि आकर्षकको केन्द्र भएको बताउँदै एकपटक नेपालको भ्रमण गर्न आह्वान गरेको ओटावास्थित नेपाली राजदूतावासले जनाएको छ । राजदूत पौड्यालले गैरआवासीय सङ्घका पदाधिकारी एवं त्यहाँ रहेका अन्य नेपाली नागरिकले आफ्ना मित्रहरुलाई एकपटक नेपाल भ्रमण गर्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिँदै पत्रकार तथा यात्रा व्यवस्थापन गर्ने पर्यटन व्यवसायीलाई पनि नेपाल भ्रमणमा आफ्ना ग्राहक पठाउन अनुरोध गरे । अलबेर्टाको प्रान्तीय सरकारका प्रमुख सचेतकले आफ्नो प्रान्तमा कार्यक्रम आयोजना गरेकामा नेपाली दूतावासप्रति कृतज्ञता व्यक्त गर्दै एडमन्टन सहर र नेपालबीच पर्यटनका क्षेत्रमा सहकार्य गर्ने प्रशस्त सम्भावना रहेको बताए । उनले कार्यक्रमका सहभागीलाई नेपाल भ्रमण गर्न आग्रह गरे। कार्यक्रममा नेपालका प्रमुख पर्यटकीय गन्तव्य क्षेत्रहरूको भिडियो प्रस्तुतिका साथै नेपाली उत्पादन चिया, कफी, पस्मिना सल, हस्तकलाका सामग्री पनि प्रदर्शनीमा राखिएका थिए । नेपाली कलाकारको एक टोलीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।
नेशनल फण्डले आईपीओ निष्कासन गर्ने, डाक्यो विशेष साधारण सभा
काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्न लागेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न जेठ २५ गते विशेष साधारण सभा डाकेको छ । सभा काठमाडौंको धुम्बाराहीस्थित होटल अकामामा दिउँसो २ बजेदेखि सुरु हुनेछ । सभाले कम्पनीको ५० रुपैयाँ प्रतिसेयरको २ बराबर १ सेयर अर्थात् ५० प्रतिशतले हुन आउने २७ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गरी चुक्ता पुँजी र जारी पुँजी बढाउने तथा प्रिमियममा समेत सेयर जारी गर्न सक्ने व्यवस्था गर्ने एजेण्डा रहेको छ ।
महिला लघुवित्तको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले बुधबार एक सूचना जारी गर्दै १ लाख ९९ हजार ४ सय ७२ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमाफर्त बिक्रीमा राखेको जनाएको छ । यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले जेठ २३ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ९ सय रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको ठमेलस्थित कार्यालयमा आईपुग्ने गरी बोलपत्र आवेदन पेस गर्नुपर्नेछ ।
कुमारी बैंकबाट संस्थापक सेयर बिक्री गरेर बाहिरिँदै ८ जना सेयरधनी
काठमाडौं । कुमारी बैंकका ८ जना संस्थापक सेयरधनीले ७ लाखभन्दा बढी कित्ता सेयर बिक्री गरेर बैंकबाट बाहिरिन खोजेका छन् । बैंकका ८ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ७ लाख १७ हजार ४ सय ४० कित्ता सेयर बिक्री गर्न लागेका छन् । सेयर बेचेर बाहिरिन खोज्नेमा सेयरधनीमा सुषमा पोखरेल छिन् । उनले आफ्नो स्वामित्वमा रहेको ४७ हजार २ सय ९४ कित्ता सेयर बिक्री गर्न लागेकी छन् । यस्तै राजेन्द्र कुमार घिसिङले ६१ हजार ४ सय २५ कित्ता, पर्शुराम कार्कीले १ लाख ५८ हजार ८२ कित्ता, मोहन प्रजापतिले ६१ हजार ४ सय २१ कित्ता र विनोद कुमार शर्माले ८ हजार २ सय ४८ कित्ता सेयर बिक्री गर्न लागेका छन् । यस्तै रीना महर्जनले ६१ हजार ४ सय २१ कित्ता, मनोजविक्रम शाहले १ लाख ६९ हजार ५ सय ४९ कित्ता र शिशिर कुमार भट्टले १ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न लागेका छन् । यो सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं नक्सालमा रहेको बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनें बैंकले जनाएको छ । बैंकका अनुसार तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने छ ।
जेठ १२ गतेदेखि किमाथांका नाका खुला हुने
सङ्खुवासभा । उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथांका नाका खुला हुने भएको छ । कोरोना संक्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ देखि किमाथांका नाका बन्द गरेको थियो । उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथांका नाका जेठ १२ गतेदेखि खुल्ने भएको हो । त्यसको सबैभन्दा ठूलो असर भोटखोलामा परेको छ । यहाँका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्न आयात गर्दै आएका थिए । विराटनगरको रानी भन्सार नाका हुँदै सङ्खुवासभाको किमाथांकासम्म पुग्ने बाटोलाई चीन–भारत जोड्ने छोटो मार्गका रूपमा लिइन्छ । उत्तरी क्षेत्रमा विसं २०३५ मा किमाथांका भन्सार कार्यालय स्थापना भएको थियो । तत्कालीन द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सिमा भन्सार विसं २०५७ देखि सदरमुकाम खाँदबारी रहेको छ । उत्तरी क्षेत्रको किमाथांका नाका यही जेठ १२ गतेदेखि खुल्न भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए । भोटखोलावासीलाई तिब्बत प्रवेश गर्न स्थानीयस्तरमा अनुमतिपत्र पनि वितरण सकिएको अध्यक्ष भोटेले बताए । चीन सरकारले वुहानमा कोरोना संक्रमण देखिएपछि बन्द रहेको किमाथांका नाका खुलेको छैन । लामो समयदेखि बन्द रहेको किमाथांका नाका जेठ १२ गते खुल्ने सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर खड्काले बताए । उनका अनुसार परराष्ट्र मन्त्रालयको पत्र गृह मन्त्रालयमार्फत किमाथांका नाका खुल्ने जानकारी प्राप्त भएको पुष्टि गरे। सरकारको पटक पटकको आग्रहपछि चीन सरकारको औपचारिक रुपमा नाका खुलाउन लागेको हो । किमाथांका बन्द भएपछि भोटखोला गाउँपालिकामा सदरमुकाम खाँदबारीबाट महँगोमा खाद्यान्न ढुवानी गरिँदै आएको थियो । भोटखोलाको किमाथांका नाका सदरमुकाम खाँदबारीदेखि करिब १ सय ६२ किलोमिटर टाढा पर्दछ । किमाथांकाका स्थानीयवासी दैनिक रोजगारीका लागि पनि विगतमा पारिका चाँगा र देन्दाङसम्म जाने गरेका थिए । करिब ६ हजारको बसोबास रहेको यो क्षेत्रमा स्थानीय उत्पादनले तीन महिना पनि धान्दैन । किमाथांका, चेपुवा, छुम्सुर रिदाक, थुदामलगायत गाउँका लागि चामललगायत दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख बजार चीनको चाँगा र देन्दाङ हो ।
कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक आज बिहान ११ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने मागका साथ संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।
जोमसोम-कागबेनी सडक कालोपत्र गरिँदै
म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । १३ किलोमिटर लामो जोमसोम-कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो । राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न विस. २०७८ असोज ४ गते रौताह–आत्रेय जेभीले २८ करोड १४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीका रौताहका आयोजना व्यवस्थापक सञ्जय भट्टले एक्लेभट्टी क्षेत्रमा दुई किलोमिटर सडकमा कालोपत्र गर्न प्राइमकोट राखेको जानकारी दिए । ‘२ किलोमिटरमा प्राइमकोट राखिसकेका छौ,’ उनले भने, ‘पिप्स, बिटुमीन आयात र उपकरण व्यवस्थापन गरेका छौँ । सबबेस र बेस राख्ने काम सकिएको छ । चालु आर्थिक वर्षभित्र नै जोमसोमदेखि कागबेनी खण्डमा कालोपत्र सक्नेगरी तयारी गरेका छौ ।’ १८ महिनाको ठेक्का अवधिको भएको ठेकेदारलाई बेनी–जोमसोम–कोरला सडक आयोजनाले धरौटी जफत गरेर कालोसूचीमा राख्ने चेतावनी दिएपछि दुुई वर्षपछि कम्पनीले गत भदौदेखि काम थालेका थियो । आयोजना प्रमुख धुु्रवकुमार झाका अनुसार यसअघिनै ग्राभेल भइसकेको जोमसोम–कागबेनी सडकको ग्रेड मिलाउने, विस्तार गर्ने, मेसिनरी, ग्याबिन पर्खाल, माटो कटिङ, फिलिङ, नाली निर्माणका लागि ठेक्का लगाइएको थियो । जोमसोमदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाका जोड्ने ८ वटा खण्डको १ सय १० किलोमिटर सडकमध्ये ६ वटाको ७५ किलोमिटरमा ग्राभेल भएको छ । २५ किलोमिटर लामो चराङ–छोसेर खण्डको ८५ प्रतिशत काम पूरा भएको छ । यो खण्डको स्तरोन्नति सकिएपछि जोमसोम–कोरला नाका जोड्ने सबै खण्ड ग्राभेल गरिने योजना प्रमुख झाले जानकारी दिए ।
१९ मन्त्रीसँग ८९१ तोला सुन र साढे ४ हजार तोला चाँदी, उपहारमा दाईजो
काठमाडौं । नेपाल सरकारका वहालवाला मन्त्रीहरूसँग ८ सय भन्दा बढी तोला सुन रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले सार्वजनिक गरेको प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरणहरू अनुसार १९ जना मन्त्रीहरूसँग ८१९ तोला सुन रहेको छ । यस्तै, सोही विवरणमा मन्त्रीहरूसँग ४ हजार ४४१ तोला चाँदी र १० तोला हिरा रहेको तथ्याङ्क छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादव र राज्यमन्त्री हसिना खानको सम्पत्ति विवरण भने सार्वजनिक भएको छैन । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री वर्षमान पुनसँग सुनचाँदी नरहेको विवरण छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ५ तोला सुन रहेको छ । उक्त सुन पैतृक सम्पत्ति रूपमा उल्लेख गरिएको छ । यस्तै, उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठसँग ४३ तोला सुन र १.५ केजी चाँदी रहेको छ । यस्तै, ७ थान औँठी, ३ थान सिक्री (हार जस्तो देखिने), ३ जोडा कानमा लगाउने र २ जोडा चुरा (बाला) रहेका छन् । पैतृक तथा उपहार स्वरूप र खरिद गरी उक्त सुनचाँदी जोडेको विवरणमा उल्लेख गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेकलेस, सिक्री, लकेट, टप, ब्रासलेट, औंठी, बाला गरी करिब ८० तोला सुन र चाँदीका भाँडाकुडा सामानहरू गरेर १५.२० केजी चाँदी रहेका छन् । चाँदी प्रतितोला २५० रुपैयाँ र ३ सय रुपैयाँ मूल्य हुँदा खरिद गरेको बताइएको छ । सम्पत्ति विवरण अनुसार अधिकांश बुवाआमाबाट र केही सुनचाँदी गृहमन्त्री लामिछानेकी श्रीमति निकिता पौडेलले खरिद गरेको उल्लेख छ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतसँग विभिन्न समयमा तलब भत्ताबाट खरिद गरेको ५ तोला सुन रहेको छ । चाँदी (भाडाकुडा र सिक्का सहित) उल्लेख गरेको भएपनि परिमाण छैन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीसँग ३१ तोला सुन र ६० तोला चाँदी छ । पैतृक सम्पत्ति, विवाहको दाइजोबाट उक्त सुनचाँदी प्राप्त भएको उल्लेख छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङसँग ६ तोला सुन र ७÷८ तोला चाँदी रहेको छ । तलब भत्ताबाट उक्त सुनचाँदी खरिद गरेको उल्लेख छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग ६ तोला सुन र २ तोला चाँदी रहेको छ । पैतृक तथा उपहार स्वरूप उक्त सुनचाँदीको प्राप्त गरेको उल्लेख छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीसँग २३ तोला सुन, कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहसँग १० तोला सुन र २५ तोला चाँदी रहेको उल्लेख छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग १० तोला सुन रहेको छ । उक्त सुन २०४०, २०५५, २०६० र २०७४ सालमा खरिद गरिएको बताइएको छ । उक्त सुनको खरिद मूल्य ७ लाख ५० हजार रुपैयाँ रहेको छ । स्वआर्जन र छोराको कमाईबाट उक्त सुन खरिद गरेको स्रोतमा खुलाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले श्रीमतिको नोकरी तथा कृषि व्यवसायबाट भएको आम्दानीबाट विभिन्न समयमा ६ तोला सुन खरिद गरेको बताएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीसँग ७५ तोला सुन र २५ केजी चाँदी, खानेपानीमन्त्री राजेन्द्रकुमार राईसँग १० तोला सुन र १ सय तोला चाँदी, रक्षामन्त्री हरिप्रसाद उप्रेतीसँग २५ तोला सुन र सहरी विकासमन्त्री धन बहादुर बुढासँग १५० तोला सुन र ३ सय तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद (डीपी) अर्यालसँग १५० तोला सुन, १ सय तोला चाँदी, १० तोला हिरा छ । उक्त सुनचाँदी र हिरा २०७४ सालअघि खरिद गरेको र स्रोत व्यापार रहेको छ । खरिद मूल्य अनुसार सुन ८२ लाख २० हजार रुपैयाँ, चाँदी ७४ हजार ५ सय रुपैयाँ र ५ लाख ४० हजार रुपैयाँ गरी ८८ लाख रुपैयाँ बराबर हुन आउँछ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसँग ११ तोला सुन, १ सय तोला चाँदी, १ सेट हिरा, १ सेट हिराको टप रहेको छ । सम्पत्ति विवरण अनुसार १० तोला सुन विवाहको बेला र १ तोला हजुरआमाको शेष पछि प्राप्त गरेको बताइएको छ । चाँदी र हिराको सेट भने विवाहको बेला उपहार पाएको र हिराको टप भने हजुर आमाको शेष पछि प्राप्त गरेको उल्लेख छ । युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठसँग विभिन्न मितिमा खरिद गरेको १५ तोला सुन, ५० तोला चाँदी रहेको छ । वन तथा वातावरणमन्त्री नवलकिसोर साह सुडीसँग १५८ तोला सुन र १ हजार ४२९ ग्राम चाँदी रहेको छ । सम्पत्ति विवरण अनुसार श्रीमति सावित्री देवी साह सुडीसँग ५६ तोला सुन र ६५० ग्राम चाँदी र छोरा सुमित कुमारसँग ३५ तोला सुन रहेको छ । यस्तै, बुहारीहरू माधवी भारती २२ तोला सुन र ३३९ ग्राम चाँदी, शालिनी देवीसँग १७ तोला सुन र २७० ग्राम चाँदी र मंजु साहसँग २८ तोला सुन र १७० ग्राम चाँदी रहेको छ । उक्त सुनचाँदी विवाहको समयमा ससुराली र बुवाआमाबाट उपहार स्वरूप प्राप्त गरेको उल्लेख छ । [pdf id=485281]