
सङ्खुवासभा । उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथांका नाका खुला हुने भएको छ । कोरोना संक्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ देखि किमाथांका नाका बन्द गरेको थियो ।
उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथांका नाका जेठ १२ गतेदेखि खुल्ने भएको हो । त्यसको सबैभन्दा ठूलो असर भोटखोलामा परेको छ । यहाँका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्न आयात गर्दै आएका थिए । विराटनगरको रानी भन्सार नाका हुँदै सङ्खुवासभाको किमाथांकासम्म पुग्ने बाटोलाई चीन–भारत जोड्ने छोटो मार्गका रूपमा लिइन्छ ।
उत्तरी क्षेत्रमा विसं २०३५ मा किमाथांका भन्सार कार्यालय स्थापना भएको थियो । तत्कालीन द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सिमा भन्सार विसं २०५७ देखि सदरमुकाम खाँदबारी रहेको छ । उत्तरी क्षेत्रको किमाथांका नाका यही जेठ १२ गतेदेखि खुल्न भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए ।
भोटखोलावासीलाई तिब्बत प्रवेश गर्न स्थानीयस्तरमा अनुमतिपत्र पनि वितरण सकिएको अध्यक्ष भोटेले बताए । चीन सरकारले वुहानमा कोरोना संक्रमण देखिएपछि बन्द रहेको किमाथांका नाका खुलेको छैन । लामो समयदेखि बन्द रहेको किमाथांका नाका जेठ १२ गते खुल्ने सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर खड्काले बताए । उनका अनुसार परराष्ट्र मन्त्रालयको पत्र गृह मन्त्रालयमार्फत किमाथांका नाका खुल्ने जानकारी प्राप्त भएको पुष्टि गरे।
सरकारको पटक पटकको आग्रहपछि चीन सरकारको औपचारिक रुपमा नाका खुलाउन लागेको हो । किमाथांका बन्द भएपछि भोटखोला गाउँपालिकामा सदरमुकाम खाँदबारीबाट महँगोमा खाद्यान्न ढुवानी गरिँदै आएको थियो ।
भोटखोलाको किमाथांका नाका सदरमुकाम खाँदबारीदेखि करिब १ सय ६२ किलोमिटर टाढा पर्दछ । किमाथांकाका स्थानीयवासी दैनिक रोजगारीका लागि पनि विगतमा पारिका चाँगा र देन्दाङसम्म जाने गरेका थिए । करिब ६ हजारको बसोबास रहेको यो क्षेत्रमा स्थानीय उत्पादनले तीन महिना पनि धान्दैन । किमाथांका, चेपुवा, छुम्सुर रिदाक, थुदामलगायत गाउँका लागि चामललगायत दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख बजार चीनको चाँगा र देन्दाङ हो ।