काठमाडौंका यी स्थानमा ५ दिन बिजुली नआउने
काठमाडौं । आजदेखि काठमाडौंका केही ठाउँमा पाँच दिनसम्म दैनिक चार घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले आजदेखि जेठ १८ गतेसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द गर्न लागिएको जनाएको छ । साँखु, चौमती, केएमसी, कालीमाटी, किर्तिपुर रोपवे र मुलपानी फिडरबाट आपूर्ति हुने विद्युत लाइन आजदेखि जेठ १८ गतेसम्म अवरुद्ध हुनेछ । विद्युत वितरण लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जानकारी दिएको छ ।
अवरोधका बीच नीति तथा कार्यक्रम पारित, विपक्षीलाई ‘पेलेरै’ १५ गते बजेट भाषण
काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठकमा विपक्षी नाराबाजी र अवरोधका बीच सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते सार्वजनिक गरेको नीति तथा कार्यक्रम १३ दिनपछि पारित भएको हो । बैठकमा पनि कांग्रेस सांसदहरुले नाराबाजी गरेका थिए । तर, नाराबाजीकै बीच नीति तथा कार्यक्रममा छलफल गरेर पारित गरिएको हो । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले संसदमा अवरोध जारी राखेको छ । तर, सत्ता पक्षले पेलेरै भएपनि मर्यादापालकको सहायतामा अगाडि बढिरहेको छ । बैठकमा अर्थमन्त्री पुनलाई रोष्टममा पुर्याउन पनि मर्यादापालक र सत्ता पक्षकै सांसदहरूले सहयोग गरे । उनी चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेस गर्न रोष्टममा जाँदा विपक्षी दलका सांसदले उनलाई घेरेका थिए । तर, मर्यादापाल र सत्ता पक्षकै सांसदले उनलाई रोष्टममा पुग्न सहयोग गरेका थिए । प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो चार बजेका लागि बोलाइएको छ । त्यसअघि दिउँसो १ बजे संघीय संसदको बैठकमा बजेट प्रस्तुत हुने छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने अभ्यास छ । सोही अनुसार सभामुख देवराज घिमिरेले मंगलबारका लागि बैठक बोलाएका छन् । मंगलबार दिउँसो १ बजे बजेट प्रस्तुत हुनेछ । सभामुख घिमिरेले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्नुपर्ने प्रयोजनका लागि मंगलबार दिनको १ बजे संघीय संसदको संयुक्त बैठक बस्ने जानकारी आजको बैठकलाई गराइसकेका छन् । काँग्रेसको निरन्तर अवरोधले सरकारले अध्यादेशबाट बजेट सार्वजनिक गर्छ कि भन्ने अड्कलवाजी पनि धेरैले गरेका थिए । तर, सरकारले सदनबाटै बजेट ल्याउने तयारी गरेको हो । बजेटमा विपक्षीले विरोध गरे पनि अवरोधकै बीच बजेट सार्वजनिक गर्ने तयारी सरकारको छ । उसो त आइतबारको बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले बजेट सार्वजनिक हुने दिन संसद बैठकमा अवरोध नहुने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफू राजनीतिक सहमति जुटाउन लागिपरेको बताउँदै मंगलबारसम्म यो अवरो हट्ने उनको भनाइ छ ।
सोमबारसम्म संसद्को गत्यावरोध अन्त्यका लागि सहमति हुन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को गत्यावरोध अन्त्यका लागि बैठक सुचारु गर्ने सम्बन्धमा आज नभए भोलिसम्म सहमति र समझदारी हुने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आव २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका छन् । प्रधानमन्त्री दाहालले भने, ‘मैले बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेर उहाँसँग भेट गरी सहमतिको प्रयास गरेको छु । आज नभए भोलिसम्म बजेट संसद्बाटै ल्याउने गरी सहमति र समझदारी बन्ने विश्वास छ ।’ कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै संसदीय छानबिन समिति गठनको मागका गर्दै आएको छ ।
काठमाडौंको खानेपानी समस्या समाधान गर्न कुलेखानी परियोजना अघि सारिने
काठमाडौं । बूढालीकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले काठमाडौं उपत्यकाको खानेपानी समस्या समाधान गर्न कुलेखानी परियोजना अघि सार्ने विषयमा गृहकार्य भइरहेको बताएका छन् । ‘संस्कृतिको उत्थान, इतिहासको संरक्षण र नागरिकको स्वाभिमान स् सुशासन, सेवा र विकासमार्फत वडा निर्माण हाम्रो अभियान’ नाराका साथ नगरपालिका वडा नं १० ले आइतबार बिहान आयोजना गरेको ‘सार्वजनिक सुनुवाइ’ कार्यक्रममा उनले मेलम्ची आयोजना मात्रले यहाँको खानेपानीको समस्या समाधान गर्न नसकिने महसुस गरी काठमाडौं उपत्यका नगरप्रमुख मञ्चले सो परियोजनाबारे गृहकार्य गर्नुपर्ने कुरा उठाएको जानकारी दिए । उनले आफ्नो नगरपालिकालगायत अन्य तहका लागि पनि खानेपानीको माग आपूर्ति गर्नका निम्ति मुहानपोखरीमा बाँध बाँध्न सम्भाव्यता अध्ययन गर्ने सोच राखिएको बताए । उनले नगरपालिकाले अब आर्थिक–मानवीय विकासमा जोड दिने तथा सुशासन सुनिश्चित गर्न विभिन्न उपकरण प्रयोग गरिने जानकारी पनि दिए । वडावासीले उठाएका प्रश्न र जिज्ञासाबारे वडाध्यक्ष नवराज भट्टराईले आव २०७२/०७३ को स्थानीय जग्गासम्बन्धी प्रतिवेदन अध्ययन गरी नगरपालिकाले आफ्ना सरकारी जग्गा संरक्षण गर्न घेराबेरालगायत काम गर्ने र मिचिएका जमिन खोजी गर्ने जानकारी दिए । उनका अनुसार हाल नगरपालिकास्तरमा जग्गा संरक्षण समिति बनेको र अब वडास्तरमा उपसमितिहरू खडा गरिने छ । नगरपालिकाका प्रवक्ता भट्टराईले नगरका फोहर सङ्कलन र व्यवस्थापन गर्न विभिन्न कम्पनीबीच प्रतिस्पर्धा गराई योग्यलाई जिम्मेवारी दिइएको, विद्युतीय चुल्होको प्रयोग बढाउन प्रेरणा दिने हिसाबले वडाकै बजेट खर्च गरी अनुदानमा साङ्केतिक रूपमा ९२ वटा इन्डक्सन चुलो वितरण गरिएको र कपन बहुमुखी क्याम्पसलाई भविष्यमा विश्वविद्यालयकै स्वरूप दिनेगरी हाल आफैँले पूर्णरूपले सञ्चालन गर्न थालिएको जानकारी पनि दिए । उनका अनुसार राष्ट्रिय परिचयपत्र अब एक दुई दिनमै वितरण गरिने छ । कार्यक्रममा अघिल्लो वर्ष सम्पन्न भएका आयोजना तथा विकासनिर्माण गतिविधि तथा सुशासन र सेवा विषयमा वडावासीको प्रतिक्रिया तथा आगामी आव २०८१/०८२ का लागि नीति, योजना र बजेट कार्यक्रमसम्बन्धमा सुझाव सङ्कलन गरिनाका साथै नगर अस्पताल, ह्यान्डबल ग्राउन्ड निर्माण र व्यवस्थापन, वडाको प्रशासनिक भवन शिलान्यास तथा अन्य विकास गतिविधि समेटिएको छ मिनेटको वृत्तचित्र प्रदर्शन गरिएको थियो । रासस
नेपाल पुनर्बीमाको सीईओ बने थापा, ‘बलियो प्रणालीको विकास गर्छु’
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्र थापा नियुक्त भएका छन् । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले थापालाई चार वर्षे कार्यकालका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल पुनर्बीमा कम्पनीको उम्मेदवार छनौट तथा सिफारिस समितिले सर्टलिष्टमा परेका पाँच जनाको अन्तर्वार्ता लिइसकेपछि बोर्डले थापालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको सर्टलिष्टमा थापासहित दामोदर भण्डारी, नारायणकुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ, श्रीमान कार्की परेका थिए । कम्पनीले व्यावसायिक कार्यजोजना प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि सर्टलिष्टमा परेकाहरूलाई हिजो शनिबार बोलाएको थियो । अध्यापन र प्रशासनमा दख्खल थापा यसअघि अजोड इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत थिए भने त्यसअघि राष्ट्रिय बीमा संस्थानमा कामु प्रशासकसम्म भएका थिए । नेपाल पुनर्बीमा कम्पनी ठूलो कम्पनी भएकाले यसको सञ्चालन प्रणालीलाई प्रभावकारी बनाउने र जनशक्ति परिचालन प्रभावकारी बनाउनमा आफ्नो भूमिका केन्द्रित हुने थापाले बताए । ‘कम्पनीको व्यवस्थापकीय नेतृत्व गर्नु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी हो, प्रभावकारी व्यस्थापनका लागि जनशक्तिको परिचालन सही ढंगले हुनुपर्छ,’ थापाले विकासन्युजसँग भने, ‘यसका लागि व्यवस्थापन समूहलाई प्रोत्साहित गर्नुपर्छ, संस्था सञ्चालनका लागि बलियो प्रणालीको विकास गर्नुपर्छ, मेरो पहिलो प्रयास त्यसैमा केन्द्रित हुन्छ ।’
सरकारले सहकारी ठगलाई जोगाउने षड्यन्त्र गरिरहेको छ : अध्यक्ष केसी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगलाई जोगाएर सरकारले लोकतन्त्रमाथि आक्रमण गरेको बताएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रश्ताव राख्दै अध्यक्ष केसीले सरकारले सहकारी ठगेर मुलुकलाई बर्बाद पार्नेहरुलाई जोगाउने षड्यन्त्र गरिरहेको बताएका हुन् । उनले सरकारले लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण गरेको बताए । सरकारको नीति तथा कार्यक्रमलाई आफ्नो पार्टीले समर्थन नगर्ने पनि जानकारी दिए । उनले भने, ‘सहकारीमा ठगेर मुलुकलाई बर्बाद पार्नेहरुलाई सत्तापक्षले जोगाउन जुनखालको षड्यन्त्र गरिराखेको छ, यो लोकतन्त्रमाथिको आक्रमण हो । गणतन्त्रमाथिको आक्रमण हो । त्यसकारणले सत्ताधारीको जुन दुर्दशा छ, यसको राष्ट्रिय जनमोर्चाले घोर विरोध गर्छ । र यो नीति, कार्यक्रमलाई समर्थन गर्दैन । विरोध गर्छ ।’ उनले सत्ताधारीको दुर्दशा रहेको टिप्पणी गर्दै त्यसको पनि राष्ट्रिय जनमोर्चाले विरोध गर्ने बताए ।
कुनै पनि बालबालिका सडकमा बेवारिसे अवस्थामा भेटिनुहुँदैन : मन्त्री चौधरी
कञ्चनपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले कैलाली र कञ्चनपुरको बाल संगठनको अनुगमन गरेकी छन् । जिल्ला भ्रमणका क्रममा मन्त्री चौधरीले बाल संगठनको अनुगमन गरी त्यहाँको अवस्थाका बारेमा जानकारी लिएकी हुन् । त्यस क्रममा नेपाल बाल संगठन सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा बाल संरक्षण गृह ९बालग्राम० स्थापना गर्ने बताएको थियो । मन्त्री चौधरीलाई नेपाल बाल संगठन सुदूरपश्चिम प्रदेश समितिका सभापति चुनामणि भट्टले ज्ञापन पत्र बुझाउँदै तत्काल धनगढीमा बालग्राम स्थापनको आवश्यकता महसुस भएको र त्यसका लागि बजेट अभाव देखिएको बताएका थिए । नेपाल बाल सङ्गठनको ज्ञापन पत्र बुझ्दै मन्त्री चौधरीले समस्या समाधानको लागि आफ्नो पक्षबाट हुने सबै कामको लागि आफू तत्पर रहेको बताइन् । उनले बालग्राममा बसेका बालबालिकाहरूलाई विशेष ध्यान दिन पनि आग्रह गर्दै बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिइन् । मन्त्री चौधरीले भनिन्, ‘मैले हिजो देखि यी विषय नियालिरहेको छु । तपाईँहरू पूर्ण बाल अधिकार सुनिश्चित गर्ने गरी लाग्नु होला सरकारको साथ तपाईँहरूलाई रहन्छ ।’ बालकहरूको शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिन पनि मन्त्री चौधरीले निर्देशन दिइन् । अहिले पनि सडक बालबालिकाको विषयमा गम्भीर हुनु पर्ने अवस्था रहेको बताइन् । नेपाल बाल सङ्गठनको सुदूरपश्चिममा धेरै संरचना रहेको तर ती संरचनाको संरक्षण हुन नसेको विषयमा पनि आफूहरू गम्भीर रहेको उनको भनाइ थियो । ‘प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीले पनि यो विषयमा चासो राख्नु भएको छ । ती सबै संरचना र सम्पत्तिहरू सरकारले संरक्षण गर्छ’, उनले भनिन् । ४० भन्दा धेरै जिल्लाहरूमा संरचना र सम्पत्ति रहेको भन्दै सबै संरक्षण गर्नु पर्ने अवस्था रहेको उनले बताइन् । स्थापना काल देखी नै अनाथ तथा असहाय बालबालिकालाई हेरचाह गर्दै आएको धनगढी बाल संरक्षण गृहमा अहिले २० जना बालकहरू रहेका छन् । उनीहरू नजिकैको त्रिनगर विद्यालयमा अध्ययन गरिरहेको बताएका थिए । त्यस अवसरमा अझै पनि अभिभावक विहीन धेरै बालकहरू सडकमा भौँतारिरहेको र सानैमा अभिभावक गुमाएकाहरूलाई शिक्षा स्वास्थ्य पाउन पनि सकस भएको भन्दै अझै धेरै क्षमताको बालगृह स्थापनाको लक्ष्य लिइएको भट्टले मन्त्री चौधरीलाई जानकारी गराएका थिए । ज्ञापन पत्रमा पनि प्रदेश स्तरीय बालगृह स्थापनाको लागि १० करोड रुपैयाँ माग गरिएको छ । ‘१ बिगाह ४ कट्ठा दर्ता जमिन र ८ कट्ठा ऐलानी जग्गा सदुपयोग भइरहेको छ । प्रदेश स्तरीय बालग्रामको रूपमा अगाडि बढाउन खोजिरहेका छौँ’, मन्त्री चौधरीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘प्रदेश स्तरीय बालग्राम निर्माणको लागि १० करोड विनियोजन गर्न आग्रह गर्दछौँ ।’ धनगढी उपमहानगरले सटर भत्काएको हुँदा आम्दानीको स्रोत समेत बन्द भएको गुनासो ज्ञापन पत्रमा उल्लेख गरिएको छ । नियमित आय स्रोतको लागि तत्काल व्यवसायीक भवन निर्माण गर्ने र त्यसको लागि २ करोड माग गरिएको छ । यसैगरी नेपाल बाल संगठन कञ्चनपुरको अनुगमन गर्दै मन्त्री चौधरीले बाल संगठनको सम्पत्तिको संरक्षण गर्न निर्देशन दिँदै विभिन्न व्यक्तिले अतिक्रमण गरेका २ बिगाहा जग्गा फिर्ता लिएर राज्यको सम्पत्तिको संरक्षण गरेकोप्रति धन्यवाद व्यक्त गरिन् । सबैले सरकारी सम्पत्तिको संरक्षण गर्न आवश्यक रहेको भन्दै उनले सडकमा कुनैपनि बालबालिका बेवारिसे अवस्थामा देखिन नहुने बताइन् । ‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सडक मानव मुक्त अभियान चलाउनुभएको थियो । बालबालिकाको संरक्षण गर्न हामी सबैको दायित्व हो । बालबालिकाको संरक्षण गर्नतिर तपाईँहरू लाग्नुस्’, मन्त्री चौधरीले भनिन् । बालबालिकाको सर्वोपरि हितलाई ध्यानमा राखेर सबैले काम गर्नुपर्ने उनको भनाई थियो । त्यस अवसरमा नेपाल बाल संगठन कञ्चनपुरका सभापति रामबहादुर बुढाले बाल संगठनको विकास तथा बालबालिकाको संरक्षणका निम्ति धेरै काम गर्न आवश्यक रहेको बताउँदै ज्ञापन पत्र बुझाएका थिए ।
बन्दीपुरलाई जीपलाइन र साइक्लिङ हब बनाइने, विश्वकै लामो जीपलाइन निर्माण हुने दाबी
तनहुँ । स्वदेशी एवं विदेशी पर्यटकहरूको आकर्षणको केन्द्रका रूपमा विकसित भइरहेको बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रले चासो दिँदै आएको छ । कुल ६ अर्ब २९ करोड रुपैयाँ लागतमध्ये विभिन्न संरचना निर्माणमा हालसम्म ४ अर्ब ५५ करोड रुपैयाँ लगानी भइसकेको बन्दीपुर केबुलकार एण्ड टुरिज्म कम्पनीले जनाएको छ । बन्दीपुरलाई साहसिक खेल जीपलाइनको हब बनाउन पहल थालिएको भन्दै बन्दीपुर-४ बरालथोकबाट भानु-१ नयाँबस्तीसम्म दुई हजार आठ सय मिटर दुरीमा जीपलाइन निर्माण प्रक्रिया अघि बढाइएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) कार्य सम्पन्न भइसकेको छ । शर्माले वातावरणीय प्रभाव मूल्याङकन (ईआइए) कार्य भइरहेको भन्दै उक्त जीपलाइन विश्वकै लामो निर्माण हुने दाबी गरे । ईआइए कार्य पश्चात् निर्माणले गति लिने उनले बताए । बन्दिपुर-४ को केबुलकार चोक नजिक निर्माणधीन एक सय ४० मिटर छोटो दूरीको जीपलाइन निर्माण अन्तिम चरणमा पुगेको छ । करिब १५/२० दिनभित्रसो जीपलाइन सञ्चालनमा ल्याउने तयारी भइरहेको शर्माले जानकारी दिए । उनले भने, ‘बन्दीपुरलाई जीपलाइन र साइक्लिङिग क्षेत्रको हब बनाउने लक्ष्य राखिएको छ ।’ अध्यक्ष शर्माका अनुसार सोही वडाको केबलकार प्रांगणमा ८५ मिटर दुरीको स्काइ साइक्लिङिग निर्माण सम्पन्न भइसकेको छ । निर्माणधीन जीपलाइन र साइक्लिङिग एकैसाथ सञ्चालनमा ल्याइने योजना रहेको उनले जानकारी दिए । टुरिजमले बन्दीपुर–४ केबुलकार चोकस्थित तल्लो स्टेशनमा ५६ रोपनी क्षेत्रफलमा फैलिएको ‘टुरिष्ट पार्क’, अन्तर्राष्ट्रियस्तरको अत्यधुनिक रेष्टुराँ निर्माण गरी सञ्चालनमा ल्याइसकेको जनाएको छ । निर्माणाधीन १७ तलाको पाँचतारे होटल ‘क्वीन टावर’ को करिब ९० प्रतिशत भौतिक प्रगति भएको लिमिटेडका अध्यक्ष शर्माले जानकारी दिए । ‘टुरिजमले केबुलकार संरचना निर्माण गरी आंशिक सञ्चालनमा ल्याइसकेको छ । उक्त केबलकारमा २१ वटा प्यासेन्जर क्याबिन रहेका छन्,’ उनले भने । केबुलकारको तल्लो स्टेशनबाट माथिल्लो स्टेशनसम्म एक हजार सात सय मिटर दूरीमा केबलकारका माध्यमबाट पाँचतारे होटलभित्र पुगेर टुङ्गिनेछ । समुद्री सतहदेखि करिब एक हजार एक सय मिटर उचाइमा उक्त होटल निर्माण गरिएको छ । टुरिज्मले सबै संरचना निर्माण गरी सञ्चालनमा ल्याइएसँगै बन्दीपुरको पर्यटन क्षेत्रमा आमूलपरिवर्तन आउन सक्ने अपेक्षा गरिएको जनाएको छ ।