पूर्वाधारको पर्खाइमा कोरला नाका
म्याग्दी । उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा समस्या भएको छ । गत कात्तिक अन्तिम सातादेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि खुलाइएको कोरला नाकाको नेपालतर्फ आवश्यक भौतिक संरचना नहुँदा व्यापारी, स्थानीयवासी र पर्यटक समस्यामा परेका हुन् । चार वर्षपछि खुलेको कोरला नाकाको नेपालतर्फ आवश्यक पूर्वाधार नहुँदा व्यावसायिक लाभ लिन नपाएको लोमान्थांका व्यवसायी टसी नर्बु गुरुङले बताए । ‘चीनतर्फ सबै पूर्वाधार छन्,’ उनले भने, ‘नेपालतर्फको सिमानामा भन्सार, सामान भण्डारण, सुरक्षा निकायका लागि भवनलगायतका पूर्वाधार बनेको छैन, त्यसैले कोरला नाका व्यावसायिकरूपमा चल्न सकेको छैन ।’ चीनले एक दिनमा एक जना मात्र जान पाउने र गाडी लैजान नदिने नियम बनाएको छ । झोला र बोरामा अटाउने सामान ल्याउने गरिएको व्यवसायी गुरुङले बताए । चिनियाँ बजारबाट सामान किनेर नेपाली भूगोलमा गाडीमा ल्याउनुपर्दा झन्झट हुने व्यवसायी मिना गुरुङले बताइन् । कोरलाबाट ल्याएको सामान जाँचपास गराउन १३ किमी तल नेचुङ भन्सार कार्यालय र प्रहरी चेकपोष्टमा ल्याउनुपर्दा झन्झट हुने उनको भनाइ छ । नाकामा भन्सार र सुरक्षा निकायको नियमित उपस्थितिका लागि भवन, खानेपानी, सञ्चार सुविधा र शौचालयको तत्कालै व्यवस्थापन गर्नुपर्ने लोमान्थाङ-१ छोसेरका छिरिङ ल्यामो गुरुङले बताए । ‘नाकामा प्रहरीको उपस्थितिका साथै नेपाली गाडी चीनको बन्दरगाहसम्म पुग्न दिने र एक दिनमा एकपटक मात्र चीनतर्फ जान पाउने नियम हटाएमा सहज हुने थियो,’ उनले भने, ‘यहाँ १० किमी तलबाट पिउने पानी ओसार्नुपर्छ ।’ कोरला घुम्न आउने पर्यटक र व्यापारीका लागि छोसेरका व्यवसायीले त्रिपालको अस्थायी टहरा बनाएर चिया तथा खाजा पसल सञ्चालन गरेका छन् । चिनियाँ बजारबाट स्थानीयवासीले दैनिक उपभोग्य, मदिरा, फर्निचर र कपडाजन्य सामान किनेर ल्याउने गरेका छन् । नेपालतर्फबाट चामल, फापरको पिठो, चिउरा, चाउचाउ, जडीबुटी, पश्मिनालगायत सामान निर्यात गर्न सकिने सम्भावना छ । हाल चीनबाट आयात मात्र भएको छ । नेपाली सामान निर्यात हुन सकेको छैन । चीनतर्फ निर्मित भवनभित्र पसलहरु छन् । चीनले कोरला सम्म कालोपत्र सडक निर्माण गरेको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले जारी गरेको प्रस्थान प्रवेशपत्र भएका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा कोरलाको चिनियाँ बजार जान पाउँछन् । करिब एक हजार जनाले प्रस्थान प्रवेशपत्र लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाका पूर्णरूपमा बन्द भएको थियो । त्यसअघि कोरलामा वर्षमा दुईपटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो । विसं २०३२ देखि कोरला नाका आवतजावतमा कडाइ गरिएको थियो । विसं २०५८ सम्म रोकटोक नरहेको सीमा विसं २०५९ देखि चीनले तारबार गरेर मेलाबाहेकको अवधिमा बन्द गर्दै आएको थियो । कोरला नाका नियमित सञ्चालन र सबै मुस्ताङवासीलाई आवतजावतको व्यवस्था भएपछि स्थानीयलाई सहज भए पनि व्यावसायिकरूपमा सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधारको खाँचो रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले बताए । कोरला नाकामा नेपाली सुरक्षाकर्मी र भन्सारका कर्मचारीका लागि चीनले गत कात्तिकमा १० जना अटाउनसक्ने चार वटा कन्टेनर उपलब्ध गराएको थियो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले सुरक्षाकर्मी त्यहाँ गएको अवस्थामा कन्टेनरलाई प्रयोग गरिएको र प्रदेश सरकारको सहयोगमा ‘प्रिफ्याब’ भवन निर्माण प्रक्रिया अघि बढाएको बताए । पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत कार्यान्वयन गर्ने गरी प्रदेश सरकारले रु ५० लाख बजेट पठाएको छ । तीनकोठे ‘प्रिफ्याब’ भवन बनाउन ठेक्का आह्वान भइसकेको र चालु आर्थिक वर्षभित्र तयार हुने पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले जानकारी दिए ।
पोखरामा सात सहकारी पीडितको प्रदर्शन
पोखरा । पोखरामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै ७ वटा समस्याग्रस्त सहकारीका पीडित सडक प्रदर्शनमा उत्रिएका छन् । सहकारीमा ठगिएका सूर्यदर्शन, प्राइम, मित्रमिलन, शिवशिखर, विन्ध्यवासिनी, इमेज, बलिदानी सहकारीका बचतकर्ताले आफूहरूको रकम फिर्ता नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । पीडितहरूले गृहमन्त्रीको राजीनामा, बचत रकम अपचलनबारे संसदीय छानबिन समितिलगायत माग राखेका छन् ।
सुन आयातमा कोटा प्रणाली खारेज हुनुपर्छ : अध्यक्ष शाक्य
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी संघका अध्यक्ष मणीकरत्न शाक्यले सुनको कोटा खारेज गर्नु पर्ने बताएका छन् । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा अध्यक्ष शाक्यले सुन आयात कोटा खारेज हुनु पर्ने माग गरेका हुन् । बजारमा मन्दी र मूल्य बढी भएका कारण अधिकांशले सुन किन्न नसक्ने अवस्था भएकाले कोटा प्रणाली खारेज हुनुपर्ने उनी बताउँछन् । ‘२० केजीको दैनिक कोटा आवश्यक छैन । किनभने ८० अर्बको आयात हुनपर्नेमा ३० अर्बको आयात मुश्किलले भएको छ । अहिले बजारमा मन्द छ । मूल्य पनि बढी भएका कारण सुन किन्न सक्ने अवस्था छैन । त्येसैले कोटा प्रणाली खारेज गर्नुपर्छ,’ उनले भने । कोटा प्रणालीका कारण यस वर्षको जेठसम्म ३० अर्बको मात्रै सुन आयात भएको उनले बताए । विदेशी मुद्रा सञ्चिती घट्दै गएपछि सरकारले सुन आयातमा कोटा प्रणाली लागु गरेको हो । हाल नेपाल राष्ट्र बैंकले प्रतिदिन २० किलोग्राम सुन दैनिक आयात गर्ने व्यवस्था गरेको छ । तर, पछिल्लो समय बजारमा मन्दी र सुनको मूल्य उच्च भएका कारण कोटा प्रणाली खारेज हुनु पर्नपर्ने माग सुनचाँदी व्यवसायीहले गरेका हुन् ।
फार्म हाउस होटलमा प्रभु बैंकका ग्राहकले छुट पाउने
काठमाडौं । मनाङमा अवस्थित फार्म हाउस होटल र प्रभु बैंकबीच सम्झौता भएको छ । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई लक्षित गरी उपलब्ध सेवाहरुमा छुट प्रदान गर्नेगरी उक्त सम्झौता भएको हो । गत शुक्रबार एक समारोहकाबीच फार्म हाउस होटल तर्फबाट प्रोपाइटर समराज गुरुङ र प्रभु बैंक लिमिटेड तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै विधुतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा फार्म हाउस होटलमा उपलब्ध आवास, खाना र मनोरञ्जन लगायतका सेवाहरुमा छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । एग्रो मनाङद्वारा संचालीत फार्म हाउस होटल विगत पाँच बर्षदेखी सञ्चालनमा आएको मनाङ जिल्लाकै सुविधा सम्पन्न होटलको रुपमा परिचित पाइन्छ ।
महालेखापरीक्षकको ६१औं प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस हुँदै
काठमाडौं । महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस हुँदैछ । महालेखापरीक्षक तोयम रायाले आज दिउँसो ३ बजे राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्ने तयारी रहेको महालेखापरीक्षकको कार्यालयका प्रवक्ता श्रीकुमार राईले जानकारी दिए । सार्वजनिक निकायहरूको अघिल्लो आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणमा आधारित विवरणसहित महालेखाले प्रतिवेदन तयार पारेको हो ।
पिपुल्स डेन्टल र नेपाल एसबिआईबीच व्यवसायिक सम्झौता
काठमाडौं । पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङबीच व्यवसायिक सम्झौता भएको छ । शुक्रबार पिपुल्स डेन्टल र एसबिआई मर्चेण्टबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिपत्रमा पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटलका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर चन्द र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् । उक्त सहमतिपत्रमा उल्लेख भए बमोजिम नेपाल एसबिआई बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लि. लेखनाथमार्ग ठमेल, काठमाडौं मार्फत नयाँ डिम्याट खाता खोल्दा वा हाल कायम डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट सेवा प्रयोगकर्ता ग्राहकहरुले दन्त परिक्षण निःशुल्क गर्ने सहमति भएको छ । त्यस्तै, दाँत सफा गर्दा २० प्रतिशत, दाँत निकाल्ने र दाँत भर्दा १५ प्रतिशत तथा दाँत सम्बन्धी अन्य सेवामा ५ प्रतिशत तथा जनरल अस्पताल, नयाँबजारले सञ्चालन गर्ने सेवाहरुमा परीक्षण निशुल्क पाइनुका साथै, बेड चार्जमा १५ प्रतिशत तथा ल्याब, भिडियो एक्स् रे, ईसिजि र ओ.टीमा क्रमशः १० प्रतिशत विशेष छुट प्रदान गर्ने सहमति भएको छ । पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल, नयाँबजार काठमाडौं सन् १९९७ मा स्थापना भई हाल सम्म अनवरत रुपमा संचालित त्रिभुवन विश्वविद्यालयद्धारा सम्बन्धन प्राप्त नेपालकै प्रथम डेन्टल कलेज एण्ड हस्पिटल हो । जसले डेन्टल कलेज तथा जनरल अस्पताल सञ्चालन गरी विभिन्न स्वास्थ्य सम्बन्धी सेवा सुविधा प्रदान गर्दै आइरहेको बैकले जनाएको छ ।
आर्थिक शिथिलता चिर्ने गरी आगामी वर्षको बजेट ल्याउनुपर्छ : स्वर्णिम वाग्ले
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले आर्थिक शिथिलता चिर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएका छन् । आइतबार आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमबारे संसदको छलफलमा भाग लिँदै उनले यस्तो सुझाव दिएका हुन् । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा पार्टीको पूर्ण समर्थन रहेको रास्वपाले सम्हालेका मन्त्रालयमा समेटिएको नीति तथा कार्यक्रमलाई बजेटले ठोस रूपमा सम्बोधन गर्ने समेत उल्लेख गरे । उनले आर्थिक शिथिलता चिर्दै दिगो रोजगार मुलुक वृद्धिको जग बसाल्ने, राजस्व बढाउने, खर्च व्यवस्थान गर्न र सामाजिक रूपान्तरणकारी बजेट ल्याउन आग्रह गरे । उनले कांग्रेसले संसदमा गरिरहेको अवरोधलाई ‘औचित्यहिन’ भन्दै खेद प्रकट गरे । कांग्रेसले बिपी कोइरालाले ६५ वर्ष पहिला स्थापित गरेको मानकलाई आज यो अवस्थामा पुर्याउँदै लज्जास्पद र औचित्यहिन विरोध गरेको बताए । उनले कांग्रेसले सहकारीको विषयलाई उठाएर समाधानभन्दा पनि संसदको ओझ,गरिमा असान्दर्भिक बनाउने काम गरेकाे आरोप लगाए ।
ठूला होटल खुलेसँगै विदेशी पर्यटक बढे
चितवन । ठूला होटल खुलेसँगै जिल्लाका पर्यटकीयस्थलमा विदेशी पर्यटकको संख्या बढेको छ । चितवन राष्ट्रिय निकुञ्जभित्रका होटल बन्द भएपछि विदेशी पर्यटक आउने संख्या घटेको थियो । भर्खरै सञ्चालनमा आएका ठूला होटलले निकुञ्जभित्रकै अनुभूति हुने गरी पर्यटकलाई सेवा दिन थालेका छन् । निकुञ्जभित्र प्रकृतिसँग रम्न पर्यटकले त्यही अनुसारको ठाउँ रोज्ने गर्दथे । निकुञ्जभित्रका सात वटा होटल बन्द भएपछि त्यस्ता पर्यटक अफ्रिका, भारत, बङ्गलादेशलगायतका देश जान थालेका थिए । निकुञ्ज स्थापना हुनुअघि खुलेको टाइगर टप्स होटलसमेत बन्द छ । पछिल्लो समय सौराहा नजिकै खैरहनीको हर्नरीमा होटल सिद्धार्थ भिलासा वनबास सञ्चालनमा आएको छ । होटल प्रवेश गर्दा निकुञ्जभित्रकै झल्को दिने गरी निर्माण गरिएको छ । होटलका महाप्रबन्धक प्रकाश न्यौपानेले निकुञ्जभित्रको अनुभूति दिलाउने भएकाले खर्चिला विदेशी पर्यटक आएको बताए । उनको भनाइमा दुई रातका लागि एक जना पर्यटकले सजिलै दुई सय ५० अमेरिकी डलर तिर्ने गरेका छन् । होटलमा आउने पर्यटकमध्ये आधाभन्दा बढी विदेशी छन् । अमेरिका, जर्मन, क्यानडा, अष्ट्रेलिया, चीन, भारतलगायतका देशबाट पर्यटक आउने गरेको उनले जानकारी दिए । वरिपरी जंगलले घेरिएको रिसोर्टभित्र रुख बिरुवाले निकुञ्जको झल्को दिने गर्दछ । तीन बिघा १० कठ्ठा क्षेत्रफलमा फैलिएको रिसोर्टमा ४० भन्दा बढी प्रजातिका रुखबिरुवा छन् । होटल वरिपरि मध्यवर्ती सामुदायिक वन क्षेत्र भएकाले होटलको रेष्टुराँबाट गैँडा, मृग लगायतका जंगली जनावर चर्दै गरेको देख्न पाइन्छ । ४५ करोड रुपैयाँ भन्दा बढी लगानीमा खुलेको यो होटल गएको दसैँ देखि सञ्चालनमा आएको हो । यहाँ एक जोडी नेपालीले एक रात बस्न १० हजार रुपैयाँ तिर्नु पर्दछ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी सुविधासम्पन्न होटल नहुँदा अन्य देश जान थालेका पर्यटक पुनः यहाँ आउने क्रम बढेको बताउँछन् । भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ डा विश्व सुवेदीले ठूला होटल खुलेसँगै खर्चिला पर्यटक आउन थालेको बताए । चौधरी गुप्रको मेघौली सेराइ, बाराइ, सोल्टीलगायतका सुविधा सम्पन्न होटल खुलेपछि खर्चिला पर्यटक आउन थालेको उनको भनाइ छ । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ । होटल व्यवसायीले स्वदेश तथा विदेशमा भरतपुर भ्रमण वर्षको व्यापक प्रचार गरिरहेका छन् ।