नेप्से परिसूचकमा दोहोरो अकंको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अकको गिरावट देखिएको छ । यो सातामा कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक २२.१४ अकंले घटेर २१०९.३४ को बिन्दुमा कायम भएको हो । आज तीन सय १५ कम्पनीको एक करोड १० लाख ४४ हजार चार सय ८५ कित्ता सेयर ७० हजार पाँच सय ८६ पटक खरिदबिक्री हुँदा चार अर्ब ४४ करोड १५ लाख ३८ हजार चार सय ७१ रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारपछि कूल बजार पुँजीकरण ३३ खर्ब ४४ अर्ब ७९ करोड ७६ लाख ३९ हजार रुपैयाँ पुगेको छ । आजको कारोबारमा होटल तथा पर्यटन समूह ३.३७ र म्युचुअल फन्ड ०.२१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह २.१९ र जलविद्युत् समूह १.६२ प्रतिशतले घटेको छ । कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६.३६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै आईएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ करोड ६६ लाख १३ हजार आठ सय ३३ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने रिडी पावर कम्पनी लिमिटेडको चार लाख २६ हजार आठ सय ९६ कित्ता सेयर किनबेच भएको छ ।
अरनिको राजमार्ग : साँगा-धुलिखेल सडक विस्तार तीव्र
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्म तीव्र रुपमा सडक विस्तारको काम भइरहेको बताइएको छ । तीन वर्षमा सम्पन्न गर्ने गरी सूर्यविनायक-साँगा र साँगा-धुलिखेल सडक विस्तार गर्न छुट्टाछुट्टै दुईवटा ठेक्का लागेको थियो । सोही ठेक्का अनुसार वि.सं २०७९ फागुन १६ गतेदेखि साँगाबाट सडक विस्तार सुरु भएको हो । सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिवास सडक आयोजना कार्यालयका अनुसार उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक-धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गर्न लागिएको हो । आयोजना प्रमुख राजेन्द्रप्रसाद दासका अनुसार सडक विस्तार तीब्र रुपमा भइरहेको छ । प्रारम्भिक चरणमा सूर्यविनायकदेखि धुलिखेलसम्म सडक छेउमा पर्खाल निर्माण भइरहेको छ । उनले सडक विस्तार अन्तर्गत बनेपा बजार क्षेत्रमा सडक चौडा बनाउन काम सुरु गरिएको जानकारी दिए । यसअघि धुलिखेलदेखि बनेपा तथा साँगादेखि बनेपासम्म सडक चौडा बनाउन पर्खाल तथा कल्भर्ट निर्माण भइरहेको थियो । दासले भने, ‘हाल कामले निरन्तरता पाएको छ, कुनै समस्या तथा रुकावट छैन ।’ अब मनसुन सुरु हुने भएकाले खोला तथा बाढीले प्रभावित बनाउन सक्ने चुनौती रहेको उनले बताए । उनका अनुसार यसअघि सडक मापदण्डमा परेका खानेपानी आयोजनाका पाइप तथा घर स्थानान्तरण र भत्काउन सरोकारवालासँग विभिन्न चरणमा छलफल भई सहमति अनुसार काम भइरहेको छ । आयोजनाको सिनियर डिभिजनल इन्जिनियर राधिका प्रजापतिका अनुसार साँगादेखि बनेपा बजार नजिकको चण्डेश्वरी खोलासम्म ४.६ किलोमिटर सडकको केन्द्रविन्दूबाट दायाँबायाँ २५ गज अर्थात् २२ दशमलब ८६ मिटर कायम हुनेछ । विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५/२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो । सडक विभागका अनुसार कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तारका लागि रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का लगाइएको थियो । दोस्रो चरणमा सुरु भएको सूर्यविनायक-साँगा सडकखण्ड सात दशमलव पाँच किमी छ । उक्त खण्डको ठेक्का रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो । साँघुरो सडकका कारण वर्सेनि ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको हो । सूर्यविनायकदेखि धुलिखेलसम्म विभिन्न स्थानमा निर्माण गर्नुपर्ने पुलका लागि छुटै ठेक्का आह्वान गरिने आयोजनाले जनाएको छ । यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर)मा केही परिवर्तन भएको छ । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०/२० मिटरको तीन वटा पुल, जगाति र महादेवखोला पेट्रोलपम्प नजिक निर्माण गरिने छ । पुल निर्माण गर्न प्रतिमिटर रु १५ लाख लागत अनुमान गरिएको हो । अनुमानित लागत रु ९० करोड रहेको कार्यालयले जनाएको छ । हाल कोटेश्वरबाट लामा दूरीका सवारी दैनिक यही सडक भएर एक हजारभन्दा बढी छुट्ने गरेका छन् । काभ्रेपलाञ्चोकको पूर्वी-दक्षिणी क्षेत्र बिपी राजमार्ग हुँदै सवारी काठमाडौँ-पूर्वी तराई जान्छन् भने उत्तरी नाका तातोपानी पुग्न यही सडक प्रयोग हुन्छ । केही महिनाअघि चीनसँगको नाका सिन्धुपाल्चोकको तातोपानी खुल्ला भएपछि राजमार्गमा सवारी चाप बढेको हो । रासस
डिएभी विद्यालयमा बुद्धको जीवन र दर्शनमा आधारित गीतिनाटक मञ्चन
काठमाडौ । डिएभी सुशील केडिया विश्व भारती विद्यालयले शुक्रबार भगवान गौतम बुद्धको जीवन र दर्शनमा आधारित रहेको गीतिनाटक एक भव्य समारोह बीच प्रदर्शन गरेको छ । विद्यालयको बुद्ध सभागृहमा प्रदर्शन भएको उक्त गीतिनाटकमा कक्षा १ देखि १२ सम्मका १५० बढी विद्यार्थीहरूले अभिनय गरेका थिए । करिव ३ घण्टा लगातार प्रदर्शन भएको गीतिनाटकमा विद्यार्थीहरूले गौतमबुद्ध जन्मिनु पूर्वको परिदृश्य, राजश्री बाल्यकाल, शिक्षा–दिक्षा, गृहस्थ जीवन, गृहत्याग, जीवनको चिन्तन र दुःख मुक्ति मार्गको खोजी र बुद्धत्व प्राप्तिका साथै विभिन्न समयमा उनले सामना गरेका कठिन परिस्थितिलाई प्रस्तुत गरेका थिए । नाट्यकलाकार विद्यार्थीहरुलाई हौँसला र प्रोत्साहन गर्न सिद्धिमंगल विहार, ललितपुरका प्रमुख भिक्षु विमलो, डिएभी विद्यालयका अध्यक्ष अनिल केडिया, त्रिभुवन विश्वविद्यालय बौद्धशिक्षा केन्द्रीय विभागकी प्रमुख डा. चन्द्रकला घिमिरे, त्रिविका सह–प्राध्यापक त्रिरत्न मानन्धर र योगविशेषज्ञ डा. राजेन्द्र न्यौपाने उपस्थित रहेको थिए । नाटक प्रदर्शन पूर्व भिक्षु विमलोले गीति नाटकको सफलताको शुभकामना दिँदै वर्तमान समयमा बुद्ध शासनको लहर चलेको बताए । उनले डिएभी विद्यालयका अध्यक्ष अनिल केडिया स्वंयम बुद्ध मार्गि भएको र उनले भविष्यका कर्णधार बालबालीकाहरुका लागी परियत्ति, योग र ध्यानका कक्षाहरु निरन्तर रुपमा सञ्चालन गरिरहेको देख्दा आफू निकै हर्षित भएको बताए । सोही अवसरमा उहाँले बुद्ध शिक्षाको विभिन्न आयामहरूलाई संक्षेपमा चर्चा गरेका थिए । उक्त गीतिनाटक डिएभी विद्यालयले आयोजना गर्ने ‘एक आध्यात्मिक सन्ध्याको’ अंश रहेको विद्यालयले जनाएको छ । बुद्ध जीवनको गीति नाटकको लेखन, स्टेजको सजावट, अभिनय र प्रस्तुती, गीत संगीतको संयोजन लगायत सम्पूृर्ण विषयवस्तुको मुख्य निर्देशकको भूमिकामा विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी राव रहेका थिए । करिब एक हप्ताको तयारीमै यस स्तरको नाटक मञ्चन हुनुमा विद्यार्थी भाइबहिनीहरूको मिहिनेत र लगाव संगसंगै सम्पूर्ण शिक्षक र कर्मचारीहरुको उल्लेख्य भुमिका रहेको विद्यालयले जनाएको छ । यसअघि अध्यक्ष अनिल केडियाले विश्व शान्ति बिहार बानेश्वरका भिक्षुलाई निमन्त्रणा गर्दै विद्यालयमा धम्म देशना र संघदान कार्यक्रमको आयोजना गरेका थिए । बुद्ध जयन्तिको अवसरमा विद्यालयले कक्षा नर्सरी देखि १२ सम्मका सम्पूर्ण विद्यार्थीहरुलाई ‘बुद्ध र शान्ति’ विषयक चित्रकला प्रतिस्पर्धामा सहभागी गराएको थियो । विद्यालयले प्रत्येक शनिबार आयोजना गरिरहेको एक दिवशीय विपश्यना ध्यान समेत बुद्ध जयन्तीको दिन संञ्चालन गरिएको थियो । यस विपश्यना ध्यान कक्षा १० दिनको ध्यान कक्षा पुरा गरेका सबैको लागी खुला रहेको विद्यालयले जनाएको छ ।
तनहुँ हाइड्रोपावरले जडान गर्यो बाढीको पूर्व सूचना दिने साइरन
दमौली । जिल्लामा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले बाढीको पूर्व सूचना दिन साइरन जडान गरेको छ । ऋषिङ गाउँपालिका–१ मा निर्माण भइरहेको जलविद्युत् आयोजनाले बाढीका कारण नदीको बहावमा हुने वृद्धि र बाँधको गेट खोलेको पूर्वसूचना दिन १५ स्थानमा साइरन जडान गरेको हो । आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत बाँध निर्माणस्थल भन्दा तल्लो तटीय क्षेत्रमा पर्ने होक्सेटारबाट घुमाउने क्षेत्रका समुदायलाई पूर्व सूचना दिन साइरन जडान गरिएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनले भने, ‘सेती नदीमा निर्माण हुने १४० मिटर अग्लो बाँध र सोबाट तल्लो तटीय क्षेत्रमा पानीको सतहमा आउन सक्ने उतारचढावका विषयमा अग्रिम सूचना दिन साइरन जडानका लागि ठाउँ छनोट गरिएको थियो ।’ आयोजनाले केही दिनअघि मात्रै व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको छतमा साइरन जडान गरेको थियो । आयोजनाको विशेष अनुरोधमा क्याम्पसको छतमा साइरन जडान गर्न ठाउँ उपलब्ध गराइएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए । साइरन जडान पश्चात् व्यास–१, ३ र १३ को सेती नदी वरपरका बासिन्दालाई साइरन बज्दाको समय नदीभित्र वा नदी किनारबाट टाढा बस्न र किनार नजिक नजानका सचेत बनाउने उनले बताए । हड्खलेले भने, ‘समुदाय, आयोजना र क्याम्पसबीचको सहकार्यबाट साइरन जडान गरिएको हो । यो समुदायमा एउटा उदाहरणीय काम पनि हो ।’ बाँधमा जम्मा भएको पानीलाई प्राविधिक कारणले एकैचोटी छाड्नुपर्दा नदीमा अकस्मात आउन सक्ने बाढीबाट मानवीय क्षति नहोस् भन्नका साइरन जडान गरिएको आयोजना कार्यालयले जनाएको छ । नदीमा नुहाउने, लुगा धुने, माछा मार्ने र पौडी खेल्नेलगायत काम गरिरहेका सर्वसाधारणलाई साइरनले पूर्वसूचित गर्ने आयोजनाका प्रमुख भण्डारीले बताए । तनहुँ जलविद्युत् आयोजनाको कामलाई तीन वटा ठेक्का लगाएर अगाडि बढाइएको छ । चरण–१ अन्तर्गतको बाँध निर्माण सोङ्दा कालिका जेभीले गरिरहेको छ । यसको ३२.५ प्रतिशत प्रगति भएको हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । चरण–२ अन्तर्गतको विद्युत्गृह निर्माण सिनो हाइड्रोले गरिरहेको छ । यसको प्रगति ५५ प्रतिशत पुगेको छ । साथै चरण–३ अन्तरगतको प्रसारण लाइन निर्माण केइसी इन्टरनेशनल लिमिटेडले भारतले गरिरहेकामा यसको ७३.५ प्रतिशत प्रगति भएको जनाइएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलर लाग्ने जनाइएको छ । यसका लागि एडिबिले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकाररनेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । रासस
सरकार पेलेरै जान्छ भने चुनौती सामना गर्न कांग्रेस तयार छ : नेता सिटौला
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले संसदमा कांग्रेसले उठाएको सहकारीको एजेण्डामा पेलेर जान खोजे कांग्रेस सहेर नबस्ने चेतावनी दिएका छन् । गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिटौलाले सरकारको पेलेर जान चाहने प्रवृतिको विरोध गरे । उनले कांग्रेस आफ्नो मागमा नडगमगाउने भन्दै सरकारले प्रतिपक्षको आवाज नसुने जस्तोसुकै चुनौतीको सामना गर्न कांग्रेस तयार रहेको टिप्पणी गरे । सरकारले जनताको हितमा काम गर्नुपर्छ । जुन मैले सांकेतिक रुपमा भनेको छु, संविधानले जनतालाई दिएको हकहरुलाई प्रचलनमा ल्याउनुपर्छ,’ उनले भने, ‘प्रतिपक्षले जनताको आवाज निरन्तर उठाउनुपर्छ। प्रतिपक्षले कुरा उठाएन प्रतिपक्ष सिध्दियो, सरकारले जनहितमा काम गरेन सरकार सिध्दियो ।’ कांग्रेससहित प्रतिपक्षी दलहरुले सदनमा जनताको आवाज बुलन्द गरेको बताउँदै उनले सरकारले यसलाई गम्भीरतापूर्वक लिन ढिलाई गरेको बताए । ‘प्रतिपक्षले संसदमा जनताको आवाज बुलन्द गरेको छ । यसलाई सरकारले छिटै गम्भीरतापूर्वक लिन ढिलाई गरेको छ । सरकार यसमा पेलेरै जान खोज्छ भने हामी त्यो चुनौतीको सामना गर्न तयार छौं,’ उनले भने । सरकारले सहकारी प्रकरणमा पेलेर जान खोजे कांग्रेसले नसहने भन्दै कडा रुपमा नेता सिटैलाले भने, ‘सरकार यही ढंगले जाने सोचमा छ भने कांग्रेस त्यसको लागी तयार छ । कांग्रेस सहेर बस्न सक्दैन । हामीले आफूमाथि अन्याय भएर होइन जनतामाथि अन्याय भएर कुरा उठाएको हो ।’ कांग्रेसको राष्ट्र निर्माणमा सबैलाई साथ लिएर हिँड्ने कल्चर भएको उल्लेख गर्दै नयाँ पुरानालाई लिएर कांग्रेस देश हाँक्न सक्षम भएको सिटौलाले धारणा राखे ।
सीमा नाकाको हेल्थ डेस्कका २७ जना कर्मचारी ६ महिनादेखि तलबबिहीन
महेन्द्रनगर । नेपाल-भारत सीमा नाकामा खटिएका २७ जना कर्मचारीले विगत छ महिनादेखि तलब पाएका छैनन् । सुदूरपश्चिम प्रदेशका पाँच वटा सीमा नाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा कार्यरत कर्मचारीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तलबबापतको बजेट उपलब्ध नगराएको हो । कोरोना कहरपछि कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर र टीकापुरस्थित खग्रौला नाका, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटमा भारतबाट स्वदेश फर्किनेको स्वास्थ्य परीक्षण गरिँदै आएको छ । पछिल्लो छ महिनायता नाकामा कोरोना परीक्षणका लागि आवश्यक पर्ने ‘किट’समेत उपलब्ध नभएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका व्यक्ति हेमराज जोशीले बताए । ‘यो वर्ष बजेट कम आएकाले कर्मचारीले तलब नपाएका हुन्’, उनले भने, ‘माथि मन्त्रालयले संशोधन गरेर भए पनि बजेट पठाउने भनेको छ ।’ त्यसैगरी प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना परीक्षणका लागि किट माग गरेको लामो समय बितिसक्दा पनि उपलब्ध हुन नसकेको जोशीले बताए । ‘किट प्रदेश र सङ्घ दुवैबाट आउने पर्ने हो, लिखित पत्राचारसमेत गरेका छौँ’, जोशीले भने, ‘केही समयअघि निर्देशनालयले दुई हजार किट खरिद गरेर त्रिनगर भन्सारको डेस्कमा पठाएकोमा एक हजार प्रयोग भइसकेको छ ।’ उनले किट अभावकै कारण नाकामा कोरोना परीक्षणको काम प्रभावित भएको जानकारी दिए । सीमानाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा कोरोना परीक्षणका साथै एचआइभी, क्षयरोग, मलेरिया, डेङ्गुलगायतका रोगको नमुना जाँच हुने गरेको छ । त्यसबाहेक नाकामा प्राथमिक स्वास्थ्य सेवाका साथै सीमामा पर्ने स्वास्थ्य समस्याबारे सचेतना गराउँदै आएको छ । रासस
सहमतिका साथ शान्ति प्रक्रियालाई चाँडो टुंगोमा पुर्याऔँ : उपाध्यक्ष सापकोटा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् प्रवक्ता अग्नीप्रसाद सापकोटाले जारी शान्ति प्रक्रियालाई जतिसक्दो चाँडो टुंगोमा पुर्याउनुपर्ने बताएका छन् । प्रेस सेन्टर नेपालले कृष्ण सेन ‘इच्छुक’को २२औं स्मृति दिवसका अवसरमा आज काठमाडौंमा आयोजना गरेको ‘प्रभातफेरी’ कार्यक्रममा उनले शान्ति प्रक्रियाजस्तो संवेदनशील विषयमा राजनीति नगरी सहमतिका साथ टुंगोमा पुर्याउनुपर्ने बताए । उपाध्यक्ष सापकोटाले नेपालको पत्रकारितामा कृष्ण सेनको योगदान अमूल्य रहेको चर्चा गर्दै उनको न्यायका लागि टुंगो पत्रकारिता जगत लाग्नुपर्ने बताए । कार्यक्रममा समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी, नेपाल पत्रकार महासंघका पूर्वमहासचिव ओम शर्मा, प्रेस काउन्सिल नेपालका सदस्य दीपक पाण्डे र प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ ले द्वन्द्वकालमा इच्छुकलगायत पत्रकारले देश र जनताका पक्षमा कलम चलाउँदा जेलनेलको यातनासहित जीवन गुमाउनुपरेको उल्लेख गर्दै उनीहरूको सपना साकार तुल्याउन एकताबद्ध भई अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे । मानवअधिकारकर्मी, लेखक तथा जनादेश साप्ताहिकका सम्पादकसमेत रहनुभएका इच्छुकको काठमाडौंस्थित प्रहरी हिरासतमा रहेकै बेला विसं २०५९ जेठ १३ गते निधन भएको थियो ।
२६ सार्वजनिक संस्थान नाफामा, १५ वटा घाटामा हुँदा तीनको कारोबार शून्य
काठमाडौं । हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा देखिएका छन् । सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८१’ अनुसार आर्थिक वर्ष २०७९/८० सम्ममा अस्तित्वमा रहेकामध्ये २६ वटा नाफामा, १५ घाटामा र तीनवटाको कारोबार शून्य देखिएको छ । प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक संस्थानको कूल सञ्चालन आय ५६ खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख रहेकामा गत आर्थिक वर्ष २०७९/८० मा १४.८७ प्रतिशतले बढेर ६ खर्ब ६१ अर्ब एक करोड २९ लाख पुगेको छ । ‘अघिल्लो आर्थिक वर्षको तुलनामा सार्वजनिक संस्थानको समग्र खुद नाफामा ३०४६.२० प्रतिशतले वृद्धि भई गत आर्थिक २०७९/८० मा ४८ अर्ब ५१ करोड ७५ लाख रुपैयाँ कायम भएको छ,’ प्रतिवेदनमा भनिएको छ । नाफा उच्च वृद्धि हुनुमा नेपाल आयल निगममा आव २०७८/७९ मा ३८ अर्ब १७ करोड ७८ लाख रुपैयाँ घाटा रहेकोमा आव २०७९/८० मा ११ अर्ब ७२ करोड ३० लाख रुपैयाँ नाफामा रहनु मुख्य कारण रहेको उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा नाफामा सञ्चालित २६ संस्थानको गत वर्षको तुलनामा खुद नाफा ९८१.४० प्रतिशतले बढेको छ भने नोक्सानीमा सञ्चालित १५ संस्थानको गत वर्षको तुलनामा खुद नोक्सानी २.८१ प्रतिशतले बढेको देखिन्छ । सार्वजनिक संस्थानको प्रशासनिक खर्च २३.७९ प्रतिशतले बढेको छ । संस्थानको शेयरधनी कोष (नेटवर्थ) अघिल्लो आर्थिक वर्षको तुलनामा २० प्रतिशतले वृद्धि भई ९ खर्ब ८२ अर्ब १३ करोड १७ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा ३२ वटा संस्थानको शेयरधनीकोष धनात्मक र बाँकी १० वटाको ऋणात्मक रहेको छ । संस्थानका नेपाल सरकारको कूल लगानी गत आर्थिक वर्षको तुलनामा आठ दशमलव ६२ प्रतिशतले वृद्धि भई ६ खर्ब ६१ अर्ब १० करोड ७४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको तुलनामा शेयर लगानी ९.१९ प्रतिशतले वृद्धि भई ३ खर्ब ७९ अर्ब ७२ करोड १६ लाख रुपैयाँ पुगेको छ भने ऋण लगानी ७.८६ प्रतिशतले कमी आई २ खर्ब ८१ अर्ब ३८ करोड ५८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा कोषमा व्यवस्था नभएको दायित्व ११.६३ प्रतिशतले वृद्धि भई ५२ अर्ब ८७ करोड २ लाख रुपैयाँ पुगेको छ भने सम्भावित दायित्व ४४.८३ प्रतिशतले बढेको छ । सार्वजनिक संस्थानमा आव २०७८/७९ को तुलनामा चुक्ता पुँजी १०.६२ प्रतिशतले वृद्धि भई आर्थिक वर्ष २०७९÷८० मा ४ खर्ब १२ अर्ब १२ करोड ८१ लाख रुपैयाँ पुगेको थियो । जसमा नेपाल सरकारको पुँजी लगानी ९२.१३ प्रतिशत र अन्य संस्थान तथा निजी क्षेत्रको ७.८७ प्रतिशत शेयर स्वामित्व रहेको छ । आर्थिक वर्ष २०७९/८० को कूल गार्हस्थ्य उत्पादन ५३ खर्ब ८१ अर्ब ३४ करोड रुपैयाँमा सार्वजनिक संस्थानको कूल सञ्चालन आयको अनुपात १२.२८ प्रतिशत रहेको छ । नेपाल सरकारले प्राप्त गरेको कूल आयकरमा आर्थिक वर्ष २०७८/७९ मा संस्थानको योगदान ५.५९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७९/८० मा ६.९७ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारको सञ्चितकोषमा सार्वजनिक संस्थानले कूल १७ अर्ब ३९ करोड ४६ लाख रुपैयाँ आयकर दाखिला गरेका थिए । त्यसैगरी, आर्थिक वर्ष २०७९/८० मा सार्वजनिक संस्थानमा ३२ हजार एक सय ८० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । जनोपयोगी क्षेत्रका संस्थानमा सबैभन्दा बढी १३ हजार तीन सय ७७ जना र सामाजिक क्षेत्रका संस्थानमा सबैभन्दा कम एक हजार चार सय आठ जना कार्यरत छन् । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा संस्थानको सञ्चित नाफामा १६.६८ प्रतिशतले वृद्धि भई ६१ अर्ब १४ करोड ९६ लाख रुपैयाँ पुगेको छ । सञ्चालनमा रहेका संस्थानमध्ये ७ वटा संस्थान नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत छन् । कुल बजार पुँजीकरणमा सूचीकृत सरकारी संस्थानको हिस्सा विसं २०८० असार मसान्तमा १८.३२ प्रतिशत रहेको छ । निजीकरण गरिएका १८ वटा सार्वजनिक संस्थानमध्ये १० वटा संस्थान नाफामा छन् । निजीकरण ऐनबमोजिम खारेज भएका १२ संस्थानमध्ये हालसम्म कृषि चुन उद्योग लिमिटेडको मात्र कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता खारेजी भई कानुनीरूपमा अस्तित्व समाप्त भएको छ । कृषि औजार कारखाना लिमिटेड बन्द रहेकोमा मन्त्रिपरिषद्को विसं २०७९ भदौ ३१ को निर्णयानुसार यसलाई राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिइएको छ भने अन्य खारेजीमा परेका सार्वजनिक संस्थानको कानुनी प्रक्रिया पूरा हुन सकेको छैन । सार्वजनिक संस्थानको प्रशासनिक खर्च आर्थिक वर्ष २०७८/७९ मा ३५ अर्ब ४६ करोड ४७ लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७९/८० मा २३.७९ प्रतिशतले वृद्धि भई ४३ अर्ब ९० करोड १८ लाख रुपैयाँ रहेको छ । २० वटा संस्थानले लेखापरीक्षण गराएका छन् भने अन्य २४ वटा संस्थानले नियमित लेखापरीक्षण गराएका छैनन् । आर्थिक वर्ष २०७९/८० मा उच्च खुद नाफा आर्जन गर्ने पाँच सार्वजनिक संस्थानमा क्रमशः नेपाल आयल निगम लिमिटेड, नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोष रहेका छन् । त्यस्तै, उच्च नोक्सान भएका पाँच सार्वजनिक संस्थानमा क्रमशः नेपाल वायुसेवा निगम लिमिटेड, नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट उद्योग लिमिटेड र नेपाल टेलिभिजन रहेका छन् । विसं २०८० असार मसान्तसम्म कायम रहेका ४४ संस्थानमध्ये कम्पनी ऐनबमोजिम स्थापना भएका ३३ वटा, विशेष ऐनबमोजिम स्थापना भएका सातवटा, सञ्चार संस्थान ऐनबमोजिम स्थापना भएका दुईवटा, सहकारी ऐन बमोजिम स्थापना भएको एउटा र संस्थान ऐन बमोजिम स्थापना भएको एउटा संस्थान छ । स्वामित्वका आधारमा हेर्दा २० वटा सरकारको पूर्ण स्वामित्वमा र २४ वटा अधिकांश स्वामित्वमा रहेका छन् । क्षेत्रगतरूपमा वर्गीकरण गर्दा औद्योगिक क्षेत्रमा १०, व्यापारिक क्षेत्रमा चार, सेवा क्षेत्रमा ११, सामाजिक क्षेत्रमा पाँच, जनोपयोगी क्षेत्रमा पाँच र वित्तीय क्षेत्रमा नौवटा सार्वजनिक संस्थान हाल अस्तित्वमा रहेका छन्