बजेट पछिको पहिलो कारोबारमा २३.८१ अंकले घट्यो नेप्से
काठमाडौं । बजेट पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक १.१२ प्रतिशतले घटेको छ । नेप्से २३.८१ अंक अर्थात् १.१२ प्रतिशतले घटेर २०८९.४२ बिन्दुमा कायम भएको छ । बजेट पछिको पहिलो कारोबार दिन सेयर बजारमा लगानीकर्ताको आकर्षण नदेखिएको हो । बजेटले कर सम्बन्धि कुनै हेरफेर नगरेपछि लगानीकर्ताहरू निराश भएका हुन् । नेप्से घटेपनि बुधबार कारोबार रकम भने बढेको छ । बुधबार ३१४ स्टकको ६३ हजार ८० पटकको कारोबारमा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ३८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । यसअघि ३ अर्ब ८९ करोडको सेयर खरिदबिक्री भएको थियो । आज युनिलिभर नेपाल, कालिञ्चोक दर्शन, अप्पर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, बुधबार पोखरा फाइनान्सको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक ९.४१ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा आज पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको यस दिन १९ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । १३ उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक स्थिर रहेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.६८ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक १.१३ प्रतिशतले बढेको छ । आज बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक २.९४ प्रतिशत घटेको छ । बुधबार सेन्सेटिभ इण्डेक्स ४.८२ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अंकले घटेको छ ।
गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त
गण्डकी । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे पुनः नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेता पाण्डेलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि उनी विसं २०८० वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । सोमबार सर्वोच्च अदातलतले नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका खगराज अधिकारीले मुख्यमन्त्रीमा पाएको विश्वासको मत अवैधानिक भएको ठहर गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । तत्कालीन सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका पाण्डेले गत चैत २१ गते पदबाट राजीनामा दिएका थिए । साठी सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७ सदस्य छन् ।
सिलिङभन्दा कम बजेट ल्याएका हौं : अर्थसचिव मरासिनी
काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले सिलिङभन्दा कम बजेट ल्याएको बताएका छन् । अर्थमन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनामा बोल्दै उनले राष्ट्रिय आयोजना आयोगको सिलिङ निर्धारण समितिले दिएको सीमाभन्दा कम रकमको बजेट सार्वजनिक गरेको बताएका हुन् । ‘समितिले पहिलो चरणमा माघमा बजेटको सिलिङ दिएको थियो, त्यसपछि धेरै आर्थिक गतिविधि भए, मन्त्रालयहरूका माग पनि बढे, त्यसपछि फेरि दोस्रो चरणमा समितिले बजेटका लागि सिलिङ दिएको थितयो, दोस्रो पटक दिएको सिलिङभन्दा अहिलेको बजेट कम हो,’ उनले भने । अर्थसचिव मरासिनीले राजनीतिक दबाबकाबीच पनि सिलिङभन्दा कम बजेट ल्याएको जानकारी दिए । नयाँ दायित्व सिर्जना गर्नेभन्दा पनि बाँकी बक्यौतालाई फरफार गर्ने रणनीति लिएर मन्त्रालय अगाडि बढेको उनको भनाइ छ । ‘राजनीतिक दबाबकाबीच पनि सिलिङभन्दा कम बजेट ल्याएका छौं, हामीले नयाँ दायित्व सिर्जना गर्नेभन्दा पनि बाँकी बक्यौतालाई फरफार गर्ने रणनीति लिएका छौं,’ उनले भने ।
दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम
भारत । भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९.९ डिग्री सेल्सियस (१२१.८ फरेनहाइट) पुगेको छ । तापक्रम वृद्धिसँगै पानीको अभाव हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन् । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले मंगलबार नरेला र मुङ्गेशपुरस्थित दिल्लीका दुई उपनगरीय क्षेत्रमा उच्च तापक्रम मापन गरेको हो । मौसम विभागका अनुसार यहाँको तापक्रम अपेक्षाभन्दा नौ डिग्री बढी रहेको छ । तीन करोडभन्दा बढी जनसङ्ख्या रहेको यस सहरमा बुधबार पनि यस्तै तापक्रम हुने पूर्वानुमान गरिएको छ र मानिसहरूलाई सतर्क रहन सूचना जारी गरिएको छ । सन् २०२२ को मे महिनामा दिल्लीको केही भागको तापक्रम ४९.२ डिग्री सेल्सियस (१२०.५ फरेनहाइट) पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा गर्मी याममा तापक्रम उच्च रहने भएपनि पछिल्ला बर्षहरूमा लामो र अत्यधिक गर्मी हुने गरेको छ । वर्षौंको वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनका कारण गर्मी लामो हुने, बारम्बार हुने र तीव्र हुने गरेको जनाएको छ । खानेपानीको अभाव नयाँ दिल्लीका अधिकारीहरूले गर्मी बढेसँगै पानीका स्रोतहरू पनि घट्दै केही क्षेत्रमा आपूर्ति कटौती हुने र खानेपानीको अभाव हुनसक्ने चेतावनी दिएका छन् । भारतीय जल मन्त्री आतिशी मार्लेनाले पानीको अनावश्यक प्रयोग रोक्न ‘सामूहिक जिम्मेवारी’ लिन आह्वान गरेका छन् । ‘पानीको अभावको समस्या समाधान गर्न हामीले धेरै क्षेत्रमा पानीको आपूर्ति दिनको दुई पटकबाट घटाएर दिनमा एक पटक गर्ने जस्ता धेरै उपायहरू अपनाएका छौं,’ आतिशीले भने । उनले भने, ‘यसरी बचत गरिएको पानीलाई मिलाएर पानीको निकै अभाव भएका र दैनिक १५ देखि २० मिनेट मात्र पानी आपूर्ति क्षेत्रमा पुर्याइनेछ ।’ मौसम विज्ञान विभागले गर्मीले स्वास्थ्यमा विशेष गरी शिशुहरू, वृद्धहरू र दीर्घकालीन रोगहरू भएकाहरूको स्वास्थ्यमा असर पार्नसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । धेरैले राजस्थान राज्यको तापक्रम ५०.५ डिग्री सेल्सियस मापन गरिएको र त्यहाँबाट आएको उष्ण लहरका कारण तापक्रम बढेको बताएका छन् । राजस्थानको मरुभूमि फलोदीमा सन् २०१६ मा ५१ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । पश्चिम बङ्गाल राज्य र उत्तरपूर्वी राज्य मिजोरममा आइतबार भारत र बङ्गलादेशमा आएको चक्रवात ‘रेमाल’बाट आएको आँधीबेहरी र भारी वर्षाका कारण ३८ जनाभन्दा बढीको मृत्यु भएको छ । बङ्गलादेशको मौसम विज्ञान विभागले यो चक्रवात ‘देशको इतिहासमा सबैभन्दा लामो मध्ये एक’ भएको बताएको छ । रासस
धनियाँ बिक्री गरेर वार्षिक ८ लाख आम्दानी
देउखुरी । खेतका गराभरी हरियो धनियाँ छ । धनियाँ उखेलेर साना साना मुठा पार्दै गरेको अवस्थामा भेटिए घोराही उपमहानगरपालिका–६ चोरगाउँका अमित चौधरी । उनले दुई कठ्ठा जमिनमा धनियाँखेती गरेका छन् । धनियाँको माग बाह्रैमहिना हुने भएकाले बाहैँमहिना खेती गर्ने गरेको उनले बताए । उनका बुवाले विगत आठ वर्ष अघिदेखि व्यावसायीक रुपमा धनियाँखेती गर्थे । आम्दानी राम्रो भएपछि त्यसैलाई निरन्तरता दिएको उनले बताए । दुई कठ्ठाखेतमा चार किलो धनियाको बीउ दुई हजार चार सय रुपैयाँमा खरिद गरि खेती गरेको उनले बताए । त्यो धनियाँ बिक्री गरेर दुई लाख रुपैयाँ आम्दानी गरेको उनले बताए । बाह्रैमहिना धनियाँ माग हुने भएकाले बाहै महिना खेती गर्ने उनले बताए । सिजनमा पाँच रुपैयाँ मुठाका दरमा बिक्री हुन्छ भने बेमौसममा १० रुपैयाँ मुठाका दरमा बिक्री हुन्छ । धनियाँ उखेल्न समय लाग्ने भएकाले दैनिक धेरै उखेल्न नसकिने उनले बताए । धेरै उखेल्न सक्यो भने दैनिक तीन हजारदेखि तीन हजार पाँच सय रुपैयाँसम्म आम्दानी हुने गरेको अमितले बताए । उखेल्न नसकेको समयमा एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्मको बिक्री हुने गरेको उनको भनाइ छ । धेरै मेहनत गर्नुनपर्ने, रोगकीरा नलाग्ने र विषादी पनि राख्नु नपर्ने भएकाले कम खर्चमा धेरै आम्दानी गर्न सकिने भएकाले धनियाँखेतीलाई निरन्तरता दिएको उनले बताए । ‘वैशाख, जेठ र असारमा धनियाँ १० रुपैयाँ प्रतिमुठाको दरमा बिक्री हुन्छ, यो याममा राम्रो मूल्य पाइन्छ’, उनले भने । गत वर्ष यी तीन महिनामा दुई लाख रुपैयाँ आम्दानी गरेको उनले बताए । सरदर वर्षको आठ लाख रुपैयाँ धनिया बिक्रीबाट मात्रै आम्दानी हुने गरेको उनले बताए । ‘धनिया छरेको ३५ दिनमा बिक्रीका लागि योग्य हुने भएकाले उखेल्न सुरु गर्छौँ, तयार भएको दुई महिनाभित्र बिक्री गरिसक्नुपर्छ’, उनले भने, ‘लामो समय राख्न मिल्दैन, छिप्पियो भने बिक्री हुँदैन, बिक्री भएर खाली भएको जमिनमा हरेक १० दिनको फरकमा धनियाँ छर्ने गर्छु, त्यसैले एक लट बिक्री गरिसक्दा अर्को लट तयार भइसकेको हुन्छ ।’ उनीसँग बाहैँ महिना धनियाँ हुने गरेको छ । छोटो समयमा मनग्य आम्दानी हुने भएकाले धनियाँखेती बाहैँ महिना गर्ने गरेको उनले बताए । ‘इनारको पानीले सिँचाइ गरेर खेती गर्ने गरेका छौँ, पानीको अन्य सुविधा छैन, बिक्रीका लागि घोराही बजारमा लैजानुपर्छ, बजारमा धनियाँ अभाव भयो भने व्यापारी घरमै आउने गर्छन्, खेतीपाती गर्न बुवाआमा र श्रीमतीको सहयोग रहेको छ’, उनले भने । रासस
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
झापा । गए राति वर्षा र चट्याङसहित आएको हुरीबतासले मेचीनगर नगरपालिकामा ठूलो क्षति गरेको छ । हुरीले बिजुलीको खम्बा ढालेपछि गए रातिदेखि मेचीनगर क्षेत्रको विद्युत् आपूर्ति बन्द भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले हुरीले मेचीनगर–७, ८ र १० मा ठूलो मात्रामा क्षति पुर्याएको बताए । उनका अनुसार सो क्षेत्रका सयौँ घरको छाना उडाएको, विद्युत्का खम्बा ढालेको, विद्यालयका छाना भत्काएको, सडक र निजी जग्गाका रूख ढालेको र केही स्थानमा खानेपानीको वितरण अवरुद्ध भएको छ । मेचीनगर–१० स्थित जयश्री हलेसी भेनियर उद्योग, सिद्धिविनायक भेनियर उद्योग र सिद्धार्थ भेनियर उद्योगको जस्तापाताको छाना उडाएको छ । भेनियरका सञ्चालक डिल्लीराम श्रेष्ठले एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको जानकारी दिए । उनले तयारी अवस्थामा रहेका सात ट्रक भेनियर पत्ता, टिनको छाना र बेरा भएको उद्योग भत्काएको बताए । सिद्धिविनायकका सञ्चालक श्याम न्यौपानेले हुरीबाट १० लाख रुपैयाँबढीको क्षति पुगेको बताए । नगरका अन्य भेनियर उद्योगमा पनि भौतिक क्षति पुगेको भन्दै यकिन विवरण आइ नपुगेको सूचना अधिकारी चन्दले बताए । मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणि ओलीको जोरसिमलस्थित घरको छाना हुरीले उडाएको छभने आसपासका बस्तीमा दर्जनौँ घरमा क्षति पुगेको छ । धुलाबारी इलाका प्रहरी कार्यालयको ब्यारेकको फल्स सिलिङसहित क्यान्टिनको छानो उडाएको छ । त्यस्तै, मेचीनगर–८ इँटाभट्टास्थित आदर्श माध्यमिक विद्यालयको जस्तापाताको छानो हुरीले क्षति पुर्याएको सूचना अधिकारी चन्दले जानकारी दिए । उनले क्षतिको थप विवरण सङ्कलन भइरहेको भन्दै मानवीय क्षति भने नभएको बताए । रासस
‘निजी क्षेत्रको सहभागिता र अग्रसरताबाट हासिल गर्ने सरकारी रणनीति स्वागतयोग्य छ’
काठमाडौं । होटल संघ नेपालले सरकारले आगामी आर्थिक वर्षका लागि घोषणा गरेको बजेटको स्वागत गरेको छ। संघले बुधबार विज्ञप्ति जारी गर्दै मंगलबार अर्थमन्त्री वर्षमान पुनले गरेको बजेट भाषणमा पर्यटन क्षेत्रका केही विषयहरु सम्बोधन भएकोमा स्वागत गरेको छ । २०८१/८२ को राष्ट्रिय वार्षिक बजेटले निर्धारण गरेको विकासका पाँच रुपान्तरणकारी मूख्य क्षेत्रमध्ये छिटो आर्थिक समृद्धि दिन सक्ने पर्यटन क्षेत्रलाई पहिचान गरी प्राथमिकताका साथ घोषणा भएका कार्यक्रमहरुको कार्यान्वयन निजी क्षेत्रको प्रचुर सहभागिता र अग्रसरताबाट हासिल गर्ने सरकारी रणनीति स्वागतयोग्य रहेको होटल संघ नेपालले जनाएको छ । संघले जारी गरेको प्रेस वक्तव्यमा सातै प्रदेश समिटिने गरी प्रमुख पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गर्ने गतिविधि अवधारणा उल्लेखनीय रहेको संघले जनाएको छ । व्यापक पर्यटकीय सम्भावना बोकेको भारत र चीनसँगको क्रस बोर्डर पर्यटन विकासका लागि घोषित बुद्ध, शिव, रामायण परिपथ र सीमाबाट नेपालका प्रमुख तीर्थस्थलसम्म सीधा बस सेवा, सीमा क्षेत्रमा पर्यटकलाई एकद्वार सेवा प्रदान गर्ने घोषणा उपयुक्त रहेको संघले जनाएको छ । मध्यपहाडी लोकमार्गमा टाकुरा पर्यटन हिल स्टेसन विकास गर्ने, होटल रिसोर्ट सञ्चालनका लागि जग्गा लिजमा दिने , ग्रेटर हिमालयन, मुन्धुम र गुरिल्ला ट्रेल व्यवस्थित गर्ने बजेटको योजना सकारात्मक रहको होटल संघ नेपालले जनाएको छ । सगरमाथा एवं विश्व प्रख्यात हिमशृङ्खलाप्रति विश्वव्यापी अत्यधिक आकर्षण र मोह रहीआएको सन्दर्भमा नेपाली पर्यटनलाई थप लाभ लिन बजेटले घोषणा गरेको हिमालयन रिसोर्स सेन्टरको अवधारणा सराहनीय रहेको र यसबाट पर्या पर्यटन, साहसीक पर्यटनलगायतका गतिविधि गर्न धेरै खर्च गर्न सक्ने अन्तर्राष्ट्रिय पर्यटकहरुको ठूला ठूला समूह भित्राउन निजी क्षेत्रलाई अग्रसर गर्ने योजना समय सापेक्ष रहेको संघको भनाई छ । साथै जनकपुर केन्द्रित वेडिङ डेस्टिनेसन गतिविधि र लुम्बिनीमा बर्थिङ हब बनाउने बजेटको घोषणा उपयुक्त रहेको उल्लेख गर्दै होटल संघ नेपाल स्वयम्ले नै यस योजना कार्यान्वयनमा गर्दै आएको पहलमा आगामी दिनमा अझ सक्रियता बढाउने जनाएको छ । बजेटले घोषणा गरेको सबै प्रदेशमा सञ्चालन गरिने मास्टर किचेनको प्रभावकारी सञ्चालनमा होटल संघ नेपालले आफ्नो अनुभव र दक्षता उपलब्ध गराउने पनि जनाएको छ । १६ लाख पर्यटक भित्राउने लक्ष्य मौजुदा होटल र पर्यटनको सेवा क्षमताको आधा मात्र रहेको जनाउँदै काठमाडौं लगायत नवनिर्मित भैरहवा र पोखराको अन्तर्राष्ट्रिय उडानहरु सुचारु गर्न सके हालको पर्यटक आगमन दोब्बर गर्न सकिने जनाउँदै सरकारको नीति तथा कार्यक्रममा प्रमुखताका साथ उल्लिखित भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक उडान बढाउने कुनै पनि कुरा बजेट वक्तव्यमा नआएको संघले औंल्याएको छ । बजेटमा कृषि, शिक्षा, प्रविधि लगायत क्षेत्रमा विकास दशक घोषणा भएको क्रममा पर्यटन विकासका लागि सरकारले घोषणा गरेको पर्यटन विकास दशक २०२३–२०३२ र २०२५ मा आयोजना गर्ने भनिएको विशेष पर्यटन वर्ष बारे केही उल्लेख नभएको प्रति भने होटल संघ नेपालले निराशा व्यक्त गरेको छ । संघले विश्वव्यापी रुपमा बढ्दै गएको ग्रिन टुरिजमको अवधारणालाई आत्मसात गर्न होटलहरुमा प्लास्टिकको प्रयोग घटाउँदै निर्मूल गर्ने, ग्यासलाई प्रतिस्थापन गरी स्वदेशी बिजुलीबाट खाना पकाउने र पर्यटकीय सवारी साधनहरु बिजुलीबाट सञ्चालन गर्ने अपेक्षित व्यवस्थाहरु बजेटमा नभेटेको जनाएको छ । हालको आर्थिक मन्दीलाई सम्बोधन गर्न बजेटको महत्वाकांक्षी ६ प्रतिशतको आर्थिक वृद्धिदर र झन्डै १२ खर्बको राजस्व संकलन गर्ने लक्ष्य हासिल गर्न पर्यटन क्षेत्रले छोटो समयमा नै मनग्गे आर्थिक लाभ दिन सक्ने हुँदा घोषित रणनीति र कार्यक्रमहरु इमानदारिताका साथ कार्यान्वयन गर्न निजी क्षेत्रको सक्रियता र आत्मविश्वास बढाउन सरकार चुक्न नहुने होटल संघ नेपालले विज्ञप्तिमार्फत जनाएको छ । मौजुदा पर्यटन ऐन २०३५ लाई समय सापेक्ष बनाई होटललाई फगत सेवा व्यवसायको वर्गिकरणबाट हटाई उत्पादनमूलक उद्योगले पाए सरहको सेवा सुविधा सर्त प्रदान गरी उद्योगको मान्यता लगायतका कुराहरु पूरा गर्ने सरकारी प्रतिबद्धता पूरा भए पनि निजी क्षेत्रको हौसला विश्वास बढ्ने निश्चित छ । नत्र वर्षेनी बजेटले घोषणा गरेको धेरै कार्यक्रमहरु कसले कार्यान्वयन गर्ने भन्ने प्रश्नमा नै उल्झीरहने र तालुकवाला कार्यान्वयन गर्ने निकायबाट समेत घोषित बजेटका कार्यक्रमहरु व्यवस्थापकीय प्राविधिक आर्थिक स्रोत र सरकारी प्रण र समन्वयको अभावमा नै हराउने नियती रहेको संघले उल्लेख गरेको छ । चालु आवको बजेटमा लगाइएको २ प्रतिशत विलाशिता कर तथा हवाई भाडामा लगाइएको १३ प्रतिशत भ्याटबाट नेपाल गन्तव्य झन महँगो हुने भई पर्यटक आगमनमा कमीआउने सन्दर्भमा यस २०८१/८२ को बजेटमा उक्त विषय हटाउने सरकारको आश्वासन तथा विश्वास व्यक्त भएको तर उक्त विषयलाई निरन्तरता दिएको प्रति होटल संघ नेपालको ध्यानाकर्षण भएको छ ।
‘संसदमा बजेट प्रस्तुत गर्न पाइन्छ कि पाइँदैन भन्ने चिन्ता थियो, अहिले रिल्याक्स मुडमा छु’
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले संसदमा बजेट पेस गर्न पाइन्छ वा पाइँदैन भन्ने दुविधाका बीच बजेट प्रस्तुत गरेको बताएका छन् । बुधबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले दुविधाका बीच सफलताका साथ संसदमा बजेट प्रस्तुत गरेको बताएका हुन् । उनले अहिले आफू रिल्याक्स मुडमा रहेको प्रतिक्रिया दिए । ‘संसदमा बजेट पेस हुन्छ कि हुन्न भन्ने चिन्ता थियो, बजेट पेस गर्नुअघि राजनीतिक दबाब थियो, तर बजेट सफलताका साथ प्रस्तुत गस्न सकियो, अहिले रिल्याक्स मुडमा छु’ साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने । यस्तै, उनले बजेट निर्माणका लागि बिहान साढे तीन बजेसम्म अर्थमन्त्रालयमै बसेर बजेट निमार्ण गरेको अनुभव सुनाए । उनले अहिलेको अर्थतन्त्रको वस्तुस्थिति हेरेर बजेट प्रस्तुत भएको प्रतिक्रिया आउँदा खुसी भएको धारणा राखे । ‘चालु आवको प्रक्षेपण मिलिरहेको थिएन, त्यसमा कमेन्ट गर्ने भन्दा पनि जिम्मेवार ढंगले प्रस्तुत गर्यौं, आशा जगाउने प्रयत्न बजेट मार्फत भएको छ,’ उनले भने । उनले बजेट मार्फत रोजगारी सिर्जना गर्ने, विदेश जाने युवालाई स्वदेशमै रोक्ने कार्यक्रम ल्याएको बताए । यसले बजेटमार्फत नयाँ चरणको आर्थिक सुधार गर्न आवश्यक रहेको सनदेश दिएको उनको भनाइ छ । उनले उच्च स्तरीय आयोग नै गठन गरेर अगाडि बढ्न खोजिरहेका बताउँदै सो आयोगले आर्थिक सुधारका लागि राम्रो बाटो देखाउन सहयोग गर्ने बताए । ‘नयाँ क्षेत्रलाई साथमा लिएर जान खोजिरहेका छौं, ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई सँगै अगाडि बढाउन खोजेका छौं, अब म पनि स्वदेशी वस्तुको प्रयोग गर्छु, सबैलाई स्वदेशी वस्तु उत्पादन गर्न आग्रह गर्छु,’ उनले भने । –