काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले ट्राफिक कारबाहीमा परेकाहरुलाई सडकमा स्वयंसेवा गर्न लगाउने कामलाई रोक्न माग गरेका छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले गृहमन्त्रीले हुकुमी शासनको भरमा ट्राफिक कारबाहीमा परेकालाई सडकमा उतारेर स्वयंसेवा गराएका भन्दै सो काम तुरुन्त रोक्नुपर्ने बताएका छन् ।
उनले मुलुकलाई कानूनी शासन अनुसार चलाउनुपर्ने भन्दै कानून बिना त्यसरी मानिसलाई सडकमा ल्याउनु नहुने बताए । कानून बनाएर मात्रै सो काम गर्न आग्रह गरे । गृहमन्त्रीलाई पत्रकार हुँदाजस्तो बोलेर र ट्वीट गरेर मुलुक नचलाउन पनि आग्रह गरे ।
‘ट्राफिकमा काम गर्ने महिला दिदीबहिनीहरुलाई चार दिन पिरियडको समयमा बिदा दिने कामको शुरुवात गर्नुभएछ । पहेँलो ज्याकेट लगाउने मान्छेहरु सबै मापसेयुक्त हुन भन्ने भान भयो भने मुलुक कतातिर जान्छ ? तिनीहरुको इज्जत रहन्छ रहँदैन । त्यसैले यो काम तुरुन्त बन्द गरेर कानून अनुसार शासन चलाउने व्यवस्थाको शुरुवात होस् भन्ने माग गर्न चाहन्छु । पत्रकारजस्तो बोलेर ट्वीट गरेर मुलुक चलाउने हो । कानुन अनुसार देश चलाउने पद्धतिको विकास गर्नुपर्छ’, उनले भने ।
उनले मिडिया ट्रायल गरेर मुलुक नचलाउन भन्दै यस सम्बन्धमा सभामुखको रुलिङको समेत माग गरे ।