विकासन्युज

प्रतिनिधिसभामा दुई प्रतिवेदन प्रस्तुत

  काठमाडौं । प्रतिनिधिसभामा सरकारले दुई वटा प्रतिवेदन प्रस्तुत गरेको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संविधानको धारा ५३ बमोजिम ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९र८०’ पेस गरिन् । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गरिन् । प्रतिवेदन पेस गर्दै सभापति खतिवडाले विधेयक ल्याउनुको कारण र औचित्यबारे जानकारी दिइन् । उक्त विधेयक पारित भएपछि संवैधानिक निकायमा भागबण्डाका आधारमा नभई योग्यता र क्षमताका आधारमा नियुक्ति हुने विश्वास व्यक्त गरिन् ।

समाज लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तको जेठ २० गते बसेको बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । लघुवित्तले गत वर्षको नाफालाई सर्वसाधारण जगेडा कोष र रिटेन अरनिङ्गमा राख्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) किशोरी महतोले बताए । सीईओ महतोका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ३० लाख ७३ हजार ७५१ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमध्ये २० प्रतिशतले हुन आउने ६ लाख १४ हजार ७५० रुपैयाँ साधारण जगेड़ा कोष र बाँकी २४ लाख ९० हजार रुपैयाँ रिटेन अरनिङ्गमा राख्ने निर्णय गरेको हो ।

देशका विभिन्न भागमा विद्युत कटौति गरेकोमा सांसदहरूको आक्रोश

काठमाडौं । देशका विभिन्न शहरहरुमा विद्युत कटौति हुने गरेकोमा सांसदहरूले आपत्ति जनाएका छन् । तराई, मधेसमा चर्को गर्मीको सामना गरिरहेका जनतालाई थप कष्ट दिनेगरी विद्युत आपूर्ति पनि कटौति गरिएको भन्दै सोमबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले आक्रोश व्यक्त गरेका हुन् । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) की सांसद दीपा शर्माले ४४/५४ डिग्रीको चर्को गर्मीको सामना गरिरहेको नेपालगञ्जमा अघोषित रुपमा विद्युत कटौति हुने गरेको भन्दै आपत्ति जनाइन् । उनले जनतालाई गर्मीबाट तत्काल राहत दिन पनि विद्युत आपूर्ति व्यवस्थालाई तत्काल सहज बनाउन सरकारसँग माग गरिन् । ‘नेपाल लोडसेडिङ मुक्त देश भयो । तर कुनै बेला दैनिक ६ घण्टा विद्युत उपयोग गर्न पाएका देशभरका उपभोक्ता नागरिकहरू देश लोडसेडिङ मुक्त भएसँगै उज्यालोमा रम्न पाए । नेपालगञ्ज उपमहानगरपालिका लगायत बाँके जिल्लाभरी नै विद्युत आपूर्ति अनियमित भएका कारण ४४/४५ डिग्रीको तापक्रममा बाँकेबासीको जनजीवन असामान्य र कठिन बनेको छ’, उनले भनिन् । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद तेजुलाल चौधरीले पनि जनतामा थप मारमा पार्नेगरी विद्युत कटौति नगर्न सरकारलाई दबाब दिए । उनले गर्मीले जनताको जीवन कष्टकर बन्दै गएकाले सरकारले विद्युत आपूर्ति सहज बनाउन तत्काल ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । सांसद चौधरीले भने ‘नेपाल विद्युत प्राधिकरणले व्यापक रुपमा विद्युत कटौति गरी राखेको छ । त्यसकारण तराई मधेसमा व्यापक रुपमा गर्मीको महशुस र जीवन कष्टकर बन्दै गएको छ । यस्तो अवस्थामा विद्युत कटौति नगरीदिन म सरकारसँग जोडदार माग गर्न चाहन्छु । साथै चुरे दोहन व्यापक रुपमा भएको छ । यसको नियन्त्रण हुनुपर्यो ।’ यता, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले ललितपुरवासीका लागि तत्काल खानेपानीको समस्या समाधान हुनेगरी बजेटको व्यवस्था मिलाउन सरकारसँग माग गरिन् । उनले खानेपानीको व्यापार हुने र जनताले पीउने पानी पनि नपाउने अवस्थाको अन्त्य गर्न सरकारले ढिलाई गर्न नहुने बताइन् । सांसद कार्कीले ललितपुरवासीका लागि खानेपानीको अभाव हुँदा पनि सरकारले बेवास्ता गरेको बताइन् । उनले भनिन्, ‘मेलम्ची खानेपानी आयोजनाको १ करोड ८० लिटरको टयांकी निर्वाचन क्षेत्र ललितपुरमा ३ मा छ तर त्यहाँ हरिसिद्धी, धापाखेल, चुनिखेल, नखिपोट, कुसुन्ती, जावलाखेल जताततै रोदन छ । सरकारले गरेको यो बेवास्तापति मेरो खेद छ । ललितपुर बासीको खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्नका लागि बजेटको व्यवस्था गरियोस् ।’ राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले नारायणहिटी संग्रहालय भित्र रहेको गणतन्त्र स्मारक सर्वसाधारणका लागि खुला गर्न सरकारको ध्यानाकर्षण गराए । नेपाल सरकारले सो स्मारक खुलाउन नसक्ने हो भने त्यसको जिम्मा काठमाडौं महानगरपालिकालाई दिए हुने सुझाव समेत दिए । सांसद सिंहले भने, ‘नारायणहिटी दरबार भित्र रहेको गणतन्त्र स्तम्भ ५ वर्ष भईसक्यो बनेको । वर्षौदेखि ताला लगाई राखिएको छ । त्यो पार्कमा जनताहरुलाई घुम्न, अध्ययन गर्न, विद्यार्थी भाईबहिनीहरुका लागि त्यहाँ घुम्नका लागि वरीपरि विद्यालयहरु भएको हुनाले त्यसको सुचारु जनताका लागि गर्न म सरकारसँग माग गर्न चाहन्छु । यदि त्यो काम नेपाल सरकारले गर्न सक्दैन भने काठमाडौं महानगरपालिकालाई जिम्मा दिइयोस भन्ने म अनुरोध गर्दछु ।’ सांसद सिंहले गणतन्त्र स्मारक अध्येताहरुका लागि अनुसन्धान गर्ने विषय पनि भएको हुनाले त्यसलाई खुला गर्ने कुरामा सरकारले ढिलाई गर्न नहुने जिकिर समेत गरे ।

आईएमई लाइफका ग्राहक तथा अभिकर्तालाई ब्लुबर्ड क्लिनिकमा छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुले थापाथली स्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा स्वास्थ्य जाँच गराउँदा विशेष छुट पाउने भएका छन् । दुई संस्थाबीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भए पश्चात आईएमई लाइफ इन्स्योरेन्सका अभिकर्ता र ग्राहकहरुले ब्लुबर्ड क्लिनिकमा उपलब्ध सेवाहरुमा एक्सक्लुसिभ डिस्काउन्ट पाउनेछन् । यस सम्झौताबाट इन्स्योरेन्स कम्पनीका ग्राहक तथा अभिकर्ताहरुले विशेष लाभ लिनेमा कम्पनी विश्वस्त रहेको आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका अन्डरराइटिङ प्रमुख सुदिप राणाले सम्झैता आदान–प्रदान कार्यक्रममा बताए ।

तोलामा एक हजारले घट्यो सूनको मूल्य

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएकामा आजका सोही परिमाणको सुनको मोल एक लाख ४१ हजार रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजाबी सुन आइतबार प्रतितोला एक लाख ४१ हजार तीन सय रुपैयाँमा कारोबार भएकामा आज त्यति नै परिमाणको सुनको मूल्य एक लाख ४० हजार तीन सय रुपैयाँ निर्धारण भएको छ । महासंघले चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको बताएको छ । आइतबार प्रतितोला एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार आठ सय ३५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

केपी ओलीलाई मेयर बालेनले भने- १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड नगर्नुहोला !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउन आग्रह गरेका छन् । मेयर शाहले सोमबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै झापास्थित गिरीबन्धु टी-स्टेटमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ भनेर थम्थम्याएको समेत आरोप लगाएका छन् । उनले गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा ओलीको सहभागिताको इतिहास हेर्दा त्यहाँ ओलीलाई नभनी पात पनि नहल्लिने उल्लेख गरेका छन् । ‘झापा गिरीबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाउनु भएछ’, उनले भनेका छन्, ‘गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।’ मेयर शाहले समयमै गिरीबन्धु टी-स्टेटमा पीडितको बैना फिर्ता गर्न पनि आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला, हुन त पहिले पनि जेल बस्नु भएको हो, धन्यवाद ।’ यस्तै मेयर शाहले महानगरले न्यूरोडमा बनाउन सुरु गरेको फुटपाथमा फेरि सडक निर्माण थालिएको भन्दै आपत्ति पनि जनाएका छन् । ‘अब बल्ल देश बन्ने भएछ, आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो, तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल–चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला, हामी साथमा छौँ’, उनले भने, ‘यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्यूरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ ।’

सिटिजन्स बैंकका ग्राहकले साई डेण्टल क्लिनिकमा २० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले साई डेण्टल क्लिनिकमा छुट पाउने भएका छन् । बैंक र वीरगञ्ज, पर्सा स्थित साई डेण्टल क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले साई डेण्टल क्लिनिकका सेवाहरुमा २० प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

हिमाल हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई छुट

काठमाडौं । काठमाडौंको हिमाल हस्पिटलमा प्रभु बैंक लिमिटेडका ग्राहकलाई छुट हुने भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं ज्ञानेश्वर स्थित हिमाल हस्पिटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बिच हिमाल हस्पिटलका तर्फबाट व्यवस्थापकीय निर्देशक नविन ताम्ली र प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे । समारोहमा प्रभु बैंकका बजार व्यवस्थापकका तर्फबाट म्यानेजर दिना चित्रकार र सबिन राणा तथा हिमाल हस्पिटलका मूख्य प्रशासन अधिकृत राजेन्द्र केसीको समेत उपस्थिति रहेको थियो । सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले हिमाल हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा १० देखी २० प्रतिशत तथा शल्यक्रिया शुल्कमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक हिमाल हस्पिटलमा पेश गर्नुपर्ने बैंकले जनाएको छ । सन् १९७८ मा बिराटनगर मा स्थापित थापा नर्सिङ्ग होम पछि सन् १९८८ मा ज्ञानेश्वर, काठमाडौंमा नाम परिवर्तन भई हिमाल हस्पिटल गरिएको थियो । जुन नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक मध्यको दोस्रो निजी अस्पताल हो । हिमाल हस्पिटलले केही दशकदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार अनि पेन मेडिसिन लगायत उपलब्ध गराउँदै आईरहेको बैंकले जनाएको छ ।