विकासन्युज

३६ लाखको सिट्रोनको ई-सी थ्री साइन नेपालमा सार्वजनिक

काठमाडौं । नेपालमा फ्रान्सेली ब्रान्ड सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले ई–सी३ लाइन–अपको प्रिमियम मोडल सिट्रोन ई–सी३ साइन नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले आइतबार ई–सी३ लाइन–अपको प्रिमियम मोडल सिट्रोन ई–सी३ साइन नेपाली बजारमा सार्वजनिक गरेको हो । ई सीथ्री साइनको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । अहिले आयात भएको अन्तिम स्टिकसम्म मूल्य परिवर्तन नहुने कम्पनीले जनाएको छ । उच्च प्रविधि र परिष्कृत सुविधाहरूले सुसज्जित सिट्रोन ई–सी३ साइन, कार उत्साहीहरूका लागि उपयुक्त विकल्प हुनेछ, जसले स्टाइल र फिचर दुवैलाई महत्व दिने कम्पनीको विश्वास छ । यसमा थपिएका अगाडि र पछाडिको स्किड प्लेटहरू, रियर क्यामेरा, रियर वाइपर, रियर डिफ्रोस्टर, लेदर र्‍याप्ड स्टेयरिङ ह्विल, एलोय ह्विलहरू र इलेक्ट्रिकल ओआरभीएमहरू जस्ता नयाँ सुविधाहरू सबैलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्न डिजाइन गरिएको कम्पनीले जनाएको छ । सिट्रोनको ई–सी३ साइनले विद्युतीय गाडीको गतिशीलतालाई नेपाली बजारमा थप पहुँच योग्य बनाउँदै विशिष्ट अनुभव प्रदान गर्नेछ । नयाँ सिट्रोन ई–सी३ साइनसँग नवप्रवर्तन, आराम र किफायतीताको उत्तम मिश्रणको अनुभव लिन सकिने कम्पनीको भनाइ छ ।

सोमबारदेखि कान्तिलोकपथ सञ्चालनमा

पाटन । कान्तिलोकपथमा आजदेखि पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा आएको छ । मर्मतसम्भारका लागि २०८० चैत १ गतेदेखि सो मार्गमा गत वैशाख २१ गतेदेखिसेवा बन्द गरिएको थियो । कान्तिलोकपथ आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर रवीन्द्र महर्जनले सडकको मर्मतसम्भार गरी आजदेखि यातायात सेवा सञ्चालनमा आएको जानकारी दिए । ‘ललितपुरको बागमती गाउँपालिकाको वडा नं ३ झाँक्रीडाँडाबाट छपेलीतर्फ कार्कीबासको साँघुरो ठाउँमा कटिङ सकिएको छ, काल्चे क्षेत्रमा कटिङ गर्नुपर्ने काम पनि सम्पन्न भएको छ, ललितपुरतर्फ सिङ्गल लेन भएको केही ठाउँमा यस आवमा बजेट नपुग भएको कारण कटिङको काम सम्पन्न हुन बाँकी छ, बहुवर्षीय टेण्डरमा कटिङ गर्ने भनिएको छपेलीबाट काल्चेतर्फको खण्डमा मात्रै बाँकी रहेको छ । बाँकी काम अर्को आवमा हुन्छ, अहिलेलाई सवारी आवतजावतका लागि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालन हुनेछ’, उनले भने । वैशाख १५ गतेदेखि आंशिकरुपमा खुला गरिएको सडक मर्मतसम्भारका क्रममा कटिङ गर्दा माथिबाट खसेको ढुङ्गाले पूर्णरूपमा क्षति काल्चे खण्डको सडकको भाग भत्किएपछि वैशाख २१ गतेदेखि पूर्णरूपमा बन्द भएको थियो । काठमाडौंलाई हेटौँडासँग जोड्ने उपयुक्त र दूरीका हिसाबले छोटो मानिएको यो सडक निर्माण थालिएको ६७ वर्ष भइसकेको छ । विगतका सरकारले यो सडक निर्माणका लागि प्राथमिकता नदिँदा र विगतमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले ढिलासुस्ती गरेर काम गर्दा यो सडक निर्माण ६७ वर्षदेखि निर्माणाधीन अवस्थामै छ । कान्तिराजमार्गको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म लम्बाइ ९२ किलोमिटर हो । यसमध्ये बुद्धचोकदेखि–टीकाभैरवसम्म ७९ किमि सडक आयोजनाले निर्माण गर्ने हो । बाँकी खण्ड निर्माणको जिम्मा सडक डिभिजन कार्यालय ललितपुरको हो । टीकाभैरवदेखि चापागाउँ बसपार्कसम्म डिभिजन कार्यालयले चौडा पार्ने काम पूरा गरेको भए पनि स्थानीयवासीको संरचनाको अवरोधका कारण ठेचो सुनाकोठीको भाग चौडा हुन नसकेपछि २०७६ सालमा सरकारले निर्णय गरेर सडकको खण्ड टीकाभैरवबाट छम्पी भैँसेपाटी हुँदै नख्खुसम्म तय गरेको छ । भैँसेपाटीसम्म सडक चौडा भएपछि छम्पी टीकाभैरव खण्डमा भने चौडा हुन बाँकी नै रहेको छ । रासस

गौरवको आयोजना तिवारीभञ्ज्याङ-अधेँरीघाट सडक कालोपत्र

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडक कालोपत्र थालिएको छ । मध्य पहाडी लोकमार्गअन्तर्गत भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिएको गाउपालिका प्रवेश गर्ने स्थान तिवारीभञ्ज्याङलाई शून्य विन्दु मानेर कालोपत्र थालिएको हो । तिवारीभञ्ज्याङ–अधेँरीघाटसम्मको ३१ किलोमिटर सडकमध्ये गाउँपालिका केन्द्र च्याङ्ग्रेसम्म पु¥याउने लक्ष्यका साथ दुई प्याकेजमा कालोपत्र भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवीन भट्टराईले जानकारी र्दिए । यो आर्थिक वर्षमा एक हजार तीन सय मिटर कालोपत्र सम्पन्न हुने उनको भनाइ छ । तिवारीभञ्ज्याङको शून्य विन्दुबाट वडा नं २ को स्वास्थ्य चौकीसम्म एक प्याकेज र स्वास्थ्य चौकीबाट गाउँपालिका केन्द्रसम्म दोस्रो प्याकेजमा काम भइरहेको उनले बताए । पहिलो प्याकेजको सडक डिभिजन कार्यालय तुलिम्टारको भ्याटसहित एक करोड रुपैयाँ र दोस्रो प्याकेजको भ्याटसहित चार करोड दुई लाख रुपैयाँ लागत रहेको प्रशासकीय अधिकृत भट्टराईको भनाइ छ । ‘तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र थालेका छौँ’, प्रशासकीय अधिकृत भट्टराईले भने, ‘सडकको काम दुई प्याकेजमा भइरहेको छ । कालोपत्रको काम समयमा सम्पन्न गराउने लक्ष्यका साथ काम भइरहेको छ । यो आर्थिक वर्षमा एक हजार तीन सय मिटर कालोपत्र हुन्छ ।’ सडक सङ्घीय समपूरक अनुदान, प्रदेश समपूरक अनुदान र गाउँपालिकाको लागत साझेदारीमा कालोपत्र थालिएको हो । यो सडक कालोपत्रको काम गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । यो सडक भोजपुरवासीलाई तराईका जिल्लासँग जोड्ने छोटो मार्ग भएकाले महत्वका साथ कालोपत्रको काम थालिएको अध्यक्ष राईको भनाइ छ । आफ्नो कार्यकालभित्र ३१ किलोमिटर सडक नै कालोपत्र गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए। ‘यो सडक हाम्रो गाउँपालिकाको गौरवको योजना हो’, अध्यक्ष राईले भने, ‘भोजपुरलाई तराईका जिल्लासँग जोड्ने छोटो मार्ग पनि हो । पहिलो चरणमा गाउँपालिका केन्द्रसम्म कालोपत्र गर्ने योजना छ । भावी दिनमा यो सडकको अधेँरीघाटसम्मको ३१ किलोमिटर नै कालोपत्र गर्ने मेरो लक्ष्य छ ।’ तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र सुरु भएपछि उत्साह थपिएको वडा नं २ तिवारीभञ्ज्याङका स्थानीयवासी राजकुमार तिवारीले बताए । सडक कालोपत्र सुरुले गाउँपालिकावासीको धेरैपछिको सपना पूरा भएको उनको भनाइ छ । ‘सडक कालोपत्र थालिएपछि हामीमा उत्साह थपिएको छ’, उनले भने, ‘सडक कालोपत्रले यहाँको जनजीवनमा परिवर्तन आएको छ । गाउँपालिकाले थालेको यो काम प्रशंसायोग्य छ । यो सडकले हाम्रो गाउँपालिको सम्पूर्ण भू–भागलाई छोएको हुनाले यहाँका कृषिउपजले समेत राम्रो बजार पाउने छ ।’ सडक कालोपत्र सम्पन्नको अन्तिम अवधि २०८१ साल असार २० गतेसम्म रहेको छ । सडक नालीसहित आठ मिटरको हुने निर्माण कम्पनी एवाई आनन्द जेभी धनकुटाले जनाएको छ । प्रिमिक्स प्राविधिबाट यो सडकको कालोपत्र हुने जनाइएको छ । रासस

फोनपेले ल्यायो मोबाइल फोनमा रियल टाइम ‘भ्वाइस नोटिफिकेशन’ सुविधा

काठमाडौं । फोनपेले आफ्नो नयाँ आविष्कार स्वरुप, मोबाइल फोनहरूमा ‘भ्वाइस नोटिफिकेशन’सेवा सुरु गरेको छ । फोनपे नेटवर्कका सबै व्यवसायहरूले फोनपे बिजनेस एप मार्फत भ्वाइस नोटिफिकेसन सेवा प्राप्त गर्न सक्नेछन् । फोनपे बिजनेस एप, एक मोबाइल एप हो जुन विशेष गरी व्यवसायहरूको सम्पूर्ण डिजिटल भुक्तानी लेनदेनहरूलाई एउटै प्लेटफर्ममा व्यवस्थित र ह्यान्डल गर्न डिजाइन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त सुविधाले एसएमएस मार्फत भुक्तानी पुष्टिकरणमा भर पर्नु पर्ने आवश्यकतालाई हटाएको छ । यो सेवालाई उपभोग गर्न फोनपे नेटवर्कका व्यवसायहरूले या त फोनपे बिजनेस एप डाउनलोड गरी, वा केवल फोनपे बिजनेस एप को नयाँ भर्जनमा अपडेट गरी, ‘नोटिफिकेसन सेटिंग’ बाट ‘भ्वाइस नोटिफिकेशन’ सुचारु गर्न सक्नेछन् । आज बढ्दो गतिको व्यवसायिक वातावरणमा, व्यवसायहरूहरुले विशेष गरी भीडभाड र सम्भावित टेलिकम नेटवर्क अवरोधहरूको समयमा डिजिटल भुक्तानी लेनदेन सम्बन्धित केहि चुनौतीहरूको सामना गरेका छन् । ‘भ्वाइस नोटिफिकेशन’ सुविधाको सुरुवात सँगै, फोनपे बिजनेस एपका प्रयोगकर्ताहरूले भुक्तानी सूचनाहरूका लागि आफ्नो मोबाइल फोनको निरन्तर म्यानुअल अनुगमन गर्नु पर्ने आवश्यकता हटेको छ । अब व्यवसायहरु आफ्नो व्यापार सञ्चालनमा पूर्ण तरिकाले केन्द्रित रहन सक्ने कम्पनीले जनाएको छ । भ्वाइस सूचना सुविधाले स्पष्ट र श्रव्य आवाज अलर्टको रूपमा वास्तविक-समय (रियल टाइम) भुक्तानी सूचनाहरू डेलिभर गर्दै व्यापारीहरूबाट महत्त्वपूर्ण लेनदेन सम्बन्धि जानकारीहरु कहिल्यै नछुटोस् भनी सुनिश्चित गरेको फोनपेका सीईओ दिवस कुमारले बताए ।

संघले वित्तीय समानीकरण अनुदान कटौती गरेपछि चिढिए स्थानीय तह, आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ मा हस्तान्तरण गर्नुपर्ने वित्तीय समानीकरण अनुदान कटौती गरेपछि स्थानीय तहका जनप्रतिनिधिहरूले सिंहदरबारस्थित अर्थ मन्त्रालय घेराउ गरेका छन् । माग पूरा नभएको भन्दै डेढ सयभन्दा बढी गाउँपालिका तथा नगरपालिकाका मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्षहरू भेला भएर आइतबार मन्त्रालयमा धर्ना दिएका हुन् । सरकारले २५ दलमलव ८९ प्रतिशत वित्तीय समानीकरण अनुदान कटौती गर्ने निर्णय गरेपछि निर्माण भइरहेका मलुकभरिका हजारौं योजना बीचैमा अलपत्र परेको भन्दै रकम निकासाको माग राखेर मन्त्रालय घेराउ गरिको नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले बताए । गत आर्थिक वर्षमा पनि अन्तिम किस्ताको करिब ६ अर्ब रुपैयाँ जति काटिएको उनी बताउँछन् । चालु आर्थिक वर्षको चौथो तथा अन्तिम किस्ता पठाउने क्रममा बजेट कटौती भएपछि धर्नामा उत्रिएको उनले बताए । महालेखा नियन्त्रक कार्यालयले मुलुकभरिका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई गत वैशाख १२ गते पत्राचार गरेर समानीकरण अनुदानतर्फ चालु वर्षको कुल बजेटको ७४.११ प्रतिशत नबढाइ निकासा दिन पत्राचार गरेको थियो । उक्त पत्रका आधारमा स्थानीय तहको वित्तीय समानीकरण अनुदानतर्फ चालु वर्षमा २५.८९ प्रतिशत बजेट कटौती भएको छ । यो भनेको अन्तिम किस्ता रकम हो । यसअघि पनि गत माघ २६ मा यस्तै प्रकृतिको पत्राचार गरेर ५५.७३ प्रतिशत नढाइ निकासा दिन भनेको थियो । त्यतिबेला पुस मसान्त सम्मको राजस्व संकलनलाई आधार बनाएर रकम कटौती गर्न निर्देशन दिइएको थियो । आर्थिक वर्षको अन्त्य हुनै लाग्दा पनि सरकारले अनुदान पठाउने विषयलाई बेवास्ता गरेका कारण आन्दोलनमा उत्रेको ढुंगाना बताउँछन् । आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको बुँदा नम्बर ६२ मा प्राकृतिका स्रोत तथा वित्त आयोगको सिफारिसमा प्रदेश र स्थानीय तहलाई क्रमशः ५८ अर्ब ६७ करोड र ८७ अर्ब ३५ करोड विनियोजन गरिएको उल्लेख छ । तर, स्थानीय तहमा पठाउने तेस्रो किस्ताअन्तर्गत २५ मध्ये ७ प्रतिशत मात्रै निकासा भएकाे थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले पटक-पटक जनाएको प्रतिबद्धता विपरीत आर्थिक वर्ष अन्त्य हुन डेढ महिना बाँकी रहेका बेला अर्थ मन्त्रालयले चालु वर्षकाे स्वीकृत बजेटअन्तर्गत वित्तीय समानीकरण अनुदान कटौती गरेपछि मुलुकभरिका स्थानीय तहको सेवा प्रवाह र विकास योजना प्रभावित भएको ढुंगानाको भनाइ छ । ‘हामीले नेपाल सरकारले पठाएको बजेट अनुसारले नै कामहरू अघि बढाएको हुन्छौं, त्यही अनुसराको रातो बुक निकालेका हुन्छौं,’ उनी भन्छन्, ‘योजनाहरू समयमा सम्पन्न भइसकेका छन् अब अहिले भुक्तानी दिने बेलामा चौथो तथा अन्तिम किस्ताको रकम कटौती भयो ।’ प्रधानमन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीलाई समेत राखेर कुराकानी गर्दा बजेटअघि नै उक्त रकम विनियोजन गर्ने आश्वासन दिएका थिए । ‘यो पैसा काट्नु संघीयता विरोधी काम हो, पैसा काट्नु भनेको वित्तीय संघीयताविरुद्ध हो, संविधानविरुद्ध हो हामी रकम विनियाेजन गर्छाैं भनेर उहाँहरूले हामीलाई आश्वासन दिइरहनुभयो,’ उनी भन्छन्, ‘हामीले यसअघि नै सिंहदरबार केन्द्रित आन्दोलन घोषणा गरिसकेका थियौं, यीनै आश्वासनका कारण रोक्यौं ।’ बजेट आएको यतिका दिन बितिसक्दा पनि मागको कुनै सम्बोधन नभएकाले आन्दोलनमा उत्रिएको उनी बताउँछन् । माग पूरा नभए ७५३ वटै पालिकाहरूको काम ठप्प पारेर सिंहदरबारमा आन्दोलनमा उत्रने उनको भनाइ छ । नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघको अगुवाइमा अनुदान कटौती नगर्न महिनौदेखि अनुरोध गर्दै आए पनि बेवास्ता गरिएको संघले बताएको छ ।

नेपाललाई पर्यटकीय ‘हब’ बनाउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ

गण्डकी । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । चौहत्तऔँ अन्नपूर्ण दिवसका अवसरमा परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयद्वारा विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिको स्वागतार्थ पोखरामा आइतबार आयोजित रात्रिभोजमा उनले सो कुरा बताएका हुन् । आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको जनाउँदै उनले सरकार नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धनमा लागेको बताए । ‘नयाँ गन्तव्यस्थल र पदमार्गको पहिचानसँगै पर्यटकीय सर्किट विकास गर्न सरकारले योजना बनाइरहेको छ’, उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘प्रकृति, संस्कृति, परम्परा, भौगोलिक विविधता आदि हाम्रा पर्यटकीय धरोहर हुन् ।’ उनले राजदूत र कूटनीतिक नियोगका प्रतिनिधिलाई आफ्नो समुदाय र देशमा नेपालको पर्यटनबारे प्रचारप्रसार गरिदिन आग्रह गरे । ‘अतिथि देवो भवः’को आदर्श वाक्य उद्धृत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपालीहरु आतित्थ संस्कारका दृष्टिले विश्वभर चिनिएको बताए । सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी, विश्वकै अग्लो शिखर सगरमाथालगायत अनेकौँ प्राकृतिक तथा सांस्कृतिक सम्पदा हेर्न विश्वभरका पर्यटक नेपाल आउने गरेको उनले बताए । उपप्रधानमन्त्री श्रेष्ठले पर्यटकीय राजधानी पोखरा साहसिक पर्यटन गतिविधिमा पनि उत्तिकै महत्वपूर्ण गन्तव्यका रुपमा विकास भइरहेको बताए । उनले ध्यान, योग र आध्यात्मिक पर्यटनका माध्यमबाट पनि पोखराको थप विकास गर्न सकिने बताए । अन्नपूर्ण दिवसका अवसरमा आइतबार नै विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिले कास्कीको धम्पुसदेखि अस्तामसम्म पदयात्रा गरेका थिए । विश्वमै पहिलोपटक आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहणको सम्झनामा उक्त पदयात्राको आयोजना गरिएको थियो । सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोग र लुई लाशनालले आठ हजार ४१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए । सोही दिनको सम्झनामा बर्सेनि अन्नपूर्ण दिवस मनाउने गरिन्छ । पर्यटकीय राजधानी पोखरामा विविध कार्यक्रमसहित आज ७४औँ अन्नपूर्ण दिवस मनाइँदैछ ।

डिम्याट खाताको वार्षिक सञ्चालन शुल्क बुझाउन सिद्धार्थ क्यापिटलको आग्रह

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले हितग्राही (डिम्याट) खाताको वार्षिक सञ्चालन शुल्क बुझाउन सेवाग्राहीलाई आग्रह गरेको छ । बैंकका शाखा कार्यालयमार्फत डिम्याट खाता खोली धितोपत्र कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरिएको हो । उक्त रकम असार मसान्तभित्र वार्षिक सञ्चालन शुल्क १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने छ । हितग्राही खातावालाहरूले सिद्धार्थ बैंक, क्यापिटल वा फोनपे, क्यूआर पेमेन्ट, खल्ती, कनेक्ट आईपीएस, प्रभु पे, आइएमई पे, ई–सेवा तथा मेरो सेयर ड्यासबोर्डमार्फत उक्त रकम भुक्तानी गर्न सक्नेछन् । साथै, तोकिएको अवधिमा शुल्क नबुझाएमा २०८१ साउन १ गतेबाट खाता स्वतः रोक्का हुनेछ ।

जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा

म्याग्दी । नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आड हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो । नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्म भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी अन्नपूर्ण आरोहण दिवस मनाउन लागिएको पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नवीन पोखरेलले बताए। हर्गोजको टोलीबाट भएको अन्नपूर्ण आरोहणले नेपालको पर्वतारोहणको सम्भावना अन्तर्राष्ट्रियकरण भएकाले महत्वका साथ दिवस मनाउन लागिएको उनले बताए । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुगेको अवसरमा प्रथम पर्वतारोही हर्जोगको सालिक बनाएर आधार शिविरमा राख्न लागिएको बताए । नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले ‘मौरिस हर्जोग’ नामकरण गरेको छ । पदमार्गको प्रचारप्रसार गर्न प्रवेश विन्दुमा पर्ने नारच्याङमा २०७७ सालमा गाउँपालिकाले अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरेको थियो । कास्की र म्याग्दीका दुई वटा स्थानीय तहको नामकरण अन्नपूर्ण हिमालबाट गरिएको छ । अन्नपूर्ण हिमाललाई फन्को लगाउने अन्नपूर्ण चक्रीय पदमार्ग विश्वको प्रसिद्ध पदमार्ग मानिन्छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान) गण्डकीका उपाध्यक्ष कृष्ण आचार्यले मौरिसले अन्नपूर्ण आरोहणको अनुभव समेटेर लेखेको पुस्तकले नेपालको पर्वतारोहण पर्यटनलाई विश्व बजारमा उजागर गर्नमा महत्वपूर्ण योगदान पुगेको बताए । ७४ औँ अन्नपूर्ण आरोहण दिवसको अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजनामा नेपालमा आइतबार कास्कीको माछापुच्छ्रे गाउँपालिकाको धम्पुसदेखि धिताल हुँदै अस्तामसम्म नेपालस्थित नौ देशका राजदूतको पदयात्रा गरिएको थियो । आज पोखरामा आयोजना गर्न लागिएको समारोहमा अन्नपूर्ण हिमाल आरोहण गरेका पर्वतारोही पूर्णिमा श्रेष्ठ, दावा योङजोम शेर्पा र लाक्पा डेन्डी शेर्पालगायतलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ । सो कार्यक्रममा गण्डकी प्रदेशको सांस्कृतिक विविधता झल्काउने मौलिक गीत र नृत्य प्रदर्शन गरिने पर्यटन बोर्ड गण्डकीका प्रमुख पोखरेलले बताए । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरदेखि कास्कीको घान्द्रुकसम्म म्याराथन प्रतियोगिताको आयोजना गरेको छ । टान गण्डकीले आज पोखराको ‘भ्यु फेवा राउन्ड फेवा’ पदमार्गमा पदयात्राको आयोजना गरेको अध्यक्ष धर्म पन्थीले बताए ।