विकासन्युज

गोदावरीका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १ अर्ब बिगो माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध १ अर्ब ४ करोड बिगाे माग दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार गरेको आरोपमा महर्जनसहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरूमाथि १ अर्ब ४ करोड बिगो माग दाबी गर्दै विशेष अदालतमा आरोपपत्र पेस गरेको छ । लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको आरोपमा अख्तियारले सोमबार ५ वटा छुट्टाछुट्टै मुद्दा पेस गरेको छ ।

झिनो अंकले घट्यो नेप्से, माइक्रोफाइनान्समा उत्साह

काठमाडौं । आज सेयर बजार परिसूचक नेप्से  ३.९७ अंक घटेको छ । घटेसँगै नेप्से २०७९.०७ बिन्दुमा झरेको छ । । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ३१६ स्टकको ८८ लाख २० हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४० लाख रुपैयाँ बराबरको कारोबार भएको भएको छ । हिजो ४ अर्ब ३१ करोडको कारोबार भएको थियो । आज ११० कम्पनीको मूल्य बढ्दा १२९ को घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ ।  १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने लघुवित्त उपसमूहको परिसूचक उच्च दरमा बढेको छ । लघुवित्त उपसमूहको परिसूचक २.४३ प्रतिशत बढेको छ । आज बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशत बढेको छ । त्यसै हिमालयन लघुवित्त वित्तीय संस्था, नेशनल लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थान स्थानमा रहेका छन् । कम्पनीको १४ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । आज सेन्सेटिभ इण्डेक्स १.५८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२६ अंक र सेन्सेटिभ इण्डेक्स ०.४४ अंक घटेको छ ।  

अल्फाबिटाले प्रमुख ६ सहरमा ‘इन्टरनेशनल एड्मिसन डे’ कार्यक्रमको आयोजना गर्ने

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले ‘इन्टरनेशनल एड्मिसन डे २०२४’ आयोजना गर्ने भएको छ । उच्च शिक्षाका लागि विदेश जाने सोच बनाएका विद्यार्थीलाई लक्षित गर्दै अल्फाबिटाले यसअघि पनि विभिन्न एड्मिसन डे आयोजना गर्दै आएको थियो । सोहीअनुसार यो पटक अष्ट्रेलिया, क्यानडा, भारत, आयरल्याण्ड, जर्मनी, युके र अमेरिका जाने तयारीमा रहेका विद्यार्थीका लागि अल्फाबिटाले काठमाडौंसहित देशका प्रमुख ६ सहरमा यही २५ जुनबाट इन्टरनेशनल एड्मिसन डे २०२४ आयोजना गर्न लागेको हो । २५ जुनमा चितवन, २६ जुनमा पोखरा, २८ जुनमा काठमाडौं, १ जुलाईमा विर्तामोड, २ जुलाईमा दमक र ३ जुलाईमा विराटनगरमा इन्टरनेशनल एड्मिसन डे आयोजना हुने अल्फाबिटाले जनाएको छ । एड्मिसन डे बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । सो अवसरमा विद्यार्थीहरुले सम्बन्धित मुलुकको युनिभर्सिटीका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर त्यहाँको शिक्षा नीति, भर्ना, छात्रबृत्ति तथा शुल्क, भिसा डकुमेन्टेसनलगायत आवश्यक सम्पूर्ण जानकारी लिन सक्नेछन् । आफ्ना जिज्ञासाहरू सीधै युनिभर्सिटीका प्रतिनिधिसँग राखेर उपयुक्त कलेज छान्न सक्ने भएकाले विद्यार्थीहरुका लागि यस इन्टरनेशनल एड्मिसन डे निकै महत्वपूर्ण हुने अल्फाबिटाले विश्वास व्यक्त गरेको छ ।

हरेक वर्ष बजेटमार्फत सरकारले नीति परिमार्जन गर्दा व्यवसायीलाई मार परेको छ : निजी क्षेत्र

काठमाडौं । सरकारले ल्याउने हरेक वर्षको बजेटमा नीतिगत स्थिरता आवश्यक रहेको निजी क्षेत्रले बताएको छ । आइतबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्स कमलेशकुमार अग्रवाल र नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले नीति परिमार्जन नभई बजेटमा नीतिगत स्थिरता आवश्यक रहेको बताएका हुन् । उनीहरुले हरेक वर्ष बजेटमार्फत सरकारले नीतिहरु परिमार्जन गर्दा उद्योगी व्यवसायीहरुलाई मार पर्ने गरेको भन्दै निजी क्षेत्रका लागि स्थिर नीति आवश्यक रहेको बताए । उद्योगी व्यवसायीहरुले सरकारले निजी क्षेत्रमैत्री स्थिर नीति बनाए मात्रै अर्थतन्त्र चलायमान बनाउने गरी निजी क्षेत्रको मनोबल उच्च हुने बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका लागि स्थिर नीतिको आवश्यकता रहेको बताए । बजेट आउँदा एक राजनीतिक पार्टीले अघि सारेका नीतिहरु अर्काे पार्टीको सरकार आउँदा परिवर्तन हुने प्रवृत्तिले निजी क्षेत्र निरास रहेको भन्दै यस्तो पद्धतिको अन्त्य हुन आवश्यक रहेको उल्लेख गरे । राजनीतिक दलहरुले अर्थतन्त्रको एजेण्डालाई प्रमुख प्राथमिकतामा राख्न जरुरी रहेको उल्लेख गरे । अध्यक्ष ढकालले बजेटमार्फत नयाँ चरणको आर्थिक सुधार हुनुपर्छ भनेर सुझाव दिएका कारण बजेटमा निजी क्षेत्रका केहि सुझावहरु समेटिएको बताए । सरकारले नीतिहरुमा स्थायित्व कायम नगरेकै कारण धेरै उद्योगी व्यवसायीहरु पलायन हुनुपर्ने अवस्था आएको बताए । निजी क्षेत्रका उद्योगी व्यवसायीहरुलाई माथि उकास्न सरकारले बजेटमार्फत निश्चित कोष बनाउन जरुरी रहेको जानकारी दिए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले व्यवसायीको मनोबललाई गिराएर राजश्व संकलन वृद्धि हुन नसक्ने बताए । सरकारले हरेक वर्ष करका दर हेरफेर गर्ने भन्दा पनि नीतिगत स्थिरता कायम गर्न आवश्यक रहेको जानकारी दिए । हरेक वर्ष नीतिहरु परिमार्जन गर्दा निजी क्षेत्रको मनोबल कमजोर भएकाले अस्थिर नीतिले निजी क्षेत्रको मनोबल उकालो लाग्न नसक्ने उल्लेख गरे । उनले पछिल्लो समय सरकारले राजश्व संकलनको लक्ष्य ठूलो लिएपनि सोही अनुसार व्यवसायीको आत्मबलमा ठेस पुग्ने काम गरिरहेको बताए । व्यवसायीहरुको मनोबल राज्यले बनाउँदा राज्यलाई नै राजश्व संकलनमा असर परेको बताए । आलु प्याजमा लागेको भ्याटका कारण व्यवसायीले नेपाली र विदेशी प्याज छुट्याउन मुस्किल भएको अवस्थामा सरकारले भ्याट हटाउन स्वागतयोग्य काम गरेको जानकारी दिए । अध्यक्ष अग्रवालले बजेटले मुलुकमा आयात प्रतिस्थापन र निर्यात बढाउने नीति लिन सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिए । उनले नक्कली भ्याट विल जारी गर्नेलाई कारबाही हुनुपर्ने भन्दै उद्योगसँग सम्बन्धितसबैलाई यसमा जोड्न नहुने जानकारी दिए । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योग, व्यवसायमैत्री कानूनहरु समयानुकुल परिवर्तन गरिनुपर्नेमा जोड दिए । बजेटले नयाँ सुधारको कार्यक्रम अघि बढाउने कार्यक्रमले निजी क्षेत्रको मनोबल बढाउने बताए । यो कार्यक्रमबाट पर्यटन उद्यमशिलता बढाई मुलुकमा रोजगारी सिर्जना गर्ने लगायतका क्रियाकलापहरु बजेटका समेटिनु सकारात्मक भएको जानकारी दिए । विभिन्न ऐन तथा नियमावलीमा समायनुकुल परिवर्तन गर्ने कुरालाई बजेटले समेटेकाले स्वागत गरिएकोसमेत बताए । अध्यक्ष अग्रवालले बजेटमा भनिएका नयाँ र सुधारात्मक कानूनहरु तत्काल ल्याउनुपर्ने भन्दै सूचना प्रविधिलाई जोड दिएर गरिएको घोषणाका कारण निजी क्षेत्र उत्साहित रहेको उल्लेख गरे । उनले पछिल्लो समय उद्योगीको मनोबल गिरेको बताउँदै बजारमा मन्दी छाएको र यही बेलामा सरकारले बजेटमार्फत केही वस्तुको कर बढाइदिँदा झन समस्या थपिएको बताए । अर्थतन्त्रलाई चलायमान बनाउनेगरी बेलैमा नसोचे बजेटमा घोषणा गरिएअनुरुपको आर्थिक वृद्धिदर हासिल गर्न अफ्ठारो हुनसक्ने आँकलन गरे ।

ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डबाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड इन्फोसिस फिनाकलको प्रोसेस इनोभेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ । इन्फोसिस फिनाकलद्वारा आयोजित उक्त अवार्ड कार्यक्रममा ग्लोबल आइएमई बैंकलाई इन्ट्रिग्रेसन अफ सेक्युरिटी डिपोजिट लकर इसुयन्स एण्ड इकमर्स कार्ड इसुयन्स विधामा उत्कृष्ट बैंकको रुपमा सम्मान गरिएको हो । आफ्नो कोर बैंकिङ सफ्टवेयरको लागि फिनाकल प्रयोग गर्दै आइरहेको ग्लोबल आइएमई बैंक नविनतम सेवाहरु सहितको सुरक्षित र भरपर्दो बैंकको रुपमा परिचित छ । ग्लोबल आइएमई बैंकले पाएको यस सम्मानले बैंकलाई आउँदा दिनमा थप नवीन र अत्याधुनिक प्रविधिका बैंकिङ सफ्टवेयरहरु प्रयोग गर्दै सबैका लागि सुरक्षित र सहज बैंकिङ सेवा प्रदान गर्न थप हौसला मिलेको बैंकले जानकारी दिएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

एनआईसी एशिया बैंकले पायो ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’

काठमाडौं । ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवर्द्धन गरिरहेको एनआईसी एशिया बैंक प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ सम्मानित भएको छ । बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै एनआईसी एशिया बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो । अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदायक इन्फोसिस फाइनान्सले हरेक वर्ष आयोजना गर्ने ‘इनोभेसन अवार्ड्स’ अन्तर्गत सन् २०२४ का लागि एनआईसी एशिया बैंक सम्मानित भएको हो । नेपालको डिजिटल बैंकिङ सेवामा इनोभेटिभ र उत्कृष्ट प्रोडक्ट आईसर्भ ल्याएर अन्तर्राष्ट्रिय स्तरको अनलाइन बैंकिङ सेवा प्रदान गरे वापत यस बैंक २०० आवेदनहरुबीच छानिएको हो । १० विधामा छनोट गरिएकोमा एनआईसी एशिया बैंक इनोभेसन विधामा सम्मानित भएको हो । आईसर्भ एनआईसी एशिया बैंकले ल्याएको नेपालको उत्कृष्ट डिजिटल प्लेटफर्म हो । जसले भौतिक रुपमा बैंकको शाखा कार्यालय नपुगी आफ्नै घर वा कार्यालयबाट डिजिटल बैंकिङ सेवा उपभोग गर्ने सुविधा उपलब्ध गराएको छ । जहाँबाट ग्राहक सेवा, भुक्तानी, कार्ड सेवा, डकुमेन्ट भेरिफिकेसन, मोबाइल बैंकिङ सेवा, टेलर सेवा, अनलाइन सेवाहरु, मर्चेन्ट सेवाहरु तथा ट्रेड सेवाहरु जस्ता मुख्य डोमेनबाट अधिकांश डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

बालकुमारीमा डोङफेङ ईभीको नयाँ शोरुम

काठमाडौं । त्रिवेणी मोटोकर्प प्रालिले ललितपुरको बालकुमारीमा सोमबार डोङफेङ इलेक्ट्रिक भेहिकल्सको लागि शोरुमको शुभारम्भ गरेको छ । त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्प, चीनको डोङफेङ अटोमोबाईल कम्पनी लिमिटेडबाट आधिकारिक वितरक नियुक्त भए पश्चात् कम्पनीले इलेक्ट्रिक भेहिकलहरु आयात गरी बिक्री वितरण सुरु गरेको हो । कम्पनीका अनुसार डोङफेङ अटोमोबमईल कम्पनी लिमिटेड चाइनाको ३ ठूला गाडी निर्माता मध्येका एक रहेको र विश्वका ६० देशहरुमा बिक्रि वितरण हुँदै आएको छ । हाल त्रिवेणी मोटोकर्पले सो कम्पनीका ११ सिट, १४ सिट क्षमताको डोङफेङ इलेक्ट्रिक प्यासेन्जर भ्यान र ४.५ तथा ५. ३ घनमिटर क्षमताको कार्गो भ्यानहरु बिक्रि वितरण सुरु गरेको छ । बिजुली गाडीको प्रर्वधन मार्फत् वातावरणीय सुधारको क्षेत्रमा योगदान गरी यातायात क्षेत्रमा आवद्ध सवै पक्षको समान लाभको लागी कार्य गर्ने उद्देश्य त्रिवेणी मोटोकर्पले लिएको जनाएको छ । ११ सिट क्षमताको ईभी माइक्रोमा ५० किलोवाट क्षमताको मोटर रहेको छ तथा ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा ३०० किमी रेज प्रदान गर्दछ । त्यसैगरी १४ सिट क्षमताको ईभी माइक्रोमा ८० किलोवाट क्षमताको मोटर रहेको छ भने ५० किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा ३०० किमीको रेज प्रदान गर्दछ । डोङफेङका सबै इलेक्ट्रिक भ्यानहरुमा सिएटीएल व्याट्रि जडित रहेका छन् । कम्पनीले उक्त रेञ्जहरु ४० किमी प्रती घण्टाको गतीमा गाडी चलाएमा प्राप्त गर्न सकिने जनाएको छ भने बाटोको अवस्था, तापक्रमको आधार, चालकको ईभी संचालनको अनुभव तथा ट्राफिक अवस्था का आधारमा त्रिवेणी मोटोकर्पले रेञ्ज परिक्षण गर्दा २५० किमि को रेञ्ज सजिलै पाईने जनाएको छ । त्रिवेणी मोटोकर्प प्रालिले डोङफेङ इलेक्ट्रिक भ्यानहरु नेपाल भरि विक्री वितरण गर्नको लागि डिलर नेटवर्कहरुको व्यवस्था पनि गरिसकेको छ । सबै डिलर नेटवर्कहरुमा सर्भिस, पार्ट्स तथा चार्जरको व्यवस्था रहने कम्पनीले जनाएको छ । कम्पनीले ग्राहकहरुलाई चार्जिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ चार्जिङ्ग स्टेशनहरु आफ्ना डिलर नेटवर्कमा विस्तार गरिरहेको छ साथै भविष्यमा आवश्यकता अनुसार चार्जिङ्ग स्टेशनहरुको विस्तार गर्दै जाने क्रममा रहेको जनाएको छ । त्रिवेणी मोटोकर्पले विर्तामोडमा सहारा अटोमोवाईल्स प्रालि, ईटहरीमा ईष्टर्न मोटर्स प्रालि, जनकपुर तथा विरगञ्जमा नारायणी अटोकर्प प्रालि, पोखरामा अटोवेज प्रालि, धनगढीमा प्राप्ती मोटर्स प्रालि, नारायणघाटमा स्मार्ट अटो प्रालि, ललितपुरमा स्मार्ट अटो प्रालि, भक्तपुरमा जीइभी नेपाल प्रालि मार्फत आफ्ना गाडीहरुको बजारीकरण गरिने जनाएको छ । त्रिवेणी मोटोकर्पले बिक्री पछिको सेवालाई मध्यनजर गर्दै काठमाडौंको बाहुनधारा मन्दिर मार्ग, जोरपाटीमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापना गरिसकेको छ साथै आवश्यक पार्टस्हरुको व्यवस्था पनि गरिसकेको जनाएको छ । यसबाट बिक्री पछिको सेवालाई सुचारु गर्न प्रशिक्षित तथा अनुभवी सर्भीस टिमको पनि व्यवस्था गरिसकेको हुनाले ग्राहकहरुले ढुक्क सँग डोङफेङ गाडी छनौट गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले सर्भिस सम्वन्धि व्यवस्थाहरुको निरिक्षण तथा भ्रमण गर्न ग्राहकहरुसँग अनुरोध पनि गरेको छ ।

गाँजाको औषधी बेचेर २ खर्ब राजस्व उठाउन सकिन्छ : सांसद गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले आगामी वर्षको बजेटका लक्ष्यअनुसार राजस्व संकलन हुनेमा आशंका व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले राजस्व बढाउन करका दायरा र गैरकानुनी कारोबार बन्द गर्नुपर्ने धारणा राखे । सांसद गुरुङले बजेटमा समेटिएको गाँजाखेतीको विषयलाई कानुन बनाएर कार्यान्वयनमा लैजानुपर्ने भन्दै आफू कानुनमन्त्री हुँदा यसबारेमा कोसिस गरेको समेत स्मरण गरे । औषधीका रूपमा गाँजाखेती गर्न सकियो भने २ खर्ब र घरेलु मदिरालाई ब्रान्डिङ गरे थप २ खर्ब रुपैयाँ राजस्व संकलन गर्न सकिन्छ, त्यस्तै नेपालमा रहेका सात सय ३६ जातका जडीबुटीको व्यावसायिक खेती गरेर थप २ खर्ब रुपैयाँ आम्दानी गर्न प्रशस्त सम्भावना छ । यसतर्फ पनि सोच्न जरूरी छ,’ गुरुङ्ले भने । देश बनाउन सबै मिलेर अगाडि बढ्नुपर्ने, सत्तामा बस्दा र नबस्दा पनि देश बनाउने संकल्पका साथ काम गर्नुपर्ने उनको भनाइ छ । हिन्दू धर्मावलम्बीका लागि नेपाल तपोभूमि र बौद्धधर्मावलम्बीका लागि लुम्बिनी प्रसिद्धस्थल रहेको बताउँदै उनले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न लाग्नुपर्नेमा जोड दिए । सांसद गुरुङले बजेटमा ‘बर्थिङ हब’ भनेर आएको र अब ‘हनिमुन सिटी’ पनि बनाउनुपर्ने धारणा व्यक्त गरे । ‘घाटा बजेटलाई काम गर्न नयाँ उत्पादनका स्रोत खोज्नुपर्ने छ । यसैगरी बजेट कार्यान्वयन जाँदा सक्षम हुन्छ कि हुँदैन, बजेटका कतिपय बुँदामा रकम नै उल्लेख भएको देखिँदैन, यसर्थ यथार्थवादी भएर मूल्यांकन गर्नुपर्ने उनको भनाइ थियो ।