एनआरएन इन्फ्रास्टक्चरकाे केन्द्रीय कार्यालय स्थानान्तरण हुने
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय स्थानान्तरण हुने भएको छ । हाल काठमाडौं महानगरपालिका-७ स्थित चावहिल कम्प्लेक्स भवनको तेस्रो तल्लामा रहेको कम्पनीको केन्द्रीय कार्यालय स्थानान्तरण हुन लागेको हो । उक्त कार्यालय आगामी असार १ गतेदेखि काठमाडौं कमलादी-२८ मा रहेको कमलादी कम्प्लेक्स भवनको पहिलो तलामा स्थानान्तरण हुन लागेको हो ।
सर्वसाधारणका लागि प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिहीबार एक सूचना प्रकाशन गरी २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३० हजार १२० सय कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको हो । यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले सूचना प्रकाशित भएको ७ दिनभित्रआवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने लगानीकर्ताले कमलादी काठमाडौंमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।
धार्मिक पर्यटकीय केन्द्र बन्दै भरतपुरको गणेशधाम, ८० करोडको बृहत् गुरुयोजना तयार
नारायणगढ । भरतपुर महानगरपालिका–११ मा अवस्थित गणेशधाम भरतपुरको प्रमुख धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ । भरतपुरलाई चिनाउने ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलमध्ये गणेशधाम प्रमुख स्थान हो । ‘घुमौँ भरतपुर’ भन्ने मूल नाराका साथमा सञ्चालन भइरहेको ‘भरतपुर भ्रमण वर्ष २०२४’ मा भरतपुरको पर्यटन उकास्न यस क्षेत्रको प्रवर्द्धनले थप टेवा पुर्याएको छ । नेपाल एकीकरणका क्रममा चितवनवाट पश्चिमतर्फ एकीकरण अभियान सुरु गर्दा तत्कालीन नायब राजकुमार बहादुर शाह तथा गोरखाली सेनाले यहाँ पूजाअर्चना गर्दै अगाडि बढेको इतिहास रहेको गणेशधाम संरक्षण सम्वर्द्धन समितिका अध्यक्ष दिनेशकुमार चुके बताउँछन्। चुकेका अनुसार तत्कालीन पाल्पा राज्यका प्रतापी राजा मणि मुकुन्द सेनले विसं १५४१ तिर देवघाट धाममा तपस्या गरी बस्न आएको र देवघाटमै आफ्नो जीवनका १२ वर्ष व्यतीत गरेका थिए । त्यस क्रममा देवघाटमा केही देवस्थल थप्नुका साथै भरतपुरको बागीश्वरी, गणेशस्थान, कैलाशनाथ महादेव, जखडीमाई देवीस्थान आदिमा पूजाअर्चना गरी गणेशस्थानमा ऐतिहासिक इनार निर्माण गरेको र गैँडाकोटमा मौलाकालिका माताको मूर्ति स्थापना गरेको किंवदन्ती छ । यहाँ रहेको सिद्धिविनायकको शिला पौराणिक रहेको र राजामणि मुकुन्द सेनले पूजा आराधना गरेको गणेश पुराण तथा पद्म पुराणमा उल्लेख छ । चुकेले भने, ‘पहिले चितवनमा अहिले जस्तो बस्ती विकास भएको थिएन पछि बाहिरबाट आएका व्यक्तिहरुलाई यसबारे थाहा हुने कुरा भएन यसको संरक्षणमा चुनौती भएको हुनाले हाल समितिमार्फत संरक्षणमा हामी जुटेका हौँ ।’ उनले यहाँ भाकल गरेको पुग्ने, विवाह, व्रतबन्ध, सवारीसाधनको पूजा गर्दा शुभ हुने अटल विश्वास रहेकाले अन्य जिल्लाबाट पनि भक्तजनको बाक्लो उपस्थिति हुने गरेको बताए । उनले भने, ‘विगतमा यहाँ लगनका बेला ५०–६० वटासम्म विवाह, व्रतबन्ध हुन्थ्यो तर आजकाल पार्टीप्यालेसमा विवाह व्रतबन्ध गर्ने प्रचलनले यहाँ कम हुने गरेको छ ।’ समितिका कोषाध्यक्ष रेशमलाल सापकोटाले विगतमा देवघाट क्षेत्र विकास समिति र गणेशस्थान टोलविकास संस्थाले यस क्षेत्रको संरक्षण र विकास गर्दै आएको जानकारी दिए । विसं २०६६ मा गणेशस्थान मन्दिर क्षेत्र संरक्षण सम्वर्द्धन समितिका नामबाट विधिवत् दर्ता गरी विसं २०६७ मा जिल्ला वनकार्यालय चितवनबाट दुई दशमलव ४३ हेक्टर जमिन धार्मिक वनका नाममा दर्ता भएको र विसं २०७५ देखि गणेशधाम संरक्षण सम्वर्द्धन समितिले सरकार तथा दाताहरुको सहयोगमा यस क्षेत्रको निरन्तर विकास र प्रवर्द्धन गरिरहेको उनले बतए । ऐतिहासिक गणेशस्थानलाई गणेशधामका रूपमा विकास गर्न नवजागृति सामुदायिक वन उपभोक्ता समूह र जलदेवी सामुदायिक वन उपभोक्ता समूहसगँको समन्वय र समितिका संरक्षक तथा बागमती प्रदेश सरकारका पूर्वसामाजिक विकासमन्त्री विजय सुवेदीको पहलमा २९ दशमलव ४७ हेक्टर जमिनमा ८० करोड रुपैयाँकाे बृहत गुरुयोजना तयार गरिएको छ । गणेशधाममा कमलेश्वर महादेव, पशुपतिनाथ, चण्डेश्वरी, सरस्वती, मनकामना, सन्तोषीमाता, विश्वकर्मालगायतका मन्दिर छन् । धामको तलतिर पुण्यवती जलाशय क्षेत्र रहेको छ । २२ बिघा क्षेत्रफलमा रहेको जलाशयको बाँधका लागि वाग्मती प्रदेश सरकारबाट ४ करोड १६ लाख रुपैयाँको लागतमा चार मिटर अग्लो र ३० मिटर लामो बाँध र ४० मिटर पर्खाल निर्माणको अन्तिम चरणमा पुगेको छ । जलाशयको शिरमा कैलाश पर्वत निर्माणधीन अवस्थामा छ । जलाशयबीचमा पर्ने सौन्दर्यकरणका लागि भरतपुर महानगरपालिकाबाट पूर्वाधार निर्माण भइरहेको उनले जानकारी दिए । अध्यक्ष चुकेले गणेशधामलाई गणेश अनुसन्धान केन्द्र तथा गणेश सङ्ग्रहालयका रूपमा विकास गर्ने बताए ।
विद्यार्थी संख्या घटेपछि कालीकोटका १७ विद्यालय समायोजन
मान्म । कालीकोटको नरहरिनाथ गाउँपालिकाले १७ वटा विद्यालय समायोजन गरेको छ । विद्यालयमा विद्यार्थीको संख्या कम भएका विद्यालयलाई नजिकैको अर्को विद्यालयमा समायोजन गरेको हो । विसं २०७४ देखि स्थानीय सरकारले सुरु गरेको विद्यालय समायोजन हाल आएर कार्यान्वयन भएको हो । गाउँ शिक्षा समितिको जेठ १७ गतेको निर्णय र गाउँ कार्यपालिकाको १८ गतेको निर्णयअनुसार १७ विद्यालय नजिकैको अर्को विद्यालयमा समायोजन गरिएको युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख दुर्गलाल न्यौपानेले बताए । ‘तीन वटा बालविकास केन्द्रसहित १७ विद्यालय समायोजन गर्ने निर्णय भएको थियो,’ उनले भने, ‘११ विद्यालयको हकमा बालविकास केन्द्र मात्र राखेर अरु कक्षा समायोजन गरिएको छ ।’ तीन वटा बालविकास केन्द्र नजिकको विद्यालयमा समायोजन गरिएको र कक्षा ८ सम्म सञ्चालन भएका तीन वटा विद्यालय कक्षा ६ देखि ८ सम्म समायोजन गरिएको र बाँकी पाँच कक्षामुनिकालाई यथावत राखिएको न्यौपानेले जानकारी दिए । ‘विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएपछि विद्यालय तथा कक्षाकोठा समायोजन गर्नुपरेको हो,’ उनले भने, ‘गाउँपालिकाका–१ देखि ९ सम्मकै विद्यालय समायोजन गरिएको छ ।’ लामो समयको छलफलपछि विद्यालय समायोजनको योजना कार्यान्वयनमा आएको गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताए । ‘सरकारी विद्यालयमा पढ्ने विद्यार्थी विस्तारै संस्थागत विद्यालय पढ्नका लागि सहर जान थालेपछि सरकारी विद्यालयमा विद्यार्थी सङ्ख्या घटिरहेको छ,’ उनले भने, ‘विद्यालयमा विद्यार्थी सङ्ख्या घटेका कारण विद्यालयका साथै कक्षाकोठा समायोजन गर्नु परेको हो ।’ ्विद्यालय र कक्षाकोठा समायोजन भए पनि शिक्षकको दरबन्दी यथावत रहने र समायोजन भएकै विद्यालयमा सरुवा हुने व्यवस्था मिलाएको गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडाध्यक्ष प्रदीप बोहोराले बताए ।
स्रोत नखुलेको ६९ लाखसहित भक्तपुरबाट चार चिनियाँ नागरिक पक्राउ
भक्तपुर । स्रोत नखुलेको अवैध रकम बोकेर काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेका चार जना चिनियाँ नागरिकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने चिनियाँ नागरिक ३२ वर्षीय जेहाङ युआन, ५० वर्षीय निङ छिलिन, २४ वर्षीय क्यूओ होर्यान र ३६ वर्षीय डिना लैयु रहेका छन् । बुधबार सूर्यविनायक नगरपालिका‐१० भातेढिकुरस्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगातीतर्फ आउँदै गरेको बा७०प २८७२ नंको ट्याक्सी रोकेर प्रहरीले चेकजाँच गर्ने क्रममा चार चिनियाँ नागरिकको साथबाट स्रोत नखुलेको ६९ लाख पाँच हजार रुपैयाँसहित पक्राउ गरिएकाे हाे । उनीहरूलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय भक्तपुरलाई बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।
नाट्टाको अध्यक्षका लागि थपलियाको उम्मेद्वारी घोषणा, अघि सारे महत्वपूर्ण २० प्रतिवद्धता
काठमाडौं । टूर एन्ड ट्राभल व्यवसायीहरूको छाता संस्था नेपाल टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)को अध्यक्षका लागि कुमारमणी थपलियाले उम्मेदवारी घोषणा गरेका छन् । जेठ २५ गते हुने नाट्टाको निर्वाचनका लागि थपलियाले उम्मेदवारी घोषणा गरेका हुन् । उनले २० बुँदे प्रतिवद्धताहरू सार्वजनिक गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । उनी हालका महासचिव हुन् । त्यसअघि उनी कोषाध्यक्ष थिए । थपलिया प्यानलबाट वरिष्ठ उपाध्यक्षमा जिस्वान तुलाधर श्रेष्ठ, उपाध्यक्षमा धनश्याम घिमिरे, महासचिवमा युविका भण्डारी, सचिवमा विष्णु पाण्डे, कोषाध्यक्षमा सुरेश अमगाईं र सहकोषाध्यक्षमा ढकनाथ काफ्लेको उम्मेदवारी परेको छ । यस्तै, सदस्यहरुमा स्भोवित नायक, श्रदा जोशी, कृष्णप्रसाद ढकाल, विदुर प्रसाद खतिवडा, सुदर्शन पौडेल, कृष्णप्रसाद ढकाल, विजय रिजाल र रमाकुमारी प्याकुरेलले उम्मेदवारी दिएका छन् । पर्यटन क्षेत्रमा लामो समयदेखि त्रियाशिल थपलियाले पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्दनका लागि महत्वपूर्ण २० वटा प्रतिवद्धताहरू अघि सारेका छन् । यस्ता छन् प्रतिवद्धताहरू : १. नेपाल सरकारले सरोकारवाला निकायहरूसँग छलफल गरी राष्ट्रिय सभाबाट पारित भई हाल प्रतिनिधि सभामा बिचाराधीन रहेको पर्यटन ऐन यथाशिघ्र पारित गराउन नेपाल सरकारको ध्यानकर्षण गरिनेछ । २. विदेशी मुद्रा आर्जन गर्ने अन्य क्षेत्रका निजी व्यवसायीहरूलाई राज्यले केही प्रतिशत रिबेट उपलब्ध गराइरहेको सन्दर्भमा विदेशी पर्यटकलाई टुर प्याकेज बिक्री गरी राज्यलाई विदेशी मुद्रा बुझाइरहेको पर्यटन क्षेत्रका व्यवसायी कम्पनीहरूलाई पनि प्रोत्साहन स्वरूप केही प्रतिशत रिबेट उपलब्ध गराउन पहल गरिनेछ । ३. हवाई तथा सडक यातायत सेवा लगायत पर्यटन क्षेत्रबाट बिक्री हुने प्याकेजमा हाल लगाएको भ्याट हटाउनु पर्ने सम्वन्धमा यस एशोशियसनले विगत देखि अघि सारेको माग पुरा गराउनको लागि प्रभावकारी पहल गरिने छ । साथै हाल नाट्टाले भ्याट विरूद्ध शुरू गरेको कानूनी लडाईलाई निरन्तरता दिइनेछ । ४. पर्यटन उद्योगलाई राष्ट्रिय उद्योगको मान्यता दिलाउन पहल गरिने छ । ५. यात्रा गन्तब्यको लागि नेपालबाट उडान गर्ने यात्रुहरूको हवाई टिकट धेरै विदेशी मुलुकबाट जारी हुने हुँदा नेपालको टिकेटिङ्ग व्यापार धरासायी भइरहेको अवस्थामा सोको सम्बोधन हुने गरी आवश्यक पहल गरिनेछ । ६. गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट क्षेत्रिय तथा अन्तर्राष्ट्रिय उडानसहितको कनेक्टिभिटी बढाउनको लागि पहल गरिनेछ । ७. राजधानी लगायत अन्य मूख्य पर्यटकीय नगरीहरूमा पर्यटन बसपार्कको व्यवस्था गर्न पहल गरिनेछ । ८. अन्तर्राष्ट्रिय हवाई टिकेटिङ्गमा देखा परेका समस्याहरू जस्तै भोइड चार्ज र नन रिफण्डेवल टिकट जस्ता विषयमा देखिएका समस्या समाधानको लागि पहल गरिने छ । साथै सबै अन्तराष्ट्रिय टिकटलाई कमिसनयोग्य बनाउन हर सम्भव प्रयास गरिनेछ । ९. विदेशी हवाई कम्पनीहरू आकस्मिक रूपमा बन्द हुँदा जारी भइसकेका तर यात्रा नभएको हवाई टिकटको रिफण्ड प्रक्रिया अवरुद्ध भई यात्रु तथा व्यवसायीहरूलाई आईपर्ने समस्या समाधानका लागि, हवाई संचालन अनुमतिकै समयमा सम्वन्धित हवाई कम्पनीले सेक्युरिटी फण्डको व्यवस्था गरेको हुनुपर्ने सम्बन्धमा नेपाल सरकारले पहल गर्नु पर्ने बारे आवश्यक पहल गरिनेछ । १०. अन्तर्राष्ट्रिय रूपमा नेपाल पर्यटन बोर्ड सँगको सहकार्यमा यस संघले आफ्ना सदस्य कम्पनीहरूको सहभागिता सहित भारत, चीन तथा यूरोप लगायत विश्यका अन्य शहरहरूमा आयोजना गर्ने गरेको सेल्स मिसन, रोड शो, बिटुबी लगायतका प्रवद्र्धन तथा बजारीकरणका कार्यक्रमहरूलाई थप प्रभावकारी रूपमा आयोजना गर्ने र देश भित्रै यस संघले शुरू गरेको अन्तर्राष्टि बुद्धिष्ट पर्यटनलाई समेत निरन्तरता दिँदै संचालन गरिनेछ । ११. आउटबण्ड टुरमा संलग्न हुने नेपाली यात्रुहरूले राज्यबाट प्राप्त गर्ने विदेशी मुद्राको सीमा सुविधा कतिपय गन्तब्य भ्रमणको लागि प्रयाप्त छैन । यसर्थ तुलनात्मक रूपमा बढी खर्चालु भ्रमण गन्तब्यको हकमा नेपाली यात्रुहरूले पाइरहेको विदेशी मुद्राको वर्तमान सीमा सुविधामा वृद्धि गर्नका लागि पहल गरिनेछ । १२. सरकारी तथा गैर सरकारी निकायहरूको सहकार्यमा संघका सदस्यहरूका लागि सीपमूलक प्रविधिमैत्री तालिमहरू संचालन गरिनेछ । १३. गन्तब्य मूलुकहरूमा यात्रा गर्ने नेपाली यात्रुहरूको पासपोर्ट, भिसा लगायत अन्य कागजातहरूमा देखा पर्ने कैफियतका कारण विमानस्थलबाट डिपोर्ट भएको अवस्थामा अन्तर्राष्ट्रिय हवाई टिकट काटेको कारणले मात्र ट्राभल एजेन्सीहरूलाई आई पर्ने विभिन्न कानूनी समस्याहरूलाई समाधान गर्न नेपाल सरकार तथा हवाई कम्पनीसँग आवश्यक समन्वय गरिनेछ । १४. नाट्टा सचिवालयको वर्तमान क्षमता र प्रभावकारितालाई समयको माग सँगै थप सुदृढ र व्यवस्थित गरि संघ र सदस्यहरूको बिचमा समन्वय र सूचना प्रवाह गरिनेछ । १५. टुर प्याकेज बिक्री तथा खरिद गर्दा भारत, बंगलादेश, भियतनाम जस्ता देशहरूसँगको भुक्तानी कारोबारमा देखिएको असहज अवस्थाको दिर्घकालीन समाधानको लागि पहल गरिनेछ । १६. नेपाल स्थित विदेशी कुटनितिक नियोगहरू र विदेशमा रहेका नेपाली कुटनितिक नियोगहरूसँग सम्वन्य गरी विश्व बजारमा नेपालको पर्यटन प्रवद्र्धनका लागि आवश्यक पहल गरिने छ । १७. एपीजेसी कमिटीलाई सक्रिय बनाई आईएटीएसँग समन्यव गरी समस्याहरूको समाधान गर्न पहल गरिनेछ । १८. आईएटीएमा बैक जमानत राखी अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनीको टिकेटिङ्ग कारोबार गर्न भुक्तानी लिएका सबै ट्राभल कम्पनीलाई अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनीको अनिवार्य क्यापिङ सुविधा दिने वातावरण निर्माण गर्न पहल गरिने छ । १९. नेपालको पर्यटन क्षेत्रले छिमेकी राष्ट्रहरू सँग प्रतिस्पर्धा गरिरहनु परेको, हाम्रोभन्दा छिमेकी देशका ट्राभल टुर कम्पनीहरूले सस्तो प्याकेज बिक्री गरिरहेको सन्दर्भमा हाम्रा छिमेकी प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गरी धेरै भन्दा धेरै पर्यटक भित्राउन आवश्यक छ । यसर्थ भन्सार छुट सुविधासहित हाल आयात गरिने पर्यटक सवारी साधनहरूमा सम्बन्धित कम्पनीहरूले आर्जन गरेको विदेशी मुद्राको सीमा घटाई थप व्यवसायमैत्री प्रावधानको व्यवस्थाका लागि पहल गरिने छ । २०. पर्यटन सम्बन्धी व्यवसाय गर्ने कम्पनीहरूको नाममा दर्ता भएका रातो नम्बर प्लेटका सवारी साधनहरूलाई बिना अवरोध पर्यटक सेवामा प्रयोग गर्न पाउने र इम्बोस्ट नम्बर प्लेट जडान गर्दा पर्यटक सवारी साधनका लागि हाल उपलब्ध गराउने गरिएको हरियो रंगको प्लेट हुनुपर्ने ।
लघुवित्तका अध्यक्षसँग राष्ट्र बैंककाे हार, ईगो साँध्न गरिएको कारवाही आफ्नै लागि भारी
काठमाडौं । साविक मिर्मिरे लघुवित्त वित्तीय संस्थाका अध्यक्ष टेकबहादुर बोहराले न्याय पाएका छन् । बैंक तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैंक विरूद्धको मुद्दामा बोहराले न्याय पाएका हुन् । राष्ट्र बैंकले लघुवित्त संस्थाको सञ्चालक समेत बन्न नपाउने गरी बोहरालाई कारवाही गरेको थियो । राष्ट्र बैंकको सो कदम विरूद्ध बोहराले वि.सं २०८० भदौ २१ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका थिए । बुधबार उच्च अदालतका न्यायाधिश अन्जु उप्रेती ढकाल र प्रकाश खरेलको संयुक्त इजालशले राष्ट्र बैंकको उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएकाे हो । राष्ट्र बैंकले वि.सं २०८० असार ४ गते साविक मिर्मिरे लघुवित्तका अध्यक्ष हुँदा बोहरालाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (ग) बमोजिम तपाईंलाई ५ लाख रुपैयाँ जरिवाना र ५ वर्षका लागि सञ्चालक बन्न नपाउने गरी कारबाही गरेको भन्दै पत्र काटेकाे थियाे । त्यसपछि उनी पदमुक्त भएका थिए । राष्ट्र बैंकको सो कदमप्रति असन्तुष्टि जनाउँदै उनी अदालत पुगेका थिए । अदालतको निर्णयपछि बोहराले नेपाल राष्ट्र बैंकको अपरिपक्क निर्णय भएको र ढिलै भएपनि न्याय पाएको प्रतिक्रिया दिए । ‘नेपाल राष्ट्र बैंकको अपरिपक्क निर्णयलाई उच्च अदालत पाटनको आदेशबाट बदर भई ढिलै भएपनि न्याय पाएकोमा न्यायलयप्रति उच्च सम्मान छ,’ उनले भने, ‘अब क्षतिपूर्तिका लागि लड्नेछु ।’ राष्ट्र बैंकले यसअघि लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख रहेका कार्यकारी निर्देशक रेवति प्रसाद नेपाललाई इन्टर्नल अडिट डिपार्टमेन्टमा सरुवा गरिसकेको छ भने कार्यकारी निर्देशक बिमल राज खनाललाइ लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुखको जिम्मेजारी दिएको छ । सम्बन्धित सामग्री : राष्ट्र बैंकको ईडी र सीईओको साँठगाँठले अध्यक्ष पद खोसियो !
रास्वपाका सांसदलाई अर्थमन्त्रीको इग्नोर, बजेटमा उठाएका प्रश्नको दिएनन् जवाफ
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई इग्नोर गरेका छन् । अहिले आगामी आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुँदा (रास्वपा)का नेताहरूले उठान गरेको प्रश्नको अर्थमन्त्री पुनले अवज्ञा गरेका हुन् । अर्थात् रास्वपाका अधिकांश सांसदहरूले राखेका प्रश्नको उनले जवाफ नदिएर टारेका हुन् । पछिल्ल्लो दुई/तीन दिनदेखि प्रतिनिधि सभा बैठक र राष्ट्रिय सभाको बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भइरहेको छ । छलफलमा राजनीतिक दलका अधिकांश सांसदहरूले सहभागिता जनाइरहेका छन् । छलफलमा भाग लिएका अधिकांश सांसदहरूको लिखित तथा मौखिक रूपमै जवाफ दिँदा अर्थमन्त्रीले रास्वपाका अधिकांश सांसदको जवाफ दिएका छैनन् । जेठ २२ गते रास्वपाका दुई सांसदले जवाफको विषयमा धारणा राखेका थिए । अर्थमन्त्री पुनले औपचारिक रुपमा सार्वजनिक गरेको वक्तव्यपमा पनि सांसल स्वर्णिम वाग्ले र तोसिमा कार्कीले २२ गते राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा भाग लिँदै अर्थमन्त्रीलाई प्रश्न गरेका थिए । सांसद तोसिमा कार्कीको जिज्ञासा । कार्कीले छलफलमा भाग लिँदै चालु खर्च बढ्दै गएको र पुँजीगत खर्चको ट्रेण्डमा सरकारको प्राथमिकता, निःशुल्क ईन्टरनेट सेवा पुर्र्याउन सके मात्र सुचना प्रविधि दशकको लक्ष्य संभव होला ? स्वास्थ्य क्षेत्रमा बजेट कम भएको, स्वास्थ्य बीमा, स्वास्थ्य सेवा शुल्क निर्धारण हुनुपर्ने लगायतका जिज्ञासा राखेकी थिइन् । तर, अर्थमन्त्री पुनले यस विषयमा कुनै पनि जवाफ दिएका छैनन् । अन्य पार्टीका सांसदको जवाफ दिँदा अर्थमन्त्रीले रास्वपाकी सांसद डाँगीको प्रश्नमा भने जवाफ दिएका छैनन् । यस्तै, जेठ २० गते २० वटा सांसदले छलफलमा भाग लिएका थिए । त्यो छलफलमा रास्वपाकी सांसद निशा डाँगीले पनि सहभागिता जनाएकी थिइन् । डाँगीले कर विश्लेषणमा एआईको प्रयोग र सडक दुर्घटना न्युनीकरणभन्दा सरकार क्षतिपुर्तिमा केन्द्रित भएको विषयमा प्रश्न राखेकी थिइन् । छलफलमा सहभागी सबै सांसदको जिज्ञासाको जवाफ दिँदा अर्थमन्त्री पुनले डाँगीको जिज्ञासाको भने जवाफ दिएका छैनन् । जेठ २० गते पनि संसदमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएको थियो । सो छलफलमा कुल २७ जना सांसदले सहभागिता जनाएका थिए । जसमा रास्वपाका दुई जना सांसदले आफ्नो धारणा राखेका थिए । सांसद मनिष झा र गणेश पराजुलीले संसदमा आफ्नो जिज्ञासा राखेका थिए । अर्थमन्त्रीले पराजुलीको जिज्ञासाको जवाफ दिएका छन् भने झाको प्रश्नको जवाफ दिएका छैनन् । सांसद झाले बजेटमा संलग्न निकायबिच समन्वयको कमी छ सुधार गर्नुपर्ने, संस्थागत संयन्त्रको क्षमता अभिवृद्धिको लागि बजेट छुट्याईएको नपाइएको, स्पन्ज र बिलेटमा गरिएको कर हेरफेरले ३७ अर्ब लगानी जोखिममा परेको र स्थानीय बजारमा रहेको श्रोत सरकारले आन्तरिक ऋणको रुपमा लिँदा शेयर मार्केटमा परिसकेको निजी क्षेत्रको मनोबलमा असर परेकोले पुनर्विचार गर्नुपर्ने जिज्ञासा राखेका थिए । तर, यी कुनै पनि जिज्ञासाको जवाफ अर्थमन्त्रीले दिएका छैनन् । उनले ती दिनको अवधिमा रास्वपाका ६जना सांसदले छलफल मा भाग लिँदै जवाफ माग गरेका थिए । तर, अर्थमन्त्रीले दुई जनाको मात्रै जवाफ दिएको देखिन्छ ।