विकासन्युज

जलवायु परिवर्तनले बालबालिकामा दमको रोग बढ्दै

पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपाल सहित विश्वभर वायुप्रदुषण बढ्दै गएको छ । वायुप्रदुषण र जलवायु परिवर्तनका कारण मौसम समेत राम्रो हुन सकेको छैन । धुवाँ, धुलो, वायुप्रदुषण, वंशाणुगत गुण, घरमा धूम्रपान, मोटोपना, कम तौल जन्मिनु आदि कारणले बालबालिकामा दमको समस्या अत्याधिक बढेको पाईन्छ । ग्राण्डी अस्पतालमा आउने १०० जना विरामी मध्ये ५ देखि १० जना विरामी दमका हुने गरेको छ । बालबालिकामा मौसम परिवर्तन, चिसोका कारण, रूघाखोकि, भाईरल ज्वरो हुँदा, श्वासप्रश्वास नली साँघुरिंदा दमको समस्या हुने गरेको छ । श्वासप्रश्वास नली साँघुरिंदा खोकी बढी मात्रामा लाग्ने समेत गर्दछ । रुघाखोकी बारम्बार लाग्ने, सुत्ने र उठ्ने बेलामा लाग्ने, दौडिँदा, हाँस्दा, खेल्दा बोल्दापनि बढी खोकी लाग्ने, एन्टिवायोटिक खादाँ एक दुई हप्ता ठिक हुने र बल्झिने, घ्यारघ्यार आवाज आउने यस्तो भएमा दम भएको हुनसक्छ । यस्तो भएमा तत्काल विशेषज्ञ चिकित्सककोमा लैजानुपर्छ । दमलाई औैषधीले ठिक गर्ने होइन, ठिक समयमा दम भएको पत्ता लागेमा दमको उपचार गर्न सकिन्छ । अन्यथा, दम दिर्घरोग भएर जान सक्छ । दमबाट हुने समस्यालाई कम गर्न इन्हेलरको प्रयोग गर्न सकिन्छ । इन्हेलर विभिन्न खालका हुन्छन् । जसलाई डाक्टरको सल्लाह बमोजिम प्रयोग गर्नु पर्ने हुन्छ । बच्चाहरूमा मुख्यत दम एलर्जीबाट हुने हुंदा ठीक संग औषधी लिएमा पछी गएर आफै हराउँन सक्छ र लामो समय इन्हेलर लिइ रहनु पर्ने आवश्यकता रहँदैन । दमका विरामीबाहेक अस्पताल आउने अन्य विरामीमा रुघाखोकी, निमोनिया, टन्सिलाइटिस र ज्वरोका विरामी बढी आउने गरेका छन् । रुघाखोकीका विरामी अत्याधिक रुपमा बढेको छ । बिरामी बच्चाहरु स्कुलमा पठाउँदा अन्य बच्चा समेत विरामी हुने गरेको पाइन्छ । मौसम परिवर्तन र खानपानमा विशेष ध्यान नदिँदा श्वासप्रश्वासका विरामी अत्यधिक बढेका छन् । (बाल, एलर्जी तथा दमरोग विशेषज्ञ डा. सञ्जयराज थापा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल कार्यरत छन् )

अस्ट्रेलियाको न्यूनतम पारिश्रमिक ३.७५ प्रतिशतले बढ्ने

काठमाडौं । अस्ट्रेलियाको न्यूनतम पारिश्रमिक जुलाईको सुरुदेखि ३.७५ प्रतिशतले बढ्ने औद्योगिक सम्बन्ध न्यायाधिकरण फेयर वर्क कमिसनले फैसला गरेको छ । जुलाई १ देखि, न्युनतम ज्याला २३.२३ अस्ट्रेलियन डलर (१५.४७ अमेरिकी डलर) प्रति घण्टा बाट बढेर २४.१० अस्ट्रेलियन डलर (१६.०५ अमेरिकी डलर) प्रति घण्टा, वा ९१५.९० अस्ट्रेलियन डलर (६०९.९९ अमेरिकी डलर) प्रति हप्ता ३ घण्टाको आधारमा बढ्नेछ । आयोगका अनुसार अस्ट्रेलियाली श्रमशक्तिको २०.७ प्रतिशत वा करिव २६ लाख मानिसलाई न्युनतम ज्याला दर दिइन्छ । प्रवाह–अन प्रभावहरूको लेखांकनपछि न्यूनतम पारिश्रमिकमा वृद्धिले सबै अस्ट्रेलियाका कर्मचारीहरूको एक चौथाईलाई असर गर्ने अनुमान गरेको छ । आयोगले न्यूनतम पारिश्रमिकलाई मुद्रास्फीति दरभन्दा धेरैले बढाउनु उपयुक्त नभएको बताएको छ । अप्रिलसम्मको १२ महिनामा मुद्रास्फीति ३.६ प्रतिशतले बढेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सले मेमा जनाएको छ । ट्रेजरी प्रक्षेपणका अनुसार सन् २०२४ को अन्त्यसम्ममा मुद्रास्फीति ३ प्रतिशतभन्दा तल झर्ने लक्ष्य छ ।

नेपाल एसबिआई बैंक र इसेवाबीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र इसेवाबीच इसेवा नेटवर्क, डिजिटल वालेट, मर्चेन्ट पेमेन्ट र मनि ट्रान्सफर सेवा सञ्चालन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौताले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, काउन्टर डिपोजिट लगायत बैंकका च्यानलहरू मार्फत ग्राहकहरूलाई आफ्नो इसेवा वालेटमा रकम स्थानान्तरण गर्न सहज बनाउने छ । साथै, यस सम्झौताले इसेवा प्लेटफर्म मार्फत तत्कालै खाता क्रेडिट गरी व्यापार भुक्तानीहरू सहजीकरण गर्न सहयोग पुर्याउने बैंकले जनाएको छ । उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार दे को उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजेश कूमार पंडा र इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिस खडकाले हस्ताक्षर गरेका थिए ।

एनसेल र नेपाल युवा परिषद्को पहलमा ७७ जिल्लामा ७७ सय रुख रोपिने

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले ७७ वटै जिल्लामा एकैसाथ सातहजार ७०० बिरुवा रोप्न सहकार्य गरेको छ । ‘एक युवा, एक बिरुवा’ अभियानको सुरुवात गर्दै एनसेल र नेपाल युवा परिषद्को संयुक्त पहलमा आगामी असार १४ गते ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ को दिन देशभर बिरुवा रोपिने जनाइएको छ । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत नेपाल युवा परिषद्सँग गरेका समझदारी अनुरूप ुएक युवा, एक बिरुवाु अभियानमा प्रत्येक जिल्लाका १०० जना युवाले एक बिरुवा रोप्ने जनाएको छ । यो अभियान प्रदेश तथा स्थानीय सरकारको संयुक्त सहकार्यमा गरिनेछ । रोपिएका हरेक बिरुवाको हेरचाहको जिम्मेवारी वृक्षारोपणमा भाग लिएका युवाको हुनेछ । यस किसिमको जिम्मेवारीसहितको राष्ट्रियस्तरको कार्यक्रमले अभियानको दिगोपना सुनिचिश्त गर्ने विश्वास एनसेल र युवा परिषद्को छ । सामाजिक पहल अन्तर्गत एनसेलले वातावरण, स्वास्थ्य, शिक्षा, युवाहरूको प्रतिभा विकास लगायतका विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको छ । ‘आज विश्व वातावरण दिवसको अवसरमा नेपाल युवा परिषद्सँगको सहकार्यमा ७७ वटै जिल्लामा युवाहरूको साथ देशै वृक्षारोपण गर्नका लागि भएको यस उदाहरणीय कार्यको घोषणासँगै यस पहलको सुरुवात गर्न पाएकोमा हामी अत्यन्तै हर्षित छौँ । यस किसिमको सहकार्यमा राष्ट्रिय वृक्षारोपण अभियानले हाम्रो सामाजिक उत्तरदायित्व अझै बढी ग्रामिण परिवेशसम्म पुग्ने र आम जनताले समेत यसको प्रत्याभूति गर्ने हुँदा यो अभियानमा परिषद्सँग एकसाथ भएर काम गर्न पाउदाँ खुसी लागको छ’, एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन् । नेपालका युवाहरूको बृहत्तर विकास, नेतृत्व विकास, उद्यमशीलता विकास र सामाजिक रूपान्तरणमा एनसेल आफ्नो सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखि नेपाल सरकार, नेपाल युवा परिषद र अन्य सरोकारवाला निकायहरूसँग काम गर्दै आएको छ । सन् २०२४ को ‘अन्तर्राष्ट्रिय युवा दिवस २०२४’ मा पनि एनसेलको विशेष सहकार्य रहेको छ । नेपाल सरकारको राष्ट्रिय लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखेर वृक्षारोपण अभियान सञ्चालन गर्न लागिएको नेपाल युवा परिषद्का संस्थापक एवं केन्द्रीय अध्यक्ष सरोज बानियाँले बताए । एनसेलसँगको सहकार्य एवं संयुक्त आयोजनामा गर्न लागिएको कार्यक्रमले स्थानीयस्तरमा रहेका युवाहरूलाई वातावरण संरक्षणमा जोड्दै युवाहरूलाई सामाजिक रूपान्तरणमा समेत ऐक्यबद्वता गराउने उद्देश्यका साथ यो अभियान सञ्चानल गर्न लागिएको परिषद्का अध्यक्ष बानियाँको भनाइ छ ।

एसबिआई बैंक र फोनपेबीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र फोनपेबीच नेपाल र भारत बीचको सीमापार भुक्तानीलाई सहज बनाउन सम्झौता भएको छ । बैंकले ग्राहकदेखि व्यापारी भुक्तानी च्यानल सञ्चालन गर्न फोन पेसँँग सम्झौता गरेको हो । नेपाल भ्रमणमा आउने भारतीय ग्राहकहरूले अब यूपीआई आबद्ध एपहरू फोन पे, भीम यूपीआई, गुगल पेको प्रयोग गरी आफुले खरिद गरेका वस्तु तथा सेवाहरूको तत्काल भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । नेपाल एसबिआईको फोनपे नेटवर्कसाग आबद्ध व्यापारीहरूले नगद लेनदेनको आवश्यकतालाई हटाउँदै यूपीआई भुक्तानीहरू सजिलै स्वीकार गर्न सक्नेछन् । सम्झौताले नगदरहित कारोवारलाई प्रबर्द्धन गर्ने र ग्राहकहरूलाई समग्र बैंकिङ अनुभव बढाउने लक्ष्य लिएको छ । उक्त सम्झौता पत्र बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पंडा र फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले हस्ताक्षर गरेका थिए ।

गण्डकीमा एक हजार ५ सय किलोमिटर सडक स्तरोन्नति

म्याग्दी । गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ । चालु आर्थिक वर्षमा थप एक सय १९ किलोमिटर सडक कालोपत्र र ४१ दशमलव २ किलोमिटर  ढलान भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चालु आवको करिब ११ महिनामा सालबसाली र बहुुवर्षीय आयोजनामार्फत थप सय किलोमिटरभन्दा बढी ग्राभेल भएको छ । गत आव २०७९औ०८० सम्म पाँच सय ९९ किलोमिटर सडक ग्राभेल र छ सय ६८ किलोमिटर कालोपत्र भएको थियो । ‘प्रदेश स्थापना भएदेखि हालसम्म आठ सय ८२ किलोमिटर सडक कालोपत्र र ढलान गरी स्तरोन्नति गरेका छौँ’, उक्त मन्त्रालयअन्तर्गतको पूूर्वाधार विकास निर्देशनालयका निर्देशक  महेन्द्र बानियाले  भने, ‘सडक निर्माण र स्तरोन्नतिमा हालसम्म रु ४८ अर्ब भन्दा बढी खर्च भएको छ ।’ बाह्र अर्ब पुँजीगत बजेट रहेको भौतिक मन्त्रालयले चालु आवमा पुराना बहुवर्षीय र सालबसालीसहित एक हजार चार सय ६४ योजनालाई वार्षिक कार्यक्रममा समावेश गरेको थियो । यस वर्ष एक सय २७ प्रादेशिक सडक, पाँच वटा सङ्घीय समपूरक सडक, ३० पक्की पुल र चार झोलुङ्गे पुल आयोजना बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयन भएका छन् । निर्देशक वानियाका अनुसार बहुवर्षीय योजनका सडक, मोटरेबल र झोलुुङ्गे पुलका लागि रु १२ अर्ब ७३ करोड ९८ लाख बजेट सुनिश्चित भएको छ । अधिकांश तीन वर्ष र केही योजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य  छ । राष्ट्रिय राजमार्गका वैकल्पिक सडक पनि खोल्ने र स्तरोन्नति गर्ने योजनालाई प्राथमिकता दिइएको भौतिक मन्त्रालयमार्फत एक निर्वाचन क्षेत्र, एक सडक, स्थानीय तहको केन्द्र जोड्ने, अन्तरजिल्ला, अन्तरपालिका जोड्ने रणनीतिक महत्वका सडक गौरवका आयोजनाका रुपमा कार्यान्वयनमा रहेका उक्त मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डितले बताए । रासस

प्रतिबन्ध हटाउन आग्रह गर्दै टिकटकले सरकारलाई पुनः पठायो पत्र

काठमाडौं । टिकटकले नेपाल सरकारलाई पुनः पत्र लेखेर प्रतिबन्ध हटाउन आग्रह गरेको छ । टिकटक दक्षिण एसियाका सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फिर्दोस मोत्ताकिनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एक पत्र लेख्दै टिकटकमाथिको प्रतिबन्ध फुकुवा गरिदिन आग्रह गरेका हुन् । यसअघि गत जनवरी २२ मा प्रधानमन्त्री प्रचण्डलाई पत्र लेखेर टिकटक बन्द नगर्न आग्रह गरेको टिकटकले फेरि पत्र लेख्दै उक्त विषयमा  नेपाल सरकारको ध्यानाकर्षण गराएको हो । टिकटकले नेपालमा बन्द गरिएको आठ महिनाको अवधिमा आफूहरूले सरकारलाई ७ पटक पत्र लेख्दै प्रतिबन्ध फुकुवा गराउन अनुरोध गरेको पनि पत्रमा उल्लेख गरेको छ। पत्रमा भनिएको छ, ‘हाम्रो धेरै पत्राचार, अझ बढी केन्द्रीकृत र बजार प्रतिबद्धता प्रस्ताव गर्ने प्रयासहरूको बाबजुद पनि नेपाल सरकारले टिकटकलाई बन्द गर्नु र अहिलेसम्म कुनै पनि प्रतिक्रिया नदिनुले हामी अत्यन्त दुखी भएका छौं ।’ टिकटकले पत्रमा टिकटक बन्दबाट नेपालको राजस्वमा पनि ठूलो नोक्सानी पुर्‍याएको उल्लेख गरेकाे छ ।

काठमाडौं महानगरका ४७३ विद्यालयले बुझाए छात्रवृत्ति विवरण, नबुझाउनेलाई कारबाहीको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपलिकाका ४७३ विद्यालयले छात्रवृत्ति विवरण बुझाएका  छन् । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७४ शिक्षा नियमावली, २०५०, काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार महानगरपालिकाभित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्था कार्यान्वयनका लागि महानगरले छात्रवृत्ति विवरण पटक–पटक बुझाउन अनुरोध गरेकाे थियाे ।  बुधबारसम्ममा ४७३ संस्थागत विद्यालयहरूले विवरण उपलब्ध गराएको महानगरले जनाएको छ । बिहीबार एक सूचना प्रकाशन गर्दै महानगरले छात्रवृत्ति विवरण पेस हुन बाँकी रहेका विद्यालयलाई तीन दिनभित्र छात्रवृत्ति विवरण बुझाउन अनुरोध गरेको छ । यस अवधिभित्र पनि माग भएको विवरण नबुझाउने विद्यालयहरूलाई शैक्षिक सत्र २०८१ मा सञ्चालनमा नरही बन्द विद्यालयको रूपमा अभिलेखिकरण गरिने र त्यस्ता विद्यालयहरूमा विद्यार्थी भर्ना नगर्न तथा गराएको भए अन्यत्र स्थानान्तरण गर्न समेत अभिभावकहरूलाई महानगरले सूचित गर्ने सूचनामा उल्लेख छ । साथै, रीतपूर्वक छात्रवृत्ति विवरण उपलब्ध नगराउने विद्यालयहरूलाई प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही हुने पनि महानगरले जनाएको छ ।