विकासन्युज

देशभित्रै आक्रमण हुने राष्ट्रपति ट्रम्पको चेतावनी, यी शहरमा असुरक्षित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशभित्रै ‘आक्रमण’ को सम्भावना रहेको चेतावनी दिएका छन् । यसलाई उनले ‘विदेशी शत्रुभन्दा फरक छैन, तर अझै गाह्रो’ भन्दै चिन्ता व्यक्त गरेका छन् ।  उनका अनुसार यस्ता शत्रुहरूले वर्दी नलगाउने हुनाले तिनीहरूलाई शत्रुहरू पत्ता लगाउन कठिन हुन्छ । भर्जिनियाको क्वान्टिकोस्थित मरीन कप्रस बेसमा शीर्ष अमेरिकी सैन्य अधिकारीहरूको भेलालाई सम्बोधन गर्दै ट्रम्पले भित्री शहरहरूलाई सुरक्षा चुनौतीका रूपमा चित्रण गरे ।  उनले रक्षामन्त्री पिट हेग्सेथलाई खतरनाक अमेरिकी शहरहरूलाई सैन्य तथा नेशनल गार्ड प्रशिक्षणका लागि प्रयोग गर्न सुझाव दिए । ‘हाम्रा भित्री शहरहरू अहिले युद्धको ठूलो हिस्सा बनेका छन् । मैले पिटलाई भनेँ, यी खतरनाक शहरहरूलाई हामीले हाम्रो सेना र नेशनल गार्डको प्रशिक्षण मैदान बनाउनुपर्छ । हामी चाँडै सिकागो जाँदैछौँ,’ उनले भने ।  राष्ट्रपति ट्रम्पले सान फ्रान्सिस्को, शिकागो, न्युयोर्क र लस एन्जलसलाई विशेषगरी ‘असुरक्षित’ क्षेत्रका रूपमा उल्लेख गर्दै आफ्नो प्रशासनले तिनीहरूलाई एक/एक गरेर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘सान फ्रान्सिस्को, शिकागो, न्युयोर्क, लस एन्जलस- यी सबै धेरै असुरक्षित ठाउँहरू हुन् । हामी तिनीहरूलाई एक–एक गरेर समाधान गर्नेछौँ । यो हाम्रो लागि एउटा प्रमुख युद्ध हो र यो भित्रैबाट हुने युद्ध हो,’ उनले भने । यसअघि, सेप्टेम्बर २१ मा राष्ट्रपति ट्रम्पले वासिङ्टन डिसीमा अपराध दर उल्लेखनीय रूपमा घटेको दाबी गरे । उनले सो क्षेत्रलाई गत वर्षको तुलनामा पूर्ण रूपमा फरक र सुरक्षित भएको बताउँदै यसलाई आफ्नो प्रशासनको ‘सुशासन र कडाइका कारण सम्भव भएको’ बताए ।  यसैबीच, अमेरिकी प्रशासनले अपराध नियन्त्रण र आप्रवासन दमन योजनाअन्तर्गत शिकागोमा नेसनल गार्ड तैनाथ गर्ने तयारी गरेको बताइएको छ ।

दसैँले एकापसमा भ्रातृत्व र राष्ट्र प्रेमप्रति प्रोत्साहित गर्नेछ: अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विभिन्न चाडपर्वहरूले मुलुकमा राष्ट्रिय एकताको भावनालाई बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।  बडादसैँका अवसरमा शुभकामना दिँदै उनले देशमा रहेको भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच एकता कायम गर्न यस्ता पर्वले महत्त्वपूर्ण योगदान पुर्याउने बताए ।  ‘नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा रहेका विभिन्न समुदायका मौलिक चाडपर्व र संस्कृतिको संरक्षण गर्न आवश्यक छ । यसले दिगो शान्ति र सामाजिक सहिष्णुता कायम गर्न सघाउ पुग्छ,’ अध्यक्ष नेपालले भने ।  उनका अनुसार दसैँले सबै जाति समुदायलाई एकापसमा भ्रातृत्व र आपसी मेलमिलाप तथा राष्ट्र प्रेमप्रति प्रोत्साहित गर्नेछ । दसैँले असत्यमाथि सत्यको विजय सन्देश प्रवाह गर्ने, पारिवारिक मिलनका साथै हिमाल, पहाड र तराईका जनताबीच आपसी मित्रता, सहिष्णुता अभिवृद्धि गर्दै प्रगतिशील समाज निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनि उनले कामना गरे ।

मिथिलामा आज रावण वध उत्सव

काठमाडौं । मधेसको मिथिला क्षेत्रमा विजयादशमीका दिन आज रावण वध उत्सव हुँदैछ । महोत्तरीको मटिहानीमा आज विजयादशमीका दिन रावण वध उत्सव मनाइने भएको हो । श्रीराम मिथिलाका ज्वाइँ भएको र यहाँकी छोरी सीताको हरणकर्ता भएर पनि रावण वध मैथिलहरूका लागि उत्सव बन्दै आएको मानिन्छ ।   वर्षौंदेखि विजयादशमीका दिन श्रीरामले असुर रावणको सम्हार गर्नुभएको स्मरणमा प्रतिकात्मक रूपमा उत्सव मनाउने परम्परा रहँदै आएको छ । विजयादशमीको दिन साँझको बेला दशानन (१० टाउको भएको) अजङ्को रावण प्रतिमालाई श्रीरामले चलाउनुभएको तीरले शिरछेदन गरिएको दृश्य देखाएर उत्सव मनाउने परम्परा गरिएको छ । यस प्रयोजनका लागि दुर्गा मन्दिर परिसरमा अजङ्को रावणको पुतला बनाइएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल बताए ।  मिथिलामा विजयादशमीका दिन देवी विसर्जनसँगै यसै दिन श्रीरामले रावणलाई सम्हार गर्नुभएको विश्वासमा रावण वध उत्सवको परम्परा रहँदै आएको छ । यसैअनुसार मटिहानीमा वर्षौं वर्षदेखि यो उत्सव मनाउन थालिएको उनले जानकारी दिए ।  ‘हामी विजयादशमीका दिन बिहान देवी पूजन विसर्जन गर्छौं, साँझ रावण वध उत्सव मनाउँछौँ,’ मण्डल भन्छन्, ‘विजयाको दिन सन्ध्याकालअघि श्रीरामले रावण वध गर्नुभएको विश्वासमा यहाँ त्यसैबेला पारेर अजङ्को रावण आकृतिलाई तिरले ढालिन्छ ।’ दशहारा (दसैँ) पर्व सत्य युगमा देवी दुर्गाले चण्ड, मुण्ड र रक्तविजसहितका दैत्यको सम्हार गर्र्नुभएको प्रतीकात्मक रहेझैँ मटिहानीमा रावण वध पनि जोडिएर आएको विश्वास गरिन्छ । सत्ययुगमा देवीले दैत्य सम्हार गरेझैँ त्रेता युगमा श्रीरामले रावणसहितका असुर प्रवृत्तिको अन्त्य गर्नुभएको यही असोज शुक्लपक्षमा रहेको मानिन्छ । खासगरी देवीले नवमीसम्म र श्रीरामले रावणको दशमीकै दिन सम्हार गर्नुभएको विश्वासमा मटिहानीमा रावण वध उत्सवको परम्परा चलेको मटिहानी-७ निवासी प्रेस स्वतन्त्रता सेनानी ९० वर्षीय विन्देश्वरीप्रसाद मण्डलको कथन छ । मर्यादा पुरुषोत्तम श्रीरामले दश इन्द्रीयका दास दशानन (रावण) माथि विजय प्राप्त गर्नुभएको हुँदा ‘दशहारा’ (दश इन्द्रीयको दासत्वलाई हराउने) पर्वको नाउँले प्रसिद्धि पाएको मैथिल लोकपरम्पराका ज्ञाता तथा मिथिला माहात्म्यका नेपाली अनुवादक जलेश्वर-५ निवासी सेवानिवृत्त सहप्राध्यापक ध्रुव राय बताउनुहुन्छ । बडादसैँ  नाउँ पनि ‘वर्जय दश इन्द्रीय’ बाट बनेको रायको भनाइ छ । रावण वध उत्सव यस क्षेत्रको महत्त्वपूर्ण संस्कृति र परम्पराको अभिन्न अङ्ग नै बनेको नगरप्रमुख मण्डलको भनाइ छ ।  ‘हामी देवी उपाशनामा पनि रमाउँछौँ, यद्यपि रावण वध उत्सव हाम्रा लागि दसैँको खास परम्परा हो । यस उत्सवमा मटिहानीका जनजन परिचालित हुन्छन्,’ उनले भने ।  मटिहानीमा ‘वध’ गरेको देखाइने रावणको अजङ्को प्रतिमा भोलिपल्ट उल्लासमय वातावरणमा बाजागाजासाथ जलाशयमा पुर्याइ गहिरो पानीमा विसर्जन गर्ने परम्परा रहेको छ ।

राष्ट्रपतिले आमनागरिकलाई दसैँको टीका नलगाउने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन् ।  देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिए । विगतमा राष्ट्रपतिबाट बडा दसैँका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।

नवदुर्गाको तान्त्रिक नृत्य आजदेखि सुरु

काठमाडौं । तान्त्रिक नाच भनेर चिनिने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष विजयादशमीको दिनदेखि नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु गरिने नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बाल गोपाल बन मालाले जानकारी दिए ।  तौलाछें टोलको झट्टाप्वा नासद्यःमा नवदर्गाका मूल पुजारीले देवगण हुने सबै वनमालालाई तान्त्रिक विधिअनुरुप पूजा गरेपछि घंघला सिं ल ल्हायगु (घुँघुँरू हस्तान्तरण) गरेपछि नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु भएको मानिन्छ । बनमालाहरुलाई सिद्धि थाप्ने विधानका क्रममा नवदुर्गा मन्दिरका पुजारी कर्माचार्यले तीन प्रमुख बाजा खिं बाजा, तःबाजा, र कार्य बाजा तथा घुँघलाहरु नास द्यः (नृत्यनाथ) को अगाडि राखी तान्त्रिक विधिपूर्वक पूजा गर्ने प्रचलन रहेको अध्यक्ष वनमालाले बताए । नास द्यःलाई भेडाको भोग बलि दिएपछि बाजा र घ“घला प्राप्ति गरेका वनमालाहरुले नास द्यःअघितिर बाजाबजाइ नवदुर्गा नृत्य पहिलो प्रस्तुत गर्नुपर्ने प्रचलन रहेको छ ।

जापानले अमेरिकामा साढे ५ खर्ब डलर लगानी गर्ने, ४५ दिनभित्र रकम उपलब्ध गर्नुपर्ने

काठमाडौं । जापानका कर दूतले बुधबार स्पष्ट पार्दै हालै सम्पन्न जापान-अमेरिका व्यापार सम्झौताको हिस्साका रूपमा प्रस्तावित ५ खर्ब ५० अर्ब डलरको लगानी विषयमा ‘संयुक्त राज्य अमेरिकासँग कुनै विसङ्गति नरहेको’ जानकारी दिए ।  ह्वाइट हाउसका अनुसार उक्त सम्झौता अन्तर्गत खतरामा परेका केही भन्सार शुल्कहरू घटाइने र सोको सट्टा टोकियोले अमेरिकामा लगानी गर्नेछ । यससँगै, दक्षिण कोरियाले पनि ३ खर्ब ५० अर्ब डलर ऋण उपलब्ध गराउने सम्झौता गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापान र दक्षिण कोरियाले यसलाई ‘साइनिङ बोनस’ का रूपमा अग्रिम उपलब्ध गराउने धारणा सार्वजनिक गरेका छन् । तर, अमेरिका-जापानबीच भएको समझदारी ज्ञापनपत्र (एमओयु) मा तत्काल भुक्तानीको प्रावधान नभई ‘समय-समयमा’ रकम उपलब्ध गराइने उल्लेख गरिएको छ । सम्झौतामा वासिङ्टनले लगानी क्षेत्र तोकेको ४५ दिनभित्र जापानले आवश्यक रकम उपलब्ध गराउनुपर्ने वा अन्यथा उच्च भन्सार शुल्कको जोखिम ब्यहोर्नुपर्ने व्यवस्था पनि छ । तर, जापानका लागि प्रमुख वार्ताकार रियोसेइ अकाजावाका अनुसार, कुल ५ खर्ब ५० अर्ब डलरमध्ये एक/दुई प्रतिशत मात्र प्रत्यक्ष लगानी हुनेछ भने बाँकी रकम ऋण तथा ऋण ग्यारेन्टीका स्वरूपमा रहनेछ । ‘वासिङ्टनले लगानी, ऋण र ऋण ग्यारेन्टीबीचको भिन्नतामा खास ध्यान दिएको छैन,’ उनले भने, ‘त्यहाँ कुनै विसङ्गति छ भन्ने म विश्वास गर्दिनँ । विसङ्गतिबाट जोगिनका लागि अमेरिकाले एमओयु प्रस्ताव गर्यो, जापानले त्यसको जवाफ दियो र त्यसमा हस्ताक्षर भयो ।’ दूत अकाजावाले भने, ‘समझदारी ज्ञापनपत्र कुनै अन्तर्राष्ट्रिय सन्धि होइन, न त यो कानूनी रूपमा बाध्यकारी हुन्छ । यो त एक प्रशासनिक कागजात मात्र हो जसले साझा बुझाइ र समझदारीलाई अभिव्यक्त गर्दछ, जुन दुवै पक्षबीच विद्यमान छ भन्नेमा म पूर्ण विश्वस्त छु ।’

भारतको मेट्रो रेल परियोजनाको लागि एडीबीले स्वीकृति गर्यो १९० मिलियन अमेरिकी डलर ऋण

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले भारतमा इन्दौर मेट्रो रेल परियोजनाको निर्माणका लागि १९० मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।  यस परियोजनामा इन्दौरको अत्यधिक मानविय चाप भएको क्षेत्रलाई विमानस्थलसँग जोड्ने ७ वटा स्टेसन सहित ८.६२ किमी स्थलगत मेट्रो लाइन निर्माण गरिएको थियो ।  मेट्रो लाइनले ग्रीन हाउस ग्याँस उत्सर्जनलाई वार्षिक रूपमा अनुमानित १२ हजार ४१४ टन कार्बन डाइअक्साइड घटाउने र भारतमा हावाको गुणस्तर सुधार गर्ने अपेक्षा गरिएको छ । यस पहलमा सेवाहरूसँग बहुआयामिक एकीकरण, शैक्षिक संस्था र बजारमा पहुँच सुधार गर्ने लगायतका प्रयास समावेश गरिएको छ । मेट्रो, विमानस्थल, रेलवे र बस प्रणालीहरू बिचको सम्न्वयात्मक कार्यलाई अनुकूलन गर्न बहुआयामिक एकीकरण अध्ययन पनि गरिने जनाइएको छ ।  सन् २०३० जनवरी सम्ममा सञ्चालन सुरु हुने अपेक्षा गरिएको यस परियोजनालाइ मध्य प्रदेश मेट्रो रेल कर्पोरेसन लिमिटेडले सञ्चालन गर्ने जनाइएको छ ।

आईएमएफले स्वीकृत गर्‍यो ईसीएफको ऋण सुविधा, ४ करोड अमेरिकी डलर पाउने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विस्तारित ऋण सुविधा (ईसीएफ) को किस्ता स्वीकृत गरेको छ । आईएमएफको कार्यकारी बोर्डले नेपालमा ईसीएफबारे छैटौं समीक्षा गर्दै विस्तारित ऋण सुविधा स्वीकृत गरेको हो । अर्थमन्त्री रामेश्वर खनालका अनुसार आईएमएफको विस्तारित ऋण सुविधा अन्तर्गतको छैटौं समीक्षा सफलतापूर्वक सम्पन्न भएको हो ।  अर्थमन्त्री खनालले आईएमएफ बोर्ड बैठकले नेपालको ईसीएफ छैटौं समीक्षालाई अनुमोदन गरेको जनाए ।  यस स्वीकृतिसँगै नेपालले ईसीएफ कार्यक्रम अन्तर्गत ४ करोड अमेरिकी डलर बराबर वित्तीय सहयोग प्राप्त गर्ने बाटो खुलेको हो ।