विकासन्युज

एनएमबि बैंकले सुरु गर्यो सफ्टपोस सेवा, मोबाइलबाटै कार्ड भुक्तानी लिन सकिने

काठमाडौं । एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस सेवा सुरु गरेको छ । सफ्टपोसले कुनै पनि एनएफसी समर्थित एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । यस सेवामार्फत डेबिट वा क्रेडिट कार्डबाट साना तथा मझौला उद्यम, पर्यटन उद्यम र अन्य व्यवसायीहरूले मोबाइलमै भुक्तानी स्वीकार गर्न सक्नेछन् । यसले व्यवसायीहरूलाई पोस मेसिनको झन्झटबिना डिजिटल भुक्तानी लिन सहजता प्रदान गर्नेछ । एनएमबि बैंकले सफ्टपोसको प्रयोग साना व्यापारी, डेलिभरी सेवा र टाढा ग्रामीण क्षेत्रका उद्यमीहरूलाई समेत डिजिटल भुक्तानी प्रणालीमा सहभागी गराउने उद्देश्यले लिएको जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले भने, 'सफ्टपोस सेवा केवल नयाँ प्रविधि होइन, यो नेपालको उद्यमशीलता र डिजिटल भविष्यतर्फको ठुलो पाइला हो । हरेक व्यापारीको खल्तीमा भएको मोबाइल नै अब भुक्तानी टर्मिनल बन्नेछ, र व्यवसाय सञ्चालन थप सजिलो र सुरक्षित हुनेछ ।' सफ्टपोसले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डअनुसार काम गर्ने भएकाले व्यापारी र ग्राहक दुवैका लागि सुरक्षित र सरल भुक्तानी सुनिश्चित हुने बैंकले जनाएको छ ।

म्यानमारमा ठगिएका ३७ नेपालीको उद्धार, थाइल्याण्डबाट स्वदेश फर्काइयो

काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परी म्यानमार पुगेका ३७ नेपाली नागरिकलाई थाइल्याण्डबाट स्वदेश फर्काइएको छ । नेपाली राजदूतावासले थाइल्याण्डका सम्बन्धित निकायहरूसँग समन्वय र सहयोग गर्दै उद्धार गरी नेपाल एयरलाइन्सको उडान नं आरए–४०२ मार्फत उनीहरूलाई काठमाडौं ल्याएको हो । यी नेपाली नागरिकहरू म्यानमारमा अवैधरूपमा सञ्चालन भएका ‘अनलाइन ठगी’ केन्द्रहरूमा अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ, फिसिङ तथा क्रिप्टो ठगीजस्ता काममा संलग्न थिए । म्यानमार सुरक्षाकर्मीले स्क्यामिङ केन्द्रमा छापा मार्दा उनीहरू भागेर थाइल्याण्ड प्रवेश गरेका थिए । त्यसैगरी, म्यानमारको म्यावडीमा रहेका २३ जना, थाइल्याण्डको मेसोटमा रहेका २ जना र कम्बोडियामा रहेका ४ जना नेपाली नागरिकलाई पनि यथाशीघ्र नेपाल फर्काउने प्रयास भइरहेको छ । नेपाल सरकारले तोकेका मापदण्ड अनुसार मात्र वैदेशिक रोजगारीमा जानुपर्ने राजदूतावास बताएकाे छ। राजदूतावासका अनुसार छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड जस्ता मुलुकमा भ्रमणको बहाना गरेर वैदेशिक रोजगारीमा नजाने र वैधानिक प्रक्रिया अनुसार मात्र रोजगार लिनु अनिवार्य छ ।

एमाले सचिवालय बैठक सुरु, अजेण्डा महाधिवेशन तयारी र प्रतिनिधिसभा पुनःस्थापना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । केहीबेरमै प्रारम्भ भएको आजको बैठकमा आगामी ११औं महाधिवेशनको तयारी प्रमुख एजेन्डा रहेको पार्टीले जनाएको छ । एमालेको ११औं महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुँदैछ । महाधिवेशनमा २१ सयभन्दा बढी प्रतिनिधि रहनेछन् भने प्रतिनिधि चयन मंसिर १३ गते देशभर एकैदिन गरिनेछ । आजको बैठकमा प्रतिनिधिसभा पुनःस्थापनाबारे पनि विशेष छलफल हुने एक नेताले जानकारी दिएका छन् । पुनःस्थापनाको मुद्दा उठाउँदै एमालेले देशभर जनपरिचालन गरिरहेकामा यसअघि अदालत जाने विषय छलफल भए पनि पार्टी अदालत गएको थिएन ।  केही दिनअघि बसेको विघटित संसदीय दल बैठकले निवर्तमान प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनीता बराललाई आवश्यक तयारीको जिम्मा दिएको थियो । अधिकांश सांसदहरूले निवेदनका लागि हस्ताक्षर गरिसकेको एमाले स्रोतले बताएको छ । बैठकमा यसबाहेक पनि समसामयिक राजनीतिक विषयहरूमा विस्तृत छलफल हुने एमालेले जनाइएको छ ।

भोलिदेखि काठमाडौंमा प्रोटोन ईमासको एक्सचेन्ज अफर सुरु

काठमाडौं । जगदम्बा मोटर्स प्रालिअन्तर्गत सञ्चालन हुने विद्युतीय सवारीसाधन (ईभी) ब्रान्ड प्रोटोन ईमासले विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।  कार्यक्रम भोलि (शुक्रबार) देखि आइतबारसम्म काठमाडौंको ज्ञानेश्वरस्थित एटीकमा आयोजना हुनेछ । तीनदिन सञ्चालन हुने सो कार्यक्रममा विद्यमान सवारीसाधन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूलाई प्रोटोन ईमासका प्रमुख विशेषता, सेवासुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ ।  एक्सचेन्ज अफर ४६ लाख ९९ हजार सुरु हुनेछ । प्रोटोन ईमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर प्रदान गर्दछ भने यसमा १८० मिमी ग्राउण्ड क्लिरेन्स तथा एनइडिसी रेन्ज ४९२ र ५८५ रहेको छ ।  उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो ईभीको लम्बाइ ४६१० मिमी रहेको कम्पनीले उल्लेख गरेको छ । यस विशेष अफरमार्फत ग्राहकहरूले अत्याधुनिक ईभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने भएका छन् ।  

मुग्लिन-पोखरा पश्चिम खण्डमा दैनिक ६ सयलाई रोजगारी

दमौली । मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड) मा सडक स्तरोन्नति भइरहेकाले दैनिक ६ सय जनाले रोजगारी पाएका छन् । तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको पश्चिम खण्डमा सडक तथा पुल निर्माण, कलोपत्रलगायत कामका लागि दैनिक ६ सय जना मजदुर खटिएका हुन् ।      आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार उक्त खण्डमा दैनिक छ सयका दरले मासिक १८ हजार मजदुरले रोजगारी पाएका छन् । उनले यस खण्डमा २० जनाले परामर्शदाताका रूपमा काम गरिरहेका जानकारी दिए । पश्चिम खण्डमा हालसम्म ५९ दशमलव ७६ प्रतिशत भौतिक र ४७ दशमलव ८० प्रतिशत वित्तीय प्रगति भएको कुँवरले उल्लेख गरे । उनका अनुसार ३८ दशमलव ८८ किलोमिटर दूरीको उक्त खण्डमा हालसम्म ३७ दशमलव चार किमीमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये २९ दशमलव ६१ किमी खण्डमा चार लेन र सात दशमलव ७९ किमीमा दुई लेन कालोपत्र सम्पन्न भएको छ ।      उक्त खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका जनाउँदै आयोजना प्रमुख कुँवरले सेती नदीमा पुल निर्माणाधीन अवस्थामा रहेको बताए । उक्त पुलमा ४७ दशमलव ५२ प्रतिशत भौतिक र ४७ दशमलव नौ प्रतिशत वित्तीय प्रगति भएको उनको भनाइ छ । उनले हालसबै सबै चार वटा पाइलक्याप, एक सय २० वटा पाइल निर्माण सम्पन्न भएका जानकारी दिए ।      पश्चिम खण्डमा गत आर्थिक वर्षमा २५ किलोमिटर चार लेन सडक स्तरोन्नति गर्ने लक्ष्य राखिएकामा २३ दशमलव शून्य छ किमी कालोपत्र सम्पन्न भएको छ । यहाँ ११ पुल निर्माण गर्ने लक्ष्य राखिएकामा लक्ष्यबमोजिम सम्पन्न भइसकेका छन् ।      कुँवरका अनुसार ६६ कल्भर्ट निर्माण गर्ने लक्ष्य राखिएकामा एउछा बाँकी छ भने ५१ दशमलव पाँच किमी नाला निर्माण गर्ने लक्ष्य राखिएकामा ४५ दशमलव दुई किमी सम्पन्न भएको छ । विसं २०७८ जेठ ३ गते सम्झौता भएको यो खण्डको काम गर्ने म्याद आगामी पुस १६ गतेसम्म रहेको छ । 

सिमरामा आज पनि कर्फ्यू, राजमार्ग र विमानस्थलमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । बारा जिल्लाको सिमरामा आज (बिहीबार) पनि कर्फ्यू लागेको छ । जिल्ला प्रशासन कार्यालय बाराले अपरान्ह १ बजेदेखि राति ८ बजेसम्म कर्फ्यू लगाएको हो । जेनजीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि कर्फ्यू लगाइएको हो । बुधबार नेकपा एमालेका कार्यकर्ता र जेनजीहरूबीच झडप हुँदा प्रशासनले हिजो पनि कर्फ्यू लगाएको थियो ।  एमाले नेता महेश बस्नेत बारा जाने कुरालाई लिएर दुई पक्षबीच भएको विवादले झडपको रूप लिएको हो ।

नेपाल टेलिकमको सञ्चालकमा अरुणा जोशी नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को सञ्चालक समितिमा प्रतिनिधि परिवर्तन भएको छ । नेपाल सरकार, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले समूह ‘क’ (संस्थापक समूह) अन्तर्गत मनोनयन गर्ने सदस्य परिवर्तनका लागि पठाएको पत्रअनुसार कम्पनीको सञ्चालक समितिमा नयाँ सदस्य नियुक्त गरिएको हो। मन्त्रालयले सहसचिव अरुणा जोशीलाई नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको छ । नियमावलीको नियम १२ को खण्ड (छ) अनुसार नेपाल सरकारको प्रतिनिधि सञ्चालकको व्यवस्था भएकाले सचिवस्तरीय निर्णयअनुसार जोशीको नियुक्ति गरिएको हो । नवनियुक्त सदस्य जोशीले गोपनीयताको शपथ ग्रहण गरिसकेकी छन् । उनले यसअघि सञ्चालक रहेका कोमल बहादुर खत्रीको स्थान लिनेछिन् ।

रवि लामिछानेको रिटमा बुटवल उच्च अदालतमा आजको सुनुवाइ स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेका कानुन व्यवसायीको आग्रहपछि बुटवल उच्च अदालतमा दायर रिट निवेदनमाथिको आज निर्धारित सुनुवाइ स्थगित गरिएको छ । गोला प्रणालीअनुसार तीन नम्बर इजलासमा न्यायाधीश मिलनकुमार राई र सानुमाया डंगोलको संयुक्त इजलासमा मुद्दा परे पनि स्थगन माग गरेपछि पेसी अगाडि बढ्न नसकेको हो । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा थुनामा रहेका रवि लामिछाने र छविलाल जोशीको पेसी बिहीबारका लागि तोकिएको थियो । एकै दिन पाटन उच्च अदालतमा पनि लामिछानेसम्बन्धी मुद्दा परेकोले, कानुन व्यवसायीले बुटवलमा स्थगन माग गरेका हुन् । अदालतका उप–रजिष्टार यज्ञमूर्ति ज्ञवालीका अनुसार सोही माग स्वीकृत गरिँदै सुनुवाइ स्थगित गरिएको हो । यसअघि कात्तिक २७ गते न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको मूल अभियोग मिसिल सर्वोच्च अदालतबाट झिकाउन आदेश दिएको थियो । सो मिसिल प्राप्त हुने अपेक्षासहित आजको पेसी तोकिएको भए पनि सुनुवाइ स्थगित भएपछि अब अर्को मिति पुनः निर्धारण गरिने अदालतले जनाएको छ ।