विशेष कृषि मौसम बुलेटिनः बालीनालीको उचित व्यवस्थापन गर्न सुझाव
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ । जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन जारी गर्दै भारी/अति भारी वर्षाको समयमा कृषि कर्म गर्दा ध्यान दिन अनुरोध गरिएको छ । कृषि मौसम विद् रामेश्वर रिमालले यस समयमा किसानले विशेष ध्यान दिनसके बालीनाली जोगाउन सकिने र त्यसका लागि हालै जारी बुलेटिनलाई ध्यान दिन अनुरोध गरे । उनका अनुसार जारी बुलेटिनमा मनसुन सक्रिय रहने समयमा तरकारी बाली, फलफूल बगैँचा तथा पाक्न लागेका धान खेतमा पानी निकासको उचित व्यवस्था गर्न, विषादी छर्कने कार्य रोक्न, नदी, खोला छेउका संरचनाहरू बाढीको जोखिममा पर्नसक्ने हुनाले सम्भव भएसम्म भण्डारणमा रहेका तथा अन्य सामग्री सुरक्षित स्थानमा व्यवस्थापन गर्न भनिएको छ । यस्तै, जल तथा मौसम विज्ञान विभागबाट जारी हुने तीन दिने मौसम पूर्वानुमान बुलेटिन अध्ययन गरी सोहीअनुसार व्यवस्थापन गर्न, आगामी असोज १७-१९ सम्म मनसुन सक्रिय रहने देखिएकाले धानबालीमा हुने सम्भावित क्षति न्यूनीकरणका लागि पानीको निवास, धान नकाट्न, काटेको भए भित्र्याइहाल्न, अग्लो ठाउँमा भण्डारण गर्न, विभिन्न तरकारी बालीको नर्सरीमा पानी जमेर बेर्ना कुहिन सक्ने भएकाले पानी निकासको प्रबन्ध गर्न पनि अनुरोध गरिएको छ । बर्सातको समयमा मौरीलाई चरन क्षेत्रको कमी हुने भएकाले चिनी चास्नी बनाएर खुवाउन, पशुबस्तुलाई पानीमा भिज्ने गरी नराख्न, दानालाई सफा र ओभानो ठाउँमा भण्डारण गर्न, भिजेका र बाढी पसेका स्थानका घाँस, पराल, दाना वा अन्न नखुवाउन पनि अनुरोध गरिएको छ । यस्तो अवस्थामा पशुबस्तुलाई पाचन प्रणाली र पाचन प्रणाली जन्य रोगका लक्षण देखिन सक्ने हुँदा त्यसबारे चनाखो भई अनुगमन गर्न पनि भनिएको छ । ‘चिसो ठाउँमा भण्डारण गरेको दानामा ढुसीको सङ्क्रमण हुनसक्छ, जसले गर्दा पशुबस्तुको पाउनु साथै विष उत्पन्न भई पशुबस्तु मर्न सक्दछ । तसर्थ कुहिएको दाना वा परालमा ढुसीका प्रजाति हुनसक्छन्, जसले दीर्घकालीन रूपमा पशु र मानिसलाई क्यान्सर गराउन सक्दछ,’ बुलेटिनमा भनिएको छ । खोर चिसो र हिलो भएको अवस्थामा कुखुरामा जुम्रा, सुलसुलेजस्ता बाह्य परजीवीको समस्या देखिने हुँदा दैनिक रूपमा खोरको अनुगमन गर्न, परजीवी देखिएमा दक्ष प्राविधिकको सल्लाह लिन, माछा पोखरीमा धमिलो पानी मिसिन नदिन माछापोखरीको निकासद्वारमा माछाको ‘साइज’अनुसारको जाली राखी निकासको उचित व्यवस्था गर्न पनि अनुरोध गरिएको छ । मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले आज पनि देशभर बदली रहेको र शुक्रबारदेखि भने न्यून चापीय प्रणालीका कारण देशका धेरै ठाउँमा भारीदेखि अतिभारीसम्म वर्षा हुने जानकारी गराइसकेकाले सोहीअनुसार सतर्कता अपनाउन आग्रह गरे ।
जीवित देवी कुमारीले सर्वसाधारणलाई दशमीको टीका लगाइदिने
काठमाडौं । कुमारी आर्यताराले सर्वसाधारणलाई दशमीमा टिका लगाइदिने भएकी छिन् । महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराएपछि सर्वसाधारणलाई दशमीको टीका ११ बजेपछि लगाउने कार्यसूची रहेको हनुमान ढोकास्थित कुमारी घर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए । जीवित देवी कुमारीलाई विशेष शक्ति प्राप्त हुने विश्वासका साथ महानवमीको मध्यरातमा तलेजु भवानीको दर्शन गराइने प्रचलन छ । भवानीको प्रतीकका रूपमा कुमारीलाई सम्मान गरिन्छ । नवमीको रातमा पनि मूलचोक नजिकै पूजाआजाका क्रममा ५४ बोका र ५४ राँगाको बलि दिने प्रचलन छ । गएराति कालरात्रिमा समेत पशु बलि दिइएको हो । यसरी तलेजुको पूजाआजा गर्दा राज्य सञ्चालनका लागि शक्ति प्राप्त गर्ने सङ्कल्पसहित धार्मिक गतिविधि गरिँदै आएको छ ।
मेलमिलाप, सद्भाव र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दछु : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन् । राष्ट्रपति पौडेलले हिन्दु धर्मावलम्बीहरूको महान् चाड विजयादशमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै समृद्धिको कामना गरेका हुन् । उनले भने, ‘सत्य, धर्म र न्यायको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशीर्वाद मान्यजनबाट ग्रहण गर्ने गरिन्छ, यस अवसरमा समग्र राष्ट्रमा मेलमिलाप, सद्भाव र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै गर्दछु ।’ विजया दशमी २०८२ ले सम्पूर्ण विश्वमा शान्ति एवं मानव जातिको कल्याण गर्ने उनको विश्वास छ ।
आज विजयादशमी, शुभ साइत ११:५३ बजे, लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने
काठमाडौं । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँघर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:५३ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताए । ‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साह शक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ,’ उनले भने । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधि पूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान ९:२३ बजे रहेको समितिले जनाएको छ । लगाइ माग्ने पूर्व, लगाइदिने पश्चिम फर्कनुपर्ने विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइ माग्ने मानिस पूर्व फर्कनुपर्ने बताउँछन्, धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराई । टीका लगाइ दिनेले भने पश्चिम फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उहाँले सुनाउनुभयो । टीका लगाइ माग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधि पूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोगव्याधमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिक रूपमा समेत पुष्टि भइसकेको छ । घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो । त्रेता युगमा आजैका दिन भगवान रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ । आज गुरु पुरोहित, हजुरबा, हजुर आमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ:- आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।। शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते । विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।। अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ । यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गा देवीको स्वरूप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ । जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते।। आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसाद स्वरूप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटोमा भीड लाग्छ ।
असोज १८ गतेदेखि २० गतेसम्म यी जिल्लामा भारी वर्षा, विशेष सतर्कता अपनाउन आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज १८ गतेदेखि २० गतेसम्म विशेष सतर्कता अपनाउन अनुरोध छ । विभागले विशेषगरी वागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ मधेश, प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स-साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहेको हुँदा मूख्यतः असोज १८ गतेदेखि २० गतेसम्म विशेष सतर्कता अपनाउन आज अनुरोध गरेको हो । विभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भू-भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने भएको र सो न्यून चापीय प्रणालीको कारणले नेपालमा मनसुनी वायु प्रवेश गरी आगामी असोज १७ गतेबाट असोज २० गतेसम्म खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ । हालको विश्लेषणअनुसार उक्त अवधिमा देशको नारायणी, बागमती, कमला र कोशी नदी र यी नदीका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स-साना नदीनालामा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ। नेपालमा मनसुन बहिर्गमन भइनसकेको हालको अवस्थामा यस विभागले मौसम र बाढीको सम्भावित विषम अवस्थाको नियमित अनुगमन गरिरहेको छ। विभागले भनेको छ, ‘तसर्थ, यस विभागबाट वेबसाइट, सामाजिक सञ्जाल, टोल फ्री सेवा ९११५५० तथा एसएमएस लगायतका माध्यमबाट सम्प्रेषण गरिने अद्यावधिक पूर्व सूचना प्राप्त गरी आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।’ उल्लेखित पूर्वानुमानका आधारमा उत्पन्न हुन सक्ने बाढी, डुबान, पहिरो, भू-क्षय लगायतका जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राखी सम्भावित क्षति न्यूनीकरणका लागि विभागबाट नियमित रूपमा जारी हुने पूर्वानुमान तथा पूर्वसूचनाहरू छिटो प्रवाह गरी पूर्वतयारी र आवश्यक पूर्व कार्यमा जुट्न विभाग विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी सबै निकायहरू र आम सर्वसाधारणलाई विभागले अपिल गरेको छ ।
प्रचण्डले कसरी मनाउँदैछन् दसैँ ?
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको यसपालीको दसैँ राजनीतिक र पारिवारिक दुवै सन्दर्भमा सामान्य रहने बताइएको छ । गत वर्षहरूमा जस्तै उनले यसपालि पनि सामान्यरुपमा दशैं मनाउने दाहालका प्रेस संयोजक गोविन्द आर्चायले जानकारी दिए । ‘विगत वर्षहरुमा पनि उहाँले दसैँलाई त्यस्तो रौनकमा मनाएको जस्तो लाग्दैन,’ आचार्यले भने, ‘यसपालि त उहाँको भरतपुरमा रहेको आफ्नो घर तत्काल बस्न योग्य छैन । यस्तो अवस्थामा दसैँ शेष हुने कुरै भएन ।’ दाहाल पनि भदौ २४ को जेनजी आन्दोलनपछि नयाँ घरमा सरेका छन् । केही राजनीतिक भेटघाट र परिवारका सदस्यसँग उनको दसैँ बित्ने आचार्यले बताए । आचार्यका अनुसार उनले दसैँलाई मात्र धार्मिक उत्सव नभई सामाजिक पुनर्मिलन, मेलमिलाप र राष्ट्रिय एकताको पर्वका रूपमा लिनुपर्नेमा जोड दिएका छन् । राजनीतिक रुपमा भने प्रचण्डको यो दसैँ केही चुनौतीपूर्ण देखिएको छ । आगामी निर्वाचन, अनि आफैले घोषणा गरेको विशेष महाधिवेशन लगायतले उनलाई दसैँमा पनि राजनीतिक चिन्तनमै व्यस्त राख्ने सम्भावना छ । परिवारसँग पूजापाठ गर्ने परम्परागत कार्यक्रम नभए पनि उनले आफ्नो महत्वपूर्ण समय परिवारलाई नै दिन सक्ने आचार्यले जानकारी गराए । त्यसका बाबजुद उनको अधिकांश समय पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकसँग औपचारिक भेटघाटमै खर्चिन सक्ने अनुमान गरिएको छ ।
दसैँको मुखमै सत्ता र शक्तिबाट विमुख ओली, डेरामै वृद्ध बुबाबाट थाप्दैछन् टीका
काठमाडौं । २०८२ सालको दसैँको पूर्वसन्ध्यामा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अवस्था अघिल्ला वर्षहरू भन्दा असाधारण र कठिन छ । यसपटक ओली सत्ताबाट बाहिरिएका मात्र छैनन्, राजनीतिको केन्द्रविन्दुबाट पनि असहज परिस्थितिमा धकेलिएका छन् । भदौ २४ गतेको जेनजी आन्दोलनका प्रदर्शनकारीले ओली बालकोटस्थित निवास पूर्ण रूपमा आगजनी गर्यो । पार्टी कार्यालय र निवास पन ध्वस्त बनेको बेला ओलीलाई यस पटकको दसैँमा खासै उल्लास छैन । यही बेला उनी विभिन्न लाञ्छना र आरोपहरूको सामना गरिरहेका छन् । परम्परागत रूपमा दसैँ नेपाली समाजमा परिवार, मित्र, शुभेच्छुकसँग मिलेर खुसी बाँड्ने पर्व हो । तर ओलीले यसपटक सम्भवतः त्यो सामूहिक खुसीभन्दा बढी आत्ममन्थन र राजनीतिक चुनौतीसँगै दसैँ मनाउनुपर्ने देखिन्छ । राजनीतिक रूपमा पनि ओलीको दसैँ २०८२ कठिनाइको बीचमा गुज्रिने संकेतहरू देखिएका छन् । पार्टीको संगठनात्मक ढाँचामा व्यापक आक्रमण भएको छ । ओली विरुद्ध पार्टीभित्रै असन्तोष बढेको छ । सरकार बाहिर रहँदा पनि उनको प्रभाव कम हुँदै गएको परिवेशमा,दसैँले उनलाई आत्म परीक्षण गर्ने अवसर त दिन सक्छ, तर शक्तिको केन्द्रतर्फ फर्कनुपर्ने ऊर्जा सञ्चित गर्ने चुनौती पनि बढाएको छ । यस्तो अवस्थामा ओलीले डेराबाट दसैँ मनाउँदै छन् । विगतमा काठमाडौंमा दसैँ मनाएर गृह जिल्ला झापासम्म पुग्ने गरेका ओलीको यस पटकको दसैँ कार्यक्रमको केही तयारी नभएको ओलीका स्वकीय सचिव राजेश शाक्यले जानकारी गराए । शाक्यका अनुसार उनले घरमै टीकाटालो गरेर दसैँ मनाउने छन् । ओलीले बडा दसैँ आफ्ना बुवासँग टीका लगाएर, घरमा टीका थाप्न आउने आफन्त र पार्टीका नेता कार्यकर्तालाई टीका लगाइदिएर मनाउने शाक्यले जानकारी दिए ।
दसैँमा ६ लाख ११ हजार बढीले छाडे काठमाडौं
काठमाडौं । दसैँको घटस्थापनादेखि आजसम्मको नवौँ दिनको अवधिमा मात्रै ६ लाख ११ हजार ६५७ जनाले काठमाडौं छाडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज ६ गते घटस्थापना सुरु भएको दिनदेखि आजसम्म सो सङ्ख्यामा यात्रु विभिन्न नाकाबाट काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार ३९६ जनाले काठमाडौं उपत्यका छाडेका छन् । दसैँ सुरु भएसँगै काठमाडौं उपत्यका छाड्ने नागरिकको सङ्ख्या तीव्र रुपमा बढ्दै गएको र पछिल्लो २४ घण्टामा मात्र १३ हजार ३२६ यात्रु वाहक सवारी साधन उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले भने, ‘अहिले राजधानी छाडेर जानेको सङ्ख्या बढेको छ, काठमाडौँ भित्रिने र बाहिरिने नाकामा सामान्य तरिकाले सवारी साधन चलिरहेका छन् ।’ घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकाबाट बाहिरिएका सवारी साधनको सङ्ख्या १ लाख १३ हजार ४१५ पुगेको छ । यिनै सवारी साधनमार्फत यात्रामा निस्किनेहरुको मुख्य गन्तव्य भने देशका पूर्वी, पश्चिमी र सुदूरपश्चिम प्रदेशका जिल्ला रहेका छन् । काठमाडौं उपत्यकामा ७७ हजार ५४५ सवारी साधनबाट ३ लाख १९ हजार १५ जना आजसम्म भित्रिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विशेषगरी कोटेश्वर, कलङ्की, बल्खु, नयाँ बसपार्क, जगती लगायतका नाकामा यात्रुको भीड देखिएको छ ।