नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने अर्थमन्त्रीको प्रतिबद्धता
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधार जरुरी रहेको बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आगामी आर्थिक वर्षको बजेटमा नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने प्रतिबद्धता जनाए । उनले तीन खम्बे अर्थनीति कस्तो हुन्छ ? त्यसका मोडल के हुन्छन् ? त्यो कसरी सँगै हिँड्छ ? त्यसमा निजी क्षेत्र कसरी लिडिङ रोलमा हुन्छ ? र कस्तो कस्तो खालको भुमिकामा रहन्छ ? भन्नेकुरा स्पष्ट रुपले सबैले बुझ्ने गरी नीती स्पष्ट गर्ने बताए । नयाँ चरणको आर्थिक सुधारका लागि राजनीतिक नेतृत्व स्पष्ट रहेको बताए । स्वदेशमै रोजगारको अवसर बनाउनसके अधिकांश नेपालीहरु स्वदेशमै काम गर्ने वातावरण बन्ने जानकारी दिए । ‘नयाँ चरणको एउटा आर्थिक सुधार जरुरी छ । त्यो बहस हुँदै आएको थियो । यस पटकको बजेटमा हामी नयाँ चरणको आर्थिक सुधार गर्छौं । तीन खम्बे अर्थनीति कस्तो हुन्छ ? त्यसका मोडल के हुन्छन् ? त्यो कसरी सँगै हिँड्छ ? त्यसमा निजी क्षेत्र कसरी लिडिङ रोलमा हुन्छ ? र कस्तो कस्तो खालको भुमिकामा रहन्छ ? भन्नेकुरा स्पष्ट रुपले सबैले बुझ्ने गरी हामी नीति स्पष्ट गर्नेछौँ । हामी स्पष्ट छौँ, तीन खम्बे अर्थनीति हुनेछ, निजी क्षेत्र त्यसमा अगाडि रहनेछ’, उनले भने । मन्त्री पुनले सरकार फेरिने कुरा स्वभाविक भएपनि नीतिहरुको निरन्तरता हुन आवश्यक रहेको बताए । सरकारमा रहेका दल र विज्ञहरु राखेर मात्र नभइ उच्चस्तरीय आयोग बनाएर नीतिको निरन्तरताको लागि दृष्टिकोणमा प्रस्तुत गर्ने जानकारी दिए ।
यता हेर्यो सिक्लेस, उता हेर्यो ताङतिङ
गण्डकी । हिउँचुलीको काखमा झुरुप्प परेका बस्ती । वरिपरि हरिया वनपाखा र खर्क । सिरसिरे लेकाली हावा । उस्तै चराको चिरबिर । तलपट्टि सुसाइरहेको मादी खोला । यस्तो लाग्छ सिक्लेस र ताङतिङको भूगोल आफैमा चित्रमय छ । हरेक ऋतुकालमा भिन्न विशेषतामा खुल्ने यी गुरुङ बाहुल्य गाउँ प्रकृति र संस्कृतिका सङ्गम हुन् । ग्रामीण पर्यटनका अनुपम धरोहर हुन् । अन्नपूर्ण हिमालको फेदबाट बहने कास्कीको मादी खोलाले सिक्लेस र ताङतिङलाई दुईतिर छुट्याएको छ । मादी गाउँपालिका–१ मा सिक्लेस र २ मा ताङतिङ पर्छ । पर्यटकीय राजधानी पोखरादेखि नजिकको दुरीमा रहेका दुवै गाउँ घुमफिरका लागि चल्तीका गन्तव्य हुन् । सहरको कोलाहलबाट उम्केर केही घण्टामै पुग्न सकिन्छ, सिक्लेस र ताङतिङ । जहाँ न्यानो र आत्मिय आतिथ्यता प्राप्त हुन्छ । मनोरम प्रकृतिसँगै गाउँले परिवेश, रहनसहन, रैथाने खाना र आतिथ्य संस्कारले त्यहाँ पुग्ने पर्यटकलाई सजिलै लोभ्याउँछ । एकै बान्कीका घर, ढुङ्गा र जस्ताका छाना । ढुङ्गाकै आँगन र बाटो । पुरानो वास्तु झल्काउने झ्यालढोका । स–साना गल्ली, गल्छेँडा र तगारा ती गाउँका सौन्दर्य हुन् । व्यस्त दैनिकी छलेर त्यहाँ पुग्ने जो कोहीले तनाव भुल्छन् । प्रकृति र संस्कृतिमा नजर अड्याउँछन् अनि मन शान्त पार्छन् । पोखरादेखि ४१ किमि दुरीमा सिक्लेस र २७ किमि टाढा ताङतिङ गाउँ अवस्थित छ । सिक्लेसबाट ताङतिङ पूर्व र ताङतिङबाट सिक्लेस पश्चिमपट्टि पर्छ । बिहान र दिउँसोमा चिटिक्क देखिने यी गाउँलाई रातमा भने बिजुलीले झलमल्ल पारेको हुन्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०मा पर्ने यी गाउँ पदयात्राका लागि बढी लोकप्रिय छन् । सिक्लेसका पर्यटन व्यवसायी धन गुरुङले सिक्लेस–कपुचे–कोरी पदमार्ग सञ्चालनमा आएपछि पर्यटकको आउजाउ झनै बढ्न थालेको बताए । ‘बर्खा लागेपछि अन्यत्र ‘अफसिजन’ सुरु हुन्छ, कोरीमा भने यही बेला बढी पर्यटक बढ्छन्’, उनले भने, ‘कोरी र आसपासको क्षेत्र अहिले भुइँफूलले ढाकिएको छ, मनसुन ट्रेकमा रमाउनेका लागि कोरी उपयुक्त हो ।’ पदयात्री सिक्लेसबाट अन्नपूर्ण हिमालको काखमा रहेको कपुचे हिमताल हुँदै तीन हजार आठ सय मिटरको कोरी लेक पुग्ने गरेको गुरुङले बताए । सिक्लेसबाट तस हुँदै कोरी र कपुचे हिमताल हुँदै कोरी जाने दुईटा पदमार्ग छन् । कोरी ट्रेक तीन दिनमा घुम्न सकिन्छ । पर्यटकीय गतिविधि बढेपछि कोरीमा होटल खुलेका छन् । पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने सञ्चार सामग्री, युट्युबलगायतका सञ्चारमाध्यम त्यस क्षेत्रलाई उजागर गरिदिएपछि पर्यटकको थप आकर्षण बढेको पर्यटन व्यवसायी गुरुङले बताए । मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले दुई दशकअघि सिक्लेसमा पर्यटन व्यवसायको जग बसेको बताए । ‘पहिले सामुदायिक हिसाबले होमस्टे थिए, पर्यटकको सङ्ख्या पनि न्यून हुन्थ्यो’, उनले भने, ‘पछिल्लो समय सिजनमा त गाउँ नै पर्यटकले भरिभराउ हुन्छ, यहाँ आन्तरिक पर्यटक नै बढी आउँछन् ।’ सिक्लेसमा महिनामा ५०/६० जनासम्म विदेशी पर्यटक आएको तथ्याङ्क अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)सँग छ । वडाध्यक्ष गुरुङका अनुसार सिक्लेस, कोरीलगायतका क्षेत्रमा दर्जनौँ होमस्टे र होटल सञ्चालनमा छन् । होटल व्यवसायमा लगानी थपिने क्रम बढ्दो छ । सिक्लेस–ताराहिल–घलेखर्क नयाँ इको ट्रेक सञ्चालनका लागि पूर्वाधार तयारीको काम भइरहेको छ । सिक्लेस–खिलाङ–चिप्लीसम्म पनि पदमार्ग निर्माण भइरहेको वडाध्यक्ष गुरुङले जानकारी दिए् । ‘पहिले गोठालाहरु लेक र खर्क जाँदा हिँड्ने गरेको बाटोलाई नै पदमार्गका रुपमा विकास गर्न लागेका छौँ’, वडाध्यक्ष गुरुङले भने्, ‘पर्यटकीय पूर्वाधार निर्माणमा प्रदेश सरकार र गाउँपालिकाको सहयोग छ ।’ सिक्लेसलाई नेपालको शान्ति प्रकृयाको प्रस्थानबिन्दुका रुपमासमेत लिने गरिएको उनले सुनाए । विसं २०६३ असार २ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूमिगत राजनीतिपछि पहिलोपटक सिक्लेसमा सार्वजनिक भएका थिए । त्यसको केही महिनापछि विस्तृत शान्ति सम्झौता भएको थियो । जनयुद्धको बैठानसँगै शान्ति प्रकृयाको प्रस्थानबिन्दुका रुपमा लिइने सिक्लेसमा शान्ति स्मारक पनि बनेको छ । सिक्लेस पुग्ने पर्यटक गुरुङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस पार्क, हिमालको दृश्यावलोकन, गुरुङ जातिको मन्दिर, मौलिक संस्कृति, वेषभूषा, झाँकी, नाचगीत आदिमा रमाउँछन् । पदयात्रा रुचाउने पर्यटकले छोटो र लामो दुरीको पदयात्रा तय गर्छन् । पोखरादेखि दुई/अढाई घण्टाको मोटरयात्रामा सिक्लेस पुगिन्छ । पोखरा–सिक्लेस सडक स्तरोन्नति भइरहकाले यातायात सेवा पनि सहज बनेको छ । सिक्लेस र ताङतिङको पैदल दुरी तीन घण्टा जतिको छ । दुई हजार मिटर उचाईमा सिक्लेस र १७ सय मिटरमा ताङतिङ अवस्थित छ । दुवै गाउँका घरका बनोट र बान्की उस्तैउस्तै छन् । सिक्लेसमा चार सयभन्दा बढी छन् भने ताङतिङमा त्यसको झण्डै आधा । दुवै गाउँमा ९५ प्रतिशत गुरुङको बसोबास छ । ताङतिङ सामुदायिक घरबास सञ्चालक समितिका अध्यक्ष तिलशोभा गुरुङले गाउँमा १५ होमस्टे र छ होटल सञ्चालनमा रहेको जानकारी दिए । होमस्टेमा आन्तरिक पर्यटकका लागि एक हजार दुई सय रुपैयाँको दैनिक प्याकेज छ । जसमा एक छाक खानामासु, एक छाक सादा खाना, बिहान/बेलुकाको खाजा र एक रात सुत्न पाइन्छ । ‘खानामा घरगाउँको आटोढिँडो, गुन्द्रुक, मकै, भट्ट, आलु, लोकल कुखुराको मासु हुन्छ, अहिले निउरोको सिजन छ, हाम्रो भान्छामा निउरो टुट्दैन’, होमस्टेका अध्यक्ष गुरुङले भने, ‘सिजनअनुसार गाउँमै उत्पादनका परिकार पाहुनालाई खुवाउँछौँ, पाहुनाको रुची अनुसार अरु परिकार पनि पकाउँछौँ ।’ पेय पदार्थमा पनि घरेलु उत्पादनलाई नै पाहुनाले बढी रुचाउने गरेका छन् । पर्यटकको मनोरञ्जनका लागि सती घाटुलगायत मौलिक नाच र गीतसङ्गीत प्रस्तुत गर्ने गरिएको उनको भनाइ छ । मादी–२ का वडाध्यक्ष भोजबहादुर गुरुङले कर्पुडाँडा, कालीलेख, दूधपोखरी, कपुचे, कोरीलगायत त्यहाँका पर्यटकीय महत्वका बोकेका ठाउँ हुन् । गुरुङ जातिको उद्गमस्थल मानिने क्होलासोँथार पनि सोही वडाको साँधमा पर्छ । ताङतिङबाट धेरैतिर पदयात्रा गर्न सकिने उनले बताए । ‘कास्की, लमजुङ र मनाङको सीमामा पर्ने दूधपोखरी यहाँको महत्वपूर्ण गन्तव्यस्थल हो, जनैपूर्णिमा त्यहाँ ठूलो मेला लाग्छ’, वडाध्यक्ष भोजबहादुरले भने, ‘ताङतिङ भएर कपुचे, कोरीलगायत ठाउँको पदयात्रा पनि गर्न सकिन्छ ।’ ताङतिङको पर्यटनलाई उकास्न योजनाबद्ध विकासको खाका कोर्ने काम भइरहेको उनले बताए । ‘मादी गाउँपालिकामा पर्ने सबै पर्यटकीय गन्तव्यस्थलाई समेटेर बृहत् पर्यटन गुरुयोजना बनाउन आवश्यक छ’, उनले भने, ‘पर्यटकीय पूर्वाधार र प्रवद्र्धनमा ध्यान दिन सकियो भने यस क्षेत्रले पर्यटन व्यवसायबाट ठूलो लाभ उठाउन सक्छ ।’ पुस्तौँदेखि कृषि र पुशपालनमा रमाएका ताङतिङबासीको पेसामा अहिले पर्यटन व्यवसाय पनि जोडिएको छ । ताङतिङबाट लमजुङको भुजुङ, घलेगाउँदेखि मनाङसम्म पदयात्रा गर्न सकिने वडाध्यक्ष भोजबहादुरले बताए । हिउँदमा दन्तेलहर झैँ देखिने हिमशृङ्खला र वर्षात्मा झरी र बादलको लुकामारीले सिक्लेस र ताङतिङको सौन्दर्य उसैगरी खुल्छ । अन्नपूर्ण दोस्रो र लमजुङ हिमालले यी गाउँको शोभा बढाएका छन् । लेक र खर्कतिर रहेका स–साना तलाउ, कुण्ड र झरानाले पनि पर्यटकलाई तान्ने गरेका छन् । निगालोबाट बन्ने डोको, सेखु, मान्द्रा, चित्रा जस्ता घरेलु उत्पादनका सामग्री त्यहाँ बन्छन् । महिलाहरुले पिँढीमा तान लगाएर अल्लो र ढाकाका कपडा बुनेको दृश्य लोभलाग्दो देखिन्छ । विशेष गरी चाडबाडको याम र सार्वजनिक बिदाका दिनमा ती गाउँमा पर्यटकको चहलपहल अघिपछिको दाँजोमा बढी हुन्छ । जागिरे, व्यवसायीलगायत सप्ताहन्त मनाउन त्यहाँ पुग्छन् । विद्यालय र विभिन्न संघसंस्थाले अवलोकन भ्रमणका लागि पनि सिक्लेस र ताङतिङ लैजाने गरेका छन् । ‘गाउँले जनजीवन, संस्कृति, रहनसहन र पदयात्राको आनन्द बटुल्न पर्यटक यहाँ आउँछन्’, वडाध्यक्ष गुरुङले भने । रासस
प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफल सुरु
काठमाडौं । प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफल सुुरु भएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफल सुरु भएको हो । बैठकमा सांसदहरु प्रेम सुवाल, सांसद डा. अमरेशकुमार सिंह, पुष्पबहादुर शाह, बद्रीप्रसाद पाण्डेले खर्च कटौतिको प्रस्ताव पेस गरेका छन् । मन्त्रालयगत बजेटको छलफलपछि आगामी आर्थिक वर्षका लागि सरकारले प्रश्तुत गरेको बजेट पारित गर्ने कानूनी व्यवस्था छ ।
ग्राण्ड नोरलिङ होटेलमा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने
काठमाडौं । सिटिजन्स बैंक र ग्राण्ड नोरलिङ होटेल रिसोर्टबीच समझदारी भएको छ । बैंक र मूलपानी, काठमाडौं स्थित ग्राण्ड नोरलिङ होटेल रिसोर्टबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले ग्राण्ड नोरलिङ होटेल रिसोर्टका सेवाहरुमा १० प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
काठमाडौं महानगरले माग्यो करारमा १३७ नगर प्रहरी
काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवामा नगर प्रहरी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको सैन्य पदको विज्ञापन नं. ०८०/८१/०२ मा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारलाई नियुक्ति गर्ने गरी महानगरले १३७ जना नगर प्रहरी जवानका लागि आवेदन माग गरेको हो । नेपाली सेना, भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाबाट प्राप्त वैकल्पिक सूचीमा समावेश भएका उम्मेदवारहरूमध्ये इच्छुक उम्मेदवारले ७ दिनभित्र काठमाडौं महानगरपालिका प्रशासन विभागमा दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । सूचना अनुसार दरखास्त पेस गर्दा वैकल्पिक दर्ता नम्बर खुलेको ढाँचा बमोजिमको निवेदन र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्ने छ ।
मुक्तिनाथ विकास बैंकले बझाङमा विद्यालय भवन निर्माणका लागि गर्यो सहयोग
काठमाडौं । मुक्तिनाथ विकास बैंकले बझाङमा विद्यालय भवन निर्माणका लागि सहयोग गरेको छ । बैंकले शिक्षा क्षेत्रमा टेवा पुग्ने उदेश्यले २०८० साल असोज १६ गते बझाङ केन्द्र विन्दु भई गएको भुकम्पबाट प्रभावित बझाङको थलरा गाँउपालिका वडा नं. ९ स्थित श्री भवानी आधरभूत विद्यालयको भवन पुनः निर्माणका लागि नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला सँग सहकार्य गरी आर्थिक सहयोग गरेको छ । हाल, नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला सँग सहकार्य गरि निर्माण गरिएको उक्त भवनको निर्माण कार्य सम्पन्न भई एक कार्यक्रम बीच विद्यालयलाई हस्तारण गरिएको छ । सो भवन निर्माण कार्यका लागि अभिभावक तथा अन्य स्थानियवासीहरुले श्रमदान समेत गरेको बैंकले जनाएको छ । यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले विधार्थीहरुले नवनिर्मित भवनमा बसेर राम्ररी पढ्न पाउने, घाम, पानीबाट सुरक्षित बसी आफ्नो दैनिक पठनपाठन कार्य गर्न मद्दत पुग्ने विश्वास लिएको छ ।
असार ७ गते प्रतिनिधि सभाबाट बजेट पारित गर्ने तयारी
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट असार ७ गते प्रतिनिधि सभाबाट पारित गर्ने तयारी गरिएको छ । बजेटमाथिको सामान्य छलफल सकिएसँगै मंगलबारदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु हुँदैछ । अर्थमन्त्री वर्षमान पुनले यही जेठ १५ गते आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए । मंगलबार चारवटा मन्त्रालयअन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । जसमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय रहेका छन् । आजदेखि आगामी असार ७ गतेसम्म बजेटको शीर्षकगत छलफल चल्नेछ । संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ ।
नेरुडे मिर्मिरे लघुवित्तको सेयर संरचना परिवर्तन
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । सेयर संरचना परिवर्तनपछि संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ५१.४९ प्रतिशत र सर्वसाधारण समूहको ४८.५१ प्रतिशत कायम भएको छ । संस्थामा संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको सेयर संख्या ७१ लाख ९६ हजार कित्ता र सर्वसाधारण सेयरधनीको स्वामित्वमा ६७ लाख ८१ हजार कित्ता सेयर रहेको छ ।