युनाईटेड मोदीको अध्यक्षमा नविन सिलवाल
काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा नविन सिलवाल चयन भएका छन् । सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सिलवाललाई अध्यक्षमा चयन गरेको हो । कम्पनीको गत २७ गते सम्पन्न १० औँ बार्षिक साधारणसभाबाट सिलवाल सञ्चालक समितिमा निर्वाचित भएका थिए । सिलवालसँग जलविद्युत क्षेत्रमा ८ वर्षको अनुभव रहेको छ । सिलवालले वित्त विषयमा स्नातकोत्तर गरेका छन् । युवा उर्जा उद्यमी सिलवालले ८ मेगावाट क्षमताको टक्सार पिखुवा खोला हाइड्रोपावर आयोजनाको सुरुवाती चरणदेखि निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जडानसम्मको अनुभव रहेको छ । आजै बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रन्बन्ध निर्देशकमा रोमन दंगाल नियुक्त गरेको छ ।
निओ मनि ट्रान्सफर र ट्रान्सफर रेपिडबीच सहकार्य, रोमानियाबाट रेमिट्यान्स् पठाउन सकिने
काठमाडाैं । निओ मनि ट्रान्सफर र रोमानियाको ट्रान्सफर रेपिडबीच सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि रोमानियामा बसिरहेका नेपालीले सुरक्षित र सहज रुपमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीको खोजीमा रहेका नेपालीहरुको रोजाइको गन्तव्यमा अहिले रोमानिया निकै आकर्षक गन्तव्य हो । हाल रोमानियामा २२ हजार भन्दा बढी नेपाली आफ्ना परिवारका लागि काम गनर्सका साथै बसोबास गरिरहेका छन् । रोमानियामा रहेका नेपालीहरुले अब ट्रान्सफर रेपिडको शाखा, वेबसाइट पोर्टल र मोबाइल एप्लिकेसनबाट छिटो र प्रभावकारी रुपमा नेपालमा पैसा पठाउन सक्नेछन् । बैंक तथा वालेट भुक्तानी कारोवारहरु निओ मनि ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहिहरुको खातामा भुक्तानी हुनेछ। साथै नगदमा पठाइएको कारोवार पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका १५ हजार भन्दा धेरै शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । नयाँ सहकार्यबारे निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले बताए । ‘हामी अब ट्रान्स्फर रेपिडसँग नयाँ साझेदारीको घोषणा गर्न पाउँदा निकै उत्साहित छौं, मलाइ आशा छ सबैभन्दा कम शुल्क र प्रतिस्पर्धी दरहरूमा कष्ट मुभिङ फण्ड घटाउने हाम्रो दृष्टिकोणलाई यस सहकार्यले समर्थन गर्दै आफ्ना प्रियजनहरूलाई सहयोग गर्न विदेशिएका नेपाली प्रवासीहरुको भावनालाई कदर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ,’ उनले भने ।
अभिकर्ताले जबरजस्ती ५० लाखको बीमा गराएपछि…
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको धनगढी शाखाकी अभिकर्ता ममता चन्द (नाम परिवर्तित)ले ७ वर्षअघि आफन्त पर्ने केशब चन्द (नाम परिवर्तित) लाई बीमा गर्न आग्रह गरिन् । तर, केशबले आफूसँग पैसा नभएकाले बीमा गर्दिनँ भन्ने जवाफ ममतालाई दिए । बीमा गरेपछि विभिन्न सुविधा सम्पन्न देशमा भ्रमणको अवसर हुने प्रलोभन ममताले देखाइन् । केशबले अझैं पनि मानेनन् । तर, अभिकर्ता ममताले केशबलाई बीमा गर्न पटक-पटक आग्रह गरिन् । उनले यतिसम्मको प्रस्ताव गरिन् कि पहिलो किस्ता तिर्नको लागि पैसा नभए आफूले ऋण दिने बताइन् । त्यसपछि केशबले आफ्नो सवारी लाइसेन्सको फोटोकपी र बीमा पोलिसीमा हस्ताक्षर गरे । अभिकर्ता ममताले आफूखुसी केशब चन्दको नाममा ५० लाख रुपैयाँ बराबरको बीमा पोलिसी जारी गरिन् । प्रत्येक वर्ष ३ लाख ५० हजार रुपैयाँ किस्ता तिर्नु पर्ने गरी अभिकर्ता ममताले पहिलो किस्ता पनि आफैंले भुक्तानी गरिन् । केशबको बीमा गरेको अहिले ७ वर्ष भइसकेको छ । तर, उनले अहिलेसम्म एक किस्ता पनि प्रिमियम शुल्क तिरेका छैनन् । पहिलो पटक तिनै अभिकर्ता ममताले तिरेकी थिइन् । ७ वर्षको अवधिमा अभिकर्ता ममताले केशबलाई बीमा गराएबापत कुनै प्रमाण पनि दिइनन् । तर, ७ वर्षपछि अहिले फोन गरेर आफूले पहिलो किस्ता पैसा तिरिदिएको भन्दै ममताले केशब चन्दबाट ब्याजसहितको रकम माग्न थालिन् । ‘७ वर्षअघि अभिकर्ताले अहिले फर्म भर्छु, जतिबेला पैसा हुन्छ, त्यतिबेला दिनुहोला भन्नुभयो । मैले आफ्नो कागजात दिएँ । तर, अभिकर्ताले मेरो अनुमति नलिई तीन लाख ५० हजार किस्ता तिर्ने गरी ५० लाखको बीमा गराइन्,’ केशब चन्दले नेपाल बीमा प्राधिकरणमा गुनासो गर्दै भने, ‘यो बीचमा अभिकर्ताले मलाई कुनै कागजात दिनु भएन । सम्पर्क पनि गर्नु भएन । ६/७ वर्षपछि धम्की दिन थाल्नु भयो । प्रहरी हुँ भन्दै विभिन्न व्यक्तिहरूले समेत धम्क्याउन थाले ।’ आफूले नचाहेरै अभिकर्ताले आफ्नो बीमा गरिदिएको उनको गुनासो छ । ‘यदि अभिकर्ताले बीमा गराएको भए उतिबेला नै कागजातहरू दिएको भए विश्वस्त हुने थिएँ,’ प्रहरी हुँ भन्दै गाली गर्ने र धम्की दिएका अनुभव सुनाउँदै उनले भने, ‘प्रहरी हुँ भन्दै धेरै जनाले फोन गरेर धम्क्याउनु हुन्छ, जेल हालिदिन्छु भन्नुहुन्छ ।’ व्यक्तिको इच्छा विपरित अभिकर्ताले बीमा गर्न नपाउने नेपाल बीमा प्राधिकरणको भनाइ छ । साथै, प्रहरी हुँ भन्दै फोन गरेर धम्क्याउने विरुद्ध भने प्रहरी कार्यालयनमा गएर मुद्दा दर्ता गराउनुपर्ने प्राधिकरणको सुझाव छ । अभिकर्ताले व्यक्तिको इच्छाविपरित जबरजस्ती बीमा गराउने अभिकर्ताविरुद्ध उजुरी दिन पनि सल्लाह दिएको छ । ‘बीमा क्षेत्रका कुनै पनि मुद्दा बीमा प्राधिकरणले हेर्छ । यदि अभिकर्ताले जबरजस्ती बीमा गराएको हो भने उजुरी दिनुहोस् । तर, कुनै अपरिचित व्यक्तिले फलानो हुँ भनेर भन्दै धम्क्याउँछ भने प्रहरी कार्यालयमा गएर मुद्दा दर्ता गर्नुपर्छ,’ प्राधिकरणले भन्यो । डीएसपीको गएको थियो जागिर बिना प्रमाण कुनै पनि प्रहरीले व्यक्तिलाई फोन गरेर धम्याउन पाइँदैन । गैरकानुनी मुलुकी अपराध संहिता २०७४ ले कसैले कुनै व्यक्तिलाई कानून बमोजिम बाहेक बदनियतपूर्वक अन्य कुनै किसिमले थुनामा राख्न वा धम्क्याउन नहुने व्यवस्था गरेको छ । त्यस्तो गरेको पाइएमा कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुने कानूनी व्यवस्था पनि छ । कानून बमोजिम अनुसन्धान वा अभियोजन गर्ने जिम्मेवारी भएको अधिकारीले निर्दोष व्यक्तिलाई फसाउने वा वास्तविक कसूरदारलाई जोगाउने मनसायले बदनियतपूर्वक अनुसन्धान गर्न वा अभियोग लगाउन नहुने व्यवस्था पनि गरेको छ । तर, केशबलाई ममताको पैसा फिर्ता गर्नका लागि प्रहरी हुँ भन्दै धम्क्याउने गरेको गुनासो प्राधिकरणमा गरेका छन् । बीमासँग सम्बन्धित एक घटनामा एक जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को जागिर पनि गएको छ । ललितपुरका एक जना व्यापारीलाई महानगरीय प्रहरी परिसर जावलाखेलका एक जना डीएसपीले बिना कारण थुनामा राखेपछि उनको जागिर गएको थियो । पाटनका स्थानीय एक व्यापारीबाट एक जनाले १ करोड रुपैयाँ असुल गर्नु पर्ने थियो । जावलाखेलका डिएसपीले २० लाख रुपैयाँ आफूलाई दिए १ करोड उठाउन सहयोग गर्छु भन्ने प्रतिवद्धता ती व्यक्तिलाई गरे । त्यसपछि डीएसपीले ती व्यवसायीलाई रातभर थुनामा राखे । दोस्रो दिन ती व्यापारीले आफ्ना वकिल बोलाएर डीएसपीले बिना प्रमाण आफूलाई थुनामा राखेको भन्दै मुद्दा हाले । त्यसपछि ती डीएसपीको जागिर समेत गएको थियो । अहिलेको घटना पनि यस्तै भएको बीमा प्राधिकरणको भनाइ छ । प्राधिकरणले केशबलाई तत्काल प्रहरी कार्यालयमा गएर उजुरी गर्न सुझाव दिएका छन् । उनले जबरजस्ती बीमा गराउने अभिकर्ता र फोन गरेर धम्क्याउने विरुद्ध मुद्दा दर्ता गर्न पनि सुझाव दिएको छ ।
असार ३ गते सार्वजनिक बिदा
काठमाडौं । सरकारले आगामी असार ३ गते सोमबार परेको इस्लाम धर्मालम्बीहरुको पर्व बक्र ईद (उल–अजहा)का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गरी बक्र ईदका अवसरमा बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको उक्त सूचनामा गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ ।
ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको योगदान र महत्वलाई बजेटले उपेक्षा गर्यो : अध्यक्ष कार्की
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत क्षेत्रमा सरकारको तर्फबाट राहत र सहुलियत प्राप्त नभएको गुनासो गरेका छन् । शुक्रबार इप्पानको नयाँ कार्यसमिति चयनको एक वर्ष पुगेको अवसर तथा आर्थिक वर्ष २०८१/८२ को बजेटमा आधिकारिक धारणा प्रस्तुत गर्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् । उनले सरकारले गत वर्षमै सरकारले घोषणा गरेको राहत तथा सहुलियत प्राप्त नगरेको बताए । विगत एक वर्षदेखि इप्पानले हरेक मञ्चमा र सबै भन्दा धेरै उठाउँदै आएको एउटा माग बाढी प्रभावित आयोजनाहरुलाई राहत तथा क्षतिपूर्तिको माग नसकेको बताए । उनले विद्युत ऐन, २०४९ अनुसार आयोजनाको अनुमतिपत्र लिएका विद्युत आयोजनाहरुले सोही अनुसार स्पेयर्स पार्ट्समा १ प्रतिशत मात्र भन्सार लाग्ने व्यवस्था गरिनुपर्ने माग गर्दै आएको बताए । नेपाल र भारतबीच १० वर्षभित्र १० हजार मेगावाट दीर्घकालीन रुपमा बिजुली बिक्री गर्ने, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले आगामी सन् २०३५ भित्र साढे २८ हजार मेगावाट र आगामी पाँच वर्षभित्र साढे ८ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य हासिल गर्नका लागि निजी क्षेत्रको भुमिका, योगदान र महत्वलाई बजेटले उपेक्षा गरेको ठहर रहेको बताए । ऊर्जा उत्पादनमा भएको प्रगतिकै कारण समग्र क्षेत्रमा सकारात्मक प्रभाव पारेको, आयात र निर्यातमा योगदान पुर्याएको तथा सरकारले ऊर्जामार्फत आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य अघि बढाइरहेको सन्दर्भमा बजेटले निजी क्षेत्रको प्रवद्र्धनका लागि कुनै ठोस कार्यक्रम ल्याउन नसकेको बताए । निजी क्षेत्रले विद्युत व्यापारका लागि जोडदार माग राख्दै आएकोमा विद्युत व्यापारबारे बजेटमा कुनै उल्लेख नगरिएको बताए । ऊर्जालाई थप बजेटका साथै निजी क्षेत्रलाई प्रोत्साहन गर्नुको सट्टा ऊर्जा क्षेत्रको समग्र बजेट घटाइएको भन्दै असन्तुष्टि व्यक्त गरे । ऊर्जासँग सम्बन्धित पूर्वाधार निर्माणमा गम्भीर असर पर्न जाने र यसले विद्युतको प्रशारण र वितरणमा समेत समस्या आउने देखिएको जानकारी दिए । ‘विगत एक वर्षदेखि इप्पानले हरेक मञ्चमा र सबै भन्दा धेरै उठाउँदै आएको एउटा माग बाढी प्रभावित आयोजनाहरुलाई राहत तथा क्षतिपूर्तिको विषय थियो । आव ०७९/८० सम्म कायम रहेको जलविद्युत आयोजनाको स्पेयर्स पार्ट्समा १ प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्थालाई आव ०८०/८१ को बजेटले विस्थापित गरी १५ प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने व्यवस्था गर्दा गत वर्ष गएको बाढी पहिरोले क्षतिग्रस्त जलविद्युत आयोजनाहरुले स्पेयर्स पार्ट्स ल्याउन नसकी आयोजना बन्द भइरहेका छन्’, उनले भने । ऊर्जा मन्त्रालयले तयार गरिसकेको साढे २८ हजार मेगावाट उत्पादन लक्ष्यसहितको ऊर्जा विकास मार्गचित्रबारे बजेटमा कतैपनि उल्लेख नभएको बताए । लक्ष्य हासिल गर्नका लागि ६१ खर्ब रुपैयाँ आवश्यक पर्नेबारे स्वदेशी र विदेशी ऊर्जासँग सम्बन्धित सबै कार्यक्रममा सार्वजनिक भइसकेकोले यसले लाजमर्दो अवस्था सिर्जना भएको दाबी गरे । इप्पानले बजेटबारे संसदमा छलफल भईरहेको तथा शंसोधनको सम्भावना रहेकोले सरकारकै लक्ष्य हासिल गर्नका लागि निजी क्षेत्रको योगदानबारे विश्लेषण गरी निजी क्षेत्रका मागहरु सम्बोधन हुनेगरी बजेट संसोधन माग गरेको छ ।
१ सय दिनमा गृहमन्त्री लामिछानेले गरेका यी हुन् मुख्य काम
काठमाडौं । रवि लामिछाने दोस्रो पटक गृहमन्त्री बनेको १ सय दिन पुगेको छ । गृहमन्त्री लामिछानेले पत्रकार सम्मेलन गर्दै १ सय दिनमा मुख्य कामको सूची सार्वजनिक गरेका छन् । उनले आफ्नो १ सय दिनमा गृह मन्त्रालयको प्रस्तावमा नेपाल सरकारबाट फौजदारी कसुर (कैदकट्टा) नियमावली, २०७६ मा संशोधन भएको बताएका छन् । यसबाट सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न, रोकिएको कैद कट्टा सम्बन्धी कार्यलाई सुचारु गर्न र कैदकट्टा सम्बन्धी विषयलाई पीडित मैत्री, पारदर्शी र बस्तुनिष्ठ बनाउन कानूनी आधार तयार भएको उनको दाबी छ । [pdf id=490603]
अब बाढी आउनुअघि मोबाइलमा म्यासेज आउने
काठमाडौं । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग बिच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्व सूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा यस सम्बन्धी भएको सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागको तर्फबाट महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार जल तथा मौसम विज्ञान विभागले विपद् सम्बन्धी पूर्वसूचना मोबाइल एसएमएस मार्फत प्रवाह गर्न नेपाल टेलिकमलाई आवश्यक जानकारी उपलब्ध गराउने छ । बाढी वा विषम मौसम जन्य विपद् जोखिमको पूर्वसूचना तथा तत्सम्बन्धी जानकारी अनुमानित क्षेत्रमा प्रकोप आउनु अगावै सर्टकोड ११५५ मार्फत ती क्षेत्रका मोबाइल फोन वाहकले प्राप्त गर्न सक्ने छन् । यस अनुसार वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात/हिमआँधी, तातो हावाको लहर (लु), शितलहर, वायु प्रदूषण, घुम्रपात, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विष्फोटन ढडेलो जस्ता विपद्हरुको पूर्वसूचना उपलब्ध गराइने टेलिकमले जनाएको छ । यसका लागि नेपाल टेलिकमले जल तथा मौसम विज्ञान विभागलाई सेन्ट्रल सर्भरमा प्रयोग गर्नका लागि पहिले देखि नै ६०० सिम उपलब्ध गराइरहेकोमा अब थप १०० सिम समेत गरी ७०० थान सिम उपलब्ध गराएको छ र यसमा प्रतिमहिना ३०० एमबी डाटा समेत निःशुल्क उपलब्ध छ । नेपाल टेलिकमले विगत २०७३ साल देखि नै यस प्रकारको सूचना प्रवाहका लागि आवश्यक सहयोग गरिरहेको र गत २०७९ साउन १६ गते भएको सम्झौतामा थप बुँदाहरु समेत समावेश गरी सम्झौता नवीकरण गरिएको हो । जल तथा मौसम विज्ञान विभागले विभागबाट सम्प्रेषण गरिने पूर्वसूचना सन्देशहरु २०७३ साल देखि अनवरत रुपमा निःशुल्क मास एसएमएस सेवामार्फत सर्वसाधारणमा पुर्याई विपद् जोखिम न्यूनीकरणको लागि अतुलनीय योगदान पुर्याएकोमा नेपाल टेलिकमको भूमिकाको उच्च कदर गर्दै कदर पत्रद्वारा सम्मानित गर्दै आएको टेलिकमले जनाएको छ ।
नेपालले खेल्ने विश्वकपको समूह चरणको बाँकी २ खेल अघि डिशहोमको ७२ घण्टे नयाँ अफर
काठमाडौं । नेपालले खेल्ने विश्वकपको समूह चरणको बाँकी २ खेल अघि डिशहोम फाइबरनेटको ७२ घण्टे नयाँ अफर सार्वजनिक गरेको छ । आईसीसी पुरुष टि-२० विश्वकपमा नेपालले समूह चरण अन्तर्गत भोली शनिबार बिहान ५:१५ बजे साउथ अफ्रिकासँग आफ्नो तेस्रो खेल खेल्दै छ र असाढ ३ गते बिहान ५:१५ बजे बाङ्लादेशसँग आफ्नो चौथो खेल खेल्ने भएको छ । यी दुई खेलहरुको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६-महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने तथा १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त ३-महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर सार्वजनिक गरेको छ । डिशहोम फाइबरनेटकोले आज दिउसो २ बजे ‘ईतिहास रच्न तयार गोर्खाली’ शीर्षकमा यो ७२-घण्टे नयाँ अफरको घोषणा आफ्नो सामाजिक सन्जाल (फेसबुक) मार्फत गरेको हो । रिचार्ज गर्नको लागि ग्राहकहरुले आफु नजिकै रहेको डिशहोमको डिलर दाई कहाँ गई बिना कुनै झन्झट सजिलै रिचार्ज गरी यस् गज्जबको अफरको फाईदा उठाउन सक्नेछन् । साथै अनलाइन पेमेन्ट वालेटहरु मार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ । थप जानकारीको लागि ग्राहकले ९८०१५४४००० मा सम्पर्क गर्न सक्नेछन् । यो विशेष ७२-घण्टे अफरले नेपालको क्रिकेट टोलीलाई साथ र समर्थन गर्ने र विस्तारित उच्च-स्पीड इन्टरनेटको साथ आफ्ना ग्राहकहरूलाई पुरस्कृत गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।